प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ५/१ pp. ३०-३१
  • पावल विपत्तिमाथि विजयी हुन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावल विपत्तिमाथि विजयी हुन्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जहाज क्षतिग्रस्त हुन्छ
  • माल्टामा चमत्कार
  • हाम्रोनिम्ति पाठ
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • टापुमा जहाज दुर्घटना
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पावललाई रोम पठाइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ५/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

पावल विपत्तिमाथि विजयी हुन्छन्‌

पावल निराशाजनक स्थितिमा छन्‌। तिनी र अरू २७५ जना चढेको जहाज भूमध्यसागरको सबैभन्दा प्रचण्ड उत्तर-पूर्वी आँधीको चपेटामा परेको छ। यो भूमध्यसागरमा चल्ने एकदम डरलाग्दो आँधी थियो। न दिनमा सूर्य देख्नसकिन्थ्यो न रातमा तारा। स्पष्टतयाः, यात्रुहरू मरिने पो हो कि भनेर डराइरहेका छन्‌। तथापि, पावल सपनामा देखेको ईश्‍वरीय दर्शनबारे बताउँदै तिनीहरूलाई यसरी सान्त्वना दिन्छन्‌: “तपाईंहरूमध्ये कसैको ज्यान जानेछैन, तर जहाजचाहिं नष्ट हुनेछ।”—प्रेरित २७:१४, २०-२२, नयाँ संशोधित संस्करण।

आँधी आएको १४ औं रात नाविकहरूले अचम्मको कुरा पत्ता लगाउँछन्‌। पानीको गहिराइ मात्र ४० गज हुन्छ।a त्यसको केही दूरी पार गरिसकेपछि तिनीहरू फेरि गहिराइ नाप्छन्‌। यसपल्ट पानीको गहिराइ ३० गज हुन्छ। जमिन त नजिकै रहेछ! तर यो सुसमाचार विचारणीय छ। राति यस्तो कम गहिराइमा जहाज यताउता हल्लिंदा कुनै चट्टानमा बज्रिएर चक्नाचुर हुनसक्थ्यो। त्यसैले, नाविकहरू चलाख भई लंगरहरू खसाल्छन्‌। तिनीहरूमध्ये कोही कोही समुद्रमा आइपर्नसक्ने खतरादेखि बच्न मौका छोपी नाउ झारेर भाग्न खोज्छन्‌।b तर पावल तिनीहरूलाई भाग्न दिंदैनन्‌। तिनी सिपाहीका अफिसर तथा सिपाहीहरूलाई यसो भन्छन्‌: “यिनीहरू जहाजमा रहेनन्‌ भने ता तपाईंहरू बाँच्न सक्नुहुनेछैन, है।” अफिसरले पावलको कुरा मान्छन्‌ त्यसपछि जम्मा २७६ जना यात्रु सूर्योदयको उत्कटतासाथ प्रतीक्षा गर्छन्‌।—प्रेरित २७:२७-३२.

जहाज क्षतिग्रस्त हुन्छ

अर्को विहान जहाजका यात्रुहरूले खाडीको बलौटे किनार देख्छन्‌। यस्तो आशाको किरण देखेपछि नाविकहरू जहाजलाई अघि बढाउन लंगर काटेर अगिल्तिरको पाल उठाउँछन्‌। जहाजअघि बढ्‌न थाल्दा तिनीहरू रमाहटले कत्ति चिच्याए होलान्‌।—प्रेरित २७:३९, ४०.

तथापि, अचानक जहाज पाखामा धसिन्छ। त्योभन्दा पनि भयावह कुरा त छालहरूको झोक्काले जहाजको पछिल्लो भाग फुट्‌नथाल्छ। सबै यात्रुहरूले जहाज छोडिहाल्नु परेको छ! (प्रेरित २७:४१) तर यसो गर्नु खतरनाक छ। पावलसहित त्यस जहाजका थुप्रै यात्रुहरू कैदीहरू हुन्‌। रोमी नियमअनुसार कैदीको गार्डले आफ्नो कैदीलाई भाग्ने मौका दिएको खण्डमा त्यस कैदीको सजाय आफैले भोग्नुपर्थ्यो। उदाहरणका लागि, हत्यारा फुत्केर भागेमा उक्‍त लापरवाह गार्डले आफ्नै ज्यान गुमाउनुपर्थ्यो।

त्यस्तो हुनसक्ने डरले गर्दा सिपाहीहरू सबै कैदीहरूलाई मार्ने सल्लाह गर्छन्‌। तथापि, पावलसित मित्रैलो व्यवहार गर्ने, अफिसरले ती सिपाहीहरूलाई त्यसो गर्नदेखि रोक्छन्‌। तिनले पौडनसक्नेहरू जति सबैलाई पानीमा हामफालेर र पौडन नसक्नेहरूचाहिं फल्याकहरू वा जहाजका अन्य चीजबीजहरू समातेर भएपनि किनार लाग्ने आदेश दिन्छन्‌। ध्वस्त जहाजबाट यात्रुहरू एक एक गर्दै बिस्तारै पार तर्छन्‌। पावलले भनेझैं कसैले पनि ज्यान गुमाउनुपरेन!—प्रेरित २७:४२-४४.

माल्टामा चमत्कार

यो थकित समूहले माल्टा भनिने टापुमा शरण पाउँछन्‌। शाब्दिक अर्थमा भन्‍ने हो भने त्यहाँ “बार्बरीयन्स [पाखे]” (युनानी, बार्बरोस) भनिने “असभ्य बासिन्दाहरू” बसोबास गर्छन्‌।c तर माल्टाका बासिन्दाहरू जंगली भने छैनन्‌। त्यसको ठीक विपरीत पावलका सहयात्री लूका यस्तो टिप्पणी गर्छन्‌, तिनीहरूले “हामीलाई औधि दया देखाए, किनभने परिरहेको पानी र जाड़ोले गर्दा तिनीहरूले आगो बालिदिए, र हामीलाई सत्कार गरे।” पावल आफै पनि त्यस राष्ट्रका बासिन्दाहरूलाई दाउरा बटुल्न र आगोमा हाल्न मदत गर्छन्‌।—प्रेरित २८:१-३, NW पादटिप्पणी।

अचानक, पावलको हातमा सर्प तुर्लुङ्‌ग झुन्डिन्छ! ती टापुबासीहरू पावल हत्यारा हुनुपर्छ भन्‍ने अनुमान लगाउन थाल्छन्‌। सायद, पापीहरूले पाप गर्न प्रयोग गरेको अंगमा त्यसरी आक्रमण गरेर परमेश्‍वरले सजाय दिनुहुन्छ भन्‍ने कुरा तिनीहरू मान्थे होलान्‌। तर हेर्नुहोस्‌! त्यसैबेला ती बासिन्दाहरू तीनछक पर्नेगरी एउटा घटना हुन्छ। पावलले झट्‌कारेर त्यो सर्पलाई आगोमा फालिदिन्छन्‌। उक्‍त घटनाका प्रत्यक्षदर्शी लूका यसो भन्छन्‌, “[पावल] सुनिएर आउँछन्‌, अथवा एक्कासि मरेर ढलिहाल्छन्‌ भनेर तिनीहरूले हेरिरहेका थिए।” त्यसपछि ती टापुवासीहरूको मन बद्‌लिन्छ र पावल देवता हुनुपर्छ भन्‍न थाल्छन्‌।—प्रेरित २८:३-६.

पावलले त्यहाँ अरू तीन महिना बिताउँदा तिनलाई सत्कार गर्ने त्यस टापुका प्रमुख पब्लियसका बुबाका साथै अरू रोगीहरूलाई पनि निको पार्छन्‌। यसका अतिरिक्‍त, पावलले त्यहाँका मानिसहरूका लागि थुप्रै आशिष्‌हरू ल्याउने सच्चाइको बीउ पनि रोप्छन्‌।—प्रेरित २८:७-११.

हाम्रोनिम्ति पाठ

आफ्नो सेवकाईको दौडान पावलले थुप्रै चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। (२ कोरिन्थी ११:२३-२७) उपरोक्‍त अवस्थामा पावल सु-समाचारको खातिर कैदी थिए। त्यसका साथै, तिनले डरलाग्दो आँधीबेहरी अनि जहाजको क्षति जस्ता अप्रत्याशित परीक्षाहरूको पनि सामना गर्नुपरेको थियो। यी सबका बावजूद पावलले कहिल्यै पनि सु-समाचारको जोसिलो प्रचारक हुने आफ्नो प्रणलाई डग्न दिएनन्‌। आफ्नो अनुभवबाट तिनले यसो लेखे: “सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु। जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१२, १३.

साँचो परमेश्‍वरका जोसिला सेवकहरू हुने हाम्रो अठोटलाई जीवनका समस्याहरूले कहिल्यै पनि कमजोर तुल्याउन दिनु हुँदैन! आफूले नचिताएको परीक्षा आइपर्दा हामी आफ्नो भारी यहोवामा राख्छौं। (भजन ५५:२२) त्यसपछि, परीक्षा सहन उहाँले हामीलाई कसरी मदत गर्नुहुनेछ, धीरजी भई पर्खन्छौं। त्यसै गरी उहाँले हाम्रो हेरविचार गर्नुहुनेछ भन्‍ने अठोटका साथ विश्‍वासी भई उहाँको सेवा गरि नै रहनेछौं। (१ कोरिन्थी १०:१३; १ पत्रुस ५:७) जस्तोसुकै समस्याहरू आए तापनि स्थिर भयौं भने पावलजस्तै हामी पनि विपत्तिहरूमाथि विजयी हुनसक्छौं।

[फुटनोटहरू]

a एक गज बराबर लगभग १.८ मिटर हुन्छ।

b नाउ एउटा सानो डुंगा हो जसलाई जहाज तट नजिकै पुगेपछि लंगरले अड्याएर पार तर्न प्रयोग गरिन्छ। स्पष्टतयाः, यहाँ यी नाविकहरूले जहाज चलाउन नजान्‍ने यात्रुहरूको ज्यानको वास्तै नगरी आफ्नै मात्र ज्यान जोगाउन खोजिरहेका थिए।

c विल्फ्रेड फंक शब्दहरूको उत्पत्ति-मा (अंग्रेजी) यस्तो टिप्पणी गर्छन्‌: “युनानीहरू अन्य भाषा बोल्नेहरूलाई खिसी गर्थे अनि त्यस्तो भाषा बोल्नेहरूले ‘बार-बार’ भनेजस्तो छ भन्‍ने गर्थे। त्यसैले, त्यसरी कुरा गर्नेहरू सबैलाई तिनीहरू बार्बरोस भनी बोलाउँथे।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने