सत्य किन खोज्ने?
अधिकांश धार्मिक संगठनहरू आफूसित सत्य भएको दाबी गर्छन् र उत्साहपूर्वक अरूलाई बाँड्छन्। तथापि, ती धार्मिक संगठनहरूले एक आपसमा तीन थुप्रो भ्रामक “सत्यहरू” बाँड्छन्। के यी सबै सत्य सापेक्षिक हुन्छन् भन्ने अर्को प्रमाण हो त? के यसले पूर्ण सत्य भन्ने कुनै कुरा छैन भनेर देखाउँछ? देखाउँदैन।
प्राध्यापक भि. आर. रुजेरो आफ्नो पुस्तक दि आर्ट अफ थिंकिग-मा बुद्धिजीवीहरूले समेत कहिलेकाहीं सत्य सापेक्षिक हुन्छ भन्ने गरेकोमा आश्चर्य प्रकट गर्छन्। तिनी यसरी तर्क गर्छन्: “सत्य के हो, सबैले निर्णय गर्ने हो भने कसैको विचारधारा एकअर्काको भन्दा उत्तम हुनसक्दैन। सबैको विचारधारा एकै हुनुपर्छ। अनि सबैको विचारधारा एक हुने हो भने कुनै कुराको अनुसन्धान गर्नुको औचित्य के नै रहन्छ र? बेकारमा किन उत्खनन गर्ने? मध्यपूर्वको तनावका कारणहरू किन छानबिन गर्ने? अर्बुद रोगको उपचार किन खोज्ने? आकाशगंगाको अन्वेषण किन गर्ने? जब एउटा जवाफ अर्कोभन्दा राम्रो हुन्छ, जब सत्य भन्ने चीज अरूभन्दा भिन्न हुन्छ र कुनै व्यक्तिगत दृष्टिकोणले त्यसलाई असर गर्दैन तब मात्र यी क्रियाकलापहरूको कुनै औचित्य रहन्छ।”
वास्तवमा सत्य छैन भनेर कसैले पक्का विश्वास गर्दैन। औषधी, गणित वा भौतिकशास्त्रका नियमहरूजस्ता लौकिक वास्तविकताहरूको कुरा उठ्दा कट्टर सापेक्षवादीले समेत केही त सत्य नै छ भनेर विश्वास गर्छन्। वायु गतिविज्ञानका (एरोडाइनामिक्स) नियमहरू पूर्णतया सत्य छन् भनी नलागेको भए को चाहिं पो हवाइजहाज चढ्न सुरिन्थे होला? प्रामाणिक सत्यहरू नभएका होइनन्, ती छन्, हाम्रै वरपर छन् र हामी आफ्नो जीवन त्यसमाथि निर्भर गराउँछौं।
सापेक्षवादको मूल्य
यद्यपि, सापेक्षवादका त्रुटिहरू नैतिक संसारमा सबैभन्दा स्पष्ट देखिन्छन्। किनकि यहाँ यसले सबैभन्दा धेरै हानि पुऱ्याएको छ। दि इन्साइक्लोपीडिया अमेरिकाना-ले यो कुरा औंल्याउँछ: “ज्ञान वा ज्ञात सत्य मानव क्षमताभित्र छ भन्ने कुरामा निकै गम्भीरतापूर्वक प्रश्न गर्न थालिएको छ . . . तथापि, के चाहिं निश्चित छ भने जब सत्य र ज्ञानको एकमुष्ट आदर्शलाई काल्पनिक वा हानिकारक ठानी इन्कार गरिन्छ तब मानव समाजमा विकार देखा पर्छ।”
सम्भवतः तपाईंले त्यस्तो विकार याद गर्नुभएको होला। उदाहरणका लागि, बाइबलको नैतिक शिक्षाहरूले यौन अनैतिकता गलत हो भनेर स्पष्टसँग भन्छ तर त्यसलाई सत्य मान्ने मानिसहरू विरलै भेटिन्छन्। कुनै पनि कामलाई प्रसंगअनुरूप असल खराब निर्णय गर्ने आचारसंहिता अथवा “आफूलाई जे ठीक लाग्छ, त्यही गर” भन्ने विचारधारा आज व्याप्त छ। यो सापेक्षवादी दृष्टिकोणले गर्दा सामाजिक विकार देखा परेको छैन भनेर के कसैले दाबी गर्नसक्छ? अवश्य आज सारा संसारभरि देखा परेका यौनजन्य रोगहरू, टुक्रिएका परिवारहरू र कैशोर गर्भधारणहरू स्वयम् यसका जवाफ हुन्।
सत्य के हो?
अतः आउनुहोस्, सापेक्षवादको धमिलो पानीलाई छाडेर बाइबलले कुन कुरालाई सत्यको शुद्ध पानी भनी बताउँछ त्यसलाई सरसरती जाँचौं। (यूहन्ना ४:१४; प्रकाश २२:१७) बाइबलमा प्रस्तुत गरिएको “सत्य” दार्शनिकहरूले वादविवाद गर्ने अमूर्त, अस्पष्ट अवधारणा होइन।
येशूले आफ्नो जीवनको मूल उद्देश्य सत्यबारे बोल्नु हो भनी बताउनुहुँदा उहाँले शताब्दीयौंदेखि विश्वासी यहूदीहरूले मूल्यवान् सम्झंदै आएको कुराबारे बताउँदै हुनुहुन्थ्यो। यहूदीहरूले धेरै समयअघिदेखि “सत्य” सैद्धान्तिक होइन तर मूर्त हुन्छ भनेर आफ्ना पवित्र लेखहरूमा पढ्दै आएका थिए। बाइबलमा “सत्य” भनी अनुवाद गरिएको हिब्रू शब्द “एमेथ,” हो, जसले अटल, ठोस र सम्भवतः सबैभन्दा महत्त्वपूर्ण कुरा, भरपर्दो भन्ने अर्थ जनाउँछ।
यहूदीहरूसँग सत्यलाई त्यस दृष्टिले हेर्ने असल कारण थियो। तिनीहरूले आफ्ना परमेश्वर यहोवालाई “सत्य परमेश्वर” भनी पुकार्थे। (भजन ३१:५) किनभने यहोवाले जे भन्नुहुन्थ्यो ती सबै पूरा गर्नुहुन्थ्यो। उहाँले प्रतिज्ञाहरू गर्नुहुँदा त्यसलाई सधैं पूरा गर्नुहुन्थ्यो। भविष्यवाणीहरू प्रेरित गर्नुहुँदा त्यो पूरा भई छाड्थ्यो। उहाँले न्यायदण्ड सुनाउनुहुँदा त्यसको कार्यान्वयन हुन्थ्यो। लाखौं इस्राएलीहरू यी वास्तविकताहरूका प्रत्यक्षदर्शी थिए। बाइबलका प्रेरित लेखकहरूले त्यसलाई इतिहासका निर्विवाद तथ्यहरूको रूपमा लिपिबद्ध गरे। पवित्र मानिएका अन्य पुस्तकहरूजस्तो बाइबल मिथ्या वा किंवदन्तीको आधारमा लेखिएको होइन। त्यो पूर्णतया प्रामाणिक तथ्य अर्थात् ऐतिहासिक, पुरातात्त्विक, वैज्ञानिक र सामाजिक वास्तविकताहरूमा आधारित छ। त्यसैकारण यहोवाबारे भजनरचयिता यसो भन्छन्: “तपाईंको व्यवस्थाचाहिं सत्य हो। . . . तपाईंका सबै आज्ञाहरू सत्यका छन्। . . . तपाईंको वचनको सार सत्य छ”!—भजन ११९:१४२, १५१, १६०.
येशू ख्रीष्टले यहोवालाई प्रार्थना गर्नुहुँदा उपरोक्त भजनका शब्दहरू प्रतिबिम्बित गर्नुभएको थियो: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) आफ्नो पिताले बोल्नुभएको सबै कुरा पूर्णतया अटल र भरपर्दा छन् भनेर येशूलाई थाह थियो। साथै, येशू “सत्यले पूर्ण” हुनुहुन्थ्यो। (यूहन्ना १:१४) उहाँले बोल्नुभएका सबै कुराहरू ठोस अनि सत्य थिए, त्यो उहाँका अनुयायीहरूले आफ्नै आँखाले देखेर सिकेका थिए। तिनीहरूले आउँदा पुस्ताका लागि ती कुराहरू अभिलेख गरे।a
तथापि, येशूले आफू पृथ्वीमा सत्य बोल्न आउनुभएको हुँ भनी पिलातुसलाई बताउनुहुँदा एउटा निश्चित सत्यलाई ध्यानमा राख्नुभएको थियो। येशूले पिलातुसको यस प्रश्नको जवाफमा उक्त कुरा भन्नुभएको थियो: “के तब तिमी राजा नै हौ ता?” (यूहन्ना १८:३७) येशू पृथ्वीमा हुनुहुँदा उहाँको शिक्षाको मूल शीर्षक अर्थात् सार नै परमेश्वरको राज्य र त्यस राज्यमा उहाँले निर्वाह गर्नुहुने राजाको भूमिका थियो। (लूका ४:४३) अनि परमेश्वरको राज्यले यहोवाको नाउँ पवित्र पार्नेछ, उहाँको सार्वभौमिकता उच्च पार्नेछ र विश्वासी मानिसहरूका लागि अनन्त र सुखी जीवन दिनेछ भन्ने शिक्षा त्यस्तो “सत्य” हो, जसमाथि सबै साँचो मसीहीहरू आशा गर्छन्। परमेश्वरका प्रतिज्ञाहरूको पूर्तिमा येशूले खेल्नुहुने भूमिका यति निर्णायक भएकोले अनि उहाँकै कारण परमेश्वरका सबै भविष्यवाणीहरू “आमिन” वा सत्य ठहर्नेहुँदा पूर्ण औचित्यसाथ येशूले यसो भन्न सक्नुभयो: “बाटो, सत्य, र जीवन मै हुँ।”—यूहन्ना १४:६; २ कोरिन्थी १:२०; प्रकाश ३:१४.
यो सत्यलाई पूर्णतया भरपर्दो मान्नु आज मसीहीहरूका लागि निकै अर्थपूर्ण छ। त्यसको अर्थ तिनीहरूले परमेश्वरमाथि राखेको विश्वास अनि उहाँका प्रतिज्ञाहरूको आशा तथ्य र वास्तविकताहरूमा आधारित छन्।
सक्रिय सत्य
अतः बाइबलले सत्यलाई कामसित जोड्नु कुनै अस्वाभाविक कुरा होइन। (१ शमूएल १२:२४; १ यूहन्ना ३:१८) ईश्वरभीरु यहूदीहरूका निम्ति सत्य दर्शन छाँट्ने विषय थिएन; त्यो तिनीहरूको जीवनशैली थियो। “सत्य”-का लागि चलाइने हिब्रू शब्दको अर्थ “विश्वासिलो” पनि हुनसक्थ्यो र त्यसलाई आफ्नो वचनअनुरूप चल्ने भरोसायोग्य व्यक्तिको व्याख्या गर्न चलाइन्थ्यो। येशूले आफ्ना अनुयायीहरूलाई सत्यप्रति उहाँकै जस्तो दृष्टिकोण राख्न सिकाउनुभयो। उहाँले फरिसीहरूको कपट, तिनीहरूका आत्मधर्मी शब्दहरू र अधार्मिक कामहरूबीचको ठूलो भिन्नतालाई आक्रोशपूर्ण ढंगमा भर्त्सना गर्नुभयो। अनि आफूले सिकाउनुभएको सत्यअनुरूप जीवन बिताएर उहाँले नमुना बसाल्नुभयो।
वास्तवमा ख्रीष्टका सबै अनुयायीहरूले त्यसै गर्नुपर्ने हो। तिनीहरूका लागि परमेश्वरको वचन, येशू ख्रीष्टको शासन चल्ने परमेश्वरको राज्यको सुसमाचार, केवल सामान्य जानकारी होइन। त्यस्तो सत्यले तिनीहरूलाई त्यसअनुरूप काम गर्न उत्प्रेरित गर्नुका साथै त्यसअनुसार बाँच्न र अरूलाई सत्य बाँड्न बाध्य तुल्याउँछ। (यर्मिया २०:९ तुलना गर्नुहोस्।) प्रथम शताब्दीका मसीही मण्डलीहरू आफूले ख्रीष्टका अनुयायीहरूको हैसियतमा अँगालेको जीवनपद्धतिलाई कहिलेकाहीं केवल “सत्य” अथवा “सत्यको मार्ग” नाउँले चिन्दथे।—२ यूहन्ना ४; ३ यूहन्ना ४, ८; २ पत्रुस २:२.
अमूल्य धन
हो, परमेश्वरको वचनका सत्यहरूलाई स्वीकार्न मूल्य चुकाउनुपर्छ। प्रथमतः सत्य सिक्दा मात्र पनि एक व्यक्तिको जीवन उथलपुथल हुनसक्छ। दि इन्साइक्लोपीडिया अमेरिकाना यसो भन्छ: “सत्य प्रायः कटु हुन्छ किनभने त्यसले पूर्वाग्रह वा मिथ्यालाई समर्थन गर्दैन।” आफ्ना विश्वासहरूको असत्यता पर्दाफास हुँदा हामी असमञ्जसमा पर्नसक्छौं, अझ विशेषगरि ती कुराहरू भरोसायोग्य धार्मिक नेताहरूले सिकाएका रहेछन् भने झनै सत्य हुनसक्छ। कसै कसैलाई यस्तो अनुभव, आफूले भरोसा गरेका आमा-बाबु वास्तवमा गोप्य अपराधीहरू रहेछन् भनी थाह पाउनु बराबर लाग्नसक्छ। तर भ्रममा बस्नुभन्दा धार्मिक सत्य थाह पाउनु राम्रो कुरा होइन र? झूटहरूको छलमा पर्नुभन्दा तथ्य कुराहरू थाह पाउनु बेस होइन र?b—यूहन्ना ८:३२ तुलना गर्नुहोस्; रोमी ३:४.
दोस्रो, धार्मिक सत्यअनुरूप जीवन यापन गर्दा हाम्रा मित्रहरूले हामीलाई बहिष्कार गर्नसक्छन्। “परमेश्वरको सत्यतालाई झूटमा परिवर्त्तन” गर्ने मानिसहरूको बिगबिगी भएको संसारमा परमेश्वरको वचनअनुरूप चल्ने मानिसहरू अनौठो देखिन्छन् र कहिलेकाहीं तिनीहरूलाई बहिष्कार गर्नुको साथै अरूले गलत अर्थ लगाउँछन्।—रोमी १:२५; १ पत्रुस ४:४.
तर सत्य यो द्वय मूल्यको योग्य छ। सत्यले हामीलाई झूट, भ्रम र अन्धविश्वासहरूदेखि मुक्त गर्छ। अनि सत्यअनुरूप जीवन बिताउँदा त्यसले कठिनाइ सहन मदत गर्छ। परमेश्वरको वचनले हामीलाई जस्तोसुकै परीक्षाको सामना गर्न मदत गर्छ। किनभने त्यो अति भरपर्दो अनि आधारभूत छ र त्यसले धेरै आशा उत्पन्न गर्छ। त्यसैले होला, प्रेरित पावलले सत्यलाई सिपाहीहरूले रणभूमिमा लगाउने छालाको चौडा अनि बलियो पेटी अथवा पटुकोसँग तुलना गरे!—एफिसी ६:१३, १४.
बाइबलको हितोपदेशले यसो भन्छ: “सत्य किन्, औ त्यसलाई कहिल्यै नबेच्, बुद्धि, अर्ती र समझ-शक्तिलाई किन्।” (हितोपदेश २३:२३) त्यसलाई सापेक्षिक वा अस्तित्वविहीन सम्झनु जीवनको सबैभन्दा रोमाञ्चक र सन्तोषप्रद खोजबाट वञ्चित हुनु हो। सत्य पाउनु आशा पाउनु हो; त्यसलाई चिन्नु अनि प्रेम गर्नु ब्रम्हाण्डको सृष्टिकर्ता र उहाँको एकलौटो पुत्रलाई चिन्नु अनि प्रेम गर्नु हो; त्यसअनुरूप जीवन बिताउनु अहिले र सधैंभरि उद्देश्य अनि शान्तिले भरिएको जीवन बिताउनु हो।—हितोपदेश २:१-५; जकरिया ८:१९; यूहन्ना १७:३.
[फुटनोटहरू]
a येशूले आफ्ना वचनहरूको सत्यतालाई जोड दिन बेजोड अभिव्यक्तिहरू चलाउनुहुन्थ्यो भनेर सुसमाचारको पुस्तकमा ७० भन्दा बढी ठाउँहरूमा उल्लेख भएका छन्। उहाँले कुनै नौलो कुरा भन्नुहुँदा अन्तमा प्रायः “आमिन” (“साँचो साँचो,” न्युव) भन्नुहुन्थ्यो। यो शब्दको समानुपातिक हिब्रू शब्दको अर्थ “निश्चित, सत्य” हो। यस सम्बन्धमा द न्यु इन्टरनेशनल डिक्सनरी अफ न्यु टेस्टामेन्ट थियोलोजी-ले यो टिप्पणी गर्छ: “येशूले नौलो कुराको अन्तमा आमिन शब्द चलाउनुभएर ती निश्चित र भरपर्दा छन् भनी लेबल लगाउनुभयो। उहाँ आफ्नो वचनअनुरूप दृढ रहनुभयो र आफू अनि आफ्ना श्रोताहरूलाई ती वचनहरूले बाँध्नुभयो। ती वचनहरू उहाँको राजसी र अख्तियारपूर्ण अभिव्यक्तिहरू थिए।”
b “सत्य”-को लागि चलाइने युनानी शब्द, अलेथिया “नढाकिएको” अर्थ लाग्ने शब्दबाट लिइएको हो। अतः सत्यले प्रायः लुकेछिपेका पुराना कुराहरू प्रकट गर्छ।—लूका १२:२ तुलना गर्नुहोस्।
[पृष्ठ ६-मा भएको पेटी]
के सत्य कहिल्यै परिवर्तन हुन्छ?
भि. आर. रुजेरोले आफ्नो पुस्तक दि आर्ट अफ थिंकिग-मा उक्त प्रश्न गरेका थिए। त्यसको स्पष्ट जवाफ हो, हुँदैन। तिनी यसरी व्याख्या गर्छन्: “कहिलेकाहीं त्यस्तो लाग्ला तर राम्ररी नियालेर हेर्दा त्यो परिवर्तन भएको देखिंदैन।”
तिनी भन्छन्, “उदाहरणका लागि, बाइबलको प्रथम पुस्तक, उत्पत्तिको ग्रन्थकार को हो भन्ने विवादलाई लिनुहोस्। शताब्दीयौंसम्म मसीही र यहूदीहरूले त्यो पुस्तकको एउटै ग्रन्थकार थिए भनी विश्वास गर्थे। समयमा यो दृष्टिकोण परिवर्तन भयो र अन्ततः पाँच जना ग्रन्थकारहरूले उत्पत्तिको पुस्तक लेखेका थिए भन्ने धारणा अपन्याइयो। त्यसपछि सन् १९८१ मा पाँच वर्ष लगाएर तयार पारिएको उत्पत्तिको पुस्तकको विश्लेषण प्रकाशित भयो। उक्त विश्लेषणमा उत्पत्तिको पुस्तकको एउटै ग्रन्थकार हुनसक्ने ८२ प्रतिशत सम्भावना छ भनेर उल्लेख गरिएको थियो, जुन धारणा पहिले पनि थियो।
“उत्पत्तिको ग्रन्थकारबारे सत्य कुरा के परिवर्तन भएको छ? छैन। हाम्रो विश्वास मात्र परिवर्तन भएको छ। . . . हाम्रो ज्ञान वा अज्ञानताले सत्य परिवर्तन हुँदैन।”
[पृष्ठ ७-मा भएको पेटी]
सत्यप्रतिको श्रद्धा
“सत्यप्रतिको श्रद्धा हाम्रो युगको कृत्रिम-निन्दावाद मात्र होइन, जसले कुनै पनि व्यक्ति वा वस्तुले आफूसँग सत्य छ भनी साँच्चै नै दाबी गर्नसक्दैन भन्ने विश्वासको आधारमा सबै कुराको ‘पर्दाफास’ गर्ने कोसिस गर्छ। सत्यप्रतिको श्रद्धा त्यस्तो मनोवृत्ति हो जसले सत्य साँच्चै नै प्राप्त गर्न सकिन्छ भन्ने आनन्ददायी भरोसा पैदा गर्छ र जहाँसुकै, जहिलेसुकै होस् सत्य प्रकट हुने बित्तिकै त्यसलाई विनम्रतापूर्वक स्वीकार्न उत्प्रेरित गर्छ। साँचो परमेश्वरको उपासना गर्ने मानिसहरूमा सत्यप्रति त्यस्तो खुला दृष्टिकोण हुनु आवश्यक छ; किनभने एक जना मानिसले सत्यलाई दिनुपर्ने श्रद्धा दिन्छ भने ऊ आफ्नो छिमेकीसित इमान्दारीपूर्वक बोल्छ र व्यवहार गर्छ। हामीले देखेको मनोवृत्ति यही हो र पुरानो नियम अनि नयाँ नियम दुवैले त्यसको साक्षी दिन्छ।”—द न्यु इन्टरनेशनल डिक्सनरी अफ न्यु टेस्टामेन्ट थियोलोजी, खण्ड ३, पृष्ठ ९०१.
[पृष्ठ ७-मा भएको चित्र]
वैज्ञानिक सत्यहरूको प्रकटीकरणमा वैज्ञानिक प्रगति आधारित छ
[पृष्ठ ८-मा भएको चित्र]
सत्यले राज्य र त्यसका आशिष्हरूलाई अँगाल्छ