ख्रीष्टको छुडौती-परमेश्वरको छुटकारा दिने तरिका
“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
१, २. मानवजातिमाथि आइपरेको दुर्गति वर्णन गर्नुहोस्।
कल्पना गर्नुहोस्, तपाईंलाई शल्यक्रिया गरेन भने ज्यानै जाने रोग लागेको छ। शल्यक्रिया गर्ने खर्च जुटाउनै सक्नुहुन्न भने तपाईंलाई कस्तो लाग्ला? आफ्नो भएभरको सम्पत्ति र साथीभाइबाट पाएको सहायताले पनि खर्च पुगेन भने नि? ज्यानै जानसक्ने यस्तो रोगको सिकार हुनु दुःखदायी हुनसक्छ।
२ आज मानवजातिको अवस्था पनि यस्तै छ। हाम्रो प्रथम आमाबाबु आदम र हव्वालाई सिद्ध सृष्टि गरिएको थियो। (व्यवस्था ३२:४) तिनीहरूसित सधैंभरि बाँच्ने अनि परमेश्वरको यो उद्देश्य पूरा गर्ने प्रत्याशा थियो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्पत्ति १:२८) तथापि, आदम र हव्वाले आफ्नो सृष्टिकर्ताविरुद्ध विद्रोह गरे। (उत्पत्ति ३:१-६) आदम र हव्वाको अनाज्ञाकारीताले तिनीहरूमाथि मात्र होइन तर तिनीहरूका भावी सन्तानहरूमाथि पनि पाप ल्यायो। त्यसैले, विश्वासी पुरुष अय्यूबले पछि यसो भने: “अशुद्धबाट कसले शुद्ध निकाल्नसक्छ? कसैले सक्तैन।”—अय्यूब १४:४.
३. कसरी सबै मानिसमाथि मृत्यु आइपऱ्यो?
३ अतः पाप एउटा रोगजस्तै हो। यसले हामी सबैलाई संक्रमित गरेको छ किनकि बाइबल भन्छ, “सबैले पाप गरेका छन्।” यसले हाम्रो ज्यानै लिनसक्छ। साँच्चै, “पापको ज्याला मृत्यु हो।” (रोमी ३:२३; ६:२३) यसबाट हामी कोही पनि उम्कन सक्दैनौं। सबै मानिस पापी भएकाले सबै मर्छन्। आदमका सन्तति हुनाले हामी सबैले यो अवस्था भोग्नै पर्छ। (भजन ५१:५) पावलले यसो लेखे, “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२) तर यसको मतलब, हाम्रो लागि मुक्तिको आशा नै छैन भन्नेचाहिं होइन।
पाप र मृत्यु नामेट पार्ने
४. मानवजाति किन आफ्नै शक्तिद्वारा रोगबिमार र मृत्यु हटाउन सक्दैन?
४ केले पाप र त्यसको फल अर्थात् मृत्यु नामेट गर्न सक्ला त? स्पष्टतया, मानिसले त गर्नसक्दैन। भजनरचयिताले यसरी विलाप गरे: “तिनीहरूको आत्माको मोल ज्यादै हुन्छ, र कहिल्यै पनि तिर्न नसक्ने हुन्छ। कि यस्ता कोही छैनन् जो सधैं बाँचिरहन्छ, र कुहुनुपर्दैन।” (भजन ४९:८, ९) हो, स्वास्थ्यकर खाना खाएर अनि औषधोपचार गरेर हामी आफ्नो जीवन केही वर्षसम्म बढाउन सकौंला। तर हामी कसैले पनि वंशानुगत पाएको पाप हटाउन सक्दैनौं। हामी बुढेसकालका दुःखदायी असरहरू सुधार्न अनि परमेश्वरको प्रारम्भिक इच्छाअनुसारको सिद्ध शरीर बनाउन सक्दैनौं। पावलले आदमको पापले गर्दा मानव सृष्टि “व्यर्थताको अधीनमा रह्यो” भन्दा, भए नभएका कुरा गरिरहेका थिएनन्। (रोमी ८:२०) तर खुसीको कुरा, यहोवाले हामीलाई त्याग्नुभएको छैन। उहाँले सधैंको लागि पाप र मृत्यु हटाउने प्रबन्ध मिलाउनुभएको छ। कसरी?
५. इस्राएलीहरूलाई दिइएको व्यवस्थामा न्यायबारे कसरी गहन ध्यान दिइएको थियो?
५ यहोवा “धार्मिकता र न्यायलाई निको मान्नुहुन्छ।” (भजन ३३:५) उहाँले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थासंग्रहले सबै पक्षलाई ध्यान दिनुका साथै निष्पक्ष न्याय प्रदान गर्थ्यो। उदाहरणका लागि, व्यवस्थासंग्रहको एक अंशमा हामी “प्राणको सट्टा प्राण” भन्ने पढ्छौं। अर्को शब्दमा भन्ने हो भने, कुनै इस्राएलीले कसैको हत्या गरेमा उसको पनि ज्यान लिइन्थ्यो। (प्रस्थान २१:२३; गन्ती ३५:२१) यसरी ईश्वरीय न्याय निष्पक्षसँग गरिन्थ्यो।—प्रस्थान २१:३० तुलना गर्नुहोस्।
६. (क) कुन अर्थमा आदमलाई हत्यारा भन्न सकिन्छ? (ख) आदमले कस्तो जीवन गुमाए अनि न्यायको तराजु बराबर बनाउन कस्तो बलिदान आवश्यक पर्थ्यो?
६ आदमले पाप गरेर तिनी हत्यारा भए। कुन अर्थमा? तिनले आफ्ना सारा सन्ततिमाथि पाप र पापले मृत्यु ल्यायो। आदमको अनाज्ञाकारीताकै कारण अहिले पनि हाम्रो शरीर कमजोर हुँदै बिस्तारै मृत्युतिर लम्किरहेछ। (भजन ९०:१०) आदमको पापको अझ गम्भीर असरहरू पनि छन्। याद गर्नुहोस्, आदमले आफै अनि आफ्ना सन्तानहरूको निम्ति गुमाएको जीवन ७० वा ८० वर्षको छोटो जीवन थिएन। तिनले सिद्ध अर्थात् अनन्त जीवन गुमाए। अतः “प्राणको सट्टा प्राण” दिनुपर्छ भने तिनले गुमाएको जीवनको निम्ति न्याय पूरा गर्न कस्तो जीवन दिनुपर्ला? यसको निम्ति सिद्ध मानव सन्तान उत्पन्न गर्नसक्ने आदमको जस्तै सिद्ध मानव जीवन दिनु आवश्यक पर्थ्यो। सिद्ध मानव जीवन बलिदान चढाउने हो भने, त्यसले न्यायको तराजु बराबर गर्ने मात्र होइन तर पाप र पापको फल मृत्यु पनि नामेट पार्नेथ्यो।
पापको मोल तिर्ने
७. “छुटकारा” शब्दको अर्थ व्याख्या गर्नुहोस्।
७ हामीलाई पापबाट छुटाउन तिर्नुपर्ने मोललाई बाइबलमा “छुटकाराको मोल” भनिएको छ। (भजन ४९:७) अंग्रेजीमा यस वाक्यांशले अपहरणकारीले अपहरण गरेको व्यक्तिको बद्लामा माग्ने रकम बुझाउँछ। निस्सन्देह, यहोवाले दिनुहुने छुटकारामा कोही पनि अपहरण भएको छैन। तर मोल तिर्नुपर्ने कुराचाहिं आउँछ। भनौं भने, “छुटकारा” भनेर अनुवाद गरिएको हिब्रू शब्दको क्रियापदले “तिर्नु” भन्ने शाब्दिक अर्थ बुझाउँछ। पापको प्रायश्चित गर्न छुटकाराको मोलले आदमको सिद्ध जीवनको मोल तिर्न सक्नुपर्थ्यो।
८. (क) निखन्ने सिद्धान्त व्याख्या गर्नुहोस्। (ख) निखन्ने सिद्धान्त हामी पापीहरूसँग कसरी सम्बन्धित छ?
८ यो मोशाको व्यवस्थाको निखन्ने सिद्धान्तअनुरूप छ। गरिबीको कारण कुनै इस्राएलीले आफूलाई परदेशीको हातमा दासको रूपमा बेच्यो भने उसको नातेदारले दासको मोल तिरेर त्यसलाई निखन्नु (वा छुटकारा दिनु) पर्थ्यो। (लेवी २५:४७-४९, नयाँ संशोधित संस्करण) हामी पापी मानिसहरू “पापको बन्धनमा” छौं भनेर बाइबल बताउँछ। (रोमी ६:६; ७:१४, २५) हामीलाई निखन्न के चाहिन्छ? सिद्ध मानव जीवन प्राप्त गर्न सिद्ध मानव जीवन नै दिनु पर्छ भनेर हामीले थाह पाइसक्यौं—त्योभन्दा बढी वा कम हुनुहुँदैन।
९. यहोवाले पाप ढाक्ने प्रबन्ध कसरी मिलाउनुभयो?
९ निस्सन्देह, सबै मानिसहरू जन्मैदेखि असिद्ध छन्। हामी कोही पनि आदम जस्तो सिद्ध छैनौं। तसर्थ, हामी कसैले पनि न्याय हुन चाहिने छुडौतीको मोल तिर्न सक्दैनौं। सुरुमा उल्लेख गरिएझैं, यो त ज्यानै जानसक्ने रोग जस्तो हो जसलाई निको पार्न शल्यक्रिया गर्ने खर्च नै छैन। के यस्तो अवस्थामा कोही आएर खर्च बेहोरी दियो भने हामी कृतज्ञ हुँदैनौं र? यहोवाले ठीक यसै गर्नुभएको छ! उहाँले हामीलाई सधैंको लागि पापबाट छुटकारा दिने प्रबन्ध मिलाउनुभएको छ। (हिब्रू ९:१२) हो, उहाँ हामी आफैले प्राप्त गर्न नसक्ने चीज दिन इच्छुक हुनुहुन्छ। कसरी? पावलले यसो लेखे, “परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) यूहन्नाले येशू “संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा” हुनुहुन्छ भनेर बताए। (यूहन्ना १:२९) आउनुहोस्, यहोवाले आफ्नो प्रिय पुत्रलाई छुडौतीको मोल तिर्न कसरी प्रयोग गर्नुभयो, हेरौं।
“छुटकाराको मोल”
१०. कसरी “सन्तान[सँग]” सम्बन्धित भविष्यवाणी यूसुफ र मरियममा केन्द्रित भयो?
१० यहोवाले अदनमा विद्रोह हुनेबित्तिकै “सन्तान” उत्पन्न गर्ने आफ्नो उद्देश्य घोषणा गर्नुभयो। त्यो सन्तानले मानिसजातिलाई पापबाट छुटकारा दिने थियो। (उत्पत्ति ३:१५) यहोवाले एकपछि अर्को ईश्वरीय दर्शनद्वारा कुन वंशबाट यो सन्तान आउनेछ भनेर बताउनुभयो। समयको दौडान, ती दर्शनहरू प्यालेस्टाइनमा बस्ने मगनी भइसकेको जोडी यूसुफ र मरियममा केन्द्रित भयो। सपनामा यूसुफलाई मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी छिन्, उसले “एउटा पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ” भनेर बताइयो।—मत्ती १:२०, २१.
११. (क) यहोवाले आफ्नो पुत्रलाई सिद्ध मानवको रूपमा जन्माउने प्रबन्ध कसरी मिलाउनुभयो? (ख) येशूले किन “छुटकाराको मोल” तिर्न सक्नुभयो?
११ यो कुनै साधारण किसिमको गर्भाधारण थिएन किनकि येशूको स्वर्गमा मानवपूर्व अस्तित्व थियो। (हितोपदेश ८:२२-३१; कलस्सी १:१५) उहाँको जीवन यहोवाको चमत्कारिक शक्तिद्वारा मरियमको गर्भमा सारियो। फलतः परमेश्वरको प्रिय पुत्र मानवको रूपमा जन्मन सम्भव भयो। (यूहन्ना १:१-३, १४; फिलिप्पी २:६, ७) यहोवाले यो कार्य गर्नुभएकोले येशूमा आदमको पापको खोट थिएन। यसको सट्टा, उहाँ सिद्ध जन्मनुभयो। अतः उहाँले आदमले गुमाएको कुरा प्राप्त गर्नुभयो। त्यो हो, अनन्त जीवन। अन्ततः पापको मोल तिर्नसक्ने मानव आयो! अनि येशूले सा.यु. ३३ नीसान १४ मा त्यो मोल तिर्नुभयो। उक्त ऐतिहासिक दिनमा येशूले आफूलाई विरोधीहरूको हातमा मर्न दिनुभएर “छुटकाराको मोल” तिर्नुभयो।—१ तिमोथी २:६.
सिद्ध मानव जीवनको महत्त्व
१२. (क) येशू र आदमको मृत्युबीचको महत्त्वपूर्ण भिन्नता उल्लेख गर्नुहोस्। (ख) आज्ञाकारी मानवजातिका लागि येशू कसरी “सनातनका पिता” हुनुभयो?
१२ येशू र आदमको मृत्युमा भिन्नता छ। त्यसले छुटकाराको मोलको महत्त्व प्रकाश पार्छ। आदम मृत्युको योग्य थिए किनकि तिनी जानाजानी आफ्नो सृष्टिकर्ताप्रति अनाज्ञाकारी भए। (उत्पत्ति २:१६, १७) यसको विपरीत, येशू मृत्युको योग्य हुनुहुन्नथ्यो किनकि उहाँले ‘कुनै पाप गर्नुभएन।’ (१ पत्रुस २:२२) अतः येशूको मृत्युमा पापी आदमको मृत्युमा नभएको एउटा अति महत्त्वपूर्ण कुरा थियो। त्यो थियो, मानव जीवन सिद्ध बनाउने अधिकार। अतः येशूको मृत्युमा बलिदानको मूल्य थियो। आत्मिक व्यक्तिको रूपमा स्वर्गारोहण हुनुभएपछि उहाँले आफ्नो बलिदानको मूल्य यहोवालाई प्रस्तुत गर्नुभयो। (हिब्रू ९:२४) यसरी येशूले पापी मानिसजातिलाई निखन्नुभयो अनि आदमको ठाउँमा नयाँ पिता बन्नुभयो। (१ कोरिन्थी १५:४५) यसैकारण, येशूलाई “सनातनका पिता” भनिन्छ। (यशैया ९:६) यसको मतलब के होला, यसो विचार गर्नुहोस् त! पापी पिता आदमले आफ्ना सबै सन्ततिहरूलाई पाप दिए। सिद्ध पिता येशूले आफ्नो बलिदानको मूल्यद्वारा आज्ञाकारी मानिसहरूलाई अनन्त जीवन दिनुभयो।
१३. (क) आदमले लगाएको ऋण येशूले कसरी खारेज गर्नुभयो, व्याख्या गर्नुहोस्। (ख) येशूको बलिदानले किन हाम्रो प्रथम आमाबाबुको पाप ढाक्न सकेन?
१३ तथापि, एक जनाको मृत्युले कसरी धेरैको पाप ढाक्नसक्छ त? (मत्ती २०:२८) केही वर्षअघिको लेखमा छुटकारालाई यसरी व्याख्या गरिएको थियो: “सयौं कर्मचारीहरू कार्यरत भएको एउटा ठूलो कारखानाको कल्पना गर्नुहोस्। कारखानाको बेइमान प्रबन्धकले व्यापार टाट पल्टाउँछ; कारखाना ठप्प बन्द हुन्छ। सयौं कर्मचारीहरू जागिर गुमाउँछन् अनि ऋण तिर्न सक्दैनन्। एक जनाको भ्रष्टाचारले गर्दा तिनीहरूको विवाहित दम्पती, बालबच्चा अनि ऋणदाताहरूले दुःख भोग्नुपर्छ! तब एक जना धनाढ्य उपकारी व्यक्ति आएर कम्पनीको ऋण तिरेर कारखाना चलाउन थाल्छ। कम्पनीको ऋण खारेज गर्नाले थुप्रै कर्मचारी, तिनीहरूको परिवार र ऋणदाताहरूले राहत पाउँछन्। तर के त्यो बेइमान प्रबन्धकले फेरि कारखानामा जागिर पाउँछ? अहँ, उसलाई त जागिरबाट निकालेर झ्यालखानामा हालिन्छ! त्यसैगरि, आदमले लगाएको ऋण तिर्नाले तिनका लाखौं सन्ततिहरूले फाइदा उठाएका छन्। तर आदमले भने फाइदा उठाउन पाएनन्।”
१४, १५. आदम र हव्वा जानाजानी पापी भए भनेर किन भन्न सकिन्छ अनि हाम्रो अवस्था कसरी तिनीहरूको भन्दा भिन्नै छ?
