प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १०/१ pp. २१-२५
  • लामो समयदेखि यहोवाको सेवा गर्न पाएकोमा आभारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लामो समयदेखि यहोवाको सेवा गर्न पाएकोमा आभारी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिक विचारधाराहरूद्वारा प्रभावित
  • बाइबल सत्यको लागि मेरो अडान
  • बेथेल सेवा
  • परमेश्‍वरको राज्य आशामा विश्‍वस्त
  • दोस्रो विश्‍वयुद्धको दौडानका गतिविधिहरू
  • युद्धपछिका नयाँ गतिविधि
  • आफूले सक्दो गरिरहेकी छु
  • अन्तसम्मै विश्‍वासी रहने
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • यहोवाको सेवामा बिताएको समृद्धशाली जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १०/१ pp. २१-२५

लामो समयदेखि यहोवाको सेवा गर्न पाएकोमा आभारी

ओटेल्ये मिड्‌लनको वृत्तान्तमा आधारित

उन्‍नाइसौं शताब्दीको अन्ततिर पश्‍चिमी नर्वेको कोपर्भेक बन्दरगाहमा यात्रुवाहक जहाजहरू मेलैसित लाम लगाएर राखिएको थियो। ती दिनहरूमा मानिस वा घोडाले तान्‍ने ठेलागाडा सडकमा देखिन्थे। बत्तीको लागि मानिसहरूले दियो बाल्थे र अक्सर सेतो रंग पोतेका घरहरू काठ र कोइला बालेर न्यानो बनाइन्थ्यो। म त्यही ठाउँमा जून १८९८ मा जन्मेकी थिएँ र पाँच छोराछोरीमा माइली थिएँ।

सन्‌ १९०५ मा बुबा बेरोजगार हुनुभएकोले कामको खोजीमा संयुक्‍त राज्य जानुभयो। तीन वर्षपछि बाकसभरि हामी छोराछोरीको लागि राम्रा राम्रा उपहारहरू र आमाको लागि रेसमी कपडाका साथै अन्य कुराहरू लिएर फर्कनुभयो। तर तीमध्ये उहाँले ल्याउनुभएको सबैभन्दा बहुमूल्य कुरा चाहिं चार्ल्स टेज रसलद्वारा लिखित धर्मशास्त्रको अध्ययन-का (अंग्रेजी) खण्डहरू थिए।

बुबाले इष्टमित्र तथा नातेदारहरूलाई त्यो पुस्तकमा पढेको कुरा बताउन थाल्नुभयो। उहाँले अग्निमय नरक छैन भनेर स्थानीय चर्चको सभामा बाइबलबाट देखाउनुभयो। (उपदेशक ९:५, १०) बुबा संयुक्‍त राज्यबाट फर्कनुभएको एक वर्षपछि अर्थात्‌ १९०९ मा भाइ रसल नर्वे आउनुभयो र बर्गन तथा क्रिस्तानिया, ओस्लोमा (हाल) भाषणहरू दिनुभयो। बुबा भाषण सुन्‍न बर्गन जानुभयो।

थुप्रै मानिसहरूले बुबालाई झूटो शिक्षाको प्रचारप्रसार गरेको आरोप लगाए। यस्तो आरोप सुन्दा मलाई उहाँ देखेर माया लाग्यो र छिमेकीहरूलाई बाइबल पर्चाहरू बाँड्‌न बुबालाई मदत गर्थें। सन्‌ १९१२ मा मैले नरकसम्बन्धी पर्चा पादरीको छोरीलाई दिएँ। तिनले बुबा र मलाई भन्‍नु नभन्‍नु भनिन्‌। पादरीको छोरीले पनि त्यस्तो मनपरी बोलेको सुनेर म छक्क परें!

यहोवाका साक्षीहरू अर्थात्‌ त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनिने अन्य भाइहरू हामीलाई कोपर्भेकमा समय समयमा भेट्‌न आउँथे। त्यसमध्ये थियोडर सिमोसेन पनि थिए र तिनी एक दक्ष वक्‍ता थिए। हाम्रो घरमा तिनको भाषण सुन्‍न म अरू मानिसहरूलाई निमन्त्रणा दिन्थें। भाषणअघि तिनले जिथर बजाएर गाना गाउँथे र भाषणको समापनमा पनि गीत गाउँथे। हामी उहाँलाई असाध्यै आदर गर्थ्यौं।

हाम्रो घरमा आउने अर्को पाहुना आना एन्डरसन थिइन्‌। तिनी कल्पोर्टर अर्थात्‌ पूर्ण-समय सेवक थिइन्‌। तिनी मानिसहरूलाई बाइबल प्रकाशनहरू बाँड्‌दै नर्वेको शहर शहर हुँदो अक्सर साइकलमा यात्रा गर्थिन्‌। तिनी एक समय मुक्‍ति सेनामा अफिसर थिइन्‌ र कोपर्भेकमा मुक्‍ति सेनाका केही अफिसरहरूसित चिनजान थियो। तिनीहरूको सभाकक्षहरूमा बाइबल भाषणहरू दिन अनुमति पाएकी थिइन्‌ र म चाहिं तिनको भाषण सुन्‍न मानिसहरूलाई आमन्त्रित गर्थें।

कोपर्भेकमा आउने अर्को प्रचारक कार्ल गुनबर्ग थिए। यस भद्र, शान्त तर ठट्टा गर्नुपर्ने मानिसले ओस्लोको शाखा कार्यालयमा समय समयमा अनुवादकको रूपमा पनि काम गर्थे। केही वर्षपछि हामीले त्यहाँ सँगै काम गऱ्‍यौं।

धार्मिक विचारधाराहरूद्वारा प्रभावित

त्यतिबेला मानिसहरू परमेश्‍वर र बाइबलमा बलियो विश्‍वास राख्थे। तर सँगसँगै अग्निकुण्ड र त्रिएकजस्ता कुराहरूमा तिनीहरू गहिरो विश्‍वास गर्थे। त्यसैले बाइबल स्टुडेन्ट्‌सले यी धर्मसिद्धान्तहरू बाइबलअनुसार ठीक होइनन्‌ भनी सिकाउँदा तहल्का नै मच्चिएको थियो। हाम्रा छिमेकीहरूले बुबालाई धर्मविरोधी भनी आरोप लगाउँदा मैले पनि होमा हो थपें। एक चोटि उहाँलाई यस्तो समेत भनें: “तपाईंले सिकाइरहनुभएको कुरा सत्य होइन। यो धर्मविरोधी कुरा हो!”

उहाँले मलाई फकाउँदै यसो भन्‍नुभयो: “ओटेल्ये यता आऊ, बाइबलले के भन्छ हेर त।” अनि उहाँले धर्मशास्त्रबाट पदहरू पढेर सुनाउनुभयो। परिणामस्वरूप, उहाँमा र उहाँले सिकाउनुभएको कुरामा मेरो भरोसा बढ्यो। उहाँले मलाई धर्मशास्त्रको अध्ययन पढ्‌न प्रोत्साहन दिनुभयो। त्यसैले १९१४ को गर्मी महिनामा म अक्सर पूरै शहर देख्ने डाँडामाथि बसेर त्यो पुस्तक पढ्‌ने गर्थें।

अगस्त १९१४ मा मानिसहरू प्रथम विश्‍वयुद्ध सुरु भएको समाचार पढ्‌दै स्थानीय अखबार भवनबाहिर भीडभाड गर्दै थिए। बुबाले त्यहाँ भइरहेको गोलमाल देख्नुभयो। “धन्‍न परमेश्‍वर!” भनी उहाँले उद्‌गार गर्नुभयो। यो उहाँले प्रचार गर्दै आउनुभएको बाइबल भविष्यवाणीहरूको पूर्ति हो भनी बुझ्नुभयो। (मत्ती २४:७) थुप्रै बाइबल स्टुडेन्ट्‌सले अब तिनीहरूलाई स्वर्गमा लगिनेछ भन्ठानेका थिए। जब यस्तो केही भएन, कोही कोही असाध्यै निराश भए।

बाइबल सत्यको लागि मेरो अडान

सन्‌ १९१५ मा १७ वर्षको उमेरमा मैले माध्यमिक शिक्षा सिध्याएँ र जागिर खान थालें। अनि नियमित तवरमा प्रहरीधरहरा पढ्‌न थालें। तर १९१८ सम्म कोपर्भेकमा नियमित सभाहरू हुँदैन थिए। सुरु सुरुमा त हामी पाँच जना मात्र हुन्थ्यौं। हामी धर्मशास्त्रको अध्ययन जस्ता वाच टावर सोसाइटीका प्रकाशनहरू पढ्‌थ्यौं र प्रश्‍नोत्तरद्वारा छलफल गर्थ्यौं। आमाले सधैं बाइबल स्टुडेन्ट्‌सको गुनगान गर्नुभए तापनि उहाँ आफू चाहिं साक्षी हुनुभएन।

मैले जागिर खाने ठाउँमा १९१८ को सुरुतिर आन्तोन साल्टनेससित मेरो चिनजान भयो र तिनलाई बाइबल स्टुडेन्ट्‌स हुन मदत गरें। त्यही समयताका म नियमित प्रकाशक भएँ र १९२१ मा बर्गनमा भएको सम्मेलनमा बप्तिस्मा लिएँ।

मे १९२५ मा सबै स्क्यानडेनेभियाली राष्ट्रहरूको लागि ओर्बो, स्वीडेनमा सम्मेलन आयोजना गरियो। त्यहाँ ५०० भन्दा धेरै उपस्थित थिए र वाच टावर सोसाइटीका अध्यक्ष जोसेफ एफ. रदरफर्ड पनि थिए। ओस्लोबाट चाहिं हामी झन्डै ३० जना रेलको पूरै डिब्बा रिजर्भ गरेर गएका थियौं।

स्क्यानडेनेभियाभरि र बाल्टिक देशहरूमा प्रचारकार्यको देखभाल गर्न कोपेनहेगनमा उत्तरी युरोपीय शाखा खोल्ने घोषणा यस सम्मेलनमा गरियो। प्रचारकार्यको निगरानी राख्न स्कटल्याण्डका विलियम डेलाई खटाइयो। तिनलाई सबैले मन पराउँथे र माया गरेर सबैले स्कटिस ठूल्दाइ भन्‍ने गर्थे। सुरु सुरुमा भाइ डेलाई स्क्यानडेनेभियाली भाषाहरू पटक्कै आउँदैन थियो। त्यसैले सभा तथा सम्मेलनहरूमा आमाबाबुहरूले भाषणहरू सुनून्‌ भनेर आफू चाहिं बच्चाहरूको हेरविचार गरेर बस्थे।

मार्च १, १९२५ को प्रहरीधरहरा-मा प्रकाश अध्याय १२ बारे छलफल गरिएको थियो र त्यस अध्यायमा स्वर्गमा परमेश्‍वरको राज्यको जन्म, साथै यो जन्म १९१४ मा भयो भनी बुझाइएको थियो। यो कुरा बुझ्न मलाई गाह्रो लाग्यो, त्यसैले मैले दोऱ्‍याई तेऱ्‍याई त्यस लेख पढें। बुझेपछि असाध्यै खुशी भएँ।

बाइबल विषयहरूबारे हाम्रो समझमा छाँटकाँटहरू गरिंदा कोहीले ठोक्कर खाएका छन्‌ भने, कोहीले परमेश्‍वरको जन नै हुन छोडेका छन्‌। तर त्यस्ता छाँटकाँटहरू बुझ्न गाह्रो पर्दा मैले प्रस्तुत गरिएको तर्कलाई बुझ्न त्यस लेख दोऱ्‍याई तेऱ्‍याई पढ्‌ने गरेकी छु। अनि त्यस नयाँ कुरा अझै पनि बुझिनँ भने स्पष्टीकरणको लागि पर्खिन्छु। बारम्बार यसरी धैर्यधारण गर्दा मेरै फाइदा भएको छ।

बेथेल सेवा

केही वर्षसम्म मैले किताबहरूको हिसाब किताब राख्ने, सेक्रेटरी र जिल्ला लेखा परीक्षकको रूपमा काम गरें। सन्‌ १९२८ मा सोसाइटीको लेखा हेर्ने व्यक्‍ति बिरामी भएकोले बेथेल छोड्‌नुपऱ्‍यो। म त्यस्तो कार्य गर्न सक्षम भएको हुँदा त्यो काम गर्न मलाई बोलाइयो। जून १९२८ देखि मैले बेथेल सेवा सुरु गरें। कहिलेकाहीं भाइ डे आएर सोसाइटीको लेखा परीक्षण गर्नुहुन्थ्यो। ओस्लोको जनप्रचार कार्यमा पनि हाम्रो बेथेल परिवारले नेतृत्व लियो जहाँ त्यतिबेला एउटा मात्र मण्डली थियो।

हामीमध्ये कोही कोहीले द गोल्डेन एज (अहिले ब्यूँझनुहोस्‌!) पोका पार्न र पठाउन ढुवानीको देखभाल गर्ने भाइ साक्सहामरलाई मदत गर्थ्यौं। मदत गर्नेहरूमध्ये भाइ सिमोसन र गुनबर्ग पनि हुनुहुन्थ्यो। रमाइलो हुन्थ्यो, काम पनि गरिरहेका हुन्थ्यौं र सँगसँगै गीत पनि गाउँथ्यौं।

परमेश्‍वरको राज्य आशामा विश्‍वस्त

सन्‌ १९३५ मा हामीले “ठूलो भीड़” स्वर्ग जाने द्वितीय श्रेणी होइन बरु, महासंकष्टबाट बाँचेर यसै पृथ्वीमा प्रमोदवनमा बस्ने सुअवसर पाउने झुण्ड हो भनी थाह पायौं। (प्रकाश ७:९-१४) यसरी नयाँ अर्थमा विषयवस्तु बुझेपछि स्मरणार्थ उत्सवका प्रतीकहरू लिने कसै कसैले आफ्नो पार्थिव आशा भएको बुझेर त्यसमा भाग लिन छोडे।

मेरो स्वर्गीय आशाबारे मलाई कुनै शंका नलागे तापनि अक्सर यस्तो विचार गर्थें, ‘परमेश्‍वर मलाई किन चाहनुहुन्छ?’ त्यस्तो ठूलो सुअवसर पाउन म अयोग्य छु जस्तो लाग्थ्यो। म लज्जालु, फुच्ची आइमाई भएकोले ख्रीष्टसँगै स्वर्गमा राजाको रूपमा शासन गरिरहेको कल्पना गर्न पनि अनौठो लाग्थ्यो। (२ तिमोथी २:११, १२; प्रकाश ५:१०) तथापि, “धेरै जना शक्‍तिमान[लाई]” होइन “तर बुद्धिमानहरूलाई शर्ममा पार्नालाई परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो” भन्‍ने प्रेरित पावलका शब्दहरूलाई मनन गर्थें।—१ कोरिन्थी १:२६, २७.

दोस्रो विश्‍वयुद्धको दौडानका गतिविधिहरू

अप्रिल ९, १९४० मा जर्मन सेनाले नर्वेलाई आक्रमण गऱ्‍यो र चाँडै तिनीहरूले आधिपत्य जमाउन थाले। युद्धको कारण मानिसहरूले राज्य सन्देश सुन्‍न थाले। अक्टोबर १९४० देखि जून १९४१ बीच हामीले २,७२,००० भन्दा बढी पुस्तक तथा पुस्तिकाहरू वितरण गऱ्‍यौं। त्यसको अर्थ नर्वेमा भएका ४७० भन्दा बढी साक्षीहरूले त्यस नौ महिनाको दौडान सरदर ५७० भन्दा बढी पुस्तक, पुस्तिकाहरू वितरण गरे!

जुलाई ८, १९४१ मा गेस्तापोले सबै मण्डलीका निरीक्षकहरूलाई भेटे र यदि प्रचार कार्य बन्द गरेनन्‌ भने तिनीहरूलाई यातना शिविरमा पठाइने धम्की दिए। पाँच जर्मन प्रहरी अधिकृतहरू बेथेलमा आए र वाच टावर सोसाइटीको धेरैजसो सम्पत्ति जफत गरे। बेथेल परिवारलाई लगेर केरकार गरे तर हामी कसैलाई कैदमा हालेनन्‌। अन्ततः जुलाई २१, १९४१ का दिन इनकोगनिटोगाइन २८ बि-मा अवस्थित सोसाइटीको भवन जफत गरियो र हाम्रो प्रचारकार्यमा प्रतिबन्ध लगाइयो। म फेरि कोपर्भेक नै फर्कें र जीवन धान्‍न जागिर खाएँ।

त्यतिबेला बुबा अग्रगामीको रूपमा सेवा गर्दै हुनुहुन्थ्यो। एक दिन नाजीहरू आएर बुबाको घर खानतलास गरे। तिनीहरूले उहाँको बाइबल, बाइबल अनुक्रमणिकालगायत उहाँका सबै साहित्यहरू लगे। यस समयावधिमा हामीले अलिअलि मात्र आध्यात्मिक भोजन पायौं। आध्यात्मिकतामा बलियो रहन सरकार (अंग्रेजी) जस्ता पुराना पुस्तकहरू दोऱ्‍याई तेऱ्‍याई पढ्‌थ्यौं र प्रचार गर्न छाडेनौं।

दुःखको कुरा, थुप्रै ठाउँहरूमा भाइहरूबीच फुट भयो। कसैको विचारमा हामीले खुल्लमखुल्ला घरघरमा गएर प्रचार गर्नुपर्थ्यो भने, अरू कसैको विचारमा चाहिं मानिसहरूलाई अरू नै ढंगमा सम्पर्क राखेर गोप्यतासाथ काम गर्नुपर्छ भन्‍ने थियो। अतः एक समय मिलेर काम गर्ने केही प्रतिष्ठित भाइहरू जसलाई हामी औधी माया गर्थ्यौं, अब त उहाँहरूबीच बोलचाल नै थिएन। साक्षीको हैसियतमा जीवनमा अरू कुनै कुराले मलाई यत्तिको चित्त दुखेको थिएन।

युद्धपछिका नयाँ गतिविधि

युद्धपछि अर्थात्‌ १९४५ को गर्मी याममा भाइ डे नर्वे आउनुभयो र ओस्लो, साइन तथा बर्गनमा सभाहरूको आयोजना गर्नुभयो। उहाँले आपसमा भएको मतभेद हटाउन आह्वान गर्नुभयो र त्यसो गर्न चाहने सबैलाई उठ्‌न आग्रह गर्नुभयो। सबै जुरुक्क उठे! डिसेम्बर १९४५ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष नेथन एच. नरको भ्रमणपछि विवाद सधैंको लागि साम्य भयो।

त्यति नै बेला, जुलाई १७, १९४५ मा शाखा निरीक्षक भाइ इनोक इमेनबाट यस्तो टेलिग्राम पाएँ: ‘तपाईं कहिले बेथेल फर्कन सक्नुहुन्छ?’ कसैले मलाई घरमै बसेर ७० वर्ष नाघिसक्नुभएको बुबाको हेरचाह गर्नुपर्छ भने। तर बुबाले बेथेल सेवा कायम गर्न प्रोत्साहन दिनुभयो र मैले सुरु गरें पनि। सन्‌ १९४६ मा संयुक्‍त राज्यका भाइ मार्भिन एफ एन्डरसन हाम्रो शाखाको निरीक्षक हुनुभयो र प्रचारकार्य पुनः संगठित गरियो।

गर्मीको छुट्टीमा म परिवारलाई भेट्‌न कोपर्भेक जान्थें। मेरो दाइ, भाइ र दुइ बहिनी साक्षी भएनन्‌ तर बुबा र मप्रति मित्रैलो व्यवहार नै गर्थे। दाइ बन्दरगाहको सुपरिवेक्षक तथा पाइलटमास्टर हुनुभयो र भाइ चाहिं शिक्षक भयो। म भौतिक रूपमा धनी नभए तापनि बुबाले तिनीहरूलाई यसो भन्‍नुहुन्थ्यो: “ओटेल्ये तिमीहरूभन्दा धनी छिन्‌।” अनि त्यो साँचो पनि हो! तिनीहरूले कमाइरहेको धनलाई मैले आध्यात्मिक धनबाट उठाइरहेको आनन्दसित तुलना गर्न सकिंदैन! बुबा १९५१ मा ७८ को उमेरमा बित्नुभयो। आमा त १९२८ मै बितिसक्नुभएको थियो।

मेरो जीवनमा सबैभन्दा अविस्मरणीय घटना चाहिं १९५३ मा न्यु योर्क शहरमा सम्पन्‍न यहोवाका जनहरूको अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित हुन पाउनु थियो। त्यस वर्ष संसारभरि प्रकाशकहरूको संख्या ५,००,००० पुग्यो र त्यस अधिवेशनमा १,६५,००० उपस्थित थिए! सन्‌ १९५३ को अधिवेशनअगाडि यहोवाको संगठनको मुख्यालय ब्रूकलिन बेथेलमा एक हप्ता सेवा गरें।

आफूले सक्दो गरिरहेकी छु

अहिले मोतीबिन्दुले गर्दा राम्ररी देख्न सक्दिनँ। ठूलो अक्षरहरूमा छापिएका लेखहरू म अझै बाक्लो चस्मा र म्यागनिफाइंग शिशाको मदतले पढ्‌नसक्छु। मसीही बहिनीहरू मलाई भेट्‌न आउँछन्‌ र हप्ताको दुइ चोटि लेखहरू पढेर सुनाउँछन्‌। त्यसको लागि म आभारी छु।

प्रचार कार्यमा पनि उस्तो जान सक्दिनँ। गर्मीको मौसममा मसीही बहिनीहरूले मलाई ह्वीलचेरमा राखेर कहिलेकाहीं बाहिर लग्छन्‌ र अलिक प्रचार गर्नसक्छु। नियमित रूपमा कोपर्भेकका स्कूलहरूमा अझै पत्रिका तथा पुस्तिकाहरू डाँकद्वारा पठाउँछु। मैले झन्डै १०० वर्षअगाडि पढेको माध्यमिक स्कूलमा पनि पठाउने गर्छु। यसरी अझै नियमित प्रकाशक हुन सकेकोमा म खुशी छु।

संयोगवश बेथेलमा मेरो कोठा, खाना खाने ठाउँ र राज्यभवन एउटै तल्लामा छ। सन्‌ १९८३ देखि ओस्लोबाहिर यित्रे इनेबाकमा बेथेल अवस्थित छ। त्यसैले वकरको सहायतामा बिहानको उपासना, खाना खान र सभाहरूमा जानसक्छु। अझै अधिवेशन तथा सम्मेलनहरूमा जान पाएकोमा म खुशी छु। पहिलादेखि चिनेका साथीहरू तथा नयाँ भाइबहिनीहरू र थुप्रै ज्ञानी बच्चाहरूलाई भेट्‌न पाउँदा म रमाउँछु।

अन्तसम्मै विश्‍वासी रहने

बेथेलमा सक्रिय, असल र आध्यात्मिक मानिसहरूसँगै बस्न पाउनु आशिष्‌ हो। मैले बेथेल सेवा सुरु गर्दा सम्पूर्ण परिवार नै स्वर्गीय आशा भएका थिए। (फिलिप्पी ३:१४) अब मबाहेक अरू सबै पार्थिव प्रमोदवनमा बस्ने आशा गर्छन्‌।

हो, यहोवाले पहिला नै हस्तक्षेप गर्नुहुनेछ भनी आशा गरेका थियौं। यद्यपि, ठूलो भीड झन्‌ झनै ठूलो भएर गएको देख्दा म हर्षित हुन्छु। कस्ता कस्ता वृद्धिहरू मैले देखेकी छु! मैले पहिलो चोटि सेवकाईमा भाग लिंदा संसारभरि झन्डै ५,००० प्रकाशकहरू थिए। अहिले ५४,००,००० भन्दा बढी छन्‌! निस्सन्देह, मैले “थोरै चाहिं हजार . . . र तुच्छ चाहिं एउटा सामर्थी जाति” भएको देखेकी छु। (यशैया ६०:२२) अगमवक्‍ता हबकूकले लेखेझैं हामीले यहोवाको बाटो हेर्दै बस्नुपर्छ: “त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने