के परमेश्वरको काम “बाङ्गो” छ?
“डेयुस एस्क्रेभी सर्टु पर लीनयास टर्टास” (“परमेश्वरले बांगो अक्षरमा सीधा कुरा लेख्नुहुन्छ।”) भन्ने एउटा भनाइ ब्राजिलमा पाइन्छ। यस भनाइको तात्पर्य परमेश्वरले सधैं ठीकै काम गर्नुहुने भए तापनि कहिलेकाहीं मानिसलाई उहाँको काम गर्ने तरिका बांगो जस्तो लाग्नसक्छ। उदाहरणका लागि, खाइलाग्दो उमेरको मानिस मऱ्यो भने ‘परमेश्वरले स्वर्गमा बोलाउनुभएछ’ भनी थुप्रैले भन्छन्। अपांग वा शारीरिक तवरमा असक्षम भयो वा दुःखको सामना गर्नु पऱ्यो भनेचाहिं, ‘यो परमेश्वरकै इच्छा हो’ भन्ने गर्छन्। मृत्यु, शारीरिक समस्या तथा दुःखका अन्य कारणहरूको दोष परमेश्वरलाई नै लगाइने हुँदा त्यस्ता अभिव्यक्तिहरूले परमेश्वरको ‘लेखाइ बाङ्गो’ छ अर्थात् उहाँको काम गर्ने तरिका मानिसले बुझ्न सक्दैन भन्ने संकेत गरिरहेको हुन्छ।
धर्ममा विश्वास गर्ने थुप्रै मानिसहरू किन मृत्यु तथा कठिनाइहरूका लागि परमेश्वर नै जिम्मेवार हुनुहुन्छ भनी विश्वास गर्छन्? प्रायः बाइबलका केही खास पदहरूलाई ठीकसँग नबुझेकाले यस्ता विश्वासहरू सुरु भएका हुन्। आउनुहोस्, यस्ता केही पदहरूलाई हामी सरसरती जाँचौं।
● “मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुलेनै होइन र?”—प्रस्थान ४:११.
के यसको अर्थ हरेक किसिमको शारीरिक असमर्थताहरूको दोष परमेश्वरलाई नै दिन मिल्छ त? अहँ, पटक्कै मिल्दैन। किनभने त्यो परमेश्वरको व्यक्तित्वसित मेल नखाने कुरा हो। बाइबलले हामीलाई बताउँछ: “परमेश्वरका हरेक सृष्टि खोट रहित छन्।” (१ तिमोथी ४:४, NW ) त्यसैले कोही अन्धो, लाटो अथवा बहिरो जन्म्यो भन्दैमा परमेश्वरलाई दोष दिनु मिल्दैन। “हरेक असल दान र हरेक उत्तम वरदान[का]” स्रोत हुनुभएकोले उहाँ आफ्ना सृष्टिको भलाइ मात्र गर्न चाहनुहुन्छ।—याकूब १:१७.
हाम्रा प्रथम आमाबाबु आदम अनि हव्वाले स्वेच्छासाथ परमेश्वरको विद्रोह गरेका हुनाले आफ्नो सिद्धता र सिद्ध सन्तान जन्माउनसक्ने क्षमता गुमाउनुपऱ्यो। (उत्पत्ति ३:१-६, १६, १९; अय्यूब १४:४) जसै तिनका सन्ततिले विवाह गर्दै बालबच्चाहरू जन्माउन थाले मानिसजातिमा झन् झन् असिद्धताका साथै शारीरिक त्रुटि देखा पर्न थाल्यो। यहोवा परमेश्वरले त्यसो हुने अनुमति दिनुभएको भए तापनि उहाँ आफैले त्यसो गर्नुभएको चाहिं होइन। यस अर्थमा उहाँले, लाटो, बहिरो र अन्धो उहाँ आफैले ‘बनाएको हुँ’ भन्न सक्नुहुन्छ।
● “जे बाङ्गो छ त्यो सोझो बन्नसक्तैन।”—उपदेशक १:१५.
के बांगो कुराहरू परमेश्वरले नै बनाउनुभएको थियो? पटक्कै होइन। उपदेशक ७:२९ यस्तो टिप्पणी गर्छ: “परमेश्वरले मानिसलाई सृजनुभयो तब उहाँले त्यसलाई सोझो बनाउनुभयो, तर मानिस आफैले चाहिं अनेकौं छलहरू रच्दछ।” समकालीन अंग्रेजी संस्करण यस पदलाई यसरी व्याख्या गर्छ: “परमेश्वरले हामीलाई सृष्टि गर्नुहुँदा हामी पूर्णतयाः इमान्दार थियौं तर अहिले हाम्रो हृदय छली भएको छ।” परमेश्वरका धार्मिक स्तरहरू अनुरूप चल्नुको साटो अधिकांश पुरुष तथा स्त्रीहरूले आफैलाई हानि हुने विचार, योजना, उपाय वा तरिकाहरू रोजेका छन्।—१ तिमोथी २:१४.
त्यस्तै, प्रेरित पावलले बताएझैं मानिसजातिकै पापले गर्दा, “सृष्टि व्यर्थताको अधीनमा रह्यो।” (रोमी ८:२०) अनि यो परिस्थिति मानवीय प्रयासद्वारा “सोझो बन्नसक्तैन।” पार्थिव मामिलाहरूमा भएको यस्तो बांगोपन अनि व्यर्थका कुराहरू ईश्वरीय हस्तक्षेपद्वारा मात्र हटाउन सकिन्छ।
● “परमेश्वरको हातका कार्यहरूलाई विचार गर। उहाँले बाङ्गो बनाएको कुरालाई कसले सोझो पार्नसक्छ र?”—उपदेशक ७:१३.
अर्को शब्दमा राजा सुलेमान सोध्छन्: ‘परमेश्वरले हुन दिनुभएको त्रुटि तथा अशिद्धतालाई सोझ्याउनसक्ने मानिस को छ?’ कोही छैन किनभने यहोवाले यस्ता कुराहरू हुनदिनुको पनि कारण छ।
तसर्थ सुलेमान यस्तो सल्लाह दिन्छन्: “सबै कुरा राम्रो हुँदा खुशी होऊ, तर जब सबै कुरा खराब हुन्छ तब यो कुरा विचार गर– परमेश्वरले एउटा कुरा अर्को कुरासित यस्तो गरी राख्नुभएको छ कि फेरि के हुनेहो सो कसैले बताउनसक्तैन।” (उपदेशक ७:१४) भलाइ हुने काम गरेर हरेक व्यक्तिले सुदिनका लागि मूल्यांकन व्यक्त गर्नुपर्छ। त्यो सुदिन परमेश्वरबाट पाएको उपहार हो भन्ने उसले सम्झनुपर्छ। तर दुःख आइपर्दा नि? त्यस अवस्थामा दुःख पनि परमेश्वरले नै हुन दिनुभएको हो भन्ने कुरा त्यस व्यक्तिले “विचार” गरेमा बेस हुनेछ। उहाँले किन त्यसो गर्नुभएको त? सुलेमान भन्छन्: “फेरि के हुनेहो सो कसैले बताउन [नसकोस् भन्ने हेतुले]।” मतलब?
भविष्यमा के हुन्छ, त्यो बताउन सक्ने क्षमता हामीसित छैन भन्ने कुरा स्मरण गराउन परमेश्वर हामीलाई आनन्द र समस्या दुवै भोग्न दिनुहुन्छ। धर्मी तथा अधर्मी दुवैमाथि दुःख आइपर्नसक्छ। यसमा कुनै अपवाद छैन। यसले हामीलाई “परमेश्वर प्रेम हुनुहुन्छ” भन्ने सम्झँदै आफूमा नभई उहाँमा भर गर्नुपर्ने रहेछ भनेर बुझाउनुपर्छ। (१ यूहन्ना ४:८) अहिले हामीले कुनै कुरा बुझ्न नसके पनि दुःखका दिनहरू सिद्धिएपछि परमेश्वरले हुनदिनुभएका ती कुराहरूले हामीलाई थुप्रै लाभ पुऱ्याउने छ भनी पक्का हुनसक्छौं।
उहाँले हुनदिनुभएको कुनै कुराले पनि सोझा हृदय भएका मानिसहरूलाई सधैंभरि हानि गर्नेछैन। आफ्ना संगी विश्वासीहरूमाथि आइपरेका दुःखहरूबारे टिप्पणी गर्दै प्रेरित पत्रुसले सो कुरा यसरी स्पष्ट पारे: “सबै अनुग्रहको परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभयो, तिमीहरूले केही बेर दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सुधार्नुहुनेछ, स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।”—१ पत्रुस ५:१०.
सुधारको समय
यहोवाले हामीलाई अहिले सामना गर्नुपरेका परीक्षाहरू सहने बल दिनुहुन्छ। उहाँले “सब कुरा नयाँ तुल्याउँछु” भनी प्रतिज्ञा पनि गर्नुभएको छ। (प्रकाश २१:५) हो, उहाँले आफ्नो स्वर्गीय राज्यद्वारा चाँडै नै हर किसिमको शारीरिक दुर्बलता एवं कमजोरीहरूलाई हटाउने अनि मरेकाहरूको पुनरुत्थानसमेत गर्ने उहाँको उद्देश्य छ। परमेश्वरको यो सरकारले साँच्चै बांगो काम गर्ने कुटिल व्यक्ति शैतान अर्थात् दियावलको पनि नामनिशानै नै मेटाइदिनेछ। (यूहन्ना ५:२८, २९; रोमी १६:२०; १ कोरिन्थी १५:२६; २ पत्रुस ३:१३) बांगो कुरालाई सोझ्याउने परमेश्वरको समय आउँदा उहाँसित डराउने संसारभरिका मानिसहरूको निम्ति कस्तो आशिष्को कुरा हुनेछ!
[पृष्ठ २८-मा भएको चित्रको स्रोत]
अय्यूब आफ्नो विपत्तिको खबर सुन्दै / The Doré Bible Illustrations/Dover Publications