प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १०/१५ pp. ८-११
  • प्रेमको सर्वोत्कृष्ट मार्ग सिक्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमको सर्वोत्कृष्ट मार्ग सिक्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले परमेश्‍वरलाई प्रेम गर्न सिक्नैपर्छ
  • आफ्ना सहमानवहरूलाई प्रेम गर्न सिक्दै
  • आफ्नो प्रेमलाई बढ्‌न दिने
  • निरन्तर प्रयासको खाँचो
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १०/१५ pp. ८-११

प्रेमको सर्वोत्कृष्ट मार्ग सिक्ने

कोसोभो, बोस्निया, लेबनान र आयरल्याण्ड। हालैका वर्षहरूमा समाचारमा यी ठाउँहरूबारे निकै चर्चा गरिएको छ। यी ठाउँहरूबारे कुरा गर्ने बित्तिकै मानिसहरू रक्‍तपात, बमबारी र मारकाटजस्ता दृश्‍यहरू कल्पना गर्छन्‌। धर्म, वर्ग, जाति वा अन्य भेदभावको कारण हिंस्रक युद्धहरू हुनु कुनै नयाँ कुरा होइन। भनौं भने, इतिहास पल्टाएर हेर्दा यस्ता घटनाहरू थुप्रै पाइन्छन्‌ र युद्धहरूले गर्दा मानिसजातिले पाएको दुःख अवर्णनीय छ।

इतिहासभरि नै युद्धहरू भएको हुँदा युद्ध स्वाभाविक रहेछ र मानिसले एकअर्कालाई घृणा गर्नु स्वाभाविकै रहेछ भन्‍ने निष्कर्षमा थुप्रै मानिसहरू पुगेका छन्‌। तथापि, यस्ता दृष्टिकोणहरू परमेश्‍वरको वचन अर्थात्‌ बाइबलको शिक्षासित पटक्कै मेल खाँदैन। धर्मशास्त्रले स्पष्टसित यस्तो घोषणा गर्छ: “प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) निस्सन्देह, मानिसले एकअर्कालाई प्रेम गरेको सृष्टिकर्ता चाहनुहुन्छ।

मानिसलाई परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको थियो भनेर पनि बाइबल बताउँछ। (उत्पत्ति १:२६, २७) यसको अर्थ, मानिसजातिलाई परमेश्‍वरका गुणहरू झल्काउने क्षमता दिइएको छ। ती गुणहरू मध्ये प्रमुख गुण प्रेम हो। त्यसोभए इतिहास पल्टाएर हेर्ने हो भने, किन मानिसले एकअर्कालाई प्रेम देखाउन नसकेको त? यसबारे पनि बाइबलले प्रस्ट पारेको छ। पहिलो दम्पती आदम र हव्वाले परमेश्‍वरको विरोध गरेर पापमा फसेको कारण यसो भएको हो। फलतः तिनीहरूका सबै सन्तानले पनि वंशानुगत पाप र असिद्धता पाए। रोमी ३:२३ यस्तो भन्छ: “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” हामीले वंशानुगत पाएका पाप र असिद्धताले गर्दा हाम्रो ईश्‍वरप्रदत्त प्रेम गर्ने क्षमतामा बाधा पुग्यो। यसो भन्दैमा के मानिसले अब एकअर्कालाई प्रेम गर्नै सक्दैन? हामीले हाम्रो सहमानवहरूसित शान्तिमय र मायालु सम्बन्धको आनन्द उठाउन सक्ने आशा नै छैन त?

हामीले परमेश्‍वरलाई प्रेम गर्न सिक्नैपर्छ

अवस्था जस्तोसुकै होस्‌, मानिसजातिले प्रेम देखाउन सक्छ भनेर यहोवा परमेश्‍वरलाई थाह छ। त्यसकारण, उहाँलाई प्रसन्‍न पार्न चाहने सबैले यथासक्दो प्रेम झल्काएको उहाँ चाहनुहुन्छ। इस्राएलीहरूलाई दिइएको व्यवस्थामा प्रमुख आज्ञा कुनचाहिं हो भनेर प्रश्‍न गरिंदा परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले स्पष्ट पार्नुभयो। उहाँले भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो।” उहाँले अझ भन्‍नुभयो: “दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था . . . यिनै दुइ आज्ञामा निर्भर छन्‌।”—मत्ती २२:३७-४०.

तथापि, आफूले नदेखेको व्यक्‍तिलाई प्रेम गर्न एकदमै गाह्रो हुन्छ भनी थुप्रै मानिसहरू भन्छन्‌ र यहोवा परमेश्‍वर आत्मा हुनुभएकोले हामी मानिसहरूले उहाँलाई देख्न सक्दैनौं। (यूहन्‍ना ४:२४) तैपनि, हामी परमेश्‍वरको कामहरूबाट दिनहुँ प्रभावित हुन्छौं किनभने उहाँले हाम्रो फाइदाको निम्ति सृष्टि गरिदिनुभएका थुप्रै राम्रा राम्रा कुराहरूमा हामी भर पर्छौं। प्रेरित पावलले यसो भन्दा उक्‍त तथ्यलाई औंल्याउँदै थिए: “[परमेश्‍वरले] आफूलाई विना गवाही छोड़नुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो।”—प्रेरित १४:१७.

हुन त सबैले विभिन्‍न तरिकामा सृष्टिकर्ताको प्रबन्धबाट फाइदा उठाउँछन्‌ तर तुलनात्मक हिसाबमा हेर्दा थोरै मात्र उहाँप्रति कृतज्ञ हुन्छन्‌ वा धन्यवाद दिन प्रेरित हुन्छन्‌। तसर्थ, परमेश्‍वरले हाम्रो लागि गर्नुभएको राम्रा राम्रा कुराहरू जाँच्नु र उहाँले गर्नुभएको कामहरूबाट झल्किने अद्‌भुत गुणहरूमा मनन गर्नु आवश्‍यक छ। यसो गर्दा हामीले हाम्रो महान्‌ सृष्टिकर्ताको महान्‌ बुद्धि र शक्‍ति बुझ्न सक्छौं। (यशैया ४५:१८) सबैभन्दा मुख्य कुरा, उहाँले हामीलाई जीवन दिनुका साथै आनन्दित हुने थुप्रै कुराहरू पनि दिनुभएकोले उहाँ मायालु परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्न सक्छौं।

उदाहरणका लागि, परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएका विभिन्‍न प्रकारका मनमोहक फूलहरूलाई लिनुहोस्‌। उहाँले हामीलाई यी सुन्दर सुन्दर थोकहरू हेरेर ठूलो आनन्द उठाउने क्षमता पनि दिनु कत्ति असल कुरो हो! त्यस्तै गरी, परमेश्‍वरले हामीलाई जीवन धान्‍न विभिन्‍न प्रकारका पौष्टिक आहारको प्रबन्ध गरिदिनुभएको छ। खाएर आनन्द उठाऊन्‌ भनेर उहाँले हामीलाई स्वाद लिने क्षमता दिनु कत्ति स्नेहपूर्ण कुरा हो! के यी प्रमाणहरूले परमेश्‍वर साँच्चै हामीलाई माया गर्नुहुन्छ र हाम्रो भलाइ चाहनुहुन्छ भन्‍ने कुरा स्पष्ट पार्दैन र?—भजन १४५:१६, १७; यशैया ४२:५, ८.

सृष्टिकर्ताले आफूलाई “प्रकृतिको पुस्तक[बाट]” प्रकट गर्नुबाहेक आफ्नो वचन बाइबलबाट पनि आफू कस्तो प्रकारको परमेश्‍वर हुँ भन्‍ने कुरा देखाउनुहुन्छ। किनभने बाइबलमा यहोवा परमेश्‍वरले बितेको समयमा गर्नुभएका मायालु कामहरू र भविष्यमा मानिसजातिमाथि थुप्रै आशिष्‌ बर्साउन गर्नुभएको प्रतिज्ञा रेकर्ड गरिएको छ। (उत्पत्ति २२:१७, १८; प्रस्थान ३:१७; भजन ७२:६-१६; प्रकाश २१:४, ५) अझ सबैभन्दा मुख्य कुरा त परमेश्‍वरले मानिसजातिप्रति देखाउनुभएको प्रेमको सबैभन्दा ठूलो अभिव्यक्‍तिबारे बाइबलले बताउँछ। त्यो हो, हामीलाई पाप र मृत्युको दासत्वबाट मुक्‍त गराउन आफ्नो एकमात्र पुत्र हाम्रो उद्धारकको रूपमा पठाउनुभयो। (रोमी ५:८) निस्सन्देह, हामी हाम्रो मायालु सृष्टिकर्ताबारे जत्ति धेरै सिक्छौं उहाँलाई हृदयदेखि प्रेम गर्न उत्ति नै प्रेरित हुन्छौं।

आफ्ना सहमानवहरूलाई प्रेम गर्न सिक्दै

येशूले औंल्याउँनु भएजस्तै हामीले परमेश्‍वरलाई आफ्ना सारा हृदय, प्राण र समझले प्रेम गर्नुका साथै आफ्ना छिमेकीलाई पनि आफैलाई जस्तै प्रेम गर्नुपर्छ। भनौं भने, परमेश्‍वरप्रतिको प्रेमले हामीलाई आफ्ना सहमानवहरूलाई प्रेम गर्न करमा पार्छ। प्रेरित यूहन्‍नाले यसो भने: “हे प्रिय हो, परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।” तिनी अझ यसो भन्दै जोड दिन्छन्‌: “यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु, भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन। औ हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि परमेश्‍वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्‌।”—१ यूहन्‍ना ४:११, २०, २१.

बाइबलले अगमवाणी गरेजस्तै आज हामी “स्वार्थी” अर्थात्‌ मपाईं मनोवृत्ति देखाउने मानिसहरूको संसारमा बाँचिरहेका छौं। (२ तिमोथी ३:२) यसकारण, हामी प्रेमको सर्वोत्कृष्ट मार्ग सिक्न चाहन्छौं भने सबै मानिसहरूले जस्तो स्वार्थी जीवनशैली नपछ्याएर मायालु सृष्टिकर्ताले जस्तै सोच्ने र उहाँको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। (रोमी १२:२; एफिसी ५:१) परमेश्‍वर “बैगुणी र दुष्टमाथि कृपालु हुनुहुन्छ” र “दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” स्वर्गमा हुनुहुने हाम्रो पिताले हाम्रोलागि यस्तो उत्तम उदाहरण बसाल्नुभएकोले हामीले पनि सबैलाई कृपा र मदत गर्ने कोसिस गर्नुपर्छ। यसो गर्नाले हामीले आफूलाई ‘स्वर्गका हाम्रा पिताका सन्तान’ साबित गर्नेछौं।—लूका ६:३५; मत्ती ५:४५.

कहिलेकाहीं यस्ता मायालु कामकुराहरू गर्दा थुप्रै मानिसहरूले साँचो परमेश्‍वरको उपासक हुन मदत पाउँछन्‌। केही वर्षअघि एउटी गृहिणी यहोवाका साक्षीले आफ्नो छिमेकीलाई बाइबलको सन्देश सुनाइन्‌। तर त्यस छिमेकीले तिनको कुरा सुन्‍न पटक्कै मानिनन्‌। त्यस्तो प्रतिक्रिया देखाए तापनि तिनी निरुत्साहित भइनन्‌। बरु, तिनले त्यस छिमेकीलाई कृपा देखाइरहेर मदत गर्ने कोसिस गरिन्‌। एकपल्ट तिनले त्यस छिमेकीलाई कोठा सर्न मदत गरिन्‌। अर्कोपल्ट तिनले त्यस छिमेकी आफ्नो नातेदारलाई विमानस्थलमा स्वागत गर्न जाँदा तिनको सहयोग गर्न कसैलाई पठाइन्‌। पछि त्यस छिमेकी अध्ययन गर्न राजी भइन्‌ र आफ्नो पतिको कठोर सतावटको बावजूद जोसिलो मसीही बहिनी भइन्‌। हो, प्रेमका ती अभिव्यक्‍तिहरूले अनन्त आशिष्‌को जग बसाल्यो।

हामीले साँच्चै प्रेम देखाएका छौं भने हामीसित थुप्रै प्रशंसनीय गुणहरू भएको हुँदा परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको हो भन्‍ने सोचाइ राख्दैनौं। बरु, हाम्रो थुप्रै गल्ती र कमजोरीहरूको बावजूद उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। त्यसकारण, हाम्रा सहमानवहरूको कमी कमजोरीको बावजूद तिनीहरूलाई प्रेम गर्नुपर्छ। अरूको गल्ती कोट्याइरहनुको सट्टा तिनीहरूको असल गुणहरू बुझ्न र मूल्यांकन गर्न सिक्यौं भने तिनीहरूलाई प्रेम गर्न हामीलाई गाह्रो हुँदैन। हामीले तिनीहरूप्रति राख्ने भावना सैद्धान्तिक प्रेममा मात्र सीमित नरहेर घनिष्ठ मित्रहरू बीच हुने न्यानो प्रेम र स्नेह हुनेछ।

आफ्नो प्रेमलाई बढ्‌न दिने

प्रेम र मित्रतालाई पोषण र खेती गर्नुपर्छ। यसो गर्न निष्कपट र इमान्दार हुनु एकदमै आवश्‍यक छ। केहीले आफ्ना कमजोरीहरू लुकाएर आफूले मित्रता गाँस्न चाहेको मानिसको अगाडि राम्रो भई टोपल्छन्‌। तथापि, यसो गर्दा कुरा झनै बिग्रन्छ किनभने साँचो कुरा थाह पाएर आफू ठगिएको थाह पाएपछि त्यस व्यक्‍तिको मनमा घृणा उत्पन्‍न हुन्छ। त्यसकारण, आफूसित भएका कमजोरीहरू विरुद्ध लड्‌न कोसिस गरिरहेका छौं भने पनि अरूलाई आफ्नो वास्तविक कुरा थाह दिन डराउनु हुँदैन। यसले तिनीहरूसित मित्रता गाँस्न मदत दिनसक्छ।

उदाहरणका लागि, पूर्वीय देशका मण्डलीका एउटी वृद्ध बहिनीले धेरै लेखपढ गरेकी छैनन्‌। यद्यपि, तिनी यो कुरा अरूदेखि कहिल्यै लुकाउँदिनन्‌। जस्तै, अन्यजातिहरूको समय १९१४ मा अन्त भएको हो भनेर बुझाउन बाइबलका भविष्यवाणीहरू र इतिहासबाट कसरी हिसाब गरेर देखाउने भनेर तिनलाई थाह छैन भनी बताउन तिनी हिचकिचाउँदिनन्‌।a तथापि, सेवकाईमा जोसिलो भएर, भाइहरूलाई प्रेम र उदार गरेर तिनले असल उदाहरण बसालेकिछिन्‌। त्यसैले तिनलाई सबैले मण्डलीको गहना भन्‍ने गर्छन्‌।

कुनै कुनै संस्कृतिहरूमा खुला रूपमा प्रेम देखाएको मन पराइँदैन। मानिसहरूलाई अरूसित शिष्ट व्यवहार गर्न सिकाइन्छ। हुन त शिष्ट र विचारशील हुनु राम्रै हो तर हाम्रो शिष्टाचारले अरूलाई आफ्नो भावना पोख्नदेखि रोक्नदिनु हुँदैन। यहोवा आफ्ना छानिएका जन अर्थात्‌ पुरातन इस्राएललाई प्रेम देखाउन शर्माउनुभएन। उहाँले यसो भन्‍नुभयो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु।” (यर्मिया ३१:३) त्यस्तै गरी, प्रेरित पावलले थिस्सलोनिकीका सँगी विश्‍वासीहरूलाई यस्तो भने: “तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:८) यसकारण, हामीले सहमानवहरूप्रित निष्कपट प्रेम खेती गर्ने प्रयत्न गर्दा यस्ता भावनाहरू लुकाउनुको सट्टा देखायौं भने बाइबल शिक्षाअनुरूप चलिरहेका हुनेछौं।

निरन्तर प्रयासको खाँचो

अरुलाई प्रेम गर्नु र देखाउनु निरन्तर चलिरहने प्रक्रिया हो। यसो गर्न हामीले निकै प्रयास गर्नुपर्छ किनभने हामीले आफ्नो असिद्धतालाई जित्न र यस प्रेमरहित संसारको कठोर प्रभावको विरोध गर्न कडा परिश्रम गर्नुपर्छ। तथापि, प्रशस्त इनाम पाइने हुँदा त्यस्तो कडा परिश्रम सार्थक हुन्छ।—मत्ती २४:१२.

यस असिद्ध संसारमा पनि हामीले अरूसित राम्रो सम्बन्धको आनन्द उठाउन सक्छौं। यसले हामी आफैलाई साथै अरूलाई पनि आनन्द, शान्ति र सन्तोष दिन्छ। यस्तो प्रयास गरेर हामी परमेश्‍वरको नयाँ संसारमा सधैंभरि जिउने अद्‌भुत आशा पाउने योग्यका छौं भन्‍ने कुरा प्रमाणित गर्नसक्छौं। सबैभन्दा मुख्य कुरा, प्रेमको सर्वोत्कृष्ट मार्ग सिकेर अहिले र सधैंको लागि हाम्रो मायालु सृष्टिकर्ताको अनुमोदन र आशिष्‌ पाउन सक्छौं!

[फुटनोट]

a विस्तृत विवरणको लागि धर्मशास्त्रमाथि अन्तरदृष्टि, खण्ड १, पृष्ठ १३२-५ हेर्नुहोस्‌।

[पृष्ठ १०-मा भएका चित्रहरू]

कृपालु कार्यहरू गरेर मसीही प्रेम देखाउन सकिन्छ

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

UN PHOTO 186226/M. Grafman

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने