“सत्य के हो?”
आकाश र जमीनजस्तो भिन्न व्यक्तित्वका दुइ पुरुषहरू एक आपसको आमुन्नेसामुन्ने छन्। तिनीहरूमध्ये एक, अरूको खिसी उडाउने र आफ्नो पदोन्नति गराउन हर काम गर्न राजी हुने धनी अनि महत्वाकांक्षी राजनीतिज्ञ थिए भने अर्को चाहिं शिक्षक। धन र मानसम्मान उसको निम्ति महत्त्वपूर्ण थिएन र अरूको जीवन बचाउन ऊ आफ्नो जीवनसमेत दिन तयार थियो। अब यी दुइ पुरुषहरूको दृष्टिकोण पनि भिन्न थियो भनेर भनिरहनु नपर्ला! मुख्यतः एउटा विषयमा तिनीहरू दुवै पूर्णतया असहमत भए। त्यो थियो, सत्य।
यी पुरुषहरू पन्तियस पिलातस र येशू ख्रीष्ट थिए। येशू पिलातससमक्ष अपराधीसमान उभिरहनुभएको थियो। किन? येशूले यसको कारण बताउनुभयो र वास्तवमा उहाँ यस पृथ्वीमा आउनुभएर आफ्नो सेवकाई गर्नुको कारण पनि त्यही थियो। र त्यो थियो सत्य। “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ,” उहाँले भन्नुभयो।—यूहन्ना १८:३७.
जवाफमा पिलातसले निकै उल्लेखनीय प्रश्न गऱ्यो: “सत्य के हो?” (यूहन्ना १८:३८) तर के उसलाई साँच्चै नै जवाफ चाहिएको थियो? सम्भवतः थिएन। किनकि येशू हर निष्कपट प्रश्नको जवाफ दिनसक्ने मानिस हुनुहुन्थ्यो, तैपनि उहाँले पिलातसलाई जवाफ दिनुभएन। र पिलातस प्रश्न सोध्ने बित्तिकै दर्शककक्षबाट निस्क्यो भनेर बाइबलले हामीलाई बताउँछ। यो रोमी बडाहाकिमले सम्भवतः अविश्वास र खिसी उडाउने लक्ष्य राखेर उक्त प्रश्न गरेको हुनुपर्छ। मानौं ऊ भन्न चाहन्छ, “सत्य? यो कुन चराको नाउँ हो? सत्य छैन।”a
पिलातसले सत्यप्रति राखेको आलोचक दृष्टिकोण आज सामान्य कुरा हो। धेरैले सत्य सापेक्षिक हुन्छ भनेर विश्वास गर्छन्। अर्को शब्दमा भन्ने हो भने, कुनै कुरा कसैको लागि सत्य हुन्छ भने अरूका लागि असत्य, त्यसैकारण दुवै विचारधारा “सही” हुनसक्छन्। यो विश्वास कति व्याप्त भइसकेको छ भने त्यसको लागि एउटा शब्दसमेत पाइन्छ। र त्यो हो “सापेक्षवाद।” के तपाईं सत्यप्रति त्यस्तै दृष्टिकोण राख्नुहुन्छ? राख्नुहुन्छ भने, शायद राम्रो छानबिन नगरिकनै त्यस्तो दृष्टिकोण राख्नुभएको हो कि? राख्नुहुन्न भने पनि यो दर्शनले तपाईंको जीवनमा कति असर गर्छ, के तपाईंलाई थाह छ?
सत्यमाथि प्रहार
पन्तियस पिलातस, पूर्ण सत्यको धारणामाथि प्रश्न गर्ने पहिलो व्यक्ति थिएन। केही पुरातन युनानी दार्शनिकहरूले पूर्ण सत्यमाथि शंका गर्ने शिक्षालाई आफ्नो पेशा नै बनाएका थिए। पिलातसभन्दा पाँच शताब्दीअघि पारमेन्डिज (जसलाई युरोपेली तत्त्वज्ञानको पिता मानिन्छ) वास्तविक ज्ञान प्राप्त गर्न सकिंदैन भनी विश्वास गर्थे। “प्राचीन दार्शनिकहरूमध्ये महान्” मानिने डिमक्रिटसले जोड दिंदै यसो भने: “सत्य अभेद्य गहराइमा लुकेको छ . . . हामी कुनै कुरा निश्चित रूपले जान्दैनौं।” त्यस्तैगरि, सम्भवतः दार्शनिकहरूमध्ये श्रद्धेय मानिने सुकरातले आफू अज्ञानी छुँ भन्नुबाहेक अरू कुनै कुरा आफूलाई निश्चित नभएको बताए।
