“जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ”
“जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ। जसलाई तिमीहरू अहिले देख्तैनौ, तापनि विश्वास गरेर अवर्णनीय आनन्द र महिमाको भरपूरीले तिमीहरू उहाँमा अत्यन्त रमाउँछौ।”—१ पत्रुस १:८.
१. आज पृथ्वीमा बाँचिरहेका कुनै पनि मानिसले येशूलाई नदेखे तापनि केही धार्मिक झुकाउ भएका मानिसहरूले कसरी उहाँप्रति भक्ति देखाउने चेष्टा गर्छन्?
आज पृथ्वीमा बाँचिरहेका मानिसहरूले येशू ख्रीष्टलाई देखेका छैनन्। यद्यपि, लाखौं मानिसहरूले उहाँप्रति प्रेम प्रकट गर्छन्। फिलिपिन्सको मनिलामा प्रत्येक वर्ष जनवरी ९ का दिन क्रूस बोकिरहेका येशूको प्रतिमाको रथ तानिन्छ। त्यसलाई देशको लोकप्रिय धर्मको अति विशाल र शानदार प्रदर्शन भनी वर्णन गरिएको छ। उत्तेजित भीडमा मानिसहरू धकेलाधकेल गर्छन्; त्यस प्रतिमालाई छुने प्रयासमा मानिसहरू एकअर्कामाथि चढ्छन्। विशेषगरि त्यस उत्सवको जात्राले गर्दा मानिसहरू झुम्मिन्छन्। यद्यपि, तिनीहरूमध्ये कोही कोही येशूप्रति रत्तिभर सन्देह नराखी मोहित हुनेहरू पनि छन्। त्यसको प्रमाण के हो भने, तिनीहरू घाँटीमा क्रूस झुन्डाउलान् वा नियमित तवरमा चर्च धाउलान्। तथापि, यस्तो मूर्तिपूजालाई साँचो उपासना मान्न सकिन्छ त?
२, ३. (क) येशूका अनुयायीहरूमध्ये कसले उहाँलाई आफ्नै आँखाले देखे र उहाँको कुरा सुने? (ख) येशूलाई व्यक्तिगत तवरमा नदेखे तापनि प्रथम शताब्दीमा उहाँलाई प्रेम र विश्वास गर्ने मानिसहरू को थिए?
२ प्रथम शताब्दीमा यहूदीया, सामरिया, पिरिया र गालीलका रोमी प्रान्तहरूमा बस्ने हजारौं मानिसहरूले येशू ख्रीष्टलाई आफ्नै आँखाले देखे र उहाँको कुरा सुने। उहाँले परमेश्वरको राज्यबारे हृदय छुने सत्य कुराहरू बताउनुहुँदा तिनीहरूले सुने। उहाँले गर्नुभएका चमत्कारहरू तिनीहरूले प्रत्यक्षतः देखे। यिनीहरूमध्ये कोही उहाँ “जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनेर विश्वस्त भई उहाँका समर्पित चेलाहरू भए। (मत्ती १६:१६) तथापि, प्रेरित पत्रुसले आफ्नो पहिलो प्रेरित पत्र यी व्यक्तिहरूलाई लेखेका थिएनन्।
३ पत्रुसले सम्बोधन गरेका मानिसहरू वर्तमान तुर्कीभित्र पर्ने पोन्टस, गालील, कपोदिसिया, एसिया र बिथनियाका रोमी प्रान्तहरूका बासिन्दाहरू थिए। पत्रुसले तिनीहरूलाई यसरी लेखे: “जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्तैनौ, तापनि विश्वास गरेर अवर्णनीय आनन्द र महिमाको भरपूरीले तिमीहरू उहाँमा अत्यन्त रमाउँछौ।” (१ पत्रुस १:१, ८) तिनीहरूले येशू ख्रीष्टलाई प्रेम गर्ने र विश्वास गर्ने हदसम्म कसरी चिने?
४, ५. येशूलाई कहिल्यै नदेख्नेहरूले कसरी उहाँबारे प्रचुर मात्रामा थाह पाउनुका साथै उहाँलाई प्रेम गर्न र विश्वास गर्न सिके?
४ स्पष्टतया, प्रेरित पत्रुसले यरूशलेममा सा.यु. ३३ पेन्तिकोसको उत्सवमा उपस्थित भीडलाई साक्षी दिंदा यिनीहरूमध्ये कोही कोही त्यहाँ थिए। प्रेरितहरूबाट थप निर्देशन प्राप्त गर्न थुप्रै चेलाहरू उत्सवपछि यरूशलेममै बसे। (प्रेरित २:९, ४१, ४२; १ पत्रुस १:१ तुलना गर्नुहोस्।) प्रेरित पावलले बारम्बार मिसनरी यात्रा गर्दा त्यस इलाकाका मानिसहरूसित पनि जोसिलो सेवकाई गरिरहे जहाँ पत्रुसले पछि तिनकै नाउँ भएको प्रथम बाइबल पत्र पठाए।—प्रेरित १८:२३; १९:१०; गलाती १:१, २.
५ येशूलाई कहिल्यै नदेखेका ती मानिसहरू किन उहाँप्रति त्यति विघ्न आकर्षित भए? हाम्रो समयमा किन विश्वभरिका अरू लाखौं मानिसहरू उहाँलाई औधी माया गर्छन्?
तिनीहरूले सुनेका कुराहरू
६. (क) सा.यु. ३३ पेन्तिकोसको दिन पत्रुसले येशूबारे साक्षी दिएको सुन्नुभएको भए तपाईंले के थाह पाउनुहुन्थ्यो? (ख) यसले त्यहाँ भेला भएका लगभग ३,००० मानिसहरूमा कस्तो प्रभाव पाऱ्यो?
६ पत्रुसले सा.यु. ३३ का दिन यरूशलेममा उत्सव मनाउन आएको भीडलाई भाषण दिंदा तपाईं पनि त्यहाँ हुनुभएको भए येशूबारे के थाह पाउनुहुनेथियो? उहाँलाई परमेश्वरले नै पठाउनुभएको हो भनेर उहाँले गर्नुभएका चमत्कारहरूले देखाए। त्यसैले पापी मानिसहरूले येशूको हत्या गरे तापनि उहाँ चिहानमै रहिरहनुभएन तर उहाँको पुनरुत्थान भयो र त्यसपछि परमेश्वरको दाहिने बाहुलीमा बस्न स्वर्गारोहण हुनुभयो। वास्तवमा यी नै येशू भविष्यवक्ताहरूले बताएको ख्रीष्ट अर्थात् मसीह हुनुहुन्थ्यो। यी नै येशू ख्रीष्ट मार्फत उहाँका चेलाहरूमाथि पवित्र आत्मा खन्याइयो। यसले गर्दा परमेश्वरले आफ्नो पुत्रद्वारा गरिरहनुभएको अद्भुत कुराहरूबारे थुप्रै राष्ट्रहरूबाट आएका मानिसहरूलाई तुरुन्तै साक्षी दिन तिनीहरू सक्षम भए। त्यस अवसरमा पत्रुसका कुरा सुनिरहेका थुप्रै मानिसहरूमा गहिरो प्रभाव पऱ्यो र लगभग ३,००० ले मसीही चेलाहरूको हैसियतमा बप्तिस्मा लिए। (प्रेरित २:१४-४२) तपाईं त्यहाँ हुनुभएको भए के त्यस्तो निर्णायक पाइला चाल्नुहुन्थ्यो होला?
७. (क) प्रेरित पावलले एन्टिओकमा प्रचार गर्दा तपाईं त्यहाँ हुनुभएको भए के सिक्नुहुन्थ्यो होला? (ख) भीडमा भएका कोही कोही किन विश्वासी भए र अरूलाई सुसमाचार बताए?
७ प्रेरित पावलले गालीलको रोमी प्रान्त एन्टिओकमा शिक्षा दिंदा तपाईं पनि उपस्थित हुनुभएको भए येशूबारे अरू कुन कुरा थाह पाउनु हुनेथियो? येशूलाई यरूशलेमका शासकहरूले मृत्युको सजाय दिनेछन् भनेर भविष्यवक्ताहरूले अगमवाणी गरेका थिए र त्यही कुरा पावलले त्यहाँ बताएको तपाईंले सुन्नुहुनेथियो। येशूको पुनरुत्थानको साक्षात् प्रमाणबारे पनि तपाईंले सुन्नुहुनेथियो। यहोवाले येशूको पुनरुत्थान गर्नुभएर उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्नुभएको कुराबारे पावलले बताउँदा तपाईं अवश्यै प्रभावित हुनुहुन्थ्यो। अनि येशूमा विश्वास गरेर पापको क्षमा पाएर अनन्त जीवन पाउनसक्ने कुरा थाह पाउँदा के तपाईंको हृदय पग्लने थिएन र? (प्रेरित १३:१६-४१, ४६, ४७; रोमी १:४) आफूले सुनिरहेको कुराको महत्त्वलाई बुझेर एन्टिओकका केही मानिसहरू चेला भए र प्रचार गर्दा तीब्र सतावट आइपर्ने भए तापनि तिनीहरूले अरूलाई जोडतोडले प्रचार गरे।—प्रेरित १३:४२, ४३, ४८-५२; १४:१-७, २१-२३.
८. एफिसस मण्डलीको सभामा पावलको पत्र प्राप्त हुँदा तपाईं त्यहाँ हुनुभएको भए के थाह पाउन सक्नुहुन्थ्यो?
८ एसियाको रोमी प्रान्त एफिससको मसीही मण्डलीका चेलाहरूलाई पावलले प्रेरित पत्र लेख्दा तपाईं त्यहाँ हुनुभएको भए नि? यसबाट तपाईंले परमेश्वरको उद्देश्यमा येशूको भूमिकाबारे के थाह पाउन सक्नुहुन्थ्यो? त्यस पत्रमा पावलले बताएअनुसार, येशू मार्फत स्वर्ग र पृथ्वीमा सबै कुरा परमेश्वरको इच्छाअनुरूप फेरि हुनेथियो। येशू मार्फत परमेश्वरको इनाम सारा राष्ट्रका मानिसहरूलाई दिइनेथियो। आफ्नो पापको कारण परमेश्वरको दृष्टिमा मरेका व्यक्तिहरू ख्रीष्टमा विश्वास गरेर जीवित पारिनेथियो र यस प्रबन्धले गर्दा फेरि मानवहरू परमेश्वरको प्रिय पुत्रहरू हुन सम्भव हुनेथियो।—एफिसी १:१, ५-१०; २:४, ५, ११-१३.
९. (क) पावलले एफिसीहरूलाई लेखेको कुराको महत्त्वलाई तपाईंले बुझ्नुभयो कि भएन भनी थाह पाउन कुन कुराले तपाईंलाई मदत दिनसक्छ? (ख) पत्रुसले उल्लेख गरेका रोमी प्रान्तहरूका भाइहरू कसरी आफूले येशूबारे सिकेका कुराहरूबाट प्रभावित भए?
९ के यी सबै कुरा थाह पाउनुभएर परमेश्वरको पुत्रप्रति तपाईंको प्रेम प्रबल हुनेथियो? एफिसीको पुस्तकको अध्याय ४ देखि ६ मा प्रेरित पावलले प्रोत्साहन दिएझैं उक्त प्रेमले के तपाईंको दैनिक जीवनमा प्रभाव पार्नेथियो? के यी सबै कुराहरूले तपाईंलाई जीवनका प्राथमिक कुराहरू होशियारीसाथ जाँच्न प्रेरित गर्नेथियो? परमेश्वरप्रतिको प्रेम र उहाँको पुत्रप्रतिको कृतज्ञताले गर्दा तनमनले परमेश्वरको इच्छाअनुरूप गर्न के तपाईं आवश्यक काँटछाँट गर्नुहुनेथियो? (एफिसी ५:१५-१७) एसिया, गलाती र अरू रोमी प्रान्तका मसीहीहरू आफूले सिकिरहेका कुराबाट जुन तरिकामा प्रभावित भए, त्यसबारे प्रेरित पत्रुसले तिनीहरूलाई लेखे: “[येशू ख्रीष्टलाई] तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ। . . . विश्वास गरेर अवर्णनीय आनन्द र महिमाको भरपूरीले तिमीहरू उहाँमा अत्यन्त रमाउँछौ।”—१ पत्रुस १:८.
१०. (क) कुन कारणले गर्दा प्रारम्भिक मसीहीहरूले येशूलाई प्रेम गर्नसके? (ख) हामीले पनि कसरी फाइदा उठाउनसक्छौं?
१० निस्सन्देह, परमेश्वरको पुत्रप्रति प्रेम देखाउन मदत दिने अर्कै कुरालाई पत्रुसको भाषण सुन्ने प्रारम्भिक मसीहीहरूले महसुस गरे। त्यो के थियो? पत्रुसले आफ्नो प्रथम पत्र लेख्न सिध्याउँदा सुसमाचारका पुस्तकहरू, मत्ती र लूका त वितरण भइसकेका थिए। येशूलाई कहिल्यै नदेखेका प्रथम शताब्दीका मसीहीहरूले यी सुसमाचारका विवरणहरू पढ्नसक्थे। हामी पनि पढ्नसक्छौं। सुसमाचारका पुस्तकहरू काल्पनिक विवरणहरू होइनन्। त्यसमा अति भरोसायोग्य इतिहासका विशेषताहरू पाइन्छन्। ती प्रेरित विवरणहरूमा परमेश्वरको पुत्रप्रति हाम्रो प्रेमलाई प्रबल पार्ने अझ धेरै कुराहरू पाउँछौं।
उहाँले देखाउनुभएको मनोवृत्ति
११, १२. येशूले अरू मानिसहरूप्रति देखाउनुभएको मनोवृत्तिबारे कुन चाहिंले तपाईंलाई उहाँप्रति प्रेम गर्न उत्प्रेरित गर्छ?
११ येशूको जीवनबारे लिखित विवरणबाट हामी उहाँले अरू मानिसहरूसित कसरी व्यवहार गर्नुहुन्थ्यो भनेर सिक्छौं। उहाँले देखाउनुभएको मनोवृत्तिले उहाँको मृत्यु भएको १,९६० वर्षपछि अर्थात् अहिले पनि मानिसहरूको हृदयलाई छुन्छ। सबै जीवित व्यक्तिहरू पापका असरहरूले दबिएका छन्। लाखौं मानिसहरू अन्यायको शिकार भएका छन्, रोगहरूले पीडित छन् वा निराश छन्। यस्ता मानिसहरूलाई येशू भन्नुहुन्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.
१२ येशूले गरिब, भोका र दुःखीहरूप्रति गहिरो चासो देखाउनुभयो। आवश्यक पर्दा उहाँले भीडलाई चमत्कार गरेर खुवाउनु पनि भयो। (लूका ९:१२-१७) उहाँले तिनीहरूलाई परम्पराहरूको दासत्वबाट मुक्त पार्नुभयो। राजनैतिक र आर्थिक दबाबको अन्त गर्ने परमेश्वरको प्रबन्धमा उहाँले तिनीहरूलाई विश्वास गर्न लगाउनुभयो। येशूले शोषितहरूको भावनाहरूलाई कुल्चीमिल्ची पार्नुभएन। उहाँले स्नेह र प्रेम देखाउँदै कौशलतासाथ नम्रहरूलाई हौसला दिनुभयो। उहाँले कुल्चीमिल्ची भएको झार र निभ्नै लागेको सलेदोजस्ता मानिसहरूलाई स्फूर्ति दिनुभयो। उहाँलाई कहिल्यै नदेखेका मानिसहरूको हृदयमा समेत उहाँको नाउँले त्यस बेला मात्र होइन तर अहिलेसम्म आशा दिन्छ।—मत्ती १२:१५-२१; १५:३-१०.
१३. येशूले पापीहरूसित गर्नुभएको व्यवहारद्वारा किन मानिसहरू आकर्षित हुन्छन्?
१३ भूल गर्दा पश्चात्ताप गरेर येशूलाई मदत माग्नेहरूप्रति उहाँले समझदारी देखाउनुभए तापनि गलत कार्य गर्ने अनुमोदन दिनुभएन। (लूका ७:३६-५०) समुदायमा अपहेलित मानिसहरूसित बसेर उहाँले खाना खानुभयो। तिनीहरूलाई आध्यात्मिक मदत दिन सकिने अवसर यही हो भन्ने लागेपछि उहाँले त्यसो गर्नुहुन्थ्यो। (मत्ती ९:९-१३) येशूले देखाउनुभएको मनोवृत्तिले गर्दा उहाँलाई कहिल्यै नदेखेका लाखौं मानिसहरू उहाँबारे जान्न र उहाँलाई विश्वास गर्न उत्प्रेरित भएका छन्।
१४. येशूले बिरामी, असक्त वा शोकित मानिसहरूलाई जुन तरिकामा मदत गर्नुभयो त्यसमध्ये कुन कुरा तपाईंलाई मन पर्छ?
१४ येशूले बिरामी र अशक्त मानिसहरूसित जुन तरिकामा व्यवहार गर्नुभयो, त्यसले उहाँको न्यानोपन, दया र तिनीहरूलाई सान्त्वना दिनसक्ने उहाँको क्षमताको प्रमाण दिन्छ। यसर्थ, एक जना कोरीले उहाँकहाँ गएर मदत माग्दा उहाँ पन्छिन खोज्नुभएन। अनि तिनको दया लागे तापनि रोग निको नहुने स्थितिमा पुगेकोले मदत गर्न सक्दिनँ भनेर उहाँले त्यस मानिसलाई भन्नुभएन। त्यस मानिसले यसरी बिन्ती गरे: “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।” येशू निसंकोच कोरीको छेउमा गएर तिनलाई छुनुहुँदै यसो भन्नुभयो: “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।” (मत्ती ८:२, ३) अर्को समयमा एक स्त्रीले कसैले नदेख्नेगरि उहाँको लुगाको छेउ छोएर निको हुन खोजिन्। येशूले तिनलाई दयालु र सान्त्वनापूर्ण व्यवहार गर्नुभयो। (लूका ८:४३-४८) उहाँले एक विधवीको छोराको मलामीहरूलाई बाटोमा भेट्नुहुँदा त्यस विधवीको दुःखप्रति दया देखाउनुभयो। हुन त येशूले आफ्नै निम्ति खानेकुरा जुटाउन परमेश्वरबाट प्राप्त चमत्कारी शक्तिलाई प्रयोग गर्न अस्वीकार गर्नुभएको थियो। तर अब त्यस शक्तिलाई ती मृत व्यक्तिको पुनरुत्थान गर्न खुल्लमखुल्ला चलाउनुभयो र तिनको आमाको जिम्मा लगाउनुभयो।—लूका ४:२-४; ७:११-१६.
१५. येशूबारे विवरण पढ्नाले र त्यसलाई मनन गर्नाले तपाईंलाई कस्तो लाग्छ?
१५ यी विवरणहरू पढ्दा र येशूले देखाउनुभएको मनोवृत्तिमाथि मनन गर्दा यस जनप्रति हाम्रो प्रेम प्रबल हुन्छ। उहाँले हामी अनन्तकालसम्स बाँच्न सकोस् भनेर आफ्नो मानव जीवन अर्पण गर्नुभयो। हामीले उहाँलाई कहिल्यै देखेका छैनौं। तैपनि हामी उहाँप्रति आकर्षित भएको महसुस गर्छौं र उहाँको पदचिह्नमा हिंड्न चाहन्छौं।—१ पत्रुस २:२१.
परमेश्वरप्रति उहाँको विनम्र भरोसा
१६. येशूले खास गरेर कसमाथि ध्यानकेन्द्रित गर्नुभयो र उहाँले हामीलाई त्यसो गर्न कस्तो प्रोत्साहन दिनुभयो?
१६ सबैभन्दा महत्त्वपूर्ण कुरा त येशूले स्वर्गमा हुनुहुने आफ्नो पिता यहोवा परमेश्वरप्रति उहाँको र हाम्रो ध्यानकेन्द्रित गर्नुभयो। उहाँले व्यवस्थाको सबैभन्दा महान् आज्ञालाई यसरी चिनाउनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३६, ३७) उहाँले आफ्ना चेलाहरूलाई चेताउनी दिनुभयो: “परमेश्वरमा विश्वास राख।” (मर्कूस ११:२२) तिनीहरूले विश्वासको गम्भीर परीक्षा सामना गर्नुपर्दा उहाँले तिनीहरूलाई “प्रार्थना गर” भनेर आग्रह गर्नुभयो।—मत्ती २६:४१.
१७, १८. (क) पिताप्रतिको विनम्र भरोसालाई येशूले कसरी देखाउनुभयो? (ख) उहाँले गर्नुभएको कुरा हाम्रोनिम्ति किन यत्तिको महत्त्वपूर्ण छ?
१७ येशू स्वयंले त्यसको उदाहरण बसाल्नुभयो। उहाँको जीवनको महत्त्वपूर्ण भाग प्रार्थना थियो। (मत्ती १४:२३; लूका ९:२८; १८:१) स्वर्गमा स्वर्गदूतहरू उहाँको रेखदेखमा भए तापनि प्रेरितहरू छान्ने समयमा उहाँले आफ्नो निर्णयमा मात्र भर पर्नुभएन। उहाँले आफ्नो पितालाई रातभरि नम्रतासाथ प्रार्थना गर्नुभयो। (लूका ६:१२, १३) उहाँले गिरफ्तारी र पीडादायी मृत्युको सामना गर्नुहुँदा पनि आफ्नो पितालाई गम्भीरतासाथ प्रार्थना गर्नुभयो। उहाँले शैतानलाई राम्ररी चिनेको छु र त्यस दुष्टको जस्तोसुकै युक्तिलाई पनि सजिलै सामना गर्न सकिन्छ भन्ने धारणा राख्नुभएन। आफू विफल नहुनु कत्तिको महत्त्वपूर्ण छ भनी येशूलाई थाह थियो। उहाँ विफल हुनु उहाँका पिताको लागि कत्ति निन्दाजनक कुरा हुनेथियो! अनि येशूले अर्पण गर्नुहुने बलिदानमा जीवनका प्रत्याशाहरू राख्ने मानवजातिका लागि कत्ति ठूलो नोक्सान!
१८ यरूशलेमस्थित माथिल्लो कोठामा आफ्ना प्रेरितहरूसित हुनुहुँदा र विशेषगरि गेतसमनीको बगैंचामा झन् व्याकुल भएर निरन्तर प्रार्थना गर्नुभयो (मत्ती २६:३६-४४; यूहन्ना १७:१-२६; हिब्रू ५:७) येशूले आफूलाई यातना दिने शूलीमा लट्काइएको बेला गिल्ला गर्नेहरूको निन्दा गर्नुभएन। बरु, अन्जानमा त्यसो गरिरहेकाहरूका लागि उहाँले यसरी प्रार्थना गर्नुभयो: “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेछन् ती जान्दैनन्।” (लूका २३:३४) उहाँले “धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनु[भएर]” पिताप्रति लीन हुनुभयो। शूलीमा झुण्डाइँदा उहाँका मुखबाट निस्केका अन्तिम शब्दहरू आफ्नो पितालाई चढाउनुभएको प्रार्थना थियो। (१ पत्रुस २:२३; लूका २३:४६) येशूले यहोवामा पूर्ण भरोसा राख्दै पिताले सुम्पनुभएको कार्य विश्वासपूर्वक पूरा गरेकोमा हामी कत्ति कृतज्ञ छौं! येशू ख्रीष्टलाई हामीले कहिल्यै नदेखे तापनि उहाँले जे जति गर्नुभयो, त्यसका लागि हामी उहाँलाई गहिरो प्रेम गर्छौं!
उहाँप्रति हाम्रो प्रेम व्यक्त गर्ने
१९. येशूप्रति प्रेम व्यक्त गर्न हामी कस्ता अनुचित प्रचलनहरूबाट अलग्गै बस्छौं?
१९ हामीले व्यक्त गर्ने प्रेम भनाइ मात्र होइन भनेर हामी कसरी प्रमाणित गर्नसक्छौं? येशूको मायालु पिताले मूर्तिहरू बनाउनु र ती मूर्तिहरूलाई उपासना गर्नु निषेध गर्नुभएकोले गलामा येशूको प्रतिमालाई लट्काएर वा त्यस्तो प्रतिमालाई सडकहरूमा रथ तानेर अवश्यै उहाँको आदर हुँदैन। (प्रस्थान २०:४, ५; यूहन्ना ४:२४) हप्तामा धेरै पटक धार्मिक सभाहरूमा उपस्थित भए तापनि हप्ताका बाँकी दिनहरूमा उहाँका शिक्षाहरूअनुरूप जीवन बिताएका छैनौं भने, उहाँलाई आदर गरेको पटक्कै हुनेछैन। येशूले भन्नुभयो: “मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ, जसले मलाई प्रेम गर्दछ, त्यो मेरा पिताको पनि प्रेमी हुनेछ।”—यूहन्ना १४:२१, २३; १५:१०.
२०. हामीले येशूलाई साँच्चै प्रेम गर्छौं कि गर्दैनौं भनेर कुन कुराहरूले देखाउनेछन्?
२० उहाँले हामीलाई कस्ता आज्ञाहरू दिनुभयो? सर्वप्रथम, साँचो परमेश्वर यहोवालाई मात्र उपासना गर्नू। (मत्ती ४:१०; यूहन्ना १७:३) परमेश्वरको उद्देश्य पूरा गर्ने काममा पनि येशूले भूमिका निर्वाह गर्नुहुने भएकोले उहाँलाई परमेश्वरको पुत्र भनी विश्वास गर्नुपर्छ अनि दुष्ट कार्यहरूबाट अलग रहेर तथा ज्योतिमा हिंडेर यस विश्वासलाई प्रकट गर्नुपर्छ भनेर उहाँले शिक्षा दिनुभयो। (यूहन्ना ३:१६-२१) परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई प्रथम स्थान दिनू र भौतिक आवश्यकताहरूभन्दा यी कुराहरूलाई महत्त्वपूर्ण ठान्नू भनेर उहाँले सुझाउ दिनुभयो। (मत्ती ६:३१-३३) उहाँले हामीलाई प्रेम गर्नुभएझैं हामीले पनि एकअर्काप्रति प्रेम गर्न आज्ञा दिनुभयो। (यूहन्ना १३:३४; १ पत्रुस १:२२) अनि उहाँले हामीलाई परमेश्वरको उद्देश्यसम्बन्धी बताउने साक्षी हुने कार्य सुम्पनुभयो। उहाँ पनि साक्षी नै हुनुहुन्थ्यो। (मत्ती २४:१४; २८:१९, २०; प्रकाश ३:१४) आज लगभग पचास लाख यहोवाका साक्षीहरूले येशूलाई कहिल्यै नदेखे तापनि उहाँप्रतिको साँचो प्रेमले गर्दा तिनीहरू ती आज्ञाहरू पालन गर्न उत्प्रेरित भएका छन्। तिनीहरूले येशूलाई प्रत्यक्षतः देखेनन् भन्दैमा आज्ञाकारी बन्ने तिनीहरूको संकल्प कमजोर हुँदैन। आफ्नो प्रभुले प्रेरित थोमालाई भन्नुभएको यो कुरा तिनीहरू सम्झन्छन्: “किनकि तिमीले मलाई देख्यौ, यसैकारण विश्वास गऱ्यौ, तर नदेखेर विश्वास गर्नेहरू धन्य हुन्।”—यूहन्ना २०:२९.
२१. यस वर्ष मार्च २३, आइतबारका दिन सम्पन्न हुने ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित भएर कसरी लाभ उठाउँछौं?
२१ आशा छ, तपाईं पनि विश्वभरिका ती मानिसहरूमध्ये हुनुहुनेछ जो १९९७, मार्च २३, आइतबारका दिन घाम डुबेपछि यहोवाका साक्षीहरूको राज्यभवनहरूमा भेला हुनेछन् अनि मानिसजातिप्रति परमेश्वरले देखाउनुभएको महान् प्रेम र उहाँको वफादार पुत्र येशू ख्रीष्टको मृत्युको स्मरण गर्नेछन्। त्यस अवसरमा भनिएका र गरिएका कुराले यहोवा र उहाँका पुत्रप्रति हाम्रो प्रेमलाई प्रबल पार्नुपर्छ र परमेश्वरका आज्ञाहरू पालन गर्ने इच्छालाई बढाउँछ।—१ यूहन्ना ५:३.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ पहिलो पत्रुसको पुस्तकमा सम्बोधन गरिएका मानिसहरूले कसरी येशूलाई चिन्न र प्रेम गर्न सिके?
◻ प्रारम्भिक मसीहीहरूले सुनेका कुराहरूमध्ये तपाईंलाई प्रभावित पार्ने कुरा कुन हो?
◻ येशूले देखाउनुभएको मनोवृत्तिमध्ये कुन चाहिंले उहाँप्रति तपाईंको प्रेमलाई प्रबल पार्छ?
◻ परमेश्वरप्रति येशूको विनम्र भरोसा हाम्रोनिम्ति किन यत्तिको महत्त्वपूर्ण छ?
◻ हामी येशू ख्रीष्टप्रति कसरी प्रेम प्रदर्शन गर्नसक्छौं?
[पृष्ठ १६, १७-मा भएको चित्र]
येशूले देखाउनुभएको मनोवृत्तिले गर्दा हामी उहाँप्रति आकर्षित भएको महसुस गर्छौं