अध्याय ६
येशू ख्रीष्टलाई –परमेश्वरले पठाउनु भएको हो?
१, २. (क) येशू ख्रीष्ट एउटा वास्तविक व्यक्ति हुनुहुन्थियो भन्ने के प्रमाण छ? (ख) येशूवारे के प्रश्न उठाइन्छन्?
लगभग प्रत्यकले आज येशू ख्रीष्टवारे सुनेको छ। इतिहासमा उहाँले अन्य कुनै व्यक्तिले भन्दा बढ़ी प्रभाव पार्नु भएको छ। वास्तवमा, संसारको धेरै भागमा प्रयोग हुने समय-तालिका उहाँको जन्म भएको वर्षमा आधारित मानिन्छ! दी वर्ल्ड बुक एनसाइक्लोपिडिया भन्दछ: “त्यो वर्ष भन्दा अगाड़िको तारीखलाई ई. पू., अर्थात ईसा [मसीह] पूर्व; त्यस वर्ष भन्दा पछाड़िको तारीखलाई ई. स. अर्थात एनो डोमीनी (हाम्रो प्रभुको वर्षमा) भनेर सूचीबद्ध गरिएको छ।”
२ त्यसकारण येशू एउटा काल्पनिक व्यक्ति हुनुहुदैन थियो। उहाँ वास्तवमा एउटा मानवको रूपमा पृथ्वीमा हुनुहुन्थियो। एनसाइक्लोपिडिया ब्रिटानिका भन्दछ: “प्राचीन समयमा मसीही धर्मका विरोधीहरूले पनि येशूको वास्तविक अस्तित्व बारे कहिले सन्देह गरेनन्।” अत: येशू को हुनुहुन्थियो? के उहाँलाई वास्तवमा परमेश्वरले पठाउनु भएको थियो? उहाँ किन यत्तिको प्रसिद्ध हुनुहुन्छ?
उहाँ पहिले देखिन् हुनुहुन्थियो
३. (क) स्वर्गदूतले भने अनुसार, मरियमले कसको पुत्रलाई जन्म दिनेथिन्? (ख) कुमारी मरियमले येशूलाई जन्म दिन कसरी सम्भव भयो?
३ अन्य कुनै मानिस जस्तो नभएर, येशू एउटा कुमारीको कोखबाट जन्मनु भएको थियो। सो कुमारीको नाउँ मरियम थियो। उनको बालक वारे एउटा स्वर्गदूतले एसो भने: “उहाँ महान हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ।” (लूका १:२८-३३; मत्ती १:२०-२५) तर कुनै मानिससँग मैथुनिक सम्बन्धै नभएकी एउटी स्त्री कसरी गर्भवती हुन सक्थिन्? यो परमेश्वरको पवित्र आत्मा द्वारा सम्भव हुन सक्यो। यहोवाले आफ्नो शक्तिमान आत्मिक पुत्रको जीवन स्वर्गवाट कुमारी मरियमको गर्भमा स्थानान्तरित गर्नु भयो। यो एउटा आश्चर्यजनक कार्य थियो! त्यो व्यक्ति, जसले एउटी स्त्रीलाई बच्चाहरू पैदागर्ने अद्भुत क्षमता दिन सक्नु भयो, निश्चय पनि उहाँले एउटा स्त्रीलाई, बिना मानव पिताको सन्तानलाई जन्म दिन सक्षम पार्न सक्नु हुन्थियो। बाइबलले व्याख्या गरेको छ: “जब तोकिएको समय आयो, परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, जो एउटा स्त्रीबाट उत्पन्न भए।”—गलाती ४:४.
४. (क) बालकको रूपमा जन्म लिनु भन्दा पहिले येशू कुन प्रकारको जीवन बिताउनु हुन्थियो? (ख) येशूले के भन्नुभयो जसबाट पहिले उहाँ स्वर्गमा हुनुहुन्थियो भनेर बुझिन्छ?
४ अत: पृथ्वीमा मनुष्य भएर जन्मनु भन्दा अगाड़ि येशू स्वर्गमा एउटा शक्तिमान आत्मिक व्यक्ति हुनु हुन्थियो। परमेश्वरकै जस्तो उहाँको पनि मानिसहरूले देख्न नसक्ने आत्मिक शरीर थियो। (यूहन्ना ४:२४) स्वर्गमा जुन उच्च स्थानमा उहाँ हुनु हुन्थियो, त्यसबारे स्वंय उहाँले अकसर चर्चा गर्नु भएको छ। एक पटक उहाँले एसो भन्नु हुँदै प्रार्थना गर्नु भयो: “हे पिता, मेरो जुन महिमा संसार हुनुभन्दा अघि तपाईंसित थियो, त्यसैले मलाई तपाईं आफैसित महिमा गर्नुहोस्।” (यूहन्ना १७:५) उहाँले आफ्नो श्रोताहरूलाई पनि यसो भन्नुभयो: “तिमीहरू तलका हौ; म माथिको हुँ।” “तिमीहरूले मानिसको पुत्रलाई जहाँ उ अघि थियो त्यता उक्लँदै गरेको देख्यौ भने नि कसो?” “अब्राहाम हुनुभन्दा अघिदेखिनै म छँदैछु।”—यूहन्ना ८:२३; ६:६२; ८:५८; ३:१३; ६:५१.
५. येशूलाई “वचन”, “जेठो”, र “एकमात्र” किन भनिन्छ? (ख) परमेश्वरसँग येशू कुन काममा सहभागी हुनुहन्थियो?
५ पृथ्वीमा आउनुभन्दा अघि येशू परमेश्वरको वचन कहलाइनु हुन्थियो। यस उपाधिले, उहाँ स्वर्गमा परमेश्वरको प्रवक्ताको हैसियतमा सेवा गर्नु हुन्थियो भन्ने कुराको बोध गराउँदछ। उहाँलाई परमेश्वरको “पहिलौठो” र साथै “एकमात्र पुत्र” पनि भनिन्छ। (यूहन्ना १:१४; ३:१६; हिब्रू १:६) यसको अर्थ हो कि परमेश्वरका सबै अन्य आत्मिक पुत्रहरू भन्दा पहिले उहाँको सृष्टि भएको हो र उहाँ मात्र एउटा हुनुहुन्छ जसलाई परमेश्वरले स्वयं सृष्टि गर्नु भएको हो। बाइबलले व्याख्या गर्दछ कि यी “पहिलौठो” पुत्र अन्य सबै कुराहरूको सृष्टि गर्नमा परमेश्वर सँग सहभागी भएका थिए। (कलस्सी १:१५, १६) अत: जब परमेश्वरले भन्नुभयो: “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं”, त्यसबेला आफ्नो छोरा सँग कुरा गर्दै हुनुहुन्थियो। हो, उहाँनै त्यो व्यक्ति हुनुहुन्थियो, जो पछि स्त्रीबाट जन्म लिएर पृथ्वीमा आउनु भयो र जसले सबै कुराहरूको सृष्टि गर्नमा भाग लिनु भएको थियो! कैयौं अनिश्चित वर्षहरू सम्म उहाँ स्वर्गमा आफ्नो पिता सँग बसिसक्नु भएको थियो!—उत्पत्ति १:२६; हितोपदेश ८:२२, ३०; यूहन्ना १:३.
पृथ्वीमा उहाँको जीवन
६. (क) येशू जन्मनुको केही अघि र केही पछि के घटनाहरू भए? (ख) येशूको जन्म कहाँ भयो र उहाँ कहाँ हुर्किनु भयो?
६ मरियमको विवाह यूसुफ सँग हुने निर्णय भइ सकेको थियो। तर जब तिनले मरियम गर्भवती छिन् भनेर थाह पाए, तिनले सोंचे कि मरियमको अन्य कुनै व्यक्ति सँग मैथुनिक सम्बन्ध रहेछ, र त्यसकारण उसले तिनी सँग विवाह नगर्ने विचार गरे। तथापि, बच्चा गर्भमा परमेश्वरको पवित्र आत्मा द्वारा रहेको हो भनेर यहोवाले भन्नु भए पछि, यूसुफले मरियमलाई पत्नीको रूपमा स्वीकार गरे। (मत्ती १:१८-२०, २४, २५) पछि, बेतलेहेम शहरमा गएको बेला, येशूको जन्म भयो। (लूका २:१-७; मीका ५:२) येशू केटाकेटी हुँदा नैं, हेरोद राजाले उहाँलाई मार्ने प्रयत्न गऱ्यो। तर यहोवाले यूसुफलाई चेतावनी दिनु भएको हुनाले उनी सारा परिवारलाई लिएर मिस्र देश तर्फ भागेर गए। हेरोद राजा मरे पछि, यूसुफ र मरियम गालीलको शहर नासरतमा येशूलाई लिएर फर्के। त्यहाँनै उहाँ हुर्किनु भयो।—मत्ती २:१३-१५, १९-२३.
७. (क) येशू १२ वर्षको हुँदा के भयो? (ख) येशू बढदै जाँदा कुन काम सिक्नु भयो?
७ येशू १२ वर्षको हुँदा निस्तारको विशेष चाड़ मनाउन आफ्नो परिवारका साथ यरूशलेम जानु भयो। त्यहाँ उहाँले तीन दिन, मन्दिरमा शिक्षकहरूको उपदेश सुन्न र तिनीहरूलाई प्रश्न सोध्नमा बिताउनु भयो। उहाँलाई सुन्ने त्यहाँ सबैनै उहाँको ज्ञान देखेर छक्क परेकाथिए (लूका २:४१-५२) नासरतमा येशू ठूलो हुँदै जसै जानुभयो, उहाँले सिकर्मीको काम सिक्नु भयो। उहाँको धर्मपिता यूसुफ, सिकर्मी थिए र निस्सन्देह, तिनलेनै उहाँलाई यस काममा प्रशिक्षण दिएको हुनु पर्छ।—मर्कुस ६:३; मत्ती १३:५५.
८. येशू ३० वर्षको हुँदा के भयो?
८ ३० वर्षको उमेरमा येशूको जीवनमा एउटा ठूलो परिवर्तन आयो। उहाँ बप्तिस्मा दिने यूहन्ना कहाँ जानुभयो र उहाँलाई बप्तिस्मा दिन, अर्थात यरदन नदीको पानीमा उहाँलाई पूर्णरूपले डुबाउन अनुरोध गर्नु भयो। बाइबल भन्दछ: “अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुर झैं ओर्लदैगर्नुभएको औ आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्, जोसँग म खुशी छु।’” (मत्ती ३:१६, १७) येशूलाई परमेश्वरले पठाउनु भएको हो भन्ने कुरामा यूहन्नाको मनमा कुनै शङ्का हुन सक्ने थिएन।
९. (क)येशू वास्तवमा कुन बेला ख्रीष्ट हुनुभयो र त्यसबेला किन? (ख) आफ्नो बप्तिस्मा द्वारा, येशूले आफूलाई के कामकालागि प्रस्तुत गर्दै हुनुहुन्थियो?
९ येशूमाथि पवित्र आत्मा खन्याएर यहोवाले उहाँलाई अभिषिक्त गर्नु भयो अर्थात आफ्नो आउनेवाला राज्यको राजा नियुक्त गर्नु भयो। यस प्रकार आत्मा द्वारा अभिषिक्त भएर, येशू, “मसीह” अथवा “ख्रीष्ट” हुनुभयो र यी शब्दहरूको अर्थ युनानी र हिब्रू भाषामा “अभिषिक्त” हुनु हो। त्यस कारण, उहाँ वास्तवमा येशू ख्रीष्ट, अथवा अभिषिक्त हुनुभयो। त्यसैले प्रेरित पत्रुसले भन्नुभयो “कि कसरी परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो।” (प्रेरित १०:३८) अनि परमेश्वरले जुन कामको निम्ति उहाँलाई पृथ्वीमा पठाउनु भएको थियो, त्यो काम पूरा गर्न येशूले पानीमा बप्तिस्मा लिनुभएर आफूलाई प्रस्तुत गर्नु भयो। त्यो महत्वपूर्ण काम के थियो?
उहाँ पृथ्वीमा किन आउनु भएको
१०. कुन सत्यहरू बताउन येशू पृथ्वीमा आउनु भएको थियो?
१० उहाँ पृथ्वीमा किन आउनु भएको भनेर व्याख्या गर्दै, येशूले रोमी राज्यपाल पोन्तियस पिलातसलाई यसो भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिउँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्ना १८:३७) तर त्यो कुन विशेष सत्य थियो जसलाई प्रकट गर्न येशूलाई पृथ्वीमा पठाउनु पर्यो? प्रथम, उहाँको स्वर्गीय पिता वारेको सत्यता। उहाँको पिताको नाउँ पवित्र गरिओस् भनेर प्रार्थना गर्नु भन्ने कुरा उहाँले आफ्ना चेलाहरूलाई सिकाउनु भयो। (मत्ती ६:९, किंग जेम्स भर्सन) र उहाँले प्रार्थना गर्नुभयो: “ती मानिसहरूलाई, जसलाई संसारबाट तपाईंले मलाई दिनुभयो तपाईंको नाउँ मैले प्रकट गरिदिएँ।” (यूहन्ना १७:६) साथै उहाँले एसो पनि भन्नुभयो: “मैले अवश्य परमेश्वरको राज्यको सुसमाचार सुनाउनु पर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”—लूका ४:४३.
११. (क) येशू आफ्नो कामलाई त्यत्तिको महत्वपूर्ण किन ठान्नु हुन्थियो? (ख) कहिले पनि येशू के गर्नबाट पछि सर्नु भएन? त्यसकारण हामीहरूले पनि के गर्नु पर्छ?
११ आफ्नो पिताको नाउँ र उहाँको राज्य वारे जानकारी दिने कामलाई येशूले कतिको महत्व दिनु हुन् थियो? उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्ना ४:३४) परमेश्वरको कामलाई भोजन सरह महत्वपूर्ण किन ठान्नुभयो? किनभने ईश्वरको राज्यनै त्यो साधन हो जस द्वारा परमेश्वरले मानवजातिकालागि आफ्नो अद्भुत उद्देश्यहरू पूरा गर्नु हुनेछ। त्यो त्यही राज्य हो जसले सारा दुष्टताको अन्त गर्ने छ र यहोवाको नाउँमा आरोपित सबैनै निन्दाहरूलाई हटाउने छ। (दानियल २:४४; प्रकाश २१:३, ४) त्यसकारण, परमेश्वरको नाउँ र उहाँको राज्यवारे बताउनमा येशू कहिले पछि हटनु भएन। (मत्ती ४:१७; लूका ८:१; यूहन्ना १७:२६; हिब्रू २:१२) लोकप्रिय भएपनि न भएपनि उहाँले सदा सत्य कुरानै गर्नु भयो। यस प्रकार उहाँले हामीहरूकालागि एउटा उदाहरण छाड़ेर जानु भएको छ र हामीहरू पनि परमेश्वरलाई खुशी पार्न चाहन्छौं भने हामीहरूले उहाँको उदाहरणको अनुसरण गर्नु पर्दछ।—१ पत्रुस २:२१.
१२. अरू कुन महत्वपूर्ण कारणका लागि येशू पृथ्वीमा आउनु भएको हो?
१२ अझ, परमेश्वरको राज्यको शासनकालमा हामीहरूले अनन्त जीवन पाउन सम्भव हुनसकोस् भनेर येशूले मरेर आफ्नो जीवन-रगत बगाउनु पऱ्यो। येशूका दुईजना प्रेरितहरूले यसो भनेका छन्: “अब हामीहरू उहाँको रगतले धर्मी ठहरिएका छौं।” “उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ।” (रोमी ५:९; १ यूहन्ना १:७) त्यसकारण, हामीहरूका निम्ति प्राण दिनलाई येशू पृथ्वीमा आउनु पर्ने एउटा महत्वपूर्ण कारण थियो। उहाँले भन्नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।” (मत्ती २०:२८) तर ख्रीष्टले “अरूहरूको छुटकाराको” लागि मोल तिर्नु भयो भनेको अर्थ के हो? हामीहरूको मुक्तिकालागि उहाँले मृत्युमा आफ्नो जीवन-रगत बगाउनु पर्ने आवश्यकता किन पऱ्यो?
उहाँले अरूहरूको छुटकाराकोलागि मोल तिर्न आफ्नो जीवन दिनुभयो
१३. (क) छुटकाराको लागि तिर्ने मोलको अर्थ के हो? (ख) हामीहरूलाई पाप र मृत्युबाट छुटकारा दिलाउन येशूले तिर्नु भएको छुटकाराको मोल के हो?
१३ “छुटकाराका लागि मोल तिर्ने” कुराको प्रयोग अक्सर कसैको अपहरण भएको बेलामा गरिन्छ। अपहरणकर्ताले कुनै व्यक्तिलाई कब्जा गरे पछि, उसलाई एउटा निश्चित मोल दिए पछि मात्र त्यो कब्जामा परेको व्यक्तिलाई छाड़ि दिने कुरा गर्नसक्छ। त्यसकारण, छुटकाराको मोल त्यो चीज हो जस द्वारा बन्दी बनाइएको व्यक्तिको छुटकारा सम्भव हुन्छ। बन्धनमा परेको त्यो व्यक्तिले आफ्नो जीवन नगुमाओस भनेर तिर्ने यो एउटा मोल हो। मानिस जातिलाई पाप र मृत्युको बन्धन बाट छुटकारा दिलाउनकालागि येशूको सिद्ध मानव जीवन दिइएको हो। (१ पत्रुस १:१८, १९; एफिसी १:७) यस प्रकारको छुटकाराको आवश्यकता किन पऱ्यो?
१४. येशू द्वारा छुटकाराको मोलको किन आवश्यकता पर्यो?
१४ किन भने, हामीहरू सबैको पूर्बज आदमले परमेश्वरको बिरुद्ध बिद्रोह गरेको थियो। यस प्रकार उसको अधर्मी कामले उसलाई एउटा पापी बनाइ दियो, किनकि बाइबलले व्याख्या गरेको छ कि “पाप ता व्यवस्थाको विरोध हो।” (१ यूहन्ना ३:४; ५:१७) जसले गर्दा, उ परमेश्वरले दिनु हुने अनन्त जीवनको वरदान प्राप्त गर्ने योग्यको रहेन। (रोमी ६:२३) अत: आदमले पार्थिव प्रमोदबनमा आफ्नोलागि सिद्ध मानव जीवन गुमायो। उसबाट उत्पन्नहुने सबै सन्तानका लागि पनि उसले त्यो अद्भुत भविष्य गुमाइदियो। तर तपाईं सोध्न सक्नु हुन्छ ‘पाप ता आदमले गरेको थियो। उसको जम्मै सन्तान किन मर्नु पऱ्यो?’
१५. पाप ता आदमले गरेको थियो, उसका संतानले किन दु:ख भोग्नु र मर्नु पऱ्यो?
१५ किनभने आदम पापी भए पछि, सो पाप र मृत्यु उसका सारा सन्तानमा, जसमा आज बाँच्ने सारा मानवजाति समाबेश छन्, सरेर आयो। (अय्यूब १४:४; रोमी ५:१२) बाइबल भन्दछ “किनभने सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।” (रोमी ३:२३; १ राजा ८:४६) भक्त दाऊदले पनि भनेको छ: “म अधर्ममा उत्पन्न भएँ, र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्।” (भजनसंग्रह ५१:५) त्यसकारण, आदम द्वारा वंशानुगत हासिल गरिएको पापले गर्दा मानिसहरू मरी रहेका छन्। त्यसो भए, येशूको जीवनको बलिदान द्वारा, पाप र मृत्युको बन्धनबाट सबै मानिसहरूको छुटकारा कसरी सम्भव छ?
१६. (क) छुटकाराको व्यवस्था गरेर, ‘ज्यानको बदला ज्यान’ भन्ने आफ्नो नियमको परमेश्वरले कसरी कदर गर्नु भयो? (ख) किन येशू मात्र त्यस्तो मानव हुनुहुन्थियो जसले छुटकाराको मोल तिर्न सक्थियो?
१६ यसमा इस्राएल राष्ट्रकालागि परमेश्वरको नियमको कानुनी सिद्धान्त सम्मिलित छ। यसमा भनिएको छ कि ‘प्राणको सट्टा प्राण दिनु पर्छ।’ (प्रस्थान २१:२३; व्यवस्था १९:२१) आफ्नो अनाज्ञाकारिताले गर्दा सिद्ध मानव आदमले आफ्नो र आफ्नो सन्तानकालागि यस पार्थिव प्रमोदबनमा सिद्ध जीवन गुमायो। आदमले गुमाएको चीजलाई फेरि किनेर वापिस पाउनका लागि येशूले आफ्नो सिद्ध जीवन दिनुभयो। हो, येशूले “सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनु भयो।” (१ तिमोथी २:५, ६) आदम जस्तै उहाँ पनि सिद्ध मानव भएकोले येशूलाई “पछिल्लो आदम” भनिन्छ। (१ कोरिन्थी १५:४५) येशू वाहेक अरू कुनै पनि मानवले यो छुटकारा प्रस्तुत गर्न सक्दैन थियो। किनभने येशू मात्रै आदम जस्तै परमेश्वरको सिद्ध मानव पुत्र को रूपमा यस पृथ्वीमा हुनुहुन्थियो।—भजन संग्रह ४९:७; लूका १:३२; ३:३८.
१७. कुन बेला छुटकाराको मोल परमेश्वरलाई दियागयो?
१७ येशूको मृत्यु साढे ३३ बर्षको उमेरमा भयो। तर उहाँको मृत्युको तीन दिनमा उहाँलाई पुनर्जीवित गरियो। चालिस दिन पछि उहाँ स्वर्गमा फर्कनु भयो। (प्रेरित १:३, ९-११) त्यहाँ, एक पटक फेरि आत्मिक व्यक्तिको रूपमा उहाँ “हाम्रा निम्ति परमेश्वरको सामने” आफ्नो बलिदान रूपी छुटकाराको मोल लिएर प्रकट हुनु भयो। (हिब्रू ९:१२, २४) त्यसैबेला स्वर्गमा परमेश्वरलाई छुटकाराको मोल दिइयो। अब मानवजातिकालागि उद्धार उपलब्ध भयो। तर त्यसको लाभ कहिले प्राप्त हुने हो?
१८. (क) अहिले पनि हामीहरू छुटकाराकालागि तिरेको मोलबाट फायदा कसरी उठाउन सक्छौं? (ख) छुटकाराको निम्ति दिइएको मोल द्वारा भविष्यमा के सम्भव हुनेछ?
१८ अहिलेनै पनि येशूको छुटकाराको बलिदानले हामीहरूलाई लाभ पुऱ्याउन सक्दछ। कसरी? त्यस बलिदानमाथि विश्वास गऱ्यौं भने परमेश्वरको अगाड़ि एउटा स्वच्छ स्थितिको आनन्द उठाउन र उहाँको प्रेममय र स्नेहशील सुरक्षाको अधीनमा आउन सक्दछौं। (प्रकाश ७:९, १०, १३-१५) परमेश्वरको विषयमा जानकारी प्राप्त गर्नु भन्दा अगाड़ि हामीहरू मध्य धेरैले भयङ्कर पापहरू गरेका हौंला। र अहिले पनि हामीहरू गलती गर्दछौं, कहिले ता सारैनै ठूला भूलहरू पनि गर्न सकिन्छ। तर छुटकाराको लागि दिइएको मोलको आधारमा परमेश्वरले हामीहरूको प्रार्थना अवश्य सुन्नु हुनेछ भन्ने विश्वास साथ हामीहरू निर्धक्क भइ क्षमा-याचना गर्न सक्दछौं। (१ यूहन्ना २:१, २; १ कोरिन्थी ६:९-११) अझ, भविष्यमा यो छुटकाराको बलिदानले, न्याययुक्त नया व्यवस्थामा, हामीहरूकालागि परमेश्वरबाट पाइने अनन्त जीवनको वरदान प्राप्त गर्ने बाटो खोलिदिनेछ। (२ पत्रुस ३:१३) त्यसबेला, छुटकाराको बलिदानमा विश्वास गर्नेहरू सबैनै पाप र मृत्युको बन्धन बाट पूर्ण रूपले मुक्त हुनेछन्। तिनीहरू सिद्धतामा सर्वदा जीवित रहने प्रत्याशा गर्न सक्नेछन्!
१९. (क) छुटकाराको प्रबन्धले तपाईंमा के प्रभाव पारेको छ? (ख) हामीहरूले छुटकाराको मोल प्रति कृतज्ञता प्रदर्शित गर्नु पर्दछ भनेर प्रेरित पावलले कसरी व्याख्या गर्नु भएकोछ?
१९ छुटकारा वारे जानेर तपाईंलाई कस्तो लाग्यो? आफ्नो पुत्रको बलिदान सम्म दिनुभएर, यहोवा परमेश्वरले तपाईं प्रति यति धेरै चासो देखाउनु भएकोमा के तपाईंको हृदयमा उहाँ प्रति उत्साह भरेर आउँदैन? (यूहन्ना ३:१६; १ यूहन्ना ४:९, १०) तर, ख्रीष्टको प्रेम वारे पनि सोच्नुहोस्। उहाँ हामीहरूकालागि मर्न पृथ्वीमा राजी-खुशी साथ आउनु भयो। के त्यसकालागि हामीहरू कृतज्ञ हुनुपर्दैन? हामीहरूले कृतज्ञता कसरी प्रकटगर्न सक्दछौं भनेर प्रेरित पावलले यसरी वर्णन गर्नु भएको छ: “औ उहाँ सबैका निम्ति मर्नु भयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) के तपाईं परमेश्वर तथा उहाँको स्वर्गीय पुत्र येशू ख्रीष्टको सेवामा आफ्नो जीवन बिताएर आफ्नो कृतज्ञता प्रदर्शित गर्नु हुनेछ?
येशूले चमत्कार किन देखाउनु भयो
२०. येशूले कोरीलाई निकोपार्नु भएको घटनाबाट हामी के सिक्खन सक्दछौं?
२० चमत्कार देखाउनमा येशू सुप्रसिद्ध हुनुहुन्छ। कष्टमा हुने मानिसहरूकालागि उहाँको मनमा गहिरो सहानुभूति थियो, र तिनीहरूका मददकालागि आफ्नो ईश्वर प्रदत्त शक्तिको प्रयोग गर्न सदा इच्छुक रहनु हुन्थियो। उदाहरणकालागि, भयङ्कर कुष्ठ रोग भएको एउटा व्यक्ति उहाँको नजिक आएर यसो भन्यो: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूलाई त्यसमाथि “दया आयो र आफ्नो हाथ बढाएर त्यसलाई छुनुभयो र त्यसलाई भन्नुभयो: ‘म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।’” र त्यो रोगी मानिस स्वस्थ भयो!—मर्कूस १:४०-४२.
२१. येशूले भीड़हरूलाई कसरी मदद गर्नुभयो?
२१ बाइबलको एउटा अर्को दृश्य तर्फ ध्यान दिनुहोस् अनि मानिसहरू प्रति यहाँ वर्णित येशूको स्नेहशील भावना वारे कल्पना गर्नुहोस्: “तब त्यहाँ लङ्गड़ा, अन्धा, लाटा, कूँजो, र धेरै अरू रोग भएका ठूलो भीड़ उहाँकहाँ आए र तिनीहरूलाई उहाँका चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि, लाटाहरू बोलेका, कूँजोहरू निको भएका, लङ्गड़ाहरू हिंड़ेका, अन्धाहरूका आखाँ खोलिएका देखेर भीड़हरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे।”—मत्ती १५:३०, ३१.
२२. जुन मानिसहरूलाई उहाँले मदद गर्नुभयो तिनीहरूको येशू वास्तवमा चिन्ता गर्नु हुन्थियो भनेर कुन कुराले देखाउँछ?
२२ येशू वास्तवमा ती दु:खी मानिसहरूको फिक्री गर्नु हुन्थियो र साँच्चैनै तिनीहरूलाई मदद गर्न चाहनु हुन्थियो भन्ने कुरा उहाँले चेलाहरूलाई अगाड़ि भन्नुभएको वचन बाट बुझ्न सकिन्छ। उहाँले भन्नुभयो: “भीड़हरूलाई म टिठाउँछु, किनभने तीन दिन भइसक्यो तिनीहरू म सँगै छन्, र तिनीहरूसित खानेकुरो केही छैन; औ यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ। नत्रता तिनीहरू बाटामा मूर्च्छा पर्नेछन्।” त्यसकारण येशूले चमत्कारपूर्वक सातवटा रोटी र अलिकता माछाले मात्र “स्त्रीहरू र केटा-केटीहरू बाहेक, चार हजार पुरुषहरूलाई” खुवाउनु भयो।—मत्ती १५:३२-३८.
२३. विधवाको मरेको छोराको पुनरुत्थान गर्न येशूलाई कुन कुराले प्रेरित गऱ्यो?
२३ एउटा अर्को अवसरमा येशूले नाइन भन्ने शहरबाट बाहिर आइरहेको एउटा शवयात्रा भेट्टाउनु भयो। त्यसवारे बाइबलमा यसरी वर्णन गरिएको छ: “एउटी आमाको एउटै छोरोको मुर्दा लगिंदै थियो। साथै उ विधवा थिई. . .जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनकालागि उहाँको हृदय दयाले भरियो।” उहाँले तिनको दुःखलाई अगाध रूपले अनुभव गर्नुभयो। त्यसकारण, मृत शरीरलाई सम्बोधन गर्दै येशूले हुकुम दिनुभयो: “ए युवक, म तिमीलाई भन्दछु, उठ!” महा आश्चर्य! “तब जो मरेको थियो उठेर बस्यो र बोल्नलाग्यो, औ उहाँले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।” सेंचनु होस्, आमालाई कस्तो अनुभव भयो होला! तपाईंलाई कस्तो लाग्ने थियो? यो असाधारण घटनाको समाचार टाढ़ा-टाढ़ा सम्म फैलियो। येशू यस्तो सुप्रसिद्ध हुनु भएकोमा कुनै आश्चर्य छैन।—लूका ७:११-१७.
२४. येशूका चमत्कारहरूले भविष्य वारे के दर्शाउँछ?
२४ तथापि, येशूले गर्नुभएका चमत्कारहरू अस्थायी फायदाकालागि मात्र थिए। उहाँले निको पार्नु भएका मानिसहरूमा फेरि पछि शारीरिक समस्याहरू उत्पन्न भए। र उहाँले पुनर्जीवित गर्नु भएकाहरूको फेरि पछि मृत्यु भयो। तर येशू परमेश्वर द्वारा पठाइनु भएको हो र उहाँ वास्तवमा परमेश्वरको पुत्रनै हुनुहुन्छ भन्ने कुरा ती चमत्कारहरूले साबित गऱ्यो। र तिनीहरूले यो पनि साबित गरेकोछ कि, परमेश्वरको शक्ति द्वारा सबै मानवीय समस्याहरूको समाधान हुनसक्छ। हो, परमेश्वरको राज्य आए पछि, यस पृथ्वीमा हुने कुराहरूको बोध ती चमत्कारहरूले संक्षिप्तमा गराएकोछ। त्यसबेला भोकाहरूले भोजन पाउनेछन्, बिरामीहरू निको हुनेछन्, र यहाँ सम्म कि मरेकाहरू समेतलाई उठाइनेछन्! र फेरि कहिले पनि रोग, मृत्यु वा अरू कुनै प्रकारका सङ्कष्टहरूले दुःख दिने छैनन्। यो कस्तो महान आशिष हुनेछ!—प्रकाश २१:३, ४; मत्ती ११:४, ५.
परमेश्वरको राज्यको शासक
२५. कुन तीन भागमा यशूको जीवन विभाजित गर्न सकिन्छ?
२५ परमेश्वरको पुत्रको जीवनको तीन भाग छ। पहिलो, मानव हुनुभन्दा पहिले, उहाँ स्वर्गमा हुनु हुँदा, आफ्नो पिता सँग अनिश्चित समय सम्म बिताउनु भएको समय। अनि उहाँको जन्म पश्चात् पृथ्वीमा बिताउनु भएको साढे ३३ वर्ष। र अब फेरि उहाँ आत्मिक व्यक्तिको रूपमा स्वर्गमा जीवन बिताउनु हुँदैछ। पुनरुत्थान पछि स्वर्गमा उहाँको के स्थान रहेकोछ?
२६. पृथ्वीमा विश्वासी भएर, येशूले आफूलाई के को योग्य साबित गर्नुभयो?
२६ स्पष्ट छ, येशू राजा हुनु परेको थियो। स्वर्गदूत समेतले मरियमलाई घोषणा गरेको थियो: “उहाँले सदा सर्वदै राजाको रूपमा राज्य गर्नुहुनेछ. . .र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३३) अफ्नो पार्थिव सेवकाईको समयमा उहाँले सँधैनै परमेश्वरको राज्य वारे बोल्नु भयो। उहाँले आफ्नो चेलाहरूलाई यसरी प्रार्थना गर्नु भनेर सिकाउनु भयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” र उहाँले तिनीहरूलाई “बराबर पहिले राज्यको खोजीगर्न” सम्झाउनु भयो। (मत्ती ६:१०, ३३) पृथ्वीमा विश्वासी हुनु भएर, आफूलाई परमेश्वरको राज्यको राजा हुनसक्ने योग्य साबित गर्नुभयो। के उहाँले स्वर्गमा फर्किने बित्तिकै राजाको रूपमा शासन गर्न थाल्नुभयो?
२७. (क) स्वर्गमा फर्के पछि येशूले के गर्नुभयो? (ख) परमेश्वरको राज्यको राजाको हैसियतमा येशूको प्रथम कार्य के थियो?
२७ होइन, उहाँले शासन शुरू गर्नु भएन। प्रेरित पावलले भजन संग्रह ११०:१ को हवाला दिदैं यसरी वर्णन गर्नु भएको छ: “तर ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो। यसपछि उहाँका शत्रुहरू उहाँको पाउदान नहोउन्जेल उहाँ पर्खिरहनुहुन्छ।” (हिब्रू १०:१२, १३) येशू यहोवाबाट यो आज्ञाकालागि पर्खिरहनु भएको थियो: “तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।” (भजन संग्रह ११०:२) त्यो समय आएपछि, उहाँले स्वर्गबाट शैतान र त्यसका दूतहरूलाई हटाउन शुरूगर्नु भयो। स्वर्गमा भएको त्यस लड़ाइँवारे यी शब्दहरूमा वर्णन गरिएको छ: “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ, किनकि हाम्रा भक्तहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ, त्यो फ्याँकिदिएको छ!” (प्रकाश १२:१०) यस पुस्तकको पहिलेको अध्यायमा हामीहरूले देखि सके अनुसार, यो स्वर्गमा हुने लड़ाइँ सम्पन्न भइसकेको छ, र येशू ख्रीष्ट आफ्ना शत्रुहरूका बीचमा अब राज्य गरिरहनु भएको छ।
२८. (क) चाँड़ैनै ख्रीष्टले के गर्नु हुनेछ? (ख) उहाँको संरक्षणको आनन्द उठाउने हो भने हामीहरूले के गर्नु पर्छ?
२८ चाँड़ैनै ख्रीष्ट र उहाँका स्वर्गदूतहरूले पृथ्वीका सबै वर्तमान सांसारिक सरकारहरूलाई हटाउने कारबाही गर्नु हुने छ। (दानियल २:४४; प्रकाश १७:१४) बाइबल भन्दछ उहाँको “मुखबाट धारिलो तरवार निस्कँदोरहेछ, र उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” (प्रकाश १९:११-१६) यो आउने नाशबाट बाँच्ने लायक हामीहरू छौं भनेर साबित गर्ने हो भने, येशू ख्रीष्टमा विश्वास व्यक्त गरिरहनु पर्छ। (यूहन्ना ३:३६) हामीहरू उहाँको चेला बन्नु पर्दछ र उहाँलाई आफ्नो स्वर्गीय राजा मानेर आफूलाई उहाँको अधीनमा राख्नु पर्दछ। के तपाईंले त्यसो गर्नुहुनेछ?
[पृष्ठ ५८-मा भएको चित्र]
बप्तिस्मा लिन र यहोवाको अभिषिक्त जन हुनकालागि येशूले आफ्नो सिकर्मी काम छाड़नु भयो
[पृष्ठ ६३-मा भएको चित्र]
येशू सिद्ध मानव आदमको बराबर हुनुहन्थियो
[पृष्ठ ६४-मा भएको चित्र]
येशू दयाले मुग्ध भएर बिरामी र भोकाहरूको मददगर्नु हुन्थियो
[पृष्ठ ६७-मा भएको चित्र]
मरेकाहरूलाई बिंउताएर, परमेश्वरको राज्यले शासन थाले पछि अझ विस्तृत रूपमा उहाँले गर्नुहुने कुरा येशूले प्रदर्शित गर्दै हुनुहुन्थियो