कोरीको रूपमा मेरो जीवन—आनन्दमय र आध्यात्मिक तवरमा आशिषित्
आइजेया आडेङबोनाको वृत्तान्तमा आधारित
म नाइजेरियाको आकुरेमा हुर्कें। मेरो परिवारले तरुल, केरा, कासाभा र कोकाको खेती गर्थ्यो। म स्कूल गएको बुबालाई मन पर्दैनथ्यो। उहाँले मलाई भन्नुहुन्थ्यो: “तिमी किसान हौ। तरुल खेती गर्नेलाई केको पढाइ सढाइ?”
तैपनि मलाई पढ्ने इच्छा थियो। साँझपख, घरमै शिक्षक आएर पढाइदिने बच्चाहरूको घरको झ्यालमा घाँटी तन्काएर म सुन्ने गर्थें। यो १९४० को कुरा हो। त्यतिबेला म १२ वर्ष जतिको थिएँ। ती बच्चाहरूका बुबा मलाई देख्यो कि गाली गर्दै लखेट्थ्यो। तैपनि म त्यहाँ जान छोडिनँ। कहिलेकाहीं शिक्षक नआउँदा म सुटुक्क भित्र पस्थें र तिनीहरूसँगै बाल पुस्तकहरू हेर्थें। कहिलेकाहीं तिनीहरू मलाई किताब घर लग्न पनि दिन्थे। त्यसरी मैले लेखपढ गर्न सिकें।
परमेश्वरका जनहरूको साथमा
समय बित्दै जाँदा मैले बाइबल पाएँ र सुत्नुअघि नियमित तवरमा पढ्न थालें। एक रात मैले मत्ती अध्याय १० पढें, जहाँ येशूका चेलाहरू घृणाका पात्र हुनेछन् र मानिसहरूबाट सतावट भोग्नेछन् भनी लेखिएको छ।
मेरो घरमा यहोवाका साक्षीहरू आउँदा तिनीहरूसित नराम्रो व्यवहार गरिएको मैले सम्झें। येशूले भन्नुभएका मानिसहरू कतै यिनीहरू त होइनन् जस्तो मलाई लाग्नथाल्यो। अर्को चोटि साक्षीहरू आउँदा मैले एउटा पत्रिका लिएँ। तिनीहरूसित संगत गर्न थालेपछि म पनि हाँसोको पात्र भएँ। यद्यपि, मानिसहरूले जति बढी मलाई हतोत्साहित गर्न खोजे त्यति नै बढी साँचो धर्म पाएको छु भनेर विश्वस्त अनि आनन्दित हुन थालें।
मेरो इलाकामा भएका अन्य धार्मिक समूहहरूले जस्तै साक्षीहरूले आफ्नो उपासना स्थानीय झूटो धर्मको चलन र परम्परासित छ्यासमिस नगरेको देखेर म अत्यन्तै प्रभावित भएँ। उदाहरणका लागि, मेरो परिवार एंगलिकन चर्च जान्थ्यो तर बुबाले घरैमा यरुवा भगवान् ओगुनको मन्दिर स्थापित गर्नुभएको थियो।
बुबाको मृत्युपछि त्यो मन्दिर मेरो हुनेथियो। तर बाइबलले मूर्तिपूजाको विरोध गर्ने थाह भएकोले मैले त्यो राख्ने मन गरिनँ। यहोवाको मदतद्वारा मैले आध्यात्मिक तवरमा उन्नति गरें र डिसेम्बर १९५४ मा बप्तिस्मा लिएँ।
कुष्ठ रोग लाग्नु
त्यही वर्षको सुरुतिर मेरो खुट्टा सुन्निन र लाटो हुन थाल्यो। ज्यादै तातो कोइलामा टेक्दा पनि पटक्कै पोल्दैनथ्यो। केही समयपछि, निधार र ओठमा रातो घाउहरू देखिन थाले। तर न मेरो परिवारलाई नता मलाई नै के भइरहेको हो भनेर थाह थियो। हामीले लुतो लागेको होला भन्ठान्यौं। उपचारको निम्ति पालैसँग १२ जना आयुर्वेदहरूकहाँ चाहाऱ्यौं। बल्ल एक जनाले मलाई कुष्ठ रोग लागेको कुरा बतायो।
यो कुरा सुन्दा छाँगोबाट खसेजस्तै भएँ! म निराश भएँ र राम्ररी सुत्न पनि सकिनँ। डरलाग्दा सपनाहरू देख्न थालें। तर बाइबल सत्यको ज्ञान र यहोवामाथि भर परेकोले भविष्यबारे विश्वस्त हुनसकें।
धामीकहाँ बलि चढायो भने मेरो रोग निको हुनसक्छ भनी मानिसहरूले मेरी आमालाई भन्न थाले। तर त्यसो गर्दा यहोवा अप्रसन्न हुनुहुनेछ भनी थाह भएकोले म गइनँ। त्यहाँ म केही गरे पनि जाँदैन भन्ने थाह पाएपछि मेरी आमाका साथीहरूले कोला नट लगेर मेरो निधार छुआउने सुझाउ दिए। अनि आमाले त्यो कोला नट धामीकहाँ लगेर मेरो निम्ति बलि चढाउनुपर्थ्यो। म त्यसमा पनि भाग लिन चाहन्नथें र आमालाई पनि त्यसै भनें। आखिरमा उहाँले मलाई मूर्तिपूजामा सम्मिलित गराउने प्रयास गर्नै छोड्नुभयो।
अस्पताल जाउञ्जेल कुष्ठ रोग एकदम फैलिसकेको थियो। मेरो जीउभरि घाउ नै घाउ थियो। अस्पतालमा तिनीहरूले मलाई औषधी दिए र बिस्तारै मेरा घाउहरू निको हुनथाले।
तिनीहरूले म मऱ्यो भन्ठाने
तर त्यो त मेरो समस्याको सुरुआत मात्र थियो। मेरो दायाँ खुट्टा नराम्रोसित संक्रमित भयो र १९६२ मा त्यो काट्नै पऱ्यो। शल्यक्रियापछि अन्य जटिल शारीरिक समस्याहरू भयो। चिकित्सकहरूले म बाँच्ने आशै मारिसकेका थिए। एक गोरा मिसनरी पादरी मेरो अन्तिम संस्कारको निम्ति आए। म अत्यन्तै कमजोर भइसकेको थिएँ। एक जना नर्सले म यहोवाको साक्षी हो भनी पादरीलाई सुनाइदिइन्।
पादरीले मलाई यसो भने: “स्वर्ग जानको निम्ति के तिमी क्याथोलिक हुन चाहन्छौं?” म भित्रभित्रै हाँसे। जवाफ दिन बलको निम्ति यहोवासित प्रार्थना गरें। एकदमै बल गरेर बल्लतल्ल “नाइँ” भन्नसकें। पादरी फनक्क फर्केर गयो।
मेरो अवस्था यति नाजुक भयो कि अस्पतालका कर्मचारीहरूले म मऱ्यो भन्ठाने। तिनीहरूले मेरो अनुहार तन्नाले छोपिदिए। तर शवगृहमा चाहिं लगेनन् किनभने पहिला डाक्टर वा नर्सले म मऱ्यो भनी प्रमाणित गर्नुपर्थ्यो। कोही डाक्टरहरू पनि ड्युटिमा थिएनन् र नर्सहरू सबै पार्टीमा गएका थिए। त्यसैले रातभर मलाई वार्डमा त्यतिकै छोडे। भोलिपल्ट बिहान डाक्टर बिरामीहरूलाई हेर्न आउँदा मलाई अझै छोपिराखेकोले म मरिसक्यो भन्ठानेर मकहाँ कोही पनि आएनन्। आखिरमा तन्नाले छोपिराखेको “मुर्दा” चलिरहेको कसैले देखेछ!
जे होस्, म निको भएँ र डिसेम्बर १९६३ मा तिनीहरूले मलाई दक्षिण-पश्चिम नाइजेरियामा अवियोकेटा कुष्ठ रोग अस्पतालको आवासगृहमा सारे। त्यसबेलादेखि मेरो घर त्यही भएको छ।
मेरो प्रचारकार्यमा सतावट
त्यहाँ झन्डै ४०० जना कुष्ठ रोगीहरू थिए र म मात्रै यहोवाको साक्षी थिएँ। मैले सोसाइटीलाई पत्र लेखें र तुरुन्तै आकोमोजी मण्डलीले मसित सम्पर्क राख्यो। यसरी आफ्ना भाइहरूसित मेरो सधैं सम्पर्क थियो।
त्यस आवासगृहमा पुग्ने बित्तिकै मैले प्रचार गर्न थालें। मेरो यस कार्य देखेर स्थानीय पास्टर खुसी थिएनन् र तिनले कल्याणकारी कार्यालयको अधिकारीलाई रिपोर्ट गरिदिए। त्यस कल्याणकारी अधिकारी अलि उमेर पाकिसकेका जर्मन थिए। शिक्षादीक्षा केही नभएकोले अरूलाई सिकाउने मेरो कुनै अधिकार छैन भनी तिनले भने। सायद मेरो अयोग्यता देखेर गल्ती कुरा सिकाउला भन्ने डर तिनलाई लाग्यो होला। कुरा नसुनेमा मलाई आवासगृहबाट निकालिने र कुनै उपचार पनि नदिने थियो। त्यसपछि मलाई तिनले एक शब्द पनि बोल्न दिएनन्।
अनि तिनले अरूले पनि मसित बाइबल पढ्न नपाउने सूचना निकाले। फलस्वरूप, चासो देखाउने मानिसहरू पनि मकहाँ आउन छोडे।
यस विषयमा बुद्धि र निर्देशनको निम्ति यहोवासित प्रार्थना गरें। अर्को आइतबार आवासगृहमै भएको ब्याप्टिस्ट चर्चमा गएँ तर कुनै पनि धार्मिक सेवामा भाग लिइनँ। सेवाकै दौडान उपस्थितमध्ये कसैले पनि प्रश्न सोध्न पाइन्थ्यो। मैले हात उठाएर प्रश्न गरें: “सबै असल मानिसहरू स्वर्ग जाने र खराब मानिसहरू अन्तै जाने भए यशैया ४५:१८ मा परमेश्वरले पृथ्वीलाई आबाद गर्न बनाउनुभयो भनी किन भनेको त?”
त्यहाँ गुनगुन हुन थाल्यो। आखिरमा, मिसनरी पास्टरले परमेश्वरका तौरतरिकाहरू हामी जान्न सक्दैनौं भने। त्यसपछि मैले १,४४,००० मात्र स्वर्ग जान्छन्, दुष्टहरूको नाश हुनेछ अनि धर्मीहरू चाहिं पृथ्वीमा सधैंभरि बाँच्नेछन् भनी शास्त्रपदबाट पढेर आफैले आफ्नो प्रश्नको जवाफ दिएँ।—भजन ३७:१०, ११; प्रकाश १४:१, ४.
जवाफको मूल्यांकन गर्दै सबैले ताली बजाए। अनि पास्टरले यसो भने: “फेरि एकचोटि ताली बजाउनुहोस् किनभने यस मानिसलाई बाइबलबारे साँच्चै राम्ररी थाह छ।” त्यस सेवाको समाप्तपछि कोही कोहीले आएर मलाई यसो भने: “पास्टरलाई भन्दा तपाईंलाई पो बढी थाह रहेछ!”
मलाई निकाल्न अझै दबाब
त्यस घटनापछि धेरै हदसम्म सतावट कम भयो र मानिसहरूले फेरि बाइबल अध्ययन गर्न थाले। तथापि, विरोधीहरू अझै थिए र तिनीहरू कल्याणकारी कार्यालयका अधिकारीलाई मलाई निकाल्न दबाब दिन्थे। त्यस चर्च सेवाको झन्डै एक महिनापछि मलाई बोलाएर तिनले यसो भने: “तिमी किन प्रचार गर्न छोड्दैनौ? मेरो देशमा मानिसहरूले यहोवाका साक्षीहरूलाई मन पराउँदैनन् र यहाँ पनि यस्तै हो। मलाई किन सताइरहन्छौ? तिमीलाई यहाँबाट निकाल्नसक्छु भनेर तिमीलाई थाह छैन?”
मैले यस्तो जवाफ दिएँ: “बाबा, म तीन कारणले तपाईंको आदर गर्छु। पहिलो त तपाईं मभन्दा पाको हुनुहुन्छ र बाइबलले कपाल फुलेकाहरूको आदर गर भन्छ। तपाईंको आदर गर्नुको दोस्रो कारण तपाईं आफ्नो देश छोडेर हामीलाई यहाँ मदत गर्न आउनुभएकोले हो। तेस्रो कारण चाहिं, तपाईं दयालु र उदार हुनुहुन्छ साथै निराश भएकाहरूलाई सहयोग गर्नुहुन्छ। तर मलाई यहाँबाट निकाल्न तपाईंसित के अधिकार छ जस्तो तपाईंलाई लाग्छ? यस देशका राष्ट्रपतिले यहोवाका साक्षीहरूलाई देशनिकाला गरेका छैनन्। यस प्रान्तको परम्परागत शासकले पनि हामीलाई निकालेका छैनन्। तपाईंले मलाई यस शिविरबाट निकाल्नुभए तापनि यहोवाले मेरो हेरचाह गर्नुहुनेछ।”
यसअघि मैले तिनलाई कहिल्यै त्यस्तो ठाडो जवाफ दिएको थिइनँ तर तिनी प्रभावित भएको भने देख्नसक्थें। तिनी चुइँक्कै नबोली निस्के। पछि अरू कसैले मेरोबारे गुनासो गर्दा तिनी रिसाउँदै यसो भन्थे: “यसमा अबदेखि मलाई नमुछ। तिनले प्रचार गरेकोमा केही आपत्ति छ भने तिनलाई नै गएर भन्नू!”
साक्षरता कक्षा
शिविरको ब्याप्टिस्ट चर्चमा जाने मानिसहरूले मेरो प्रचारकार्यमा अझै सतावट दिइरहे। त्यति नै बेला मेरो मनमा एउटा विचार फुऱ्यो। मैले कल्याणकारी अधिकारीकहाँ गएर साक्षरता कक्षा सञ्चालन गर्नसक्छु कि भनेर सोधें। कति तलब चाहन्छौं भनी सोध्दा मैले सित्तैंमा पढाउने कुरा बताएँ।
तिनीहरूले मलाई कक्षा, कालोपाटी र चकहरूको प्रबन्ध गरिदिए र आवासगृहमै बस्ने केहीलाई पढाउन सुरु गरें। हामी दिनहुँ कक्षा सञ्चालन गर्थ्यौं। पहिलो ३० मिनेट पढ्न सिकाउँथें अनि बाइबलको कुनै कथा बताउँथें। त्यसपछि त्यो कथा बाइबलबाट पढ्थ्यौं।
मेरा विद्यार्थीहरूमध्ये एक निमोटा नाउँ गरेकी स्त्री पनि थिइन्। उनलाई आध्यात्मिक कुराहरूमा गहिरो चासो थियो र चर्च तथा मस्जिद दुवै ठाउँमा धर्मसम्बन्धी प्रश्नहरू गर्थिन्। दुवै ठाउँमा आफ्ना प्रश्नहरूको जवाफ नपाएको हुँदा उनी मलाई सोध्न आउँथिन्। अन्ततः उनले यहोवाप्रति आफ्नो जीवन समर्पण गरिन् र बप्तिस्मा लिइन्। सन् १९६६ मा हामीले विवाह गऱ्यौं।
आज हाम्रो मण्डलीमा भएका धेरैजसोले त्यही साक्षरता कक्षामै लेखपढ गर्न सिके। त्यस्तो कक्षा सञ्चालन गर्ने सुझाउ मेरो बुद्धि बाहिरको कुरा थियो, पक्कै पनि यो यहोवाकै आशिष् थियो। त्यसपछि प्रचार गर्न मलाई कसैले रोक्ने कोसिस गरेन।
शिविरमा राज्यभवन
निमोटा र मेरो विवाह हुनेबेलासम्म हामी चार जना नियमित तवरमा प्रहरीधरहरा अध्ययनको निम्ति भेला हुन्थ्यौं। झन्डै एक वर्षको लागि हामी कुष्ठ रोगीहरूको घाउ सफा गर्ने कोठामा भेला भयौं। अनि अहिलेसम्म मेरो साथी भइसकेका कल्याणकारी अधिकारीले मलाई यसो भने: “यस्तो उपचार गर्ने कोठामा परमेश्वरलाई उपासमा गर्नु राम्रो होइन।”
तिनले हामी सिकर्मीहरूको खाली टहरामा भेला हुनसक्ने बताए। समयमा त्यस टहरा राज्यभवनमा परिणत भयो। सन् १९९२ मा शहरका भाइहरूको मदतद्वारा हामीले निर्माणकार्य पूरा गऱ्यौं। हाम्रो राज्यभवन तपाईंले पृष्ठ २४ को चित्रमा देख्नुभएजस्तै प्लास्टर, रंगरोगन गरेको, सिमेण्टको भुइँ अनि राम्रो छाना भएको पक्की भवन छ।
कुष्ठ रोगीहरूलाई प्रचार गर्ने
विगत ३३ वर्षदेखि मेरो प्रचार गर्ने इलाका यही कुष्ठ रोगीहरूको आवासगृह भएको छ। कुष्ठ रोगीहरूलाई कसरी प्रचार गर्ने? यहाँ अफ्रिकामा प्रायः मानिसहरूले सबै कुरा परमेश्वरबाट आएको हो भनी विश्वास गर्छन्। अतः तिनीहरू कुष्ठ रोगबाट पीडित भएकोमा पनि केही हदसम्म परमेश्वरलाई नै जिम्मेवार ठहराउँछन्। कोही कोही आफ्नो अवस्था देखेर अत्यन्तै निराश हुन्छन्। कोही झनक्क रिसाएर भन्छन्: “मायालु र कृपालु परमेश्वरको कुरै नगर्नुहोस्। परमेश्वर साँच्चै मयालु भए हामी बिरामी हुन्थ्यौं र!” अनि हामी याकूब १:१३ देखाउँदै तर्क गर्छौं जहाँ यसो भनिएको छ: “कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन।” त्यसपछि यहोवाले मानिसहरूलाई किन रोगबाट पीडित हुन दिनुभयो, त्यो बताउनुका साथै परमेश्वरले कोही पनि बिरामी नहुने पार्थिव प्रमोदवन ल्याउने प्रतिज्ञा गर्नुभएको छ भनेर बताउँछौं।—यशैया ३३:२४.
सुसमाचारप्रति थुप्रैले सकारात्मक मनोभाव देखाएका छन्। यस शिविरमा आएदेखि ३० जना भन्दा बढी व्यक्तिहरूलाई समर्पण र बप्तिस्मासम्म पुऱ्याउन यहोवाले मलाई चलाउनुभएको छ। तिनीहरू सबै कुष्ठ रोगी हुन्। यिनीहरूमध्ये निको भएर थुप्रै घर गए भने कोही चाहिं मरे। अहिले हामी सबैगरि १८ जना राज्य प्रकाशकहरू छौं र झन्डै २५ जना सभाहरूमा नियमित रूपमा उपस्थित हुन्छन्। मसमेत दुई जना प्राचीन छन् र एक जना सेवकाई सेवक अनि एक जना नियमित अग्रगामी। यस शिविरमा यति धेरै जना विश्वासी भएर यहोवाको सेवा गरिरहेको देख्दा म साह्रै हर्षित हुन्छु! सुरुमा यहाँ आउँदा एक्लै हुनेछु भन्ने डर थियो तर यहोवाले मलाई अद्भुत ढंगमा आशिष् दिनुभएको छ।
भाइहरूको सेवा गर्दा पाएको आनन्द
यस कुष्ठ रोगको लागि मैले १९६० देखि झन्डै पाँच वर्षअघिसम्म औषधी लिएँ। मण्डलीका अन्य भाइहरूजस्तै अहिले म पूर्णतया निको भइसकेको छु। तर कुष्ठ रोगले आफ्नो खोट भने छोडेको छ, मेरो एउटा खुट्टा छैन र हातहरू सोझ्याउन सक्दिनँ, तर रोग चाहिं निको भइसकेको छ।
मेरो रोग निको भइसकेको हुँदा कोही कोहीले शिविर छोडेर किन नगएको भनी सोध्छन्। मैले छाडेर नजानुका केही कारणहरू छन् तर प्रमुख चाहिं यहीं बसेर भाइहरूलाई मदत गर्नु हो। यहोवाको भेडाको देखभाल गर्दा पाइने आनन्द मेरो परिवारकहाँ फर्कें भने तिनीहरूले दिनसक्ने कुनै पनि कुराभन्दा कता हो कता ठूलो छ।
कुष्ठ रोग लाग्नुअघि नै यहोवालाई चिन्न पाएकोमा म अत्यन्तै कृतज्ञ छु। नत्रता अहिलेसम्ममा मैले आत्महत्या गरिसक्थें होला। वर्षौंको दौडान थुप्रै कठिनाइ तथा समस्याहरू झेलें तर औषधीले होइन, यहोवाले मलाई सँभाल्नुभयो। पहिलेका कुराहरू सम्झँदा म आनन्दित हुन्छु र परमेश्वरको राज्यअन्तर्गत हुने भविष्यबारे सोच्दा त झनै आनन्दित हुन्छु।
[पृष्ठ २५-मा भएको पेटी]
कुष्ठ रोगका तथ्यहरू
यो के हो?
आधुनिक समयमा कुष्ठ रोग एक प्रकारको जीवाणुद्वारा लाग्छ। यो जीवाणु आरमेयर हान्सेनले १८७३ मा पत्ता लगाएका थिए। तिनको कार्यको कदर गर्दै आज डाक्टरहरू यसलाई हान्सेन रोग पनि भन्छन्।
यस जीवाणुले नशा, हड्डी, आँखा र केही खास अंगहरूलाई हानि पुऱ्याउँछ। अक्सर हातखुट्टा लाटो हुन्छ। यो रोगको उपचार नगरेको खण्डमा अनुहार कुरूप हुनुका साथै अंगभंग हुनसक्छ। यस रोगको कारण मानिसहरू कमै मात्रामा मर्ने गर्छन्।
उपचार छ?
हल्का खालको कुष्ठ रोग औषधी नखाए पनि निको हुन्छ। अलि गम्भीर खालको चाहिं औषधीद्वारा निको पार्न सकिन्छ।
कुष्ठ रोग विरुद्ध औषधी पहिलो चोटि १९५० मा निकालिएको थियो। तर यसका असरहरू झट्टै देखिंदैनथ्यो र पछि कुष्ठ रोगका जीवाणुले प्रतिरोध गरेकोले यो औषधी प्रभावहीन साबित भयो। नयाँ औषधीहरू निकालियो र १९८० को सुरुदेखि विश्वभरि मल्टी ड्रग थेरापी (एम डि टि) प्रयोगमा ल्याइएको छ। यो उपचार तीन औषधीहरूको मिश्रण हो। ती हुन्, ड्यापसन, रिफामपीसीन र क्लोफाजिमाइन। एम डि टि-ले जीवाणुलाई मारे तापनि क्षति भइसकेका अंगहरूलाई जस्ताको तस्तै पार्न सक्दैन।
यो रोग निको पार्न एम डि टि अत्यन्तै प्रभावकारी छ। फलस्वरूप, कुष्ठ रोग लागेका मानिसहरूको संख्या १९८५ मा एक करोड बीस लाखबाट झरेर १९९६ को बीचसम्ममा झन्डै एक करोड पुगेको छ।
यो कत्तिको सरुवा छ?
कुष्ठ रोग सरुवा रोग होइन, प्रायजसो मानिसहरूमा यो रोग प्रतिरोध गर्ने क्षमता हुन्छ। यो रोगले अक्सर लामो समयदेखि कुष्ठ रोगीसित सम्पर्क भएको मानिसलाई सर्छ।
यस रोगका जीवाणु मानिसभित्र कसरी छिर्छ भनेर डाक्टरहरूले यकिन गर्न सकेका छैनन् तर ती जीवाणुहरू छाला वा नाकबाट जाने शंका गरेका छन्।
भविष्यमा आशा
सन् २००० सम्म यो रोगलाई “पूर्णतया” हटाउने लक्ष्य राखिएको छ। यसको अर्थ १०,००० जना व्यक्तिहरू छन् भने एक जनालाई भन्दा बढीलाई यो रोग लाग्नेछैन। परमेश्वरको राज्यमा त यसको नामोनिसान रहनेछैन।—यशैया ३३:२४.
स्रोतहरू: विश्व स्वास्थ्य संघ; इन्टरनेशनल फेड्रेसन अफ एन्टी-लेप्रोसी एसोसिएसन र म्यान्सन ट्रपिकल डिजिज, १९९६ संस्करण।
[पृष्ठ २७-मा भएको पेटी]
अहिलेको कुष्ठ रोग बाइबलको समयको जस्तै हो?
आजका चिकित्सासम्बन्धी पाठ्यपुस्तकहरूले कुष्ठ रोगलाई निश्चित ढंगमा बयान गरेका छन्। यस रोगमा सम्मिलित जीवाणुको वैज्ञानिक नाउँ माइक्रोब्याक्टेरियम लेप्रे हो। बाइबल पक्कै पनि चिकित्सासम्बन्धी पुस्तक होइन। “कोर” भनेर अनुवाद गरिएको हिब्रू र युनानी शब्दको थुप्रै बाइबल अनुवादहरूमा विस्तृत अर्थ छ। उदाहरणका लागि, बाइबलमा कुष्ठ रोगका लक्षणहरू मानिसहरूमा मात्र नभई लुगाफाटो र घरहरूमा पनि हुन्थ्यो। यो त्यस जीवाणुले गर्दैन।—लेवी १३:२, ४७; १४:३४.
यसबाहेक, आजका कुष्ठ रोगका लक्षणहरू बाइबलमा कोरबारे दिइएको विवरणसित त्यति मेल खाँदैन। कोही कोहीले समयको दौडानमा रोगको प्रकृतिमा परिवर्तन भएकोले पनि त्यसो भएको हुनसक्छ भनी बताउँछन्। अरूको भनाइअनुसार बाइबलमा बताइएको कोर रोगमा एम. लेप्रेको कारण हुने रोग समावेश हुन पनि सक्छ, नहुन पनि सक्छ।
कोरको निम्ति अक्सर अनुवाद गरिएको हिब्रू तथा युनानी शब्दबारे नयाँ नियमको धर्मविज्ञानसम्बन्धी शब्दकोश-ले (अंग्रेजी) यस्तो बताउँछ, “कोरले त्यही रोग वा सम्बन्धित रोगको समूहलाई संकेत गरेको हुनसक्छ . . . आज हामीले कुष्ठ रोग भनी वर्णन गरिएको रोग पनि समावेश छ कि छैन, पक्का छैन। यस रोगबारे किटेरै भन्न नसके तापनि [येशू अनि उहाँका चेलाहरूले] चाहिं साँच्चै कोरीहरूलाई निको पार्नुभएको थियो भन्नसक्छौं।”
[पृष्ठ २४-मा भएको चित्र]
कुष्ठ रोगीहरूको शिविरमा भएको राज्यभवनबाहिर मण्डलीका सदस्यहरू
[पृष्ठ २६-मा भएको चित्र]
आइजेया आडेङबोना आफ्नी पत्नी निमोटासित