ईश्वरीय शान्तिका सन्देशवाहकहरू भेला हुन्छन्
संयुक्त राज्य अमेरिकाको एक मसीही प्राचीन यसो भन्छन्, “हामी उपस्थित भएको प्रत्येक जिल्ला अधिवेशनले हामीलाई बल प्रदान गरेको छ। तैपनि, यस वर्षको अधिवेशन चाहिं वर्णन गर्नै सकिंदैन। प्रत्येक दिनको अधिवेशन सिद्धिएपछि हामी अर्को दिनको कार्यक्रम झन् कत्ति राम्रो होला भनेर सोच्थ्यौं अनि हुन पनि त्यस्तै हुन्थ्यो!”
तपाईं “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” अधिवेशनमा उपस्थित हुनुभएको थियो भने, उक्त उत्साही प्रतिनिधिको कुरासित सहमत हुनुहुन्छ। अधिवेशनको प्रत्येक दिन परमेश्वरका सन्देशवाहकहरूको हैसियतमा यहोवाका साक्षीहरूले पूरा गर्ने कार्यभारका विभिन्न पक्षहरूमाथि केन्द्रित थियो। आउनुहोस्, त्यस तीन दिने कार्यक्रमको पुनरावलोकन गरौं।
‘शान्तिको प्रचार गर्नेहरू . . . कति सुन्दर’
यही कुरा अधिवेशनको प्रथम दिनको विषय थियो। यो यशैया ५२:७ मा आधारित थियो। यस कठिन समयमा थुप्रैले चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै यहोवाको सेवा गरिरहेका छन्। “शान्तिका जोशिला उद्घोषकहरूबाट सुन्ने” शीर्षक भाषणमा त्यस्ता विश्वासी जनहरूमध्ये केहीसित पनि अन्तरवार्ता लिइएको थियो। तिनीहरूका अभिव्यक्तिहरू सुन्न पाउनु साँच्चै प्रोत्साहनदायी थियो। र यहोवाले धीरज धर्ने मदत दिन ‘असामान्य शक्ति’ प्रदान गरेर सशक्त पार्न सक्नुहुन्छ भनेर अधिवेशनमा उपस्थित हुनेहरू आश्वस्त भए।—२ कोरिन्थी ४:७.
यहोवाले हामीबाट चाहनुहुने कुराहरू बोझिला छैनन्। (१ यूहन्ना ५:३) यो कुरालाई बिहानी कार्यक्रमको अन्तिम भाषणद्वारा स्पष्ट पारियो। त्यस भाषणको अन्तमा परमेश्वर हामीबाट के चाहनुहुन्छ? विषयक ३२ पृष्ठ भएको ठूलो पुस्तिकाको विमोचन गरियो। निस्सन्देह, आकर्षक चित्रहरू भएको यो नयाँ अध्ययन सहायकले थुप्रैलाई परमेश्वरका उद्देश्यहरूबारे अझ धेरै सिक्न ठूलो मदत दिनेछ। यस नयाँ प्रकाशनको प्रयोगसम्बन्धी टिप्पणीहरू यसै पत्रिकाको अन्तिम अध्ययन लेख तथा पृष्ठ १६ र १७ मा पाइन्छन्।
परमेश्वरलाई हाम्रा दुःखकष्टहरू राम्ररी थाह छ भनेर “असल कामको लागि धीरज धर्ने” भाषणले जोड दियो। धीरज धर्नुको अर्थ, आशा नगुमाई स्थिर रहनु हो। यहोवाले हामीलाई मदत दिन उहाँको वचन, आत्मा र संगठन दिनुभएको छ। प्रचार गर्न धीरज चाहिन्छ। यद्यपि, प्रचार गर्नाले हामीलाई धीरज धर्न मदत दिन्छ किनभने यसले हाम्रो विश्वासलाई सेलाउन दिंदैन। हामी लक्ष्यमा पुग्नै लागेका छौं, अतः समस्याहरूले गर्दा आफ्नो जोसलाई मार्न नदेऔं। किनकि अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।—मत्ती २४:१३.
“ईश्वरीय शान्तिका सन्देशवाहकहरूका हैसियतमा हाम्रो भूमिका” विषयक मुख्य भाषणले सा.यु.पू. ५३७ मा बेबिलोनमा निर्वासित यहूदीहरूको छुटकारा र यरूशलेममा साँचो उपासनाको पुनर्स्थापनामाथि ध्यान केन्द्रित गऱ्यो। त्यो घटना, परमेश्वरको राज्यले विश्वव्यापी तवरमा चाँडै पूरा गर्ने कुराको झलक मात्र थियो भनेर वक्ताले बताए। (भजन ७२:७; यशैया ९:७) हाम्रो वर्तमान जिम्मेवारी परमेश्वरको यस राज्यबारे सुसमाचार प्रचार गर्नु र त्यस सन्देशअनुरूप जीवन बिताउनु हो। परमेश्वर र छिमेकीप्रतिको प्रेमले हामीलाई ढिलासुस्ती नगरी यस कार्यमा लागिरहन झकझकाउँछ।—प्रेरित ५:४२.
“मनोरञ्जनका गुप्त पासोहरूदेखि सतर्क हुनुहोस्” भाषण शुक्रबारको कार्यक्रमको मुख्य आकर्षण थियो। वर्तमान समयका संगीत, चलचित्र, भिडिओ, टेलिभिजन कार्यक्रम, भिडिओ गेम, पुस्तक, पत्रिका र चित्रकथाहरूले प्रायजसो प्रेतवादी सोचविचारलाई झल्काउँछन्। तसर्थ, हामी “जुन कुरो खराब छ, त्यसलाई घृणा” गर्न र “जुन कुरो असल छ, त्यसमा” लागिरहनुपर्छ। (रोमी १२:९) हो, हामीले चोखा, सद्गुणी र प्रशंसनीय कुराहरूमा मन लगाउने हो भने, भ्रष्ट मनोरञ्जनलाई घीनलाग्दो ठान्नैपर्छ र त्याग्नैपर्छ। (फिलिप्पी ४:८) यहोवाको संगठनले प्रबन्ध गरेका प्रकाशनहरू र शोध सामग्रीहरूले उत्थानदायी विचारहरूद्वारा हाम्रो मनलाई प्रेरित गर्नुका साथै सही र गलत छुट्याउन प्रशिक्षण दिन्छ। (हिब्रू ५:१४) हामीले उर्लंदो समुद्रमा फल्याकलाई पक्रिराखे झैं यी प्रबन्धहरूको पनि पूरापूर फाइदा उठाइरहनुपर्छ।
त्यसपछिको भाषण थियो, “दियाबलको विरोध गर्नुहोस्—प्रतिद्वन्द्वीलाई नसहनुहोस्।” प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा हजारौं इस्राएलीहरू अनैतिकताको फन्दामा फसे। पीनहासले साँचो उपासनाको प्रतिद्वन्द्वीलाई सहेनन्। तिनले गलत काम गर्नेहरूप्रति निर्णायक कदम चाले र तिनको ऐकान्तिक भक्ति देखेर यहोवा खुशी हुनुभयो। (गन्ती २५:१-१३) शैतानको लक्ष्य हामी सबैलाई परमेश्वरको नयाँ संसारमा प्रवेश गर्न अयोग्य बनाउनु हो। पीनहासले झैं हामीले पनि आफूलाई अपवित्र पार्ने दियाबलका प्रयासहरूको विरोध गर्नैपर्छ। विवाहित होस् वा अविवाहित, हामी “व्यभिचारदेखि अलग” रहनैपर्छ।—१ कोरिन्थी ६:१८.
“परमेश्वरको वचनको विशुद्धतालाई वफादारीका साथ कायम राख्ने” भाषण अधिवेशनको प्रथम दिनको समापन भाषण थियो। थुप्रै अनुवादकहरूले धर्मशास्त्रका अंशहरू अदलबदल गर्छन् वा हटाउँछन्। उदाहरणका लागि, महिला हकका अधिवक्ताहरूलाई रिझाउन द न्यु टेस्टामेन्ट एण्ड साम्स: आन् इन्क्लुसिभ भर्जन-का अनुवादकहरूले परमेश्वरलाई पिताको रूपमा होइन तर पिता-माता अनि येशूलाई “मानिसको पुत्र[को]” साटो “मानव” भनेर अनुवाद गरेका छन्। यसको विपरीत, नयाँ विश्व अनुवाद-मा (अंग्रेजी) मूल भाषाको पदलाई हुबहु अनुवाद गरिएको छ। यसले धर्मशास्त्रीय थुप्रै कुराहरूप्रति हाम्रो विचारलाई स्पष्ट पारेको छ। उदाहरणका लागि, वक्ताले भने: “नयाँ विश्व अनुवाद-को सही अनुवादले प्रथम शताब्दीका मसीही मण्डलीमा बसालेको नमुनाअनुरूप प्राचीनहरूको समूहको नियुक्तिद्वारा मण्डलीलाई पुनः संगठित गर्ने आधार प्रदान गऱ्यो।” हामी सधैं परमेश्वरको वचन पढेर अनि यसको सल्लाह लागू गरेर यस वचनप्रति वफादारी देखाउँछौं। वक्ताले यसो पनि भने: “अरूलाई जोसिलो भई प्रचार गर्दा तथा सिकाउँदा यसलाई आफ्ना विचारहरूअनुसार बंग्याउनु वा भए नभएको कुरा थप्नुको साटो होशियारीसाथ यसको प्रयोग गरेर हामी परमेश्वरको वचनको वफादार अधिवक्ताहरू हौं भनी देखाउँछौं।”
‘परमेश्वरको शान्तिले सारा समझलाई माथ गर्छ’
फिलिप्पी ४:७ मा आधारित उक्त विषयले अधिवेशनको दोस्रो दिनलाई अति रोचक बनायो। एक व्यक्तिले सेवकाई, परिवार, समर्पण र दैनिक जीवनका अन्य कामकुराहरूप्रति राख्नुपर्ने उचित दृष्टिकोणबारे अधिकांश जानकारी प्रस्तुत गरिएको थियो।
दैनिक पद छलफल गरिसकेपछि “शान्तिको शुभ समाचार ल्याउने सन्देशवाहकहरू” विषयक गोष्ठी प्रस्तुत गरियो। हामीले सुनाउने सन्देश शान्तिको सन्देश हो र यसलाई शान्तिमय ढंगमा सुनाउनुपर्छ। (एफिसी ६:१५) हाम्रो लक्ष्य बहस जित्नु नभई हृदय जित्नु हो। यहोवाको संगठनबाट प्राप्त प्रशिक्षण र प्रकाशनहरूले हामीलाई त्यसै गर्न मदत दिन्छन्। उदासीनता वा निरुत्साहले गर्दा हामी खिन्न हुनु हुँदैन। बरु, हामीले व्यक्तिगत अध्ययन गर्न, सभाहरूमा उपस्थित हुन र प्रचार कार्यमा सहभागी हुन नियमित तालिका बनाएर ‘यथासक्दो कोशिश’ गरिरहनुपर्छ। (२ तिमोथी २:१५) हामीले बेवास्ता गर्न नहुने अर्को कुरा हो, अरू र विशेषगरि विश्वासका घरानाकालागि असल काम गर्नु। (गलाती ६:१०) निस्सन्देह, यथाशक्य गर्नु भनेको अचाक्ली गर्नु होइन। आफ्नो योग्यता र परिस्थितिअनुरूप जे जति गर्न सकिन्छ, त्यही नै यहोवाले स्वीकार्नुहुन्छ।
परमेश्वरका जनहरूले परमेश्वरको राज्य गतिविधिहरूलाई बढाउन आफ्नो समय, शक्ति र भौतिक सम्पत्तिहरू दिन्छन्। अधिक मात्रामा भेडा खाले जनहरूले राज्य सन्देशलाई स्वीकार्ने हुँदा थप सामग्री, सभा गर्ने स्थान र शाखा कार्यालयहरूको खाँचो छ भनेर “यहोवाको संगठनमा प्रसन्नचित्तले दिने” विषयक भाषणले स्पष्ट पाऱ्यो। विश्वव्यापी प्रचार कार्य सम्पन्न गर्न आवश्यक पर्ने कुराको चाँजो मिलाउन हामीले दिएका चन्दाहरूले संगठनलाई मदत गर्छन्। उदारचित्तले दिंदा यहोवाको आदर हुनुका साथै दिने व्यक्ति पनि आनन्दित हुन्छन्। तसर्थ, हाम्रो उपासनाको यो महत्त्वपूर्ण पक्षलाई मसीहीहरूको हैसियतले बेवास्ता गर्नै हुँदैन।—२ कोरिन्थी ८:१-७.
बिहानी कार्यक्रमको समाप्तिमा बप्तिस्मा भाषण थियो। यहोवाका साक्षीहरूको ठूलो जमघटको मुख्य आकर्षण नै प्रायः यो भाषण हुन्छ। पानीको बप्तिस्माद्वारा आफूलाई समर्पण गरेर येशूको पदचिह्नलाई पछ्याउने नयाँ समर्पित जनहरूलाई देख्न पाउनु कत्ति आनन्दको कुरा! (मत्ती ३:१३-१७) यस पदचिह्न पछ्याउनेहरूलाई महान् ज्ञानको स्रोत बाइबलबाट सिकाइएको छ। त्यसबाहेक, तिनीहरूले जीवनको साँचो उद्देश्य भेट्टाएका छन् र आफूले सही कुरा गरिरहेको थाह पाएर प्राप्त हुने शान्तिको आशिष् पाएका छन्।—उपदेशक १२:१३.
“विवेकले तपाईंलाई जोगाओस्” भाषणमा पालन गर्नैपर्ने सल्लाह दिइएको थियो। व्यापारिक लेनदेनहरूको सम्बन्धमा विवेक चलाउनु अति महत्त्वपूर्ण छ। हामीले राज्यभवनमा व्यापारिक लेनदेन नगर्नुका साथै आर्थिक नाफाको लागि सँगी मसीहीहरूको नाजायज फाइदा उठाउनु हुँदैन। (यूहन्ना २:१५, १६ तुलना गर्नुहोस्।) व्यापारमा लगानी वा पैसा लेनदेन गर्दा पनि विवेक चलाउनुपर्छ। वक्ताले बताए, “हतारपतार जोखिमपूर्ण ढंगमा पैसा कमाउन खोज्ने मसीहीहरूबीचको व्यापार डुब्दा निराश हुनुका साथै आध्यात्मिक क्षति पनि भोग्नु परेको छ।” मसीहीहरूले आपसी व्यापार गर्नु गलत नभए तापनि सावधानी अपनाउनु बुद्धिमत्तापूर्ण कुरा हो। दुइ पक्षले व्यापारिक सम्झौता गर्दा लिखित रूपमा व्यापारिक शर्तहरू तय गर्नुपर्छ।
पुरुष र स्त्रीको लागि परमेश्वरले दिनुभएको स्तरबारे “उहाँले तिनीहरूलाई पुरुष र स्त्री सृष्टि गर्नुभयो” भाषणमा छलफल गरियो। मानव इतिहासभरि पुरुष र स्त्रीको भूमिका स्पष्ट छैन। वक्ताले बताए, “धेरै मानिसहरूले कठोर प्रभुता, अरट्ठोपन वा पुरुष हुनुको अत्यधिक घमण्डलाई नै पुरुषत्व ठान्ने गलत सोचाइ राख्छन्। केही संस्कृतिहरूमा पुरुषले जनसमक्ष वा गुप्तमा समेत आँसु बगाउनु असामान्य र लज्जास्पद ठानिन्छ। यद्यपि, यूहन्ना ११:३५ ले बताएअनुसार लाजरसको चिहानबाहिर भीडमा हुनुहुँदा “येशू रुनुभयो। ” स्त्रीबारे के भन्न सकिन्छ? स्त्रीत्वलाई अक्सर शारीरिक आकर्षणको रूपमा मानिन्छ। तर वक्ताले यसरी सोधे: “कुनै स्त्री राम्री तर अविवेकी, झगडालु, व्यंग्यात्मक वा हठी छिन् भने के तिनलाई वास्तवमा राम्री, साँच्चै स्त्रीत्व झल्काउने स्त्री भन्न सकिन्छ?” (हितोपदेश ११:२२; ३१:२६ तुलना गर्नुहोस्।) मसीही स्त्री र पुरुषहरूले आफ्नो बोली, आचरण र पहिरनमा बाइबलका स्तरहरू पालन गर्ने चेष्टा गर्छन्। वक्ताले यसो भने: “आत्माको फल प्रकट गर्ने पुरुषलाई आदर गर्न र स्त्रीलाई चाहिं प्रेम गर्न सजिलो हुन्छ।”—गलाती ५:२२, २३.
त्यसपछि “शान्तिको परमेश्वरले तपाईंको हेरचाह गर्नुहुन्छ” विषयक गोष्ठी भयो। थुप्रै मसीहीहरू रुपियाँ पैसाको लागि चिन्तित छन्। यद्यपि, यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड़नैछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” (हिब्रू १३:५) आर्थिक कठिनाइहरूको बावजूद कोही कोहीले सहायक अग्रगामी वा नियमित अग्रगामी गरेर यस प्रतिज्ञाप्रति भरोसा देखाएका छन्। हाल अग्रगामी गर्न नसक्ने अरूले चाहिं हर अवसरमा साक्षी दिएर परमेश्वरको राज्य गतिविधिहरूलाई प्राथमिकता दिन्छन्। (मत्ती ६:३३) यस्ता सबै प्रयासहरूको सराहना गरिनुपर्छ! यहोवाको संगठनले हामीलाई सेवकाईमा सहयोग गर्न र समस्याहरूको सामना गर्न अनगिन्ती प्रकाशनहरूको प्रबन्ध गरेको छ। हामीले यहोवाका आध्यात्मिक प्रबन्धहरूको मूल्यांकन गऱ्यौं भने उहाँले हामीलाई आर्थिक चपेटाले घेरिएको समयमा शान्ति दिनुहुनेछ।—भजन २९:११.
त्यस दिनको अन्तिम भाषण, “पारिवारिक जीवनमा ईश्वरीय शान्ति पछ्याउनुहोस”-को अन्ततिर पारिवारिक आनन्दको रहस्य पुस्तक पाउँदा अधिवेशनमा उपस्थित हुनेहरू रमाए। वक्ताले यसरी आग्रह गरे, “बाइबल आधारित यसका सल्लाहहरू पालन गर्न भरमग्दुर प्रयास गर्नुहोस् अनि तपाईंको पारिवारिक शान्ति र आनन्द साँच्चै बढ्नेछ।”
‘शान्तिको बन्धनमा एकता राख’
एफिसी ४:३ मा आधारित यो विषय अधिवेशनको अन्तिम दिनको लागि सुहाउँदो थियो। सारा जातिहरूबाट आएका यहोवाका साक्षीहरू परमेश्वरबाट सिकाइएका छन्। तसर्थ, तिनीहरू शान्ति मन पराउँछन्। तिनीहरू येशूको उदाहरण अनुसरण गर्छन् र “आत्माको एकता राख्नालाई शान्तिको बन्धनमा परिश्रम” गर्न प्रयत्न गर्छन्।
“सही प्रकारका सन्देशवाहकहरूलाई चिन्ने” गोष्ठीमा परमेश्वरको संगठनभित्र व्याप्त शान्तिबारे प्रकाश पारियो। पुरातन इस्राएलमा झूटा भविष्यवक्ताहरू थिए। तथापि, परमेश्वरका साँचो सन्देशवाहकहरू अर्थात् यशैया, इजकिएल र यर्मियाजस्ता भविष्यवक्ताहरूले यरूशलेमको पतन, निर्वासनको समय र अन्तमा परमेश्वरका जनहरूको छुटकाराबारे सही अगमवाणी गरेका थिए। आज पनि परिस्थिति त्यस्तै छ। राजनीति र झूटो धर्ममा झूटा सन्देशवाहकहरू छ्यापछ्याप्ती छन्। यद्यपि, यहोवाले यस रीतिरिवाजसम्बन्धी उहाँको उद्देश्य उद्घोषणा गर्न आफ्ना साक्षीहरूलाई चलाउनुहुन्छ। विशेषगरि, १९१९ देखि यहोवाका साक्षीहरूलाई परमेश्वरको सन्देश उद्घोषणा गर्न प्रयोग गरिंदैछ। तिनीहरू मसीहीजगत्का झूटा सन्देशवाहकहरूभन्दा कत्ति भिन्न छन्! यहोवाले अब पुग्यो नभन्नुभएसम्म हामी यस काममा लगनशील भएर जुटिरहन्छौं।
“परमेश्वको वचन सुन्नुहोस् र पालन गर्नुहोस्” भाषणले निर्देशन, सान्त्वना र आशाको महान् स्रोत धर्मशास्त्र हो भनेर जोड दियो। (यशैया ३०:२०, २१; रोमी १५:४) आजको संसार झन् झन् छाडा भइरहेको छ। तसर्थ, परमेश्वरको वचन र संगठनबाट आउने सल्लाहलाई पहिलाभन्दा धेरै सुन्नु खाँचो छ। यहोवालाई हाम्रा कमजोरीहरू थाह छ र उहाँले आफ्नो वचनमा हाम्रोनिम्ति फाइदाजनक जीवनपद्धतिबारे स्पष्टसित बताउनुभएको छ। यहोवा हाम्रो पक्षमा हुनुहुन्छ भन्ने थाह पाएको हुँदा उहाँले अह्राउनुभएको कुनै पनि काम गर्न हामी विश्वस्त हुन्छौं।
यस भाषणले त्यसपछि हुने पूर्ण नाटकीय वेशभूषासहितको नाटकलाई अति रोचक बनायो। त्यस नाटकको विषय थियो, “ईश्वरतान्त्रिक प्रबन्धहरूको आदर किन गर्ने?” गिदोनको बाइबलीय विवरणलाई आधारको रूपमा चलाएर हामीले परमेश्वरका निर्देशनहरू पालन गर्नुपर्छ र त्यसको साटो आफ्नै सोचविचार नचलाउनु वा ईश्वरतान्त्रिक सल्लाहलाई नपन्छाउनु भन्ने महत्त्वपूर्ण पाठमाथि यस प्रस्तुतिले एकदमै जोड दियो।
जनभाषणको विषय थियो, “अन्तत: साँचो शान्ति—कुन स्रोतबाट?” परमेश्वरले प्रतिज्ञा गर्नुहुने शान्ति यस संसारले कल्पना गर्नै सक्दैन। वक्ताले भने, “साँचो शान्तिको अर्थ, सधैं शान्ति भइरहनु हो। परमेश्वरको शान्तिको अर्थ, बिमारी, पीडा, दुःख र मृत्युबिनाको संसार हो।” बाइबलले हामीलाई भन्छ, “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।” (भजन ४६:९) उहाँले यो कसरी गर्नुहुनेछ? युद्धको सुरुकर्ता शैतान अर्थात् दियाबललाई हटाएर। (प्रकाश २०:१-३) परमेश्वरको शान्तिले नम्रहरूका निम्ति ‘देश अधिकार गर्न र प्रशस्त शान्तिमा खुशी मनाउन’ बाटो खोल्नेछ।—भजन ३७:११.
त्यस हप्ताको प्रहरीधरहरा अध्ययनको सारांशपछि अधिवेशनको अन्तिम भाषण प्रस्तुत गरियो। “ईश्वरीय शान्तिका सन्देशवाहकहरूका हैसियतमा अघि बढ्ने” विषयक यस प्रोत्साहनजनक भाषणले हाम्रो प्रचारकार्य अनुपम छ र यो काममा ढिलासुस्ती गर्नु हुँदैन भनेर जोड दियो। अहिले आराम गर्ने तथा अलमलिने वा गलत विचारहरूतिर भुलिने समय होइन। हामी हामीलाई चाहिने कुराहरू अर्थात् परमेश्वरको सन्देश, पवित्र आत्मा र उहाँको मायालु ईश्वरतान्त्रिक संगठन मार्फत आउने अनगिन्ती प्रबन्धहरूद्वारा सुसज्जित छौं। तसर्थ, ईश्वरीय शान्तिका सन्देशवाहकहरूको हैसियतमा हामी यहोवाका सेवकहरू अघि बढिरहौं!
[[पृष्ठ ९-मा भएको पेटी/चित्र]
परिवारहरूका लागि मायालु प्रबन्ध
“ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनको दोस्रो दिन उपस्थित हुनेहरू पारिवारिक आनन्दको रहस्य शीर्षक नयाँ प्रकाशन पाउँदा रोमाञ्चित भए। यस पुस्तकमा परमेश्वरलाई प्रेम गर्ने सबै परिवारको लागि लाभदायी धर्मशास्त्रीय जानकारी पाइन्छ।
सं.रा.अ, कनेटिकटको एक प्राचीन यस्तो टिप्पणी गर्छन्: “जून १५ का दिन हामीले पारिवारिक आनन्द पुस्तक प्राप्त गऱ्यौं। जून १६ सम्ममा मैले आधा पुस्तक पढें। जून १७ मा हामीले यसबाट प्रथम पटक पारिवारिक अध्ययन गऱ्यौं र साह्रै प्रोत्साहित भयौं! त्यसै दिन मैले त्यो पुस्तक पढ्न सिध्याएँ। निस्सन्देह, यो उत्तम प्रकाशन सदुपयोग गर्नेहरूले यसलाई मूल्यवान् ठान्नेछन्। ‘ठीक ठीक समयमा विश्वासी र बुद्धिमान दासले’ खानेकुरा जुटाइरहेको छ र यी कठिन समयमा हाम्रा खाँचोहरूबारे उहाँहरू सजग हुनुहुन्छ भन्ने थप प्रमाण यस पुस्तकको स्पष्ट र ताजा जानकारीले प्रस्तुत गर्छ।”—मत्ती २४:४५-४७.
[पृष्ठ ७-मा भएको चित्र]
जवान तथा वृद्ध दुवैले परमेश्वर के चाहनुहुन्छ भनेर जान्न चाहन्छन्