प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ७/१ pp. १९-२४
  • साँचो उपासनाको विजय नजीकै छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो उपासनाको विजय नजीकै छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको आध्यात्मिक मन्दिरमा विदेशीहरू
  • पवित्र ठाउँ र त्यसभित्र राखेका सामग्रीहरू
  • साँचो उपासनाको पूर्ण विजय
  • पार्थिव पुनरुत्थान
  • झुप्रोबासको प्रतिरूपक चाड
  • इस्राएली इतिहासका महत्त्वपूर्ण चाडहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “तिमीहरू औधी हर्षित हुनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • एउटा अत्यन्त ठूलो भीड
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • यहोवाको महान्‌ आध्यात्मिक मन्दिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ७/१ pp. १९-२४

साँचो उपासनाको विजय नजीकै छ

“परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ।”—जकरिया १४:९.

१. अभिषिक्‍त मसीहीहरूले प्रथम विश्‍वयुद्धको दौडान कस्तो अनुभव गरे र यसबारे कसरी अगमवाणी गरिएको थियो?

प्रथम विश्‍वयुद्धको दौडान युद्धग्रस्त राष्ट्रहरूको हातबाट अभिषिक्‍त मसीहीहरूले धेरै कठिनाइ र कैदको शासनाहरू भोग्नुपऱ्‍यो। यहोवाको प्रशंसा गर्ने तिनीहरूको कार्यमा कठोर प्रतिबन्ध लगाइयो र तिनीहरू आध्यात्मिक तवरमा बन्दी भए। ती सबै कुरा जकरिया १४:२ मा अगमवाणी गरिएको थियो। उक्‍त पदमा यरूशलेममाथि हुने अन्तरराष्ट्रिय आक्रमणबारे वर्णन गरिएको छ। त्यस भविष्यवाणीमा बताइएको शहर “स्वर्गीय यरूशलेम” अर्थात्‌ परमेश्‍वरको स्वर्गीय राज्य तथा “परमेश्‍वरको र थुमाको सिंहासन” भएको ठाउँ हो। (हिब्रू १२:२२, २८; १३:१४; प्रकाश २२:३) परमेश्‍वरका पार्थिव अभिषिक्‍त जनहरूले त्यस शहरको प्रतिनिधित्व गरे। तिनीहरूमध्ये विश्‍वासी जनहरूले ‘शहरबाट’ निस्कन अस्वीकार गरे र आक्रमणबाट बचे।a

२, ३. (क) सन्‌ १९१९ देखि यहोवाको उपासना कसरी विजय भएको छ? (ख) सन्‌ १९३५ देखि कस्तो घटना भएको छ?

२ सन्‌ १९१९ मा विश्‍वासी अभिषिक्‍त जनहरू बन्दी अवस्थाबाट मुक्‍त भए र तुरुन्तै तिनीहरूले युद्धपछिको शान्तिमय समयको पूर्ण फाइदा उठाए। तिनीहरूले स्वर्गीय यरूशलेमका दूतहरूको हैसियतमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र १,४४,००० का अन्तिम सदस्यहरू भेला गर्ने ठूलो मौका पाए। (मत्ती २४:१४; २ कोरिन्थी ५:२०) सन्‌ १९३१ मा तिनीहरूले धर्मशास्त्रबाट यहोवाका साक्षीहरू भन्‍ने सुहाउँदो नाउँ धारण गरे।—यशैया ४३:१०, १२.

३ त्यसउप्रान्त परमेश्‍वरका अभिषिक्‍त साक्षीहरू आफ्नो कामबाट कहिल्यै पछि हटेका छैनन्‌। हिटलरले समेत आफ्नो नाजी राजनैतिक र सैन्य संगठन प्रयोग गरेर तिनीहरूलाई दबाउन सकेन। तिनीहरूमाथि विश्‍वव्यापी सतावटको बावजूद सारा पृथ्वीमा तिनीहरूको काम फस्टाएको छ। विशेषगरि सन्‌ १९३५ देखि तिनीहरूसित प्रकाशको पुस्तकमा अगमवाणी गरिएको अन्तरराष्ट्रिय “ठूलो भीड़” सामेल भएका छन्‌। तिनीहरू पनि समर्पित, बप्तिस्मा प्राप्त मसीहीहरू हुन्‌ र तिनीहरूले “आफ्ना आफ्ना लुगाहरू थुमा अर्थात्‌ येशू ख्रीष्टको रगतमा धोएर सेता बनाएका छन्‌।” (प्रकाश ७:९, १४) तथापि, तिनीहरू स्वर्गीय जीवनको आशा भएका अभिषिक्‍त जनहरू भने होइनन्‌। तिनीहरूको आशा, आदम र हव्वाले गुमाएको पार्थिव प्रमोदवनको सिद्ध मानव जीवन हासिल गर्नु हो। (भजन ३७:२९; मत्ती २५:३४) आज, यस ठूलो भीडको संख्या ५० लाखभन्दा धेरै भएको छ। यहोवाको साँचो उपासना विजयी हुँदैछ तर यसको अन्तिम विजय हुन भने बाँकी नै छ।

परमेश्‍वरको आध्यात्मिक मन्दिरमा विदेशीहरू

४, ५. (क) ठूलो भीडले यहोवाको उपासना कहाँ गर्छ? (ख) तिनीहरूले कस्ता सुअवसरहरूका साथै कुन भविष्यवाणीको पूर्तिको आनन्द उठाउँछन्‌?

४ ठूलो भीडले “दिन-रात उहाँको मन्दिरमा [परमेश्‍वरको] सेवा गर्दछन्‌” भनेर अगमवाणी गरिएको छ। (प्रकाश ७:१५) तिनीहरू आत्मिक, इस्राएली पूजाहारीहरू होइनन्‌। त्यसकारण यूहन्‍नाले तिनीहरूलाई मन्दिरमा अन्यजातिहरूको बाहिरी चोकमा उभिरहेको देखे होलान्‌। (१ पत्रुस २:५) यहोवाको आध्यात्मिक मन्दिर कस्तो गौरवमय भएको छ! यसको हाता यस ठूलो भीडले खचाखच भरिएको छ र तिनीहरूले शेष आध्यात्मिक इस्राएलसँगसँगै परमेश्‍वरको प्रशंसा गर्दैछन्‌!

५ पूजाहारीहरूको भित्री चोकद्वारा चित्रित अवस्थामा ठूलो भीडले परमेश्‍वरको सेवा गर्दैन। तिनीहरूलाई परमेश्‍वरका धर्मपुत्र अर्थात्‌ आध्यात्मिक पुत्र बनाइनका लागि धर्मी घोषित गरिएका छैनन्‌। (रोमी ८:१, १५) तैपनि, तिनीहरूले येशूको छुडौतीको बलिदानमा विश्‍वास गरेर यहोवाअघि स्वच्छ स्तर कायम राखेका छन्‌। तिनीहरूलाई उहाँका मित्रहरू हुन धर्मी घोषित गरिएको छ। (याकूब २:२१, २३ तुलना गर्नुहोस्‌।) तिनीहरूलाई परमेश्‍वरको आध्यात्मिक वेदीमा स्वीकारयोग्य बलिदानहरू चढाउने सुअवसर पनि दिइएको छ। तसर्थ, यस ठूलो भीडसम्बन्धी यशैया ५६:६, ७ को भविष्यवाणी गौरवमय ढंगले पूरा हुँदैछ: “परमप्रभुको सेवा गर्ने, र उहाँको नाउँलाई प्रेम गर्ने, . . . विदेशीहरू जो परमप्रभुमा मिल्दछन्‌, म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु। तिनीहरूका होमबलि र बलिदान मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्‌, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ।”

६. (क) विदेशीहरू कस्ता बलिदानहरू चढाउँछन्‌? (ख) पूजाहारीहरूको चोकमा भएको पानी राख्ने भाँडाले तिनीहरूलाई कुन कुराको स्मरण गराउँछ?

६ ती विदेशीहरूले चढाउने बलिदानहरूमध्ये एउटा, “[परमेश्‍वरको] नाउँ स्वीकार गर्ने . . . ओठको फल [बलिदानहरूको लागि राम्ररी तयार पारिएको अन्‍नबलिजस्तै]” र ‘भलाइ गर्नु र सहयोगी हुनु’ हो। (हिब्रू १३:१५, १६) पूजाहारीहरूले नुहाउन चलाउनुपर्ने पानी राख्ने ठूलो भाँडा पनि ती विदेशीहरूको लागि महत्त्वपूर्ण सम्झौटो थियो। तिनीहरूले परमेश्‍वरको वचन बिस्तारै स्पष्टसित बुझ्दै जाँदा आध्यात्मिक र नैतिक स्वच्छताप्रति पनि ध्यान दिनैपर्छ।

पवित्र ठाउँ र त्यसभित्र राखेका सामग्रीहरू

७. (क) ठूलो भीडले पवित्र पूजाहारीत्वका सुअवसरहरूप्रति कस्तो दृष्टिकोण राख्छ? (ख) केही विदेशीहरूले कुन थप सुअवसरहरू प्राप्त गरेका छन्‌?

७ विदेशीहरूका यस ठूलो भीडको लागि पवित्रस्थान र त्यसभित्र राखेका सामग्रीहरूले के कुनै अर्थ राख्छ? भनौं भने तिनीहरू पवित्रस्थानले चित्रित गरेको अवस्थामा कहिल्यै हुनेछैन। तिनीहरू स्वर्गीय नागरिकता प्राप्त गरेर परमेश्‍वरका आत्मिक पुत्रहरूको हैसियतमा फेरि जन्मँदैनन्‌। के यसले गर्दा तिनीहरू ईर्ष्यालु वा लोभी बन्छन्‌? अहँ बन्दैनन्‌। बरु, १,४४,००० का शेष जनहरूलाई सहयोग गर्ने सुअवसर पाएकोमा रमाउँछन्‌ र ती आध्यात्मिक पुत्रहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभएर देखाउनुभएको उहाँको उद्देश्‍यप्रति गहिरो मूल्यांकन प्रकट गर्छन्‌। ती आत्मिक पुत्रहरूले मानिसजातिलाई सिद्धतामा ल्याउने काममा येशूलाई साथ दिनेछन्‌। साथै विदेशीहरूको ठूलो भीडले तिनीहरूलाई प्रमोदवनमा अनन्त जीवनको पार्थिव आशा प्रदान गर्नुहुने परमेश्‍वरको अनुग्रह पनि प्राप्त गर्छ। ती विदेशीहरूमध्ये पुरातन नेथिनिमवर्गलाई जस्तै पवित्र पूजाहारीत्वको कार्य गर्ने सुअवसर दिइएको छ।b (यशैया ६१:५) येशूले तिनीहरूमध्येबाट “सारा पृथ्वीभरिका राजकुमार” नियुक्‍त गर्नुहुनेछ।—भजन ४५:१६.

८, ९. पवित्रस्थानमा राखेका सामग्रीहरूलाई विचार गरेर ठूलो भीडले कस्तो लाभ उठाउँछ?

८ विदेशीहरूको ठूलो भीड प्रतिरूपक पवित्रस्थानमा कहिल्यै प्रवेश नगर्ने भए तापनि त्यसभित्र राखेका सामग्रीहरूबाट तिनीहरूले मूल्यवान्‌ पाठहरू सिक्छन्‌। पानसमा तेल हालिरहनु परेझैं विदेशीहरूलाई पनि “विश्‍वासी र बुद्धिमान दास” मार्फत परमेश्‍वरको वचनबाट उत्तरोत्तर स्पष्ट हुने सच्चाइ बुझ्दै जान पवित्र आत्माको मदत चाहिन्छ। (मत्ती २४:४५-४७) त्यसबाहेक, परमेश्‍वरको आत्माले तिनीहरूलाई यस निमन्त्रणा स्वीकार्न मदत गर्छ: “आत्मा र दुलही [शेष अभिषिक्‍त] भन्‍नुहुन्छ, ‘आउनुहोस्‌।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैमा लेओस्‌।” (प्रकाश २२:१७) तसर्थ, पानस ठूलो भीडको लागि सम्झौटो हो, जसले गर्दा तिनीहरू मसीहीको हैसियतमा चम्कनु र परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप दिने कुनै पनि मनोवृत्ति, विचार, शब्द वा कार्यलाई त्याग्नुपर्ने दायित्वलाई सम्झन्छन्‌।—एफिसी ४:३०.

९ भेटीको रोटीको टेबलले ठूलो भीडलाई आध्यात्मिक तवरमा सुस्वास्थ्य रहन झकझकाउँछ। त्यसले तिनीहरूलाई बाइबल अनि “विश्‍वासी र बुद्धिमान दास[का]” प्रकाशनहरूबाट नियमित तवरले आध्यात्मिक भोजन लिनैपर्छ भनेर पनि स्मरण गराउँछ। (मत्ती ४:४) धूपको वेदीले चाहिं तिनीहरूलाई निष्ठा कायम राख्न यहोवालाई उत्साहसाथ प्रार्थना गर्नु महत्त्वपूर्ण छ भन्‍ने कुराको सम्झना गराउँछ। (लूका २१:३६) तिनीहरूको प्रार्थनामा प्रशंसा र धन्यवादका हार्दिक अभिव्यक्‍तिहरू समावेश हुनुपर्छ। (भजन १०६:१) धूप वेदीले तिनीहरूलाई परमेश्‍वरको प्रशंसा गर्नुपर्ने खाँचोबारे पनि स्मरण गराउँछ। तिनीहरूले मसीही सभाहरूमा राज्य गीतहरू तनमनले गाएर तथा ‘उद्धारको निम्ति प्रभावशाली जन घोषणा’ गर्ने तयारी गरेर त्यसो गर्छन्‌।—रोमी १०:१०.

साँचो उपासनाको पूर्ण विजय

१०. (क) हामी कुन महान्‌ प्रत्याशाको बाटो हेर्नसक्छौं? (ख) पहिला कुन घटना हुनैपर्छ?

१० आज सारा राष्ट्रका “धेरै मानिसहरू” यहोवाको उपासनाको भवनमा ओइरिंदैछन्‌। (यशैया २:२, ३) यस कुराको पुष्टि दिंदै प्रकाश १५:४ ले बताउँछ: “हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू तपाईंको सामने आएर दण्डवत्‌ गर्नेछन्‌। किनभने तपाईंको धार्मिक कार्यहरू प्रकट भएका छन्‌।” त्यसपछि हुने घटनाबारे जकरिया अध्याय १४ ले वर्णन गर्छ। निकट भविष्यमा अधिकांश मानिसहरू यरूशलेम अर्थात्‌ स्वर्गीय यरूशलेमका पार्थिव प्रतिनिधिहरू विरुद्ध युद्ध गर्न एकत्रित हुँदा तिनीहरूको खराब मनोवृत्ति चरमोत्कर्षमा पुग्नेछ। त्यसपछि यहोवाले तिनीहरू विरुद्ध कार्य गर्नुहुनेछ। उहाँले योद्धा परमेश्‍वरको हैसियतमा त्यसरी आक्रमण गर्न आँट गर्ने “जातिहरूसित लड़ाइँ गर्नुहुनेछ।”—जकरिया १४:२, ३.

११, १२. (क) आफ्ना मन्दिरका उपासकहरूमाथि विश्‍वव्यापी तवरमा आक्रमण हुँदा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुहुनेछ? (ख) परमेश्‍वरको युद्धले कस्तो परिणाम ल्याउनेछ?

११ “जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे ती सबैलाई परमप्रभुले यस्तो रूड़ीले मार्नुहुनेछ—तिनीहरू आफ्नो खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, औ तिनीहरूका आँखा तिनीहरूकै टोड़कामा भस्म हुनेछ, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्‌। त्यस दिन तिनीहरूका बीचमा परमप्रभुको तर्फबाट ठूलो घबराहट पस्नेछ, र तिनीहरू हरेकले एउटाले अर्कोको हात समात्नेछ, औ एउटाको हात अर्कोको विरूद्धमा खड़ा हुनेछ।”—जकरिया १४:१२, १३.

१२ माथि उल्लिखित रूढी वास्तविक वा प्रतीकात्मक जेसुकै भए तापनि हामीले त्यसको परिणाम अपेक्षा गर्नुपर्नेछ। तथापि, एउटा कुरा चाहिं निश्‍चित छ। परमेश्‍वरका शत्रुहरू यहोवाका सेवकहरूलाई विश्‍वव्यापी तवरमा आक्रमण गर्न अग्रसर भइरहेको बेलामा परमेश्‍वरको आश्‍चर्यलाग्दो शक्‍तिले तिनीहरूलाई त्यसो गर्नबाट रोक्नेछ। तिनीहरूको मुख यस्तो प्रकारले बन्द हुनेछ मानौं विरोध गर्ने तिनीहरूको जिब्रो कुहेको छ। तिनीहरूको एकत्रित लक्ष्य आफ्नै आँखाअगाडि धमिलो हुनेछ, तिनीहरूको आँखा सढेझैं हुन्छ। आक्रमण गर्न उस्काउने तिनीहरूको शारीरिक शक्‍तिहरू नष्ट भएर जानेछन्‌। गोलमालमा परेर तिनीहरूले एकअर्काको हत्या गर्नेछन्‌। यसरी परमेश्‍वरको उपासनाका सारा पार्थिव शत्रुहरू हटाइनेछन्‌। अन्ततः सारा राष्ट्र यहोवाको ब्रह्‍माण्डीय सार्वभौमिकता स्वीकार्न बाध्य हुनेछन्‌। यो भविष्यवाणीको पूर्ति हुनेछ: “परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ।” (जकरिया १४:९) तत्पश्‍चात्‌, येशूको हजार वर्षीय शासनको प्रारम्भमा शैतान र त्यसका प्रेतहरू बाँधिनेछन्‌। त्यस शासनले मानिसजातिको लागि महान्‌ आशिष्‌हरू ल्याउनेछ।—प्रकाश २०:१, २; २१:३, ४.

पार्थिव पुनरुत्थान

१३. “जातिहरूमा जत्ति बाँचेका छन्‌” ती को हुन्‌?

१३ जकरिया पुस्तकको अध्याय १४, पद १६ मा जकरियाले अझ यसरी बताएका छन्‌: “यरूशलेमको विरुद्धमा आइलाग्ने जातिहरूमा जत्ति बाँचेका हुन्छन्‌, तिनीहरू वर्ष वर्ष सेनाहरूका परमप्रभु महाराजाधिराजालाई दण्डवत्‌ गर्न र झुप्रो-बासको चाड़ मान्‍नलाई यरूशलेममा जानेछन्‌।” बाइबलअनुसार, आज बाँचिरहेकाहरूमध्ये यस दुष्ट रीतिरिवाजको अन्तमा बाँच्ने तथा साँचो उपासनाको शत्रु भएका सम्पूर्ण मानिसहरूले “अनन्त विनाशको सजाय” भोग्नेछन्‌। (२ थिस्सलोनिकी १:७-९; मत्ती २५:३१-३३, ४६ पनि हेर्नुहोस्‌।) तिनीहरूको पुनरुत्थान हुनेछैन। सम्भवतः “बाँचेका” जनहरूमा राष्ट्रका ती सदस्यहरू सम्मिलित छन्‌ जो परमेश्‍वरको अन्तिम युद्ध आउनअघि नै मरिसकेका हुन्छन्‌। तिनीहरूले बाइबलमा आधारित पुनरुत्थानको आशा राखेका छन्‌। येशूले यसप्रकार प्रतिज्ञा गर्नुभएको थियो, “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

१४. (क) पुनरुत्थान भएकाहरूले अनन्त जीवन प्राप्त गर्न के गर्नैपर्छ? (ख) यहोवामा समर्पित हुन र साँचो उपासना गर्न अस्वीकार गर्नेहरूलाई के हुनेछ?

१४ यी पुनरुत्थान हुनेहरू सबैले आफ्नो पुनरुत्थानलाई न्याय भोग्न होइन तर जीवनदायी बनाउन केही गर्नैपर्छ। तिनीहरू यहोवाको मन्दिरको पार्थिव चोकहरूमा आउनैपर्छ र येशू ख्रीष्ट मार्फत परमेश्‍वरमा समर्पण गरेर शिर निहुराउनैपर्छ। पुनरुत्थान हुनेहरूमध्ये कसैले यसो गर्न अस्वीकार गरेमा तिनले आधुनिक समयका राष्ट्रहरूलाई नष्ट पार्ने रूढी भोग्नेछ। (जकरिया १४:१८) पुनरुत्थान हुनेहरूमध्ये कति जना प्रतिरूपक झुप्रोबासको चाड मनाउन खुशीसाथ ठूलो भीडसित सामेल हुनेछन्‌, कसैलाई थाह छैन। निस्सन्देह, त्यसो गर्ने थुप्रै हुनेछन्‌ र त्यसको परिणामस्वरूप यहोवाको महान्‌ आध्यात्मिक मन्दिर अझ गौरवमय हुनेछ!

झुप्रोबासको प्रतिरूपक चाड

१५. (क) पुरातन इस्राएली झुप्रोबास चाडका केही उल्लेखनीय विशेषताहरू के थिए? (ख) त्यस चाडमा ७० वटा साँढेहरूको बलिदान किन चढाइन्थ्यो?

१५ पुरातन इस्राएलमा प्रत्येक वर्ष झुप्रोबासको चाड मनाउनुपर्थ्यो। यो एक हप्तासम्म रहन्थ्यो र कटनीको समयको अन्तमा सकिन्थ्यो। त्यो धन्यवाद चढाउने आनन्दमय समय थियो। त्यस चाडको हप्ताभरि तिनीहरू अस्थायी झुप्राहरूमा बस्थे। ती झुप्रोहरू रूखका पातहरू र विशेषगरि खजूरका हाँगाहरूले बनाइएका हुन्थे। त्यस चाडले इस्राएललाई परमेश्‍वरले कसरी तिनीहरूका पितापुर्खालाई मिश्रबाट बचाउनुभयो र तिनीहरू प्रतिज्ञा गरेको भूमिमा नपुगुञ्जेल लगभग ४० वर्षसम्म उजाडस्थानमा झुप्राहरूमा बस्दा कसरी हेरचाह गर्नुभयो भनेर स्मरण गराउँथ्यो। (लेवी २३:३९-४३) चाडको दौडान मन्दिरको वेदीमा ७० वटा साँढेको बलिदान चढाइन्थ्यो। स्पष्टतया, त्यस चाडको विशेषता भविष्यसूचक थियो र त्यसले येशू मार्फत सम्पन्‍न हुने सिद्ध तथा पूर्ण जीवनदायी कार्यलाई देखाउँथ्यो। अन्ततः उहाँको छुडौतीको बलिदानले नूहबाट आएका मानिसजातिका ७० परिवारको सन्तानहरूलाई लाभ प्रदान गऱ्‍यो।—उत्पत्ति १०:१-२९; गन्ती २९:१२-३४; मत्ती २०:२८.

१६, १७. (क) झुप्रोबासको प्रतिरूपक चाड कहिले र कसरी सुरु भयो? (ख) त्यस उत्सवमा ठूलो भीडले कसरी भाग लिन्छ?

१६ तसर्थ, झुप्रो बासको पुरातन चाडले उद्धार पाएका पापीहरू यहोवाको महान्‌ आध्यात्मिक मन्दिरमा भेला भइरहेको कुरालाई संकेत गऱ्‍यो। पेन्तिकोस सा.यु. ३३ मा आध्यात्मिक इस्राएलीहरू आनन्दसाथ मसीही मण्डलीमा भेला हुन थाल्दा त्यस प्रतिरूपक चाडको पूर्ति सुरु भयो। (प्रेरित २:४१, ४६, ४७) ती आभिषिक्‍त जनहरूले आफू शैतानको संसारमा ‘अस्थायी बासिन्दा’ हो भनेर बुझेका छन्‌ किनभने तिनीहरूको वास्तविक “नागरिकता स्वर्गमा छ।” (१ पत्रुस २:११; फिलिप्पी ३:२०) मसीहीजगत्‌सँगै फस्टिएको धर्मत्यागले त्यस आनन्दित चाडलाई अस्थायी रूपमा निस्क्रिय बनायो। (२ थिस्सलोनिकी २:१-३) तथापि, सन्‌ १९१९ मा १,४४,००० आध्यात्मिक इस्राएलीहरूका शेष सदस्यहरू तर त्यसपछि प्रकाश ७:९ मा उल्लिखित अन्तरराष्ट्रिय ठूलो भीड आनन्दसाथ भेला हुनथालेदेखि त्यो चाड पुनः मनाउन थालियो।

१७ त्यस ठूलो भीडले खजुरका हाँगाहरू बोकिरहेका छन्‌ भनेर चित्रण गरिएको छ। त्यसले के देखाउँछ भने, तिनीहरूले पनि झुप्रो बासको प्रतिरूपक चाड आनन्दसाथ मनाउँछन्‌। समर्पित मसीहीहरूको हैसियतमा तिनीहरूले यहोवाको मन्दिरमा अझ धेरै उपासकहरू भेला गराउने कार्यमा आनन्दसाथ भाग लिन्छन्‌। त्यसबाहेक, यस पृथ्वीमा आफू सदाको लागि बस्न पाउँदैन भनेर तिनीहरूले पापी मानवको हैसियतमा बुझ्छन्‌। भविष्यमा पुनरुत्थान हुने जनहरूलगायत तिनीहरूले ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा मानव सिद्धता प्राप्त नगरूञ्जेल ख्रीष्टको छुडौतीको बलिदानमा विश्‍वास गरी नै रहनुपर्छ।—प्रकाश २०:५.

१८. (क) येशू ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा के हुनेछ? (ख) अन्ततः यहोवाको साँचो उपासना कसरी विजय हुनेछ?

१८ तत्पश्‍चात्‌, परमेश्‍वरका पार्थिव उपासकहरू मानव सिद्धता प्राप्त गरेर उहाँसमक्ष उभिनेछन्‌। तिनीहरूलाई स्वर्गीय पूजाहारीत्वको खाँचो पर्दैन। येशू ख्रीष्टले आफ्नो “परमेश्‍वर, अर्थात्‌ पितालाई राज्य सुम्पिदिनुहुने” समय आइसकेको हुनेछ। (१ कोरिन्थी १५:२४) शैतानलाई “केही समयको निम्ति फुका[इनेछ]।” सबै अविश्‍वासी व्यक्‍तिहरू शैतान र त्यसका प्रेतहरूसितै सदाका लागि नाश हुनेछन्‌। विश्‍वासी रहनेहरूलाई अनन्त जीवन प्रदान गरिनेछ। तिनीहरू पार्थिव प्रमोदवनका स्थायी बासिन्दाहरू हुनेछन्‌। अन्ततः त्यसरी झुप्रो बासको प्रतिरूपक चाड गौरवमय र सफल हुनेछ। साँचो उपासना परमेश्‍वरको सधैंभरि महिमा गर्न र मानिसजातिलाई अनन्त खुशी दिन विजय भएको हुनेछ।—प्रकाश २०:३, ७-१०, १४, १५.

[फुटनोटहरू]

a जकरिया अध्याय १४ को एक एक पदको व्याख्याको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा सन्‌ १९७२ मा प्रकाशित ईश्‍वरतन्त्रद्वारा मानिसजातिमा प्रमोदवन पुनर्स्थापित! (अंग्रेजी) पुस्तकको अध्याय २१ र २२ हेर्नुहोस्‌।

b आधुनिक समयको नेथिनिमबारे थप जानकारीको लागि प्रहरीधरहरा, जुलाई १, १९९२, पृष्ठ ३० हेर्नुहोस्‌।

पुनरावलोकन प्रश्‍नहरू

◻ प्रथम विश्‍वयुद्धको दौडान “यरूशलेम” कसरी आक्रमणको चपेटामा पऱ्‍यो?—जकरिया १४:२.

◻ सन्‌ १९१९ देखि यता परमेश्‍वरका मानिसहरूमाथि कस्तो घटना भएको छ?

◻ झुप्रोबासको प्रतिरूपक चाडको उत्सवमा आज कसले भाग लिन्छन्‌?

◻ कसरी साँचो उपासना पूर्णतया विजय हुनेछ?

[पृष्ठ २३-मा भएको चित्र]

झुप्रोबासको चाड मनाउँदा खजूरका हाँगाहरू प्रयोग गरिन्थ्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने