परमेश्वरको सेवामा एकताबद्ध ठूला परिवारहरू
भजनरचयिताले यस्तो लेखे: “हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्, गर्भको फलचाहिं उहाँको इनाम हो। वीर योद्धाको हातमा भएका काँड़झैं युवावस्थाका छोराहरू हुन्छन्। त्यो मानिस धन्यको हो, जसको ठोक्रो दिनले भरिएका हुन्छन्।”—भजन १२७:३-५.
हो, छोराछोरीहरू यहोवाबाट आशिष् हुनसक्छन्। अनि जसरी एक योद्धा काँडहरू ठोक्रोमा ठिक्क पर्दा रमाउँछन् त्यसरी नै आमाबाबुले आफ्ना छोराछोरीलाई अनन्त जीवनको मार्गमा डोऱ्याउँदा आनन्द महसुस गर्छन्।—मत्ती ७:१४.
पुरातन समयमा परमेश्वरका जनहरूको माझ ‘ठोक्रो भरिएकाहरू’ अर्थात् धेरै छोराछोरी हुनु सामान्य थियो। उदाहरणका लागि, सम्झनुहोस् त तिनीहरूले मिश्रको कैदमा बिताएका वर्षहरू: “इस्राएलका सन्तानचाहिं फल्दो-फुल्दो भए, र प्रशस्त गरी वृद्धि भएर संख्यामा बढ़े, र ज्यादै शक्तिशाली भए। यहाँसम्म कि देश तिनीहरूले भरिए।” (प्रस्थान १:७) मिश्र प्रवेश गरेका र छोडेका इस्राएलीहरूको संख्या तुलना गरेर हेर्दा कम्तीमा पनि दस जना छोराछोरी हुनु सामान्य थियो!
पछि, येशू हुर्कनुभएको परिवार पनि आज हामीलाई ठूलो लाग्नसक्छ। येशू जेठो छोरा हुनुहुन्थ्यो र पछि यूसुफ र मरियमको अन्य चार छोराहरू तथा केही छोरीहरू भए। (मत्ती १३:५४-५६) मरियम र यूसुफका धेरै छोराछोरी भएकोले नै यरूशलेमबाट फर्कंदा येशू हूलमा नहुनुभएको तिनीहरूलाई किन होसै भएन, हामी बुझ्नसक्छौं।—लूका २:४२-४६.
आजका ठूला परिवारहरू
आज, थुप्रै मसीहीहरूले आध्यात्मिक, आर्थिक, सामाजिक र अन्य कारणहरूले गर्दा परिवार ठूलो बनाउँदैनन्। तथापि, कतिपय समाजमा ठूलो परिवारहरू हुनु सामान्य हो। विश्वका केटाकेटीहरूको अवस्था १९९७-अनुसार (अंग्रेजी) साहारा मरुभूमिको दक्षिणतिर बसोबास गर्ने अफ्रिकीहरूको जन्मदर सबैभन्दा धेरै छ। त्यहाँ, एक महिलाले सालाखाला छ जना बच्चा जन्माउँछिन्।
धेरै छोराछोरी भएका मसीही आमाबाबुले बच्चाहरूले पनि यहोवालाई प्रेम गरोस् भनेर हुर्काउँछन् तर त्यसो गर्नु सजिलो नभए तापनि थुप्रै सफल भएका छन्। सफलता, परिवार शुद्ध उपासनामा एकताबद्ध छ, छैनमा निर्भर हुन्छ। प्रेरित पावलले कोरिन्थका मसीहीहरूलाई लेखेका शब्दहरू आजका मसीही परिवारहरूलाई पनि त्यत्तिकै लागू हुन्छ। तिनले लेखे: “अब ए भाइ हो, . . . तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।” (१ कोरिन्थी १:१०) त्यस्तो एकता कसरी प्राप्त गर्न सकिन्छ?
आमाबाबुहरू आध्यात्मिक व्यक्तिहरू हुनुपर्छ
मुख्य कुरा के हो भने, आमाबाबुहरू पूर्णतया परमेश्वरप्रति समर्पित हुनुपर्छ। मोशाले इस्राएलीहरूलाई के भने विचार गर्नुहोस्: “हे इस्राएली हो सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ! तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर। मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:४-७.
याद गर्नुहोस्, मोशाले परमेश्वरका आज्ञाहरू आमाबाबुले ‘मनमा राख्नुपर्छ’ भनी औंल्याए। अनि मात्र आमाबाबुले आफ्ना छोराछोरीलाई नियमित तवरमा आध्यात्मिक निर्देशन दिनसक्छन्। वास्तवमा, आमाबाबु आध्यात्मिक तवरमा बलियो हुँदा आफ्ना छोराछोरीलाई पनि आध्यात्मिक विषयमा निर्देशन दिन उत्सुक हुन्छन्।
आध्यात्मिक व्यक्ति हुनुका साथै परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले प्रेम गर्नु नियमित तवरमा परमेश्वरको वचन पढ्नु, मनन गर्नु र लागू गर्नु अत्यावश्यक छ। भजनरचयिताले परमेश्वरको व्यवस्थामा आनन्दित हुने तथा यो “दिनरात” पढ्नेहरू “खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ” भनी लेखे।—भजन १:२, ३.
नियमित तवरमा पानी दिंदा रुखले असल फल फलाएझैं आध्यात्मिक तवरमा परिवारलाई पोषण दिंदा यहोवाको प्रशंसा गर्ने ईश्वरीय फलहरू फलाउनेछन्। पश्चिम अफ्रिकामा बसोबास गर्ने उवामेगु परिवार उदाहरणीय छ। उवामेगु तथा उनकी श्रीमतीका आठ छोराछोरी भए तापनि उनीहरू दुवै नियमित अग्रगामी अर्थात् यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक हुन्। तिनी भन्छन्: “हाम्रो परिवारले नियमित बाइबल अध्ययन गर्दै आएको २० वर्षभन्दा बढी भइसक्यो। हामीले छोराछोरीलाई शैशवकालदेखि नै पारिवारिक अध्ययनमा मात्र होइन तर सेवकाई र अन्य समयमा पनि परमेश्वरको वचन सिकायौं। बप्तिस्मा नलिएको छ वर्षको कान्छो छोराबाहेक बाँकी छोराछोरीहरू राज्य सुसमाचारका उद्घोषकहरू हुन्।”
सामूहिकरूपमा काम गर्ने
“बुद्धिले घर बनाउँछ” भनी बाइबल बताउँछ। (हितोपदेश २४:३) त्यस्तो बुद्धिले गर्दा परिवारमा सामूहिक रूपमा काम गर्न मिल्छ। परिवारको “कप्तान” बुबा हुन्छ र तिनी परमेश्वरद्वारा नियुक्त घरको शिर हुन्। (१ कोरिन्थी ११:३) परिवारको शिरको जिम्मेवारी कत्तिको गहन छ भन्नेबारे प्रेरित पावलले प्रेरणा पाएर यसो लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:८.
परमेश्वरको वचनमा पाइने सल्लाहअनुरूप मसीही पतिहरूले आ-आफ्ना पत्नीको आध्यात्मिकताको पनि ख्याल राख्नुपर्छ। घरमा असाध्यै धेरै काम गर्नुपऱ्यो भने तिनको आध्यात्मिकतामा धक्का पुग्छ। एक अफ्रिकी मुलुकमा भर्खरै बप्तिस्मा लिएका मसीहीले आफ्नी श्रीमती आध्यात्मिक कुराहरूप्रति अलि भावशून्य भएको गुनासो प्राचीनसित गरे। प्राचीनले तिनकी श्रीमतीलाई व्यवहारिक मदत चाहियो भनी सल्लाह दिए। अतः तिनले आफ्नी श्रीमतीलाई घरायसी काममा मदत गर्न थाले। तिनले उनलाई पढाइका साथै बाइबलको ज्ञानमा उन्नति गर्न पनि मदत गरे। नतिजा राम्रो भयो र अहिले सम्पूर्ण परिवार परमेश्वरको सेवामा एकताबद्ध छन्।
बुबाहरूले आफ्ना छोराछोरीको आध्यात्मिक आवश्यकताको पनि ख्याल राख्नुपर्छ। पावलले यस्तो लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) बच्चाहरूलाई रीस नउठाउने तथा प्रशिक्षण दिने निर्देशन पालन गर्दा उनीहरूले पनि आफू परिवारको भागजस्तो महसुस गर्नेछन्। फलस्वरूप, आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्न छोराछोरीले एकअर्कालाई मदत तथा प्रोत्साहन दिने सम्भावना धेरै हुन्छ।
सामूहिक रूपमा कामकुरा गर्नुमा छोराछोरीको उमेरअनुसार आध्यात्मिक जिम्मेवारीहरू दिनु पनि समावेश छ। एघार छोराछोरी भएका एक पिता तथा मसीही प्राचीन बिहान सबेरै उठ्छन् र काममा जाने बेला नभएसम्म तिनीहरूमध्ये कोही कोहीसित अध्ययन गर्छन्। हुर्किसकेकाहरूले चाहिं बप्तिस्मा लिइसकेपछि भाइबहिनीलाई पालैपालो मदत गर्छन् र यसमा बाइबल शिक्षा सिकाउनु पनि समावेश छ। बुबाले निरीक्षण गर्छन् र तिनीहरूको प्रयासको सराहना गर्छन्। छ जना छोराछोरीले बप्तिस्मा लिइसके र अरू त्यस लक्ष्यतर्फ बढिरहेका छन्।
खुलस्त कुराकानी र एउटै लक्ष्य
एकताबद्ध परिवारको लागि महत्त्वपूर्ण कुरा मायालु खुलस्त कुराकानी तथा एउटै आध्यात्मिक लक्ष्यहरू हुनु हो। नाइजेरियामा बसोबास गर्ने मसीही प्राचीन गोर्डनका सात छोराछोरी छन् र तिनीहरू ११ देखि २७ वर्षसम्मका छन्। तीमध्ये छ जना आमाबाबुजस्तै अग्रगामीहरू हुन्। भर्खरै बप्तिस्मा लिएका कान्छो छोरा पनि परिवारका अन्य सदस्यहरूसित चेला बनाउने कार्यमा भाग लिन्छन्। दुई वयस्क छोराहरू मण्डलीका सेवकाई सेवकहरू हुन्।
गोर्डनले तिनीहरू प्रत्येकसित व्यक्तिगत रूपमा बाइबल अध्ययन गरे। यसबाहेक, परिवारले बाइबल शिक्षाका विस्तृत कार्यक्रम पनि तयार पारेका छन्। हरेक बिहान तिनीहरू दैनिक पद छलफल गर्न तथा मण्डलीका सभाहरूका लागि तयार पार्न भेला हुन्छन्।
प्रत्येक परिवारको सदस्यका लागि तय गरिएको एउटा लक्ष्य प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाका लेखहरू सबै पढ्नु हो। हालैमा तिनीहरूले आफ्नो तालिकामा दिनहुँ बाइबल पढाइ पनि समावेश गरेका छन्। आफूले पढेको कुरा परिवारका अन्य सदस्यहरूलाई बताउँदा पढ्ने बानी नछोड्न तिनीहरू प्रोत्साहित हुन्छन्।
साप्ताहिक पारिवारिक बाइबल अध्ययनको समयमा कसैलाई सम्झाउनु पर्दैन, सबै उत्सुकतासाथ पर्खिरहेका हुन्छन्। वर्षौंको दौडान छोराछोरीको उमेर तथा आवश्यकताहरूअनुसार पढ्ने विषय, ढाँचा र अवधि फरक फरक भएको छ। परमेश्वरका अन्य विश्वासी दासहरूसित परिवार घनिष्ठ भएका छन् र यसले छोराछोरीमाथि लाभकारी प्रभाव पारेको छ।
परिवारको रूपमा तिनीहरूले कामकुरा सँगै गर्छन् र मनोरञ्जनको लागि पनि समय छुट्याउँछन्। हप्ताको एक चोटि तिनीहरूले “पारिवारिक साँझ” गर्छन् र यसमा हाजिर जवाफ, रमाइला चुट्किला, बाजागाजा बजाउने, कथा भन्ने र त्यसै आराम गरेर बस्ने गर्छन्। कहिलेकाहीं तिनीहरू पार्क वा अन्य रमाइला ठाउँहरूमा जाने गर्छन्।
यहोवामा निर्भर हुनुहोस्
माथि उल्लिखित कुनै पनि कुराले ठूलो परिवारलाई हुर्काउँदा आइपर्ने समस्याहरूलाई कम गर्दैन। “आठ छोराछोरीको निम्ति असल बुबा हुनु एउटा चुनौती हो” भनी एक मसीही भन्छन्। “तिनीहरूलाई सँभाल्न प्रशस्त भौतिक तथा आध्यात्मिक भोजन चाहिन्छ र यसको लागि मैले निकै परिश्रम गर्नुपर्छ। कोही त किशोरावस्थामा पुगिसके र तिनीहरू आठै जना स्कूल जान्छन्। आध्यात्मिक प्रशिक्षण दिनु महत्त्वपूर्ण छ भनी मलाई थाह छ तर कोही कोही जिद्दी र अट्टेरी छन्। तिनीहरूको कारण म दुःखी हुन्छु। हुन त मैले पनि यहोवालाई दुःखी नतुल्याएको त होइन तर उहाँ मलाई क्षमा गर्नुहुन्छ। अतः तिनीहरूको होस नखोलुञ्जेल म धीरजी भएर तिनीहरूलाई सच्याइ रहन्छु।
“धैर्यताको सन्दर्भमा म यहोवाको उदाहरण पछ्याउने कोसिस गर्छु किनभने सबैले पश्चाताप गरोस् भन्ने उहाँ चाहनुहुन्छ। मेरो परिवारसित म अध्ययन गर्छु र मेरा कोही कोही छोराछोरी बप्तिस्माको लक्ष्यतर्फ अघि बढिरहेका छन्। असल नतिजा हासिल गर्न म आफ्नै बलमा मात्र भर पर्दिनँ। आफ्नो बलको भरमा म कति नै गर्नसक्छु र? प्रार्थना गरेर यहोवासित घनिष्ठ हुने प्रयास गर्छु र हितोपदेशले भनेका कुरा लागू गर्न खोज्छु: ‘तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।’ मेरा छोराछोरीहरूलाई प्रशिक्षण दिने कार्यमा यहोवाले मलाई मदत गर्नुहुनेछ।”—हितोपदेश ३:५, ६.
कहिल्यै हरेस नखानुहोस्!
कहिलेकाहीं बच्चाहरूलाई हुर्काउने भनेको जस नपाउने काम जस्तो देखिन्छ तर कहिल्यै हरेस नखानुहोस्! यसमा लागिरहनुहोस्! तपाईंका छोराछोरीले अहिले तपाईंको प्रयासको मूल्यांकन गर्दैनन् वा सकारात्मक प्रतिक्रिया देखाउँदैनन् भने पनि तिनीहरूले पछि गर्नसक्छन्। छोरा या छोरी आत्माको फल फलाउने मसीही हुन समय लाग्नसक्छ।—गलाती ५:२२, २३.
केन्यामा बसोबास गर्ने मोनिका दस छोराछोरीमध्ये एक हुन्। तिनी भन्छिन्: “हाम्रो आमाबाबुले हामीलाई सानैदेखि बाइबल सत्य सिकाउनुभयो। बासित हामी हरेक हप्ता मसीही प्रकाशनहरू अध्ययन गर्थ्यौं। उहाँको कार्य तालिकाले गर्दा सधैं एउटै समयमा अध्ययन हुँदैन थियो। कहिलेकाहीं उहाँ कामबाट घर फर्कंदा हामी बाहिर खेलिरहेका हुन्थ्यौं र अब पाँच मिनेटपछि बाइबल अध्ययन गर्ने भन्नुहुन्थ्यो। हाम्रो बाइबल अध्ययनपछि प्रश्नहरू गर्न वा समस्याहरू बताउन प्रोत्साहित गर्नुहुन्थ्यो।
“उहाँ हामीलाई राम्रो बानीबेहोरा भएका केटाकेटीसित मात्र संगत गर्न दिनुहुन्थ्यो। हामी स्कूलमा कस्ता छौं भनी बुझ्न बा बारम्बार स्कूलमा शिक्षकहरू भेट्न आउनुहुन्थ्यो। यस्तै एकचोटि आउनुहुँदा तीन जना दाइहरूले अरू केटाहरूसित झगडा गरेको र कहिलेकाहीं छुच्चो भएको थाह पाउनुभयो। बदमास भएकोले बाले तिनीहरूलाई सजाय दिनुका साथसाथै ईश्वरीय तरिकामा किन चल्नुपर्छ भनी धर्मशास्त्रबाट बताउनु पनि भयो।
“सभाहरूमा तयार गरेर जाँदा हुने फाइदाहरू हाम्रा बाआमाले देखाउनुभयो। घरमा पनि अभ्यास गरेर हामीले सेवकहरू हुने प्रशिक्षण पायौं। सानैदेखि हामी क्षेत्र सेवकाईमा बाआमासित जान्थ्यौं।
“आज मेरा दुई दाइहरू विशेष अग्रगामी छन्, एक जना दिदी नियमित अग्रगामी छिन् र एक जना विवाह भइसकेकी बहिनीको सम्पूर्ण परिवार नै जोसिला साक्षीहरू हुन्। मेरा १८ र १६ वर्षका दुई बहिनीहरू बप्तिस्मा प्राप्त प्रकाशकहरू हुन्। दुई भाइहरूले प्रशिक्षण पाइरहेका छन्। म चाहिं तीन वर्षदेखि यहोवाका साक्षीहरूको केन्यास्थित शाखा कार्यालयमा सेवा गर्दैछु। म, मेरो आमाबाबुलाई प्रेम गर्नुका साथै मूल्यांकन गर्छु किनभने उहाँहरू आध्यात्मिक व्यक्तिहरू हुनुहुन्छ जसले असल नमुना बसाल्नुभयो।”
तपाईंको जति नै धेरै छोराछोरी भए तापनि तिनीहरूलाई अनन्त जीवनतर्फ डोऱ्याउन मदत दिन कहिल्यै हरेस नखानुहोस्। यहोवाले तपाईंको प्रयासमा आशिष् दिनुभएपछि तपाईंले पनि प्रेरित यूहन्नाले आफ्नो आध्यात्मिक छोराछोरीबारे जस्तै यसो भन्नुहुनेछ: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।”—३ यूहन्ना ४.