सत्य जान्न सकिन्छ भन्ने धारणामाथि गरिएको यो प्रहार आजसम्म कायमै छ। उदाहरणका लागि, केही दार्शनिकहरू के भन्छन् भने हामीले ज्ञानेन्द्रियहरूद्वारा ज्ञान प्राप्त गर्ने र ती ज्ञानेन्द्रियहरूलाई झुक्याउन सकिने भएकोले कुनै ज्ञानलाई सत्य प्रमाणित गर्न सकिंदैन। फ्रान्सेली दार्शनिक तथा गणितज्ञ रने डेकार्टले आफूलाई निश्चित भएका सबै कुराहरू जाँच्ने निधो गरे। अन्ततः आफूलाई एउटै मात्र सत्य निश्चित रूपमा थाह भएको तिनले पाए जसलाई तिनी निर्विवाद मान्थे: “कोजितो एर्गो सूम,” अर्थात् “म छुँ किनभने म सोच्छु।”
सापेक्षवादको संस्कृति
सापेक्षवाद केवल दार्शनिकहरूसम्म मात्र सीमित छैन। धार्मिक नेताहरू त्यही कुरा सिकाउँछन्, विद्यालयहरूमा त्यही कुरा पढाइन्छ र संचार माध्यमहरू त्यही कुरा फैलाउँछन्। इपिस्कोपल विशप, जोन एस. स्पंगले केही वर्षअघि यसो भने: “हामीसँग सत्य छ भन्ने सोचाइ हामीले हटाउनैपर्छ र मूलभूत सत्य हाम्रो समझभन्दा बाहिरको कुरा हो भनेर अरूले हाम्रो दृष्टिकोण मान्नैपर्छ।” आज थुप्रै पादरीहरूले राख्ने दृष्टिकोणले जस्तै स्पंगको सापेक्षवादले बाइबलका नैतिक शिक्षाहरूलाई इन्कार गरेर “आफ्नोलागि आफै निर्णय गर” भन्ने दर्शनको प्रवर्धन गर्छ। उदाहरणका लागि, इपिस्कोपल चर्चका समलिंगीहरूले “अप्ठ्यारो महसुस” नगरून् भनेर स्पंगले प्रेरित पावल एक जना समलिंगी थिए भनी दावी गर्दै एउटा पुस्तक लेखे।
थुप्रै मुलुकहरूका पाठ्य प्रणालीहरूले त्यस्तैप्रकारको सोचाइ विकास गर्दैछ जस्तो देखिन्छ। एलन ब्लुमले आफ्नो पुस्तक द क्लोजिंग अफ अमेरिकन माइन्ड-मा यसरी लेखे: “एउटा कुरामा भने हाम्रा प्राध्यापक पूर्णतया निश्चित हुनसक्छन्। र त्यो हो विश्व-विद्यालयमा भर्ना हुने लगभग सबै विद्यार्थीहरूले सत्य सापेक्ष हुन्छ भन्छन् वा विश्वास गर्छन्।” त्यो प्राध्यापकले यस विषयमा आफ्ना विद्यार्थीहरूलाई चुनौती दिएमा “मानौं तिनले २ + २ = ४ हुन्छ भन्ने कुरामाथि शंका प्रकट गरेझैं गरी” तिनीहरू छक्क पर्नेछन्।
अरू थुप्रै तरिकाहरूद्वारा त्यही सोचाइ प्रवर्धन हुन्छ। उदाहरणका लागि, टिभि तथा समाचार संवाददाताहरू दर्शकहरूलाई तथ्य कुरा बताउनुभन्दा मनोरञ्जन गराउनेतर्फ बढी ध्यान दिन्छन्। कुनै कुनै समाचार कार्यक्रमहरू अझ नाटकीय देखाउन दृश्यहरूलाई काँटछाँट गरिन्छ अथवा जाली दृश्यहरू देखाइन्छ। त्यस्तैगरि मनोरञ्जनात्मक कार्यक्रमहरूमा सत्य कुरालाई नराम्रोसँग बंग्याइएको हुन्छ। हाम्रा आमा-बाबु अनि बाजे-बज्यैले मान्दै आउनुभएको नैतिक सिद्धान्त, मूल्य र मान्यतालाई आज बेकार मानिन्छ र खुल्लमखुल्ला उपहास गरिन्छ।
निस्सन्देह, केही व्यक्तिहरू यस्तो सापेक्षवादले खुला विचारधारा देखाउँछ र मानव समाजमा त्यसले सकारात्मक प्रभाव पारेको छ भनी तर्क गर्न पछि नहट्लान्। तर के वास्तवमा यो कुरा साँचो हो? अनि त्यसले तपाईंमाथि पार्ने प्रभावबारे के भन्न सकिन्छ? सत्य सापेक्ष वा अस्तित्वविहीन हुन्छ भनी के तपाईं विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने, शायद त्यसको खोजी गर्नु तपाईंलाई समय खेर फाल्नु बराबर लाग्ला। तर त्यस्तो धारणाले तपाईंको भविष्यलाई असर गर्नेछ।
[फुटनोट]
a बाइबलविद् आर. सि. एच. लेन्स्कीअनुसार पिलातसको “स्वर धार्मिक सत्यसँग सम्बन्धित जुनसुकै कुरा केवल निरर्थक अनुमान हो भनी प्रश्न गर्न चाहने भावशून्य सांसारिक मानिसको जस्तै थियो।”