“हेर, हाम्रा परमेश्वर”
यी दुई अध्ययन लेखहरूमा छलफल गरिएको जानकारी सन् २००२/०३ को दौडान विश्वभरि आयोजना गरिएको जिल्ला अधिवेशनमा विमोचित ड्र क्लोज टु जेहोभा पुस्तकमा आधारित छ।—पृष्ठ २० को “यसले मेरो हृदयको शून्यता पुरिदियो” भन्ने लेख हेर्नुहोस्।
“हेर, हाम्रा परमेश्वर, हामीले उहाँको बाटो हेऱ्यौं, र उहाँलेनै हामीलाई बचाउनुहुनेछ। परमप्रभुलाई हेर।”—यशैया २५:९.
१, २. (क) यहोवाले कुलपिता अब्राहामलाई कसरी सम्बोधन गर्नुभयो र यसले हामीलाई कुन कुराबारे विचार गर्न लगाउन सक्छ? (ख) परमेश्वरसित घनिष्ठ सम्बन्ध गाँस्न सम्भव छ भनेर बाइबलले हामीलाई कसरी आश्वासन दिन्छ?
“मेरो मित्र।” स्वर्ग र पृथ्वीका सृष्टिकर्ताले कुलपिता अब्राहामलाई यसरी सम्बोधन गर्नुभयो। (यशैया ४१:८) कल्पना गर्नुहोस्, एक जना साधारण मानिसले ब्रह्माण्डका सार्वभौम प्रभुसित मित्रताको आनन्द उठाउने! तपाईं विचार गर्नुहोला, ‘के म परमेश्वरसित साँच्चै त्यति धेरै घनिष्ठ हुन सक्छु र?’
२ बाइबलले हामीलाई परमेश्वरसित घनिष्ठ सम्बन्ध गाँस्न सम्भव छ भनेर आश्वासन दिन्छ। अब्राहामले त्यस्तो घनिष्ठता महसुस गरे किनभने तिनले “परमेश्वरमा विश्वास गरे।” (याकूब २:२३) आज पनि “सोझा मानिसहरू परमेश्वरका विश्वास-पात्र [“घनिष्ठ,” NW] हुन्छन्।” (हितोपदेश ३:३२) याकूब ४:८ मा बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” स्पष्टतः हामीले यहोवाको नजिक हुन कदम चाल्यौं भने उहाँले त्यसको जवाफ दिनुहुनेछ। निस्सन्देह, उहाँ हाम्रो नजिक आउनुहुनेछ। तर यी प्रेरित शब्दहरूको अर्थ के हामी पापी, असिद्ध मानिसहरूले पहिलो कदम चाल्नुपर्छ भन्ने हो? पक्कै होइन। यहोवाले दुईवटा महत्त्वपूर्ण कदम चालिसक्नुभएको हुँदा उहाँसित घनिष्ठ हुन सम्भव छ।—भजन २५:१४.
३. हामीले यहोवासित मित्रताको आनन्द उठाउन सम्भव तुल्याउनको लागि उहाँले कस्ता दुईवटा कदम चाल्नुभएको छ?
३ सर्वप्रथम, यहोवाले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण” दिन येशूको प्रबन्ध मिलाउनुभयो। (मत्ती २०:२८) त्यो छुडौतीको बलिदानले गर्दा हामी परमेश्वरसित घनिष्ठ हुन सक्छौं। बाइबल यसो भन्छ: “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ यूहन्ना ४:१९) हो, परमेश्वरले ‘पहिले हामीलाई प्रेम गर्नुभएर’ उहाँसित मित्रता गाँस्ने आधार तयार पार्नुभयो। दोस्रो, यहोवाले हामीलाई उहाँबारे प्रकट गर्नुभएको छ। हामीले गाँस्ने कुनै पनि मित्रता उक्त व्यक्तिलाई राम्ररी चिन्नु, मन पराउनु र तिनका खास गुणहरू मूल्यवान् ठान्नुमा निर्भर हुन्छ। यसको अर्थ के हो विचार गर्नुहोस्। यहोवा गुप्त वा भेट्टाउनै नसक्ने परमेश्वर हुनुभएको भए हामी कहिल्यै पनि उहाँसित घनिष्ठ हुन सक्ने थिएनौं। यद्यपि, आफूलाई गुपचुपमा राख्नुको सट्टा यहोवा हामीले उहाँलाई चिनेको चाहनुहुन्छ। (यशैया ४५:१९) यहोवाले आफ्नो वचन बाइबलमा हामीले बुझ्न सक्ने तरिकामा आफूलाई प्रकट गर्नुहुन्छ र यो उहाँले हामीलाई प्रेम गर्नुहुने मात्र होइन तर हामीले उहाँलाई हाम्रो स्वर्गमा बस्नुहुने पिताको रूपमा चिनेको अनि प्रेम गरेको चाहनुहुन्छ भन्ने प्रमाण हो।
४. यहोवाका गुणहरूबारे अझ राम्रोसित थाह पाउँदै जाँदा हामीले उहाँबारे कस्तो महसुस गर्नेछौं?
४ के तपाईंले कहिल्यै एउटा सानो बच्चाले आफ्ना साथीहरूलाई आफ्नो बुबा चिनाउँदै निश्छल आनन्द र गर्वका साथ “ऊ मेरो ड्याडी” भनेको देख्नुभएको छ? परमेश्वरका उपासकहरूले पनि यहोवाबारे त्यस्तै महसुस गर्ने प्रशस्त कारणहरू छन्। बाइबलले एउटा यस्तो समयबारे भविष्यवाणी गर्छ, जुन बेला विश्वासी मानिसहरूले यस्तो उद्गार व्यक्त गर्नेछन्: “हेर, हाम्रा परमेश्वर।” (यशैया २५:८, ९) यहोवाका गुणहरूबारे हामीले जति धेरै अन्तरदृष्टि प्राप्त गर्छौं, हाम्रो पिता नै सर्वोत्तम हुनुहुन्छ र उहाँजस्तो घनिष्ठ मित्र अरू कोही हुन सक्दैन भन्ने कुरा त्यति नै धेरै महसुस गर्नेछौं। हो, यहोवाका गुणहरू बुझ्दा हामी उहाँसित नजिक हुने थुप्रै कारणहरू पाउँछौं। त्यसैकारण आउनुहोस्, यहोवाका प्रमुख गुणहरू शक्ति, न्याय, बुद्धि र प्रेमलाई बाइबलले कसरी प्रकट गर्छ, त्यसलाई केलाऔं। यस लेखमा हामी यी गुणहरूमध्ये पहिलो तीनवटा गुणबारे छलफल गर्नेछौं।
“शक्तिमा उच्च”
५. यहोवालाई मात्र “सर्वशक्तिमान” भन्नु किन उपयुक्त छ र उहाँले आफ्नो असामान्य शक्ति कुन-कुन ढंगमा चलाउनुहुन्छ?
५ यहोवा “शक्तिमा उच्च” हुनुहुन्छ। (अय्यूब ३७:२३, NW) यर्मिया १०:६ यसो भन्छ: “हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान् हुनुहुन्छ। पराक्रममा तपाईंको नाउँ महान् छ।” अन्य प्राणीहरूजस्तो नभई यहोवासित असीम शक्ति छ। त्यसैकारण, उहाँलाई मात्र “सर्वशक्तिमान” भनिन्छ। (प्रकाश १५:३) यहोवाले सृष्टि, विनाश, सुरक्षा र पुनर्स्थापना गर्न आफ्नो असामान्य शक्ति चलाउनुहुन्छ। केवल दुइटा उदाहरण विचार गर्नुहोस्—उहाँको सृजनात्मक शक्ति र उहाँको सुरक्षात्मक शक्ति।
६, ७. सूर्य कति शक्तिशाली छ र यसले कुन महत्त्वपूर्ण सत्यको पुष्टि गर्छ?
६ गर्मी महिनामा टन्टलापुर घाम लागेको बेला बाहिर उभिनुहुँदा तपाईंले छालामा कस्तो महसुस गर्नुहुन्छ? घामको न्यानो स्पर्श। तर वास्तवमा भन्ने हो भने, तपाईं यहोवाको सृजनात्मक शक्ति महसुस गर्दै हुनुहुन्छ। सूर्य कत्तिको शक्तिशाली छ? यसको केन्द्रको तापक्रम १,५०,००,००० डिग्री सेल्सियस छ। तपाईंले सूर्यको केन्द्रबाट रायोको दाना जति शक्ति पृथ्वीको सतहमा निकाल्नुभयो भने तापको त्यो सानो स्रोतबाट १४० किलोमिटर पर उभिनुपर्नेछ! सूर्यले प्रतिसेकेण्ड लाखौं लाख आणविक बम विष्फोटनले निकाल्ने जत्तिको शक्ति निकाल्छ। यद्यपि, पृथ्वीले ठिक्क दूरीमा रहेर त्यस असामान्य आणविक भट्टीको परिक्रमा गर्छ। सूर्य एकदमै नजिक भएको भए पृथ्वीको पानी वाष्पीकरण हुने थियो; एकदमै टाढा भएको भए सबै पानी जम्ने थियो। धेरै टाढा वा धेरै नजिक भएको भए हाम्रो ग्रहमा कुनै जीवित वस्तु हुने थिएन।
७ मानिसको जीवन सूर्यमै निर्भर हुनेभए तापनि धेरैले यसको भूमिकाबारे पटक्कै वास्ता गर्दैनन्। त्यसकारण, तिनीहरू सूर्यले हामीलाई सिकाउन सक्ने पाठबारे ध्यानै दिंदैनन्। भजन ७४:१६ ले यहोवाबारे यसो भन्छ: “सूर्य तपाईंले नै तयार पार्नुभएको” हो। हो, सूर्यले ‘स्वर्ग र पृथ्वी सृजनुहुने’ यहोवाको महिमा गर्छ। (भजन १४६:६) त्यसोभए तापनि यहोवाको विशाल शक्तिबारे सिकाउने सृष्टिका उदाहरणहरूमध्ये यो त एउटा मात्र हो। हामी यहोवाको सृजनात्मक शक्तिबारे जति धेरै सिक्छौं, उहाँप्रतिको हाम्रो श्रद्धा त्यति नै गहिरो हुँदै जान्छ।
८, ९. (क) यहोवा आफ्ना उपासकहरूको सुरक्षा र हेरचाह गर्न इच्छुक हुनुहुन्छ भनी कस्तो कोमल शब्दचित्रले देखाउँछ? (ख) बाइबल समयको गोठालोले आफ्ना भेडाहरूको कस्तो हेरचाह गर्थे र यसले हामीलाई हाम्रा महान् गोठालोबारे के सिकाउँछ?
८ यहोवाले आफ्ना जनहरूको सुरक्षा र हेरचाह गर्न पनि आफ्नो विशाल शक्ति प्रयोग गर्नुहुन्छ। यहोवाले गर्नुहुने सुरक्षात्मक हेरचाहका प्रतिज्ञाहरूबारे वर्णन गर्न बाइबलले एकदमै ज्वलन्त तथा हृदयस्पर्शी शब्दचित्रहरू प्रयोग गरेको छ। उदाहरणका लागि, यशैया ४०:११ लाई ध्यान दिनुहोस्। यहोवाले त्यहाँ आफूलाई गोठालो अनि आफ्ना जनहरूलाई भेडासित तुलना गर्नुहुन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “उहाँले आफ्नो बगाललाई गोठालालेझैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अंगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोऱ्याएर उहाँले लैजानुहुनेछ।” के तपाईं यो पदमा दिइएको विवरण कल्पना गर्न सक्नुहुन्छ?
९ घरपालुवा भेडा जत्तिको निस्सहाय जन्तु अरू कमै होला। बाइबल समयका गोठाला आफ्नो भेडालाई ब्वाँसो, भालु र सिंहबाट जोगाउन साहसी हुनुपर्थ्यो। (१ शमूएल १७:३४-३६; यूहन्ना १०:१०-१३) तर कहिलेकाहीं आफ्नो भेडालाई जोगाउन कोमल पनि हुनुपर्थ्यो। उदाहरणका लागि, बगालबाट टाढा गएर भेडा ब्याउँदा गोठालाले भर्खरै जन्मेको निस्सहाय पाठोको सुरक्षा कसरी गर्न सक्थे? तिनले त्यसलाई सायद धेरै दिनसम्म “आफ्नै काख” अर्थात् पोल्टोमा राखेर हिंड्थे। तर त्यो सानो पाठो कसरी गोठालाको काखमा बस्न पुग्छ? पाठो गोठालोकहाँ आएर खुट्टामा बिस्तारै छुन सक्छ। तथापि, आफू निहुरिएर, पाठोलाई समातेर उठाउने अनि आफ्नो काखमा सुरक्षा दिने काम भने गोठालोले नै गर्नुपर्छ। हाम्रा महान् गोठालोले आफ्ना सेवकहरूको सुरक्षा र हेरचाह गर्न देखाउनुहुने इच्छुकताको कस्तो कोमल चित्रण!
१०. आज यहोवाले कस्तो सुरक्षा प्रदान गर्नुहुन्छ र यस्तो सुरक्षा किन अझ महत्त्वपूर्ण छ?
१० यहोवाले हाम्रो सुरक्षा गर्ने प्रतिज्ञा मात्र गर्नुभएको छैन। उहाँले “भक्तहरूलाई परीक्षाबाट बचाउन” सक्नुहुन्छ भन्ने कुरा उहाँले बाइबल समयमा चमत्कारपूर्ण ढंगमा देखाउनुभयो। (२ पत्रुस २:९) आज नि? हामीलाई थाह छ, अहिले आइपर्ने सबै किसिमको विपत्तिबाट जोगाउन यहोवाले आफ्नो शक्ति प्रयोग गर्नुहुन्न। तथापि, उहाँले त्योभन्दा अझ महत्त्वपूर्ण कुरा प्रदान गर्नुहुन्छ। त्यो हो, आध्यात्मिक सुरक्षा। हाम्रा मायालु परमेश्वरले हामीलाई परीक्षाहरू सहन तथा उहाँसितको हाम्रो सम्बन्ध जोगाउन सक्षम बनाउनुभएर आध्यात्मिक हानिबाट बचाउनुहुन्छ। उदाहरणका लागि, लूका ११:१३ यसो भन्छ: “तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” त्यस शक्तिशाली आत्माले हामीलाई कुनै पनि परीक्षा वा समस्याको सामना गर्न सक्षम बनाउन सक्छ। (२ कोरिन्थी ४:७) यसरी यहोवाले केही वर्षको लागि मात्र होइन तर अनन्तसम्म हाम्रो ज्यान जोगाउने प्रबन्ध मिलाउनुहुन्छ। वास्तवमा, यस प्रत्याशालाई मनमा राख्दा, यस रीतिरिवाजको कुनै पनि दुःखलाई हामी “छिनभरको [र] हलुका” ठान्न सक्छौं। (२ कोरिन्थी ४:१७) के हामी हाम्रो खातिर यस्तो मायालु ढंगमा शक्ति प्रयोग गर्नुहुने परमेश्वरतिर आकर्षित हुँदैनौं र?
“परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ”
११, १२. (क) यहोवाको न्यायले हामीलाई किन उहाँतिर आकर्षित गर्छ? (ख) यहोवाको न्यायबारे दाऊद कस्तो निष्कर्षमा पुगे र यी प्रेरित शब्दहरूले हामीलाई कसरी सान्त्वना दिन सक्छ?
११ यहोवाले जे सही र निष्पक्ष छ, त्यही गर्नुहुन्छ अनि उहाँले कुनै पक्षपात नगरी सधैं त्यसो गर्नुहुन्छ। ईश्वरीय न्याय भनेको हामीलाई परमेश्वरबाट टाढा बनाउने भावशून्य, कठोर गुण होइन तर यहोवातिर आकर्षित गर्ने मनमोहक गुण हो। बाइबलले यस गुणको हृदयस्पर्शी पक्षबारे स्पष्ट ढंगमा वर्णन गर्छ। त्यसोभए आउनुहोस्, यहोवाले न्याय गर्नुहुने तीनवटा पक्षबारे विचार गरौं।
१२ पहिलो, यहोवाको न्यायले उहाँलाई आफ्ना सेवकहरूप्रति विश्वास र वफादारी देखाउन उत्प्रेरित गर्छ। भजनहार दाऊदले आफ्नै अनुभवबाट यहोवाको न्यायको मूल्यांकन गर्न सके। आफ्नै अनुभव तथा परमेश्वरका तौरतरिकाहरूबारे अध्ययन गरेपछि दाऊद कस्तो निष्कर्षमा पुगे? तिनले यस्तो घोषणा गरे: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्तहरूलाई त्याग्नुहुन्न, तिनीहरू सधैं सुरक्षित हुन्छन्।” (भजन ३७:२८) कस्तो सान्त्वनादायी आश्वासन! हाम्रा परमेश्वरले उहाँप्रति वफादार जनहरूलाई एकछिनको लागि समेत त्याग्नुहुने छैन। त्यसकारण हामी उहाँसितको घनिष्ठता र मायालु हेरचाहबारे ढुक्क हुन सक्छौं। उहाँको न्यायले यसको ग्यारेन्टी दिन्छ!—हितोपदेश २:७, ८.
१३. यहोवाले इस्राएललाई दिनुभएको व्यवस्थामा खाँचोमा परेकाहरूप्रति उहाँले देखाउनुभएको चासो कसरी प्रस्ट हुन्छ?
१३ दोस्रो, ईश्वरीय न्याय दुःखीहरूको आवश्यकताप्रति संवेदनशील हुन्छ। यहोवाले इस्राएललाई दिनुभएको व्यवस्थामा उहाँले खाँचोमा परेकाहरूप्रति देखाउनुभएको चासो प्रस्ट छ। उदाहरणका लागि, व्यवस्थाले टुहुरा तथा विधवाहरूको हेरचाह गर्ने प्रबन्ध मिलाएको थियो। (व्यवस्था २४:१७-२१) त्यस्ता परिवारहरूको लागि जीवन धान्न कत्तिको गाह्रो हुन्छ भनेर बुझ्नुभएको हुँदा यहोवा आफै तिनीहरूको बुबाजस्तै, न्यायकर्ता तथा संरक्षक हुनुभयो। (व्यवस्था १०:१७, १८) इस्राएलीहरूले यी निस्सहाय स्त्री तथा केटाकेटीलाई दुःख दिएको खण्डमा यहोवाले तिनीहरूको चित्कार सुन्नुहुनेछ भनेर उहाँले चेतावनी दिनुभयो। प्रस्थान २२:२२-२४ मा रेकर्ड गरिएअनुसार उहाँले यसो भन्नुभयो, “मेरो क्रोध दन्कनेछ।” क्रोध, परमेश्वरको प्रमुख गुण नभए तापनि विशेष गरी खाँचोमा परेका निस्सहाय व्यक्तिहरूलाई अन्याय पर्दा उहाँको धार्मिक क्रोध प्रकट हुन्छ।—भजन १०३:६.
१४. यहोवाको निष्पक्षताको एउटा साँच्चै उल्लेखनीय प्रमाण के हो?
१४ तेस्रो, बाइबलले हामीलाई व्यवस्था १०:१७ मा, यहोवाले “कसैको पक्षपात गर्नुहुन्न, औ उहाँलाई कहिल्यै घूस चढाउनसकिंदैन” भनी आश्वासन दिन्छ। यहोवा शक्तिशाली वा प्रभावशाली मानिसहरूजस्तो भौतिक धनसम्पत्ति वा बाह्य रूपरंग हेरेर बहकिनुहुन्न। उहाँले कसैलाई पक्षपात गर्नुहुन्न वा कृपावाद देखाउनुहुन्न। उहाँको निष्पक्षताको एकदमै उल्लेखनीय प्रमाण हो: उहाँको साँचो उपासक भएर अनन्त जीवन पाउने मौका उहाँले मुठीभर विशेष मानिसहरूलाई मात्र सीमित गर्नुभएको छैन। बरु, प्रेरित १०:३४, ३५ यसो भन्छ: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” मानिसको जस्तोसुकै सामाजिक ओहदा, छालाको रंग वा जुनसुकै देशको किन नहोस्, यो प्रत्याशा सबैको लागि खुला छ। के यो न्यायको सर्वोत्तम उदाहरण होइन र? वास्तवमा, यहोवाको न्यायबारे राम्ररी बुझ्यौं भने उहाँसित नजिक हुन सक्नेछौं!
‘अहा! परमेश्वरको बुद्धि कस्तो गहिरो छ!’
१५. बुद्धि भनेको के हो र यहोवाले यो गुण कसरी देखाउनुहुन्छ?
१५ रोमी ११:३३ मा लिपिबद्ध गरिएझैं प्रेरित पावल यस्तो उद्गार व्यक्त गर्न उत्प्रेरित भएका थिए: “अहा! परमेश्वरका बुद्धि र ज्ञान . . . कस्तो गहीरो छ!” हो, हामीले यहोवाको अथाह बुद्धिको विभिन्न पक्षलाई विचार गर्दा हामी श्रद्धाले ओतप्रोत हुनु सिवाय अरू केही गर्न सक्दैनौं। यद्यपि, यस गुणलाई हामी कसरी वर्णन गर्न सक्छौं? बुद्धिले ज्ञान, विवेक र समझशक्तिको उपयोग गरेर आफूले चाहेको लक्ष्य हासिल गर्छ। आफ्नो विस्तृत ज्ञान तथा समझशक्तिको गहिराइ चलाएर यहोवाले सधैं यथासम्भव राम्रा निर्णयहरू गर्नुका साथै यथासम्भव स्वीकार्य माध्यमहरूद्वारा कार्यान्वयन गर्नुहुन्छ।
१६, १७. यहोवाका सृष्टिहरूले कसरी उहाँको अथाह बुद्धिको प्रमाण दिन्छ? एउटा उदाहरण दिनुहोस्।
१६ यहोवाको अथाह बुद्धिका केही खास प्रमाणहरू के-के हुन्? भजन १०४:२४ यसो भन्छ: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” वास्तवमा, यहोवाले बनाउनुभएका कुराहरूबारे हामी जति धेरै सिक्छौं, हामी उहाँको बुद्धिप्रति त्यति नै श्रद्धाले ओतप्रोत हुन्छौं। नहोऔं पनि कसरी, वैज्ञानिकहरूले यहोवाको सृष्टि अध्ययन गरेर धेरै कुरा सिकेका छन्! बायोमिमेटिक्स भनिने इन्जिनियरिङजगत्को एउटा छुट्टै क्षेत्र छ र त्यसले प्रकृतिमा पाइने संरचनाहरूको नक्कल गर्न खोज्छ।
१७ उदाहरणका लागि, सायद तपाईं माकुराको जालोको सुन्दरता देखेर टोलाउनुभएको होला। वास्तवमा यो अद्भुत संरचना हो। एकदमै कमजोर देखिने जालोका मसिना त्यान्द्राहरू स्टिलभन्दा बलियो अनि बुलेटप्रुफ ज्याकेटको रेसाभन्दा मजबुत हुन्छन्। यसको मतलब के हो? कल्पना गर्नुहोस्, माछा मार्ने डुंगामा प्रयोग गरिने जाल जत्रो हुने गरी माकुराको जालोलाई तन्काइएको छ। त्यो जालो यत्ति बलियो हुन्छ कि यात्रुवाहक विमानलाई आकाशमा उडिरहेको बेला बीचैमा रोक्न सक्छ! हो, यहोवाले “बुद्धि” प्रयोग गरेर ती सबै बनाउनुभएको छ।
१८. यहोवाले मानिसहरूलाई आफ्नो वचन बाइबल लेख्न लगाउनुभएको कुरामा उहाँको बुद्धि कसरी देखिन्छ?
१८ यहोवाको बुद्धिको सबैभन्दा महान् प्रमाण उहाँको वचन बाइबलमा पाउन सकिन्छ। यसका पानाहरूमा पाइने बुद्धिमान् सल्लाहहरूले हामीलाई जीवन बिताउने सर्वोत्तम मार्ग देखाउँछ। (यशैया ४८:१७) तर यहोवाको अतुलनीय बुद्धि बाइबल लेखिएको ढंगबाट पनि प्रकट हुन्छ। कसरी? यहोवाले बुद्धि प्रयोग गर्नुभएर मानिसहरूलाई आफ्नो वचन लेख्न लगाउनुभयो। यदि उहाँले स्वर्गदूतहरूलाई प्रेरित वचन लेख्न लगाउनुभएको भए, के बाइबल त्यत्तिकै आकर्षक हुने थियो? हुन त हो, स्वर्गदूतहरूले तिनीहरूको उच्च ओहदाबाट यहोवाको चित्रण गर्न सक्थे र तिनीहरूको उहाँप्रतिको भक्ति प्रकट गर्न सक्थे। तर के हामीलाई ती सिद्ध आत्मिक प्राणीहरू जसको ज्ञान, अनुभव र बल हाम्रोभन्दा श्रेष्ठ छ, तिनीहरूको कुरा हाम्रो आफ्नै जस्तो लाग्ने थियो?—हिब्रू २:६, ७.
१९. मानव लेखकहरू प्रयोग गरिएको हुँदा बाइबल निकै आत्मीय र आकर्षक छ भनी कुन उदाहरणले देखाउँछ?
१९ मानव लेखकहरू प्रयोग गरिएको हुँदा बाइबल निकै आत्मीय र आकर्षक छ। यसका लेखकहरू हाम्राजस्तै भावनाहरू भएका पुरुषहरू थिए। असिद्ध भएको कारण तिनीहरूले पनि हामीले जस्तै परीक्षा तथा दबाबहरूको सामना गरे। कुनै-कुनै अवस्थामा तिनीहरूले आफ्ना भावना तथा संघर्षबारे प्रथम पुरुषमै लेखे। (२ कोरिन्थी १२:७-१०) त्यसकारण तिनीहरूले कुनै पनि स्वर्गदूतले अभिव्यक्त गर्न नसक्ने शब्दहरू लेखे। उदाहरणका लागि, भजन ५१ मा लिपिबद्ध दाऊदको शब्दलाई लिनुहोस्। यसको शीर्षकमुनि दिइएअनुसार, दाऊदले गम्भीर पाप गरिसकेपछि उक्त भजन रचेका थिए। तिनले गहिरो दुःख व्यक्त गर्नुका साथै परमेश्वरसँग क्षमा माग्दै आफ्नो मनको बह पोखे। पद २ र ३ यसो भन्छ: “मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्। किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ।” पद ५ मा ध्यान दिनुहोस्: “हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ। र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्।” पद १७ अझै यसो भन्छ: “चूर्ण आत्मानै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, चूर्ण र पूरा पश्चात्तापी हृदयलाई तपाईंले तुच्छ ठान्नुहुन्न।” के तपाईं लेखकको वेदना महसुस गर्न सक्नुहुन्न र? यस्तो भावना एक जना असिद्ध मानिसबाहेक अरू कसले व्यक्त गर्न सक्थ्यो र?
२०, २१. (क) मानव लेखकहरू प्रयोग गरिएको भए तापनि बाइबलमा यहोवाको बुद्धि पाइन्छ भनेर किन भन्न सकिन्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?
२० यस्ता असिद्ध मानिसहरू प्रयोग गर्नुभएर यहोवाले हामीलाई जे चाहिन्छ, त्यही दिनुभएको छ—“परमेश्वरबाट प्रेरणा भएको” तर मानव पक्ष समावेश गरिएको विवरण। (२ तिमोथी ३:१६) हो, ती लेखकहरूलाई पवित्र आत्माले डोऱ्याएको थियो। त्यसकारण तिनीहरूले आफ्नो नभई यहोवाको बुद्धिबारे लेखे। त्यो बुद्धि एकदमै भरपर्दो छ। त्यो हाम्रो बुद्धिभन्दा अत्यन्तै उत्कृष्ट भएकोले परमेश्वर हामीलाई यस्तो मायालु आग्रह गर्नुहुन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) त्यो बुद्धिमान् सल्लाह पालन गरेर हामी हाम्रो सर्व-बुद्धिमानी परमेश्वरसित नजिक हुन्छौं।
२१ यहोवाको सबैभन्दा मनमोहक तथा आकर्षक गुण, प्रेम हो। यहोवाले कसरी प्रेम देखाउनुभएको छ भन्नेबारे अर्को लेखमा छलफल गरिनेछ।
के तपाईं सम्झन सक्नुहुन्छ?
• हामीले यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न सम्भव तुल्याउनको लागि उहाँले कस्ता कदमहरू चाल्नुभएको छ?
• यहोवाको सृजनात्मक शक्ति र उहाँको सुरक्षात्मक शक्तिका केही उदाहरणहरू के-के हुन्?
• यहोवाले कुन-कुन तरिकामा आफ्नो न्याय देखाउनुहुन्छ?
• यहोवाको सृष्टिका साथै बाइबलमा उहाँको बुद्धि कसरी देखिन्छ?
[पृष्ठ १०-मा भएको चित्र]
पाठोलाई आफ्नो काखमा बोक्ने गोठालोले जस्तै, यहोवाले उहाँका भेडाहरूको कोमलतासाथ हेरचाह गर्नुहुन्छ
[पृष्ठ १३-मा भएको चित्र]
यहोवाको बुद्धि बाइबल लेखिएको ढंगबाट प्रकट हुन्छ