प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 २/१ pp. ३-४
  • सारा संसारभरि सबैको एउटै बिन्ती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सारा संसारभरि सबैको एउटै बिन्ती
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरू धर्मावलम्बीहरू पनि उस्तै प्रार्थना गर्छन्‌
  • येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • “हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “तपाईँको राज्य आओस्‌”—लाखौँ मानिसले बारम्बार गर्ने प्रार्थना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • प्रभुको प्रार्थना तपाईंको लागि यसको अर्थ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 २/१ pp. ३-४

सारा संसारभरि सबैको एउटै बिन्ती

लाखौं, करोडौं, अरबौं मानिसले एउटै कुराका लागि बिन्ती गरिरहेको सुन्‍नुभयो भने तपाईंलाई कस्तो लाग्ला? हो, आज अरबौं मानिसहरूले ब्रह्‍माण्डको सर्वोच्च अख्तियारवालासित एउटै कुरा मागिरहेका छन्‌। तर अचम्मको कुरा, के मागिरहेको छु भनेर उनीहरूमध्ये धेरैलाई थाहै छैन। आफूले मागेको कुरा आफैलाई थाह नहुनु, त्यस्तो पनि हुन सक्ला र? अचम्म नमान्‍नुहोस्‌, हरेक दिन त्यस्तै भइरहेको छ। उसोभए, चालै नपाई उनीहरूले मागिरहेको कुरा के हो? त्यो हो—परमेश्‍वरको राज्य।

एउटा अनुमानअनुसार आफूलाई इसाई भन्‍न रुचाउने अनि येशू ख्रीष्टलाई आफ्नो नेता मान्छौं भनी दाबी गर्ने कम्तिमा ३७,००० धर्महरू छन्‌। अनि यी धर्म मान्‍ने मानिस दुई अरबभन्दा धेरै छन्‌। यिनीहरूमध्ये धेरैले बाइबलको मत्ती ६:९-१३ मा उल्लिखित प्रभुको प्रार्थना गर्छन्‌। के तपाईंलाई यो प्रार्थना थाह छ? यो, येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थना हो, जुन यसरी सुरु हुन्छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

भक्‍तालुहरूले आ-आफ्ना चर्चमा श्रद्धेय भावले उक्‍त शब्दहरू दोहोऱ्‍याउँदै प्रार्थना गरेको सयौं वर्ष भइसक्यो। चर्चमा मात्र होइन परिवारसित, एक्लै हुँदा अनि अनुकूल वा प्रतिकूल जस्तोसुकै बेला उनीहरूले यो प्रार्थना दोहोऱ्‍याउने गरेका छन्‌। उनीहरू साँचो मनले अनि कहिलेकाहीं निकै भावुक भएर उक्‍त प्रार्थना गर्ने गर्छन्‌। अरू कतिले चाहिं मुखस्त पारेर, प्रार्थनाको अर्थलाई कम वा बिल्कुलै वास्ता नगरी मन्त्र जपेजस्तो जप्छन्‌। तर पनि, परमेश्‍वरको राज्य आओस्‌ भनेर आशा अनि प्रार्थना गर्ने मानिसहरू चर्च जानेहरू मात्रै हुन्‌ भन्‍नचाहिं पक्कै मिल्दैन।

अरू धर्मावलम्बीहरू पनि उस्तै प्रार्थना गर्छन्‌

यहूदी धर्मावलम्बीहरूले गर्ने एउटा लोकप्रिय प्रार्थना शोकाकुलको प्रार्थना हो। आफन्तको मृत्यु हुँदा गरिने यो प्रार्थनाको मृत्यु वा शोकसित भने कुनै सम्बन्ध छैन। यो प्रार्थनाको एउटा अंश यस्तो छ: “तिमी जीवित छँदै परमेश्‍वरले आफ्नो राज्य छिट्टै स्थापित गरून्‌।”a यहूदीहरूका सभाघरहरूमा गरिने त्यस्तै अर्को प्रार्थनामा पनि दाऊद वंशबाट आउने मसीहको राज्यबारे उल्लेख गरिएको छ।

अरू गैर-मसीही धर्मले पनि परमेश्‍वरको राज्यलाई निकै रुचाएको हामी पाउँछौं। द टाइम्स अफ इन्डिया-अनुसार १९ औं शताब्दीको एक जना उल्लेखनीय भारतीय धार्मिक नेताले हिन्दू, मुसलमान अनि इसाईहरूबीच मेल गराउन यसो भनेका थिए: “पूर्व र पश्‍चिम नमिलेसम्म साँचो ईश्‍वरीय राज्य हासिल हुन सक्दैन।” अनि अस्ट्रेलिया, स्ट्राटफिल्डको इस्लाम कलेजकी प्रिन्सिपलले हालै एउटा समाचारपत्रमा यस्तो लेखिन्‌: “अरू मुसलमानहरू जस्तै म पनि येशू फर्कनुहुनेछ र साँचो ईश्‍वरीय राज्य स्थापित गर्नुहुनेछ भनेर विश्‍वास गर्छु।”

परमेश्‍वरको राज्य आउनेछ भनेर आशा गर्ने अनि त्यसको निम्ति प्रार्थना गर्ने मानिसहरू खरबौं छन्‌ भन्‍ने कुरामा कुनै शंका छैन। तर एउटा चाखलाग्दो तथ्य विचार गर्नुहोस्‌।

तपाईंले पढिरहेको यो पत्रिका हामी यहोवाका साक्षीहरूले प्रकाशित गरेका हौं र हामी तपाईंको टोल-छिमेकमा घर-घर गएर बाइबलबारे छलफल गर्छौं भनेर तपाईंलाई थाहै होला। अहिले संसारभरि २३६ मुलुक अनि ४०० भन्दा धेरै भाषामा हामी यसरी बाइबलबारे छलफल गर्दैछौं। हामीले प्रचार गर्ने मुख्य विषय परमेश्‍वरको राज्य हो। भनौं भने, तपाईंले पढिरहेको यो पत्रिकाको पूरा नाउँ प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ हो। हामी मानिसहरूलाई अक्सर ‘के तपाईं परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नुहुन्छ?’ भनेर सोध्ने गर्छौं र ‘गर्छु’ भनेर धेरैले जवाफ दिन्छन्‌। तर ‘परमेश्‍वरको राज्य के हो, के तपाईंलाई थाह छ?’ भनेर प्रश्‍न गर्दा धेरैजसो मानिसले “मलाई थाह छैन” भन्‍ने जवाफ दिन्छन्‌ अथवा अस्पष्ट जवाफ दिन्छन्‌।

यदि परमेश्‍वरको राज्य के हो, त्यो नै थाह छैन भने, किन यति धेरै मानिस त्यस राज्यको निम्ति प्रार्थना गर्छन्‌? कतै परमेश्‍वरको राज्य जटिल अनि अस्पष्ट धारणा भएकोले हो कि? त्यो त पक्कै होइन। किनकि बाइबलले परमेश्‍वरको राज्यबारे प्रस्ट अनि पूर्ण जानकारी दिन्छ। भनौं भने, परमेश्‍वरको राज्यबारे बाइबलले बताउने सन्देशले तपाईंलाई वर्तमान अन्धकारमय समयमा साँचो आशा दिन सक्छ। उसोभए, बाइबलमा यो आशाबारे के लेखिएको छ? हामी अर्को लेखमा त्यसबारे पढ्‌नेछौं। त्यसपछि, परमेश्‍वरको राज्य आओस्‌ भनेर येशूले गर्नुभएको प्रार्थनाको जवाफ कहिले पाइनेछ, त्यो छलफल गर्नेछौं। (w08 1/1)

[फुटनोट]

a येशूले दिनुभएको नमुना प्रार्थनामा जस्तै शोकाकूलको प्रार्थनामा पनि परमेश्‍वरको नाउँ पवित्र गरियोस्‌ भनिन्छ। शोकाकूलको प्रार्थना ख्रीष्टको प्रार्थना जत्तिकै वा त्योभन्दा पनि पुरानो हो वा होइन, विवादास्पद भए पनि यी दुई प्रार्थनाबीचको समानता हाम्रो लागि ताजुब मान्‍नुपर्ने विषय हुनु नपर्ने हो। किनकि येशूले नौलो अथवा क्रान्तिकारी प्रार्थना सिकाउनुभएको थिएन। उहाँले प्रार्थनामा समावेश गर्नुभएको हरेक कुरा त्यतिखेर सबै यहूदीलाई थाह भएकै धर्मशास्त्रमा पूर्णतया आधारित थियो। वास्तवमा, उहाँ पृथ्वीमा आउनुभन्दा अघिदेखि यहूदीहरूले आफ्नो प्रार्थनामा समावेश गर्नुपर्ने कुराहरूबारे प्रार्थना गर्न येशूले प्रोत्साहन दिइरहनुभएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने