एन्टिओकका थियोफिलस को थिए?
“मलाई तिमीले मसीही भनेर बोलाउन त बोलाउँछौ तर यो नाउँ हुनु निन्दनीय कुरा जस्तै गरी। तर म भने मसीही हुँ भनेर स्वीकार्छु र परमेश्वरको प्रिय र परमेश्वरलाई सेवा गर्न योग्य हुने आशामा यो नाउँ ग्रहण गर्छु।”
यसरी थियोफिलसले थियोफिलस टु ओटालिकस नामक तीन भाग भएको पुस्तक आरम्भ गर्छन्। यो दोस्रो शताब्दीको धर्मत्याग विरुद्ध तिनको अभियानको सुरुआत थियो। थियोफिलसले आफूलाई निर्भयतासाथ ख्रीष्टको अनुयायीको रूपमा परिचित गराए। तिनी “परमेश्वरलाई मनपर्ने” कार्यहरू गर्न कटिबद्ध देखिन्छन् र यो युनानी भाषामा तिनको नाउँको अर्थ सुहाउँदो छ। तर यो थियोफिलस थिए को? तिनी कुन समयमा जीवित थिए? तिनका उपलब्धिहरू के हुन्?
व्यक्तिगत इतिहास
थियोफिलसको व्यक्तिगत इतिहासबारे थोरै मात्र थाह पाइएको छ। तिनी गैरमसीही आमाबाबुद्वारा हुर्काइएका थिए। तिनले धर्मशास्त्रको गहिरो अध्ययन गरेपछि मात्रै आफ्नो धर्म परिवर्तन गरेर मसीही धर्म स्वीकारेका थिए। तिनी आरामी शहर एन्टिओक मण्डलीका विशप भए जुन अहिले तुर्कीमा आन्टाक्या नाउँबाट चिनिन्छ।
येशूको आज्ञाअनुरूप प्रथम शताब्दीका मसीहीहरूले एन्टिओकका जनतालाई प्रचार गरे। लूकाले तिनीहरूको सफलताबारे यसरी लिपिबद्ध गरे: “प्रभुको बाहुली तिनीहरूसँग भएकाले विश्वास गर्नेहरू धेरै जना प्रभुतिर फर्के।” (प्रेरित ११:२०, २१) ईश्वरीय निर्देशनअनुसार येशू ख्रीष्टका अनुयायीहरू मसीही भनेर चिनिए। यो शब्द सबैभन्दा पहिला आरामी शहर एन्टिओकमा लागू गरिएको थियो। (प्रेरित ११:२६) सा.यु. प्रथम शताब्दीमा प्रेरित पावलले आरामी शहर एन्टिओकसम्म यात्रा गरे। र यही ठाउँबाट तिनी अन्यत्र आवतजावत गर्थे। बर्णाबास र पावलले यूहन्ना र मर्कूससँग पहिलो मिसनरी यात्रा एन्टिओकबाटै सुरु गरेका थिए।
एन्टिओकका पुरातन मसीहीहरू प्रेरितहरूका भ्रमणबाट धेरै नै प्रोत्साहित भएको हुनुपर्छ। निस्सन्देह, प्रथम शताब्दीका परिचालक निकायका प्रतिनिधिहरूले विश्वासलाई दृढ पार्ने भ्रमणहरू गरेको हुनाले परमेश्वरको वचनप्रति तिनीहरू जोशिला थिए। (प्रेरित ११:२२, २३) एन्टिओकका थुप्रै मानिसहरूले यहोवा परमेश्वरलाई जीवन समर्पण गरेको देख्न पाउँदा तिनीहरू कति प्रोत्साहित भए होलान्! तथापि, थियोफिलस एन्टिओकमा १०० वर्षपछि मात्र जन्मेका थिए।
इतिहासकार युसिबसले ख्रीष्टको समयदेखिका प्रेरितहरूको गन्ती गर्दा थियोफिलस एन्टिओकका छैटौं विशप हुन् भनी उल्लेख गरे। थियोफिलसले धर्मविरोधी विरुद्धका थुप्रै मौखिक छलफल तथा तर्कहरू लेखे। तिनी मसीही धर्मको पक्षमा बोल्ने तत्कालीन १२ जनाहरूमध्ये गनिन्छन्।
तिनका लेखोटहरू हेर्दा
पहिला भएको वार्तालापको प्रत्युत्तर दिंदै थियोफिलसले गैरमसीही ओटालिकसलाई यसरी लेखे: “भ्रष्ट मन भएका दयनीय मानिसले धाराप्रवाह अनि प्रभावकारी भाषणबाट आनन्द लिन्छ र खोक्रो प्रशंसामा रमाउँछ।” थियोफिलस व्याख्या गर्छन्: “सच्चाइको प्रेमीले मीठा-मीठा शब्दहरूले सिंगारेको भाषणमा ध्यान दिंदैन तर भाषणको वास्तविक अर्थ जाँच्छ . . . तिमीले मलाई खोक्रो शब्दहरूद्वारा घात गरेका छौ। तिमी ठोकेर, कुँदेर बनाएको ढुंगा र काठको देउताको घमण्ड गर्छौ जसले नता सुन्छ न देख्छ, त्यो त मूर्ति हो, मानिसको हस्तकला।”—तुलना गर्नुहोस् भजन ११५:४-८.
थियोफिलसले मूर्तिपूजाको छली रूपको पर्दाफास गरिदिएका छन्। तिनले आफ्नै शैलीमा प्रभावशाली तर अनावश्यक ढंगमा साँचो परमेश्वरको वास्तविक स्वरूप बुझाउने कोसिस गरे। तिनी यसरी स्पष्टसित व्याख्या गर्छन्: “परमेश्वरको बाहिरी रूप अवर्णनीय छ र उहाँलाई हाम्रो आँखाले देख्नै सक्दैनौं। उहाँ महिमामा बुझ्नै नसकिने, महानतामा अथाह, उचाइमा कल्पनै गर्न नसकिने, शक्तिमा बेजोड, बुद्धिमा अनुपम, भलाइमा अतुलनीय, दयामा अवर्णनीय हुनुहुन्छ।”
परमेश्वरको वर्णन गर्दै थियोफिलस अझ यसो भन्छन्: “तर उहाँ प्रभु हुनुहुन्छ किनभने उहाँले ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ। उहाँ पिता हुनुहुन्छ किनभने उहाँ सबैको सुरु हुनुहुन्छ। रचयिता र सृष्टिकर्ता किनभने उहाँले सृष्टि गर्नुभयो र ब्रह्माण्ड रच्नुभयो। महान् किनभने उहाँ सबैभन्दा उच्च हुनुहुन्छ। र सर्वोच्च किनभने उहाँ स्वयंले शासन गर्नुहुन्छ र सबैलाई ग्रहण गर्नुहुन्छ।”
त्यसपछि, परमेश्वरको विशेष उपलब्धिहरूमा केन्द्रित गर्दै थियोफिलसले सावधानीपूर्वक तर बारम्बार दोहोऱ्याउँदै यसो भन्छन्: “स्वर्ग उहाँको कार्य हो, पृथ्वी उहाँको सृष्टि, समुद्र उहाँको हस्तकला। मानिस उहाँको रचना र उहाँको स्वरूप। सूर्य, चन्द्र र ताराहरू उहाँको सृष्टि हुन् र चिन्ह, मौसम, दिन र वर्षहरू छुट्याएर मानिसको सेवा गर्न तिनीहरूलाई सृजिएका हुन्। सबै कुराहरू परमेश्वरले सृष्टि गर्नुभएपछि मात्र ती अस्तित्वमा आए जसले गर्दा उहाँको महानता चिन्न र बुझ्न सकियो।”
थियोफिलसले तत्कालीन झूटा देउताहरूमाथि गरेको प्रहारको उदाहरण अझ ओटालिकसलाई लेखेको यी शब्दहरूमा पनि पाइन्छ: “तिमीले जसलाई उपासना गर्छु भन्छौ त्यो त सबै मृत मानिसहरूका नाउँ हुन्। . . . र तिनीहरू कस्ता प्रकारका मानिसहरू थिए? के शनि आफ्नै छोराछोरीलाई खाने नरभक्षी थिएनन् र? तिनको छोरा वृहस्पतिको कुरा गर्छौ भने . . . बाख्रीले मुण्टो चुसाएको मानिस कस्तो होला तिमी आफै सोच, . . . र उसको अन्य कार्यहरू, हाडनाताकरणी, व्यभिचार र कामवासनालाई सोच।”
थियोफिलस आफ्नो तर्कलाई अझ बढाउँदै गैरमसीही मूर्तिपूजकहरूको घोर भर्त्सना गर्छन्। तिनी लेख्छन्: “के म फेरि मिश्रीहरूले पूज्ने अनेक घस्रने जन्तु, गाईवस्तु, जंगली जनावर, चरा तथा माछाहरूका गन्ती गरूँ . . . युनानी तथा अरू राष्ट्रहरूले ढुंगा, काठ र त्यस्तै अरू भौतिक कुराहरूका उपासना गर्छन्।” थियोफिलस घोषणा गर्छन्, “तर म भने जीवित र साँचो परमेश्वरको उपासना गर्छु।”—तुलना गर्नुहोस् २ शमूएल २२:४७; प्रेरित १४:१५; रोमी १:२२, २३.
मूल्यवान् साक्षी
थियोफिलसले ओटालिकसलाई खण्डन गर्न तीन भागमा लेखेका सल्लाह र उपदेशहरू बहुपक्षीय र विस्तृत छन्। थियोफिलसका अन्य लेखोटहरू हर्मोजिन्स र मार्सिअन विरुद्ध छन्। तिनले उपदेश र निर्देशनहरू दिंदै सुसमाचारको पुस्तकबारे थप टिप्पणीहरू लेखे। तथापि, थियोफिलसले ओटालिकसलाई लेखेका तीनवटा पुस्तकहरू मात्र एउटा पाण्डुलिपिको रूपमा सुरक्षित छन्।
पहिलो पुस्तकमा तिनले मसीही धर्मको समर्थन गर्दै ओटालिकससित क्षमा मागेका छन्। ओटालिकसलाई लेखेको दोस्रो पुस्तकमा लोकप्रिय गैरमसीही धर्म, अडकलबाजी, दर्शनशास्त्री र कविहरू विरुद्ध तर्क गरेका छन्। थियोफिलसको तेस्रो पुस्तकमा गैरमसीही साहित्यलाई धर्मशास्त्रसित तुलना गरिएको छ।
ओटालिकसले सत्यको वचनलाई अझै दन्त्यकथाको रूपमा लिएको कुरा थियोफिलसको तेस्रो पुस्तकको आरम्भमा देखिन्छ। ओटालिकसको आलोचना गर्दै तिनी यसो भन्छन्: “तिमी मूर्खहरूका कुरा दंग पर्दै सुन्छौ। नत्रता तिमी तिनीहरूका खोक्रो कुराबाट प्रभावित हुने थिएनौ। र व्यापक हल्लाहरूमा विश्वास गर्ने थिएनौ।”
त्यो “व्यापक हल्ला” के थियो? थियोफिलसले त्यसको स्रोतमाथि प्रकाश पार्छन्। “ईश्वरहीन” निन्दकहरूले “परमेश्वरको उपासक र मसीही भनेर चिनिने हामीहरूलाई पत्नीहरू यौन उद्देश्यको लागि साझा रूपमा प्रयोग गरेको र आफ्नै साक्खै बहिनीहरूसित हाडनाताकरणी गरेको भनेर दोष लाउँछन्। र सबैभन्दा अधर्मी र क्रूर कुरा त हामीले मानिसको मासु खान्छौं रे।” थियोफिलसले दोस्रो शताब्दीका मसीही भनौंदाहरूका साह्रै यथार्थहीन गैरमसीही विचारधारा विरुद्ध लड्ने कोसिस गरे। तिनले परमेश्वरको प्रेरित वचनमा भएको सत्यको ज्योति प्रयोग गरे।—मत्ती ५:११, १२.
थियोफिलसले बारम्बार हिब्रू र युनानी दुवै बाइबलका पदहरू प्रयोग गरेको कारण तिनी परमेश्वरको वचनसित परिचित थिए भनी हामी प्रमाण पाउँछौं। तिनी सुसमाचारको पुस्तकको व्याख्या गर्ने प्रथम व्यक्तिहरूमध्ये थिए। थियोफिलसले बारम्बार धर्मशास्त्रतर्फ संकेत गरेका छन्, यसले गर्दा तिनको समयमा प्रचलित विचारधारा बुझ्ने ठूलो अन्तरदृष्टि प्राप्त हुन्छ। प्रेरित वचनको ज्ञान गैरमसीही दर्शनभन्दा उच्च छ भनेर देखाउन तिनले आफूसित भएको धर्मशास्त्रीय ज्ञान प्रयोग गरे।
केही मानिसहरूलाई थियोफिलसले जुटाएको सामग्री, तिनको शैक्षिक अभिव्यक्ति तथा बारम्बार दोहोऱ्याउने तरिका मन नपर्नसक्छ। भविष्यवाणी गरिएको धर्मत्यागले तिनको विचारधारामा कतिको प्रभाव पाऱ्यो त्यो अहिले हामी भन्न सक्दैनौं। (२ थिस्सलोनिकी २:३-१२) तथापि, सा.यु. १८२ तिर थियोफिलसको मृत्यु हुँदा तिनी मसीहीहरूका पक्षमा बोल्ने अथक व्यक्ति भइसकेका थिए। तिनका लेखोटहरू आधुनिक समयका साँचो मसीहीहरूका लागि चासोको विषय हो।
[पृष्ठ ३०-मा भएको चित्र]
थियोफिलसले ओटालिकसका तर्कहरूलाई निर्भयतासाथ खण्डन गरे
[पृष्ठ २८-मा भएको स्रोत]
पृष्ठ २८ र ३० मा भएका चित्रहरु Illustrirte Pracht - Bibel/Heilige Schrift des Alten und Neuen Testaments, nach der deutschen Uebersetzung D. Martin Luther’s बाट लिएका हुन्