यो जीवनप्रति मलाई कहिल्यै अपसोच लागेन
पल ओब्रिष्टको वृत्तान्तमा आधारित
सन् १९१२ तिर पाँचौं सन्तानलाई जन्माउँदाखेरी मेरी आमा बित्नुभयो। त्यतिखेर म छ वर्षको थिएँ। यसको लगभग दुइ वर्षजत्ति पछि बेर्ता भाइबलले हामी र हाम्रो घरको हेरविचार गर्न थालिन्। लगत्तै अर्को वर्ष बुबाले तिनीसित विवाह गर्नुभयो र हामी केटाकेटी फेरि कसैलाई आमा भन्न पाएकोले निकै रमायौं।
हामी स्वीजरल्याण्डको जर्मन भाषा बोल्ने सानो शहर, ब्रूगमा बस्थ्यौं। बेर्ता पक्का मसीही हुनुहुन्थ्यो र मलाई उहाँ असाध्यै मन पर्थ्यो। उहाँले १९०८ देखि नै बाइबल स्टुडेन्ट्सका (यहोवाका साक्षीहरू) प्रकाशनहरू पढ्न थाल्नुभएको थियो र आफूले सिकेको कुरा उहाँ अरूलाई पनि सुनाउनुहुन्थ्यो।
बेर्ता र बुबाले विवाह गर्नुभएको केही समयमै अर्थात् १९१५ तिर म बेर्तासित “फोटो ड्रामा अफ क्रिएशन” हेर्न गएँ। इन्टरनेशनल असोसिएशन अफ अर्नेस्ट बाइबल स्टुडेन्ट्सले तयार पारेको यो स्लाइड सिनेमाले मेरो मनमस्तिष्कमा गहिरो छाप पाऱ्यो। त्यहाँ उपस्थित अरू मानिसहरू पनि यसबाट निकै प्रभावित भएका थिए। ब्रूगस्थित त्यस हल मानिसहरूले यत्ति खचाखच भयो कि प्रहरीले ढोका थुनिदियो र धेरैलाई घर फर्काइदियो। त्यसपछि त धेरैले झ्यालमा भऱ्याङ राखेर भित्र पस्न खोजे र केही भित्र पस्न सफल भए।
आमाको असल उदाहरण
त्यतिबेला युरोपमा जोडतोडले प्रथम विश्वयुद्ध चलिरहेको थियो र मानिसहरू भविष्य कस्तो होला भनेर डराइरहेका थिए। त्यसैकारण घर-घरमा गएर परमेश्वरको राज्यको सान्त्वनादायी सन्देश सुनाउनु एक किसिमले असल कार्य नै साबित भयो। र आमाले पनि त्यस कार्यमा भाग लिनुभएको थियो। कहिलेकाहीं उहाँले मलाई सँगै लानुहुन्थ्यो र मलाई पनि उहाँसित जान पाउँदा निकै रमाइलो लाग्थ्यो। आमाले अन्ततः १९१८ मा पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिनुभयो।
बुबाले यसअघि कुनै रोकटोक नलगाउनु भए तापनि आमाले बप्तिस्मा लिनुभएपछि भने दुःख दिन थाल्नुभयो। एक दिन त उहाँले आमाको बाइबल साहित्यहरू आगोमा हुऱ्याइदिनुभयो। आमाले हत्त न पत्त आगोबाट ती साहित्यहरू निकाल्न खोज्नुभयो तर बाइबल मात्र आगोबाट बचाउन सक्नुभयो। त्यसपछि उहाँले जे गर्नुभयो त्यो निकै अनौठो थियो। उहाँले बुबालाई अँगालो हाल्नुभयो! उहाँले बुबाप्रति कुनै रीस राख्नुभएन।
बुबा असाध्यै छक्क पर्नुभयो र उहाँको रीस अलिकता भए पनि मऱ्यो। तैपनि बेला बेला उहाँ असाध्यै पड्कनु हुन्थ्यो तर हामी चुपचाप सहन्थ्यौं।
नोकरी तथा आध्यात्मिक प्रगति
मैले कपाल काट्ने तालिम लिएको थिएँ। यो मेरो तीन वर्षे लामो तालिम १९२४ मा सिद्धियो र त्यसपछि म काम गर्न घरबाट टाढा स्वीजरल्याण्डकै फ्रान्सेली भाषा बोलिने इलाकामा गएँ। त्यतिखेर मैले फ्रान्सेली भाषालाई तिखार्ने मौका पाएँ। हुन त, यसरी अर्कै ठाउँमा जानुपर्दा मेरो आध्यात्मिक प्रगति केही हदसम्म रोकिन त रोकियो तैपनि बाइबलप्रतिको मेरो प्रेम भने कहिल्यै सेलाएन। त्यसैकारण छ वर्षपछि घर फर्कंदा म फेरि ब्रूगस्थित मसीही मण्डलीमा उपस्थित हुन थालें।
केही समयपछि म ४० किलोमिटर टाढा पर्ने एउटा सानो शहर राइनफेल्डनमा सरें। त्यहाँ मैले मेरी दिदीको कपाल काट्ने पसलमा काम गर्न थालें र बाइबल स्टुडेन्ट्सको सानो समूहसित भेला भएर आध्यात्मिक प्रगति पनि गर्दै गएँ। एकदिन मध्य हप्ताको बाइबल अध्ययन सिद्धिएपछि उक्त समूहका निरीक्षक भाइ जोडरले सोध्नुभयो: “आउँदो आइतबार क्षेत्र सेवकाईमा को को भाग लिन चाहनुहुन्छ?” प्रचार गर्न सिकाउने कोही न कोही त मसित भइहाल्छ नि भन्ठान्दै म पनि सेवकाईमा जान्छु भनें।
तर, आइतबारको दिन तोकिएको इलाकामा पुग्दा त भाइ जोडरले यसो भन्नुभयो: “ओब्रिष्टजी, तपाईं यहाँदेखि थाल्नुस्।” उहाँको कुरा सुनेर मेरो मनमा ढ्याङ्ग्रो ठोकियो तैपनि म घर-घरमा गएर मानिसहरूसित परमेश्वरको राज्यबारे बताउन थालें। (प्रेरित २०:२०) त्यसपछि यस रीतिरिवाजको अन्त आउनअघि पूरा गरेकै हुनुपर्छ भनेर येशूले भन्नुभएको प्रचार कार्यमा लाग्न मलाई कहिल्यै हिचकिचाहट भएन। (मत्ती २४:१४) अन्ततः मार्च ४, १९३४ मा २८ वर्ष पुगेपछि मैले यहोवाप्रतिको समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिएँ।
दुइ वर्षपछि मैले स्वीजरल्याण्डको इटालेली भाषा बोलिने नगर लुगानोमा कपाल काट्ने काम पाएँ। इटालेली भाषा अलि अलि मात्र आउने भए तापनि त्यहाँ पुग्ने बित्तिकै मैले सुसमाचार सुनाउन थालिहालें। सेवकाईमा गएको पहिलो हप्तामै मैले आफूसित भएको २० वटा साना पुस्तिकाहरू वितरण गरें। समयमा केही इच्छुक व्यक्तिहरूलाई जम्मा गरेर प्रहरीधरहरा अध्ययन गर्न पनि सफल भएँ। पछि यिनीहरूमध्ये केहीले बप्तिस्मा लिए र फेब्रुअरी १९३७ मा हामीले लुगानोमा यहोवाका साक्षीहरूको एउटा मण्डली खडा गऱ्यौं।
दुइ महिनापछि, अप्रिल १९३७ मा मैले एउटा चिठी पाएँ र त्यो चिठीले गर्दा मेरो जीवनले पूर्णतया अर्कै मोड लियो। त्यो चिठी बेथेल अर्थात् यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने निम्तो थियो। मैले तुरुन्तै त्यो निम्तो स्वीकारे—यो निर्णय गरेकोमा मलाई कहिल्यै अपसोच लागेन। यसप्रकार मैले पूर्ण-समय सेवकाईलाई अँगालें र अहिले यो सेवामा ६० वसन्तहरू पार गरिसकें।
संकटको समयमा बेथेल सेवा
त्यतिखेर स्वीस बेथेल स्वीजरल्याण्डको राजधानी बर्नमा थियो। त्यहाँ हामी १४ भाषाहरूमा पुस्तक, स-साना पुस्तिका तथा पत्रिकाहरू छाप्थ्यौं र ती सबै युरोपभरि ढुवानी गर्थ्यौं। त्यसताक हामीसित सधैंजसो भ्यान नहुने भएकोले कहिलेकाहीं ती प्रकाशित साहित्यहरू एक पांग्रे ठेलामा राखेर रेल स्टेशनसम्म पुऱ्याएको पनि छु। बेथेलमा सबैभन्दा पहिला मैले कम्पोजिशन विभागमा काम गरें। साहित्यहरू छाप्न त्यहाँ हामी धातुबाट बनेका अक्षरहरू केसमा मिलाउँथ्यौं। केही समयमै म रिसेप्सनमा काम गर्न थालें। निस्सन्देह, यसबाहेक मैले बेथेल परिवारको कपाल काट्ने पनि गरें।
सन् १९३९ को सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध सुरु भयो र नाजी मारकाटले गर्दा युरोपभरि मानिसहरू त्रस्त भए। युद्ध गरिरहेका देशहरूमाझ स्वीजरल्याण्ड तटस्थ राष्ट्र थियो। सुरु सुरुमा त हाम्रो मसीही क्रियाकलापमा कुनै पनि किसिमको बाधा आइपरेन। तर जुलाई ५, १९४० को दिन म लबीमा काम गरिरहेको बेला दिउँसो दुइ बजेतिर सिविल प्रहरी र किरिच भएको बन्दुक बोकेको सिपाही म भएको ठाउँमा आयो।
च्याँठिंदै उसले सोध्यो, “ट्सुकर कहाँ छ?” फ्रांज ट्सुकर त्यतिखेर स्वीजरल्याण्डमा प्रचार कार्यको निरीक्षण गर्ने शाखा निरीक्षक थिए।
“तपाईं को हुनुहुन्छ क्यारे?” मैले सोधें। तुरुन्तै उसले मलाई झम्ट्यो, अनि भऱ्याङमा घिसार्दै माथि लग्यो र तिनीहरूलाई ट्सुकरको अफिस देखा भन्न थाल्यो।
लगभग ४० जनाको बेथेल परिवारलाई तिनीहरूले भोजन-कक्षमा जम्मा हुन अह्रायो। कोही भाग्ला कि भनेर भवनबाहिर चारवटा मेशिनगन तेर्साएर राखिएको थियो। त्यसपछि ५० जना जति सिपाहीहरूले भवनमा खानतलास गर्न थाले। यहोवाका साक्षीहरू सैन्य सेवामा बाधा पुऱ्याउनेहरू हुन् भन्ने अनुमान तिनीहरूले गरेका थिए तर तिनीहरूले केही प्रमाण पाएनन्। तैपनि ठूलो मात्रामा हाम्रा साहित्यहरू जफत गरिए र ती साहित्यहरू पाँचवटा ट्रकमा हालेर लगिए।
सरकारी अधिकारीहरूले प्रहरीधरहरा-मा काँटछाँट गर्न हामीले इन्कार गर्दा स्वीजरल्याण्डमा उक्त प्रकाशन छाप्न बन्द गरियो। यसको अर्थ बेथेलमा काम गर्न धेरै व्यक्तिहरू नचाहिने भयो। त्यसैले जवान सदस्यहरूलाई बेथेल छोडेर अग्रगामी अर्थात् प्रचार कार्यमा पूर्ण-समय बिताउन प्रोत्साहन दिइयो।
युद्धग्रस्त समयमा अग्रगामी गर्नु
जुलाई १९४० मा म लुगानो नजीकै स्वीजरल्याण्डको इटालेली भाषा बोलिने इलाकामा फर्कें। बेथेल आउनअघि म त्यहीं थिएँ। यस कट्टर क्याथोलिक इलाकामा मैले प्रचार गर्नुपर्ने भयो। त्यतिञ्जेलसम्म यस क्षेत्र पनि फासिज्मवादको प्रभावमा चुर्लुम्मै डुबिसकेको थियो।
प्रहरीले प्रचार कार्य नगर! नभनेको त दिनै थिएन। एकदिन बगैंचाको ढोकामा एउटी महिलासित कुरा गरिरहेको बेला सादा पहिरन लगाएको एक पुरुषले मेरो कठालो समातेर गस्ती गाडीमा हाल्यो र लुगानो लग्यो। त्यहाँ पुगेपछि त्यस पुरुषले मलाई प्रहरीको जिम्मा लाइदियो। सोधपुछको क्रममा मैले तिनीहरूलाई यहोवा परमेश्वरले हामीलाई प्रचार गर्न अह्राउनुभएको हो भनेर बताएँ।
त्यस अफिसर अहम् भाव प्रकट गर्दै बोल्यो, “परमेश्वरको हुकुम स्वर्गमा चल्ला यहाँ पृथ्वीमा हाम्रो हुकुम चल्छ!”
युद्धको समयमा हामीले येशूको सल्लाह पालन गर्दै “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” हुनु विशेषगरि अति नै आवश्यक थियो। (मत्ती १०:१६) त्यसैकारण म कमिजको भित्री खल्तीमा साहित्यहरू लुकाउँथें। अनि कुनै पनि साहित्य नझरोस् भनेर म घुँडानेर कस्सिने लामो कट्टु लाउँथें।
केही समयपछि मैले इङ्डिन उपत्यकातिर सर्ने निर्देशन पाएँ र त्यहाँ पनि प्रहरीसित मुसा-बिरालोको खेल कायमै रह्यो। पूर्वी स्वीजरल्याण्डको हिमालमा पर्ने यो रमणीय उपत्यका हिउँदमा हिउँले टन्न ढाकिने भएकोले सजिलै यता उता गर्न सकोस् भनेर मेरो स्की पठाइदिनु भनें।
जाडोमा स्की गरेर कतै जानुपर्दा पञ्जा नभई हुन्न। तर सधैंजसो प्रयोग गर्नुपरेकोले मेरो पञ्जा चाँडै थोत्रा हुन थालेका थिए। अकस्मात् एकदिन मैले एउटा पोको पाएँ! त्यस पोकोमा मेरोनिम्ति बुनिएको स्विटर र एक जोडी पञ्जा पाउँदा म निकै खुशी भएँ। बर्नमा छँदा म जाने गरेको मण्डलीकी मसीही बहिनीले त्यो बनाएकी रहिछिन्। यो घटनालाई सम्झँदा अहिले पनि मेरो मन ढक्क फुल्छ।
थुप्रै आनन्ददायी सुअवसरहरू
सन् १९४३ तिर स्वीजरल्याण्डको स्थिति सुध्रन थाल्यो र फेरि बेथेलमा सेवा गर्न मलाई निम्त्याइयो। लगभग १०० किलोमिटर टाढा पर्ने फ्रान्सेली भाषा बोलिने लुस्याने मण्डलीमा केही खास समस्याहरूको कारण त्यहाँका प्रकाशकहरूले परमेश्वरको संगठनप्रति उचित विचार राख्न सकोस् भनेर मलाई त्यस शहरमा नियमित तवरले मदत दिनको निम्ति खटाइयो।
पछि केही समयको लागि मैले स्वीजरल्याण्डका फ्रान्सेली भाषा बोलिने सबै मण्डलीहरूमा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरें। प्रत्येक हप्ताको प्रारम्भमा म बेथेलमा सेवा गर्थें तर आध्यात्मिक तवरमा मदत गर्न शुक्रबार, शनिबार र आइतबार भिन्नाभिन्नै मण्डलीहरूमा जान्थें। यसबाहेक १९६० तिर बर्नमा फ्रान्सेली भाषा बोलिने मण्डली स्थापित हुँदा म त्यस मण्डलीको अध्यक्ष नियुक्त भएँ। सन् १९७० सम्म अर्थात् बेथेल बर्नबाट टुनमा नसरुञ्जेल मैले उक्त मण्डलीमा अध्यक्षको रूपमा सेवा गरें। अहिले पनि हाम्रो बेथेल त्यस सुन्दर शहर टुनमै छ।
टुनमा इटालेली भाषा बोल्ने साक्षीहरूको सानो समूह भएकोले म ज्यादै रमाएँ र तिनीहरूसितै काम गर्न थालें। समयमा मण्डली खडा भयो अनि त्यहाँ पनि म अध्यक्ष नियुक्त भएँ र जवान भाइहरू अध्यक्षको रूपमा जिम्मेवारी वहन गर्न योग्य नहोउञ्जेल मैले यसरी नै सेवा गरें।
मलाई सबैभन्दा आनन्द लागेको क्षण चाहिं यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा भाग लिनु नै हो। उदाहरणका लागि, १९५० मा न्यु योर्क यांकी स्टेडियममा ईश्वरतन्त्रको वृद्धि भन्ने सम्मेलन सञ्चालन भएको थियो र यो अविस्मरणीय छ। ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको विश्व मुख्यालयमा जान पाउँदा पनि त्यसले ममा अमेट छाप पाऱ्यो। त्यसको लगत्तै अर्को वर्ष लण्डन, बेलाइतमा सञ्चालन भएको स्वच्छ उपासना सम्मेलनमा भाइ मिल्टन जे. हेन्शेलले भन्नुभएको कुरा पनि म कहिल्यै बिर्सने छैन। उहाँले त्यतिखेर येशूका यी शब्दहरूलाई प्रस्ट्याउनुभएको थियो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुंगाहरू कराउनेछन्।” (लूका १९:४०) भाइ हेन्शेलले सोध्नुभयो, “तपाईंहरूको विचारमा के ढुंगाहरू कराउनुपर्नेछ?” “पर्नेछैन!” भनेर दशौं हजारले दिएको जवाफ आजसम्म मेरो कानमा गुञ्जिरहेको छ।
सन् १९३७ मा म बेथेल फर्कंदा हामी बेथेल सेवकहरूले निकै कम भत्ता पाउँछौं भनेर मेरो बुबाले थाह पाउनु भएपछि निकै चिन्तित हुँदै उहाँले सोध्नुभएको थियो, “छोरा, बुढेसकालमा के खाएर बाँच्छौं?” मैले भजनरचयिता दाऊदका यी शब्दहरू उद्धृत गर्दै उहाँलाई जवाफ दिएँ: “धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भजन ३७:२५) मेरो सन्दर्भमा यी शब्दहरू सही साबित भएका छन्।
आजभन्दा ८० वर्षअघि बेर्ता भाइबलले बुबासित विवाह गर्नुभएकोले म निकै कृतज्ञ छु। किनकि उहाँकै उदाहरण र निर्देशनले गर्दा मैले यहोवालाई चिन्न र उहाँका गुनहरू थाह पाउन सकें। परिवारका अन्य सदस्यहरूले उहाँलाई ठट्टामा उडाए तापनि १९८३ मा मृत्यु नहोउञ्जेलसम्म उहाँ यहोवाप्रति वफादार रहनुभयो। आफ्नो परमेश्वर यहोवालाई सेवा गरेकोमा उहाँले कहिल्यै अपसोच व्यक्त गर्नुभएन। नता अविवाहित तथा आफ्नो सम्पूर्ण जीवन यहोवामा समर्पण गरेकोमा नै मैले अपसोच गरेको छु।
[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]
बेथेलमा काम गरिरहेको