येशूले परमेश्वरको राज्यको विषयमा सिकाएको कुरा
“उहाँ शहर-शहर र गाउँ-गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै हिंड्नुभयो।”—लूका ८:१.
हामी आफूलाई महत्त्वपूर्ण लाग्ने तथा मन पर्ने विषयमा कुरा गर्न मन पराउँछौं। येशूले पनि भन्नुभयो: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) येशूले सेवकाईको दौडान बोलेको कुरा विचार गर्दा परमेश्वरको राज्य उहाँको लागि एकदमै महत्त्वपूर्ण थियो भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं।
परमेश्वरको राज्य भनेको के हो? राज्य भनेको राजाद्वारा शासन गरिने सरकार हो। त्यसैले परमेश्वरको राज्य भनेको परमेश्वरद्वारा स्थापित सरकार हो। येशूले परमेश्वरको राज्यलाई आफ्नो सन्देशको मुख्य विषय बनाउँदै यसबारे विस्तृत रूपमा बताउनुभयो। सुसमाचारका चार पुस्तकमा त्यस राज्यबारे ११० पटकभन्दा धेरै चर्चा गरिएको छ। तर येशूले मुखले मात्र सिकाउनुभएन। परमेश्वरको राज्य र यसले के गर्नेछ भनेर कामबाट पनि धेरै कुरा सिकाउनुभयो।
राजा को हो? परमेश्वरको राज्यको राजा मानिसहरूले भोट हालेर चुन्ने होइन। तिनलाई त परमेश्वरले नै चुन्नुहुन्छ। येशूले आफ्नो शिक्षामा परमेश्वरले चुनेको राजा आफू नै भएको प्रकट गर्नुभयो।
प्रतिज्ञा गरिएको मसीहले कहिल्यै अन्त नहुने राज्यमा शासन गर्नेछ भनेर बाइबलमा गरिएको भविष्यवाणी येशूलाई थाह थियो। (२ शमूएल ७:१२-१४; दानियल ७:१३, १४; मत्ती २६:६३, ६४) प्रतिज्ञा गरिएको मसीह आफू नै भएको खुला घोषणा येशूले गर्नुभएको याद गर्नुहोस्। यसरी येशूले आफू परमेश्वरद्वारा नियुक्त राजा हो भनी स्वीकार्नुभयो। (यूहन्ना ४:२५, २६) त्यसैकारण येशूले धेरै चोटि “मेरो राज्य” भन्ने अभिव्यक्ति चलाउनु उपयुक्त छ।—यूहन्ना १८:३६.
त्यो राज्यमा उहाँसित शासन गर्ने अरू पनि हुनेछन् भनेर पनि येशूले सिकाउनुभयो। (लूका २२:२८-३०) उहाँले ती सहशासकहरूलाई “सानो बगाल” भन्नुभयो किनकि तिनीहरूको संख्या सीमित हुने थियो। उहाँले तिनीहरूबारे यसो भन्नुभयो: “तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) बाइबलको अन्तिम पुस्तकले ख्रीष्टसँगै शासन गर्ने सुअवसर पाउनेहरू जम्मा १,४४,००० हुनेछन् भनेर देखाउँछ।—प्रकाश ५:९, १०; १४:१.
त्यो राज्य कहाँ छ? येशूले रोमी शासक पन्तियस पिलातसलाई भन्नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्ना १८:३६) येशूले शासन गर्ने परमेश्वरको राज्यले मानव प्रतिनिधिमार्फत शासन गर्नेछैन। येशूले बारम्बार परमेश्वरको राज्यलाई “स्वर्गको राज्य” भन्नुभयो।a (मत्ती ४:१७; ५:३, १०, १९, २०) त्यसैले परमेश्वरको राज्य स्वर्गको सरकार हो।
येशूले पृथ्वीमा समय बिताएपछि स्वर्गमा फर्किने पूरा आशा गर्नुभएको थियो। त्यसैले उहाँले ‘ठाउँ तयार पारेर’ उहाँसँगै सहशासक हुनेहरूका लागि बाटो खोलिदिने कुरा बताउनुभयो।—यूहन्ना १४:२, ३.
त्यो राज्यले के गर्नेछ? येशूले आफ्ना श्रोताहरूलाई परमेश्वरलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:९, १०) परमेश्वरको इच्छा स्वर्गमा पूरा भइरहेको छ। त्यो राज्य पृथ्वीमा परमेश्वरको उद्देश्य पूरा गर्ने माध्यम हो। त्यो उद्देश्य पूरा गर्न त्यस राज्यले पृथ्वीमा नाटकीय परिवर्तनहरू ल्याउनेछ।
त्यो राज्यले पृथ्वीमा के गर्नेछ? परमेश्वरको राज्यले खराब कामहरू गरिरहनेहरूलाई हटाएर दुष्टता नामेट पार्नेछ भनेर येशूले सिकाउनुभयो। (मत्ती २५:३१-३४, ४६) यसको अर्थ सबै प्रकारका भ्रष्टता र दुष्टताको अन्त हुनेछ। पृथ्वी “नम्र,” धर्मी, दयालु, “हृदयमा शुद्ध हुने” र शान्ति रुचाउने मानिसहरूले भरिनेछ भनी येशूले सिकाउनुभयो।—मत्ती ५:५-९.
के यस्ता विश्वासी जनहरू प्रदूषित पृथ्वीमा बस्नुपर्छ? अहँ! पर्दैन! परमेश्वरको राज्यमा पृथ्वीमा ठूलठूला परिवर्तन हुनेछन् भनी येशूले प्रतिज्ञा गर्नुभयो। येशूसँगै मारिन झुण्ड्याइएका मानिसले उहाँलाई भने: “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” उहाँले त्यसलाई भन्नुभयो: ‘म तिमीहरूलाई साँच्चै भन्दछु आजै, तिमी मसित स्वर्गलोकमा [“प्रमोदवनमा”, NW] हुनेछौ।’ (लूका २३:४२, ४३) हो, परमेश्वरको राज्यले पृथ्वीलाई अदनको बगैंचाजस्तै सुन्दर बगैंचामा परिणत गर्नेछ।
मानिसजातिको लागि त्यो राज्यले अझै के गर्नेछ? येशूले परमेश्वरको राज्यले के गर्नेछ भनेर प्रतिज्ञा मात्र गर्नुभएन। त्यो राज्यले के गर्नेछ, त्यो पनि देखाउनुभयो। येशूले चमत्कार गरेर थुप्रै रोग निको पार्नुभयो र यो उहाँले भविष्यमा आफ्नो शासनकालमा व्यापक रूपमा गर्ने चमत्कारको सानो झलक थियो। प्रेरित सुसमाचारको पुस्तक येशूबारे यसो भन्छ: “येशूले तिनीहरूका सभाघरहरूमा सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरी निको पार्दै, सारा गालीलभरि घुम्नुभयो।”—मत्ती ४:२३.
येशूले थुप्रै प्रकारका निको पार्ने काम गर्नुभयो। उहाँले “जन्मैको अन्धाका आँखा” खोलिदिनुभयो। (यूहन्ना ९:१-७, ३२, ३३) घिनलाग्दो कुष्ठरोगले ग्रस्त मानिसलाई छोएर नै उसको रोग निको पारिदिनुभयो। (मर्कूस १:४०-४२) “एउटा बहिरो र भकभके मानिसलाई” उहाँकहाँ ल्याइँदा उसलाई निको पारेर “बहिरालाई सुन्ने र लाटालाई बोल्ने” तुल्याउन सक्ने कुरा उहाँले देखाउनुभयो।—मर्कूस ७:३१-३७.
परमेश्वरद्वारा नियुक्त राजासित मरेकोलाई ब्यूँताउने शक्ति पनि छ। रेकर्ड गरिएका तीनवटा घटनामा येशूले मरेकोलाई फेरि जीवित पार्नुभयो। उहाँले विधवाको एक्लो छोरा, १२ वर्षकी केटी र आफ्नो प्यारो मित्र लाजरसको पुनरुत्थान गर्नुभयो।—लूका ७:११-१५; ८:४१-५५; यूहन्ना ११:३८-४४.
परमेश्वरको राज्यका प्रजाले पाउने अद्भूत भविष्यबारे व्याख्या गर्दै येशूले प्रेरित यूहन्नामार्फत यसरी भविष्यवाणी गर्नुभयो: “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश १:१; २१:३, ४) दुःखको आँसु, पीडा अनि मृत्यु नै नभएको संसारको कल्पना गर्नुहोस् त! त्यतिबेला भने परमेश्वरको इच्छा स्वर्गमा झैं पृथ्वीमा साँच्चै पूरा हुनेछ भनेर गरिएको प्रार्थनाको वास्तविकता पूर्णतया अनुभव गरिनेछ।
परमेश्वरको राज्य कहिले आउनेछ? येशूले उहाँको राजकीय शासनको सुरु सँगसँगै विशेष समयावधि पनि सुरु हुनेछ भनी सिकाउनुभयो। त्यस समयावधिलाई उहाँले आफ्नो उपस्थिति भन्नुभयो। राजकीय शक्तिमा आफ्नो उपस्थिति सुरु भएको संकेत गर्ने विस्तृत भविष्यवाणी येशूले गर्नुभयो। संसारभरि हुने दुःखकष्टले त्यो समयावधि सुरु भएको संकेत गर्थ्यो र त्यस दुःखकष्टमा युद्ध, अनिकाल, भैंचालो, रोग-बिमार र अधर्म बढ्ने जस्ता कुरा पर्थ्यो। (मत्ती २४:३, ७-१२; लूका २१:१०, ११) येशूले भविष्यवाणी गरेका यीलगायत अरू थुप्रै चिन्ह विशेषगरि सन् १९१४ अर्थात् प्रथम विश्वयुद्ध सुरु भएको वर्षदेखि पूरा हुन थाल्यो। त्यसकारण येशू अहिले राजाको हैसियतमा शासन गर्दै हुनुहुन्छ। अब चाँडै परमेश्वरको राज्य आउनेछ र त्यसले परमेश्वरको इच्छा पृथ्वीमा पूरा गर्नेछ।b
परमेश्वरको राज्यको आगमनले व्यक्तिगत तवरमा तपाईंको लागि कस्तो अर्थ राख्छ? येशूको सन्देशप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, त्यसैमा भर पर्छ। ( w10 -E 04/01)
[फुटनोट]
a “स्वर्गको राज्य” भन्ने अभिव्यक्ति मत्तीको सुसमाचारको पुस्तकमा करिब ३० पटक प्रयोग गरिएको छ।
b परमेश्वरको राज्यको आगमन नजिकै छ भन्नेबारे यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ९ मा “के हामी ‘आखिरी दिनमा’ बाँचिरहेका छौं?” शीर्षक अन्तर्गत दिइएको विस्तृत जानकारी हेर्नुहोस्।