प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ३/१५ pp. २४-२७
  • मसीही गोठालाहरूले कसरी तपाईंको सेवा गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीही गोठालाहरूले कसरी तपाईंको सेवा गर्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केका लागि सुरक्षा?
  • गोठालोरूपी भेट के हो?
  • किन गोठालो तपाईंलाई भेट्‌न आउँछन्‌?
  • स्वस्थ भेडालाई हेरचाहको खाँचो पर्छ
  • गोठालोरूपी भेटका लागि समय मिलाउने
  • गोठालोरूपी भेटका आशिष्‌हरू
  • मसीही गोठाला हो, ‘ठूलो मनको हुनुहोस्‌’!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वरको बगालको खुशीसाथ हेरचाह गर्नुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • आशिष्‌ साबित हुनसक्ने भेटघाट
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ३/१५ pp. २४-२७

मसीही गोठालाहरूले कसरी तपाईंको सेवा गर्छन्‌

गोठालाहरूले कसरी बगालको हेरचाह गर्छन्‌, त्यो धेरै ठाउँहरूमा देख्न सकिन्छ। तिनीहरूले बगालको अगुवाइ गर्छन्‌, तिनीहरूलाई सुरक्षा दिन्छन्‌ र तिनीहरूका लागि प्रबन्ध मिलाउँछन्‌। यो मसीही प्राचीनहरूका लागि चासोको विषय हो। किनभने तिनीहरूको काममा गोठालोका क्रियाकलापहरू समावेश छन्‌। निस्सन्देह, “परमेश्‍वरको मण्डलीलाई चराउनु” तथा ‘सबै बगालको हेरचाह गर्नु’ तिनीहरूको जिम्मेवारी हो।—प्रेरित २०:२८.

तपाईं मसीही मण्डलीको सदस्य हुनुहुन्छ भने, कसरी आध्यात्मिक गोठालाहरूले तपाईंको सेवा गर्नसक्छन्‌? तपाईंका लागि तिनीहरूले गरेका प्रयासहरूप्रति तपाईंले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? मण्डलीमा किन तिनीहरूको खाँचो पर्छ?

केका लागि सुरक्षा?

पुरातन समयमा सिंह तथा अरू जंगली जनावरहरूले बगाललाई खतरामा पार्थे। ती जनावरहरूले भेडाको शिकार गर्थे। तसर्थ, गोठालाहरूले तिनीहरूको सुरक्षा गर्नुपर्थ्यो। (१ शमूएल १७:३४, ३५) त्यस्तैगरि, शैतान अर्थात्‌ दियाबल “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।” (१ पत्रुस ५:८) त्यसले क्रोधित भएर परमेश्‍वरको पार्थिव संगठनलाई मात्र होइन परमेश्‍वरको प्रत्येक सेवकलाई व्यक्‍तिगत तवरले पनि आक्रमण गर्छ। शैतानको लक्ष्य के हो? त्यसले यहोवाका मानिसहरूलाई हतोत्साही पार्न चाहन्छ। अनि ‘परमेश्‍वरको आज्ञा पालन गर्न’ तथा “येशूको साक्षी दिन” समेत रोक्छ।—प्रकाश १२:१७.

यहोवाले पुरातन इस्राएलका शासकीय गोठालाहरूलाई बगालको हेरचाह नगरेकोले दोषी ठहराउनुभयो। किनभने उहाँका भेडाहरू “जंगली जनावरहरूका शिकार भएका” थिए। (इजकिएल ३४:८) तथापि, मसीही मण्डलीमा भएकाहरूको सुरक्षा गर्न मसीही प्राचीनहरू हृदयदेखि इच्छुक छन्‌। हेलचक्राइँको कारण वा शैतान, संसार वा धर्मत्यागी “ब्वाँसाहरू[को]” प्रभावमा परेर कोही पनि नष्ट नहोस्‌ भन्‍ने तिनीहरू चाहन्छन्‌। (प्रेरित २०:२९, ३०) कसरी गोठालाहरूले बगालका सबै सदस्यहरूलाई सचेत र जागा रहन मदत गर्छन्‌? एउटा तरिका हो, राम्ररी तयार गरेर राज्य- भवनको मञ्चबाट धर्मशास्त्रीय भाषण दिनु। अर्को हो, सभाहरूअघि अनि पछि सकारात्मक तथा प्रोत्साहनदायी वार्तालाप गर्नु। अझ अर्को प्रभावकारी तरिका हो, “भेडा[लाई]” व्यक्‍तिगत तवरले तिनको घरमा भेट गर्नु। (तुलना गर्नुहोस्‌ भजन ९५:७) तर गोठालोरूपी भेट के हो? यो कसरी गर्नुपर्छ? अनि क-कसलाई भेट्‌नुपर्छ?

गोठालोरूपी भेट के हो?

गोठालोरूपी भेट भनेको सामान्य कुराकानीको लागि भेट गर्नु मात्र होइन। एक प्राचीनले भने: “धेरैजसो प्रकाशकहरू शास्त्रपद पढ्‌दा वा बाइबलको विशेष पात्रबारे चर्चा गर्दा आनन्दित हुन्छन्‌। निस्सन्देह, यो भेटमा प्राचीन मात्र बोलेको बोलेकै गर्दैनन्‌। साधारणतया, यस्तो भेटमा बाइबल आधारित आफ्ना सोचाइहरू व्यक्‍त गर्न पाउँदा राज्य प्रकाशक आनन्दित हुन्छन्‌। यसो गर्दा तिनको विश्‍वास बलियो हुन्छ। प्राचीनले प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌! पत्रिका लगेर प्रोत्साहनदायी लेखबारे चर्चा गर्नसक्छन्‌। शायद यो आध्यात्मिक चर्चा नै गोठालोरूपी भेट र सँगी भेटबीचको भिन्‍नता हो।”

अर्को अनुभवी प्राचीनले यस्तो टिप्पणी गरे: “प्रकाशकलाई भेट्‌न जानुअघि प्राचीनले त्यस प्रकाशकको आवश्‍यकताहरूबारे केही क्षण विचार गर्छन्‌। के कुराले प्रकाशकको सुधार हुनसक्छ? निष्कपट प्रशंसा गर्नु गोठालोरूपी भेटको अत्यावश्‍यक भाग हो। किनभने यसले व्यक्‍तिको सहनशीलतालाई बलियो बनाउँछ।” हो, गोठालोरूपी भेट मण्डलीको प्रत्येक व्यक्‍तिले गर्नसक्ने मित्रैलो भेट मात्र होइन।

किन गोठालो तपाईंलाई भेट्‌न आउँछन्‌?

सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिन तथा विश्‍वासमा दृढ हुने मदत गर्न तयार भएर प्राचीनहरू तिनीहरूको घरमा आउँछन्‌। (रोमी १:११) त्यसोभए एक वा दुइ प्राचीनले तपाईंलाई भेट्‌ने इच्छा गरेमा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? एक परिभ्रमण निरीक्षकले भने: “समस्या खडा हुँदा मात्र गोठालोरूपी भेट गरियो भने, भेट्‌ने प्रस्ताव राख्दा प्रथम प्रतिक्रिया यो हुनसक्छ, ‘मैले के भूल गरेको छु?’” मायालु आध्यात्मिक गोठालाहरू यहोवाको अनुकरण गर्छन्‌, जसले भजनरचयितालाई हेरचाह गर्नुभयो र विशेष गरेर पीडित अवस्थामा हुँदा तथा खास खाँचोमा पर्दा ‘तिनको प्राणलाई पुनर्जीवित’ पार्नुभयो।—भजन २३:१-४.

गोठालोरूपी भेटको उद्देश्‍य ‘बिगार्नु होइन, तर सुधार्नु’ हो। (२ कोरिन्थी १३:१०) निस्सन्देह, प्रोत्साहन दिनु भनेको भेट गरिने व्यक्‍तिको सहनशीलता, जोश तथा विश्‍वासी कार्यका लागि व्यक्‍त गरिने मूल्यांकनका शब्दहरू हुन्‌। एक प्राचीनले भने: “गोठालोरूपी भेट गर्दा समस्याहरू खानतलास गर्न तथा त्यसबारे चर्चा गर्न प्राचीन आएको हो भन्‍ने प्रभाव पर्नु राम्रो होइन। वास्तवमा प्रकाशक आफै केही खास समस्याबारे कुरा गर्न इच्छुक होलान्‌। यदि भेडा शिथिल हुँदैछ वा बगालका बाँकी भेडाहरूबाट अलग्गिंदैछ भने, प्राचीनले सहायता दिनु आवश्‍यक छ।”

निस्सन्देह, मसीही प्राचीनहरूले यी शब्दहरूमा वर्णन गरिएकाहरूजस्तालाई विशेष हेरचाह गर्नेछन्‌: “हराएकोलाई म [यहोवा] खोज्नेछु, बाटो बिराएकोलाई म फेला पारेर ल्याउनेछु, घाइतेलाई म मलहम-पट्टी लगाइदिनेछु रोगीलाई स्वस्थ तुल्याउनेछु।” (इजकिएल ३४:१६) हो, भेडालाई खोज्नुपर्ने, फेला पारेर ल्याउनुपर्ने, मलहम-पट्टी बाँध्नुपर्ने वा स्वस्थ तुल्याउनुपर्ने आवश्‍यकता पर्नसक्छ। इस्राएलका गोठालाहरूले यी जिम्मेवारीहरूको हेलचक्राइँ गरे। यो कार्यका लागि गोठालो ती खाँचोमा परेका भेडासित घनिष्ठ हुनुपर्छ अनि तिनका आवश्‍यकताहरूको हेरचाह गर्नुपर्छ। गोठालोरूपी भेटको मुख्य विशेषता नै यही हुनुपर्ने हो।

स्वस्थ भेडालाई हेरचाहको खाँचो पर्छ

त्यसोभए वर्तमान समयका आध्यात्मिक गोठालाहरूले के स्वस्थ भेडाहरूको खास हेरचाह गर्नु खाँचो छैन र? हो, यदि साँच्चैको भेडाले गोठालोलाई विश्‍वास गर्छ भने, त्यस भेडा समस्यामा फस्दा तिनलाई मदत गर्न निकै सजिलो हुन्छ। एउटा पुस्तिकाअनुसार, “स्वाभाविकतः भेडा मानवहरूबाट टाढा रहन्छ। अनि तिनीहरूको भरोसालाई जित्नु सधैं सजिलो हुँदैन।” यसै पुस्तिकाले भेडाको विश्‍वास जित्न दिइएका निर्देशनहरूमध्ये एउटा यस्तो छ: “नियमित तवरमा भेडाहरूसित बोल्नुहोस्‌। तिनीहरू गोठालोको आवाजसित परिचित हुन्छन्‌। त्यसले तिनीहरूको विश्‍वास बढाउँछ। भेडालाई चरनमा बारम्बार भेट्‌नुहोस्‌।”—आलेस्‌ फुर दास शाफ हान्टबुक फुर डी आर्टजेरेकते हाल्टुंग (भेडाका लागि सबै कुरा। तिनीहरूलाई कसरी ठीकसित राख्ने विषयक पुस्तिका)।

तसर्थ, गोठालो र भेडाबीच भरोसायोग्य सम्बन्ध कायम गर्नु छ भने, व्यक्‍तिगत सम्पर्क आवश्‍यक छ। यही कुरा मसीही मण्डलीमा पनि लागू हुन्छ। एक प्राचीनले यस्तो अवलोकन गरे: “नियमित तवरमा भेडासित भेट गर्ने प्राचीन भनेर मण्डलीमा चिनिंदा समस्यामा परेकाहरूसित भेट गर्न सजिलो हुन्छ।” यसर्थ, आध्यात्मिक गोठालाहरूले भेडालाई राज्य भवनमा मात्र खुवाउने, हेरचाह गर्ने चेष्टा गर्नु हुँदैन। परिस्थितिले दिएसम्म प्राचीनहरूले भेडाहरूको घरमा गोठालोरूपी भेट गरेर तिनीहरूलाई चिन्‍नुपर्छ। एक जना मसीही आफू भर्खरै प्राचीन नियुक्‍त हुँदाखेरिको एउटा घटना यसरी स्मरण गर्छन्‌। तिनी भन्छन्‌, अध्यक्षले तिनलाई एक जना भाइलाई सान्त्वना दिन जानू भनेर फोन गरे। त्यस भाइकी छोरी भयानक सडक दुर्घटनामा मरेकी थिइन्‌। त्यस प्राचीन यसरी स्वीकार्छन्‌: “मैले त्यस भाइलाई कहिल्यै भेट्‌न नगएको तथा तिनको घरसमेत थाह नभएकोले मलाई असाध्यै पछुताउ लाग्यो! एक परिपक्व प्राचीनले मलाई मदत गर्ने आश्‍वासन दिनुभएपछि मात्र सन्तोषको सास फेरें।” हो, प्राचीनहरूले गोठालोरूपी भेटमा जाँदा एकअर्कालाई सहयोग गर्छन्‌।

गोठालोरूपी भेटमा जाँदा तथा यसका लागि तयारी गर्दा निरी- क्षकको “असल काम” गर्न योग्य सहायक सेवक तिनीसँग जानसक्छन्‌। (१ तिमोथी ३:१, १३) प्राचीनले गोठालोरूपी भेटमा भेडाको सेवा गरेको देखेर सहायक सेवकले कति धेरै मूल्यांकन गर्छन्‌! यसप्रकार मण्डलीका सबैसित घनिष्ठ भएर प्राचीन र सहायक सेवकहरूले मसीही प्रेम तथा एकताको गाँठोलाई बलियो बनाउँछन्‌।—कलस्सी ३:१४.

गोठालोरूपी भेटका लागि समय मिलाउने

प्राचीनहरूको निकायले मण्डली पुस्तक अध्ययन सञ्चालकहरूलाई गोठालोरूपी भेट गर्ने जिम्मेवारी सुम्पेका थिए। केही पुस्तक अध्ययन समूहका सम्पूर्ण प्रकाशकहरूसित छ महिनाभित्र भेट गरियो भने, अरू समूहका एक जनासित पनि भेट गरिएन। यो कुराले एक प्राचीनलाई यसो भन्‍न उत्प्रेरित गऱ्‍यो: “केही प्राचीनहरू अझै अग्रसर भई धेरै गोठालो कार्य गर्छन्‌ जस्तो देखिन्छ। तर अरू प्राचीनहरूलाई चाहिं यसो गर्न सँगी प्राचीनहरूबाट प्रोत्साहनको आवश्‍यकता पर्छ।” त्यसकारण केही मण्डलीहरूमा प्राचीनहरूको निकायले गोठालाहरूद्वारा सम्पूर्ण प्रकाशकहरूलाई निश्‍चित समयावधिभित्र भेट्‌नुपर्ने प्रबन्धहरू मिलाउँछन्‌।

वास्तवमा एक प्राचीन वा कुनै अरू प्रकाशकले विशेष प्रबन्धहरूको प्रतीक्षा नगरी मण्डलीका कसैसित पनि भेट गर्नसक्छन्‌। गोठालोरूपी भेट गर्नुअघि प्राचीनले फोन गरेर यसो भन्छन्‌, “म प्रत्येक महिना हरेक परिवारसित गोठालोरूपी भेट गर्दैछु। के म एक घण्टाका लागि तपाईंको समय लिन सक्छु? वा अर्को महिना कुनै पनि समय तपाईंलाई भेट्‌न सक्छु? तपाईंलाई पायक पर्ने समय कुन होला?”

गोठालोरूपी भेटका आशिष्‌हरू

यस दुष्ट रीतिरिवाजका दबाबहरू लगातार बढ्‌दै जाँदा समझदार गोठालाहरूद्वारा प्रोत्साहनदायी भेट गर्नु झन्‌ झन्‌ लाभदायी हुँदै जान्छ। बगालका सबैलाई प्रोत्साहन तथा गोठालोरूपी भेटद्वारा मदत दिंदा प्रत्येक भेडाले सुरक्षित महसुस गर्छन्‌।

गोठालाहरूले सबै राज्य प्रकाशकहरूसित भेट गरेका एउटा मण्डलीको सम्बन्धमा यस्तो रिपोर्ट गरियो: “गोठालोरूपी भेटबारे प्रकाशकहरू एकदमै सकारात्मक भए। प्रकाशकले कुनै पनि प्राचीनलाई फेरि कहिले भेट्‌न आउनुहुनेछ भनेर सोध्नु त अति सामान्य कुरा भयो। किनभने त्यस सोध्ने प्रकाशकले अघिल्लो भेटको दौडान भएको प्रोत्साहनदायी वार्तालापबाट आनन्द उठाएका थिए। मण्डलीमा जोश बढाउन मदत दिने एउटा तत्त्व गोठालोरूपी भेट साबित भयो।” गोठालाहरूले यसरी मायालु सेवा गर्दा मण्डली प्रेम, एकता र न्यानोपनमा हुर्कन सक्छ भनेर अन्य विवरणहरूले संकेत गर्छ। कस्तो आशिष्‌!

मसीही गोठालाहरूले भेडाको आध्यात्मिक स्वास्थ्य सुधार्न भेट गर्छन्‌। प्राचीनहरू आफ्ना सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिन तथा बलियो बनाउन चाहन्छन्‌। यदि गम्भीर समस्याको कारण सल्लाहको आवश्‍यकता देखिएमा अर्को भेटको दौडान त्यो समस्या बताउनुपर्छ। विशेष गरेर प्राचीनको साथमा सहायक सेवक छन्‌ भने, यो समस्याबारे अर्को समयमा चर्चा गर्ने प्रबन्ध मिलाउनु उत्तम हुनेछ। जस्तोसुकै परिस्थिति भए तापनि प्रार्थनाद्वारा गोठालोरूपी भेटलाई समापन गर्नु उचित हुन्छ।

के निकट भविष्यमा आध्यात्मिक गोठालो तपाईंको घरमा भेट गर्न चाहन्छन्‌? त्यसो हो भने, तपाईंलाई चाहिएको प्रोत्साहनको प्रत्याशा गर्दै आनन्दित भएर तिनको बाटो हेर्नुहोस्‌। तिनी तपाईंको सेवा गर्न आउँदैछन्‌। अनन्त जीवनतर्फ डोऱ्‍याउने मार्गमा हिंडिरहन्छु भन्‍ने तपाईंको संकल्पलाई बलियो पार्न तिनी आउँदैछन्‌।—मत्ती ७:१३, १४.

[पृष्ठ २६-मा भएको पेटी]

गोठालोरूपी भेटका लागि सुझाउहरू

◻ भेट्‌ने समय मिलाउनुहोस्‌: साधारणतया, भेट्‌ने समय मिलाउनु असल हुन्छ। प्राचीनले गम्भीर समस्या हल गर्ने योजना बनाएका छन्‌ भने, प्रकाशकलाई त्यसबारे पहिल्यै सूचित गर्नु उचित हुनेछ।

◻ तयारी: त्यस व्यक्‍तिको व्यक्‍तित्व र परिस्थितिलाई विचार गर्नुहोस्‌। हार्दिक प्रशंसा गर्नुहोस्‌। प्रोत्साहनदायी र विश्‍वासलाई बलियो बनाउने “आत्मिक वरदान” प्रदान गर्ने लक्ष्य राख्नुहोस्‌।—रोमी १:११, १२.

◻ सँगै कसलाई लाने: अर्को प्राचीन वा योग्य सहायक सेवक।

◻ भेटको दौडान: प्राचीन तनाउमुक्‍त, मायालु, सकारात्मक र लचकदार हुनुपर्छ। परिवारको सुस्वास्थ्य तथा त्यस्तै अरू कुराहरूबारे सोध्नुहोस्‌। ध्यानपूर्वक सुन्‍नुहोस्‌। गम्भीर समस्याहरू प्रकट भएमा विशेष गोठालोरूपी भेटको प्रबन्ध गर्नु बेस हुनसक्छ।

◻ भेटको समयावधि: तोकिएको समयमै कुराकानी सक्नुहोस्‌ र तपाईंको आतिथेयलाई भेटको आनन्द भइरहेको बेला प्रस्थान गर्नुहोस्‌।

◻ भेटको समापन: प्रार्थना गर्नु उचित छ र त्यसको साँचो मूल्यांकन पनि गरिन्छ।—फिलिप्पी ४:६, ७.

[पृष्ठ २४-मा भएको चित्र]

मसीही गोठालाहरूले आध्यात्मिक सुरक्षा प्रदान गर्छन्‌

[पृष्ठ २६-मा भएको चित्र]

गोठालोरूपी भेटले आध्यात्मिक प्रोत्साहनका लागि उत्तम मौकाहरू प्रदान गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने