प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १२/१ pp. १४-१८
  • के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसरी सत्यनिष्ठ हुन सक्छौं?
  • सत्यनिष्ठा कसरी कायम राख्न सक्छौं?
  • कोही सत्यनिष्ठ हुन सकेन भने नि?
  • तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • सत्यनिष्ठा कायम राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • कलंकित दुनियाँमा भरोसा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १२/१ pp. १४-१८

के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ?

“नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।”—अय्यू. २७:५.

१, २. हामीले के गर्न प्रयास गर्नुपर्छ र कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

कल्पना गर्नुहोस्‌, तपाईं घरको नक्शा हेर्दै हुनुहुन्छ। राम्रो डिजाइन देखेर तपाईं मख्ख पर्नुहुन्छ। घर बनाइसकेपछि त्यसबाट तपाईं र तपाईंको परिवारले पाउने सुविधाहरू सोचेर तपाईं रमाउनुहुन्छ। तर घर बनाएर त्यहाँ नसरेसम्म र त्यसलाई स्याहार-सम्भार गरेर दुरुस्त नराखेसम्म, जस्तोसुकै योजना वा कल्पना गर्नु व्यर्थ हुनेछ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

२ त्यसैगरि, सत्यनिष्ठा भनेको हामी र हामीले माया गर्नेहरूलाई लाभ पुऱ्‍याउने महत्त्वपूर्ण गुण हो भनेर त सोचौंला। तर हामी आफै सत्यनिष्ठ नभएसम्म र यसलाई दुरुस्त नराखेसम्म यो राम्रो गुण हो भनेर सोच्नुको कुनै अर्थ हुनेछैन। आजको संसारमा निर्माण सामग्री किन्‍न अक्सर धेरै खर्च गर्नुपर्छ। (लूका १४:२८, २९) त्यसैगरि, सत्यनिष्ठ हुन पनि समय र प्रयास खर्च हुन्छ। तर यसरी समय र प्रयास खर्च गर्नु सार्थक छ। त्यसैले अब तीनवटा प्रश्‍नहरू छलफल गरौं: हामी कसरी सत्यनिष्ठ हुन सक्छौं? हामी ख्रीष्टियान सत्यनिष्ठा कसरी कायम राख्न सक्छौं? कोही केही समय सत्यनिष्ठ हुन सकेन भने के गर्न सकिन्छ?

हामी कसरी सत्यनिष्ठ हुन सक्छौं?

३, ४. (क) सत्यनिष्ठ हुन यहोवाले हामीलाई के-कस्ता तरिकामा मदत गर्नुहुन्छ? (ख) येशूले देखाएअनुसार हामी कसरी सत्यनिष्ठ हुन सक्छौं?

३ सत्यनिष्ठ हुने कि नहुने, त्यो छनौट गर्ने मौका दिएर यहोवाले हाम्रो सम्मान गर्नुभएको छ भनेर अघिल्लो लेखबाट बुझ्यौं। तर खुसीको कुरा, यस सन्दर्भमा यहोवाले हामीलाई जेसुकै गरोस्‌ भनेर त्यसै छोड्‌नुभएको छैन। बरु यो बहुमूल्य गुण प्राप्त गर्ने तरिका हामीलाई सिकाउनुहुन्छ र ती शिक्षा लागू गर्न मदत दिने पवित्र आत्मा उदार भएर दिनुहुन्छ। (लूका ११:१३) साथै, निर्दोष जीवन व्यतीत गर्नेहरूलाई अर्थात्‌ सत्यनिष्ठ भएर हिंड्‌न प्रयास गर्नेहरूलाई उहाँ आध्यात्मिक सुरक्षासमेत दिनुहुन्छ।—हितो. २:७.

४ यहोवाले हामीलाई सत्यनिष्ठ मानिस हुन कसरी सिकाउनुभएको छ? सबैभन्दा महत्त्वपूर्ण तरिका त, आफ्नो पुत्र येशूलाई पृथ्वीमा पठाएर सिकाउनुभएको छ। येशू जीवनभर पूर्ण रूपमा आज्ञाकारी हुनुहुन्थ्यो। उहाँ “मृत्युसम्मै आज्ञाकारी हुनुभयो।” (फिलि. २:८) उहाँले हरेक काममा र असाध्यै गाह्रो परिस्थितिमा समेत स्वर्गमा बस्ने आफ्नो पिताको आज्ञा मान्‍नुभयो। उहाँले यहोवालाई यसो भन्‍नुभयो: “मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्‌।” (लूका २२:४२) हामी प्रत्येकले आफूलाई यसरी सोध्नुपर्छ: ‘के ममा पनि यस्तै आज्ञाकारी मनोभाव छ?’ सही मनसायसाथ आज्ञाकारी हुँदा हामी सत्यनिष्ठ हुनेछौं। आज्ञाकारी हुनुपर्ने जीवनका खास केही क्षेत्र विचार गर्नुहोस्‌।

५, ६. (क) हामीलाई अरूले नदेखेको बेलासमेत सत्यनिष्ठ हुनुपर्ने महत्त्वलाई दाऊदले कसरी जोड दिए? (ख) एक्लै हुँदा सत्यनिष्ठ हुन गाह्रो हुन सक्ने कस्ता चुनौती आज ख्रीष्टियानहरूले सामना गर्नुपर्छ?

५ एक्लै हुँदासमेत हामीले यहोवाको आज्ञा मान्‍नु जरुरी छ। भजनहार दाऊदले पनि एक्लै हुँदा “शुद्ध आचरणको” हुनु अर्थात्‌ सत्यनिष्ठ हुनु महत्त्वपूर्ण छ भनी याद गरे। (भजन १०१:२, NRV पढ्‌नुहोस्‌) राजा भएकोले दाऊदको आसपास थुप्रै मानिस हुन्थे। त्यसैले सयौं, त कहिलेकाहीं हजारौंले समेत उनको प्रत्येक चाल याद गरिरहेका हुन्थे। (भजन २६:१२ तुलना गर्नुहोस्‌) राजाले जनतासामु राम्रो उदाहरण बसाल्नुपर्ने भएकोले यस्तो बेला सत्यनिष्ठ हुनु महत्त्वपूर्ण थियो। (व्यव. १७:१८, १९) तथापि, एक्लै हुँदा अर्थात्‌ “आफ्नो घरभित्र” हुँदासमेत सत्यनिष्ठ भएर हिंड्‌नुपर्छ भनेर दाऊदले सिके। के हामीले पनि यस्तै पाठ सिकेका छौं?

६ भजन १०१:३ मा हामी दाऊदका यी शब्दहरू पाउँछौं: “मेरो आँखाको सामने कुनै नीच कुरा म राख्नेछैनँ।” विशेषगरि एक्लै हुँदा नीच कुराहरूमा आँखा लगाउने थुप्रै अवसर आज हामीसामु छन्‌। इन्टरनेटको पहुँच यस सन्दर्भमा धेरैको लागि चुनौती साबित भएको छ। अनुचित र यहाँसम्म कि अश्‍लील सामग्री हेर्न लोभिनु असाध्यै सजिलो भएको छ। तर के यस्ता कुरामा भाग लिनु भनेको दाऊदलाई माथि उल्लिखित शब्दहरू लेख्न प्रेरित गर्ने परमेश्‍वरप्रति आज्ञाकारी हुनु हो? अश्‍लील सामग्री हानिकारक छ किनकि यसले अनुचित र लोभी इच्छाहरू जगाएर उत्तेजित बनाउँछ, अन्तस्करण बिगार्छ, वैवाहिक जीवन कमजोर पार्छ र सम्बन्धित सबैको अपमान गर्छ।—हितो. ४:२३; २ कोरि. ७:१; १ थिस्स. ४:३-५.

७. कस्तो सिद्धान्तले एक्लै हुँदा सत्यनिष्ठ हुन हामीलाई मदत गर्न सक्छ?

७ यहोवाको कुनै पनि सेवक वास्तवमा कहिल्यै एक्लो अवस्थामा हुँदैन। किनकि हाम्रा पिता यहोवाको मायालु नजरबाट हामी कहिल्यै लुक्न सक्दैनौं। (भजन ११:४ पढ्‌नुहोस्‌) तपाईंले प्रलोभनहरू तिरस्कार गरेको देख्दा उहाँलाई कत्ति खुसी लाग्ला! यसो गर्दा तपाईंले मत्ती ५:२८ मा उल्लिखित येशूका शब्दहरूमा लुकेको चेतावनी सुनिरहनुभएको हुनेछ। त्यसैले, तपाईंलाई गलत काम गर्न प्रलोभनमा पार्न सक्ने तस्वीरहरू कुनै पनि हालतमा नहेर्न दृढ संकल्प गर्नुहोस्‌। अश्‍लील सामग्री हेर्ने वा पढ्‌ने जस्तो लाजमर्दो काम गरेर आफ्नो बहुमूल्य सत्यनिष्ठा नबेच्नुहोस्‌!

८, ९. (क) दानियल र उनका साथीहरूले सत्यनिष्ठाको सन्दर्भमा कस्तो चुनौती सामना गरे? (ख) आज जवान ख्रीष्टियानहरूले यहोवा र सँगी ख्रीष्टियानहरूलाई कसरी आनन्दित तुल्याउँछन्‌?

८ हाम्रो जस्तै विश्‍वास नभएकाहरूमाझ हुँदासमेत यहोवाप्रति आज्ञाकारी भएर हामी सत्यनिष्ठ मानिस हुन सक्छौं। दानियल र उनका तीन जना साथीलाई सम्झनुहोस्‌। बेबिलोनको कैदमा लगिंदा तिनीहरू कलिलै थिए। तिनीहरू वरिपरि यहोवाबारे अलिअलि मात्र थाह पाएका वा पटक्कै थाह नपाएका भिन्‍नै विश्‍वास राख्ने मानिसहरू थिए। ती चार जना हिब्रू केटामाथि परमेश्‍वरको व्यवस्थाले निषेध गरेका विभिन्‍न परिकार खाने दबाब आइपऱ्‍यो। ‘खाँदैमा के नै फरक पर्छ र’ भनेर ती केटाहरूले परमेश्‍वरको व्यवस्थासँग सजिलै सम्झौता गर्न सक्थे। आखिर, तिनीहरूका आमाबाबु, पाका यहूदीहरू र पूजाहारीहरूले ती केटाहरू के गर्दैछन्‌ भनेर पनि त अत्तोपत्तो पाउने थिएनन्‌। तर एक जनाले भने थाह पाउने थियो। कसले? यहोवाले! त्यसैले दबाब आइपरे तापनि, ज्यानै जोखिममा भए तापनि तिनीहरूले दृढ अडान लिए र यहोवाप्रति आज्ञाकारी भए।—दानि. १:३-९.

९ विश्‍वभरि नै, यहोवाका जवान साक्षीहरूले ख्रीष्टियानहरूलाई दिइएको परमेश्‍वरको स्तर पक्रँदै साथीहरूबाट आउने हानिकारक दबाबमा पर्न तिरस्कार गरेर यस्तै अडान लिएका छन्‌। तपाईं जवानहरूले लागू-पदार्थ, हिंसा, गालीगलौज, अनैतिकता र अन्य खराब कामहरूमा भाग लिन इन्कार गरेमा तपाईंहरूले यहोवाको आज्ञा मानिरहेको हुनेछ। यसरी तपाईंहरू सत्यनिष्ठ साबित हुनुहुनेछ। तपाईं आफैले लाभ उठाउनुहुनेछ र यहोवा अनि सँगी ख्रीष्टियानहरूलाई आनन्दित तुल्याउनुहुनेछ।—भज. ११०:३.

१०. (क) व्यभिचारसम्बन्धी कस्तो गलत धारणाले केही युवा-युवतीको सत्यनिष्ठा गुमेको छ? (ख) सत्यनिष्ठाले हामीलाई व्यभिचारको खतरादेखि जोगिन कसरी मदत गर्छ?

१० विपरीत लिङ्‌गका व्यक्‍तिहरूसित व्यवहार गर्दा पनि हामी आज्ञाकारी हुनु आवश्‍यक छ। परमेश्‍वरको वचनले व्यभिचारलाई निषेध गर्छ भनेर हामीलाई थाह छ। तथापि, आज्ञाकारी हुने झुकावबाट मनपरी गर्ने झुकावतिर ढल्न कत्ति पनि बेर लाग्दैन। उदाहरणको लागि, केही युवायुवतीलाई मुख मैथुन वा मलद्वार मैथुन गर्नु अथवा आपसी सहमतिमा एक-अर्काको यौन-अंग सुमसुम्याउनु त्यत्ति खराब होइनजस्तो लाग्दो रहेछ। किनकि उनीहरूलाई यस्तो गर्नु वास्तवमा “यौन सम्पर्क” राखेको होइन भन्‍ने लाग्दो रहेछ। तर बहिष्कारसमेत हुन सक्ने यस्ता सम्पूर्ण गतिविधि तथा खराब आचरण बाइबलमा प्रयोग गरिएको व्यभिचार शब्दमा पर्छ भन्‍ने कुरालाई तिनीहरूले बिर्सेका छन्‌ वा वेवास्ता गर्न खोजेका छन्‌।a अझै दुःखलाग्दो कुरा त के हो भने तिनीहरूले नैतिक शुद्धता कायम राखेर सत्यनिष्ठ हुनुपर्ने आवश्‍यकतालाई समेत बेवास्ता गरेका छन्‌। हामी सत्यनिष्ठ हुन प्रयासरत्‌ छौं। त्यसैले हामी खराब काम गर्न बहाना खोज्नेछैनौं। ‘गल्ती गरे पनि सजायबाट उम्कन सकिहाल्छु नि’ भनेर गलत काम गर्ने हदसम्म पुग्न सुरिनेछैनौं। गल्ती गर्दा मण्डलीबाट पाइने अनुशासनमा मात्र ध्यान लगाउनेछैनौं। बरु, यहोवाको भावनालाई आघात पुऱ्‍याउने कुराहरू तिरस्कार गर्दै, जे गर्दा उहाँलाई खुसी पार्न सकिन्छ त्यही गर्नेछौं। पाप गर्ने हदसम्म पुग्नुको सट्टा त्यसबाट हामी एकदमै टाढा बस्नेछौं र “व्यभिचारदेखि” नितान्त “अलग” रहनेछौं। (१ कोरि. ६:१८) यसरी हामी साँच्चै सत्यनिष्ठ मानिस हौं भनेर देखाउँछौं।

सत्यनिष्ठा कसरी कायम राख्न सक्छौं?

११. हरेक कुरामा आज्ञाकारी हुनु किन महत्त्वपूर्ण छ? उदाहरण दिनुहोस्‌।

११ आज्ञाकारी भएर सत्यनिष्ठ हुन सकेजस्तै आज्ञाकारी मार्गमा लागिरहेर सत्यनिष्ठा कायम राख्न सक्छौं। एउटा सानो कुरामा आज्ञाकारी हुनु महत्त्वहीन वा तुच्छजस्तो देखिएला। तैपनि, यस्तै एउटा-एउटा आज्ञाकारिताले नै सत्यनिष्ठाको रेकर्ड राख्दै जान्छ। जस्तै: एउटा इँट महत्त्वहीन देखिएला तर एउटा इँटमाथि अर्को इँट राम्ररी तह मिलाउँदै राख्दा एउटा सुन्दर घर बनाउन सक्छौं। त्यसैले इँटमाथि इँट थपेजस्तै एकपछि अर्को कुरामा आज्ञाकारी हुँदै हामी सत्यनिष्ठा कायम राख्न सक्छौं।—लूका १६:१०.

१२. दुर्व्यवहार र अन्याय भोग्नुपर्दा समेत सत्यनिष्ठा कायम राख्ने सन्दर्भमा दाऊदले कसरी उदाहरण बसाले?

१२ विशेषगरि कठिनाइ, दुर्व्यवहार वा अन्याय भोग्नुपर्दा समेत सहन्छौं भने त्यो हाम्रो सत्यनिष्ठाको प्रमाण हो। बाइबलमा उल्लिखित दाऊदको उदाहरण विचार गर्नुहोस्‌। जवान छँदै तिनले यहोवाको अख्तियार प्रतिनिधित्व गर्ने जिम्मा पाएका राजाको हातबाट सतावट भोग्नुपऱ्‍यो। तर राजा शाऊलले यहोवाको अनुमोदन गुमाएका थिए र परमेश्‍वरको समर्थन पाएका दाऊदको अचाक्ली ईर्ष्या गर्थे। तैपनि, शाऊल केही समयसम्म अख्तियारमा थिए र उनले इस्राएली सेना लगाएर दाऊदलाई खेदे। यहोवाले केही वर्ष यस्तो अन्याय हुन दिनुभयो। के दाऊद परमेश्‍वरसँग झोक्किए? धैर्य गर्नुको कुनै अर्थ छैन भन्‍ने निर्णयमा पुगे? अँह! बरु तिनले त्यसको ठीक उल्टो गरे। शाऊल परमेश्‍वरद्वारा अभिषिक्‍त व्यक्‍ति भएकोले दाऊदले उनको ओहदाको गहिरो आदर गरिरहे। मौका पाउँदासमेत शाऊलसित बदला लिन इन्कार गरे।—१ शमू. २४:२-७.

१३. कसैले चोट पुऱ्‍यायो वा चित्त दुखायो भने पनि हामी कसरी सत्यनिष्ठा कायम राख्न सक्छौं?

१३ दाऊदको उदाहरण आज हाम्रो लागि कत्ति सशक्‍त छ! हामी, विश्‍वव्यापी मण्डलीका सदस्यहरू असिद्ध भएकोले कहिलेकाहीं कसै-कसैले हामीसित अन्यायी व्यवहार गर्लान्‌ त कोही-कोही विश्‍वासबाट समेत तर्केलान्‌। तर सामूहिक रूपमा यहोवाको जनको सत्यनिष्ठा कहिल्यै तोड्‌न नसक्ने समयमा बस्न पाउनु हाम्रो लागि आशिष्‌को कुरा हो। (यशै. ५४:१७) तैपनि, कुनै व्यक्‍तिले हामीलाई निराश पार्दा वा हाम्रो भावनामा चोट पुऱ्‍याउँदा हामी कस्तो प्रतिक्रिया देखाउनेछौं? यदि सँगी उपासकप्रति द्वेष राख्यौं भने परमेश्‍वरप्रतिको हाम्रो सत्यनिष्ठा खतरामा पर्न सक्छ। अरूको आचरणले गर्दा परमेश्‍वरप्रति नै असन्तुष्ट हुने वा वफादार हुनै छोड्‌ने छुट हामीसित पटक्कै छैन। (भज. ११९:१६५) परीक्षाहरू भोग्दासमेत धैर्य गऱ्‍यौं भने सत्यनिष्ठा कायमै राख्ने मदत पाउनेछौं।

१४. संगठनात्मक परिवर्तन हुँदा वा सैद्धान्तिक कुराहरूमा छाँटकाँट गरिंदा सत्यनिष्ठा कायम राख्नेहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

१४ गल्ती खोज्ने वा आलोचना गर्ने मनोभाव त्यागेर पनि हामी सत्यनिष्ठा कायम राख्न सक्छौं। यसको मतलब, पक्कै पनि यहोवाप्रति वफादार हुनु हो। अहिले उहाँले आफ्ना जनहरूलाई पहिलेभन्दा धेरै आशिष्‌ दिइरहनुभएको छ। इतिहासमै पृथ्वीमा शुद्ध उपासना यत्ति उच्च पहिले कहिल्यै पारिएको थिएन। (यशै. २:२-४) बाइबल पदहरूको व्याख्याबारे केही छाँटकाँट गरिंदा वा कामकुरा गर्ने तरिकामा परिवर्तन ल्याइँदा हामी ती स्वीकार्न चाहन्छौं। आध्यात्मिक ज्योति झन्‌-झनै चहकिलो हुँदै गएको प्रमाण देख्दा हामी रमाउँछौं। (हितो. ४:१८) परिवर्तन भएको कुरा बुझ्न गाह्रो भयो भने ‘बुझ्ने मदत दिनुहोस्‌’ भनेर हामी यहोवासँग बिन्ती गर्छौं। त्यतिन्जेल, सत्यनिष्ठा कायम राख्दै आज्ञाकारी भइरहन्छौं।

कोही सत्यनिष्ठ हुन सकेन भने नि?

१५. कसले मात्र तपाईंको सत्यनिष्ठा खोसेर लैजान सक्छ?

१५ यो गम्भीर प्रश्‍न हो, होइन र? अघिल्लो लेखमा हामीले सिकेझैं सत्यनिष्ठा अत्यन्तै आवश्‍यक छ। सत्यनिष्ठ छैनौं भने यहोवासित हाम्रो कुनै सम्बन्ध रहँदैन र हामीसित साँचो आशा पनि हुँदैन। यो कुरा मनमा राख्नुहोस्‌: विश्‍व-ब्रह्‍माण्डमा तपाईंको सत्यनिष्ठा खोसेर लैजान सक्ने व्यक्‍ति एक जना मात्रै छ। अनि त्यो व्यक्‍ति तपाईं आफै हुनुहुन्छ। अय्यूबले यो तथ्य राम्ररी बुझेका थिए। उनले भने: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ। (अय्यू. २७:५) यदि तपाईंमा पनि यस्तै संकल्प छ र तपाईं यहोवासँग नजिक भइरहनुभयो भने तपाईंले कहिल्यै आफ्नो सत्यनिष्ठा गुमाउनुपर्नेछैन।—याकू. ४:८.

१६, १७. (क) गम्भीर पाप गर्ने व्यक्‍तिले के गर्नु गलत हो? (ख) तर के गर्नु ठीक हो?

१६ तैपनि, कोही-कोही सत्यनिष्ठ भइरहन असफल हुन्छन्‌। प्रेरितहरू जीवितै छँदासमेत केही व्यक्‍तिमा गम्भीर पाप गर्ने बानी बस्यो। तपाईंले पनि यस्तै गम्भीर पाप गर्नुभयो भने अवस्था आशाविहीन भयो भन्‍न मिल्छ? भनिहाल्न त मिल्दैन। त्यसोभए, के गर्न सकिन्छ? तर केचाहिं गर्नुहुँदैन, पहिले त्यो बुझौं। अक्सर मानिसहरूमा आमाबाबु, सँगी ख्रीष्टियान वा प्राचीनहरूबाट आफ्ना गल्तीहरू लुकाउने झुकाव हुन्छ। तर बाइबल हामीलाई यसरी सम्झाउँछ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितो. २८:१३) पापहरू लुकाउन खोज्ने व्यक्‍तिले दुःखलाग्दो गल्ती गरिरहेको हुन्छ, किनकि यहोवाबाट केही कुरा लुक्न सक्दैन। (हिब्रू ४:१३ पढ्‌नुहोस्‌) कसै-कसैले एकातिर यहोवाको सेवा गरिटोपल्छन्‌ त अर्कोतिर गम्भीर पापहरू पनि गर्छन्‌। यसरी यिनीहरू दोहोरो जीवन बिताउने प्रयत्नसमेत गर्छन्‌। यिनीहरूलाई सत्यनिष्ठ व्यक्‍ति कदापि भन्‍न मिल्दैन। बरु, यिनीहरूले आफ्नो सत्यनिष्ठा गुमाएका हुन्छन्‌। गम्भीर पापहरू लुकाउने व्यक्‍तिले गरेको उपासनामा यहोवा खुसी हुनुहुन्‍न। बरु, यस्तो आडम्बरले उहाँलाई रिस उठाउँछ।—हितो. २१:२७; यशै. १:११-१६.

१७ कुनै ख्रीष्टियानले गम्भीर गल्ती गर्दा उसले के गर्नुपर्छ, त्यो स्पष्ट छ। यस्तो समयमा ख्रीष्टियान प्राचीनहरूको मदत खोज्नुपर्छ। आध्यात्मिक रूपमा गम्भीर बिरामी भएकाहरूका लागि यहोवाले एउटा प्रबन्ध गर्नुभएको छ। (याकूब ५:१४ पढ्‌नुहोस्‌) अनुशासन वा ताडना पो पाइने हो कि भन्‍ने डरले आध्यात्मिक तवरमा स्वस्थ हुनदेखि पछि नहट्‌नुहोस्‌। के कुनै बुद्धिमान्‌ मानिसले खोप लाउँदा वा अप्रेसन गराउँदा पीडा हुन्छ भनेर त्यसबाट जोगिन आफ्नो ज्यान नै जोखिममा पार्छ र?—हिब्रू १२:११.

१८, १९. (क) सत्यनिष्ठा फेरि प्राप्त गर्न सकिन्छ भनेर दाऊदको उदाहरणले कसरी देखाउँछ? (ख) सत्यनिष्ठाको सन्दर्भमा तपाईंको संकल्प कस्तो छ?

१८ तर के पूर्ण रूपमा निको हुन सकिने कुनै आशा छ? सत्यनिष्ठा एकपटक गुमाइसकेपछि के फेरि प्राप्त गर्न सकिन्छ? फेरि दाऊदको उदाहरण विचार गर्नुहोस्‌। तिनले गम्भीर पाप गरे। अर्काकी पत्नीमाथि लोभी नजर लगाए, व्यभिचार गरे र निर्दोष पतिलाई मार्न लगाए। त्यसबेला दाऊद सत्यनिष्ठ मानिस थिए भनेर सोच्नु गाह्रो थियो नि, होइन र? तर के तिनको अवस्था आशाविहीन थियो? दाऊदलाई कडा अनुशासन चाहिएको थियो र तिनले त्यो पाए पनि। अनि साँचो पश्‍चाताप गरेकोले तिनले यहोवाबाट दया पाए। दाऊदले अनुशासनबाट सिके र परमेश्‍वरप्रति आज्ञाकारी भएर अनि त्यस मार्गमा लागिरहेर तिनी फेरि सत्यनिष्ठ भए। हितोपदेश २४:१६ का शब्दहरू दाऊदको जीवनमा चरितार्थ भयो: “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्‌छ।” त्यसको परिणाम? दाऊदको मृत्यु भइसकेपछि यहोवाले सुलेमानलाई दाऊदबारे के भन्‍नुभयो, विचार गर्नुहोस्‌। (१ राजा ९:४ पढ्‌नुहोस्‌) परमेश्‍वरले दाऊदलाई इमानदार अर्थात्‌ सत्यनिष्ठ मानिसको रूपमा सम्झनुभयो। निश्‍चय नै, पश्‍चाताप गर्ने पापीहरूलाई यहोवाले उनीहरूले गरेका गम्भीर पापको दागबाट समेत सफा पार्न सक्नुहुन्छ।—यशै. १:१८.

१९ हो, प्रेमले उत्प्रेरित भई परमेश्‍वरको आज्ञा मान्दा तपाईं सत्यनिष्ठ मानिस हुनुहुनेछ। वफादार भएर धैर्य गरिरहनुहोस्‌। गम्भीर पाप गरिहाल्नुभयो भने पनि साँचो पश्‍चाताप गरेको देखाउनुहोस्‌। सत्यनिष्ठा कत्ति बहुमूल्य छ! दाऊदले झैं हामी सबैले यस्तो संकल्प गर्न सकौं: “मचाहिं ता आफ्नो इमानदारीमा चल्नेछु।”—भज. २६:११. (w 08 12/15)

[फुटनोट]

a फेब्रुअरी १५, २००४ को प्रहरीधरहरा, पृष्ठ १३, अनुच्छेद १५ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• तपाईं कसरी सत्यनिष्ठ हुन सक्नुहुन्छ?

• कस्ता तरिकामा तपाईं आफ्नो सत्यनिष्ठा कायम राख्न सक्नुहुन्छ?

• सत्यनिष्ठा फेरि प्राप्त गर्नु कसरी सम्भव छ?

[पृष्ठ १६-मा भएको पेटी]

“कत्ति दयालु मान्छे!”

पाँच महिनाकी एउटी गर्भवती महिलाले यो उद्‌गार गरेकी थिइन्‌। एक अपरिचित युवतीले आफूप्रति देखाएको दया र सत्यनिष्ठाको कारण तिनले त्यसो भनिन्‌। कफी पसलमा गएकी उक्‍त महिलाले त्यहाँबाट निस्केको घण्टौंपछि मात्र आफ्नो पर्स त्यहीं छोडेको थाह पाइन्‌। तिनको पर्समा २,००० अमेरिकी डलर (लगभग ने.रू. १,३५,०००) थियो। तिनी अक्सर यत्ति धेरै रकम बोक्ने गर्दिन थिइन्‌। तिनले स्थानीय खबरपत्रिकालाई पछि यसो भनिन्‌: “म त छाँगोबाट खसेझैं भएँ।” तर एउटी युवतीले तिनको पर्स भेट्टाइन्‌ र तुरुन्तै पर्स-धनीलाई खोज्न थालिन्‌। पर्स-धनी नभेटेपछि युवतीले उक्‍त पर्स थानामा बुझाइन्‌। त्यसपछि प्रहरीले उक्‍त गर्भवती महिलालाई खोजेर भेट्टाए। कृतज्ञ हुँदै पर्स-धनीले यसो भनिन्‌: “साँच्चै नै कत्ति दयालु मान्छे!” तर पर्स भेट्टाउने ती युवतीले पैसा फिर्ता गर्न किन त्यत्ति धेरै मिहेनत गरिन्‌? तिनी एक जना यहोवाको साक्षी भएकीले “तिनी आफ्नो धर्मप्रति सत्यनिष्ठ छिन्‌” भनेर उक्‍त खबरपत्रिकामा लेखिएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने