तपाईं आफ्ना छोराछोरीको भविष्य कस्तो होस् भन्ने चाहनुहुन्छ?
के तपाईं छोराछोरीलाई बहुमूल्य सम्पत्ति ठान्नुहुन्छ? (भजन १२७:३) अथवा तिनीहरूलाई जसरी हुर्काए पनि सफलता हात नलाग्ने आर्थिक बोझ ठान्नुहुन्छ? छोराछोरी हुर्काउँदा आर्थिक लाभ हुनु त परै जाओस् तिनीहरू आफ्नै खुट्टामा उभिन नसकुञ्जेल खर्च भने पक्कै हुन्छ। पुर्ख्यौली सम्पत्तिको प्रयोग गर्दा राम्रो योजना बनाउनु परेजस्तै सफलतासाथ छोराछोरी हुर्काउन पनि राम्रो योजना बनाउनुपर्छ।
मायालु आमाबाबुहरू आफ्ना छोराछोरीले राम्ररी जीवन धान्न सकोस् भन्ने चाहन्छन्। यो संसारमा दुःखलाग्दा नराम्रा कामहरू भइरहे तापनि आफ्नो सन्तानलाई जोगाउन आमाबाबुले थुप्रै कामकुरा गर्नसक्छन्। अघिल्लो लेखमा उल्लिखित भेर्नर र इभाको परिस्थिति विचार गर्नुहोस्।a
आमाबाबुले साँच्चै हेरविचार गर्दा
भेर्नरका आमाबाबुले पर्दै जान्छ, टर्दै जान्छ भन्नुको साटो तिनले स्कूलमा के गर्दैछन्, चासो देखाउनुभयो भनेर तिनी उल्लेख गर्छन्। “उहाँहरूले दिनुभएका व्यवहारिक सुझाउहरूको म साह्रै कदर गर्थें र मलाई लाग्थ्यो, उहाँहरू मेरो हेरविचार गर्नुहुन्थ्यो, मलाई सहारा दिनुहुन्थ्यो। आमाबाबु हुनुभएकोले उहाँहरूको अडान दृढ त पक्कै थियो तर मेरा सच्चा मित्रहरू भन्नु नै उहाँहरू हुनुहुन्थ्यो भनेर मलाई थाह थियो।” इभा आफ्नो स्कूलकार्यदेखि असाध्यै खिन्न भएर हतोत्साही हुँदा र राम्ररी सुत्न पनि नसक्दा तिनका आमाबाबु फ्राङ्सिस्कु र इनेजले निकै समय दिएर कुराकानी गरे र मानसिक तथा आध्यात्मिक सन्तुलन फेरि कायम गर्न सहयोग गरे।
फ्राङ्सिस्कु र इनेजले आफ्ना छोराछोरीलाई जोगाउने कोसिस कसरी गरे र वयस्क भएपछि तिनीहरूलाई जीवन धान्नसक्न कसरी तयार पारे? यी मायालु आमाबाबु छोराछोरीसँग सानैदेखि घुलमिल हुन्थे। इनेज र फ्राङ्सिस्कु आफ्ना वयस्क मित्रहरूसित मात्र भेटघाट गर्नुको साटो आफू जहाँ जहाँ जान्थे, छोराछोरीलाई त्यहीं त्यहीं लान्थे। मायालु आमाबाबु भएको हुँदा तिनीहरूले छोरा र छोरीलाई उचित डोऱ्याइ पनि दिए। इनेज भन्छिन्: “हामीले उनीहरूलाई घर हेर्न, मितव्ययी हुन र आफ्नो लुगाफाटा जतन गर्न सिकायौं। अनि हामीले उनीहरू दुवैलाई पेशा छान्न र आ-आफ्नो जिम्मेवारी तथा आध्यात्मिक कामकुराबीच तालमेल मिलाउन पनि सहयोग गऱ्यौं।”
आफ्ना छोराछोरीलाई चिन्नु र उनीहरूलाई डोऱ्याइ दिनु कत्ति महत्त्वपूर्ण छ! आउनुहोस्, तपाईंले त्यसै गर्नुपर्ने तीन क्षेत्रहरू जाँचौं: (१) उचित जागिर छान्न छोराछोरीलाई सहयोग गर्नुहोस्; (२) स्कूल र काम गर्ने ठाउँमा भोग्ने भावनात्मक दबाबसित सामना गर्न उनीहरूलाई तयार पार्नुहोस्; (३) उनीहरूलाई आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्ने तरिका सिकाउनुहोस्।
सुहाउँदो काम छान्न सहयोग गर्नुहोस्
जागिर खाँदा त्यसले कुनै व्यक्तिको आर्थिक अवस्थालाई असर गर्नुका साथै उसको समय पनि खान्छ। अतः असल तरिकाले छोराछोरी हुर्काउन प्रत्येक छोरा वा छोरीको रुचि तथा क्षमतालाई विचार गर्नु पनि आवश्यक छ। कुनै पनि कर्तव्यनिष्ठ व्यक्ति अरूमाथि बोझ बन्न नचाहने भएकोले आमाबाबुले छोराछोरीलाई तिनीहरू र तिनीहरूको परिवार धान्नसक्ने बनाउनेबारे गम्भीरतासाथ सोच्नैपर्ने हो। उचित जीवन बिताउन के छोरा वा छोरीले कुनै व्यवसाय सिक्नुपर्ने छ कि? साँच्चै हेरविचार गर्ने आमाबाबु भएको नाताले छोराछोरीलाई परिश्रमी हुन, लगनशील हुन र अरूसित मिलेर काम गर्नसक्ने जस्ता गुनहरू विकास गराउन निरन्तर प्रयास गर्नुहोस्।
निकोललाई विचार गर्नुहोस्। तिनी भन्छिन्: “मेरा आमाबाबु पेट पालाको निम्ति सरसफाईको काम गर्नुहुन्थ्यो र मलाई पनि काम गराउन सँगै लानुहुन्थ्यो। अनि आफूले कमाएको रकममध्ये केही घरखर्चको लागि दिने र बाँकी खर्च वा वचत के गर्ने हो, गर्नू भन्ने सुझाउ दिनुहुन्थ्यो। यसले गर्दा मेरो पनि एउटा दायित्व छ भन्ने लाग्यो जुन अनुभूति पछि निकै कामलाग्दो साबित भयो।”
परमेश्वरको वचन बाइबलले यस्तै जागिर खानुपर्छ भनेर तोकेको छैन। तर उचित निर्देशनहरू भने दिएको छ। उदाहरणका लागि, प्रेरित पावलले उल्लेख गरे: “कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्।” थिस्सलोनिकीका मसीहीहरूलाई पत्र लेख्दा तिनले अझै यसो भने: “तिमीहरूमध्ये कुनै कुनै बेकायदासँग हिंड़ी आफूचाहिं केही काम गर्दैनन्, तर अर्काको काममा हात हाल्छन्, अरे भन्ने हामी सुन्छौं। अब यस्तालाई हाम्रा प्रभु येशूको नाउँले आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरू खुरूखुरू काम गरेर आफ्ना आफ्नै रोटी खाने गरून्।”—२ थिस्सलोनिकी ३:१०-१२.
यद्यपि, जागिर खानु, पैसा कमाउनु नै सबथोक होइन। अत्यन्तै महत्त्वाकांक्षीहरू अन्ततः असन्तुष्ट हुनसक्छन् अथवा आफ्नो सारा मेहनत “बतासलाई खेदेको जस्तो मात्र” रहेछ भनेर महसुस गर्नसक्छन्। (उपदेशक १:१४) आफ्नै पहिचान बनाउनुपर्छ र सम्पन्न हुनुपर्छ भनेर जोड दिनुभन्दा छोराछोरीलाई आमाबाबुले प्रेरित यूहन्नाका यी ईश्वरप्रेरित शब्दहरू बुझ्न मदत गर्नु बेस हुन्छ: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१५-१७.
तिनीहरूको भावनात्मक आवश्यकता कसरी पूरा गर्ने?
आमाबाबुको भूमिका निर्वाह गर्नुपर्दा खेलाडीहरूको प्रशिक्षकजस्तो बन्नुभए कसो होला? प्रशिक्षकले खेलाडीहरूको दगुर्नसक्ने वा अझ धेरै उफ्रनसक्ने शारीरिक क्षमतालाई मात्र विकास गर्ने पक्षमा ध्यान दिंदैनन्। सायद तिनले उनीहरूका जुनसुकै नकारात्मक मनोवृत्तिलाई जित्न सक्दो मदत दिने प्रयास गर्नेछन्। फलतः, उनीहरू भावनात्मक तवरमा बलिया हुन्छन्। तपाईं नि? तपाईं आफ्ना छोराछोरीलाई कसरी प्रोत्साहन अनि उत्प्रेरणा दिन सक्नुहुन्छ?
तेह्र वर्षको ठिटो रोझेर्योलाई विचार गर्नुहोस्। हुर्कंदो उमेरका शारीरिक परिवर्तनहरूले गर्दा तिनी आन्तरिक द्वन्द्वहरूसित जुझ्दै थिए। यसबाहेक तिनले आमाबाबुबीचको अमेल तथा उनीहरूबाट पाइने ध्यानको कमीले गर्दा उत्पन्न भावनात्मक दबाब पनि खपिरहेका थिए। त्यस्तो ठिटोको लागि के गर्न सकिएला? छोराछोरीलाई सबै चिन्ता वा कुप्रभावहरूबाट जोगाउनु सम्भव नभए तापनि आमाबाबुको रूपमा तपाईंले निर्वाह गर्नुपर्ने भूमिकालाई कहिल्यै नत्याग्नुहोस्। चौबीसै घण्टा पाले बस्नुपरे जस्तो नगरी प्रत्येक छोराछोरी प्यारो छन् भन्ने सम्झँदै उनीहरूलाई बुझेर अनुशासन दिनुहोस्। दयालु तथा मायालु हुनुभयो भने हुर्कंदै गरेका छोराछोरीलाई सुरक्षित महसुस गर्न असाध्यै मदत पुग्नेछ। यसले तिनीहरूलाई हुर्केपछि आत्मविश्वास तथा आत्मसम्मान गुमाउनदेखि पनि जोगाउनेछ।
तपाईंका आमाबाबुले तपाईंको भावनात्मक आवश्यकता पूरा गर्न सकून् या नसकून्, निम्न तीन कुराले तपाईंलाई पक्कै पनि एक सफल आमा वा बुबा बन्न सहयोग गर्नसक्छ: (१) आफूलाई परेको समस्यामा मात्रै नघोरिनुहोस्। किनकि त्यसो गर्दा छोराछोरीले भोगिरहेको समस्यालाई साधारण ठानेर लत्याउने मनोवृत्ति तपाईंमा आउनसक्छ; (२) उनीहरूसित हरेक दिन रमाइलो तथा अर्थपूर्ण कुराकानी गर्ने प्रयास गर्नुहोस्; (३) समस्या कसरी समाधान गर्ने र मानिसहरूसित कसरी व्यवहार गर्ने, त्यस सम्बन्धमा पनि सकारात्मक मनोवृत्ति राख्ने प्रोत्साहन दिनुहोस्।
किशोरी छँदाको समयलाई सम्झँदै बिर्गीट भन्छिन्: “कुनै पनि मानिसलाई आफूले चाहेजस्तो आकारमा ढाल्न सकिंदैन रहेछ भनेर मैले सिकेकी छु। कसै कसैको कुनै बानी मन पर्दैन भने तिनीहरूजस्तो नहुनु नै कल्याण हुन्छ भनेर आमा मसित तर्क गर्नुहुन्थ्यो। आफूमा सुधारहरू गर्ने सर्वोत्तम समय कलिलो छँदै हो भनेर पनि उहाँ बताउनुहुन्थ्यो।”
यद्यपि, छोराछोरीलाई कुनै पेसा अंगाल्न वा भावनात्मक तवरमा स्थिर रहन मदत गरेर मात्र पुग्दैन। आफैलाई सोध्नुहोस्, ‘के म छोराछोरी हुर्काउनुलाई परमेश्वरले दिनुभएको जिम्मेवारी ठान्छु?’ ठान्नुहुन्छ भने, तपाईं छोराछोरीको आध्यात्मिक आवश्यकता पूरा गर्न पनि इच्छुक हुनुहुनेछ।
तिनीहरूको आध्यात्मिक आवश्यकता पूरा गर्ने तरिकाहरू
डाँडाको उपदेशमा येशू ख्रीष्टले भन्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) आध्यात्मिक आवश्यकता पूरा गर्नुमा के समावेश छ? यहोवा परमेश्वरप्रति विश्वास प्रकट गर्ने सन्दर्भमा आमाबाबुले राम्रो उदाहरण बसालेका छन् भने छोराछोरीले प्रशस्त फाइदा उठाउनसक्छन्। प्रेरित पावलले लेखे: “विना विश्वास [परमेश्वरलाई] रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।” (हिब्रू ११:६) तथापि, विश्वासलाई वास्तविक बनाउने हो भने प्रार्थना गर्नु आवश्यक छ। (रोमी १२:१२) आफ्नो आध्यात्मिक आवश्यकतालाई बुझ्नुभयो भने तपाईंले पनि शिमशोन, जो इस्राएलका उल्लेखनीय न्यायकर्ता बन्न पुगे, तिनका बुबाले जस्तै ईश्वरीय निर्देशन खोज्नुहुनेछ। (न्यायकर्त्ता १३:८) तपाईं प्रार्थना मात्र गर्नुहुन्न तर मदतको लागि परमेश्वरको प्रेरित वचन बाइबल पनि खोतल्नुहुनेछ।—२ तिमोथी ३:१६, १७.b
उचित निर्देशन, भावनात्मक समर्थन, आध्यात्मिक मदत दिनु गाह्रो भए तापनि छोराछोरी हुर्काउनु इनामदायी हुनसक्छ। ब्राजिलका दुई बच्चाका बुबा भन्छन्: “छोराछोरीबिनाको जीवन त कल्पनासमेत गर्न सक्दिनँ। हामीसित तिनीहरूसँग बाँड्ने थुप्रै कुरा छन्।” छोराछोरी किन असल छन् भनी सोधिएको प्रश्नको जवाफमा आमा चाहिं यसो भन्छिन्: “हामी सधैं सँगै हुन्छौं र हामी जुनसुकै अवसरमा रमाइलो गर्ने र आनन्दित हुने कोसिस गर्छौं। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी सधैं छोराछोरीका निम्ति प्रार्थना गर्छौं।”
समस्यामा पर्दा आमाबाबुले तिनलाई देखाएको माया र धीरज प्रिसिल्ला अझै सम्झिन्छिन्। तिनी भन्छिन्, “उहाँहरू मेरा सच्चा मित्रहरू हुनुहुन्थ्यो र मलाई हर कामकुरामा सहयोग गर्नुहुन्थ्यो। सानै उमेरदेखि मलाई ‘परमेश्वरले दिनुभएको हक’ ठानेर व्यवहार गर्नुभएको महसुस गर्थें।” (भजन १२७:३) अन्य आमाबाबुले जस्तै तपाईंले पनि छोराछोरीसित मिलेर बाइबल तथा मसीही प्रकाशनहरू पढ्न समय मिलाए कसो होला? रमणीय वातावरणमा बाइबल विवरण तथा सिद्धान्तहरूलाई विचार गर्दा छोराछोरीलाई निर्धक्क हुन र भविष्यप्रति निश्चित आशा राख्न मदत पुग्नसक्छ।
सबै केटाकेटीहरू सुरक्षित हुने समय
आज प्रायजसो केटाकेटीहरूका लागि भविष्य धमिलो देखिए तापनि पृथ्वी मानिसजातिको निम्ति सुरक्षित आश्रयस्थल हुनेछ भनी परमेश्वरको वचनले विश्वस्त गराउँछ। छोराछोरीको सुरक्षाबारे आमाबाबुले चिन्तै गर्नु नपर्ने परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारबारे विचार गर्नुहोस्! (२ पत्रुस ३:१३) यस भविष्यवाणीको महान् पूर्ति हुँदा कस्तो गजब होला, कल्पना गर्ने कोसिस गर्नुहोस्: “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।” (यशैया ११:६) यी शब्दहरूमा वर्णन गरिएको आध्यात्मिक सुरक्षा यहोवालाई सेवा गर्नेहरूबीच लाक्षणिक तवरमा आज पनि पूरा भएको छ। तिनीहरूमाझ तपाईंले परमेश्वरको मायालु हेरचाह अनुभव गर्नुहुनेछ। परमेश्वरप्रतिको प्रेम प्रकट गर्नुभयो भने, आमाबाबुले बुझ्नुभएजस्तै उहाँले तपाईंका भावनाहरू बुझ्नुहुन्छ र जीवनमा भोग्नसक्ने चिन्ता र परीक्षाहरूको सामना गर्न मदत गर्नुहुनेछ भनी तपाईं ढुक्क हुन सक्नुहुन्छ। उहाँको वचन अध्ययन गर्नुहोस् र उहाँको राज्यको आशा गर्नुहोस्।
असल उदाहरण बसालेर छोराछोरीलाई अनन्त जीवनको बाटोमा हिंड्न मदत गर्नुहोस्। यहोवा परमेश्वरको शरणमा पर्नुभयो भने तपाईं र तपाईंका छोराछोरीको भविष्य तपाईंले चिताएभन्दा उत्तम हुनेछ। तपाईं पनि भजनरचयिताजस्तै निर्धक्क हुन सक्नुहुन्छ। तिनले यसरी गाए: “तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।”—भजन ३७:४.
[फुटनोटहरू]
a यस लेखमा नाउँ परिवर्तन गरिएका छन्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य किताबको अध्याय ५ देखि ७ हेर्नुहोस्।