प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१ pp. १४-१९
  • भ्रातृ-प्रेम बनिरहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भ्रातृ-प्रेम बनिरहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सँगी भाव देखाउनुहोस्‌
  • मूल्यांकन देखाउने
  • करुणामय कार्यहरू
  • “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • भ्रातृस्नेहको कुञ्जी थाहा लगाउनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१ pp. १४-१९

भ्रातृ-प्रेम बनिरहोस्‌!

“भातृ-प्रेम बनिरहोस्‌।”—हिब्रू १३:१.

१. चिसो रातमा आगो निभ्न नदिन तपाईं के गर्नुहुन्छ र हामी प्रत्येकको त्यस्तै के जिम्मेवारी छ?

बाहिर कठांग्रिने जाडो छ र तापक्रम पनि झन्‌ झनै घटिरहेको छ। तपाईंको घरमा तापको एउटा स्रोत अगेनामा बलिरहेको आगो हो। आगो बल्नु नबल्नुमै तपाईंको जीवन निर्भर छ। के तपाईं आगो निभेर भुङग्रो खरानीमा परिणत हुनलाग्दा पनि केही नगरी ट्‌वाल्ल परेर हेरि मात्र रहनुहुन्छ? पक्कै पनि तपाईं त्यसो गर्नुहुन्‍न। आगो निभ्न नदिन तपाईं बेला बेलामा इन्धन हालिरहनुहुन्छ। भन्‍ने हो भने, हामी हरेकले पनि त्यस्तै काम गर्नुपरेको छ। त्यो निभ्न दिन नहुने “आगो” हो, प्रेम। यो प्रेमद्वारा हाम्रो हृदय ओतप्रोत हुनुपर्छ।

२. (क) यस आखिरी दिनमा प्रेम सेलाएर गइरहेको छ भनेर किन भन्‍नसक्छौं? (ख) साँचो मसीहीहरूको लागि प्रेम कत्तिको महत्त्वपूर्ण छ?

२ संसारभरि नै मसीही भनौंदाहरूबीच प्रेम सेलाइरहेको समयमा हामी बाँचिरहेका छौं र त्यसबारे येशूले पहिल्यै भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१२) येशूले सबैभन्दा महत्त्वपूर्ण प्रेमलाई संकेत गरिरहनुभएको थियो। त्यो हो, यहोवा परमेश्‍वर अनि उहाँको वचन बाइबलप्रतिको प्रेम। अन्य प्रकारका प्रेम पनि सेलाउँदै गइरहेको छ। “आखिरी दिनमा” मानिसहरू “स्वाभाविक प्रेम रहितका” हुनेछन्‌ भनी बाइबलले भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:१-५) यो एकदमै सत्य साबित भएको छ! परिवार स्वाभाविक स्नेहले ओतप्रोत हुनुपर्ने हो तर अब त परिवारमा हिंसा, दुर्व्यवहार र कहिलेकाहीं त पाशविक व्यवहारसमेत सामान्य भइसक्यो। यद्यपि, संसारको यस्तो भावशून्य मौसममा मसीहीहरूलाई आपसमा प्रेम गर्न मात्र होइन तर अरूलाई प्राथमिकता दिंदै आत्मत्यागी प्रेम दर्साउन आज्ञा दिइएको छ। सबैले देख्नेगरि खुलस्त ढंगमा हामीले यो प्रेम प्रदर्शित गर्नुपर्छ। र यो साँचो मसीही मण्डलीको चिनारी नै हुनुपर्छ।—यूहन्‍ना १३:३४, ३५.

३. भ्रातृ-प्रेम के हो र त्यो बनिरहोस्‌ भन्‍नुको अर्थ के हो?

