प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ११/१ pp. २३-२७
  • भ्रातृप्रेममा बढ्‌दै जानुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भ्रातृप्रेममा बढ्‌दै जानुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिमीहरू पनि ठूला मनका होओ”
  • अरूको निम्ति समय निकाल्नुहोस्‌
  • नम्रताले मिलाप गर्न मदत गर्छ
  • “काम र सत्यताले प्रेम गरौं”
  • “आपसमा प्रगाढ प्रेम राख”
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • “आपसमा प्रगाढ प्रेम राख”
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • भ्रातृ-प्रेम बनिरहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ११/१ pp. २३-२७

भ्रातृप्रेममा बढ्‌दै जानुहोस्‌

जसरी ख्रीष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो . . . त्यसरी तिमीहरू पनि प्रेममा चल।”—एफि. ५:२.

१. येशूले आफ्ना अनुयायीहरूलाई चिनाउने महत्त्वपूर्ण पक्ष के हो भन्‍नुभयो?

परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न घरघर जानु यहोवाका साक्षीहरूको चिनारी हो। तैपनि आफ्ना साँचो चेलाहरूलाई चिनाउन ख्रीष्ट येशूले ख्रीष्टियान धर्मको भिन्‍नै पक्ष छनौट गर्नुभयो। उहाँले भन्‍नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूह. १३:३४, ३५.

२, ३. हाम्रा ख्रीष्टियान सभाहरूमा आउनेहरूलाई हाम्रो भ्रातृप्रेमले कस्तो असर पार्छ?

२ साँचो ख्रीष्टियानबीच हुने भ्रातृप्रेम अरू कसैसित छैन। चुम्बकले फलामलाई तानेझैं प्रेमले यहोवाका सेवकहरूलाई एकजूट हुन खिच्छ र निष्कपट मानिसहरूलाई साँचो उपासनातर्फ आकर्षित गर्छ। काम गर्ने ठाउँमा दृष्टि गुमाएका क्यामरूनका मार्सेलिनोलाई यसको उदाहरणको रूपमा लिनुहोस्‌। तिनी बोक्सा भएकोले अन्धो भएका हुन्‌ भन्‍ने हल्ला दुर्घटनापछि फैलियो। सान्त्वना दिनुको साटो तिनका पास्टर र चर्चका अन्य सदस्यहरूले तिनलाई आफ्नो समूहबाट निकालिदिए। यहोवाका एक जना साक्षीले मार्सेलिनोलाई सभामा आउने निम्तो दिंदा तिनी हच्किए। तिनी फेरि तिरस्कृत हुन चाहँदैन थिए।

३ राज्यभवनमा पुगेपछि त मार्सेलिनो छक्कै परे। राज्यभवनमा तिनको हार्दिक स्वागत गरियो र त्यहाँ सुनेको बाइबलको शिक्षाबाट तिनले सान्त्वना पाए। तिनी मण्डलीका सम्पूर्ण सभाहरूमा उपस्थित हुन थाले, बाइबल अध्ययनमा उन्‍नति गरे र सन्‌ २००६ मा बप्तिस्मा लिए। अहिले तिनी परिवार र छिमेकीहरूसित बाइबल सत्य बाँड्‌दैछन्‌ र थुप्रैलाई बाइबल अध्ययन गराइरहेका छन्‌। मार्सेलिनो आफूले परमेश्‍वरका जनहरूमाझ अनुभव गरेको जस्तै प्रेम आफ्ना बाइबल विद्यार्थीहरूले पनि अनुभव गरेको चाहन्छन्‌।

४. ‘प्रेममा चलिरह’ भनेर पावलले दिएको सल्लाह हामीले किन पालन गर्नुपर्छ?

४ भ्रातृप्रेम मनमोहक हुन्छ। तर त्यसो भन्दैमा भ्रातृप्रेमलाई हलुकासित लिन मिल्दैन। जाडोमा हामी सबै आगो ताप्न वरिपरि जम्मा हुन्छौं र आगो ताप्दा हामीलाई न्यानो महसुस हुन्छ। तर दाउरा थपेनौं भने आगोको राप मधुरो हुँदै जान्छ र अन्तमा आगो नै निभ्छ। त्यसैगरि मण्डलीका प्रत्येक सदस्यले प्रेमको अद्‌भुत बन्धनलाई बलियो पार्न कोसिस गरेनन्‌ भने यो बन्धन पनि खुकुलो हुन थाल्नेछ। त्यसोभए हामी के गर्न सक्छौं? प्रेरित पावल यस्तो जवाफ दिन्छन्‌: “जसरी ख्रीष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो र परमेश्‍वरका निम्ति मीठो बास्ना हुनलाई भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो, त्यसरी तिमीहरू पनि प्रेममा चल।” (एफि. ५:२) म कुनकुन तरिकामा प्रेममा चलिरहन सक्छु? अब यस प्रश्‍नबारे छलफल गर्नेछौं।

“तिमीहरू पनि ठूला मनका होओ”

५, ६. किन पावलले कोरिन्थका ख्रीष्टियानहरूलाई “ठूला मनका” हुन आग्रह गरे?

५ प्राचीन कोरिन्थका ख्रीष्टियानहरूलाई प्रेरित पावलले लेखे: “ए कोरिन्थी हो, हामीले खोलेरै तिमीहरूलाई भनिदिएका छौं, हाम्रो मन ठूलो छ। तिमीहरू हामीमा साँघुरा भएका छैनौ, तर तिमीहरू आफ्नै स्नेहमा साँघुरिएका छौ। अब त्यही किसिमको सट्टामा (म आफ्नै बालकहरूसँगझैं भन्दछु), तिमीहरू पनि ठूला मनका होओ।” (२ कोरि. ६:११-१३) पावलले कोरिन्थीहरूलाई आफ्नो प्रेममा ठूला मनका होओ भनेर किन आग्रह गरे?

६ प्राचीन कोरिन्थमा मण्डली कसरी स्थापित भयो विचार गर्नुहोस्‌। इस्वी संवत्‌ ५० को अन्ततिर पावल कोरिन्थ आएका थिए। प्रचार गर्न सुरु गर्दा केहीले तिनको विरोध गरे तापनि तिनले हार मानेनन्‌। केही समयभित्रै उक्‍त सहरका थुप्रैले सुसमाचारमा विश्‍वास गरे। पावलले “डेढ वर्षसम्म” नयाँ मण्डलीलाई सिकाउने र बलियो पार्ने काम गरे। कुरा स्पष्ट छ, कोरिन्थका ख्रीष्टियानहरूलाई पावल असाध्यै माया गर्थे। (प्रेरि. १८:५, ६, ९-११) अनि तिनीहरूसित पनि पावललाई माया अनि आदर गर्नुपर्ने हर कारण थियो। तर मण्डलीका केही भने तिनीसित टाढिए। सायद कतिलाई तिनको सु-स्पष्ट सल्लाह मन परेन। (१ कोरि. ५:१-५; ६:१-१०) अरू कतिले भने “मुख्य प्रेरितहरू”-का बदख्वाइँ सुनेका हुन सक्छन्‌। (२ कोरि. ११:५, ६) पावल यी भाइबहिनीले तिनलाई साँच्चै माया गरेको चाहन्थे। त्यसैकारण पावलले यिनीहरूलाई तिनीसित र अन्य सँगी विश्‍वासीहरूसित घनिष्ठ भएर “ठूला मनका” हुन बिन्ती गरिरहेका थिए।

७. भ्रातृप्रेम देखाउने सम्बन्धमा हामी कसरी “ठूला मनका” हुन सक्छौं?

७ अनि हामीबारे चाहिं के भन्‍न सकिन्छ? भ्रातृप्रेम देखाउने सम्बन्धमा हामी कसरी “ठूला मनका” हुन सक्छौं? एउटै उमेरका वा आफ्नै जातका मानिसहरूसित घुलमिल हुन सजिलो हुन्छ। अनि मनोरञ्जनको सम्बन्धमा समान रुचि भएकाहरू अक्सर धेरै समय सँगै बिताउँछन्‌। तर केही ख्रीष्टियान र हाम्रो चासो समान नभएकोले हामी आपसमा नजिकिएका छैनौं भने “ठूला मनका” हुनु आवश्‍यक छ। आफैलाई यस्तो प्रश्‍न सोध्नु बुद्धिमानी हुन्छ: ‘मसित मिल्ने भाइबहिनीबाहेक अरूसित कहिलेकाहीं मात्र प्रचारमा जाने वा संगत गर्ने गर्छु कि? अनि राज्यभवनमा आएका नयाँ व्यक्‍तिहरू मेरो मित्र हुन योग्यको हुन सक्नुपर्छ भन्ठान्दै आफ्नो मित्रताको घेरालाई साँघुरो बनाइरहेको छु कि? के म मण्डलीमा सानाठूला सबैलाई अभिवादन गर्छु?’

८, ९. भ्रातृप्रेममा बढ्‌दै जानेगरि एकअर्कालाई अभिवादन गर्न रोमी १५:७ मा लेखिएको पावलको सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ?

८ रोमीहरूलाई लेखेका पावलका शब्दहरूले हामीलाई अभिवादन गर्ने सम्बन्धमा सँगी उपासकहरूप्रति राख्नुपर्ने उचित दृष्टिकोण विकास गर्न मदत गर्न सक्छ। ( रोमी १५:७ पढ्‌नुहोस्‌) नेपालीमा “सत्कार” भनेर अनुवाद गरिएको शब्दको युनानीमा “आफ्नो समाजमा र मित्रहरूबीच खुला मनले ग्रहण गर्ने वा अतिथि सत्कार गर्ने” भन्‍ने अर्थ लाग्छ। बाइबल समयमा मित्रहरूलाई घरमा स्वागत गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको कुरा अतिथि सत्कार गर्नेले व्यक्‍त गर्थे। लाक्षणिक अर्थमा ख्रीष्टले पनि हामीलाई त्यसरी नै स्वागत गर्नुभएको छ र सँगी उपासकहरूलाई स्वागत गर्दा हामीलाई पनि येशूलेजस्तै गर्न आग्रह गरिएको छ।

९ भाइबहिनीलाई राज्यभवनमा र अन्य ठाउँमा अभिवादन गर्दा हामीले हालै कुराकानी गर्न नपाएका वा नदेखेका भाइबहिनीलाई पनि याद गर्नुपर्छ। उनीहरूसित कुराकानी गर्न केही समय निकाले कसो होला? अर्को पटक सभामा जाँदा त्यसै गर्न सक्छौं। त्यसो गऱ्‍यौं भने प्रायः सबैजसो भाइबहिनीसित रमाइलो कुराकानी गर्न सक्नेछौं। एकदिन सबैसित कुराकानी गर्न पाएनौं भने पनि चिन्ता गर्नुपर्दैन। कसैलाई प्रत्येक सभामा अभिवादन गर्न सकेनौं भने तिनले पनि चित्त दुखाउनु हुँदैन।

१०. मण्डलीका सबैसामु कस्तो अनमोल मौका छ र हामी कसरी यसको पूरापूर फाइदा उठाउन सक्छौं?

१० अरूलाई स्वागत गर्ने पहिलो कदम अभिवादन गर्नु हो। त्यसो गर्दा रमाइलो कुराकानी गर्न र मित्रता चिरकालीन बनाउन सकिन्छ। उदाहरणको लागि, सम्मेलन र अधिवेशनहरूमा आउनेहरूले आफ्नो परिचय दिएर कुराकानी थाल्दा अर्को पटक पनि भेटघाट गर्ने आशा गरिरहेका हुन्छन्‌। सँगै काम गर्दा एकअर्काका गुणहरू देखेकोले राज्यभवन निर्माण गर्ने स्वयम्‌सेवकहरूका साथै राहत कार्यमा भाग लिनेहरू अक्सर मिल्ने साथी बन्छन्‌। यहोवाको संगठनमा चिरकालीन मित्रता गाँस्ने थुप्रै मौका पाइन्छ। “ठूला मनका” भयौं भने हाम्रा थुप्रै साथी हुनेछन्‌ र हामीलाई एकतामा बाँध्ने प्रेम प्रबल हुनेछ।

अरूको निम्ति समय निकाल्नुहोस्‌

११. मर्कूस १०:१३-१६ ले देखाएअनुसार येशूले कस्तो उदाहरण बसाल्नुभयो?

११ येशूको नजिक आउन र उहाँसित कुरा गर्न मानिसहरू हिचकिचाउँदैन थिए। हामी ख्रीष्टियानहरूले पनि येशूजस्तै हुने प्रयास गर्नुपर्छ। छोराछोरीलाई येशूसामु ल्याउन खोज्ने बुबाआमालाई चेलाहरूले रोक्दा येशूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो विचार गर्नुहोस्‌। “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ,” उहाँले भन्‍नुभयो। “तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो।” त्यसपछि “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कू. १०:१३-१६) महान्‌ गुरुले यसरी माया देखाउँदा यी साना केटाकेटी कत्ति रमाए होलान्‌, कल्पना गर्नुहोस्‌।

१२. के-कस्ता कुराले हामीलाई अरूसित कुरा गर्न अवरोध पुऱ्‍याउन सक्छ?

१२ प्रत्येक ख्रीष्टियानले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के म अरूको निम्ति समय निकाल्छु? अथवा म अति व्यस्त देखिन्छु कि?’ त्यस्तो बानी नराम्रो होइन तापनि कहिलेकाहीं यसले कुराकानीमा अवरोध पुऱ्‍याउन सक्छ। जस्तै:- हामी अक्सर सेल-फोनमै व्यस्त हुन्छौं वा अरूको उपस्थितिमा पनि इयरफोन लगाएर रेकर्डिङ सुनिरहन्छौं भने कुरा गर्ने मन छैन भन्‍ने सन्देश दिइरहेका हुन्छौं। अरूले हामीलाई अक्सर हाते-कम्प्युटरमा एकोहोरो हेरिरहेका देखे भने हामी उनीहरूसित कुरा गर्न चाहँदैनौं भन्‍ने निष्कर्षमा उनीहरू पुग्न सक्छन्‌। हो, “चूप्प लाग्ने एउटा समय” छ। तर वरपर मानिस भएको बेला भने अक्सर “बोल्ने . . . समय” हो। (उप. ३:७) कसैले यसो भन्ला: “अरूसित कुरा गर्न चाहन्‍नँ” वा “मलाई बिहानबिहानै कुरा गर्न मनै लाग्दैन।” तर त्यत्ति नबोल्ने स्वभावका छौं भने पनि मित्रैलो कुराकानी गर्दा प्रेमले “आफ्नै भलाइ खोज्दैन” भन्‍ने प्रमाण दिइरहेका हुन्छौं।—१ कोरि. १३:५.

१३. पावलले तिमोथीलाई ख्रीष्टियान भाइबहिनीप्रति कस्तो दृष्टिकोण राख्न प्रोत्साहन दिए?

१३ पावलले युवा तिमोथीलाई मण्डलीका सबैलाई आदर गर्न प्रोत्साहन दिए। ( १ तिमोथी ५:१, २ पढ्‌नुहोस्‌) हामीले पनि मण्डलीमा आफूभन्दा ठूलालाई आफ्नै बुबाआमासरह अनि सानालाई सहोदर भाइबहिनीसरह व्यवहार गर्नुपर्छ। यस्तै मनोवृत्ति राखेका छौं भने हाम्रा भाइबहिनीलाई हामीसित कुराकानी गर्न अप्ठेरो होइन सजिलो महसुस हुन्छ।

१४. अरूसित उत्थानदायी कुराकानी गरेर तपाईंले के-कस्ता फाइदा उठाउनुभएको छ?

१४ अरूलाई उत्थानदायी कुराकानीमा सामेल गराउँदा उनीहरूको आध्यात्मिक तथा भावनात्मक स्वास्थ्यलाई उकासिरहेका हुनेछौं। शाखा कार्यालयमा सेवा गरिरहेका एक जना भाइले भर्खरै बेथेल सेवा थाल्दा बेथेलका पुराना भाइहरूले नियमित तवरमा समय निकालेर तिनीसित कुरा गरेको क्षण निकै रमाइलो मान्दै सम्झन्छन्‌। उनीहरूका प्रोत्साहनदायी शब्दले गर्दा तिनलाई आफू पनि बेथेल परिवारको सदस्य हो जस्तो लाग्थ्यो। अहिले तिनी उनीहरूको अनुकरण गर्दै बेथेलका अन्य सँगी सेवकहरूसित कुरा गर्छन्‌।

नम्रताले मिलाप गर्न मदत गर्छ

१५. हामीबीच पनि बेलाबेलामा मतभेद हुन सक्छ भनेर केले देखाउँछ?

१५ प्राचीन फिलिप्पीका ख्रीष्टियान बहिनीहरू इयोदिया र सिन्तकेबीच उत्पन्‍न समस्या सुल्झाउनै नसकिएको हो कि जस्तो देखिएको थियो। (फिलि. ४:२, ३) पावल र बर्णाबासबीच चर्को विवाद भएको र तिनीहरू केही समयका लागि छुट्टिएको कुरा प्रायः सबैलाई थाह थियो। (प्रेरि. १५:३७-३९) साँचो उपासकहरूबीच पनि बेलाबेलामा मतभेद हुन्छ भनेर यी विवरणले देखाउँछन्‌। झगडा साम्य पारेर फेरि मित्रता कायम गर्न यहोवा हामीलाई मदत दिनुहुन्छ। तर हामीले पनि केही गरेको उहाँ चाहनुहुन्छ।

१६, १७. (क) व्यक्‍तिगत झगडा साम्य पार्न नम्रता कत्तिको महत्त्वपूर्ण छ? (ख) याकूबले एसावलाई भेट्‌न खोजेको विवरणले नम्र हुनुपर्ने आवश्‍यकताको महत्त्व कसरी प्रस्ट्याएको छ?

१६ साथीसित यात्रामा निस्कन लागेको कल्पना गर्नुहोस्‌। यात्रा थाल्नुअघि गाडीको इन्जिन स्टार्ट गर्न साँचो छिराउनैपर्छ। व्यक्‍तिगत मतभिन्‍नता सुल्झाउन पनि साँचो प्रयोग गर्नुपर्छ। यो साँचो वा कुञ्जी हो—नम्रता। ( याकूब ४:१० पढ्‌नुहोस्‌) एकअर्कासित रिसाएकाहरूलाई यो कुञ्जीले बाइबल सिद्धान्तहरू प्रयोग गर्न सक्ने बनाउँछ भनेर तल दिइएको धर्मशास्त्रीय उदाहरणले प्रस्ट पार्छ।

१७ जुम्ल्याह भाइ याकूबले गर्दा जेष्ठ अधिकार गुमाउनु परेकोले एसाव एकदमै रिसाएको र भाइलाई मार्न खोजेको पनि २० वर्ष भइसकेछ। अब यत्तिका वर्षपछि यी जुम्ल्याहा दाजुभाइको भेट हुनै लागेकोले “याकूब साह्रै डराएर घबराए।” एसावले पक्कै मार्छ भन्‍ने याकूबलाई लागेको थियो। तर भेट हुँदा तिनले एसावले चिताउँदै नचिताएको काम गरे। दाइ नजिक पुग्दै जाँदा याकूबले “भुइँमा ढोग्दै गए।” त्यसपछि के भयो? “एसाव तिनीकहाँ दौड्‌दै आएर तिनलाई अङ्‌गालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाई खाए, र तिनीहरू दुवै खूब रोए।” झगडा हुन सक्ने खतरा टल्यो। सायद एसावले मनमा पालिरहेको घृणा याकूबको नम्रताले गर्दा हट्यो।—उत्प. २७:४१; ३२:३-८; ३३:३, ४.

१८, १९. (क) आपसमा झगडा हुँदा बाइबलको सल्लाह पालन गर्न अग्रसर हुनु किन अत्यावश्‍यक छ? (ख) अर्को पक्षले सकारात्मक प्रतिक्रिया देखाएन भने पनि हामीले किन हार मान्‍नु हुँदैन?

१८ झगडा साम्य पार्न बाइबलमा सर्वोत्तम सल्लाह पाइन्छ। (मत्ती ५:२३, २४; १८:१५-१७; एफि. ४:२६, २७)a तर नम्र भएर उक्‍त सल्लाह पालन गर्दैनौं भने शान्ति कायम गर्न गाह्रो हुनेछ। मिलाप गर्ने साँचो वा कुञ्ची आफैले पनि बोकेका छौं भने, अर्को पक्ष नम्र होस्‌ भनेर कुर्नु समस्याको समाधान होइन।

१९ केही कारण मिलाप गर्ने प्रारम्भिक प्रयासहरू व्यर्थ भएजस्तो लाग्यो भने पनि हामीले आशा मार्नु हुँदैन। आफ्ना भावनाहरू केलाउन अर्को पक्षलाई समय चाहिन सक्छ। यूसुफका दाइहरूले उनीसित छली व्यवहार गरे। यो घटना तिनीहरूले यूसुफलाई मिश्रका प्रधानमन्त्रीको रूपमा भेट्‌नुभन्दा धेरैअघिको थियो। तर अन्तमा दाइहरूले आफ्नो मन परिवर्तन गरे अनि यूसुफसित माफी मागे। यूसुफले तिनीहरूलाई माफी दिए र याकूबका सन्तानले यहोवाको नाउँ बहन गर्ने राष्ट्र हुने सुअवसर पाए। (उत्प. ५०:१५-२१) हाम्रा भाइबहिनीसँग शान्ति कायम गरेर मण्डलीको एकता अनि आनन्दमा योगदान पुऱ्‍याउन सक्छौं।—कलस्सी ३:१२-१४ पढ्‌नुहोस्‌।

“काम र सत्यताले प्रेम गरौं”

२०, २१. येशूले प्रेरितहरूको गोडा धोइदिएको विवरणबाट हामी के पाठ सिक्न सक्छौं?

२० मृत्यु हुनु अघिल्लो रात येशूले प्रेरितहरूलाई यस्तो भन्‍नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” (यूह. १३:१५) उहाँले भर्खरै १२ जनाको गोडा धोइदिनुभएको थियो। चलन भएकोले वा दया देखाउनको लागि मात्र येशूले त्यसो गर्नुभएको थिएन। गोडा धोइदिएको यो विवरण बताउनुअघि यूहन्‍नाले लेखे: “येशूले . . . संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।” (यूह. १३:१) अक्सर दासले गर्ने काम गर्न येशू चेलाहरूप्रतिको प्रेमले गर्दा उत्प्रेरित हुनुभएको थियो। अब तिनीहरूले पनि नम्र हुँदै एकअर्काको निम्ति मायालु काम गरिदिनै पर्थ्यो। हो, साँचो भ्रातृप्रेमले हामीलाई हाम्रा ख्रीष्टियान भाइबहिनीको ख्याल गर्न र उनीहरूमा चासो राख्न उत्प्रेरित गर्नुपर्छ।

२१ परमेश्‍वरका पुत्र येशूले तिनको गोडा धोइदिनुको कारण प्रेरित पत्रुसले बुझे। तिनले लेखे: “यो जानेर कि, भाइप्रति निष्कपट प्रेमको निम्ति तिमीहरूले सत्यको पालनामा तिमीहरूका प्राणलाई पवित्र राखेको हुनाले एउटाले अर्कोलाई हृदयले प्रगाढ प्रेम गर।” (१ पत्रु. १:२२) प्रभुले गोडा धोइदिएका अर्का व्यक्‍ति प्रेरित यूहन्‍नाले लेखे: “साना बालकहरू, वचन र बोलीले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं।” (१ यूह. ३:१८, NRV) हाम्रा भाइबहिनीप्रतिको हाम्रो प्रेम कामबाट प्रमाणित गर्न सकौं। ( w09 11/15)

[फुटनोट]

a हाम्रो राज्य सेवकाई, जुलाई २००७, पृष्ठ ३-६ हेर्नुहोस्‌।

के तपाईंले सम्झनुभएको छ?

• एकअर्काप्रतिको प्रेममा “ठूला मनका” हुन सक्ने केही तरिका के हुन्‌?

• केले हामीलाई अरूको निम्ति समय निकाल्न मदत गर्नेछ?

• मिलाप गर्न नम्रताले कस्तो भूमिका खेल्छ?

• केले हामीलाई सँगी विश्‍वासीहरूको ख्याल राख्न उत्प्रेरित गर्नुपर्छ?

[पृष्ठ २५-मा भएको चित्र]

अरूको निम्ति समय निकाल्न सक्ने मौका नगुमाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने