चीलझैं उँभो उँभो उड्ने
नाजी यातना शिविरमा पाँच वर्षसम्म यातना भोगेपछि एक मानिसले कस्तो महसुस गर्छन्? हतोत्साह? द्वेष? प्रतिशोध?
अनौठो लाग्ला, त्यस्तै एक मानिसले यस्तो लेखे: “मेरो जीवन मैले आशा गरेभन्दा धेरै समृद्धशाली भएको महसुस गरें।” तिनले किन यस्तो महसुस गरे? तिनी बताउँछन्: “मैले सर्वोच्चको पखेटामुनि शरण पाएँ र अगमवक्ता यशैयाका शब्दहरू पूरा भएको अनुभव गरें। यशैयाले यसो भने: ‘परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्। तिनीहरू चीलझैं उँभो उभो उड़नेछन्, . . . तिनीहरू हिंड़ेर जान्छन्, तर क्लान्त हुनेछैनन्।’”—यशैया ४०:३१.
कल्पनै गर्न नसकिने डरलाग्दो यातना पाए तापनि यस मसीही पुरुषको मनोवृत्ति प्रतीकात्मक रूपमा उँभो उँभो उड्यो। नाजी क्रूरताले समेत यो मनोवृत्तिलाई दबाउन सकेन। दाऊदले जस्तै तिनले परमेश्वरको “पखेटा[मुनि]” शरण पाए। (भजन ५७:१) यस मसीहीले अगमवक्ता यशैयाले चलाएको उपमा प्रयोग गरे। तिनले आफ्नो आध्यात्मिक बललाई आकाशमा उँभो उँभो उड्ने चीलसित तुलना गरे।
के तपाईंले कहिल्यै समस्याहरूले लादिएको महसुस गर्नुभएको छ? निस्सन्देह, तपाईं पनि “चीलझैं उँभो उभो उड़[न]” सर्वोच्चको पखेटामुनि शरण चाहनुहुन्छ। यो कसरी सम्भव छ भनेर बुझ्न चीलबारे केही कुरा थाह पाउनु मदतकारी हुनेछ र धर्मशास्त्रमा यसलाई बारम्बार प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ।
चीलको ध्वजामुनि
पुरातन मानिसहरूले अवलोकन गरेका सबै चराहरूमध्ये शायद चीलको शक्ति र वैभवशाली उडानले गर्दा सबैभन्दा बढी प्रशंसा गरिन्थ्यो। बेबिलोनी, पारसी र रोमीहरूलगायत अधिकांश पुरातन सेनाहरू चीलको ध्वजा लिएर हिंड्थे। यिनीहरूमध्ये एक महान् कोरेसको सेना पनि थियो। बाइबलले यो पारसी राजा बेबिलोनी साम्राज्यलाई पूर्वबाट नाश गर्न आउने शिकारी चराजस्तै हुनेछ भनेर भविष्यवाणी गरेको थियो। (यशैया ४५:१; ४६:११) यो भविष्यवाणी लेखेको दुइ सय वर्षपछि चीलले आफ्नो शिकारलाई झम्टेझैं चील चिह्न भएको ध्वजा बोकेर हिंड्ने कोरेसको सेनाले बेबिलोन शहरमाथि हमला गऱ्यो।
हाल चार्लमेन तथा नेपोलियनजस्ता योद्धाहरू र संयुक्त राज्य तथा जर्मनीजस्ता देशहरूले चीललाई राष्ट्रिय प्रतीकका रूपमा चुनेका छन्। इस्राएलीहरूलाई चीलको प्रतिमूर्ति वा अरू कुनै पनि प्राणीलाई श्रद्धा नदिनू भनेर आज्ञा दिइएको थियो। (प्रस्थान २०:४, ५) तैपनि बाइबल लेखकहरूले आफ्ना सन्देशहरू बुझाउन चीलका गुनहरू अप्रत्यक्ष ढंगमा उल्लेख गरेका छन्। तसर्थ, धर्मशास्त्रमा बारम्बार उल्लेख गरिएको चरा चीलले बुद्धि, ईश्वरीय सुरक्षा र छरितोपनको प्रतिनिधित्व गर्छ।
चीलको आँखा
चीलको तीक्ष्ण आँखालाई उखानको रूपमा सधैं चलाउँदै आएको छ। सुनौलो चीलको वजन लगभग पाँच किलो मात्र भए तापनि यसको आँखा मानिसको भन्दा ठूलो हुन्छ र हेर्ने शक्ति झनै तीक्ष्ण हुन्छ। यहोवा स्वयंले अय्यूबलाई चीलको चारो खोज्ने क्षमताबारे यसो भन्नुभयो: “टाढ़ा टाढ़ा राम्ररी नियाली त्यहींबाट त्यसले आफ्ना आहार खोज्दछ।” (अय्यूब ३९:२७, २९) एलिस पारमेलीले बाइबलका सबै चराहरू (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यस्तो विवरण दिन्छिन्, “एक चोटि चीलले पाँच किलोमिटर टाढा एउटा तालमा मरेको माछा तैरिरहेको देखेर ठीक त्यही ठाउँमा कावा खाँदै गोता मारे। त्यस चीलले मानिसले भन्दा धेरै टाढामा सानो वस्तु देख्न सकेको मात्र होइन तर ४.८ किलोमिटर टाढादेखि माछामाथि निरन्तर ध्यान केन्द्रित गर्दै गोता मारे।”
तीक्ष्ण आँखा भएकोले चील यहोवाको प्रमुख गुनहरूमध्ये एउटा, बुद्धिको सुहाउँदो प्रतीक हो। (तुलना गर्नुहोस् इजकिएल १:१०; प्रकाश ४:७) किन? बुद्धिमा हामीले गर्ने कार्यको परिणामहरूको पूर्वविचार गर्नु समावेश छ। (हितोपदेश २२:३) येशूको दृष्टान्तमा बुद्धिमान मानिसले आँधी बेह्री आउने सम्भावना देखेर चटानमाथि घर बनाएजस्तै टाढासम्म देख्नसक्ने क्षमता भएको चीलले पहिल्यै खतरा देख्नसक्छ र सावधानी अपनाउँछ। (मत्ती ७:२४, २५) चाखलाग्दो कुरा, स्पेनी भाषामा कुनै मानिसलाई चीलजस्तो भनेर व्याख्या गर्दा तिनी अन्तरदृष्टि भएको वा विवेकी छ भन्ने बुझिन्छ।
चीललाई नजीकबाट हेर्ने मौका पाउनुभयो भने, यसले आँखा कसरी चलाउँछ याद गर्नुहोस्। यसले तपाईंलाई पुलुक्क मात्रै हेर्दैन। बरु यसले तपाईंको बाहिरी रूपको हरेक विवरण छानबिन गरेको जस्तो देखिन्छ। त्यस्तैगरि बुद्धिमान मानिसले कुनै निर्णय लिनुअघि आफ्नो सहजज्ञान वा भावनाहरूमा विश्वास गर्नुको साटो त्यस विषयलाई होशियारीपूर्वक विश्लेषण गर्छ। (हितोपदेश २८:२६) चीलको तीक्ष्ण दृष्टि ईश्वरीय बुद्धिको सुहाउँदो प्रतीक हो भने बाइबल लेखकहरूले यसको वैभवशाली उडानलाई पनि प्रतीकात्मक रूपमा प्रयोग गरेका छन्।
‘आकाशमा चीलको चाल’
‘आकाशमा चीलको’ गति र चाल दुवैले गर्दा आकर्षक हुन्छ किनभने त्यसले तोकिएको मार्ग पछ्याउँदैन, कुनै चिह्न छोड्दैन र प्रयासै नगरी उडेझैं देखिन्छ। (हितोपदेश ३०:१९) विलाप ४:१९ मा चीलको छरितोपनबारे संकेत गरिएको छ। बेबिलोनी सेनाहरूबारे त्यहाँ यसरी वर्णन गरेको छ: “हामीलाई खेद्नेहरू आकाशका गिद्दहरू [चीलहरू, NW] भन्दा पनि तेज छन्। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे।” आकाशमा कावा खाँदै गरेको चीलले आफ्नो शिकार देखेपछि पखेटा ढल्काएर सीधै गोता मार्छ र केही प्रतिवेदनअनुसार त्यस्तो बेला यसको गति प्रतिघण्टा १३० किलोमिटरसम्म हुन्छ। अतः धर्मशास्त्रले विशेषगरि सैनिक शक्तिसम्बन्धी कुराहरूमा चीललाई गतिको पर्यायवाचीको रूपमा प्रयोग गर्नु कुनै छक्कलाग्दो कुरा होइन।—२ शमूएल १:२३; यर्मिया ४:१३; ४९:२२.
यशैयाले अर्कोतर्फ, हेर्दा कुनै प्रयासबिना उडेझैं देखिने चीलको उल्लेख गर्छन्। “परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्। तिनीहरू चीलझैं उँभो उभो उड़नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिंड़ेर जान्छन्, तर क्लान्त हुनेछैनन्।” (यशैया ४०:३१) चील उड्दा तैरन सकेको रहस्य के हो? उँभो उँभो उड्न चीलले धेरै प्रयास गर्नुपर्दैन किनभने यसले उष्ण हावा वा न्यानो हावाका लहरहरू प्रयोग गर्छ। उष्ण हावा अदृश्य हुन्छ तर चील त्यो भेटाउन निपुण हुन्छ। उष्ण हावा भेटाएपछि चीलले आफ्नो पखेटा तथा पुच्छर फैलाउँछ र न्यानो हावाको लहरमा चक्कर लाउँछ, जसले चीललाई माथि माथि लग्छ। पर्याप्त उँचाइमा पुगेपछि अर्को उष्ण हावामा जान्छ र फेरि त्यहाँ पनि त्यही प्रक्रिया दोहोऱ्याउँछ। यसरी चील आफ्नो बल नगुमाई घण्टौंसम्म माथि उड्नसक्छ।
इजरायलको विशेषगरि रिफ्ट उपत्यकामा लाल समुद्रको तटको इजनगेबरदेखि उत्तरमा दानसम्म चीलहरू प्रशस्त देखिन्छन्। अझ विशेषगरि वसन्त र शरद् ऋतुमा तिनीहरू स्थानान्तरण हुँदा प्रशस्त देखिन्छ। कुनै वर्षहरूमा झन्डै १,००,००० वटासम्म चीलहरू गन्ती गरिएको छ। बिहानीको घामले हावा न्यानो भएपछि रिफ्ट उपत्यकाको सीमानामा पर्ने भीरहरूमा सयौं शिकारी पक्षीहरू देख्न सकिन्छ।
आफ्नो कार्यमा लागिरहन यहोवाको बलले हामीलाई आध्यात्मिक र भावनात्मक तवरमा कसरी उचाल्नसक्छ भनेर देखाउन हेर्दा कुनै प्रयासबिना उडेझैं देखिने चीलको दृष्टान्त असाध्यै राम्रो छ। चीलले आफ्नो बल मात्र प्रयोग गरेर उँभो उँभो उड्न नसकेजस्तै हामी पनि आफ्नै क्षमतामा मात्रै भर पर्न सक्दैनौं। प्रेरित पावल यो बताउँछन्: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) अदृश्य उष्ण हावालाई चीलले निरन्तर खोजिरहेजस्तै हाम्रो तीव्र प्रार्थनाद्वारा हामीले यहोवाको अदृश्य सक्रिय शक्ति ‘मागिरहन्छौं।’—लूका ११:९, १३.
स्थानान्तरण गर्ने चीलहरूले प्रायजसो अन्य शिकार पक्षीहरूलाई हेरेर उष्ण हावा भेटाउँछ। प्रकृतिविद् डि. आर. म्याकेनटासको प्रतिवेदनअनुसार एक चोटि २५० वटा चील तथा गिद्धहरू एउटै उष्ण हावामा कावा खाँदै उँभो उँभो उडेको देखिएको थियो। त्यस्तैगरि आज मसीहीहरूले अन्य विश्वासी धर्मी सेवकहरूको अनुकरण गर्दै यहोवाको बलमा निर्भर गर्न सिक्नसक्छन्।—तुलना गर्नुहोस् १ कोरिन्थी ११:१.
चीलको पखेटाको छायामा
चीलको जीवनमा सबैभन्दा खतरनाक समयहरूमध्ये एउटा, उड्न सिक्दा हो। थुप्रै चीलहरू उड्न खोज्दा मर्छन्। भर्खरै मिश्रबाट छुट्कारा पाएको कलिलो इस्राएल राष्ट्रलाई पनि त्यस्तै खतरा थियो। अतः इस्राएलीहरूलाई भन्नुभएको यहोवाको शब्द एक- दमै सुहाउँदो थियो: “मैले मिश्रीहरूलाई के गरें, औ तिमीहरूलाई कसरी गरुड़का [चील, NW] पखेटामाझ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ।” (प्रस्थान १९:४) पहिलो चोटि उड्न खोज्दा बचेराहरू नखसोस् भनेर चीलले एकछिनको लागि आफ्ना बचेराहरू पिठयूँमा बोकेका प्रतिवेदनहरू पनि छन्। त्रैमासिक प्यालेसटाइन अन्वेषण-मा (अंग्रेजी) त्यस्तो प्रतिवेदनबारे टिप्पणी गर्दै जी. आर. ड्राइभरले यसो भने: “[बाइबलमा] त्यस चराबारे दिइएको चित्रण केवल मनगढन्ते कथा नभई यथार्थमा आधारित छ।”
चीलहरू अन्य तरिकाहरूमा पनि उदाहरणीय आमाबाबुहरू हुन्। आफ्ना बचेराहरूलाई नियमित तवरमा खानेकुरा ल्याइदिने मात्र होइन तर भाले चीलले ल्याएको मासु बचेराले निल्न सकोस् भनेर आमा चीलले राम्ररी टुक्रा टुक्रा पार्छे। तिनीहरूको गुँड प्रायजसो भीर वा अग्लो रुखहरूमा हुने भएकोले यी बचेराहरूले प्रतिकूल मौसमहरू खप्नुपर्छ। (अय्यूब ३९:२७, २८) बाइबलीय देशहरूमा सामान्यतया पोल्ने घाम लाग्ने भएकोले आमाबाबुले हेरचाह नगरेको भए बचेराहरू मर्ने थिए। आफ्ना कलिला बचेराहरूलाई छहारी दिन कहिलेकाहीं वयस्क चील घण्टौंसम्म पखेटा फैलाएर बस्छ।
अतः ईश्वरीय सुरक्षाको प्रतीकस्वरूप धर्मशास्त्रमा चीलको पखेटालाई चलाउनु एकदमै सुहाउँदो छ। इस्राएलीहरूलाई उजाडस्थानमा पैदल यात्रा गर्दा यहोवाले कसरी सुरक्षा दिनुभयो भनेर व्यवस्था ३२:९-१२ ले वर्णन गर्छ: “परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन्। याकूब उहाँको अधिकारको भाग हो। उहाँले तिनलाई निर्जन स्थानमा पाउनुभयो, औ उराठलाग्दो आवाजले भरिएको उजाड़ ठाउँमा उहाँले तिनलाई चारैतिरबाट हेरचाह गर्नुभयो, उहाँले तिनलाई आफ्नो आँखाको नानी झैं रक्षा गर्नुभयो। आफ्ना वचेराहरूमाथि नजर राखी कावा खाने पखेटा फैलाई वचेरालाई थाम्ने र आफ्नो पखेटामा बोक्ने गरुड़ले झैं परमप्रभु एकलैले तिनलाई अगुवाइ गर्नुभयो, औ उहाँसँग अर्को देवता थिएन।” हामीले यहोवामाथि भरोसा राख्यौं भने, उहाँले हामीलाई पनि त्यस्तै मायालु सुरक्षा दिनुहुनेछ।
उम्कने बाटो
कहिलेकाहीं समस्याहरूले घेर्दा हामी आफ्नो सबै कठिनाइहरूबाट फुत्कने इच्छा गर्छौं। दाऊदले पनि ठीक त्यस्तै महसुस गरे। (तुलना गर्नुहोस् भजन ५५:६, ७) यहोवाले हामीलाई यस रीतिरिवाजमा परीक्षा तथा कठिनाइहरूको सामना गर्न मदत गर्ने आश्वासन दिनु भए तापनि उहाँले पूर्णतया उम्कने बाटो दिनुहुन्न। बाइबलले हामीलाई यस्तो आश्वासन दिन्छ: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.
“उम्कने बाटो” वा “फुत्कने बाटो[मा]” (किङ जेम्स् भर्सन) यहोवामाथि भरोसा गर्न सिक्नु पनि समावेश छ। म्याक्स लिब्स्टर जसको टिप्पणी यस लेखको सुरुमा उद्धृत गरिएको छ, तिनले यो कुरा थाह पाए। यातना शिविरमा बिताएका वर्षहरूमा तिनले यहोवालाई चिने र उहाँमा निर्भर गरे। म्याक्सले पत्ता लगाएझैं हामीलाई यहोवाले आफ्नो वचन, आत्मा र संगठन मार्फत बल प्रदान गर्नुहुन्छ। यातना शिविरहरूमा समेत साक्षीहरूले आफ्ना सँगी विश्वासीहरूलाई खोजे र धर्मशास्त्रीय विचारहरू र जे जति बाइबल प्रकाशनहरू उपलब्ध छन्, आपसमा बाँडेर आध्यात्मिक मदत दिए। अनि यहोवाले सुरक्षित राख्नुभएको छ भनेर अहिले बाँचिरहेका विश्वासीहरूले बारम्बार प्रमाणित गरेका छन्। म्याक्स बताउँछन्, “मैले निरन्तर यहोवासित मदत मागें र उहाँको आत्माले मलाई थामी राख्यो।”
हामीले मागेको खण्डमा जस्तोसुकै समस्याहरू आइपर्दा पनि परमेश्वरको पवित्र आत्मामा भर पर्नसक्छौं। (मत्ती ७:७-११) ‘असामान्य शक्ति’ पाएर हामी समस्याहरूले थिचिनुको साटो माथि माथि उड्नेछौं। हामी यहोवाको बाटोमा हिंडिरहनेछौं र थकित हुनेछैनौं। हामी चीलजस्तै उँभो उँभो उड्नेछौं।—२ कोरिन्थी ४:७; यशैया ४०:३१.
[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]
यसले तपाईंलाई पुलुक्क मात्रै हेर्दैन
[पृष्ठ ९-मा भएको चित्रको स्रोत]
तस्बिर: Cortesía de GREFA
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
तस्बिर: Cortesía de Zoo de Madrid