प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ११/१५ pp. २४-२८
  • पुरुषहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुरुषहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पैसा कमाउने चिन्ता
  • मानिसहरूको डर
  • अयोग्यताको भाव
  • अझ धेरै पुरुषलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्‌
  • बाइबल विद्यार्थीलाई सत्यको पक्षमा अडान लिन मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “त्यसैले जाओ र . . . चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ११/१५ pp. २४-२८

पुरुषहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुहोस्‌

“अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”—लूका ५:१०.

१, २. (क) येशूको प्रचारकार्यप्रति पुरुषहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) यस अध्ययन लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

येशू आफ्ना चेलाहरूसित गालीलको इलाकामा प्रचार गर्न व्यस्त हुनुहुन्थ्यो। एकदिन एकान्तको खोजीमा उहाँ आफ्ना चेलाहरूको साथमा डुङ्‌गा चढेर सुनसान ठाउँमा जानुभयो। तर एउटा ठूलो भीडले पैदलै उहाँको पिछा गऱ्‍यो। त्यो दिन उहाँको पछि लाग्ने “मानिसहरू आइमाई र साना केटाकेटीबाहेक लगभग पाँच हजार” थिए। (मत्ती १४:२१) अर्को पटक, एउटा ठूलो भीड निको हुन अनि येशूको कुरा सुन्‍न उहाँकहाँ आयो। त्यस भीडमा “मानिसहरू स्त्री र साना केटाकेटीबाहेक चार हजार थिए।” (मत्ती १५:३८) कुरा स्पष्ट छ, येशूकहाँ आएको भीडमा पुरुष पनि थुप्रै थिए अनि तिनीहरूले उहाँको शिक्षाप्रति चासो देखाए। अरू थुप्रैले पनि आफ्नो शिक्षाप्रति चासो देखाउनेछन्‌ भन्‍ने कुरामा येशू पक्का हुनुहुन्थ्यो किनभने चमत्कारपूर्ण ढङ्‌गमा माछा पक्रन मदत गरिसकेपछि येशूले आफ्नो चेला सिमोनलाई यसो भन्‍नुभयो: “अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।” (लूका ५:१०) येशूले प्रचारकार्यलाई माछा समात्ने कुरासित तुलना गर्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूलाई सत्य स्वीकार्ने मानिसहरू भेट्टाउन मदत गर्नुहुनेथियो अनि तीमध्ये थुप्रै पुरुषहरू हुनेथिए।

२ आज पनि हामीले सुनाउने बाइबल सन्देशप्रति पुरुषहरूले चासो दिन्छन्‌ अनि बाइबल अध्ययनको प्रस्ताव पनि स्वीकार्छन्‌। (मत्ती ५:३) तर थुप्रै पुरुषहरू भने पछि हट्‌छन्‌ अनि आध्यात्मिक प्रगति गर्नदेखि चुक्छन्‌। त्यसोभए हामी उनीहरूलाई कसरी मदत गर्न सक्छौं? हुनत, येशूले पुरुषहरूलाई सिकाउन छुट्टै किसिमको तरिका अपनाउनुभएन तैपनि तिनीहरूको चिन्ताको विषय भने बुझेको कुरा देखाउनुभयो। हामी पनि येशूको उदाहरण पछ्याउँदै अहिलेका पुरुषहरूलाई सामान्यतया पिरोल्ने तीन वटा चिन्ता हटाउन कसरी मदत गर्न सक्छौं, विचार गरौं। ती हुन्‌: (१) पैसा कमाउने चिन्ता, (२) मानिसहरूले के भन्लान्‌ भन्‍ने डर अनि (३) अयोग्यताको भाव।

पैसा कमाउने चिन्ता

३, ४. (क) आज थुप्रै पुरुषको मुख्य चासोको विषय के हो? (ख) केही पुरुषहरूले आध्यात्मिक कुराहरूलाई भन्दा पैसा कमाउनुलाई नै किन महत्त्व दिन्छन्‌?

३ एक जना शास्त्री येशूकहाँ आएर यसो भने: “हे गुरु, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईंको पछि लाग्नेछु।” तर येशूले “मानिसको छोराको . . . शिर ढल्काउने ठाउँसमेत छैन” भन्‍नुभएपछि उक्‍त शास्त्रीको सोचाइ परिवर्तन भयो। सायद ती शास्त्रीलाई बिहान-बेलुकीको छाक कसरी टार्ने अनि कहाँ बस्ने भनेर चिन्ता लागेको हुनुपर्छ। हुन पनि पछि गएर तिनी येशूको चेला बनेको कुनै संकेत बाइबलमा पाइँदैन।—मत्ती ८:१९, २०.

४ प्रायजसो, पुरुषहरू आध्यात्मिक कुराहरूमा चासो दिंदैनन्‌ बरु भौतिक रूपमा कसरी सुरक्षित हुने त्यसबारे मात्र विचार गर्छन्‌। उनीहरूमध्ये थुप्रैले उच्च शिक्षा अनि राम्रो पैसा आउने जागिरलाई नै पहिलो स्थान दिन्छन्‌। उनीहरू बाइबल पढ्‌दा अनि परमेश्‍वरसित घनिष्ठ सम्बन्ध विकास गर्दा हुन सक्ने लाभभन्दा पनि जरुरी कुरा भनेको पैसा कमाउनु हो अनि यसो गर्नु नै व्यावहारिक हुनु हो भन्‍ने सोचाइ राख्छन्‌। बाइबलले सिकाउने कुरा उनीहरूलाई मनपर्छ होला तर “यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्‍ति”-ले गर्दा उनीहरूको चासो सेलाएर जान्छ। (मर्कू. ४:१८, १९) येशूले आफ्ना चेलाहरूलाई प्राथमिकता तय गर्न कसरी मदत गर्नुभयो, त्यसबारे विचार गरौं।

५, ६. प्रचारकार्यमा भाग लिने अनि पैसा कमाउने सन्दर्भमा प्राथमिकता निर्धारण गर्न अन्द्रियास, पत्रुस, याकूब अनि यूहन्‍नालाई केले मदत गऱ्‍यो?

५ अन्द्रियास अनि तिनको दाइ सिमोन पत्रुसले सँगै माछा मार्ने काम गर्थे। यूहन्‍ना, तिनका दाइ याकूब अनि तिनीहरूका बुबा जब्दीले पनि त्यस्तै व्यवसाय अपनाएका थिए। तिनीहरूको व्यवसाय राम्रैसँग चलिरहेको थियो किनभने तिनीहरूले अरू मानिसहरूलाई पनि ज्यालादारी कामदारको रूपमा राखेका थिए। (मर्कू. १:१६-२०) बप्तिस्मा दिने यूहन्‍नाबाट पहिलो पटक येशूको बारेमा थाह पाउनेबित्तिकै अन्द्रियास र यूहन्‍ना मसीह भेट्टाएको कुरामा विश्‍वस्त भए। अन्द्रियासले यो कुरा आफ्नो दाइ सिमोन पत्रुसलाई बताए अनि सायद यूहन्‍नाले पनि आफ्नो दाइलाई त्यसबारे बताएको हुनुपर्छ। (यूह. १:२९, ३५-४१) यसपछिको केही महिना यी चारै जनाले येशूसँग समय बिताए। तिनीहरूले उहाँसँगै गालील, यहूदिया अनि सामरियाको प्रचारकार्यमा भाग लिए। त्यसपछि तिनीहरू आफ्नै पुरानो माछा व्यवसायमा फर्के। आध्यात्मिक कुराप्रति तिनीहरूको चासो त थियो तर यसलाई नै सर्वमहत्त्वपूर्ण कुरा भने ठानेका थिएनन्‌।

६ केही समयपछि फेरि येशूले पत्रुस र अन्द्रियासलाई आफ्नो पछि लाग्न अनि “मानिसहरूको जलारी” बन्‍न निम्तो दिनुभयो। ती दुईले कस्तो प्रतिक्रिया देखाए? “उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” याकूब र यूहन्‍नाले पनि त्यस्तै प्रतिक्रिया देखाए। “उत्तिखेरै डुङ्‌गा अनि आफ्ना बुबालाई छोडेर तिनीहरू उहाँको पछि लागे।” (मत्ती ४:१८-२२) पूर्ण-समय सेवा अङ्‌गाल्न यी पुरुषहरूलाई कुन कुराले मदत गऱ्‍यो? के तिनीहरूले भावनामा बहेर अनि कुनै सोचविचारै नगरी यस्तो निर्णय गरेका थिए? अहँ, थिएनन्‌। यसभन्दा अघि नै यी पुरुषहरूले येशूले भन्‍नुभएको कुराहरू सुनिसकेका थिए, उहाँले गर्नुभएका चमत्कारहरू अनि यहोवाको स्तरबमोजिम असल काम गर्न उहाँले देखाउनुभएको जोस देखिसकेका थिए। साथै, थुप्रै मानिसहरूले उहाँको कुराप्रति राम्रो प्रतिक्रिया देखाएको पनि तिनीहरूले देखिसकेका थिए। यसले गर्दा यहोवाप्रतिको तिनीहरूको विश्‍वास र उहाँमाथिको भरोसा झनै बलियो भयो।

७. यहोवा आफ्ना जनहरूको देखभाल गर्न सक्षम हुनुहुन्छ भन्‍ने कुरामा बाइबल विद्यार्थीको भरोसा बढाउन हामी के गर्न सक्छौं?

७ बाइबल विद्यार्थीलाई यहोवामाथि भरोसा राख्न मदत गर्ने सन्दर्भमा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? (हितो. ३:५, ६) यसको लागि हामीले आफ्नो सिकाउने शैलीमा ध्यान दिनु आवश्‍यक छ। राज्य गतिविधिलाई प्राथमिकता दियौं भने परमेश्‍वरले प्रशस्त आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको छ भन्‍ने कुरामा हामीले सिकाउँदाखेरि नै जोड दिन सक्छौं। ( मलाकी ३:१०; मत्ती ६:३३ पढ्‌नुहोस्‌) यहोवाले आफ्ना जनहरूलाई विभिन्‍न तरिकामा देखभाल गर्नुहुन्छ भनेर बाइबल विद्यार्थीलाई बुझाउन हामी विभिन्‍न बाइबल पद प्रयोग गर्न सक्छौं तर हाम्रो उदाहरणले उनीहरूमा गहिरो प्रभाव पार्न सक्छ भन्‍ने कुरा हामीले पटक्कै बिर्सनु हुँदैन। आफ्नै अनुभवहरू बताएर पनि हामी बाइबल विद्यार्थीलाई यहोवामा भरोसा राख्न सिकाउन सक्छौं। साथै हाम्रा प्रकाशनहरूमा दिइएका विभिन्‍न प्रोत्साहनदायी अनुभवहरू पनि हामी बताउन सक्छौं। a

८. (क) बाइबल विद्यार्थीले “परमप्रभु कस्तो भलो हुनुहुन्छ” भनेर “पारख गरेर” हेर्नु किन महत्त्वपूर्ण छ? (ख) यहोवा भलो हुनुहुन्छ भनेर व्यक्‍तिगत रूपमा अनुभव गर्न हामी बाइबल विद्यार्थीलाई कसरी मदत गर्न सक्छौं?

८ विश्‍वास बलियो बनाउनको लागि यहोवाबाट आशिष्‌ पाएकाहरूको अनुभव पढेर अनि सुनेर मात्र पुग्दैन। बाइबल विद्यार्थी आफैले पनि यहोवाको भलाइ व्यक्‍तिगत रूपमा अनुभव गर्नु आवश्‍यक छ। भजनहारले यस्तो गाए: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।” (भज. ३४:८) यहोवा भलो हुनुहुन्छ भनेर बुझ्न हामी बाइबल विद्यार्थीलाई कसरी मदत गर्न सक्छौं? मानौं, कुनै बाइबल विद्यार्थीलाई पैसाको समस्या परिरहेको छ अनि उसले चुरोट खाने, जुवा खेल्ने अनि अत्यधिक रक्सी पिउने बानी हटाउन कोसिस पनि गरिरहेको छ। (हितो. २३:२०, २१; २ कोरि. ७:१; १ तिमो. ६:१०) यस्तो अवस्थामा प्रार्थना गरेर यहोवाको मदत माग्न बाइबल विद्यार्थीलाई सिकाउँदा के हामीले उनलाई उहाँको भलाइ अनुभव गर्न मदत दिइरहेका हुँदैनौं र? प्रत्येक हप्ता बाइबल अध्ययन गरेर अनि ख्रीष्टियन सभाहरूमा तयारीका साथ उपस्थित भएर आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन बाइबल विद्यार्थीलाई प्रोत्साहन दिंदा नतिजा कस्तो हुन्छ, विचार गर्नुहोस्‌ त! हो, यस्तो प्रयासमा यहोवाले आशिष्‌ दिनुभएको कुरा व्यक्‍तिगत रूपमा अनुभव गर्दा उनको विश्‍वास अझै बलियो हुनेछ!

मानिसहरूको डर

९, १०. (क) निकोदेमस अनि अरिमथियाका यूसुफले येशूलाई गुप्तमा स्वीकार्नुको कारण के थियो? (ख) आज केही पुरुषहरू किन येशूको पछि लाग्नदेखि हिचकिचाउँछन्‌?

९ साथीहरूको दबाबले गर्दा केही पुरुषहरू ख्रीष्टलाई पूर्ण रूपमा पछ्याउन हिचकिचाउन सक्छन्‌। निकोदेमस अनि अरिमथियाका यूसुफले येशूलाई गुप्तमा मात्र स्वीकारे किनभने अरू यहूदीहरूले यसबारे थाह पाए भने तिनीहरूले के सोच्लान्‌ वा तिनीहरूले केही गर्लान्‌ कि भनेर तिनीहरू डराएका थिए। (यूह. ३:१, २; १९:३८) तिनीहरू बिनसित्ति डराएका थिएनन्‌। यहूदी धर्मगुरुहरूको येशूप्रतिको घृणाले अन्तमा यत्ति ठूलो रूप लियो कि उहाँमाथि विश्‍वास गर्ने जोसुकैलाई सभाघरबाट निकालिन्थ्यो।—यूह. ९:२२.

१० आज पनि कुनै-कुनै ठाउँमा यदि पुरुषले परमेश्‍वर, बाइबल वा धर्मप्रति बढी नै चासो देखाए भने उनको सहकर्मी, साथीभाइ अनि नातेदारहरूले उनलाई दुःख दिन सक्छन्‌। अन्य कुनै ठाउँमा भने धर्म परिवर्तनबारे कुरा गर्नु मात्रै पनि खतरनाक हुन सक्छ। यदि कुनै व्यक्‍ति सेनामा वा राजनैतिक क्षेत्रमा सक्रियतासाथ सेवा गरिरहेका छन्‌ वा समाजमा राम्रो नाम कमाएका छन्‌ भने विशेषगरि त्यस्ता व्यक्‍तिहरूलाई साथीहरूको दबाब झनै तीव्र हुन सक्छ। उदाहरणको लागि, जर्मनीको एक जना पुरुषले यसो भने: “तपाईं साक्षीहरूले बाइबलबारे गरेको प्रचार साँचो हो। तर आज म साक्षी भएँ भने भोलिपल्टै सबैले थाह पाउनेछन्‌। मेरा सहकर्मी, नातेदार अनि मलाई र मेरो परिवारलाई चिन्‍ने अरू व्यक्‍तिहरूले के सोच्लान्‌? म यसको सामना गर्न सक्दिनँ।”

११. मानिसहरूप्रतिको डर हटाउन येशूले आफ्ना चेलाहरूलाई कसरी मदत गर्नुभयो?

११ हुनत, येशूका कुनै पनि चेलाहरू डरछेरुवा थिएनन्‌ तैपनि तिनीहरू मानिसले के भन्लान्‌ भनेर कहिलेकाहीं डराएका थिए। (मर्कू. १४:५०, ६६-७२) साथीहरूको दबाबको बाबजुद प्रगति गर्न येशूले तिनीहरूलाई कसरी मदत गर्नुभयो? पछि गएर आफ्ना चेलाहरूले भोग्नुपर्ने सतावटको लागि तिनीहरूलाई तयार पार्न येशूले कदम चाल्नुभयो। येशूले यसो भन्‍नुभयो: “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको छोराको खातिर घृणा गर्छन्‌, बहिष्कार गर्छन्‌, तिमीहरूको अपमान गर्छन्‌ अनि दुष्ट भनी बदनाम गर्छन्‌।” (लूका ६:२२) येशूले आफ्ना चेलाहरूलाई सतावट आउने आशा गर्न भन्‍नुभयो। तर तिनीहरूले भोग्नुपर्ने जस्तोसुकै सतावट “मानिसको छोराको खातिर” थियो। मदत अनि बलको लागि परमेश्‍वरमा भरोसा गरुन्जेल यहोवा तिनीहरूको साथैमा हुनुहुनेछ भनेर पनि येशूले आश्‍वासन दिनुभयो। (लूका १२:४-१२) साथै, येशूले थुप्रै नयाँ व्यक्‍तिहरूलाई आफ्ना चेलाहरूसित सङ्‌गत गर्न अनि तिनीहरूको मित्र बन्‍न निम्तो दिनुभयो।—मर्कू. १०:२९, ३०.

१२. हामी नयाँ व्यक्‍तिहरूलाई मानिसको डर हटाउन कसरी मदत गर्न सक्छौं?

१२ हामीले पनि आफ्ना बाइबल विद्यार्थीहरूलाई मानिसहरूप्रतिको डर हटाउन मदत दिनु आवश्‍यक छ। यदि उनीहरूलाई चुनौतीको सामना गर्न पहिलेदेखि नै तयार पारेका छौं भने प्रायजसो उनीहरूलाई चुनौतीको सामना गर्न सजिलो हुन्छ। (यूह. १५:१९) जस्तै, हाम्रा बाइबल विद्यार्थीलाई सहकर्मी अनि अरूहरूले कुनै प्रश्‍न सोध्लान्‌ वा आपत्ति जनाउलान्‌। त्यस्तो परिस्थितिमा जवाफ दिन सकून्‌ भन्‍नको लागि पहिला नै सरल, व्यावहारिक अनि बाइबलआधारित जवाफ तयार पार्न विद्यार्थीलाई मदत गरे कसो होला? अनि हामी उनको साथी बन्‍नुका साथै उनलाई मण्डलीका अरू भाइबहिनीहरूसित पनि चिनापर्ची गराइदिन सक्छौं अझ विशेषगरि उनको जस्तै परिस्थितिको सामना गरिरहेकाहरूसित। उनलाई नियमित रूपमा हृदयदेखि नै प्रार्थना गर्न सिकाउनु सबैभन्दा महत्त्वपूर्ण छ। यसले उनलाई यहोवासित अझ नजिक हुन अनि उहाँलाई आफ्नो शरणस्थान र चट्टान बनाउन मदत गर्नेछ। —भजन ९४:२१-२३; याकूब ४:८ पढ्‌नुहोस्‌।

अयोग्यताको भाव

१३. अयोग्यताको भावले कसरी आध्यात्मिक गतिविधिहरूमा भाग लिनदेखि रोक्न सक्छ?

१३ केही पुरुषहरू आफूलाई राम्रोसँग पढ्‌न नआउने भएकोले, आफ्नो मनको कुरा राम्रोसँग व्यक्‍त गर्न नसक्ने भएकोले वा आफू लजालु स्वभावको भएकोले आध्यात्मिक गतिविधिहरूमा भाग लिन हिचकिचाउँछन्‌। केही पुरुषहरूलाई भने अरू मानिसहरूको अगाडि आफ्नो विचार अनि मनको कुरा व्यक्‍त गर्न अप्ठ्यारो लाग्न सक्छ। उनीहरूलाई पढ्‌ने, ख्रीष्टियन सभाहरूमा टिप्पणी गर्ने वा आफ्नो विश्‍वासबारे अरूलाई बताउने कुरा सोच्दा मात्र पनि डर लाग्न सक्छ। एक जना ख्रीष्टियन भाइ यसो भन्छन्‌: “जवान छँदा म घरधनीको ढोकासम्म त जान्थें तर घण्टी बजाएको जस्तो नाटक मात्र गर्थें। त्यसपछि अरू कसैले चाल नपाओस्‌ अनि नदेखोस्‌ भनेर लुसुक्क त्यहाँबाट हिंड्‌थें। . . . घर-घरमा जाने कुरा सोच्दा मात्र पनि म बिरामी पर्थें।”

१४. येशूका चेलाहरूले दुष्ट स्वर्गदूतबाट सताइएको ठिटोलाई किन निको पार्न सकेनन्‌?

१४ दुष्ट स्वर्गदूतबाट सताइएको ठिटोलाई निको पार्न नसक्दा येशूका चेलाहरूले कस्तो महसुस गरे होलान्‌ विचार गर्नुहोस्‌ त? त्यतिबेला तिनीहरूले विश्‍वस्तताको कमी महसुस गरेको हुनुपर्छ। उक्‍त ठिटोको बुबा येशूकहाँ आएर यसो भने: “[मेरो छोरालाई] छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा घरीघरी खसिरहन्छ। मैले उसलाई तपाईंका चेलाहरूकहाँ लगें तर उनीहरूले उसलाई निको पार्न सकेनन्‌।” येशूले दुष्ट स्वर्गदूतलाई त्यस केटोबाट निकालिदिनुभयो अनि ऊ निको भयो। पछि येशूका चेलाहरू उहाँकहाँ आएर यस्तो प्रश्‍न गरे: “हामीले किन त्यसलाई धपाउन सकेनौं?” येशूले यस्तो जवाफ दिनुभयो: “तिमीहरूसित विश्‍वास थोरै भएकोले। किनकि म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।” (मत्ती १७:१४-२०) पहाडरूपी कठिनाइहरूको सफलतासाथ सामना गर्न यहोवामा भरोसा राख्नु आवश्‍यक छ। यदि कोही परमेश्‍वरमा भर नपरी आफ्नै योग्यतामा मात्र भर पर्छ भने के हुन्छ? ऊ असफल हुन्छ अनि उसको विश्‍वस्तता झनै घट्‌छ।

१५, १६. हामी आफ्नो बाइबल विद्यार्थीलाई अयोग्यताको भावसित लड्‌न कसरी मदत गर्न सक्छौं?

१५ अयोग्यताको भावसित लडिरहेको व्यक्‍तिलाई मदत गर्ने एउटा राम्रो तरिका उनलाई आफ्नै कमी-कमजोरीलाई मात्र ध्यान दिनुको साटो यहोवामा ध्यान केन्द्रित गर्न सिकाउनु हो। पत्रुसले यस्तो लेखे: “परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्‌। त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ।” (१ पत्रु. ५:६, ७) यसको लागि हामीले आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुपर्छ। आध्यात्मिक झुकाव भएको व्यक्‍तिले आध्यात्मिक कुराको मोल गर्छ। उसले परमेश्‍वरको वचनलाई प्रेम गर्छ अनि आफ्नो जीवनमा “पवित्र शक्‍तिको फल” प्रदर्शित गर्छ। (गला. ५:२२, २३) उसले प्रार्थनालाई महत्त्वपूर्ण ठान्छ। (फिलि. ४:६, ७) साथै, विभिन्‍न परिस्थितिको सामना गर्न अनि आफूले पाएको असाइनमेन्ट सफलतासाथ पूरा गर्न यहोवासँग साहस अनि बल माग्छ।—२ तिमोथी १:७, ८ पढ्‌नुहोस्‌।

१६ केही बाइबल विद्यार्थीलाई पढ्‌न, अरूसँग कुराकानी गर्न अनि बोल्ने कला विकास गर्न व्यावहारिक मदत पनि चाहिनसक्छ। केहीले भने यहोवालाई चिन्‍नुअघि आफूले गरेको खराब कामले गर्दा ‘म यहोवाको सेवा गर्न योग्यको छैन!’ भन्‍ने महसुस गर्न सक्छन्‌। यी दुवै अवस्थामा हाम्रो धीरजी अनि मायालु व्यवहारले उनीहरूलाई निकै मदत पुऱ्‍याउन सक्छ। येशूले भन्‍नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्छ।”—मत्ती ९:१२.

अझ धेरै पुरुषलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्‌

१७, १८. (क) हामी प्रचारकार्यमा कसरी धेरैभन्दा धेरै पुरुषहरूलाई भेट्टाउन सक्छौं? (ख) अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१७ हामीलाई गहिरो सन्तुष्टि दिने सन्देश बाइबलमा मात्र पाइन्छ अनि यस्तो सन्देशप्रति धेरैभन्दा धेरै पुरुषहरूले सकारात्मक प्रतिक्रिया देखाएको हामी चाहन्छौं। (२ तिमो. ३:१६, १७) त्यसोभए, हामी प्रचारकार्यमा कसरी धेरैभन्दा धेरै पुरुषहरूलाई भेट्टाउन सक्छौं? साँझपख, सप्ताहन्तको दिउँसो अनि छुट्टीको समयमा धेरैजसो पुरुषहरू घरमै हुने भएकोले त्यो समयमा हामी प्रचारमा भाग लिन सक्छौं। प्रचारमा भाग लिंदा भाइहरूले घरको पुरुषलाई बोलाइदिन आग्रह गर्न सक्छन्‌। साथै, आफ्ना पुरुष सहकर्मीहरूलाई अनौपचारिक साक्षी दिने अनि विश्‍वासमा नभएका श्रीमान्‌हरूलाई भेट्‌ने कोसिस गरौं।

१८ यदि हामी आफूले भेट्‌नेजति सबैलाई प्रचार गर्छौं भने असल हृदय भएकाहरूले बाइबल सत्य स्वीकार्नेछन्‌ भन्‍ने कुरामा हामी पक्का हुनसक्छौं। त्यसकारण, सत्यप्रति निष्कपट चासो देखाउने व्यक्‍तिहरूलाई धैर्यतासाथ मदत गरौं। त्यसोभए, बप्तिस्मा गरिसकेका भाइहरूलाई यहोवाको संगठनमा जिम्मेवारी प्राप्त गर्नको लागि अघि बढ्‌न र त्यसको लागि चाहिने योग्यता हासिल गर्न हामी कसरी मदत गर्न सक्छौं? यस प्रश्‍नबारे हामी अर्को लेखमा छलफल गर्नेछौं।

[फुटनोट]

a यहोवाका साक्षीहरूको वार्षिक पुस्तक-मा (अङ्‌ग्रेजी) अनि प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-मा दिइएको जीवनीहरू पढ्‌नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन पुरुषहरूलाई कसरी मदत दिन सकिन्छ?

• नयाँ व्यक्‍तिहरूलाई साथीहरूको दबाबको सामना गर्न कसरी मदत दिन सकिन्छ?

• कसै-कसैलाई अयोग्यताको भाव हटाउन केले मदत दिन सक्छ?

[पृष्ठ २५-मा भएको चित्र]

के तपाईं पुरुषहरूलाई सुसमाचार सुनाउने मौका खोज्नुहुन्छ?

[पृष्ठ २६-मा भएको चित्र]

सतावटको सामना गर्न तपाईं आफ्नो बाइबल विद्यार्थीलाई कसरी तयार पार्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने