प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१५ पृ. २३-२७
  • “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • व्याकुल हुँदा त्यसको सामना गर्ने
  • परमेश्‍वरबाट सान्त्वना पाएका व्यक्‍तिहरू
  • “अनन्तको परमेश्‍वर तेरा बासस्थान हुनुहुन्छ”
  • “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ईश्‍वरले सान्त्वना दिनुहुने तरिका
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • साँचो सान्त्वना कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१५ पृ. २३-२७

“सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌

“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र बुबा धन्यका होऊन्‌। उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।”—२ कोरि. १:३.

१. जुनसुकै उमेरको भए तापनि हामीलाई के चाहिन्छ?

जन्मेदेखि नै हामी सबैलाई सान्त्वना चाहिन्छ। सानो बच्चाले च्याँच्याँ गरेर रुँदै आफूलाई सान्त्वना चाहिएको कुरा थाह दिन्छ। सायद आफ्नी आमाले आफूलाई काखमा लिएको ऊ चाहन्छ वा ऊ भोकाएको छ। उमेर ढल्कँदै गएपछि पनि हामीलाई सान्त्वना चाहिन्छ—अझ खास गरी कठिन समयहरूमा।

२. यहोवामा भरोसा राख्नेहरूलाई उहाँले कस्तो आश्‍वासन दिनुभएको छ?

२ परिवारका सदस्य र साथीभाइहरूले हामीलाई केही हदसम्म सान्त्वना दिन सक्छन्‌। तर कहिलेकाहीं भने हामीले यस्तो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ जतिबेला हामीलाई सान्त्वना दिनु मान्छेको वशको कुरा हुँदैन। हामीले सामना गर्नुपरेको परिस्थिति जति नै जटिल किन नहोस्‌, परमेश्‍वर हामीलाई सान्त्वना दिन सक्नुहुन्छ। उहाँको वचनले हामीलाई यसरी आश्‍वस्त पार्छ: “उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ . . . उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ।” (भज. १४५:१८, १९) हो, “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌।” (भज. ३४:१५) तर यहोवाको मदत र सान्त्वना पाउन हामीले उहाँमा भरोसा गर्नै पर्छ। दाऊदले भजन गाउँदा यो कुरा स्पष्ट पारे। तिनले यसो भने: “थिचोमिचोमा परेकाहरूका निम्ति पनि परमप्रभु एउटा अल्गो धरहरा हुनुहुनेछ, कष्टका समयमा एउटा उच्च धरहरा। तपाईंको नाउँ जान्‍नेहरू जत्तिचाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌। किनभने हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।”—भज. ९:९, १०.

३. यहोवा आफ्ना मानिसहरूलाई प्रेम गर्नुहुन्छ भनेर बुझाउन येशूले कस्तो दृष्टान्त चलाउनुभयो?

३ यहोवाका उपासकहरू उहाँका लागि बहुमूल्य छन्‌। यस कुरालाई स्पष्ट पार्दै येशूले यसो भन्‍नुभयो: “के पाँच वटा भँगेरा दुई पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटैलाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। तर तिमीहरूको कपालसमेत सबै गनिएका छन्‌। नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।” (लूका १२:६, ७) यहोवाले अगमवक्‍ता यर्मियामार्फत इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु। यसैकारण तँप्रति मैले मेरो विश्‍वासयोग्यता कायम राखेको छु।”—यर्मि. ३१:३.

४. हामी किन यहोवाका प्रतिज्ञाहरूमाथि भरोसा राख्न सक्छौं?

४ यहोवा अनि उहाँका प्रतिज्ञाहरूमाथि भरोसा राख्दा त्यसले हामीलाई व्याकुल हुँदा सान्त्वना दिन्छ। त्यसकारण हामीले पनि यहोशूले जस्तै यहोवामा भरोसा राख्नुपर्छ। तिनले यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” (यहो. २३:१४) साथै, केही समयको लागि गाह्रो परिस्थितिको सामना गर्नुपरे तापनि “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ” र उहाँ आफ्ना वफादार सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न भनेर पनि हामी पक्का हुन सक्छौं।—१ कोरिन्थी १०:१३ पढ्‌नुहोस्‌।

५. हामी किन अरूलाई सान्त्वना दिन सक्छौं?

५ प्रेषित पावलले यहोवालाई “सबै सान्त्वनाका परमेश्‍वर” भने। “सान्त्वना दिनु” भनेको व्याकुल हुँदा वा शोक पर्दा सम्झाउने-बुझाउने काम हो। त्यस्तो व्यक्‍तिलाई दुःख वा पीडा कम गर्न मदत दिएर अनि ढाडस दिएर यसो गरिन्छ। हो, यहोवाले यसरी नै सान्त्वना दिनुहुन्छ। ( २ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌) आफूलाई प्रेम गर्नेहरूलाई सान्त्वना दिनदेखि स्वर्गमा बस्नुहुने हाम्रा बुबालाई कुनै पनि कुराले वा कसैले पनि रोक्न सक्दैन। हामीलाई सान्त्वना दिन यहोवा आफूले चाहेको सबै कुरा गर्न सक्नुहुन्छ। हामी पनि उहाँले जस्तै “हरप्रकारका सङ्‌कष्टमा परेका” सँगी विश्‍वासीहरूलाई सान्त्वना दिन सक्छौं। “जुन सान्त्वना हामीले परमेश्‍वरबाट पाएका छौं, त्यही सान्त्वनाद्वारा” हामी यसो गर्न सक्छौं। यहोवाले जत्तिको राम्ररी अरू कसले पो सान्त्वना दिन सक्छ र!

व्याकुल हुँदा त्यसको सामना गर्ने

६. के-कस्ता कारणले गर्दा हामी व्याकुल हुन सक्छौं?

६ जीवनका थुप्रै क्षेत्रमा हामीलाई सान्त्वना चाहिन्छ। मृत्युको कारण आफूले माया गरेको मान्छे गुमाउनुपर्दा हामी शोकित हुन्छौं—विशेषगरि आफ्नो वैवाहिक जोडी वा बच्चा गुमाउनुपर्दा। मृत्यु नै शोकको सबैभन्दा प्रमुख कारण हो। भेदभाव वा छुवाछूतको सिकार भएको व्यक्‍तिलाई पनि सान्त्वना चाहिन सक्छ। साथै, कमजोर स्वास्थ्य अवस्था, ढल्कँदो उमेर, गरिबी, वैवाहिक जीवनमा उठ्‌ने समस्याहरू वा हामीलाई व्याकुल बनाउने संसारको अवस्थाले गर्दा हामीलाई व्यक्‍तिगत रूपमा झनै सान्त्वनाको खाँचो पर्छ।

७. (क) दुःखदायी परिस्थितिको सामना गर्नुपर्दा हामीलाई कस्तो प्रकारको सान्त्वना चाहिन्छ? (ख) टुटेको र “चूर्ण” मनलाई निको पार्न यहोवा के गर्न सक्नुहुन्छ?

७ व्याकुल हुँदा हामीलाई आफ्नो मन, दिमाग, भावना अनि शारीरिक तथा आध्यात्मिक स्वास्थ्य जोगाउन मदत गर्ने खालको सान्त्वना चाहिन सक्छ। उदाहरणको लागि, हाम्रो मनलाई विचार गर्नुहोस्‌। हाम्रो हृदय अर्थात्‌ मन टुट्‌न र “चूर्ण” हुन सक्छ भनी परमेश्‍वरको वचन बाइबल बताउँछ। (भज. ५१:१७) यहोवा हामीलाई यस्तो परिस्थितिको सामना गर्न मदत दिन सक्नुहुन्छ किनभने “उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूको मनको चोटमा पट्टि बाँधिदिनुहुन्छ।” (भज. १४७:३) एकदमै कठिन परिस्थितिमा समेत यदि हामीले यहोवामा पूर्ण भरोसा राख्दै उहाँलाई प्रार्थना गऱ्‍यौं अनि उहाँका आज्ञाहरू पालन गऱ्‍यौं भने उहाँले हाम्रो टुटेको मनलाई निको पार्न सक्नुहुन्छ।—१ यूहन्‍ना ३:१९-२२; ५:१४, १५ पढ्‌नुहोस्‌।

८. मानसिक पीडा सहनुपर्दा यहोवाले हामीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

८ थुप्रै कठिनाइको कारण हामीले मानसिक पीडा सहनुपर्ने हुन्छ। त्यतिबेला हाम्रो दिमागलाई पनि सान्त्वना चाहिन्छ। हामी आफ्नै बलबर्कतमा भर परेर विश्‍वासका यी परीक्षाहरूको सामना गर्न सक्दैनौं। त्यसैले आफूलाई ज्यादै फिक्री हुँदा भजनहारले यसरी गाए: “तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भज. ९४:१९) साथै, पावलले पनि यस्तो लेख: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) बाइबल पढेर अनि त्यसमा गहिरो मनन गरेर हामी मानसिक पीडाको डटेर सामना गर्न सक्छौं।—२ तिमो. ३:१५-१७.

९. नकारात्मक भावनाको सामना गर्न हामीलाई केले मदत गर्न सक्छ?

९ कहिलेकाहीं हामी यत्ति निराश हुन्छौं कि हामी नकारात्मक भावनामा चुर्लुम्मै डुब्न सक्छौं। सायद हामी धर्मशास्त्रीय जिम्मेवारीहरू पूरा गर्न वा सेवाका सुअवसरहरू पूरा गर्न आफैलाई अयोग्य महसुस गर्छौं होला। यतिबेला पनि यहोवाले हामीलाई सान्त्वना दिन सक्नुहुन्छ र मदत गर्न सक्नुहुन्छ। उदाहरणका लागि: शक्‍तिशाली शत्रु राष्ट्रहरूको सामना गर्दै इस्राएलीहरूको नेतृत्व लिन आज्ञा दिंदा मोशाले यहोशूलाई यसो भने: “बलियो र साहसी होऊ! किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खासित दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा मानिसहरूसँग तिमीनै जानेछौ, र त्यो तिनीहरूलाई अधिकार गराउनेछौ। परमप्रभु, तिम्रो अगिअगि जानुहुनेछ। उहाँ तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई निराश गर्नुहुनेछैन, तिमीलाई त्याग्नुहुनेछैन। नडराऊ, निरुत्साह नहोऊ।” (व्यव. ३१:७, ८) यहोवाको मदत पाएर यहोशूले उहाँका जनहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउन र सम्पूर्ण शत्रु राष्ट्रहरूमाथि विजय हासिल गर्न सके। योभन्दा अघि मोशाले पनि लाल समुद्र पार गर्दा परमेश्‍वरबाट यस्तै मदत पाएका थिए।—प्रस्थ १४:१३, १४, २९-३१.

१०. व्याकुल भएकोले हाम्रो शारीरिक स्वास्थ्यमा असर परेको छ भने त्यतिबेला हामीलाई केले मदत गर्न सक्छ?

१० व्याकुल हुँदा यसले हाम्रो शारीरिक स्वास्थ्यमा पनि असर गर्छ। समयमा अनि सही तरिकाले खाएर, प्रशस्त आराम र व्यायाम गरेर अनि सरसफाइमा ध्यान दिएर हामी स्वस्थ रहन सक्छौं। बाइबलको आशालाई मनमा राख्दा पनि हामी शारीरिक रूपमा स्वस्थ रहन सक्छौं। अतः हामीले कुनै पीडाको सामना गरिरहेका छौं भने पावलको अनुभव अनि तिनका प्रोत्साहनदायी शब्दहरू मनमा राख्नु मदतकारी साबित हुन सक्छ। तिनले यसो भने: “हामी सबैतिरबाट थिचिएका छौं तर चल्नै नसक्ने गरी चेपिएका छैनौं; हामी अन्योलमा परेका छौं तर उम्कने कुनै बाटो नै नरहने गरी होइन; हाम्रो खेदो गरिएको छ तर अलपत्र छोडिएका छैनौं; हामी लोटेका छौं तर नाश भएका छैनौं।”—२ कोरि. ४:८, ९.

११. आध्यात्मिक बिमारीसित कसरी लड्‌न सकिन्छ?

११ कुनै-कुनै समस्याले गर्दा हाम्रो आध्यात्मिक स्वास्थ्यमा पनि नराम्रो असर पर्न सक्छ। यतिबेला पनि यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ। उहाँको वचन हामीलाई यस्तो आश्‍वासन दिन्छ: “पतन भएकाहरू सबैलाई परमप्रभुले सम्हाल्नुहुन्छ, निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।” (भज. १४५:१४) आध्यात्मिक बिमारीसित लड्‌न हामीले मण्डलीका एल्डरहरूको मदत खोज्नुपर्छ। (याकू. ५:१४, १५) विश्‍वासको परीक्षाको सामना गर्नुपर्दा अनन्त जीवनको आशालाई मनमा राखिरहन्छौं भने हामी बलियो रहिरहन सक्छौं।—यूह. १७:३.

परमेश्‍वरबाट सान्त्वना पाएका व्यक्‍तिहरू

१२. यहोवाले अब्राहामलाई कसरी सान्त्वना दिनुभयो, बताउनुहोस्‌।

१२ परमेश्‍वरबाट प्रेरणा पाएर भजनहारले यस्तो लेखे: “तपाईंको दासको निम्ति आफ्नो वचन सम्झनुहोस्‌, जसमा तपाईंले मलाई आशा गर्ने तुल्याउनुभएको छ। मेरो सङ्‌कष्टमा मलाई सान्त्वना यही छ, किनकि तपाईंको वचनले मलाई जीवित पारेको छ।” (भज. ११९:४९, ५०) आज हामीसित यहोवाको लिखित वचन छ र यसमा परमेश्‍वरबाट सान्त्वना पाएका थुप्रै व्यक्‍तिहरूको उदाहरण छ। अब्राहामको उदाहरणलाई विचार गर्नुहोस्‌। यहोवाले सदोम र गमोराको नाश गर्ने कुरा थाह पाउँदा अब्राहामलाई पक्कै पनि तनाव भएको हुनुपर्छ। ती विश्‍वासी कुलपिताले परमेश्‍वरलाई यस्तो प्रश्‍न सोधे: “के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?” सदोम सहरमा ५० जना मात्र धर्मी जन रहेछन्‌ भने पनि त्यसलाई नाश गर्नेछैन भनेर यहोवाले अब्राहामलाई आश्‍वस्त पार्नुभयो। तर अब्राहामले अझै पनि पाँच पटकसम्म यहोवालाई प्रश्‍न गरी नै रहे। तिनले क्रमशः ४५, ४०, ३०, २० अनि १० गर्दै धर्मी जनहरूको सङ्‌ख्या घटाउँदै लगे। हरेकचोटि यहोवाले धीरजी हुँदै अनि दयालु तरिकामा अब्राहामलाई उक्‍त सहर नाश नगर्ने कुरा बताउनुभयो। उक्‍त शहरमा दस जना पनि धर्मी जनहरू थिएनन्‌ तैपनि यहोवाले लूत र उनकी छोरीहरूलाई बचाउनुभयो।—उत्प. १८:२२-३२; १९:१५, १६, २६.

१३. यहोवामा भरोसा गरेको कुरा हन्‍नाले कसरी देखाइन्‌?

१३ एल्कानाकी पत्नी हन्‍नालाई सन्तानको खुबै चाह थियो। तर तिनी बाँझी थिइन्‌। यो कुराले तिनलाई साह्रै पिरोलिरहेको थियो। यस विषयमा तिनले यहोवालाई बिन्ती चढाइन्‌ र प्रधान पुजारी एलीले तिनलाई यसो भने: “तिमीले उहाँलाई गरेको प्रार्थनाको जवाफ इस्राएलका परमेश्‍वरले तिमीलाई देऊन्‌।” यो कुराले तिनलाई सान्त्वना दियो र “तिनी फेरि उदास भइनन्‌।” (१ शमू. १:८, १७, १८) हन्‍नाले यहोवामा भरोसा गरिन्‌ र सबै थोक उहाँकै हातमा छोडिदिइन्‌। पछि के हुने हो थाह नभए तापनि तिनले मनोशान्ति पाइन्‌। समयमा, यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो। तिनी गर्भवती भइन्‌ र तिनले एउटा छोरो जन्माइन्‌। तिनले उनको नाम शमूएल राखिन्‌।—१ शमू. १:२०.

१४. दाऊदलाई किन सान्त्वनाको खाँचो पऱ्‍यो र तिनी सान्त्वनाको लागि कोमाथि भर परे?

१४ परमेश्‍वरबाट सान्त्वना पाउने अर्का व्यक्‍ति पुरातन समयका इस्राएलका राजा दाऊद थिए। दाऊदलाई इस्राएलको भावी राजा नियुक्‍त गर्दा यहोवाले तिनको “हृदय” हेर्नुभएको थियो। दाऊद इमानदार अनि साँचो उपासनामा समर्पित थिए भनेर यहोवालाई थाह थियो। (१ शमू. १६:७; २ शमू. ५:१०) तर पछि दाऊदले बेतशेबासित अवैध यौनसम्बन्ध राखे र उनको पतिलाई मार्न लगाएर आफ्नो पाप लुकाउन खोजे। आफूले साह्रै गम्भीर पाप गरेको कुरा महसुस गरेपछि तिनले यहोवालाई यसरी प्रार्थना गरे: “तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्‌। किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ।” (भज. ५१:१-३) दाऊदले साँचो पश्‍चात्ताप गरे र यहोवाले तिनलाई क्षमा दिनुभयो। तर तिनले आफूले गरेको पापको नतिजा भने नभोगी सुख पाएनन्‌। (२ शमू. १२:९-१२) निस्सन्देह, यहोवाको कृपा पाएर उहाँका यी नम्र सेवकले सान्त्वना पाए।

१५. मृत्यु हुनुभन्दा केही समयअघि यहोवाले येशूलाई कस्तो मदत दिनुभयो?

१५ पृथ्वीमा छँदा येशूले थुप्रै गाह्रो परिस्थितिहरूको सामना गर्नुपऱ्‍यो। विश्‍वासको जाँच हुने यी परीक्षाहरू परमेश्‍वरले येशूमाथि आइपर्न दिनुभयो अनि येशूले पनि त्रुटिरहित व्यक्‍तिको रूपमा आफ्नो सत्यनिष्ठा कायम राख्नुभयो। उहाँले सधैं नै यहोवामाथि भरोसा राख्नुभयो र उहाँको सार्वभौमिकताको पक्ष लिनुभयो। आफूलाई धोका दिइनु अनि खम्बामा टाँगेर मारिनुअघि येशूले यहोवालाई यसरी प्रार्थना गर्नुभएको थियो: “मेरो होइन तर तपाईंको इच्छाबमोजिम होस्‌।” त्यसपछि स्वर्गबाट एउटा दूत उहाँकहाँ देखा परेर उहाँलाई हौसला दिए। (लूका २२:४२, ४३) परमेश्‍वरले येशूलाई त्यतिबेला चाहिएकै सान्त्वना, बल र मदत दिनुभयो।

१६. सत्यनिष्ठ रहँदा यदि हामी मृत्युको मुखैमा पर्नुपऱ्‍यो भने पनि परमेश्‍वरले के गर्न सक्नुहुन्छ?

१६ ख्रीष्टियन भएकोले कहिलेकाहीं हामी विश्‍वासको खातिर मृत्युको मुखैमा पर्न सक्छौं। तैपनि यहोवाले हामीलाई उहाँप्रति सत्यनिष्ठ रहिरहन मदत गर्न सक्नुहुन्छ र गर्नु पनि हुन्छ। साथै, हामीलाई पुनर्जीवन पाउने आशाले पनि सान्त्वना दिएको छ। अनि सबैभन्दा अन्तमा हाम्रो ठूलो शत्रु मृत्युलाई “नामेट पारिने” दिनको पनि हामी तीव्र प्रतीक्षामा छौं नि, होइन र? (१ कोरि. १५:२६) मृत्युको निद्रामा परेका परमेश्‍वरका वफादार सेवकहरूका साथै अरू मानिसहरू पनि यहोवाको सम्झनामा अमेट छन्‌ र तिनीहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌। (यूह. ५:२८, २९; प्रेषि. २४:१५) यहोवाले दिनुभएको पुनर्जीवनको आशामाथि भरोसा राख्छौं भने त्यसले हामीलाई खेदो आइपर्दा सान्त्वना र पक्का आशा दिनेछ।

१७. हाम्रो प्रियजनको मृत्यु हुँदा यहोवाले हामीलाई कसरी सान्त्वना दिन सक्नुहुन्छ?

१७ अहिले हामीलाई व्याकुल बनाउने जे-जस्ता कारणहरू छन्‌, ती सबै आउन लागेको नयाँ संसारमा हुनेछैनन्‌। अनि त्यतिबेला अहिले चिहानमा भएका हाम्रा प्रियजनहरू गहिरो निद्राबाट ब्यूँझनेछन्‌ भनेर सम्झदा हामी कत्ति ठूलो सान्त्वना पाउँछौं नि, होइन र? साथै, यस दुष्ट युगको अन्तबाट बच्ने “ठूलो भीड”-का यहोवाका सेवकहरूले पृथ्वीमा पुनर्जीवन पाउने मानिसहरूलाई स्वागत गर्नेछन्‌ र सिकाउनेछन्‌। यो तिनीहरूको लागि कत्ति ठूलो सुअवसर हो!—प्रका. ७:९, १०.

“अनन्तको परमेश्‍वर तेरा बासस्थान हुनुहुन्छ”

१८, १९. सतावट भोग्नुपर्दा परमेश्‍वरका सेवकहरूले कसरी सान्त्वना पाएका छन्‌?

१८ मनै हर्ने जोरदार शब्दहरूद्वारा मोशाले इस्राएलीहरूलाई कवितात्मक शैलीमा यसो भने: “अनन्तको परमेश्‍वर तेरा बासस्थान हुनुहुन्छ, औ मनितिर चाहिं सनातनका बाहु।” (व्यव. ३३:२७) पछि अगमवक्‍ता शमूएलले इस्राएलीहरूलाई यसो भने: “परमप्रभुको आराधना गर्न नछोड, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गर। . . . आफ्नो नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन।” (१ शमू. १२:२०-२२) हो, यहोवालाई साँचो मनले पुजिरहन्छौं भने उहाँले हामीलाई कहिल्यै पनि त्याग्नुहुनेछैन। उहाँले सधैं नै हामीलाई चाहिने मदत दिइरहनुहुनेछ।

१९ अहिले अन्तको दिनमा हामीले थुप्रै कठिन परिस्थितिहरूको सामना गरिरहनुपरेको छ तैपनि यहोवाले आफ्ना जनहरूलाई चाहिने मदत र सान्त्वना अचूक रूपमा दिंदै आउनुभएको छ। करिब एक शताब्दीअघिदेखि, संसारभरका हाम्रा हजारौं सँगी विश्‍वासीहरूले यहोवाको सेवा गरेको कारण सतावट भोग्दै अनि झ्यालखानामा पर्दै आएका छन्‌। उनीहरूको अनुभवले यहोवा आफ्ना सेवकहरूलाई गाह्रो समयमा सान्त्वना दिनुहुन्छ भनेर प्रमाणित गर्छ। उदाहरणका लागि, भूतपूर्व सोभियत सङ्‌घमा बस्ने एक जना भाइले आफ्नो विश्‍वासको कारण २३ वर्षको लागि जेल सजाय पाए। तैपनि कुनै न कुनै तरिकामा तिनले आध्यात्मिक खुराकहरू पाइनै रहे अनि यसले गर्दा तिनले बल र सान्त्वना पाउन सके। तिनी यसो भन्छन्‌: “त्यो लामो समयावधिको दौडान मैले यहोवामाथि भरोसा गर्न सिकें र उहाँबाट बल पाएँ।”—१ पत्रुस ५:६, ७ पढ्‌नुहोस्‌।

२०. यहोवाले हामीलाई त्याग्नुहुनेछैन भनेर हामी किन पक्का हुन सक्छौं?

२० हामीले अहिले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि भजनहारले लेखेका यी सान्त्वनादायी शब्दहरू मनमा राख्नु राम्रो हुन्छ: “परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन।” (भज. ९४:१४) हो, हामी आफैलाई पनि सान्त्वना चाहिन्छ तर अरूलाई सान्त्वना दिने सुअवसर पनि हामीसित छ। अहिलेको समस्याग्रस्त संसारमा दुःख पाइरहेका व्यक्‍तिहरूलाई हामी कसरी सान्त्वना दिन सक्छौं, यसपछिको लेखमा छलफल गर्नेछौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• के-कस्ता कारणहरूले गर्दा हामी व्याकुल हुन सक्छौं?

• यहोवा आफ्ना सेवकहरूलाई कसरी सान्त्वना दिनुहुन्छ?

• मृत्युको मुखैमा परे तापनि हामीलाई कुन कुराले सान्त्वना दिन सक्छ?

[पृष्ठ २५-मा भएको पेटी/चित्र]

निम्न कुरालाई असर गर्ने परिस्थितिको हामी कसरी सामना गर्न सक्छौं?

▪ मन भज. १४७:३; १ यूह. ३:१९-२२; ५:१४, १५

▪ दिमाग भज. ९४:१९; फिलि. ४:६, ७

▪ भावना प्रस्थ. १४:१३, १४; व्यव. ३१:७, ८

▪ शारीरिक स्वास्थ्य २ कोरि. ४:८, ९

▪ आध्यात्मिक स्वास्थ्य भज. १४५:१४; याकू. ५:१४, १५

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने