प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt chap. ४ pp. ३२-४०
  • सबै अगमवक्‍ताहरूले गवाही दिएका जन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै अगमवक्‍ताहरूले गवाही दिएका जन
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवाणीहरूले के प्रकट गऱ्‍यो
  • ख्रीष्टमा विश्‍वास देखाउनुहोस्‌
  • ती जन जसबारे सबै अगमवक्‍ताहरूले गवाही दिए
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • साँपको सन्तान कसरी पर्दाफास भयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • बाइबलको महान विषय
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • अनन्त जीवनमा लाने एकमात्र मार्ग
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt chap. ४ pp. ३२-४०

अध्याय चार

सबै अगमवक्‍ताहरूले गवाही दिएका जन

१. येशूको मानवपूर्व अस्तित्वले यहोवासित उहाँको सम्बन्धबारे के बताउँछ?

“पिताले पुत्रलाई माया गर्नुहुन्छ, र उहाँ आफैले गर्नुहुने सबै काम उसलाई देखाउनुहुन्छ।” (यूहन्‍ना ५:२०) आफ्नो पिता, यहोवासित पुत्रको कस्तो न्यानो सम्बन्ध थियो! त्यस्तो आत्मीय सम्बन्ध उहाँ मानवको रूपमा जन्मनुभन्दा अनगिन्ती सहस्राब्दीअघि अर्थात्‌ सृष्टिको समयदेखि सुरु भयो। उहाँ परमेश्‍वरको एक मात्र पुत्र अर्थात्‌ यहोवा आफैले सृष्टि गर्नुभएको जन हुनुहुन्छ। स्वर्ग र पृथ्वीमा भएका बाँकी सबै थोक, यही प्यारो ज्येष्ठ पुत्रको सहायता लिएर बनाइएको थियो। (कलस्सी १:१५, १६) उहाँ परमेश्‍वरको ईश्‍वरीय इच्छा प्रकट गर्ने परमेश्‍वरको वचन वा प्रवक्‍ता हुनुभयो। परमेश्‍वरले एकदमै मन पराउनुभएको यही पुत्र, मानव रूपमा येशू ख्रीष्ट हुनुभयो।—हितोपदेश ८:२२-३०; यूहन्‍ना १:१४, १८; १२:४९, ५०.

२. बाइबलका भविष्यवाणीहरूले येशूबारे कत्तिको उल्लेख गरेका छन्‌?

२ परमेश्‍वरको जेठो पुत्र, चमत्कारपूर्ण ढंगमा मानवको रूपमा गर्भधारण हुनुअघि उहाँबारे असंख्य प्रेरित भविष्यवाणीहरू लेखिएका थिए। प्रेरित पत्रुसले कर्नीलियसलाई यस्तो प्रमाण प्रस्तुत गरे: “उहाँकै निम्ति सबै अगमवक्‍ताहरूले गवाही दिएका छन्‌।” (प्रेरित १०:४३) येशूको भूमिकाबारे बाइबलमा एकदमै विस्तृत वर्णन गरिएको हुँदा एक जना स्वर्गदूतले प्रेरित यूहन्‍नालाई यसो भने: “येशूको साक्षी अगमवाणीको आत्मा हो।” (प्रकाश १९:१०) ती भविष्यवाणीहरूले उहाँ नै मसीह हुनुहुन्छ भनेर स्पष्टसित चिनायो। उहाँले परमेश्‍वरको उद्देश्‍य पूरा गर्न निर्वाह गर्नुहुने विभिन्‍न भूमिकामा ध्यानाकर्षण गऱ्‍यो। यी सबै आज हाम्रोलागि गहिरो चासोको विषय हुनुपर्ने हो।

भविष्यवाणीहरूले के प्रकट गऱ्‍यो

३. (क) उत्पत्ति ३:१५ मा लिपिबद्ध भविष्यवाणीमा सर्प, “स्त्री” तथा ‘सर्पको सन्तानले’ क-कसको प्रतिनिधित्व गर्छन्‌? (ख) ‘सर्पको शिर कुच्याउने’ घटना किन यहोवाका साक्षीहरूको लागि विशेष चासोको कुरा हो?

३ अदनमा भएको विद्रोहपछि सबैभन्दा पहिलो भविष्यवाणी गरिएको थियो। यहोवाले सर्पलाई भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) उक्‍त भविष्यवाणी वास्तवमा त्यो सर्पले प्रतिनिधित्व गर्ने शैतानलाई भनिएको थियो। त्यस “स्त्री,” यहोवाको वफादार स्वर्गीय संगठन हो, जो उहाँप्रति विश्‍वासी पत्नीजस्तै छिन्‌। ‘सर्पको सन्तानमा’ यहोवा र उहाँका जनहरूको विरोध गरेर शैतानको मनोभाव झल्काउने स्वर्गदूत र मानवहरू सबै समावेश छन्‌। ‘सर्पको शिर कुच्याउनु’ भनेको यहोवाको निन्दा गरेर मानवजातिमाथि ठूलो दुःख ल्याउने विद्रोही शैतानलाई सदाको लागि विनाश गर्नु हो। तर शिर कुच्याउने “सन्तान[को]” प्रमुख पक्ष के हो? त्यो शताब्दीयौंसम्म ‘गुप्त रहस्य’ रह्‍यो।—रोमी १६:२०, २५, २६.

४. येशूको वंशजले उहाँ नै प्रतिज्ञा गरिएको सन्तान हुनुहुन्छ भनेर चिन्‍न कसरी मदत गऱ्‍यो?

४ मानव इतिहासको लगभग २,००० वर्षपछि यहोवाले थप विवरणहरू दिनुभयो। उहाँले त्यो सन्तान अब्राहामको वंशमा देखा पर्नेछ भनेर प्रकट गर्नुभयो। (उत्पत्ति २२:१५-१८) तथापि, त्यो सन्तान देखा पर्ने वंश, जन्मजात वंशजमा निर्भर हुनेथिएन तर परमेश्‍वरले छान्‍नुहुनेथियो। हागारबाट जन्मिएको छोरा, इश्‍माएलप्रति अब्राहामको प्रेमको बावजूद यहोवाले यसो भन्‍नुभयो: “मेरो करार ता म इसहाकसँगै स्थापित गर्नेछु, जसलाई साराले . . . जन्माउनेछ।” (उत्पत्ति १७:१८-२१) पछि त्यो करार इसहाकको जेठो छोरा, एसावलाई होइन तर इस्राएलका १२ कुलका पिता याकूबसित बाँधियो। (उत्पत्ति २८:१०-१४) समयको अन्तरालमा उक्‍त सन्तान यहूदाको घराना, दाऊदको वंशमा जन्मिनेछ भनेर संकेत गरियो।—उत्पत्ति ४९:१०; १ इतिहास १७:३, ४, ११-१४.

५. येशूले आफ्नो पार्थिव सेवकाई सुरु गर्नुहुँदा उहाँ मसीह हुनुहुन्छ भनेर कुन कुराले प्रस्ट गऱ्‍यो?

५ सन्तानको चिनारीको सन्दर्भमा अरू के कस्ता छनकहरू दिइएका थिए? प्रतिज्ञा गरिएको सन्तान जन्मनुभन्दा ७०० वर्षअघि उक्‍त सन्तान बेतलेहेममा जन्मिनेछ भनेर बाइबलले बताएको थियो। यसले त्यो सन्तान स्वर्गमा सृष्टि भएदेखि नै अर्थात्‌ “प्राचीनकालदेखिनै” अस्तित्वमा थियो भनेर प्रकट गऱ्‍यो। (मीका ५:२) मसीहको रूपमा पृथ्वीमा देखा पर्ने निश्‍चित समयबारे पनि अगमवक्‍ता दानियलले भविष्यवाणी गरिसकेका थिए। (दानियल ९:२४-२६) अनि येशू पवित्र आत्माले अभिषिक्‍त हुनुभएर यहोवाको अभिषिक्‍त जन हुनुहुँदा स्वर्गबाट निस्केको स्वयम्‌ परमेश्‍वरको आवाजले नै उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनेर स्पष्टसित चिनायो। (मत्ती ३:१६, १७) यसरी सन्तान को हो भनी प्रकाश पारियो! त्यसैले फिलिपले निर्धक्क भएर यसो भन्‍न सके: “जसका विषयमा मोशाले व्यवस्थामा औ अगमवक्‍ताहरूले लेखे, हामी आफैले उहाँलाई भेट्टाएका छौं।”—यूहन्‍ना १:४५.

६. (क) येशूको मृत्युपछि उहाँका अनुयायीहरूले कुन कुरा बुझे? (ख) ‘स्त्रीको सन्तानको’ प्रमुख भाग को हुनुहुन्छ र उहाँले सर्पको शिर कुच्याउनुको अर्थ के हो?

६ त्यसपछि, येशूका अनुयायीहरूले उहाँसित सम्बन्धित थुप्रै भविष्यसूचक विवरणहरू प्रेरित धर्मशास्त्रमा लिपिबद्ध गरिएका रहेछन्‌ भनेर बुझे। (लूका २४:२७) सर्पको शिर कुच्याउने अर्थात्‌ शैतानलाई नामेट पार्ने ‘स्त्रीको सन्तानको’ प्रमुख भाग येशू हुनुहुन्छ भनेर झन्‌ प्रस्ट भयो। उत्सुक भएर पर्खिरहेका हामी मानिसजातिको लागि परमेश्‍वरका सबै प्रतिज्ञाहरू येशूमार्फत पूरा हुनेछन्‌।—२ कोरिन्थी १:२०.

७. भविष्यवाणीहरूमा उल्लेख गरिएको जनबारे चिनारीको अलावा अरू कुन कुरा बुझ्नु बेस हुनेछ?

७ यो कुरा थाह पाउँदा हामीमा कस्तो असर पर्नुपर्ने हो? बाइबलले एक जना इथियोपियाली नपुंसकबारे बताउँछ जसले आउँदै गरेको मुक्‍तिदाता र मसीहबारे केही भविष्यवाणीहरू पढेका थिए। अलमल्लमा पर्दै तिनले सुसमाचारक फिलिपलाई यस्तो प्रश्‍न गरे: “अगमवक्‍ताले यो कसको विषयमा भनेका हुन्‌?” नपुसंकले यसको जवाफ पाएपछि त्यतिमै मात्र चित्त बुझाएर बसेनन्‌। फिलिपले दिएको जवाफलाई ध्यान दिएर सुनेपछि यो पूरा भइसकेको भविष्यवाणीअनुरूप तिनले कदम चाल्नुपर्ने महसुस गरे। तिनले बप्तिस्मा लिनुपर्ने खाँचो बुझे। (प्रेरित ८:३२-३८; यशैया ५३:३-९) हामी पनि त्यस्तै प्रतिक्रिया देखाउँछौं?

८. (क) अब्राहामले इसहाकलाई अर्पण गर्न खोजेको घटनाले कुन कुराको पूर्वचित्रण गऱ्‍यो? (ख) सारा राष्ट्रले उक्‍त सन्तानद्वारा आशिष्‌ पाउनेछन्‌ भनेर यहोवाले अब्राहामलाई किन भन्‍नुभयो र यो आज हाम्रो समयमा कसरी लागू हुन्छ?

८ साथै, साराबाट जन्मिएको आफ्नो एक मात्र पुत्र, इसहाकलाई अर्पण गर्ने अब्राहामको हृदयस्पर्शी विवरणलाई विचार गर्नुहोस्‌। (उत्पत्ति २२:१-१८) त्यो घटनाले यहोवाले आफ्नो एक मात्र पुत्रलाई अर्पण गर्नुहुने कुराको पूर्वचित्रण गरिरहेको थियो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो एक मात्र प्रिय पुत्र दिनुभएझैं “उहाँले हामीलाई सबै थोक” दिनुहुनेछ भनेर विश्‍वस्त बनाउँछ। (रोमी ८:३२) हामी आफूले चाहिं के गर्नुपर्छ? उत्पत्ति २२:१८ मा रेकर्ड गरिएझैं त्यही सन्तानद्वारा सारा राष्ट्रले आशिष्‌ पाउनेछ भनेर यहोवाले अब्राहामलाई भन्‍नुभयो, “किनकि [अब्राहामले परमेश्‍वरको] वचन पालन” गरेका थिए। हामीले पनि यहोवा र उहाँको पुत्रको कुरा सुन्‍नुपर्छ: “जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्‍वरको क्रोध त्यसमाथि रहन्छ।”—यूहन्‍ना ३:३६.

९. ख्रीष्टको बलिदानले सम्भव तुल्याएको अनन्त जीवनको आशाप्रति हामी कृतज्ञ छौं भने हामी के गर्नेछौं?

९ येशूको बलिदानले सम्भव तुल्याएको अनन्त जीवनको आशाप्रति हामी कृतज्ञ छौं भने हामी यहोवाले येशूमार्फत भन्‍नुभएका कुराहरू गर्न इच्छुक हुनेछौं। यी कुराहरू परमेश्‍वर र हाम्रा छिमेकीहरूप्रतिको प्रेमसित सम्बन्धित छन्‌। (मत्ती २२:३७-३९) येशूले देखाउनुभएअनुसार अरूलाई सिकाउन अनि ‘[येशूले हामीलाई] आज्ञा गर्नुभएका सबै गर्न’ यहोवाप्रतिको प्रेमले हामीलाई उत्प्रेरित गर्नेछ। (मत्ती २८:१९, २०) अनि हामी यहोवाका सँगी दासहरूसित नियमित तवरमा “एक ठाउँमा भेला” भएर त्यो प्रेम बाँड्‌न चाहन्छौं। (हिब्रू १०:२५; गलाती ६:१०) साथै, परमेश्‍वर र उहाँको कुरा सुन्दा उहाँले हामीबाट सिद्धता माग गर्नुहुन्छ भन्‍ने सोचाइ राख्नु हुँदैन। हिब्रू ४:१५ ले बताएअनुसार हाम्रा प्रधान पूजाहारी, येशू “हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन” सक्नुहुन्छ। हामी आफ्ना कमजोरीहरूमाथि विजयी हुन ख्रीष्टद्वारा परमेश्‍वरलाई पुकारेर मदत माग्न सक्नु कस्तो सान्त्वनादायी कुरा हो!—मत्ती ६:१२.

ख्रीष्टमा विश्‍वास देखाउनुहोस्‌

१०. येशू ख्रीष्टबाहेक किन अरू कसैबाट मुक्‍ति सम्भव छैन?

१० बाइबल भविष्यवाणी येशूमा पूरा भइसकेको छ भनी यरूशलेमको यहूदी महासभामा औंल्याइसकेपछि पत्रुस यस्तो जोडदार निष्कर्षमा पुगे: “नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।” (प्रेरित ४:१२) आदमका सबै सन्तान पापी भएकोले तिनीहरूको मृत्युले कसैको लागि छुडौतीको मोल तिर्न सक्दैन। तर येशू सिद्ध हुनुहुन्थ्यो र उहाँको जीवन बलिदानरूपी छुडौतीको मोल थियो। (भजन ४९:६-९; हिब्रू २:९) उहाँले अर्पण गर्नुभएको छुडौतीको मोल, आदमले गुमाएको सिद्ध जीवनको मोल बराबर थियो। (१ तिमोथी २:५, ६) यसले हामीलाई परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन प्राप्त गर्ने बाटो खोलेको छ।

११. येशूको बलिदानले हामीलाई कसरी ठूलो लाभ पुऱ्‍याउन सक्छ, वर्णन गर्नुहोस्‌।

११ छुडौतीको बलिदानले हामीलाई अहिले पनि अरू लाभहरू उठाउने बाटो खोलेको छ। उदाहरणका लागि, हामी पापी भए तापनि येशूको बलिदानले हामीलाई सफा अन्तस्करण राख्न सम्भव तुल्याएको छ किनभने हाम्रा पाप क्षमा भएका छन्‌। यो मोशालाई दिइएको व्यवस्थामा इस्राएलीहरूलाई पशुबलिले सम्भव तुल्याएको कुराभन्दा निकै महान्‌ थियो। (प्रेरित १३:३८, ३९; हिब्रू ९:१३, १४; १०:२२) तथापि, त्यस्तो क्षमा पाएको हुँदा हामीलाई ख्रीष्टको बलिदान कत्तिको आवश्‍यक छ भनेर इमानदार भई स्वीकार्नुपर्छ: “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्ना पापको स्वीकार गऱ्‍यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ।”—१ यूहन्‍ना १:८, ९.

१२. परमेश्‍वरसामु सफा अन्तस्करण राख्न पानीद्वारा बप्तिस्मा लिनु किन महत्त्वपूर्ण छ?

१२ पापीहरूले कसरी ख्रीष्ट र उहाँको बलिदानमाथि विश्‍वास प्रकट गर्न सक्छन्‌? प्रथम शताब्दीका मानिसहरूले येशूमाथि विश्‍वास गर्न थाल्दा तिनीहरूले जनसमक्ष प्रकट गरे। कसरी? तिनीहरूले बप्तिस्मा लिए। किन? किनभने येशूले आफ्ना सबै चेलाहरूलाई बप्तिस्मा लिने आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०; प्रेरित ८:१२; १८:८) यहोवाले येशूमार्फत गर्नुभएको मायालु प्रबन्धबाट साँच्चै उत्प्रेरित भएपछि मानिस चुप लागेर बस्न सक्दैन। तिनले आफ्नो जीवनमा आवश्‍यक छाँटकाँट गर्नेछन्‌, प्रार्थनामा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नेछन्‌ अनि पानीको बप्तिस्माद्वारा आफ्नो समर्पण जनसमक्ष प्रकट गर्नेछन्‌। यसरी आफ्नो विश्‍वास प्रकट गरेर ‘परमेश्‍वरतर्फ सफा विवेकको’ बिन्ती गर्छन्‌।—१ पत्रुस ३:२१.

१३. आफूले गल्ती गरेको कुरा थाह पायौं भने हामीले के गर्नुपर्छ र किन?

१३ यसो गरिसकेपछि पनि पापी झुकावहरू देखा परिरहनेछन्‌। त्यस्तो अवस्थामा के गर्ने? प्रेरित यूहन्‍नाले यसो भने: “तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ।” (१ यूहन्‍ना २:१, २) के यसको मतलब हामीले जस्तोसुकै पाप गरे तापनि परमेश्‍वरसित क्षमा माग्यौं भने क्षमा पाउँछौं भनेको हो? त्यसो होइन! क्षमा पाउनको लागि साँचो पश्‍चात्ताप गर्नुपर्छ। मसीही मण्डलीका पाको तथा अनुभवी व्यक्‍तिहरूबाट पनि मदत लिनुपर्ने हुन सक्छ। हामीले गरेको गल्ती स्वीकार्नुपर्छ अनि त्यस्तो गल्ती फेरि नदोहऱ्‍याउने उत्कट प्रयास गर्नको लागि साँचो पश्‍चात्ताप गर्नुपर्छ। (प्रेरित ३:१९; याकूब ५:१३-१६) यसो गरेको खण्डमा हामी येशूको मदत पाउने र यहोवाको अनुग्रह पुनर्स्थापित हुने कुरामा ढुक्क हुन सक्छौं।

१४. (क) येशूको बलिदानबाट हामीले लाभ उठाउन सकेको एउटा महत्त्वपूर्ण तरिका वर्णन गर्नुहोस्‌। (ख) हामीसित साँच्चै विश्‍वास छ भने हामीले के गर्नेछौं?

१४ येशूको बलिदानले उत्पत्ति ३:१५ मा उल्लिखित सन्तानको दोस्रो भाग अर्थात्‌ “सानो बगाल[को]” लागि स्वर्गमा अनन्त जीवनको ढोका खोलेको छ। (लूका १२:३२; गलाती ३:२६-२९) यसले अरू अरबौं मानिसजातिको लागि पार्थिव प्रमोदवनमा अनन्त जीवनको ढोका पनि खोलेको छ। (भजन ३७:२९; प्रकाश २०:११, १२; २१:३, ४) अनन्त जीवन भनेको ‘हाम्रा प्रभु येशू ख्रीष्टमार्फत परमेश्‍वरको वरदान’ हो। (रोमी ६:२३; एफिसी २:८-१०) यस वरदानमा हाम्रो विश्‍वास छ र त्यो सम्भव तुल्याइएको तरिकाप्रति कृतज्ञ छौं भने हामीले यो प्रकट गर्नेछौं। यहोवाले आफ्नो इच्छा पूरा गर्न कसरी येशूलाई अद्‌भुत ढंगमा चलाउनुभएको छ र हामीले येशूको पाइला हुबहु पछ्याउनु कत्तिको आवश्‍यक छ भनेर बुझेपछि मसीही सेवकाईलाई हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्रियाकलाप बनाउनेछौं। हामीले परमेश्‍वरका अद्‌भुत कार्यहरूबारे अरूलाई कत्तिको विश्‍वस्त भएर भन्छौं, त्यसैबाट हाम्रो विश्‍वास प्रकट हुनेछ।—प्रेरित २०:२४.

१५. येशू ख्रीष्टमाथि विश्‍वास राख्दा त्यसले कसरी एकतामा बाँध्छ?

१५ त्यस्तो विश्‍वासले कस्तो राम्रो परिणाम ल्याउँछ र हामीलाई एकतामा बाँध्छ! यसैमार्फत हामी यहोवा, उहाँको पुत्र र मसीही मण्डलीमा एकअर्कासित नजिक हुन्छौं। (१ यूहन्‍ना ३:२३, २४) यहोवाले येशूलाई “त्यो नाउँ प्रदान गर्नुभयो, जो [परमेश्‍वरको नाउँबाहेक] हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।”—फिलिप्पी २:९-११.

पुनरावृत्ति छलफल

• मसीह देखा पर्नुहुँदा परमेश्‍वरको वचनमाथि साँच्चै विश्‍वास गर्नेहरूलाई किन उहाँको चिनारी स्पष्ट भयो?

• येशूको बलिदानप्रति हाम्रो कृतज्ञता देखाउन हामीले गर्नुपर्ने केही कुराहरू के-के हुन्‌?

• येशूको बलिदानबाट हामीले कसरी लाभ उठाएका छौं? यहोवासित पापहरूको क्षमा माग्दा हामी कस्तो मदत पाउँछौं?

[पृष्ठ ३६-मा भएको चित्र]

येशूले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरका आज्ञाहरू पालन गर्न अरूलाई सिकाउनुपर्छ भनेर बताउनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने