प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ४/१ पृ. २८-३१
  • बाल उपासना—इस्राएलीहरूको अन्तर्द्वन्द्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाल उपासना—इस्राएलीहरूको अन्तर्द्वन्द्व
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाल को थिए?
  • किन त्यस्तो विघ्न लोभलाग्दो?
  • तिनीहरू दृष्टिले हिंडे, विश्‍वासले होइन
  • को विजयी भए?
  • बालको उपासनाबाट सिक्नुपर्ने पाठ
  • हाम्रो निष्ठामा अटल रहने
  • के परमेश्‍वर हर प्रकारको उपासना स्वीकार्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • कर्मेल डाँडामा परीक्षा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • निर्णायक कदम चाल्ने समय अहिल्यै हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तिनले साँचो उपासनाको लागि अडान लिए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ४/१ पृ. २८-३१

बाल उपासना—इस्राएलीहरूको अन्तर्द्वन्द्व

इस्राएल राष्ट्रले अन्तर्द्वन्द्व गर्नुपरेको झन्डै हजार वर्ष भइसकेको थियो। एक पक्षमा अन्धविश्‍वासको कारण उत्पन्‍न डर र अनैतिक आचरण, अर्को पक्षमा विश्‍वास तथा वफादारी थियो। यस्तो जीवनमरणको संघर्षमा यहोवाको उपासना विरुद्ध बाल उपासना खडा भएको थियो।

आफूलाई मिश्र देशबाट निकालेर ल्याउने साँचो परमेश्‍वरप्रति के इस्राएल राष्ट्र विश्‍वासी भइरहने थियो? (प्रस्थान २०:२, ३) वा भूमिलाई उर्वर बनाउन प्रतिज्ञा गर्ने कनानको मनपर्ने देव बालको पक्ष लिने थियो?

हजारौं वर्ष अघिको यस आध्यात्मिक द्वन्द्व हाम्रालागि पनि विशेष महत्त्वको छ। किन? पावलले लेखे, “यी कुराहरू, हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्‌, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।” (१ कोरिन्थी १०:११) हामीले बाल को थिए अनि बाल उपासनामा के के समावेश थियो भन्‍ने कुरा बुझ्यौं भने यस ऐतिहासिक द्वन्द्वको चेताउनीको मूल आशय हाम्रोलागि निकै अर्थपूर्ण हुनसक्छ।

बाल को थिए?

इस्राएलीहरू सा.यु.पू. १४७३ तिर कनानमा आउँदा बालबारे पहिलो चोटि थाह पाएका थिए। कनानीहरूले भिन्‍नै नाम अनि फरक प्रकारका थुप्रै देवीदेवताहरूको उपासना गरेका भए तापनि, मिश्री देवीदेवताहरू जस्तै थिए भनी इस्राएलीहरूले थाह पाए। तथापि, बाइबलले बाललाई कनानीहरूको प्रमुख देवताको रूपमा प्रस्तुत गर्छ अनि पुरातात्त्विक उत्खननले पनि तिनको प्रभुताको प्रमाण दिन्छ। (न्यायकर्त्ता २:११) बाल, तिनीहरूको कुलदेव नभए तापनि कनानीहरू तिनलाई अति महत्त्वपूर्ण देव मान्थे। वर्षा, वायु तथा बादलहरूमाथि तिनको अधिकार भएको हुनाले पनि तिनी एक्लैले सबै मानिसहरूका साथै जनावर अनि बालीनालीहरू फल रहित हुनबाट वा मर्नबाट समेत सुरक्षा गर्नसक्छन्‌ भनी तिनीहरू विश्‍वास गर्थे। बालको संरक्षण नपाएमा कनानीहरूको प्रतिशोधी देव मोटले तिनीहरूमाथि विपत्तिहरू ल्याउने थियो।

बाल उपासना अनैतिक यौन प्रचलनसित सम्बन्धित थियो। बालसित सम्बन्धित पवित्र लिंगोहरू तथा पवित्र थामहरूमा समेत लैंगिक अर्थ पाइन्छ। स्पष्टतया, चट्टान अर्थात्‌ छाँटिएका पत्थरहरूद्वारा निर्मित पवित्र लिंगोहरूले बाल अर्थात्‌ पुरुष जननेन्द्रियलाई संकेत गर्थ्यो। अर्कोतर्फ, पवित्र थामहरू काठ वा रूखहरूबाट बनाइन्थ्यो जसले बालकी पत्नी अशेरा देवी अर्थात्‌ योनिलाई संकेत गर्थ्यो।—१ राजा १८:१९.

बाल उपासनाको अर्को विशेषता वेश्‍यावृत्ति र शिशु बलि थियो। (१ राजा १४:२३, २४; २ इतिहास २८:२, ३) द बाइबल एण्ड आर्कियोलोजी नामक पुस्तक भन्छ: “कनानीहरूको मन्दिरमा पुरुष तथा स्त्री वेश्‍याहरू (‘पवित्र’ पुरुष तथा स्त्रीहरू) राखेर हरेक किसिमको यौन दुराचार गरिन्थ्यो। [कनानीहरू] यस्तो संस्कारले अनाज तथा बगालहरूको वृद्धि गर्न मदत गर्छ भन्‍ने विश्‍वास गर्थे।” वास्तवमा, त्यस्तो अनैतिकताले उपासकहरूको कामवासनालाई उत्तेजित गर्थ्यो तर तिनीहरू त्यसको लागि धर्मसित सम्बन्धित कुनै बहाना गर्थे। उसोभए, इस्राएलीहरूलाई बालले कसरी प्रलोभनमा पाऱ्‍यो?

किन त्यस्तो विघ्न लोभलाग्दो?

सायद थुप्रै इस्राएलीहरू सजिलोखाले धर्म मान्‍न रुचाउँथे। बालको उपासना गरेको खण्डमा तिनीहरूले व्यवस्थाका विश्राम दिन अनि थुप्रै नैतिक नियमहरू पालन गर्नुपर्दैनथ्यो। (लेवी १८:२-३०; व्यवस्था ५:१-३) सायद, कनानीहरूको भौतिक सम्पन्‍नता देखेर बाललाई खुसी तुल्याउनैपर्ने रहेछ जस्तो तिनीहरूलाई लागेको होला।

अग्ला अग्ला पहाडका बेंसीहरूको रूखैरूखले ढाकेका बारीहरूमा बनाइएका पूजाथानहरू भनेर चिनिने कनानीहरूको मन्दिरमा त्यहाँको हरियालीले निकै आकर्षक पृष्ठभूमि तयार पारेको हुनुपर्छ। धेरै समय नबित्दै इस्राएलीहरू, ती कनानीहरूको पवित्र ठाउँहरूमा बारम्बार जान थाले तर त्यतिले मात्र चित्त नबुझेर आफैले त्यस्ता ठाउँहरू बनाए। “तिनीहरूले डाँड़ा डाँड़ाहरू हुँदो पूजा गर्ने थान, थामहरू र अस्तारोत देवीका मूर्तिहरू सबै अल्गा अल्गा डाँड़ाहरूमा र झ्याम्म परेका रूखहरूमनि खड़ा गरे।”—१ राजा १४:२३; होशे ४:१३.

बाल उपासनाको प्रमुख पक्ष यौन इच्छा आकांक्षाहरूलाई उत्तेजित पार्नु थियो। (गलाती ५:१९-२१) तिनीहरूले यस्तो यौन उत्तेजनाले भरिएका कुराहरू गर्नुको उद्देश्‍य आफ्नो बालीनाली तथा गाईवस्तुहरू बढाउनु मात्र थिएन। यौनको महिमा गरियो। उत्खनन गर्दा भेटिएका यौन उत्तेजना चित्रित अनि अनैतिकतालाई अचाक्ली जोड दिने स-साना मूर्तिहरूबाट यो कुरा प्रमाणित हुन्छ। त्यस्तै भोजहरू, नाचगान, तथा संगीतले पनि अनैतिक व्यवहार गरूँगरूँ जस्तो बनाउँथ्यो।

हामी भर्खरै शरद्‌ऋतु लाग्दाको एउटा परिस्थिति कल्पना गर्नसक्छौं। प्रकृतिमा आएको परिवर्तन सँगसँगै ती उपासकहरू भोज तथा रक्सीले मात्तिएर नाच्छन्‌। तिनीहरूले यस्तो नृत्य गर्नुको उद्देश्‍य ग्रीष्मऋतुमा निष्क्रिय भएको बाललाई ब्यूँझाउने र त्यसपछि तिनले पानी वर्षाओस्‌ भन्‍ने थियो। तिनीहरू ती थामहरू अनि पवित्र लिंगोहरू वरपर फन्को मार्दै नाच्छन्‌। त्यहाँका वेश्‍याहरूको चाल निकै कामोद्दीपक तथा कामुक छ। संगीत अनि जनसमुदायले तिनीहरूलाई झन्‌ झनै उत्तेजित बनाउँछ। अनि नाच सिद्धिनै लाग्दा ती नर्तकीहरू बालको घरमा रहेका कोठाहरूमा गएर अनैतिक सम्बन्धमा लाग्छन्‌।—गन्ती २५:१, २; तुलना गर्नुहोस्‌, प्रस्थान ३२:६, १७-१९; आमोस २:८.

तिनीहरू दृष्टिले हिंडे, विश्‍वासले होइन

डरले गर्दा थुप्रै इस्राएलीहरू यस्तो कामुक उपासनामा आकर्षित भएका थिए। तिनीहरूले जसै यहोवाप्रति विश्‍वास गुमाउन थाले, मृत्यु र भविष्यप्रतिको डर अनि रहस्यमय कुराहरूप्रतिको चासोले गर्दा प्रेतवादमा लागे। अन्ततः, तिनीहरू अति भ्रष्ट कामकुराहरूमा संलग्न हुनथाले। कनानीहरूले पितृ उपासनामा आत्मालाई कतिको सम्मान गर्थे भन्‍ने कुरा दि इन्टरनेशनल स्ट्याण्डर्ड बाइबल इनसाइक्लोपीडिया यसरी वर्णन गर्छ: “पारिवारिक चिहान वा लाश गाडिएको ढिस्कोमाथि भोजहरू मनाउँथे। त्यसबेला तिनीहरू रक्सीले मात्तिएर यौन अनैतिकतामा संलग्न हुन्थे। (त्यसमा हाडनाताकरणी पनि समावेश हुनसक्छ) मृतकका आत्माले पनि त्यस गतिविधिमा भाग लिन्थे भन्‍ने तिनीहरूको धारणा रहेको पाइन्छ।” त्यस्तो प्रेतवादसम्बन्धी घृणित काम गरेर इस्राएलीहरू यहोवाबाट झन्‌ झनै टाढिए।—व्यवस्था १८:९-१२.

विश्‍वासले हिंड्‌नुको साटो दृष्टिले हिंड्‌न रुचाउने ती इस्राएलीहरूलाई मूर्तिपूजा र त्यससित सम्बन्धित संस्कारहरूले पनि लोभ्याएको थियो। (२ कोरिन्थी ५:७) मिश्रबाट आएका ती थुप्रै इस्राएलीहरूले यहोवाले गर्नुभएका अचम्मलाग्दा चमत्कारहरू देखे तापनि, अझै दृश्‍य चिह्नहरूको आवश्‍यकता महसुस गरे। (प्रस्थान ३२:१-४) तिनीहरूका केही सन्ततिहरूले पनि बालका मूर्तिहरू जस्तै दृश्‍य कुरालाई उपासना गर्ने चाह गरे।—१ राजा १२:२५-३०.

को विजयी भए?

इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुग्नअघि अर्थात्‌ मोआबमा पुगेको बेलादेखि बेबिलोनमा कैद गरेर नलगुञ्जेल, शताब्दियौंसम्म तिनीहरूको अन्तर्द्वन्द्व चर्कंदै गयो। त्यतिञ्जेल हारजितको क्रम चलि नै रह्‍यो। कहिलेकाहीं अत्यधिक इस्राएलीहरू वफादार भए भने बारम्बार बालतिर फर्के। यसो हुनुको प्रमुख कारण तिनीहरू वरपर रहेका मूर्तिपूजकहरूसितको सरसंगति थियो।

कनानीहरू सैनिक युद्धमा हारेपछि शत्रुहरूले चालै नपाउने रणनीति अपनाए। तिनीहरू विजयी इस्राएलीहरूको आसपास बसोबास गरेर आफ्ना देवीदेवताहरूको उपासना गर्न उक्साउन थाले। यस्तो प्रलोभनलाई गिदोन अनि शमूएल जस्ता साहसी न्यायकर्त्ताहरूले लत्याए। शमूएलले आफ्ना मानिसहरूलाई यस्तो प्रोत्साहन दिए: “पूजा-कोठाहरूबाट पराई देवताहरू . . . निकालिदेऊ, आफ्ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क औ उहाँको मात्र सेवा गर।” त्यसबेला तिनीहरूले शमूएलको यो प्रोत्साहनलाई स्वीकारेर “बाल देवताहरू र अश्‍तारोत देवीहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे।”—१ शमूएल ७:३, ४; न्यायकर्त्ता ६:२५-२७.

शाऊल अनि दाऊदपछिका राजा सुलेमानले आफ्नो शासनकालको अन्तिम वर्षहरूमा पराई देवताहरूलाई बलि चढाउन थाले। (१ राजा ११:४-८) इस्राएल अनि यहूदाका अन्य राजाहरूले पनि त्यसरी नै बाललाई पूजा गर्न थाले। तर एलिया, एलीशा र योशियाहजस्ता विश्‍वासी अगमवक्‍ता अनि राजाहरूले बालको उपासना विरुद्ध लड्‌न नेतृत्व लिइरहे। (२ इतिहास ३४:१-५) यसबाहेक इस्राएली इतिहासको त्यस अवधिभर यहोवाप्रति विश्‍वासी व्यक्‍तिहरू पनि थिए। बाल उपासना व्याप्त भएको आहाब अनि ईजेबेलको समयमा समेत सात हजार मानिसहरूले ‘बालको सामने आफ्नो घुँड़ा टेक्न’ इन्कार गरे।—१ राजा १९:१८.

अन्ततः इस्राएलीहरू बेबिलोनको कैदबाट छुटेर आएपछि बाल उपासनाबारे केही पनि उल्लेख गरिएको पाईंदैन। एज्रा ६:२१ मा उल्लिखित सबै ‘इस्राएलका परमेश्‍वर यहोवालाई खोज्न अन्य राष्ट्रहरूका अशुद्धेइँबाट अलग भइसकेका थिए।’

बालको उपासनाबाट सिक्नुपर्ने पाठ

बालको उपासना नामेट भएको धेरै भइसकेको भए तापनि, कनानीहरूको धर्म र आजको समाजमा एउटा कुरा मिल्दोजुल्दो छ। त्यो हो, यौन प्रशंसा। हाम्रो समाजमा पनि यौन तृष्णा व्याप्त छ। (एफिसी २:२) पावल यस्तो चेताउनी दिन्छन्‌, “हामी यस अन्धकारमय संसार नियन्त्रण गर्ने अदृश्‍य शक्‍तिका शासकहरू र दुष्टात्माहरूका विरूद्ध उठेका छौं।”—एफिसी ६:१२, फिलिप्स।

शैतानको यो “अदृश्‍य शक्‍ति[ले]” यौन अनैतिकता मार्फत्‌ मानिसहरूलाई आध्यात्मिक रूपमा दास बनाउँछ। (यूहन्‍ना ८:३४) आजको छाडा समाजमा यौन अनैतिकता कुनै बालीनाली वा गाईवस्तुको फलिफापगर्न नभई व्यक्‍तिगत स्वार्थ वा आफ्नो मनखुसीगर्न गरिन्छ। अनि यौनबारे फैलाइने अफवाह पनि एकदमै प्रभावशाली छ। मनोरञ्जन, संगीत र विज्ञापनमा प्रयोग हुने यौनसित सम्बन्धित कुराहरूले मानिसहरूको मनमस्तिष्क भरिदिएका छन्‌। परमेश्‍वरका सेवकहरू पनि यस्ता प्रभावबाट मुक्‍त छैनन्‌। तथापि, यस्तै कार्यहरूमा लागेका हुनाले मसीही मण्डलीबाट थुप्रै मानिस बहिष्कृत हुन्छन्‌। यस्ता अनैतिक प्रलोभनहरूको बारम्बार विरोध गरिरहेको खण्डमा मात्र मसीहीहरू शुद्ध रहनसक्छन्‌।—रोमी १२:९.

जवानहरूका लागि निकै चाखलाग्दो देखिने क्रियाकलापहरू प्रायः यौनसितै सम्बन्धित हुने भएकाले पनि जवान मसीहीहरूका लागि झन्‌ बढी खतरा छ। तिनीहरूले यस्ता कुराहरूमा लाग्न उक्साउने अरू जवानहरूको प्रभावहरूको सधैं प्रतिकार गरिरहनुपर्छ। (तुलना गर्नुहोस्‌ हितोपदेश १:१०-१५) विशाल जमघटहरूमा सामेल हुँदा थुप्रै जवानहरू यस्ता समस्याहरूमा फसेका छन्‌। प्राचीन समयको बाल उपासनामा जस्तै संगीत, नाचगान, र यौन लालसाले पनि तिनीहरूलाई सजिलै फसाउनसक्छ।—२ तिमोथी २:२२.

भजनहारले सोधे, “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला?” जवाफमा तिनले भने, “[यहोवाको] वचनमा ध्यान दिएरनै हो।” (भजन ११९:९) परमेश्‍वरको व्यवस्थाले इस्राएलीहरूलाई कनानीहरूको संगत नगर्नू भन्‍ने आज्ञा दिएझैं बाइबलले पनि हामीलाई मूर्ख संगतिका खतराहरूदेखि होसियार रहने सल्लाह दिएको छ। (१ कोरिन्थी १५:३२, ३३) एक जवान मसीहीले हेर्दा रहरलाग्दो देखिने कामकुराहरू नैतिक तवरमा खतरनाक छ भन्‍ने जानेर त्यस्तो काम गर्न इन्कार गर्दा आफ्नो परिपक्वता झल्काउँछ। एलियाले जस्तै हामीले पनि आफ्नो निर्णय आफै गर्नुपर्छ, प्रचलित दृष्टिकोणको लहैलहैमा लाग्नुहुँदैन।—१ राजा १८:२१; तुलना गर्नुहोस्‌ मत्ती ७:१३, १४.

अर्को चेताउनी विश्‍वासको कमीसित सम्बन्धित छ अर्थात्‌ “हामीलाई सजिलैसित अल्मल्याउने पाप।” (हिब्रू १२:१) थुप्रै इस्राएलीहरूले यहोवालाई विश्‍वास त गर्थे तर तिनीहरूको अनाजहरूको रक्षक तथा दैनिक आवश्‍यकताहरू पूरा गरिदिने देवको रूपमा चाहिं बाललाई मानिरहेको जस्तो देखिन्छ। सायद, यरूशलेममा रहेको यहोवाको मन्दिर निकै टाढा र उहाँको आज्ञाहरू पालन गर्नु अव्यवहारिक जस्तो तिनीहरूलाई लागेको थियो। बाल उपासनामा कुनै नियम थिएन र सुविधाजनक थियो। तिनीहरूले बालको लागि आफ्नै घरको कौसीमा धूप चढाउनसक्थे। (यर्मिया ३२:२९) तिनीहरूले बाल उपासनाका केही रीतिहरू अपनाएर वा यहोवाको नाउँमा बाललाई बलि चढाएर त्यस उपासनामा लागेको हुनसक्छ।

हामी कसरी विश्‍वास गुमाएर बिस्तारै जीवित परमेश्‍वरबाट पतित हुनसक्छौं? (हिब्रू ३:१२) हामीले बिस्तारै बिस्तारै सभा अनि सम्मेलनहरूप्रतिको मूल्यांकनलाई गुमाउनसक्छौं। यस्तो मनोवृत्तिले परमेश्‍वरको आध्यात्मिक खुराकहरू “ठीक ठीक समयमा खान” दिने प्रबन्धमाथि भरोसा गुमाएको संकेत गर्दछ। (मत्ती २४:४५-४७) तसर्थ यसरी हामी कमजोर हुँदै “जीवनको वचनलाई दह्रिलो गरी” पक्रिराख्नुका साटो हल्का गरी पक्रिरहेका, सायद भौतिक कुराहरूको पछि लागेर वा अनैतिकतामा लागेर दोमनका हुनसक्छौं।—फिलिप्पी २:१६; तुलना गर्नुहोस्‌ भजन ११९:११३.

हाम्रो निष्ठामा अटल रहने

आज पनि हामीले अन्तर्द्वन्द्व गरिरहनु परेको कुरामा कुनै शंका छैन। के हामी यहोवाप्रति वफादार रहनेछौं वा संसारको अनैतिक जीवनशैली अपनाएर तर्कनेछौं? दुःखको कुरो, इस्राएलीहरूले कनानीहरूको लज्जास्पद कामकुराहरूमा भाग लिएजस्तै आज पनि केही मसीही पुरूष तथा स्त्रीहरू लज्जास्पद कामहरू गर्न प्रलोभित भएका छन्‌।—तुलना गर्नुहोस्‌ हितोपदेश ७:७, २१-२३.

हामी पनि मोशाजस्तै ‘अदृश्‍यलाई देखेझैं गरी स्थिर रह्‍यौं’ भने आध्यात्मिक विजय हासिल गर्नसक्छौं। (हिब्रू ११:२७) हो, हामीले ‘विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस्नु’ परेको छ। (यहूदा ३) तर परमेश्‍वर अनि उहाँका सिद्धान्तहरूप्रति वफादार रहेर झूटो उपासना सधैंभरिको लागि नामेट हुने दिनको प्रतिक्षा गर्नसक्छौं। यहोवाको उपासना बाल उपासनामाथि विजयी भएजस्तै हामी पनि “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुने” दिन चाँडै आउनेछ भनी ढुक्क हुनसक्छौं।—यशैया ११:९.

[पृष्ठ ३१-मा भएको चित्र]

गेजरमा बाल उपासनाका पवित्र लिंगोहरूको भग्नावशेष

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

Musée du Louvre, Paris

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने