तपाईंको जीवन सफल बनाउनुहोस्!
“त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्तिमा चल्दैन, . . . त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजनसंग्रह १:१, ३.
१. (क) संसारका थुप्रै युवाजनहरू सफलताप्रति कस्तो दृष्टिकोण राख्छन्? (ख) बाइबलले सफल व्यक्तिबारे कसरी वर्णन गर्छ?
सफलता—तपाईंको लागि यस शब्दको अर्थ के हो? एक जना किशोरले यसो भने: “मेरो सबैभन्दा महत्त्वपूर्ण लक्ष्य सफल व्यापारी बन्नु हो।” एउटी किशोरीले यसो भनिन्: “मेरो मुख्य सपना भनेको नै सुखी पारिवारिक जीवन बिताउनु हो।” तर अर्की किशोरी यसो भन्छिन्: “मेरो सपना हो, एउटा सुन्दर घर बनाउने, एउटा राम्रो मोटर किन्ने . . . मलाई आफ्नोबारेमा मात्र वास्ता छ।” तर न त पैसा, न परिवार न लाभदायी पेसाद्वारा नै साँचो सफलता पाउन सकिन्छ। भजनसंग्रह १:१-३ मा हामी यस्तो पढ्छौं: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्तिमा चल्दैन, . . . परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्न रहन्छ, . . . त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”
२. साँचो सफलता कहाँ पाइन्छ अनि त्यो प्राप्त गर्ने एउटै मात्र तरिका के हो?
२ कुनै पनि मानिसले दिन नसक्ने कुरा बाइबलले दिने प्रतिज्ञा गर्छ। त्यो हो, साँचो सफलता! तर यो सफलता, धनसम्पत्ति कमाउने सफलता होइन। बाइबल यस्तो चेताउनी दिन्छ: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।” (तिमोथी ६:१०) साँचो सफलता त यहोवाको व्यवस्था पालन गर्नुका साथै परमेश्वरलाई प्रसन्न तुल्याएर पो पाउन सकिन्छ। यसो गर्नाले मात्र जीवनमा साँचो सन्तुष्टि र वास्तविक आनन्द प्राप्त गर्न सकिन्छ! यहोवाको व्यवस्थाको अधीनमा बस्नु परेको अनि के गर्नु हुन्छ के गर्नु हुन्न भनेर सिकाएको हामीलाई मन पर्दैन। यद्यपि, येशूले यसो भन्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) तपाईंले महसुस गर्नुभए पनि नगर्नु भए पनि, तपाईं आध्यात्मिक कुरा अर्थात् परमेश्वरलाई जान्ने र उहाँका उद्देश्यहरू बुझ्ने आवश्यकताहरू सहित सृष्टि हुनुभएको छ। तसर्थ, ती आवश्यकताहरू पूरा गर्नुभयो अनि “यहोवाको व्यवस्थाअनुसार” चल्नुभयो भने मात्र तपाईं साँचो आनन्द अनुभव गर्न सक्नुहुन्छ।
हामीलाई किन परमेश्वरको व्यवस्था चाहिन्छ
३. यहोवालाई ‘हाम्रो पाइला डोऱ्याउन’ दिन हामी किन खुसी हुनुपर्ने हो?
३ अगमवक्ता यर्मियाले यसरी लेखे: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) चाहे जवान होस् वा वृद्ध, सबै मानिसहरू यस्तै छन्। हामीसँग आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने बुद्धि, अनुभव र ज्ञानको मात्र कमी भएको होइन तर हामीसँग त्यसो गर्ने अधिकार पनि छैन। प्रकाश ४:११ मा बाइबल यसो भन्छ: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हाम्रो “जीवनको मूल” हुनुहुन्छ। (भजनसंग्रह ३६:९) तसर्थ, हाम्रो जीवनको सदुपयोग गर्ने तरिका उहाँलाई जति अरू कसैलाई पनि थाह छैन। तसर्थ, हाम्रो आनन्द हरण गर्न होइन तर हाम्रै फाइदाको लागि उहाँ व्यवस्था बनाउनुहुन्छ। (यशैया ४८:१७) परमेश्वरको व्यवस्था बेवास्ता गर्नुभयो भने तपाईं कुनै हालतमा पनि सफल हुन सक्नुहुन्न।
४. किन थुप्रै युवाजनहरूले आफ्नो जीवन बरबाद गर्छन्?
४ उदाहरणका लागि, थुप्रै युवाजनहरूले लागू पदार्थ, छाडा जीवनशैली र अन्य दुर्व्यसनहरूमा लागेर आफ्नो जीवन किन बरबाद गर्छन् भनी के तपाईंले कहिल्यै सोच्नुभएको छ? भजनसंग्रह ३६:१, २ यसो भन्छ: “दुष्टको अपराधले त्यसको हृदयभित्र बोल्छ। परमेश्वरको डर त्यसको आँखाको सामने हुँदैन। किनकि त्यसको अधर्म फेला नपरोस् र घृणित नठहरियोस् भनेर त्यसले आफ्नो मनमा खुशामदका कुरा विचार गर्छ।” ‘परमेश्वरको डर’ नभएकोले गर्दा खतरनाक आचरणले जीवनलाई कुनै हानि गर्दैन भन्ठानेर थुप्रै युवायुवतीहरूले आफूलाई बहकिन दिइरहेका छन्। तथापि, तिनीहरूले अन्ततः यो अकाट्य सिद्धान्त भोग्नुपर्छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।”—गलाती ६:७, ८.
‘दिन गन्ने’
५, ६. (क) किन युवाजनहरूले ‘आफ्नो दिन गन्नुपर्छ’ अनि यसो गर्नुको अर्थ के हो? (ख) ‘हाम्रो सृष्टिकर्ताको सम्झना’ गर्नुको अर्थ के हो?
५ तपाईं आफ्नो जीवन सफल बनाएर कसरी ‘अनन्त जीवनको कटनी गर्न’ सक्नुहुन्छ? मोशाले यसरी लेखे: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्, पौरखले चार कोरीसम्म ता होला। . . . त्यो चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।” (भजनसंग्रह ९०:१०) तपाईंले मृत्युबारे कमै मात्र सोच्नुभएको होला। साँच्चै भन्ने हो भने, थुप्रै युवाजनहरूले आफू अविनाशी भए जस्तैगरी कामकुराहरू गर्छन्। तर मोशाले हाम्रो जीवन छोटो छ भन्ने दुःखलाग्दो वास्तविकता बताउँछन्। हामी ७० वा ८० वर्षसम्म बाँच्नसक्छौं भनेर पनि निश्चित छैन। “समय र अवसरले” गर्दा जवान अनि स्वास्थ मानिस पनि मृत्युको मुखमा पर्छन्। (उपदेशक ९:११) त्यसोभए, अहिलेको मूल्यवान् जीवनलाई तपाईं कसरी सदुपयोग गर्नुहुन्छ? मोशाले यसरी प्रार्थना गरे: “हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्, र हामीले बुझ्ने हृदय पाऔं।”—भजनसंग्रह ९०:१२.
६ तपाईंको दिन गन्नुको अर्थ के हो? यसको अर्थ, आफू कतिञ्जेल बाँचिन्छ होला भनेर चिन्तामा डुब्नु भन्ने होइन। आफ्ना जनहरूलाई तिनीहरूको बाँकी जीवन उहाँलाई आदर गर्ने तरिकामा सदुपयोग गर्न सिकाउनुहोस् भनी मोशाले यहोवालाई प्रार्थना गरिरहेका थिए। के प्रत्येक दिन परमेश्वरको प्रशंसा गर्नको निम्ति मूल्यवान् छ भन्ने विचार राखेर तपाईं आफ्नो जीवनको दिन गन्दै हुनुहुन्छ? युवाजनहरूलाई बाइबल यस्तो प्रोत्साहन दिन्छ: “असन्तुष्टतालाई तेरो मनबाट पर हटा, र शरीरको दुःखलाई टकटक्याइदे। . . . आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।” (उपदेशक ११:१०-१२:१) हाम्रो सृष्टिकर्ताको सम्झना गर्नुको अर्थ उहाँको अस्तित्व छ भनेर सम्झनु मात्र होइन। अपराधीले येशूलाई “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्” भन्ने आग्रह गर्दा येशूले तिनको नाउँ सम्झोस् भन्ने मात्र बिन्ती गरिरहेका थिएनन्। तिनी येशूले केही कदम चाल्नुभएको अर्थात् तिनलाई पुनरुत्थान गर्नुभएको चाहन्थे! (लूका २३:४२; तुलना गर्नुहोस् उत्पत्ति ४०:१४, २३; अय्यूब १४:१३) त्यसै गरी, यहोवाको सम्झना गर्नुमा केही कदम चाल्नु अर्थात् उहाँलाई प्रसन्न तुल्याउने काम गर्नु विथोलित छ। के तपाईंले यहोवाको सम्झना गरिरहनुभएको छ भन्न सकिन्छ?
गलत काम गर्नेहरूको डाह नगर्नुहोस्
७. केही युवाजनहरू किन आफ्नो सृष्टिकर्तालाई बिर्सन खोज्छन्? उदाहरण दिनुहोस्।
७ साक्षी हुनु भनेको त अनेकौं प्रतिबन्धहरूमा बाँधिनु हो भन्ठानेर थुप्रै युवायुवतीहरूले यहोवालाई बिर्सन खोज्छन्। स्पेनका एक जना भाइ किशोर छँदाको आफ्नो अनुभव यसरी स्मरण गर्छन्: “सत्यमा चल्नु कठिन र अरठ्ठो लागेकोले म संसारको चालढालप्रति आकर्षित भएँ। सत्यमा चल्नु भनेको त एक ठाउँमा बस्नु, अध्ययन गर्नु, सभाहरू धाउनु, टाई झुन्ड्याउनु हो जुन कुरा मलाई पटक्कै मन पर्दैनथ्यो।” के तपाईंलाई कहिलेकाहीं परमेश्वरलाई सेवा गरेको कारण केही गुमाउनु परिरहेको जस्तो लाग्छ? बाइबलको एक जना लेखकलाई पनि त्यस्तै लागेको थियो भन्ने थाह पाउँदा सायद तपाईं छक्क पर्नुहुन्छ होला। कृपया, तपाईंको बाइबल पल्टाउनुहोस् अनि भजनसंग्रह ७३ पढ्नुहोस्।
८. आसाप किन ‘अहंकारीहरूको डाही’ भए?
८ आउनुहोस्, यो भजनलाई बेलीबिस्तार लगाएर जाँचौं। पद २ र ३ यसो भन्छ: “मेरा खुट्टा झण्डै ठेस लागेका थिए। मेरा पाइलाहरू चिप्लन लागेका थिए। किनकि दुष्टहरूको उन्नति देख्ता ती अहंकारीहरूको म डाही भएको थिएँ।” उक्त अध्यायको शीर्षकमुनिका शब्दहरूअनुसार, यो भजन आसापले लेखेका हुन्। आसाप, दाऊदका समकालीन लेवी संगीतकार थिए। (१ इतिहास २५:१, २; २ इतिहास २९:३०) तिनले परमेश्वरको मन्दिरमा सेवा गर्ने अत्युत्तम विशेषाधिकार पाएका थिए। तैपनि, अधर्ममा घमण्ड गर्ने पुरुषहरूप्रति तिनी “डाही” भए। तिनीहरूको फलिफाप भएको जस्तो देखिन्थ्यो। स्पष्टतया, तिनीहरूमाझ शान्ति र सुरक्षा पनि छाएको जस्तो देखिन्थ्यो। साँच्चै भन्ने हो भने, तिनीहरूको देखावटी सफलताहरू तिनीहरूको “मनले चिताएको भन्दा धेरै” छन्। (पद ५, ७) तिनीहरू आफ्नो अत्याचारको ‘धाक लाउँथे’ अर्थात् सेखी गर्थे। (पद ८) चाहे स्वर्गमा हुने होस् या पृथ्वीमा, सबैप्रति अनादर देखाउँदै ‘तिनीहरू स्वर्गमा बसेझैं बोल्थे, र पृथ्वीमा जिब्रो चलाउँथे।’—पद ९.
९. आज केही जवान मसीहीहरूले किन आसापले जस्तै सोच्नसक्छन्?
९ तपाईंका स्कूलका साथीहरू पनि सायद यस्तै होलान्। सायद तिनीहरूले आफ्नो यौन सम्बन्ध, अनियन्त्रित भोज अनि मद्यपान र लागू पदार्थको दुर्व्यसनबारे पटक्कै लाज नमानी कुरा गर्लान्। तिनीहरूको देखावटी आनन्द र आफू भने मसीही भएकोले साँघुरो बाटोमा हिंड्नुपर्ने परिस्थितिलाई तुलना गर्दा कहिलेकाहीं तपाईंलाई ‘अहंकारीहरूको डाह’ लाग्नसक्छ। (मत्ती ७:१३, १४) आसापले पनि यसोसम्म भने: “निश्चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ। किनकि दिनभरि म विपत्तिमा परेको छु।” (पद १३, १४) हो, तिनले परमेश्वरको सेवा गर्नु र सोझो जीवन व्यतित गर्नु के फाइदा छ र भनी शंका उपशंका गर्न थाले।
१०, ११. (क) कुन कुराले गर्दा असापले आफ्नो मनोवृत्ति परिवर्तन गरे? (ख) गलत काम गर्नेहरू कसरी “चिप्ला ठाउँहरूमा” छन्? उदाहरण दिनुहोस्।
१० खुसीको कुरा, आसाप धेरै समयसम्म निराशाको सागरमा डुबिरहेनन्। दुष्टहरूले पाएको ठूलो शान्ति त भ्रमबाहेक अरू केही होइन, तिनीहरूको शान्ति क्षणिक मात्र हो भनेर तिनले बुझिहाले! तिनले यस्तो उद्गार गरे: “निश्चय तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फाल्नुहुन्छ। कसरी तिनीहरू क्षणभरमा उजाड़ भइगएका हुन्छन्! तिनीहरू डरले सम्पूर्ण भस्म भइगएका हुन्छन्।” (पद १८, १९) त्यसै गरी, तपाईंका थुप्रै साथीहरू “चिप्ला ठाउँहरूमा” छन्। ढिलो होस् या चाँडो, तिनीहरूको अभक्त चालचलनले तिनीहरूलाई फेला पार्नेछ। फलस्वरूप, अवैध गर्भाधारण गर्नसक्छन्, यौनजन्य रोगहरूको सिकार बन्नसक्छन् अनि झ्यालखानामा थुनिनु वा मृत्युको मुखमा पर्नसक्छन्! सबैभन्दा दुःखलाग्दो कुरा त, तिनीहरू परमेश्वरबाट तर्किएर जान्छन्।—याकूब ४:४.
११ स्पेनकी एउटी जवान साक्षीले यस्तै अनुभव गरिन्। जवानीमा अभक्त युवाजनहरूको समूहसँग संगत गरेर तिनले दोहोरो जीवन बिताइन्। केही समय नबित्दै तिनले तिनीहरूमध्ये एक जनालाई प्रेम गर्न थालिन्। त्यो व्यक्ति लागू पदार्थ दुर्व्यसनी थियो। तिनले आफै लागू पदार्थ सेवन नगरे तापनि आफ्नो प्रेमीका लागि किन्ने गर्थिन्। तिनी भन्छिन्: “मैले तिनलाई सुई लगाएर लागू पदार्थ लिनसमेत मदत गरें।” खुसीको कुरा, यस बहिनीको होस खुल्यो र आध्यात्मिक रूपमा फेरि स्वास्थ भइन्। तर केही समयपछि, लागू पदार्थ सेवन गर्ने आफ्नो प्रेमीको एड्सद्वारा मृत्यु भयो भनेर सुन्दा उनी झसंग भइन्। हो, भजनरचयिताले भनेजस्तै अभक्त मानिसहरू “चिप्ला ठाउँहरूमा” छन्। केही मानिसहरू तिनीहरूको छाडा जीवनशैलीले गर्दा अकालमै मर्छन्। अरूले चाहिं आफ्नो तौरतरिकाहरू परिवर्तन गरेनन् भने निकट भविष्यमा ‘उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई [उहाँले] बदला लिनुहुनेछ।’—२ थिस्सलोनिकी १:७, ८.
१२. गलत काम गर्नेहरूको डाह गर्नु मूर्खता हो भनेर जापानको एक युवकले कसरी बुझे?
१२ तसर्थ, ‘परमेश्वरलाई नचिन्नेहरूको’ डाह गर्नु मूर्खता हो! साँच्चै भन्ने हो भने, यहोवालाई चिन्ने अनि अनन्त जीवन पाउने आशा भएकाहरूको पो डाह गर्नुपर्छ। जापानका एक जवान भाइले यो कुरा बुझे। जवान छँदा तिनी पनि “बढी स्वतन्त्रता चाहन्थे।” तिनी भन्छन्: “केही कुरा गुमाइरहेको छु जस्तो लाग्थ्यो। त्यसपछि, सत्यबिना मेरो जीवन कस्तो होला भनेर बुझें। म ७० वा ८० वर्षसम्म बाँचेर मर्छु जस्तो लाग्थ्यो। तर यहोवाले अनन्त जीवनको आशा दिनुभएको छ! यो कुरा बुझेपछि आफ्नो जीवनको मूल्यांकन गर्ने मदत पाएँ।” तैपनि, परमेश्वरको नियमअनुसार नचल्ने मानिसहरूमाझ विश्वासी रहनु सजिलो छैन। ती दबाबहरू विरोध गर्न तपाईंले गर्नसक्ने केही कुराहरू के के हुन्?
आफ्नो संगतिबारे होसियार रहनुहोस्
१३, १४. संगतको छनौट होसियारी साथ गर्नु किन महत्त्वपूर्ण छ?
१३ आउनुहोस्, भजनसंग्रह १:१-३ मा लिपिबद्ध सफल मानिसको वर्णन फेरि एकपल्ट पढौं: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्तिमा चल्दैन, नता पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्तछ। तर परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”
१४ सर्वप्रथम, तपाईंको संगतले ठूलो भूमिका खेल्छ भनेर याद गर्नुहोस्। हितोपदेश १३:२० यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” यसको मतलब यहोवाका साक्षीहरूबाहेक अन्य युवाजनहरूप्रति भावशून्य, अमित्रैलो वा रूखो हुनुपर्छ भन्ने होइन। बाइबलले हामीलाई छिमेकीहरूलाई प्रेम गर्ने अनि “सबै मानिसहरूसँग शान्तिमा” रहने आग्रह गर्छ। (रोमी १२:१८; मत्ती २२:३९) तथापि, तपाईं बाइबलका सिद्धान्तहरूअनुसार नचल्ने व्यक्तिहरूसँग असाध्यै घनिष्ठ हुनुभयो भने तपाईं पनि तिनीहरूकै “युक्तिमा” चलिरहनुभएको हुनसक्छ।
बाइबल पढाइका फाइदाहरू
१५. युवाजनहरूले बाइबल पढाइ गर्ने तृष्णा कसरी जगाउनसक्छन्?
१५ परमेश्वरको व्यवस्था “दिनरात” पढ्नमा सफल मानिस प्रसन्न हुन्छन् भनेर पनि भजनरचयिताले बताए। (भजनसंग्रह १:१, २) हो, बाइबल पढ्नु सजिलो छैन अनि यसमा भएका “कुनै कुनै कुराहरू बुझ्न कठिन छन्।” (२ पत्रुस ३:१६) तर बाइबल पढाइ कुनै टन्टाजस्तो हुनु पर्दैन। परमेश्वरको वचनको “छलरहितको आत्मिक दूधको तृष्णा” गर्न सम्भव छ। (१ पत्रुस २:२) हरेक दिन बाइबलको केही अंश पढ्ने कोसिस गर्नुहोस्। कुनै कुनै विषय बुझ्नुभएन भने, अनुसन्धान गर्नुहोस्। त्यसपछि, पढेका कुराबारे विचार गर्नुहोस्। (भजनसंग्रह ७७:११, १२) पढ्ने समयमा मन यताउति घुम्छ भने, ‘ध्यान दिएर’ पढ्ने कोसिस गर्नुहोस्। समयमा बाइबल पढाइप्रति तपाईंको चाख बढ्दै जानेछ। ब्राजिलकी एउटी बहिनी सम्झन्छिन्: “यहोवासँग घनिष्ठ सम्बन्ध राख्न सकिंदैन जस्तो लाग्थ्यो। तर केही महिनायता व्यक्तिगत अध्ययन र बाइबल पढाइमा उन्नति गरिरहेकी छु। अहिले यहोवासँगको मेरो सम्बन्ध निकै मजबुत भएको महसुस गरिरहेकी छु। उहाँ मेरोलागि अझ वास्तविक हुनुभएको छ।”
१६. हामी मण्डलीका सभाहरूबाट कसरी पूरापूर फाइदा उठाउनसक्छौं?
१६ तपाईंको आध्यात्मिक उन्नतिको निम्ति मण्डलीका साभाहरू धाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। सभाहरूमा ‘होसियार साथ सुन्नुभयो’ भने निकै प्रोत्साहन पाउन सक्नुहुन्छ। (लूका ८:१८) के कहिलेकाहीं सभाहरू पट्टाइलाग्दो लाग्छ? त्यसोभए, आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘सभाहरू चाखलाग्दो बनाउन मैले के गर्दैछु? के म ध्यान दिएर सुन्छु? के तयारी गर्छु? टिप्पणीहरू दिन्छु?’ आखिर, बाइबलले हामीलाई ‘प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने, . . . एउटाले अर्कोलाई अर्ती दिने’ आग्रह गरेको छ। (हिब्रू १०:२४, २५) यसो गर्न तपाईंले सभाहरूमा भाग लिनुपर्छ! सभाहरूमा भाग लिनको निम्ति पूर्व अध्ययन गर्नुपर्छ। एउटी जवान बहिनी भन्छिन्: “तयारी गरिएको छ भने सभाहरूमा भाग लिनु साँच्चै सजिलो हुन्छ।”
परमेश्वरको तौरतरिकाअनुसार चल्नाले सफलतातर्फ डोऱ्याउँछ
१७. लगनशील भएर बाइबल पढ्ने व्यक्ति कसरी ‘खोलाको धारको छेउमा रोपेको बोटजस्तै हो’?
१७ भजनरचयिताले सफल मानिस ‘खोलाको धारको छेउमा रोपेको बोटजस्तै हुन्छ’ भनेर पनि वर्णन गरे। खोलाको धारले वाटिकामा पानी हाल्न सिंचाइ गरेर ल्याइएको पानीलाई बुझाउनसक्छ। (यशैया ४४:४) दिनहुँ बाइबल पढ्नु भनेको कहिले अन्त नहुने बल र स्फूर्तिको स्रोतको नजिक रहनुजस्तै हो। (यर्मिया १७:८) तपाईंले परीक्षा र कठिनाइहरू सहने आवश्यक बल दिनहुँ पाउनुहुनेछ। यहोवाको सोचविचारबारे सिक्नुभएर तपाईंले बुद्धिमानी निर्णय गर्ने ज्ञान प्राप्त गर्नुहुनेछ।
१८. यहोवाको सेवा गर्न जवान व्यक्तिलाई कुन कुराले सफल बनाउनसक्छ?
१८ कहिकाहीं यहोवाको सेवा गर्नु गाह्रो छ जस्तो लाग्नसक्छ। तर असाध्यै गाह्रो छ भनेर कहिल्यै नसोच्नुहोस्। (व्यवस्था ३०:११) तपाईंको मुख्य उद्देश्य यहोवालाई प्रसन्न तुल्याउनु अनि उहाँको हृदयलाई आनन्दित बनाउनु हो भने, अन्तमा ‘तपाईंले जे गर्नुहुन्छ, त्यसमा तपाईं सफल हुनुहुनेछ’ भनी बाइबल प्रतिज्ञा गर्छ! (हितोपदेश २७:११) अनि नबिर्सनुहोस्, तपाईं एक्लै हुनुहुन्न। तपाईंको साथ दिन यहोवा र येशू हुनुहुन्छ। (मत्ती २८:२०; हिब्रू १३:५) तपाईंले सामना गर्नुहुने दबाबहरू उहाँहरूलाई थाह छ अनि उहाँहरूले तपाईंलाई कहिल्यै त्याग्नु हुनेछैन। (भजनसंग्रह ५५:२२) तपाईंसँग “भाइ-बन्धुहरू” अनि तपाईंको मुमाबुबा ईश्वरभीरु हुनुहुन्छ भने उहाँहरूको पनि समर्थन छ। (१ पत्रुस २:१७) यस्तो समर्थन र आफ्नो संकल्प तथा कोसिसद्वारा तपाईं अहिले मात्र होइन तर अनन्तसम्म सफल जीवनको आनन्द उठाउन सक्नुहुन्छ!
पुनरावलोकनका लागि प्रश्नहरू
◻ साँचो सफलता के हो?
◻ हाम्रो पाइला ठीक मार्गमा हिंडाउन किन यहोवाको मदत चाहिन्छ?
◻ युवाजनहरूले कसरी ‘आफ्नो दिन गन्न’ सक्छन्?
◻ गतल काम गर्नेहरूको डाह गर्नु किन मूर्खता हो?
◻ दिनहुँ बाइबल पढाइ र नियमित तवरमा सभाहरू धाउनाले सफल जीवनको आनन्द उठाउन युवाजनहरूलाई कसरी मदत गर्छ?
[पृष्ठ २०-मा भएको चित्र]
‘परमेश्वरको डर’ नभएकोले थुप्रै युवाजनहरू खतरनाक आचरणमा फसेका छन्
[पृष्ठ २२-मा भएको चित्र]
आफ्ना कामकुराका परिणामहरू भोग्नुपर्छ भनेर युवाजनहरूले अक्सर बिर्सन्छन्
[पृष्ठ २३-मा भएको चित्र]
बाइबल पढाइप्रति प्रेम जगाउन सिक्नुहोस्
[पृष्ठ २३-मा भएको चित्र]
सभाहरूमा भाग लिनुभयो भने अझ बढी रमाइलो लाग्नेछ