परमेश्वरको वचनले “चमत्कारपूर्ण” ढंगमा काम गर्छ
टेरेज एअनको वृत्तान्तमा आधारित
सन् १९६५ को कुरा हो, म एउटा व्यापार केन्द्रमा व्यापारीहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू प्रस्तुत गरेर निस्कन मात्र के लागेकी थिएँ, ढ्याङ्ग गोली हानेको आवाज सुनें। गोली मेरो खुट्टानेर हानिएको रहेछ। एक जना व्यापारीले “यहोवाका साक्षीहरूसित यसरी नै व्यवहार गर्नुपर्छ” भन्दै गिल्ला गरे।
त्यस अनुभवले मलाई त्रसित तुल्यायो तर पूर्ण-समय सेवकाई नै त्याग्नुपर्ने हालतमा चाहिं पुगिनँ। मैले सिकेका बाइबल सत्यहरू मेरोनिम्ति औधी बहुमूल्य थिए। त्यसैकारण कुनै पनि हालतमा म आफ्नो सेवकाई त्याग्ने थिइनँ। म यसो किन भन्दैछु, सुन्नुहोस्।
जुलाई १९१८ मा म जन्मेपछि मेरा आमाबाबु क्यानाडाको क्युबेकस्थित क्याप-दे-ला-मादेलिनको सानो गाउँमा बसाइँ सर्नुभयो। त्यस ठाउँ चमत्कारहरूको गाउँ भनी चिनिन्छ। कुमारी मरियमको तीर्थस्थलमा श्रद्धाञ्जली चढाउन यहाँ भक्तालुहरू आउँथे। मरियमले चमत्कारहरू गरिन् भन्ने विश्वास गरिए तापनि त्यसको कुनै प्रमाण छैन। तर ३०,००० मानिसहरू बसोबास गर्ने शहर हुन गएको यो सम्पूर्ण गाउँका धेरैजसो बासिन्दाको जीवनमा पनि परमेश्वरको वचनले चमत्कारै गरेको छ।
म लगभग २० वर्षकी हुँदा बुबाले धार्मिक कुराहरूप्रति मेरो झुकाउ देख्नुभएर मलाई उहाँको बाइबल दिनुभयो। बाइबल पढ्दा प्रस्थान अध्याय २० मा मूर्तिपूजाबारे प्रष्टै भर्त्सना गरेको देखेर त म छांगोबाट खसेझैं भएँ। क्याथोलिक चर्चको शिक्षाप्रति मैले विश्वास गुमाएँ, म मास समारोहमा जान छाडें। म मूर्तिपूजा गर्न चाहँदिन थिएँ। बुबाले “टेरेज, चर्च जाने होइन?” भनेर सोध्नुभएको मलाई अझै सम्झना छ। जवाफमा म भन्थें, “अहँ, जान्नँ। म बाइबल पढिरहेकी छु।”
सन् १९३८ सेप्टेम्बर महिनामा मेरो विवाह भएपछि पनि बाइबल पढाइ मेरो जीवनको अभिन्न अंग भई नै रह्यो। मेरो पति रोजर अक्सर राति काम गर्नुहुने भएकोले उहाँ काममा जानुहुँदा बाइबल पढ्ने बानी मैले बसालें। परमेश्वरका मानिसहरू हुनैपर्छ भन्ने निष्कर्षमा म चाँडै पुगें र तिनीहरूलाई खोज्न थालें।
परमेश्वरका मानिसहरू भेट्टाउन मेरो खोज
सानी छँदा मैले चर्चमा पाएकी शिक्षाको कारण निद्राबाट ब्यूँझदा नरकमा पो हुने हो कि भन्ने डरले गर्दा म सुत्न डराउँथें। यस्तो डर हटाउन म आफैलाई भन्ने गर्थें, प्रेमको परमेश्वरले त्यस्तो घृणास्पद कुरा हुन दिनुहुनेछैन। ढुक्क भएर म सत्य खोज्न निरन्तर बाइबल पढ्थें। म बाइबल पढ्न त पढ्थें तर एथियोपियाको नपुंसकले जस्तै बुझ्दिन थिएँ।—प्रेरित ८:२६-३९.
मेरो दाइ आन्द्रे र उहाँकी पत्नी हामीभन्दा एकतल्ला मुनि बस्नुहुन्थ्यो। लगभग सन् १९५७ तिर उहाँहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन थाल्नुभएको थियो। मैले मेरी भाउजूलाई साक्षीहरूले त्यस भवनमा प्रचार गर्न आउँदा उहाँको छतमा हिर्काएर मलाई खबर गर्नु भनेकी थिएँ। त्यसप्रकार मेरो ढोका ढकढक्याउँदा म खोल्दिन थिएँ। तर एक दिन तिनले मलाई सतर्क गराउन बिर्सिन्।
त्यस दिन मैले ढोका खोलें र अग्रगामी केइ मन्डेलाई भेटें। यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरूलाई अग्रगामी भनिन्छ। तिनले मलाई परमेश्वरको नाउँबारे बताइन्। परमेश्वरको व्यक्तिगत नाउँ यहोवा हो भनेर पनि बुझाइन्। तिनी गइसकेपछि तिनको कुरालाई बाइबलका पदहरूले समर्थन गर्छन् कि गर्दैनन्, पक्का गर्न आफ्नो बाइबलमा जाँचे। आफ्नो अनुसन्धानबाट म अत्यन्त खुशी भएँ।—प्रस्थान ६:३, डुवे भर्सन, पादटिप्पणी; मत्ती ६:९, १०; यूहन्ना १७:६.
केइ फेरि आउँदा हामीले त्रिएकसम्बन्धी क्याथोलिक धर्मसिद्धान्त अर्थात् तीन जना व्यक्ति एउटै परमेश्वर हुन् भन्ने दाबीबारे छलफल गऱ्यौं। मेरो बाइबलले त्रिएकको शिक्षा सिकाउँछ कि सिकाउँदैन, त्यसबारे चित्त बुझाउन पछि मैले आफ्नो बाइबल बडो होशियारीसाथ जाँचे। (प्रेरित १७:११) येशू परमेश्वर जति महान् हुनुहुन्न भनेर मेरो अध्ययनबाट पक्का भएँ। उहाँ सिर्जनुभएको थियो। उहाँको सुरुआत थियो तर यहोवाको छैन। (भजन ९०:१, २; यूहन्ना १४:२८; कलस्सी १:१५-१७; प्रकाश ३:१४) आफूले सिकिरहेको कुराबाट चित्त बुझेकोले बाइबल छलफल कायमै राख्न पाउँदा म खुशी थिएँ।
सन् १९५८, नोभेम्बर महिनातिर हिमआँधी भइरहेकै दिनको साँझ भाडामा लिइएको हलमा सम्पन्न हुने क्षेत्रीय सम्मेलनमा उपस्थित हुन केइले मलाई निम्ताइन्। मैले निम्तो स्वीकारें, मलाई कार्यक्रम रमाइलो लाग्यो। पछि एक साक्षीसित कुरैकुरामा मैले सोधें, “के साँचो मसीहीले घर-घर प्रचार गर्नैपर्छ?”
तिनको जवाफ थियो, “पर्छ। सुसमाचार घोषणा गर्नैपर्छ र मानिसहरूको घर-घर गएर कुरा गर्नु नै प्रचार गर्ने महत्त्वपूर्ण तरिका हो भनेर बाइबलले देखाउँछ।”—प्रेरित २०:२०.
तिनको जवाफले गर्दा म प्रफुल्लित भएँ! अब भने परमेश्वरका मानिसहरू भेटें भनेर विश्वस्त भएँ। यदि तिनले “पर्दैन, प्रचार गर्नु आवश्यक छैन,” भनेका भए आफूले सत्य पाएकी कुरामा म शंका गर्नेथिएँ होला। किनकि बाइबलमा घर-घर गएर प्रचार गर्नुपर्छ भनेर लेखिएको मलाई थाह थियो। त्यसबेलादेखि मैले छिटै आध्यात्मिक उन्नति गरें।
उक्त क्षेत्रीय सम्मेलनपछि म नजीकैको ट्रोइस-रिभेरेस शहरमा सञ्चालन हुने यहोवाका साक्षीहरूका सभाहरू धाउन थालें। त्यतिखेर क्याप-दे-ला-मादेलिनमा बसोबास गर्ने साक्षीहरू केइ र तिनकी अग्रगामी सहयोगी फ्लोरेन्स बोमेन मात्र थिए। एक दिन मैले भने, “भोलि म तपाईंहरूसित प्रचार गर्न आउँछु।” तिनीहरू म आएकोमा खुशी भएँ।
आफू बसेको शहरमा प्रचार गर्दै
सबैले बाइबल समाचार ग्रहण गर्नेछन् भनेर मैले सोचेकी थिएँ। तर वास्तवमा त्यस्तो हुँदैन रहेछ भनेर मैले थाह पाइहालें। केइ र फ्लोरेन्स अन्तै खटाइँदा त्यस शहरमा घर-घर गएर बाइबल सत्यहरू प्रचार गर्ने त म मात्रै भएँ। निर्भयतासाथ लगभग दुइ वर्षसम्म अर्थात् जून ८, १९६३ मा बप्तिस्मा नलिउञ्जेल म एक्लैले प्रचार गरिरहें। अनि त्यही दिन मैले बिदा अग्रगामी सेवकाईमा नाउँ दर्ता गरें। त्यतिखेर बिदामा गरिने अग्रगामी सेवालाई बिदा अग्रगामी सेवकाई भनिन्थ्यो।
एक वर्षसम्म मैले बिदा अग्रगामी सेवकाई गरिरहें। म नियमित अग्रगामी भएँ भने डेल्भिना सानलौरनले हप्ताको एक पटक क्याप-दे-ला-मादेलिन आएर मसित सेवकाईमा जाने वचन दिइन्। त्यसैकारण मैले अग्रगामी दर्खास्त भरें। तर दुःखको कुरा, मैले पूर्ण-समय सेवकाई सुरु गर्नुभन्दा दुइ हप्ताअघि डेल्भिनाको मृत्यु भयो। अब के गर्ने? मैले दर्खास्त भरिसकेकी थिएँ, म आफ्नो योजना परिवर्तन गर्न चाहन्न थिएँ। त्यसैले सन् १९६४ अक्टोबरमा मैले पूर्ण-समय सेवकाईको पेशा सुरु गरें। त्यसपछि चार वर्षसम्म म एक्लै घर-घरको प्रचारमा जान्थें।
क्याप-दे-ला-मादेलिनका भक्त क्याथोलिकहरू अक्सर वैरभाव प्रकट गर्थे। कसै कसैले त मेरो प्रचारकार्यमा रोक लगाउने जमर्को गर्दै प्रहरी बोलाए। मैले सुरुमै बताइ हालें, एक दिन एक जना व्यापारीले मेरो खुट्टानेर गोली हानेर मलाई तर्साउन खोज्यो। यसले गर्दा शहरमा निकै खैलाबैला मच्चियो। स्थानीय टेलिभिजन प्रसारणले यसलाई यहोवाका साक्षीहरू विरुद्धको आन्दोलन भन्यो। त्यस घटनाले गर्दा अनुकूल साक्षी दिन पाइयो। संयोगको कुरा, त्यस घटनाको दश वर्षपछि मलाई ताक्दै गोली हान्ने त्यस व्यापारीको नातेदार साक्षी भए।
परमेश्वरको वचनले गरेका “चमत्कारहरू”
वर्षौंको दौडान क्याप-दे-ला-मादेलिनमा बाइबल सत्यहरू विरुद्ध खडा गरिएको पर्खाल बिस्तारै भत्कँदै गएको देखेकी छु। सन् १९६८ तिर अन्य साक्षीहरू यहाँ बसाइँ सरेपछि स्थानीय बासिन्दाहरूले बाइबल सत्यहरू स्वीकार्न थाले। परिणामस्वरूप सन् १९७० दशकको प्रारम्भतिर बाइबल अध्ययनको संख्यामा निकै वृद्धि भयो। यतिसम्म कि मैले थुप्रै बाइबल अध्ययन सञ्चालन गर्नुपरेको हुँदा घर-घरको सेवकाईमा पनि समय बिताउन सकूँ भन्ने हेतुले अन्य साक्षीहरूलाई केही बाइबल अध्ययनहरू सञ्चालन गरिदिने आग्रह गर्नुपऱ्यो।
एक दिन एउटी युवतीले मसित बाइबल अध्ययन सहायक पुस्तक अनन्त जीवनतर्फ डोऱ्याउने सत्य (अंग्रेजी) लिइन्। त्यतिखेर आन्द्रे नाउँ गरेका सडकछाप अपराधीजस्तो देखिने एक युवक तिनका मित्र थिए। तिनले पनि हाम्रो वार्तालापमा भाग लिए। आन्द्रेसितको छलफलले गर्दा तिनको चासो जाग्यो र बाइबल अध्ययन थालियो। त्यसको लगत्तैपछि नै आफूले सिकिरहेको कुराबारे तिनले आफ्ना साथीहरूलाई पनि बताउन थाले।
अनि एक समय त म चार गुन्डाहरूसित अध्ययन गर्थें। तिनीहरूमध्ये एक जना त्यत्ति बोल्दैनन् थिए तर सुन्न चाहिं मजाले सुन्थे। तिनको नाउँ पिएर थियो। एक बिहानी लगभग दुइ बजेतिर मेरो पति र मैले हाम्रो ढोका ढक्ढकाएको आवाज सुन्यौं। अब यो दृश्य कल्पना गर्नुहोस्: चार गुन्डाहरू मलाई प्रश्नहरू सोध्न ढोकामा उभिरहेका थिए। धन्न, बेला न कुबेला मानिसहरू भेट्न आउँदासमेत रोजरले कहिल्यै गनगन गरेनन्।
सुरुमा त ती चारै पुरुषहरू सभाहरू धाउँथे। तथापि, आन्द्रे र पिएरले मात्र पछिसम्म सभाहरू धाइरहे। तिनीहरूले आफ्नो जीवन परमेश्वरको स्तरअनुरूप ढाले र बप्तिस्मा लिए। त्यसको २० वर्षपछि पनि अहिलेसम्मै ती पुरुषहरूले विश्वासी भई यहोवाको सेवा गरिरहेका छन्। अध्ययन सुरु गर्दा तिनीहरू आफ्ना अपराधी गतिविधिका कारण निकै कुख्यात थिए र प्रहरीले तिनीहरूमाथि कडा निगरानी राख्थे। कहिलेकाहीं त हाम्रो बाइबल अध्ययनपछि वा मण्डलीको सभाको दौडान प्रहरी तिनीहरूलाई खोज्न आउँथे। मैले “सबै [प्रकारका] मानिसहरूलाई” प्रचार गरेकी हुनाले म खुशी छु र कसरी परमेश्वरको वचनले चमत्कारजस्तै देखिने परिवर्तनहरू गर्छ, त्यो पनि मैले प्रत्यक्ष देखें।—१ तिमोथी २:४.
मेरो सेवकाईको सुरुसुरुतिर कसैले मलाई क्याप-दे-ला-मादेलिनमा एउटा राज्यभवन हुनेछ र त्यो यहोवाका जनहरूले भरिनेछ भनेको भए म पत्याउने थिइनँ। खुशीको कुरा, नजीकैको ट्रोइस-रिभेरेस शहरको सानो मण्डली बढेर अहिले छवटा प्रगतिशील मण्डलीहरू भएका छन्। क्याप-दे-ला-मादेलिनको एउटा मण्डलीलगायत ती मण्डलीहरू तीनवटा राज्यभवनहरूमा भेला हुन्छन्।
समर्पण गर्ने र बप्तिस्मा लिने हदसम्म पुऱ्याउन मैले ३० जना मानिसहरूलाई व्यक्तिगत तवरमा मदत गर्न पाएकोमा आनन्द अनुभव गरेकी छु। यहोवालाई आफ्नो जीवन समर्पण गरेकीले अहिले ७८ वर्षको उमेरमा पनि म खुशी छु भनेर साँच्चै भन्नसक्छु। तथापि, निरुत्साही क्षणहरू पनि काटें भनेर मैले स्वीकार्नैपर्छ। त्यस्तो परिस्थिति विरुद्ध लड्न म सधैं आफ्नो बाइबल खोल्छु र केही परिच्छेदहरू पढेर निकै स्फूर्ति प्राप्त गर्छु। परमेश्वरको वचन नपढी दिन बिताउनेबारे सोच्नुसमेत मेरोलागि असम्भव छ। विशेषगरि यूहन्ना १५:७ निकै प्रोत्साहनदायी छ। त्यहाँ यसो लेखिएको छ: “तिमीहरू ममा रह्यौ, र मेरा कुरा तिमीहरूमा रहे भने, जो तिमीहरूलाई इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति हुनेछ।”
सन्निकट नयाँ संसारमा रोजरलाई भेट्ने आशा मैले राखेकी छु। (२ पत्रुस ३:१३; प्रकाश २१:३, ४) सन् १९७५ मा मृत्यु हुनुभन्दा अघि तिनी बप्तिस्मा लिन निकै उन्नति गरिरहेका थिए। अहिलेलाई पूर्ण-समय सेवकाईमै लागिरहने र निरन्तर यहोवाको काममा आनन्दित हुने दृढ निश्चय मैले गरेकी छु।