जीवनी
“भोलि के हुने हो तिमीहरू जान्दैनौ”
हर्बर्ट जेनिङजको वृत्तान्तमा आधारित
“म टीमा शहरको बन्दरगाहबाट घानास्थित वाच टावर सोसाइटीको शाखा कार्यालय फर्कंदै थिएँ। बाटोमा मैले शहरतिर जान खोजिरहेका एक नौजवानलाई लिफ्ट दिएँ। मौका छोप्दै मैले उसलाई साक्षी दिन थालें। मैले त निकै राम्रो साक्षी दिंदैछु भन्ठानिरहेको थिएँ! तर त्यस नौजवान आफ्नो गन्तव्य स्थान आइपुग्नासाथ ट्रकबाट फुत्त बाहिर निस्कियो र कुलेलम ठोक्यो।”
उपरोक्त घटना मेरो जीवनमा केही अनौठो कुरा हुन लागिरहेछ भन्ने कुराको छनक थियो। पछि के भयो त्यो भन्नुअघि म एक क्यानेडियाली यहाँ घानामा कसरी आइपुगें बताउँछु।
कुरा सन् १९४९ डिसेम्बरको बीचतिर क्यानाडास्थित टोरोन्टो शहर छेउको हो। हामीले एउटा नयाँ घरमा पानीको प्रबन्ध गर्न केही मिटरसम्म जमेको वरफ काटिसकेका मात्र थियौं। जाडो अनि थकानका कारण हामी कामदारहरू आगो ताप्दै हामीलाई लिन आउने ट्रकलाई पर्खन थाल्यौं। अचानक एक जना कामदार, आर्नल्ड लार्टनले मैले अहिलेसम्म नसुनेका “युद्ध अनि युद्धका हल्लाहरू,” “जगतको अन्त” अनि अन्य त्यस्तै केही शब्दहरू चलाएर हामीसित कुरा गर्न थाले। सबै जनाले बोल्न बन्द गरे र उनको कुरा सुनेर अप्ठेरो मान्न थाले र कोही कोही त उनीसित रिसाउन पनि थाले। ‘यो मान्छे त साह्रै साहसी रहेछ!’ यहाँ भएको कोही पनि उनको कुरा सुन्न चाहँदैनन् तैपनि उनी बोलिरहेछन्’ भनेर सोचेको मलाई अहिलेसम्म याद छ। तर उनले भनिरहेको कुरादेखि म प्रभावित भएँ। यो दोस्रो विश्वयुद्ध भएको केही वर्षपछिको घटना हो र पुस्तौंदेखि मेरो परिवारले मान्दै आएको क्रिस्टाडेल्फियान धर्ममा मैले यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। त्यसैले उनको कुरा मैले ध्यान दिएर सुनें।
थप कुरा बुझ्न आर्नल्डलाई नै भेटेर कुरा गर्ने विषयमा मैले सोची मात्र रहिनँ, काम पनि गरें। म, १९ वर्षे अल्लारे केटोसित उहाँ र उहाँकी श्रीमती जीन कति धीरजी हुनुहुन्थ्यो, म झलझली सम्झन्छु। म अक्सर खबरै नगरी र निम्तो नै नपाई उहाँहरूको घरमा कुरा गर्न आइपुग्थें। उहाँहरू मेरो विचार सुधार्नुहुन्थ्यो र मेरो कलिलो मस्तिष्कमा गोलमाल मच्चाइरहेका स्तर तथा नैतिकताहरूको द्वन्द्व हटाउन मदत गर्नुहुन्थ्यो। सडक छेउ आगो तापिरहँदा पहिलो पटक सच्चाइबारे सुनेको दस महिनापछि मैले यहोवाका साक्षीको हैसियतमा अक्टोबर २२, १९५० मा बप्तिस्मा लिएँ। त्यसपछि, म हाल टोरोन्टो शहर बाहिर पर्ने नर्थ योर्कस्थित विलोडेल मण्डलीसित संगति गर्न थालें।
सँगी उपासकहरूसित अघि बढ्दै
म आफ्नो नयाँ विश्वासमा अडिग छु भनेर बुबाले थाह पाउनुभएपछि मलाई घरमा बस्न साह्रै गाह्रो हुन थाल्यो। रक्सीले लठ्ठ परेको ड्राइभरले हाँकेको ट्रक दुर्घटनामा बुबा भर्खरै मात्र पर्नुभएको थियो र टाउकोमा चोट लागेकोले उहाँ बेला बेलामा सन्कनु हुन्थ्यो। मेरी आमा, दुइटा भाइ र दुइटी बहिनीका लागि जीवन कठिन हुन थाल्यो। बाइबल सच्चाइलाई लिएर झन् झन् विवाद चर्कन थाल्यो। आमाबुबासितको सुमधुर सम्बन्धलाई कायमै राख्न र आफैलाई ‘सत्यको मार्गमा’ स्थापित गराउन मैले घर छोड्नुमा नै कल्याण देखें।—२ पत्रुस २:२.
सन् १९५१ को गीष्मऋतुको अन्तसम्ममा म कोल्मन, अर्बेर्टाको सानो मण्डलीसित संगत गर्न थालिसकेको थिएँ। दुई नौजवानहरू, रस हन्ट र किथ रब्बिन्स त्यहाँ पूर्ण-समय जन प्रचारकार्य अर्थात् नियमित अग्रगामीको काममा व्यस्त थिए। तिनीहरूले मलाई पनि यसरी नै स्वयम् सेवा गर्नेसम्बन्धमा मदत गरे। मार्च १, १९५२ मा म पनि नियमित अग्रगामीहरूको समूहमा सामेल भएँ।
मैले प्राप्त गरेका प्रोत्साहनहरू सम्झँदा मलाई अझै रमाइलो लाग्छ। मैले सिक्नुपर्ने थुप्रै कुरा थिए र मैले सिक्नुपर्ने ठाउँ यही थियो। पछि, अल्बेर्टाको लेथब्रिज मण्डलीसित वर्ष दिनजति अग्रगामीको सेवामा बिताइसकेपछि मैले परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पाएँ। मैले क्यानाडाको पूर्वी तट मोङक्टन, न्यु ब्रन्जवीकदेखि गास्पे, क्युबेकसम्म छरिएर रहेका यहोवाका साक्षीहरूको मण्डलीहरूको सेवा गर्ने जिम्मेवारी पाएँ।
मात्र २४ वर्ष अनि आफूले सेवा गर्न लागेका अनुभवी साक्षीहरूको तुलनामा सच्चाइमा नयाँ नै भएकोले मलाई आफू अयोग्य छु जस्तो लाग्यो। आउँदा केही महिनाहरूमा मैले अथक प्रयास गरें। फलतः मैले आशै नगरेको कुरा पाएँ।
गिलियड स्कूल र गोल्ड कोस्टतिर प्रस्थान
सेप्टेम्बर १९५५ मा मैले साउथ लान्सिङ, न्यु योर्कस्थित वाचटावर बाइबल स्कूल अफ गिलियडको २६ औं कक्षाका लगभग सय विद्यार्थीहरूको समूहमा सामेल हुने निम्तो पाएँ। पाँच महिनाको जोडदार प्रशिक्षण र अध्ययन ठ्याक्कै मलाई चाहिएकै कुराहरू थिए। यसरी एकदमै उत्प्रेरित समूहबीच हुन पाउँदा मेरो हौसला झनै बढ्यो। त्यति नै खेर मेरो जीवनलाई आजको दिनसम्म भरिपूर्ण बनाउने अर्को घटना भयो।
त्यहाँ मिसनरी सेवाको निम्ति तयारी गरिरहेकी एउटी जवान बहिनी, आइलीन स्टब पनि थिइन्। मैले आइलीनमा स्थिरता, गम्भीरता, व्यावहारिकता अनि विनम्रता अनि रमाइलो प्रवृत्ति भेट्टाएको थिएँ। मेरो विचारमा मैले बेढंगी पाराले आफ्नो मनसाय तिनी समक्ष जाहेर गर्दा तिनी झस्केकी थिइन् होली। तर तिनी मबाट पर पर भागी हिंडिनन्! आपसी सहमतिमा आइलीन कोस्टारिकामा अनि म गोल्ड कोस्ट (हाल, घाना), पश्चिम अफ्रिकामा आ-आफ्नो मिसनरी कार्यभार सम्हाल्न गयौं।
मे १९५६ को एक बिहान, म न्यु योर्कको ब्रूक्लिनस्थित दस तलामा भाइ नेथन नोरको कार्यालयमा पुगें। उहाँ त्यतिखेर वाच टावर सोसाइटीको अध्यक्ष हुनुहुन्थ्यो। गोल्ड कोस्ट, टोगोल्याण्ड (हाल, टोगो), आइभरी कोस्ट (हाल, कोट डे भ्वा), अप्पर भोल्टा (हाल, बुर्किना फासो) र गाम्बियामा प्रचार कार्यको रेखदेख गर्न म शाखा सेवकको रूपमा खटाइने भएछु।
भाइ नोरले त्यतिबेला भन्नुभएका कुराहरू मलाई हिजोको कुरा जस्तो लाग्छ। उहाँले भन्नुभएको थियो, “तपाईंले तुरुन्तै सबथोकको जिम्मा लिइहाल्नु पर्दैन। हतार नमान्नुस्; त्यहाँका अनुभवी भाइहरूसित सिक्नुहोस्। त्यसपछि, तयार छु जस्तो लागेपछि मात्र तपाईंले त्यहाँ शाखा सेवकको रूपमा सेवा गर्नुहोस्। . . . यी, यो तपाईंको नियुक्ति पत्र लिनुहोस्। तपाईं त्यहाँ पुग्नुभएको सात दिनमा तपाईंले जिम्मेवारी सम्हाल्नुपर्छ।”
‘सात दिन मात्र,’ मैले सोचें। ‘उहाँले त “हतार नमान्नुस्” भन्नुभएको होइन र?’ म अन्तरवार्तापछि अक्क न बक्क भएर फर्कें।
त्यसपछिका दुई चार दिन त थाहै नपाई बिते। केही समयपछि मैले आफूलाई मालवाहक जहाजको रेलिङमा उभिरहेको पाएँ र इस्ट रीभर छेवैमा रहेको सोसाइटीको ब्रूक्लिनस्थित अफिसलाई पार गर्दै मैले गोल्ड कोस्टतिरको २१ दिने लामो समुद्री यात्रा सुरु गरें।
आइलीन र मैले एकअर्कालाई थुप्रै पत्र लेख्यौं। फेरि हाम्रो भेट १९५८ मा भयो र त्यही वर्ष अगस्त २३ मा हाम्रो बिहे भयो। यस्ती उत्कृष्ट जीवनसाथी दिनुभएकोमा यहोवालाई धन्यवाद दिन मैले कहिल्यै बिर्सिनँ।
त्यसपछि, १९ वर्षसम्म मैले सँगी मिसनरीहरू र सोसाइटीको शाखा कार्यालयमा अफ्रिकी भाइबहिनीहरूसित मिलेर सेवा गर्ने सुअवसर पाएँ। औंलामा गन्न सकिने बेथेल परिवारका सदस्यहरू त्यतिञ्जेल बढेर २५ पुगिसकेका थिए। हाम्रोलागि ती चुनौतीपूर्ण, घटनै घटनाले भरिएको फलदायी समय थियो। एउटा कुरा भने मैले सफासित भन्नैपर्छ। त्यो के हो भने, मलाई गर्मी अनि ओसिलो मौसममा बस्न साह्रै गाह्रो भयो। मलाई सधैं पसिना आइरहने भएकोले शरीर सधैं चिपचिप लाग्थ्यो र कहिलेकाहीं त म चिढिन्थें। तैपनि, सेवा गर्न पाउनु साँचो आनन्द थियो। घानामा १९५६ तिर ६,००० जति रहेका हाम्रा सक्रिय राज्य प्रकाशकहरूको संख्या १९७५ सम्ममा बढेर २१,००० पुगिसकेको थियो। अनि अहिले व्यस्त साक्षीहरूको यो संख्या दुई गुणा बढेर ६०,००० पुगेको देख्न पाउँदा म साह्रै कृतज्ञ छु।
हामीले “भोलिको” अन्दाज गरेनौं
लगभग १९७० तिर खुट्याउन अलि गाह्रो परेको शारीरिक समस्याले मलाई सताउन थाल्यो। मैले पूर्ण चेकअप गराएँ तर मलाई मेरो “स्वास्थ्य राम्रो छ” भनियो। त्यसोभए, मलाई किन सधैं बिसन्चो महसुस हुन्छ, साह्रै थकाइ लाग्छ अनि म किन अस्थिर हुन्छु? यसको जवाफ मैले दुई तरिकाबाट पाएँ र ती दुवै घातक प्रहार सरह साबित भए। वास्तवमा, याकूबले लेखे जस्तै भयो: “भोलि के हुने हो तिमीहरू जान्दैनौ।”—याकूब ४:१४, नयाँ संशोधित संस्करण।
पहिलो संकेत शहरतिर जान मैले लिफ्ट दिएको नौजवानलाई साक्षी दिंदाखेरि पाएको रहेछु। म त एकक्षण पनि नरोकि झन् छिटछिटो बोलेको बोलेकै गरिरहेको त्यतिबेला मलाई यादै भएन। त्यस नौजवान आफ्नो गन्तव्यस्थान पुग्नासाथ ट्रकबाट फुत्त निस्केर कुलेलम ठोक्दा मात्र म झस्केको थिएँ। अधिकांश घानावासीहरू स्वभावैले शान्त मिजासका हुन्छन्। तर उसले देखाएको प्रतिक्रियासित यी गुणहरू पटक्कै मिलेन। म त्यहीं बसेर सोच्न थालें। ममा केही समस्या छ भनेर मैले बुझें। तर कस्तो समस्या, त्यो मलाई थाह थिएन। तर ममा पक्कै एउटा समस्याचाहिं थियो।
दोस्रो, यस विषयमा खुलस्त कुरा गरिसकेपछि आइलीनले यस्तो सुझाउ दिइन्: “उसोभए, यो समस्या शारीरिक होइन भने मानसिक हुनुपर्छ।” त्यसकारण, मैले आफूमा देखापर्ने सम्पूर्ण लक्षणहरू लेखें र मानसिक रोग विशेषज्ञलाई भेट्न गएँ। मैले आफ्नो लक्षणको सूची पढेर सुनाइसकेपछि तिनले यस्तो जवाफ दिए: “धन्दा नमान्नुहोस्, अरू थुप्रैलाई पनि तपाईंकै जस्तो समस्याले पिरोलेको छ। तपाईंलाई मानसिक सनक चढ्ने समस्याले समातेको छ।”
म चुँइक्क बोल्न सकिनँ! संघर्ष गर्दै बिताएका त्यसपछिका केही वर्ष मैले आफूलाई झन् झन् खस्कँदै गएको महसुस गरें। मैले यसको समाधान खोजी नै रहें। तर के गर्ने अनि कसो गर्ने वास्तवमा कसैलाई पनि थाह थिएन। यो संघर्ष साह्रै दिक्कलाग्दो थियो!
पूर्ण-समय सेवामा आजीवन लागिरहने हाम्रो विचार थियो र गर्नुपर्ने काम पनि थुप्रै थिए। मैले धेरै हार्दिक तथा खुरन्धार प्रार्थना गरें: “यदि यहोवाको इच्छा भयो भने, ‘म बाँचूला र यस्तो उस्तो गरूला।’ ” (याकूब ४:१५) तर परिस्थिति सुध्रिएन। अतः वास्तविकतालाई अँगाल्दै हामीले जून १९७५ मा घाना अनि हाम्रा थुप्रै घनिष्ठ मित्रहरूलाई छोडेर क्यानाडा फर्कने व्यवस्था मिलायौं।
यहोवाले आफ्ना जनहरूमार्फत सहयोग गर्नुभयो
म उपेक्षाको पात्र होइन न त मलाई मात्र यस्तो भएको हो भन्ने कुरा मैले थाह पाएँ। पहिले पत्रुस ५:९ का शब्दहरू मलाई अर्थपूर्ण लाग्न थाल्यो: “यस संसारमा भएका तिमीहरूका दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन् भन्ने [जान]।” यसलाई सम्झँदै ममा यो अप्रिय परिवर्तन आए तापनि वास्तवमा यहोवाले हामी दुवैलाई कसरी सम्हाल्नुभएको छ, त्यो बुझ्न थालें। थुप्रै तरिकामा ‘भाइहरूको संगतिले’ हामीलाई सहयोग गऱ्यो र यो अविस्मरणीय छ!
भौतिक तवरमा हामीसित थुप्रै कुरा नभए तापनि यहोवाले हामीलाई त्याग्नुभएन। उहाँले हाम्रा घानाका साथीहरूलाई हामीलाई भौतिक तथा अन्य तरिकाहरूमा सहयोग गर्न प्रोत्साहित गर्नुभयो। हामीले माया गर्न थालेका हाम्रा साथीभाइहरूलाई छाडेर अप्रत्याशित ‘भोलिसित’ डट्न हामी अत्यन्त नमीठो मान्दै फर्कियौं।
हामीलाई आइलीनकी दिदी लिनोरा र तिनका श्रीमान् आल्भिन फ्रिजनले आफ्नो घरमा राख्नुभयो र महिनौंसम्म खुला हृदयले हाम्रा आवश्यकताहरू पूरा गर्नुभयो। एक नामुद मानसिक रोग विशेषज्ञले यस्तो आशालाग्दो अनुमान मलाई सुनाए: “छ महिनामा तपाईं तगडा हुनुहुनेछ।” सायद, मलाई आत्मबल दिन तिनले त्यसो भनेका होलान् तर तिनको अनुमान छ वर्षपछि पनि सत्य साबित भएन। आजकाल शिष्ट तरिकामा बाइपोलार मूड डिसअडर (दुइरूपी मनस्थिति) भनिने समस्यासित म आजसम्म संघर्ष गरिरहेछु। हो, रोगको नाउँ त मायालाग्दो छ तर यस रोगद्वारा पीडित व्यक्तिहरूलाई मायालाग्दो नाउँले कुनै पनि तरिकामा यस रोगका हत्तु पार्ने लक्षणहरू सहन सजिलो छैन।
त्यतिखेर, भाइ नोर बिरामी हुनुहुन्थ्यो। अनि अन्ततः जून १९७७ मा उहाँको मृत्यु भयो। तैपनि उहाँले मलाई सान्त्वना तथा सल्लाहहरूले भरिएका लामा अनि प्रोत्साहनदायी चिठीहरू लेख्ने समय तथा बल जुटाउनुभएको थियो। यी चिठीहरू अझै मेरालागि बहुमूल्य सम्पत्ति सरह छन्। बारम्बार दुःख दिइरहने असफलताको अतार्किक भावनालाई उहाँका शब्दहरूले शान्त पार्न धेरै मदत गऱ्यो।
सन् १९७५ को अन्तमा हामीले अनमोल पूर्ण-समय सेवालाई त्यागेर मेरो स्वास्थ्य सुधार्नेतर्फ ध्यान दिनुपऱ्यो। सामान्य उज्यालोमा पनि मेरा आँखाहरू टट्टाउँथे। अचानक आएको चर्को आवाज, बन्दुक पड्केको जस्तै गरी मेरा कानमा गुञ्जिरहन्थे। मानिसहरूको घुइँचो देख्दा म अन्योलमा पर्थें। मसीही सभाहरू धाउन मात्र पनि एकदमै संघर्ष गर्नुपर्थ्यो। तथापि, आध्यात्मिक संगतिको महत्त्वपूर्ण छन् भन्ने कुरामा म पूर्णतया ढुक्क थिएँ। परिस्थितिको सामना गर्न म अक्सर राज्यभवनमा सबै जना आ-आफ्नो ठाउँमा बसिसकेपछि मात्र राज्यभवनभित्र पस्थें र कार्यक्रमको अन्तमा सबै जना आ-आफ्नो ठाउँबाट उठ्नु अगावै म निक्लिहाल्थें।
जन सेवकाईमा भाग लिनु अर्को ठूलो चुनौती थियो। कहिलेकाहीं कुनै घरमा पुगिसकेपछि पनि ममा घण्टी बजाउने साहसै हुँदैनथ्यो। तैपनि, म हार मान्दिनथें किनकि हाम्रो सेवकाईद्वारै हामी अनि हाम्रा कुरा सुन्ने सबैको उद्धार हुन्छ भन्ने कुरा मैले बुझेको थिएँ। (१ तिमोथी ४:१६) केही समयपछि म आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्थें र अर्को ढोकामा गएर फेरि प्रयास गर्थें। सेवकाईमा निरन्तर भाग लिएर मैले आफ्नो आध्यात्मिक स्वास्थ्यलाई केही हदसम्म भए पनि कायम राख्न अनि परिस्थितिको सामना गर्ने मेरो क्षमता बढाउन सकें।
बाइपोलार मूड डिसअडरको (दुइरूपी मनस्थितिको) दीर्घकालीन अवस्थाको कारण यस रोगले वर्तमान रीतिरिवाजमा जीवनभर असर गर्नसक्ने सम्भावना मैले देखें। यस विषयमा १९८१ का अवेक!-मा उत्कृष्ट श्रृंखलाबद्ध लेखहरू प्रकाशित भए।a तीमार्फत मैले यस रोगको प्रकृतिलाई राम्ररी बुझ्न सकें र यससित अझ राम्ररी संघर्ष गर्ने प्रभावकारी तरिकाहरू सिकें।
संघर्ष गर्न सिक्दै
मेरी श्रीमतीको त्याग र काँटछाँटबिना यी सब सम्भव थिएनन्। यस्तै अवस्थामा तपाईंले पनि बिरामीको हेरचाह गर्नुपरेको भए तपाईंले तल उल्लिखित उनको अवलोकनलाई कदर गर्नुहुनेछ:
“यो मूड डिसअडरले कुनै पनि व्यक्तिको व्यक्तित्वमा अचानक निकै परिवर्तन ल्याउँदो रहेछ। नयाँ नयाँ योजना तथा विचारहरू बनाइरहने, रमाइलो, प्रोत्साहनदायी व्यक्ति घण्टाभरमै थकित, नकारात्मक अनि रिसाहा व्यक्तिसमेत हुनसक्छ। यसलाई रोग हो भनेर चिन्न सकिएन भने यसले अरूको भावनालाई ठेस पुऱ्याउन वा हतोत्साहित पार्नसक्छ। स्पष्ट छ, योजनाहरू तुरुन्तै बदल्नुपर्ने हुनसक्छ र निराशा वा त्यागिएको जस्ता व्यक्तिगत भावनाहरूसित लड्नुपर्ने हुन्छ।”
अनि मलाई एकदमै सन्चो महसुस हुँदा म सशंकित हुन्छु। एकैछिन अघिसम्म “उत्साही” भएको थिएँ भने तुरुन्तै “हतोत्साही” भइहाल्छु भनेर मलाई स्वभावैले गर्दा थाह हुन्छ। आफ्नो सम्बन्धमा म “उत्साही” हुनुभन्दा “हतोत्साही” हुनु नै मन पराउँछु। किनकि, हतोत्साही हुँदा म अक्सर केही दिनका लागि केही नगरी चुपचाप बस्छु। फलतः म कुनै असन्तुलित कुराहरूमा बिथोलित हुँदिनँ। आइलीन मलाई एकदमै उत्तेजित हुनदेखि होसियार गराउँछिन् अनि अत्यन्तै खिन्न महसुस हुँदा मलाई सान्त्वना दिएर तथा समर्थन गरेर निकै मदत दिन्छिन्।
रोग निकै सक्रिय हुँदा सब थोक बिर्सेर आफ्नैबारेमा मात्र सोचिरहने खतरा धेरै हुन्छ। खिन्न हुँदा एकलकाँटे भएर बस्ने वा सनक चढ्दा अरूका भावना तथा प्रतिक्रिया बुझ्न नसक्ने होइन्छ। विगतमा मलाई आफ्नो मानसिक तथा भावनात्मक समस्या स्वीकार्न साह्रै गाह्रो भएको थियो। असफल प्रयास वा अरू व्यक्तिजस्ता बाह्य कुराहरूले गर्दा पो समस्या भएको हो कि भन्ने भावनासित मैले लड्नु परेको थियो। बेला बेलामा आफैलाई ‘वरपर सब थोक जस्ताको तस्तै छ। समस्या बाह्य होइन भित्री हो’ भनेर सम्झाइरहनुपर्छ। यसरी सोचेपछि बिस्तारै मेरो सोचाइमा परिवर्तन आउन थालेको छ।
वर्षौंको दौडान, हामी दुवैले आफैसित अनि अरूसित मेरो अवस्थाबारे खुलस्त अनि इमानदार हुन सिक्यौं। हामी सकारात्मक मनोवृत्ति राख्न अनि यस रोगले हाम्रो जीवनमा नियन्त्रण गर्न नपाओस् भनेर निकै संघर्ष गर्छौं।
सर्वोत्तम “भोलि”
व्यग्र प्रार्थना तथा थुप्रै संघर्ष गरेर हामीले यहोवाको आशिष् तथा समर्थनको लाभ उठाउन सकेका छौं। अहिले हामी दुवै वृद्ध भइसक्यौं। मेरो निरन्तर तर हल्का औषधोपचार भइरहेको छ र मेरो स्वास्थ्य केही हदसम्म ठीक पनि छ। हामीले गर्नसक्ने सेवाको जुनसुकै अवसरको हामी मूल्यांकन गर्छौं। म मण्डलीमा प्राचीनको रूपमा सेवा गरिरहेको छु। अनि हामी सधैं अरूलाई विश्वासमा समर्थन गर्ने प्रयास गर्छौं।
हो, याकूब ४:१४ ले यसो भन्छ, “भोलि के हुने हो तिमीहरू जान्दैनौ।” यो रीतिरिवाज छउञ्जेल त्यसै हुनेछ। तर याकूब १:१२ ले यसो पनि भन्छ: “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट, उहाँलाई प्रेम गर्नेहरूलाई दिनेछु भन्ने प्रतिज्ञा गर्नुभएको, जीवनको मुकुट त्यसले पाउनेछ।” आज हामी सबै स्थिर रहन र भोलि यहोवाले हामीलाई दिनुहुने आशिष्हरू सम्झन सकौं।
[फुटनोट]
a अवेक! अगस्त ८, १९८१ को “तपाईं जीवनको सामना गर्नसक्नुहुन्छ”; सेप्टेम्बर ८, १९८१ को “तपाईं निराशासित लड्न सक्नुहुन्छ” अनि अक्टोबर २२, १९८१ को “दीर्घकालीन निराशामाथि धावा” जस्ता लेखहरू हेर्नुहोस्।
[पृष्ठ २६-मा भएको चित्र]
मेरो आर्ट स्टुडियोमा एकान्तपन खोज्दै
[पृष्ठ २६-मा भएको चित्र]
मेरी श्रीमती आइलीनसित
[पृष्ठ २८-मा भएको चित्र]
सन् १९६३ मा घानाको टीमामा आयोजित “अनन्तकालीन सुसमाचार” सम्मेलनमा