तपाईं आफ्ना छोराछोरीलाई कसरी जोगाउन सक्नुहुन्छ?
निकै वर्ष टोलकै स्कूलमा पढेपछि भेर्नरa उच्च शिक्षाका लागि ब्राजिलको साऊ पाऊलु गई अरू ३,००० केटाहरूसँगसँगै पढ्न थाले। त्यहाँ जीवनमा पहिलो चोटि तिनले साथीहरूले लागूपदार्थ किनबेच तथा सेवन गरेको देखे। फिस्टे देखिने भएकाले अलि हुर्किसकेका विद्यार्थीहरूले तिनलाई घटिया तथा जोखिमपूर्ण ठट्टामा उडाउन थाले।
भेर्नरकी बहिनी इभा पनि समस्याहरूले पिरोलिएकी थिइन्। सकेसम्म राम्रो गर्छु भन्ने चाहनाले रातदिन मेहनत गरेर पढ्दा पढ्दा आखिरमा तिनी क्लान्त भइन्, मानसिक तवरमा थकित भइन्। अन्य किशोरकिशोरीहरूलाई जस्तै भेर्नर र इभालाई पनि शारीरिक तथा भावनात्मक सुरक्षा चाहिएको थियो। तपाईंका छोराछोरीलाई कस्तो मदत चाहिएको छ? वयस्क भएपछि तिनीहरूलाई आफ्नो जीवन धान्नसक्न तपाईं कसरी तयार पार्न सक्नुहुन्छ? वास्तवमा तपाईं आफ्ना छोराछोरीको भविष्य कस्तो होस् भन्ने चाहनुहुन्छ?
गाँस, बास र कपास मात्र भएर पुग्दैन
आज छोराछोरीलाई जोगाउन आमाबाबुले सामना गर्नुपरेका चुनौतीहरू एकपटक विचार गर्नुहोस्। पारिवारिक जीवनको गुणस्तर ह्रास हुँदै गएको र गरिबी बढ्दै गएकोले धेरैजसो मुलुकहरूमा खाते बालकहरूको संख्या दिनहुँ बढ्दैछ। बाल श्रम केटाकेटीहरूलाई शोषित हुनदेखि जोगाउन नसकेको परिणाम हो। लागूपदार्थले पनि धेरै केटाकेटीहरूलाई बरबाद पारिरहेको छ। उदाहरणका लागि, ब्राजिलमा त्यस्तै एक जना किशोर लागूपदार्थको दुरुपयोगमा फस्ने बित्तिकै घरमा रडाको मच्चियो। उसका आमाबाबुले भावनात्मक दबाब भोग्नु त पऱ्यो नै, यसबाहेक उसलाई पहिलेकै अवस्थामा ल्याउन लाग्ने खर्च धान्न पनि धौ धौ पऱ्यो। अनि त्यसमाथि लागू पदार्थका निर्दयी व्यापारीहरू पैसा असुल गर्न ढोकामै आइपुग्थे।
तथापि, जीवनका फिक्रीहरू हुँदाहुँदै पनि धेरैजसो आमाबाबु छोराछोरीलाई गाँस, बास र कपास उपलब्ध गराउनुका साथै हिंसा, लागूपदार्थ तथा अन्य समस्याहरूबाट पनि जोगाउन निरन्तर संघर्ष गरिरहन्छन्। यो कोसिस निकै सराहनीय छ। तर के यतिले मात्र पुग्छ? भावनात्मक तथा आध्यात्मिक क्षतिबाट जोगाउने विषयमा के भन्न सकिन्छ नि? सफल आमाबाबु हुने हो भने छोराछोरीका साथीसंगति तथा मनोरञ्जनसित सम्बन्धित चुनौतीहरूलाई कुशलतासाथ सामना गर्न पनि सक्नुपर्छ भनेर थुप्रैले बुझ्न थालेका छन्। यद्यपि, चौबीसै घण्टा छोराछोरीको पाले बस्नु वा असाध्यै छुट दिनुदेखि पनि आमाबाबु परै बस्नुपर्छ। तर कसरी? यसपछिको लेखमा दिइने जवाफहरू विचार गर्नुहोस्।
[फुटनोट]
a यस लेखमा नाउँ परिवर्तन गरिएका छन्।