राज्य उद्घोषकहरूका रिपोर्ट
“तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्”
शक्तिशाली अरामी सेनापति नामानलाई कोर लागेको थियो। उपचार नगरेमा यो घिनलाग्दो रोगले कुरूप बनाउनुका साथै ज्यानै लिनसक्छ। नामानले के गर्नुपर्थ्यो? नामानको घरमा “इस्राएको देशबाट . . . कैद गरेर” ल्याइएको एउटी सानी केटी पनि थिइन्। अगमवक्ता एलीशाले मात्र नामानलाई निको पार्नसक्छन् भनी तिनले निर्भयतापूर्वक बताउँछिन्।—२ राजा ५:१-३.
त्यस केटीले साहसपूर्वक अडान लिएकी हुँदा नामान एलीशाको मदत लिन जान्छन् र निको हुन्छन्। यसबाहेक, नामान यहोवाको उपासक पनि हुन्छन्! बाइबलमा लिपिबद्ध उक्त घटना सा.यु.पू. दसौं शताब्दीमा भएको थियो। (२ राजा ५:४-१५) आज, थुप्रै स-साना बच्चाहरूले राज्य गतिविधिबारे बोल्न त्यस्तै साहस प्रदर्शन गर्छन्। मोजाम्बिकको निम्न अनुभवले यसको पुष्टि दिन्छ।
छ वर्षीय नुनो सुसमाचारका बप्तिस्मा अप्राप्त प्रकाशक हुन्। बप्तिस्मा अप्राप्त प्रकाशक हुनुअघि नै तिनी छरछिमेकका बच्चाहरूलाई बटुल्थे अनि प्रार्थना गरेर बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रकाशन चलाएर बाइबलबारे सिकाउँथे।
नुनो अक्सर शनिबार बिहान सबेरै उठ्छन् र आफ्नो परिवारलाई प्रचारमा जानुपर्छ भनी यसरी सम्झाउँछन्: “आज हामी क्षेत्र सेवकाईमा जानुपर्छ।” सेवकाईको निम्ति तिनको जोस अन्य तरिकाहरूमा पनि प्रकट हुन्छ। आफ्नो आमाबाबुसित मापुटोका सडकहरूमा साक्षी कार्यको निम्ति जाँदा नुनो अक्सर आफै मानिसहरूलाई भेट्न जान्छन्। एकचोटि एक व्यापारीले तिनलाई यस्तो प्रश्न गरे: “तिमी यी पत्रिकाहरू किन बेच्छौ?” नुनोले यस्तो जवाफ दिए: “म यी पत्रिकाहरू बेचिरहेको होइन तर प्रचारकार्यको निम्ति आर्थिक रूपमा मदत गर्न दिएका चन्दाहरू भने स्वीकार्छु।” अनि त्यस व्यापारीले यसो भने: “मलाई चासो त छैन तैपनि म तिम्रो मनोवृत्ति र योग्यता देखेर प्रभावित भएँ। म यस कार्यको निम्ति चन्दा दिन चाहन्छु।”
अर्को चोटि नुनोले सडकमा हिंडिरहेको एक जना मानिसलाई साँचो शान्ति अनि सुरक्षा—तपाईं यो कसरी प्राप्त गर्न सक्नुहुन्छ? (अंग्रेजी) पुस्तक प्रस्तुत गरे। त्यस मानिसले यस्तो प्रश्न गरे: “तिमी ऊ त्यो स्कूलमा पढ्छौ होइन?” नुनोले यस्तो जवाफ दिए: “हो, म त्यही स्कूलमा पढ्छु तर आज चाहिं म यस पुस्तकबाट एउटा महत्त्वपूर्ण सन्देश प्रस्तुत गरिरहेको छु। परमेश्वरले चाँडै ल्याउनुहुने नयाँ संसारमा तपाईं पनि बस्न पाउनुहुनेछ भनी यस पुस्तकले देखाउँछ र यो कुरा यहाँ चित्रमा पनि देखाइएको छ।” तिनीसित कुरा गर्ने मान्छे आफ्नै स्कूलका शिक्षक हुन् भनी नुनोलाई पत्तै थिएन। ती शिक्षकले त्यस पुस्तक मात्र स्वीकारेनन् तर अहिले नुनोबाट नियमित तवरमा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका पनि लिन्छन्।
प्रचारकार्यमा भाग लिन किन मन पर्छ भनी सोध्दा नुनो यसो भन्छन्: “म मानिसहरूलाई यहोवा अनि उहाँका पुत्र येशू ख्रीष्टबारे बताउन र सिकाउन चाहन्छु।” तिनी अझ यसो भन्छन्: “अनि तिनीहरू सुन्न चाहँदैनन् भने केही छैन, रिसाउनु पर्दैन।”
विश्वभरि नुनोजस्ता हजारौं स-साना बच्चाहरूले परमेश्वरको राज्यबारे सिकाउन र प्रचार गर्न “राजी-खुशीले आफैलाई अर्पण” गरेका छन्। (भजन ११०:३) तर यो संयोगको कुरा होइन। शैशवकालदेखि आफ्ना छोराछोरीलाई यहोवाबारे सिकाउने, सेवकाईमा असल नमुना बसाल्ने अनि राज्य गतिविधिको निम्ति जोस देखाउने आमाबाबुले प्रचुर मात्रामा आशिष् पाउनेछन्।