१४ यो न्यायोचित थियो। याद गर्नुहोस्, आदम र हव्वाले जानाजानी पाप गरेका थिए। तिनीहरूले परमेश्वरप्रति अनाज्ञाकारी हुने छनौट गरे। यसको विपरीत, हामीले पाप गर्ने नगर्ने छनौट गर्न पाएनौं किनकि हामी जन्मिंदै पापी थियौं। जतिसुकै प्रयास गरे पनि हामी पापलाई पूर्णतया हटाउन सक्दैनौं। (१ यूहन्ना १:८) कहिलेकाहीं हामीलाई पनि पावललाई जस्तै लाग्नसक्छ। तिनले यस्तो लेखे: “असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ . . . किनकि म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु। हाय, म कस्तो दुःखी मानिस!”—रोमी ७:२१-२४.
१५ यद्यपि, छुडौतीले गर्दा हामीसँग आशा छ! येशू त्यो सन्तान हुनुहुन्छ जसद्वारा परमेश्वरले “पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्” भनेर प्रतिज्ञा गर्नुभएको छ। (उत्पत्ति २२:१८; रोमी ८:२०) येशूको छुडौतीले उहाँमाथि विश्वास गर्नेहरूको निम्ति अद्भुत सुअवसरहरूको ढोका खोलेको छ। आउनुहोस्, तीमध्ये केही छलफल गरौं।
येशूको छुडौतीबाट फाइदा उठाउने
१६. हामी पापी भए तापनि येशूको छुडौतीले गर्दा अहिले कस्ता फाइदाहरू उठाउनसक्छौं?
१६ बाइबल लेखक याकूबले “धेरै कुरामा हामी चुक्तछौं” भनेर मानिलिए। (याकूब ३:२) तथापि, येशूको छुडौतीले हाम्रा गल्तीहरू क्षमा गर्नसक्छ। यूहन्नाले यसो लेखे: “कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ।” (१ यूहन्ना २:१, २) निस्सन्देह, हामीले पापलाई हल्का ठान्नु हुँदैन। (यहूदा ४; १ कोरिन्थी ९:२७ तुलना गर्नुहोस्।) तथापि, गल्ती गऱ्यौं भने यहोवा “क्षमा गर्ने हुनुहुन्छ” भन्ने विश्वाससाथ आफ्नो हृदयका कुराहरू उहाँलाई पोखाउनसक्छौं। (भजन ८६:५; १३०:३, ४; यशैया १:१८; ५५:७; प्रेरित ३:१९) यसरी छुडौतीले हामीलाई सफा अन्तस्करणसहित परमेश्वरको सेवा गर्नुका साथै येशूको नाउँद्वारा उहाँलाई पुकार्न सम्भव बनाएको छ।—यूहन्ना १४:१३, १४; हिब्रू ९:१४.
१७. छुडौतीले गर्दा भविष्यको निम्ति कस्ता आशिष्हरू सम्भव भएका छन्?
१७ येशूको छुडौतीले परमेश्वरको प्रतिज्ञा पूरा हुने बाटो खोल्यो। त्यो हो, आज्ञाकारी मानिसहरू सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्ने। (भजन ३७:२९) पावलले यसो लेखे: “परमेश्वरका जुनसुकै प्रतिज्ञाहरू पनि उहाँमा [येशूमा] ‘हो’ नै भनिएका छन्। (२ कोरिन्थी १:२०) हो, “मृत्युले राज्य” गरेको छ। (रोमी ५:१७) छुडौतीले परमेश्वरलाई यो ‘अन्तिम शत्रु’ नामेट गर्ने आधार प्रदान गऱ्यो। (१ कोरिन्थी १५:२६; प्रकाश २१:४) येशूको छुडौतीबाट मृतकहरूले समेत फाइदा उठाउनसक्छन्। येशूले भन्नुभयो, “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको [येशूको] सोर सुन्नेछन्। औ . . . निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९; १ कोरिन्थी १५:२०-२२.
१८. मानवजातिमाथि पापको कस्तो दुःखदायी असर परेको छ अनि परमेश्वरको नयाँ संसारमा कसरी यसको विपरीत अवस्था हुनेछ?
१८ हामीलाई अहिलेसम्म दबाउने फिक्रीहरूबिना जीवन यापन गर्न पाउनु कत्ति आनन्ददायी हुनेछ, कल्पना गर्नुहोस् त! पापले गर्दा परमेश्वरबाट हामी तर्किएका मात्र होइनौं, हाम्रो मन, हृदय र शरीरको अवस्था पनि बिग्रेको छ। तथापि, परमेश्वरको नयाँ संसारमा “त्यहाँका बासिन्दाहरूले . . . ‘म बिरामी परें’ ” भन्नेछैनन् भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। हो, शारीरिक र भावनात्मक रोगले मानिसहरूलाई पिरोल्ने छैन। किन? यशैया जवाफ दिन्छन्: “त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछ।”—यशैया ३३:२४.
छुडौती—प्रेमको अभिव्यक्ति
१९. हामीले व्यक्तिगत रूपमा येशूको छुडौतीप्रति कसरी प्रतिक्रिया देखाउनुपर्छ?
१९ परमेश्वरलाई आफ्नो प्रिय पुत्र यस संसारमा पठाउन प्रेमले उत्प्रेरित गऱ्यो। (रोमी ५:८; १ यूहन्ना ४:९) त्यसैगरि, येशूलाई ‘हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्न’ प्रेमले उत्प्रेरित गऱ्यो। (हिब्रू २:९; यूहन्ना १५:१३) त्यसैकारण, पावलले लेखे; “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, . . . उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) येशूले हाम्रो निम्ति जे गर्नुभयो, त्यसको मूल्यांकन गऱ्यौं भने हामी त्यसै चुपचाप बस्ने छैनौं। आखिर, छुडौतीले हामीलाई मृत्युबाट मुक्त हुन सम्भव तुल्याएको छ! निस्सन्देह, हामी आफ्नो कामले येशूको छुडौतीलाई फितलो बनाउन चाहँदैनौं।—हिब्रू १०:२९.
२०. येशूको “वचन” पालन गर्ने केही तरिकाहरू के के हुन्?
२० हामी कसरी छुडौतीको हार्दिक मूल्यांकन गर्नसक्छौं? येशूले आफू पक्राउ पर्नुभएको केही समयपछि यसो भन्नुभयो: “कसैले मलाई प्रेम गर्दछ भने, त्यसले मेरो वचन पालन गर्नेछ।” (यूहन्ना १४:२३) येशूको “वचन[मा]” उहाँले हामीलाई अह्राउनुभएको यो काम जोससाथ पूरा गर्नु समावेश छ: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।” (मत्ती २८:१९) येशूप्रति आज्ञाकारी हुन हामीले आफ्ना भाइबहिनीहरूलाई प्रेम गर्नु पनि आवश्यक छ।—यूहन्ना १३:३४, ३५.
२१. हामी अप्रिल १, १९९९ मा स्मरणार्थमा किन उपस्थित हुनुपर्छ?
२१ छुडौतीको मूल्यांकन गर्ने एउटा उत्तम तरिका येशूको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित हुनु हो। यो वर्ष उक्त उत्सव अप्रिल १ तारिख पर्नेछ।a यो पनि येशूको “वचन[को]” भाग नै हो किनकि येशूले यस उत्सवको स्थापना गर्नुहुँदा आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) हामी यो महत्त्वपूर्ण अवसरमा उपस्थित भएर अनि येशूले अह्राउनुभएका सबै कुरा ध्यान दिएर येशूको छुडौती परमेश्वरले छुटकारा दिनुहुने तरिका हो भन्ने दृढ विश्वास प्रदर्शित गर्छौं। साँच्चै, ‘अरू कसैबाट मुक्ति पाउन सक्दैनौं।’—प्रेरित ४:१२.
[फुटनोट]
a यो वर्ष येशूको मृत्यु भएको दिन अप्रिल १ तारिख नीसान १४ मा पर्छ। स्मरणार्थ उत्सव मनाउने समय र ठाउँबारे जानकारी लिन स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस्।
के तपाईं सम्झन सक्नुहुन्छ?
◻ मानिसजातिले किन पापको प्रायश्चित गर्न सक्दैनन्?
◻ कुन अर्थमा येशू “छुटकाराको मोल” हुनुहुन्छ?
◻ येशूले मानव जीवन सिद्ध पार्नसक्ने आफ्नो अधिकार कसरी हाम्रो फाइदाको लागि प्रयोग गर्नुभयो?
◻ येशूको छुडौतीको कारण मानवजातिले कस्ता आशिष्हरू पाएका छन्?
[पृष्ठ १५-मा भएको चित्र]
आदमजस्तै सिद्ध मानिसले मात्र न्यायको तराजु बराबर बनाउनसक्छ
[पृष्ठ १६-मा भएको चित्र]
येशूसित मानव जीवन सिद्ध पार्नसक्ने अधिकार भएकोले उहाँको मृत्युमा बलिदानको मूल्य थियो