३ प्रेरित पावल यो आज्ञा दिन प्रेरित भएका थिए: “भातृ-प्रेम बनिरहोस्‌।” (हिब्रू १३:१) एक विद्वद्‌ साहित्यअनुसार यहाँ अनुवाद गरिएको युनानी शब्द “भातृ-प्रेम”-ले (फिलाडेल्फिया) “दया, सहानुभूति, मदत दिने स्नेही प्रेमलाई संकेत” गर्छ। अनि भ्रातृ-प्रेम बनिरहोस्‌ भनेर पावलले के भन्‍न खोजेका थिए? सोही प्रकाशनले यसो भन्छ: “यसलाई कहिल्यै सेलाउन दिनु हुन्‍न।” अतः आफ्नो भाइप्रति स्नेह महसुस गरेर मात्र पुग्दैन, हामीले यसलाई देखाउनुपर्छ। यसबाहेक हामीले यस प्रेमलाई रहिरहन दिनुपर्छ, कहिल्यै सेलाउन दिनु हुन्‍न। यो चुनौतीपूर्ण छ, हैन त? हो तर यहोवाको आत्माले भ्रातृ-प्रेम खेती गरेर कायम राखिराख्न मदत गर्नसक्छ। हाम्रो हृदयमा यस प्रेमको आगोलाई निभ्न नदिने तीन तरिकाहरूमा ध्यान देऔं।

सँगी भाव देखाउनुहोस्‌

४. सँगी भाव देखाउनु भनेको के हो?

४ मसीही भाइबहिनीहरूप्रति अझ बढी प्रेम देखाउन चाहनुहुन्छ भने पहिला तिनीहरूको लागि अनुभूति हुनुपऱ्‍यो, जीवनमा तिनीहरूले सामना गर्ने परीक्षा तथा चुनौतीहरूप्रति समानुभूति देखाउनुपऱ्‍यो। प्रेरित पत्रुसले पनि यही सल्लाह दिएका थिए। तिनले यसो लेखे: “तिमीहरू सबै एक मनका, सहानुभूति [“सँगी भाव,” NW] देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” होओ। (१ पत्रुस ३:८) “सँगी भाव” देखाउनु अर्थ बुझाउन यहाँ चलाइएको युनानी शब्दले “सँगसँगै दुःख भोग्ने” भन्‍ने बुझाउँछ। युनानी बाइबलको यस शब्दबारे एउटा किताबले यसो भन्छ: “आफ्नो जस्तै गरेर अरूको भावनाहरू बुझ्न कोसिस गर्ने मनस्थितिलाई यसले बुझाउँछ।” तसर्थ, समानुभूतिको खाँचो पर्छ। यहोवाको एक विश्‍वासी वृद्ध सेवकले एक चोटि यसो भने: “समानुभूति भनेको तपाईंको पीडा मैले महसुस गर्नु हो।”

५. यहोवाले सँगी भाव देखाउनुभयो भनेर हामी कसरी थाह पाउँछौं?

५ के यहोवाले त्यस्तो सँगी भाव देखाउनुभयो? अवश्‍य, देखाउनुभयो। उदाहरणका लागि, उहाँका जन अर्थात्‌ इस्राएलले भोगेको दुःखबारे हामी यस्तो पढ्‌छौं: “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो।” (यशैया ६३:९) यहोवाले तिनीहरूको दुःख देख्नु मात्र भएन तर महसुस पनि गर्नुभयो। आफ्ना जनहरूका लागि उहाँले कत्तिको गहिरो भावना राख्नुहुन्छ भन्‍ने कुरा यहोवाकै शब्दहरूबाट बुझ्नसक्छौं जुन जकरिया २:८ मा यसरी लिपिबद्ध गरिएको छ: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।”a यस शास्त्रपदबारे एक टिप्पणीकार यस्तो टिप्पणी गर्छन्‌: “मानव शरीरमा आँखा सबैभन्दा जटिल र कोमल भाग हो। अनि आँखाको नानी जसको कारणले हामी देख्नसक्छौं, त्यो अत्यन्तै संवेदनशील हुनुका साथै सबैभन्दा महत्त्वपूर्ण छ। आँखाको नानीले जस्तो अरू कुनै पनि कुराले यहोवाले देखाउनुहुने कोमल मायाको वर्णन गर्न सकिंदैन।”

६. येशू ख्रीष्टले कसरी सँगी भाव देखाउनुभएको छ?

६ येशूले पनि सधैं गहिरो सँगी भाव देखाउनुभयो। रोगी वा दुःखित सँगी मानवहरूको दयनीय हालत देख्नुहुँदा उहाँ बारम्बार ‘टिठाउनुहुन्थ्यो।’ (मर्कूस १:४१; ६:३४) उहाँका अभिषिक्‍त अनुयायीहरूसित नराम्रो व्यवहार गर्दा उहाँलाई नै गरेजस्तो लाग्छ भनेर उहाँले संकेत गर्नुभयो। (मत्ती २५:४१-४६) स्वर्गमा हुनुहुने “प्रधान पूजाहारी” उहाँ नै हुनुभएकोले “हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन” सक्नुहुन्छ।—हिब्रू ४:१५.

७. भाइ वा बहिनीले रीस उठाउँदा सँगी भावले हामीलाई कसरी मदत गर्छ?

७ ‘हाम्रो निर्बलतामा हामीसँग दुःखी हुनु’—के यो सुन्दै सान्त्वनादायी छैन र? पक्कै पनि हामी एकअर्काको लागि त्यस्तै गर्न चाहन्छौं। निस्सन्देह, अरूको कमजोरी भेट्टाउन धेरै सजिलो छ। (मत्ती ७:३-५) तर अर्को पटक भाइ वा बहिनीले तपाईंलाई रीस उठायो भने यसो गरे कसो होला? आफूलाई त्यस व्यक्‍तिको ठाउँमा राखेर कल्पना गर्नुहोस्‌। त्यस व्यक्‍तिको पृष्ठभूमि, व्यक्‍तित्व र केही त्यस्ता कमजोरीहरूसहित आफूलाई कल्पना गर्नुहोस्‌। के तपाईंले पनि त्यही गल्तीहरू गर्नुहुन्‍न वा शायद त्योभन्दा पनि नराम्रो गल्तीहरू गर्नुहुन्‍न भनेर निश्‍चिन्त हुन सक्नुहुन्छ र? अरूबाट बढ्‌तै आशा गर्नुको साटो हामीले सँगी भाव देखाउनुपर्छ। यसो गऱ्‍यौं भने यहोवाजस्तै व्यवहारिक हुन मदत पाउनेछौं किनभने उहाँलाई “मानिसहरू माटोनै हुन्‌ भनी” थाह छ। (भजन १०३:१४; याकूब ३:१७) उहाँले हाम्रो सीमा बुझ्नुहुन्छ। उहाँले हामीबाट, हामीले गर्नसक्ने भन्दा बढी माग गर्नुहुन्‍न। (१ राजा १९:५-७ तुलना गर्नुहोस्‌।) हामी सबैले अरूप्रति त्यस्तो सँगी भाव देखाऔं।

८. भाइ वा बहिनीलाई कुनै कठिनाइ परिरहेको छ भने हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्ने हो?

८ पावलले मण्डलीलाई शरीरसित तुलना गरे। भिन्‍नाभिन्‍नै सदस्यहरू सँगै मिलेर काम गर्नुपर्छ। तिनले अझ यसो भने: “एउटा अंगलाई दुःख भयो भने, सबै अंगले यसैको साथसाथै दुःख भोग्छन्‌।” (१ कोरिन्थी १२:१२-२६) हामीले पनि सँगसँगै दुःख भोग्नुपर्छ वा कठिन परिस्थितिबाट गुज्रिरहेकाहरूलाई समानुभूति देखाउनुपर्छ। यो कार्यमा प्राचीनहरूले नेतृत्व लिन्छन्‌। पावलले यसो पनि लेखे: “को निर्धो छ, र म निर्धो छैनँ? कसलाई चाहिं बाधा पर्न आउँछ, र म चाहिं रिसले जल्दिनँ?” (२ कोरिन्थी ११:२९) यस सन्दर्भमा प्राचीन तथा परिभ्रमण निरीक्षकहरूले पावलको अनुकरण गर्छन्‌। तिनीहरूले भाषणमा, गोठालो कार्यमा तथा न्यायिक निर्णयहरू गर्दा समेत सँगी भाव देखाउन यथासक्दो प्रयास गर्छन्‌। पावलले यस्तो सल्लाह दिए: “रुनेहरूसँग रोओ।” (रोमी १२:१५) जब गोठालाहरूले साँच्चै भेडाहरूप्रति समानुभूति देखाउँछन्‌, तिनीहरूको सीमितताहरू बुझ्छन्‌ र तिनीहरूले सामना गरिरहेका कठिनाइहरूप्रति सहानुभूति देखाउँछन्‌ भन्‍ने बगालले महसुस गर्छन्‌ तब तिनीहरू अक्सर सल्लाह, निर्देशन तथा अनुशासन स्वीकार्न बढी तत्पर हुन्छन्‌। ‘आफ्ना आत्मामा विश्राम पाउनेछन्‌’ भनी विश्‍वस्त हुँदै तिनीहरू उत्सुकतासाथ सभाहरू धाउँछन्‌।—मत्ती ११:२९.

मूल्यांकन देखाउने

९. हामीमा भएको असल गुणको यहोवाले मूल्यांकन गर्नुहुन्छ भनेर उहाँले कसरी देखाउनुहुन्छ?

९ भ्रातृ-प्रेम बढाउने दोस्रो तरिका मूल्यांकन गरेर हो। अरूको मूल्यांकन गर्न तिनीहरूको असल गुण तथा प्रयासहरू मूल्यवान्‌ ठान्‍नुका साथै त्यसमा ध्यानकेन्द्रित गर्नुपर्छ। त्यसो गर्दा हामी यहोवाकै अनुकरण गरिरहेका हुन्छौं। (एफिसी ५:१) दिनहुँ हामीले कैयौं स-साना पापहरू गर्दा पनि उहाँले क्षमा दिनुहुन्छ। साँच्चै पश्‍चात्ताप गरेका छौं भने उहाँले गम्भीर पापहरूसमेत क्षमा दिनुहुन्छ। एक चोटि क्षमा दिनुभएपछि फेरि त्यसबारे उहाँ सोचिरहनुहुन्‍न। (इजकिएल ३३:१४-१६) भजनरचयिताले यस्तो प्रश्‍न गरे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनुसक्छ र?” (भजन १३०:३) उहाँको सेवामा हामीले गरेका असल कार्यहरूमा यहोवाले ध्यानकेन्द्रित गर्नुहुन्छ।—हिब्रू ६:१०.

१०. (क) पति वा पत्नीले एकअर्काको मूल्यांकन गर्न सकेनन्‌ भने किन खतरनाक हुन्छ? (ख) आफ्नो जीवनसाथीको मूल्यांकन गर्न सकिरहेको छैन भने के गर्नुपर्छ?

१० विशेषगरि परिवारमा यो उदाहरण पछ्याउनु महत्त्वपूर्ण छ। आमाबाबुले एकअर्काको मूल्यांकन गर्दा परिवारमा एउटा नमुना बसालिरहेका हुन्छन्‌। कुनै खास कारणबिना विवाह बन्धन टुटाउने यस युगमा आफ्नो जोडीको अनुचित फाइदा उठाउन तथा त्रुटिहरू बढाइचढाइ गर्न र असल गुणहरूलाई बेवास्ता गर्न सजिलो छ। त्यस्तो नकारात्मक सोचाइले विवाहमा नराम्रो असर पार्छ र विवाहलाई एउटा निराशामय बोझ बनाउँछ। आफ्नो जीवनसाथीको लागि तपाईंको मूल्यांकन सेलाउँदैछ भने, आफैलाई प्रश्‍न गर्नुहोस्‌: ‘के मेरो जीवनसाथीमा असल गुणहरू छँदै छैन?’ तिनीसित माया गाँसेको र विवाह गरेको कारणहरू फेरि सोच्नुहोस्‌। त्यस अनुपम व्यक्‍तिलाई माया गरेका सबै कारणहरू हराइसके त? पक्कै पनि छैन। अतः, आफ्नो जीवनसाथीमा भएको असल गुणहरूको मूल्यांकन गर्न र तिनलाई त्यो बताउन परिश्रम गर्नुहोस्‌।—हितोपदेश ३१:२८.

११. विवाहमा प्रेम कपटरहित हुने हो भने के कामहरू गर्नदेखि पछि हट्‌नुपर्छ?

११ मूल्यांकनले पति पत्नीलाई तिनीहरूको प्रेम कपटरहित बनाउन पनि मदत गर्छ। (तुलना गर्नुहोस्‌ २ कोरिन्थी ६:६; १ पत्रुस १:२२) हार्दिक मूल्यांकनले भरिएको प्रेमले दुइ जना मात्र हुँदा क्रूर हुने, चित्त दुखाउने र बेइज्जत गर्ने शब्दहरू बोल्ने, मीठो दुइ वचन नबोली हप्तौं बिताउने र अवश्‍य पनि शारीरिक हिंसाको लागि कुनै मौका दिंदैन। (एफिसी ५:२८, २९) साँच्चै एकअर्काको मूल्यांकन गर्ने पतिपत्नीले एकअर्काको आदर पनि गर्छन्‌। त्यो तिनीहरूले अरू मानिसको अगाडि मात्र गर्दैनन्‌ तर यहोवाले देख्नुहुने सबै ठाउँमा अर्थात्‌ अर्को शब्दमा भन्‍ने हो भने हर बखत एकअर्काको आदर गर्छन्‌।—हितोपदेश ५:२१.

१२. बच्चाहरूले असल काम गर्दा आमाबाबुले किन मूल्यांकन गर्नुपर्छ?

१२ बच्चाहरूले पनि आफ्नो मूल्यांकन गरिएको महसुस गर्नु आवश्‍यक छ। आमाबाबुले त्यत्तिकै बकमफुसे कुराहरू भनेर फुलाउने होइन तर छोराछोरीको प्रशंसनीय गुणहरू तथा तिनीहरूले गरेका असल कार्यको सराहना गर्नुपर्छ। यहोवाले आफ्नो पुत्रप्रति खुशी व्यक्‍त गर्नुहुँदा कस्तो उदाहरण बसाल्नुभयो, त्यसलाई ध्यान दिनुहोस्‌। (मर्कूस १:११) अनि “स्वामीको” उखानमा येशूको उदाहरणलाई पनि सम्झनुहोस्‌। दुवैलाई दिएको परिमाण र दुवैले फलाएको फलमा भिन्‍नता भए तापनि उहाँले “असल र इमान्दार नोकर” भनेर दुवैको सराहना गर्नुभयो। (मत्ती २५:२०-२३; तुलना गर्नुहोस्‌ मत्ती १३:२३) त्यसरी नै, बुद्धिमान्‌ आमाबाबुले आफ्नो प्रत्येक बच्चाको गुण, योग्यता तथा उपलब्धिहरूको मूल्यांकन विभिन्‍न तरिकामा गर्नसक्छन्‌। तर तिनीहरू ती उपलब्धिहरूमा मात्र अचाक्ली जोड नदिन पनि होशियार हुन्छन्‌ अन्यथा बच्चाले सधैं अरूभन्दा उत्कृष्ट हुनैपर्ने जस्तो महसुस गर्नसक्छ। तिनीहरू आफ्नो छोराछोरी निहुँ खोजुवा वा खिन्‍न भएर हुर्केको चाहँदैनन्‌।—एफिसी ६:४; कलस्सी ३:२१.

१३. मण्डलीका प्रत्येक सदस्यहरूलाई मूल्यांकन देखाउन को अग्रसर हुन्छन्‌?

१३ मसीही मण्डलीमा प्राचीन तथा परिभ्रमण निरीक्षकहरू परमेश्‍वरको बगालको प्रत्येक सदस्यको मूल्यांकन गर्न अग्रसर हुन्छन्‌। तिनीहरूको काम सजिलो छैन किनभने धार्मिकतामा अनुशासन दिने, कोमल मनका भएर गल्ती गर्नेहरूलाई सच्याउने र आवश्‍यक परेकाहरूलाई कडा सल्लाह दिने तिनीहरूको गहन जिम्मेवारी छ। यी भिन्‍नाभिन्‍नै जिम्मेवारीहरू तिनीहरू कसरी सन्तुलनमा राख्छन्‌?—गलाती ६:१; २ तिमोथी ३:१६.

१४, १५. (क) कडा सल्लाह दिने विषयमा पावलले कसरी सन्तुलन देखाए? (ख) गल्ती गर्दा सच्याउने र प्रशंसा गर्ने सन्दर्भमा मसीही निरीक्षकहरूले कसरी सन्तुलन कायम राख्नसक्छन्‌? व्याख्या गर्नुहोस्‌।

१४ पावलको उदाहरण अत्यन्तै मदतकारी छ। तिनी असल शिक्षक, प्राचीन तथा गोठालो थिए। गम्भीर समस्याहरू भएको मण्डलीहरूलाई तिनले सँभाल्नु परेको थियो र आवश्‍यक परेको बेला कडा सल्लाह दिनदेखि तिनी डराएर पछि हटेनन्‌। (२ कोरिन्थी ७:८-११) पावलको सेवकाईलाई सरसरती हेऱ्‍यौं भने तिनले कहिलेकाहीं परिस्थितिअनुसार आवश्‍यक पर्दा वा उचित भएमा मात्र गाली गरेको पाउँछौं। यसमा तिनले ईश्‍वरीय बुद्धि प्रदर्शित गरे।

१५ मण्डलीमा प्राचीनको सेवा संगीतसित तुलना गर्ने हो भने गाली र हप्काइ त्यस संगीतको एउटा नोट मात्र बन्‍न जान्छ। त्यो नोट त्यसको आफ्नै ठाउँमा सुहाउँदो छ। (लूका १७:३; २ तिमोथी ४:२) कल्पना गर्नुहोस्‌, एउटा गीतमा त्यही एउटा नोट मात्र छ र त्यो दोहोरिरहन्छ। के छिनभरमै यसले तपाईंको कान खाँदैन र? त्यस्तैगरि, मसीही प्राचीनहरूले विभिन्‍न शिक्षणशैलीहरू अपनाउँछन्‌। तिनीहरूको कार्य समस्याहरू सच्याउनु मात्रै होइन। बरु, निचोडमा भन्‍ने हो भने, तिनीहरूको शिक्षणशैलीले तिनीहरूलाई ढाडस दिन्छ। आलोचना गर्न भूल कोट्याउनुको साटो येशू ख्रीष्टले जस्तै मायालु प्राचीनहरूले बरु प्रशंसा गर्न पहिला असल गुणहरू खोज्छन्‌। आफ्नो सँगी मसीहीहरूले गरिरहेको कडा परिश्रमको तिनीहरू मूल्यांकन गर्छन्‌। साधारणतया, प्रत्येकले यहोवाको सेवामा यथासक्दो गरिरहेको छ भनेर तिनीहरू विश्‍वस्त हुन्छन्‌। अनि प्राचीनहरूले ती भावनाहरू व्यक्‍त गर्न ढिलासुस्ती गर्दैनन्‌।—२ थिस्सलोनिकी ३:४ तुलना गर्नुहोस्‌।

१६. सँगी मसीहीहरूमा पावलको मूल्यांकनयुक्‍त र समानुभूतिपूर्ण मनोवृत्तिले कस्तो असर पाऱ्‍यो?

१६ निस्सन्देह, पावलले सेवा गरेका प्रायः सबैजसो मसीहीहरूले तिनले तिनीहरूको मूल्यांकन गर्नुका साथै तिनीहरूप्रति सँगी भाव देखाएको महसुस गरे। यो कुरा हामीले कसरी थाह पाउनसक्छौं? पावलप्रति तिनीहरूको कस्तो भावना थियो, विचार गर्नुहोस्‌। पावलसित अख्तियार थियो तैपनि तिनीहरू तिनीसित डराउँदैन थिए। पावल असाध्यै प्रिय थिए र जो कोही पनि तिनीसित धक नमानी कुरा गर्नसक्थे। एउटा इलाकाबाट तिनी बिदावादी हुँदा त्यहाँका प्राचीनहरूले ‘पावललाई अंगालो हालेर चुम्बन समेत गरे!’ (प्रेरित २०:१७, ३७) पावलको उदाहरण अनुकरण गर्न पाएकोमा प्राचीनहरूलगायत हामी सबै कत्ति कृतज्ञ हुनुपर्छ! हो, हामी एकअर्काको मूल्यांकन गरौं।

करुणामय कार्यहरू

१७. मण्डलीमा दयालु कामहरू गर्दा कस्तो सकारात्मक असर पर्नसक्छ?

१७ भ्रातृ-प्रेम बढाउनको निम्ति नभई नहुने एउटा कुरा दयापूर्ण कार्यहरू हुन्‌। येशूले भन्‍नुभएझैं “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) हामीले अरूलाई आध्यात्मिक, भौतिक तवरमा वा हाम्रो समय र प्रयासै दिएर मदत गर्दा ती व्यक्‍तिहरूलाई मात्र खुशी तुल्याइरहेका हुनेछैनौं तर आफैलाई पनि खुशी तुल्याइरहेका हुनेछौं। मण्डलीमा दया देखाउँदा त्यसको प्रतिफल पाउँछौं। एउटा कुनै दयापूर्ण कार्य गरेपछि अरूले पनि त्यस्तै गर्छन्‌। नभन्दै भ्रातृ-प्रेम फस्टाउँदै जान्छ!—लूका ६:३८.

१८. मीका ६:८ मा भनिएको ‘दया गर्नुको’ अर्थ के हो?

१८ यहोवाले इस्राएल राष्ट्रलाई दया देखाउन आग्रह गर्नुभयो। मीका ६:८ मा हामी यसो लेखिएको पाउँछौं: “ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड़नू।” ‘दया गर्नुको’ अर्थ के हो? “दया” बुझाउन प्रयोग गरिएको हिब्रू शब्दलाई (चेसेद) अंग्रेजीमा “मर्सी” अर्थात्‌ कृपा भनेर अनुवाद गरिएको छ। द सोनसिनो बुकस्‌ अफ द बाइबल-अनुसार (अंग्रेजी) “अस्पष्ट अर्थ भएको अंग्रेजी शब्द मर्सी-को भन्दा यस शब्दको गहिरो अर्थ छ। यसको अर्थ ‘काममा परिणत गरिएको कृपा’ हो। गरिब र खाँचोमा परेकाहरूलाई मात्र नभई आफ्ना सबै सँगी मानवहरूलाई करुणा देखाउनु हो।” अतः, अर्का एक शास्त्रज्ञअनुसार चेसेद भनेको “व्यवहारमा उतारेको प्रेम” हो।

१९. (क) मण्डलीमा अरूलाई दया देखाउन हामी कसरी अग्रसर हुनसक्छौं? (ख) तपाईंप्रति कसैले देखाएको भ्रातृ-प्रेमबारे बताउनुहोस्‌।

१९ हाम्रो भ्रातृ-प्रेम कुरामा मात्र सीमित र अस्पष्ट छैन। यो वास्तविक हो। तसर्थ, भाइबहिनीहरूलाई कुन कुन तरिकामा दया देखाउन सक्नुहुन्छ, विचार गर्नुहोस्‌। येशू जस्तो हुनुहोस्‌। उहाँले मानिसहरू उहाँकहाँ आओस्‌ भनेर कहिल्यै पर्खनुभएन तर अक्सर आफै अघि सर्नुभयो। (लूका ७:१२-१६) विशेषगरि खाँचोमा परेकाहरूको विचार गर्नुहोस्‌। वृद्ध वा अस्वस्थहरूलाई भेट्‌न जानुपर्छ कि वा कुनै कामधन्दा गर्न सहयोग चाहिएको छ कि? “टुहुरा–टुहुरीलाई” हेरचाह चाहिएको छ भने तिनीहरूसित केही समय बिताउँदा कसो होला? निराश भएकाहरूको कुरा सुनिदिनु परेको छ कि? सक्छौं भने दयाका त्यस्ता कार्यहरू गर्न अघि सरौं। (अय्यूब २९:१२; १ थिस्सलोनिकी ५:१४; याकूब १:२७) असिद्ध मानिसहरूले भरिएको मण्डलीमा सबैभन्दा दयापूर्ण कार्य नै क्षमा दिनु हो भनेर कहिल्यै नबिर्सनुहोस्‌। गुनासो गर्ने जायज कारणहरू भए तापनि रीस नराख्नुहोस्‌। (कलस्सी ३:१३) क्षमा दिन तयार हुनुभयो भने विभाजन, ईर्ष्या र कलहजस्ता भ्रातृ-प्रेमको आगोलाई निभाउने तत्त्वहरू मण्डलीमा हुँदैन।

२०. हामी सबैले आफूलाई कसरी जाँच्नुपर्छ?

२० यस अत्यावश्‍यक प्रेमको आगोलाई निभ्न नदिन हामी सबै कटिबद्ध होऔं। आफूलाई सधैं जाँचिरहौं। के हामी अरूलाई सँगी भाव देखाउँछौं? के अरूको मूल्यांकन गर्छौं? के अरूप्रति दयापूर्ण कार्यहरू गर्छौं? हाम्रो भ्रातृत्वलाई प्रेमको आगोले न्यानो पारिराख्यौं भने यस संसार जत्ति नै चिसो र भावशून्य भए पनि हामीलाई फरक पार्नेछैन। त्यसैकारण, अहिले र सदा सर्वदाको लागि जसरी भए पनि तपाईंको “भातृ-प्रेम बनिरहोस्‌”!—हिब्रू १३:१.

[फुटनोट]

a कुनै कुनै अनुवादहरूले परमेश्‍वरका जनहरूलाई छुनु भनेको परमेश्‍वरलाई होइन तर इस्राएलको आँखा वा उसको आफ्नै आँखाको नानीलाई छोएको हो भनेका छन्‌। मध्ययुगका केही प्रतिलिपिकहरूले गर्दा यो गल्ती हुन गएको थियो। तिनीहरूले प्रसंगअनुसार नमिल्ने जस्तो लागेर यस भागलाई सच्याउने गलत प्रयास गरे। अतः, त्यसरी तिनीहरूले यहोवाको समानुभूतिलाई धमिल्याइ दिए।

तपाईंको विचार के छ?

◻ भ्रातृ-प्रेम के हो र यसलाई किन बनिरहन दिनुपर्छ?

◻ भ्रातृ-प्रेम कायम राख्न सँगी भावले कसरी मदत गर्छ?

◻ भ्रातृ-प्रेममा मूल्यांकनले कस्तो भूमिका खेल्छ?

◻ दयापूर्ण कार्यहरूले गर्दा मसीही मण्डलीमा कसरी भ्रातृ-प्रेम फस्टाउँछ?

[पृष्ठ १६-मा भएको पेटी]

व्यवहारमा उतारेको प्रेम

केही वर्षअघिको कुरा हो, केही समयको लागि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेका एक मानिसलाई भ्रातृ-प्रेमबारे अझै शंका थियो। येशूले भन्‍नुभएको यो कुरा तिनलाई थाह थियो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) तर तिनलाई यो कुरा पत्यार लागेन। एक दिन तिनले मसीही प्रेम साँच्चै व्यवहारमा पनि उतारिंदो रहेछ भनेर देख्न पाए।

असक्‍तताको कारण ह्वीलचेरमा बस्नु परे तापनि यस मानिस लामो यात्रा गरिरहेका थिए। बेथेलहेम, इजरायलमा तिनले मण्डलीको सभा धाए। त्यहाँ एक अरबी साक्षीले अर्को विदेशी साक्षीलाई तिनको परिवारसित एक रात बिताउन जिद्दी गरे। त्यस बाइबल विद्यार्थीलाई पनि निमन्त्रणा दिइयो। सुत्न जानुअघि त्यस विद्यार्थीले बिहान सूर्योदय हेर्न बरन्डामा जानसक्छन्‌ कि भनेर त्यस आतिथेय भाइलाई सोधे। त्यो त गर्नै हुँदैन भनी आतिथेय भाइले भने। भोलिपल्ट यस अरबी भाइले कारण बताए। अनुवादकको मदत लिएर तिनले भने, यदि यहूदी पृष्ठभूमि भएको कोही मानिस घरमा छ भनेर थाह पाए भने, छिमेकीहरूले म र मेरो परिवारलाई घरभित्र बन्द गरेर जिउँदै जलाइदिनेछन्‌। आफू पनि यहूदी नै भएकोले अलमल्ल पर्दै बाइबल विद्यार्थीले सोधे, “त्यसोभए किन यत्रो खतरा उठाउनुभएको त?” अनुवादकको मदतबिना त्यस अरबी भाइले सीधै तिनको आँखामा हेरेर भने, “यूहन्‍ना १३:३५.”

भ्रातृ-प्रेमको यो वास्तविक रूप देखेर ती बाइबल विद्यार्थी असाध्यै प्रभावित भए। त्यसको केही समयमै तिनले बप्तिस्मा लिए।

[पृष्ठ १८-मा भएको चित्र]

प्रेरित पावलको मित्रैलो र मूल्यांकन गर्ने स्वभावले गर्दा मानिसहरू तिनीसित धक नमानी कुरा गर्नसक्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने