प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ५/१५ pp. १३-१६
  • म पाका व्यक्‍तिहरूसित नजिकिएँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म पाका व्यक्‍तिहरूसित नजिकिएँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • करिअर छान्‍ने क्रममा
  • अझ थुप्रै छाँटकाँट गर्नु आवश्‍यक थियो
  • अत्यन्तै ठूलो चोट
  • अर्को चोटको सामना
  • सबैभन्दा ठूलो मदत
  • सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाको सेवामा बिताएको समृद्धशाली जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ५/१५ pp. १३-१६

जीवनी

म पाका व्यक्‍तिहरूसित नजिकिएँ

एल्भा जर्डेको वृत्तान्तमा आधारित

लगभग ७० वर्षअघि हाम्रो घरमा आउनुभएको व्यक्‍तिले बुबालाई दिएको सुझावले मेरो पूरै जीवन परिवर्तन गरिदियो। त्यो महत्त्वपूर्ण दिनदेखि यता अन्य थुप्रै व्यक्‍तिले पनि मेरो जीवनमा प्रभाव पारेका छन्‌। समयको दौडान मैले यस्तो मित्रताको आनन्द उठाउन सकें जुन मित्रता कुनै मानिससितको मित्रताभन्दा बहुमूल्य छ। यसबारे अब म बताउँछु।

मेरो जन्म सन्‌ १९३२ मा अस्ट्रेलियाको सिड्‌नीमा भएको थियो। मेरा आमाबाबु परमेश्‍वरमा विश्‍वास राख्नुहुन्थ्यो तर चर्च भने जानुहुन्‍नथ्यो। मेरी आमा भन्‍ने गर्नुहुन्थ्यो, ‘परमेश्‍वरले तिमीलाई सधैं हेरिरहनुहुन्छ, बदमासी गऱ्‍यौ भने उहाँले तिमीलाई सजाय दिनुहुन्छ।’ उहाँको यस्तो भनाइले गर्दा म परमेश्‍वरसित डराउँथें। तर मलाई बाइबलका कुराहरू भने मनपर्थ्यो। मेरी ठूली-आमा सप्ताहन्तमा हामीकहाँ आउनुहुन्थ्यो र मलाई बाइबलका थुप्रै रोचक कथाहरू सुनाउनुहुन्थ्यो। उहाँ कहिले आउनुहोला भनेर म सधैं पर्खिबस्थें।

म किशोरावस्थामा छँदा बुबाले किताबहरूको एउटा सँगालो पढ्‌नुभएको थियो। किताबहरूको त्यो सँगालो एक जना पाको साक्षी महिलाले मेरी आमालाई दिनुभएको थियो। आफूले पढेका कुराहरूबाट उहाँ असाध्यै प्रभावित हुनुभयो र यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न राजी हुनुभयो। एक साँझ बुबाले बाइबल अध्ययन गर्दै गर्दा मैले लुकेर सुनिरहेको देख्नुभयो र मलाई ‘सुत्न जाऊ’ भन्‍नुभयो। तर सुरुमा चर्चा गरिएको व्यक्‍तिले यसो भन्‍नुभयो, “उसलाई पनि बस्न दिनुभएहुन्छ नि।” उक्‍त सुझावले गर्दा मेरो जीवनले नयाँ मोड लियो र मैले साँचो परमेश्‍वर यहोवासित मित्रता गाँस्न थालें।

चाँडै म र मेरो बुबा ख्रीष्टियन सभाहरूमा उपस्थित हुन थाल्यौं। आफूले सिकेका कुराहरूले उहाँलाई जीवनमा परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो। उहाँले आफ्नो रिसलाई समेत नियन्त्रणमा राख्न थाल्नुभयो। यो देखेर मेरी आमा र दाइ फ्रान्क पनि सभाहरूमा आउन थाल्नुभयो।a हामी चारै जनाले उन्‍नति गऱ्‍यौं र अन्तमा यहोवाका साक्षीहरूको रूपमा बप्तिस्मा गऱ्‍यौं। त्यसदेखि यता थुप्रै पाका व्यक्‍तिहरूले मलाई विभिन्‍न समयमा साथ दिएका छन्‌।

करिअर छान्‍ने क्रममा

किशोरावस्थाको समयमा म मण्डलीका पाका व्यक्‍तिहरूसित नजिकिएँ। ती पाका व्यक्‍तिमध्ये एलिस प्लेस एक हुनुहुन्थ्यो। हाम्रो परिवारलाई सबैभन्दा पहिला प्रचार गर्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँ मेरो लागि हजुरआमाजस्तै हुनुभयो। उहाँले मलाई प्रचारकार्यको लागि प्रशिक्षण दिनुभयो र बप्तिस्मा गर्न प्रोत्साहन दिनुभयो। पन्ध्र वर्षकी हुँदा मैले बप्तिस्मा गरें।

पर्सी र माज [मार्गरेट] डनह्‍याम नामका पाका दम्पतीसित पनि म नजिकिएँ। उहाँहरूसितको सङ्‌गतिले मेरो भविष्यलाई निकै असर गऱ्‍यो। मलाई गणित असाध्यै मनपर्थ्यो। त्यसैले गणितकी शिक्षिका हुने तीव्र चाहना थियो। पर्सी र माजले सन्‌ १९३० को दशकमा लाट्‌भियामा मिसनरीको रूपमा सेवा गर्नुभएको थियो। युरोपमा दोस्रो विश्‍वयुद्ध सुरु हुँदा उहाँहरूलाई अस्ट्रेलिया बेथेलमा सेवा गर्न बोलाइयो। उक्‍त बेथेल सिड्‌नीको भित्री भागमा पर्थ्यो। पर्सी र माजले मप्रति साँचो चासो देखाउनुभयो। मिसनरी सेवाको दौडान उहाँहरूले बटुल्नुभएका थुप्रै रोचक अनुभव सुनाउनुभयो। गणित सिकाउनुभन्दा बाइबल सिकाउनु धेरै सन्तोषजनक हुने कुरा मैले स्पष्ट बुझें। त्यसैले मैले मिसनरी हुने निर्णय गरें।

भाइ अनि बहिनी डमह्‍यामले मलाई अग्रगामी सेवा गरेर मिसनरी हुनको लागि तयारी गर्न प्रोत्साहन दिनुभयो। त्यसैले सन्‌ १९४८ मा १६ वर्षकी हुँदा मैले अग्रगामी सेवा सुरु गरें। सिड्‌नीको हर्स्टभिल्लेस्थित मेरो मण्डलीमा पहिल्यैदेखि रमाउँदै अग्रगामी सेवा गरिरहेका दस जवान भाइबहिनीको समूहमा म पनि सामेल भएँ।

त्यसपछिका चार वर्ष मैले न्यु साउथ वेल्स र क्विन्सल्यान्डका चारवटा सहरमा अग्रगामी सेवा गरें। मेरो पहिलो बाइबल विद्यार्थीमध्ये एक जना बेटी लो (अहिले रेमनेन्ट) हुनुहुन्थ्यो। बेटी मभन्दा दुई वर्षले जेठी हुनुहुन्थ्यो र उहाँ असाध्यै मायालु हुनुहुन्थ्यो। पछि उहाँ काउरा सहरमा मेरो अग्रगामी साथी हुनुभयो। यो ठाउँ सिड्‌नीबाट लगभग २३० किलोमिटर पश्‍चिममा पर्छ। हामीले लामो समयसम्म सँगै अग्रगामी सेवा गर्न त सकेनौं तैपनि हाम्रो मित्रता अहिलेसम्म उस्तै छ।

विशेष अग्रगामीको रूपमा नियुक्‍त भएपछि म काउराबाट २२० किलोमिटर दक्षिण-पश्‍चिममा अवस्थित नरान्ड्रामा सरें। मैले आफ्नो नयाँ अग्रगामी साथीको रूपमा जोइ लिनोक्स (अहिले हन्टर) पाएँ। उहाँ जोसिलो अग्रगामी हुनुहुन्थ्यो र उहाँ पनि मभन्दा दुई वर्षले जेठी हुनुहुन्थ्यो। त्यस सहरमा हामी दुई साक्षी मात्र थियौं। हामी मिलनसार दम्पती रे र एस्तर आइरन्सको घरमा बस्यौं। उहाँहरूलगायत उहाँहरूका एक छोरा र तीन छोरीले पनि बाइबल सत्यप्रति चासो देखाउनुभयो। रे र उहाँको छोरा हप्ताभरि भेडा र गहुँ फार्ममा काम गर्नुहुन्थ्यो भने एस्तर र तीन छोरीहरूले चाहिं स्थानीय बोर्डिङ हाउस (पैसा तिरेर केही समयको लागि बस्ने घर) सञ्चालन गर्नुभएको थियो। हरेक आइतबार जोइ र म मिलेर आइरन्स परिवार र रेलमार्गमा काम गर्ने उहाँहरूको करिब १२ जना भोकाएका कामदारको लागि टन्‍नै खाना पकाउँथ्यौं। घरभाडाको केही रकम यही काम गरेबापत कटाइन्थ्यो। खाना खाएर धन्दा सिध्याएपछि हामी आइरन्स परिवारका लागि साप्ताहिक प्रहरीधरहरा अध्ययनबाट स्वादिष्ठ आध्यात्मिक खाना पनि पस्कन्थ्यौं। रे, एस्तर र उहाँहरूका चारै जना छोराछोरीले सत्य अँगाल्नुभयो र नरान्ड्रा मण्डलीको पहिलो सदस्य हुनुभयो।

म सन्‌ १९५१ मा सिड्‌नीमा आयोजित यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित भएँ अनि मिसनरी सेवा गर्न चाहने अग्रगामीहरूका लागि भएको एउटा विशेष सभामा बसें। ठूलो पालमा भएको त्यस सभामा ३०० भन्दा धेरैको उपस्थिति थियो। ब्रूक्लिन बेथेलबाट आउनुभएका भाइ नेथन नोरले उपस्थित सबैलाई सम्बोधन गर्दै पृथ्वीको कुना-कुनामा सुसमाचार सुनाउनुपर्ने तड्‌कारो आवश्‍यकता स्पष्ट पार्नुभयो। उहाँले भन्‍नुभएका एक-एक शब्द हामीले एकाग्र भएर सुन्यौं। त्यहाँ उपस्थित थुप्रै अग्रगामीले पछि दक्षिण प्रशान्त र अन्य ठाउँमा प्रचारकार्य सुरु गरे। सन्‌ १९५२ मा आयोजित गिलियडको उन्‍नाइसौं कक्षामा अस्ट्रेलियाबाट निम्तो पाएका १७ जनामध्ये एक हुन पाउँदा म दङ्‌ग परें। मिसनरी सेवा गर्ने मेरो धोको बीस वर्षकै उमेरमा पूरा भयो!

अझ थुप्रै छाँटकाँट गर्नु आवश्‍यक थियो

गिलियड स्कूलबाट पाएको निर्देशन र त्यहाँको सरसङ्‌गतले मलाई बाइबलसम्बन्धी ज्ञान बढाउन र विश्‍वास बलियो बनाउन मात्र होइन, आफ्नो व्यक्‍तित्वमा सुधार ल्याउन पनि मदत गऱ्‍यो। म आलोकाँचै थिएँ अनि आफू र अरूबाट पूर्णताको माग गर्थें। मेरा केही विचारधारा असाध्यै सङ्‌कुचित खालका थिए। उदाहरणको लागि, भाइ नोरले बेथेलका जवान भाइहरूसित बल खेलिरहनुभएको देख्दा मलाई पत्याउनै गाह्रो भयो।

मैले सङ्‌घर्ष गरिरहनुपरेको अवस्थालाई अनुभवी गिलियड प्रशिक्षकहरूले पक्कै पनि याद गरेको हुनुपर्छ। उहाँहरूले मप्रति चासो देखाउनुभयो र मेरो सोचाइ बदल्न मदत गर्नुभयो। बिस्तारै मैले यहोवालाई मायालु र हामीले गरेको कामको कदर गर्ने परमेश्‍वरको रूपमा हेर्न थालें, कठोर र अचाक्ली माग गर्ने व्यक्‍तिको रूपमा होइन। कक्षाका केही साथीहरूले पनि मलाई मदत गरे। एक जना बहिनीले भन्‍नुभएको कुरा म अझै पनि झलझली सम्झन्छु: “एल्भा, यहोवाले कोर्रा लगाउनुहुन्‍न। त्यसैले आफूप्रति असाध्यै कठोर नहोऊ!” उहाँको स्पष्ट सल्लाहले मेरो मनै छोयो।

गिलियडपछि मलाई र मेरो कक्षाका चार जना साथीलाई अफ्रिकाको नामिबियामा खटाइयो। छिट्टै नै हामीले ८० वटा बाइबल अध्ययन सञ्चालन गऱ्‍यौं। मलाई नामिबिया र मिसनरी सेवा मनपऱ्‍यो। तर स्वीजरल्याण्डमा खटाइनुभएका गिलियड स्कूलको सहपाठीसित माया बसेको कारण नामिबियामा एक वर्ष बिताएपछि म स्वीजरल्याण्ड गएँ। विवाहपछि मैले मेरो श्रीमान्‌लाई क्षेत्रीय निरीक्षकको काममा सहयोग गरें।

अत्यन्तै ठूलो चोट

क्षेत्रीय निरीक्षकको रूपमा पाँच वर्ष बिताएपछि हामीलाई स्वीजरल्याण्ड बेथेलमा सेवा गर्न बोलाइयो। बेथेल परिवारमा अनुभवी र पाका भाइबहिनीहरूमाझ हुन पाउँदा म फुरुङ्‌ङ भएँ।

केही समयपछि नै मलाई ठूलो झट्‌का लाग्यो। मेरो श्रीमान्‌ मप्रति र यहोवाप्रति अवफादार हुँदै आएको कुरा मैले थाह पाएँ। त्यसपछि उहाँ मलाई छोडेर जानुभयो। मेरो मन छियाछिया भयो! बेथेल परिवारका पाका साथीहरूको माया र मदत नपाएको भए त्यो अवस्थासित कसरी डट्‌थें होला, मलाई थाह छैन। कुराकानी गर्न चाहँदा उहाँहरूले मेरो कुरा सुनिदिनुभयो अनि आराम गर्न चाहँदा आराम गर्न दिनुभयो। अवर्णनीय चोट सहनुपर्दा उहाँहरूको सान्त्वनादायी वचन र दयालु व्यवहारले मलाई त्यो चोट सहन मदत गऱ्‍यो र यहोवासित अझ नजिक हुन टेवा पुऱ्‍यायो।

परीक्षाहरू सहेर खारिएका पाका व्यक्‍तिहरूले वर्षौंअघि भनेको कुरा पनि मैले सम्झें। ती पाका व्यक्‍तिहरूमध्ये माज डनह्‍याम पनि एक हुनुहुन्थ्यो। उहाँले एकपटक यसो भन्‍नुभएको थियो: “एल्भा, तिमीले यहोवाको सेवा गर्दा जीवनमा थुप्रै परीक्षा सामना गर्नेछ्यौ तर सबैभन्दा कठोर परीक्षाचाहिं नजिकको व्यक्‍तिहरूबाट आउन सक्छ। तर त्यस्तो परीक्षा आइपर्दा यहोवासित नजिक होऊ। यो कुरा कहिल्यै नबिर्स, तिमी उहाँको सेवा गर्छ्यौ, त्रुटिपूर्ण मानिसको होइन!” माजका शब्दहरूले मलाई थुप्रै कठिनाइ सहन मदत गऱ्‍यो। मैले श्रीमान्‌को गल्तीको कारण यहोवासितको सम्बन्ध कहिल्यै नतोड्‌ने अठोट गरें।

पछि मैले अस्ट्रेलिया फर्केर मेरो परिवार बसेको इलाकाको नजिकै अग्रगामी सेवा गर्ने निर्णय गरें। घर फर्कने क्रममा लामो समुद्री यात्रा गर्दा मसँगै यात्रा गरिरहेका केही यात्रीसित नियमित रूपमा बाइबलबारे जीवन्त छलफल गर्न सकें। त्यस समूहमा आर्न जर्डे नामका एक शान्त स्वभावका नर्वेली पुरुष पनि हुनुहुन्थ्यो। आफूले सुनेको कुरा उहाँलाई मनपऱ्‍यो। पछि मलाई र मेरो परिवारलाई भेट्‌न उहाँ सिड्‌नी आउनुभयो। उहाँले छिटोछिटो आध्यात्मिक प्रगति गर्नुभयो र सत्य अँगाल्नुभयो। सन्‌ १९६३ मा हाम्रो विवाह भयो र त्यसको दुई वर्षपछि हाम्रो छोरा ग्यारीको जन्म भयो।

अर्को चोटको सामना

आर्न, ग्यारी र मैले सुखी पारिवारिक जीवन बितायौं। बूढाबूढी भइसकेका मेरा आमाबाबुलाई पनि सँगै राख्न आर्नले पछि घरमा कोठा थप्नुभयो। तर विवाह गरेको छ वर्षपछि अर्को ठूलो आघात खप्नुपऱ्‍यो। आर्नलाई मस्तिष्क क्यान्सर भएको पत्ता लाग्यो। उहाँको लामो समयसम्म विकिरण उपचार भयो। त्यतिबेला म हरेक दिन नै उहाँलाई भेट्‌न अस्पताल जान्थें। केही समयको लागि त उहाँको स्वास्थ्य अलि राम्रो भएको जस्तो देखियो तर पछि उहाँको अवस्था झन्‌ बिग्रियो र उहाँलाई मस्तिष्कघात भयो। अब उहाँ केही हप्ता मात्र बाँच्नुहुनेछ भनी मलाई बताइयो। तर खुसीको कुरा उहाँलाई केही भएन। केही समयपछि नै उहाँलाई घरमा ल्याउन सक्यौं। अनि घरमै मैले उहाँको हेरविचार गरें र उहाँको स्वास्थ्यमा सुधार आयो। पछि फेरि उहाँले हिंडडुल गर्न र मण्डलीको एल्डरको रूपमा सेवा गर्न सक्नुभयो। उहाँ आनन्दित र हँसीमजाक गर्ने व्यक्‍ति भएकोले चाँडै निको हुन सक्नुभयो र उहाँको त्यस्तो स्वभावले गर्दा मलाई पनि उहाँको हेरविचार गर्न सजिलो भयो।

तर वर्षौंपछि सन्‌ १९८६ मा आर्नको स्वास्थ्य फेरि बिग्रियो। त्यसबेला मेरो आमाबाबुको मृत्यु भइसकेको थियो। त्यसैले हामी सिड्‌नीभन्दा टाढाको सुन्दर ठाउँ ब्लु माउन्टेनमा बसाइँ सऱ्‍यौं जहाँ हाम्रा साथीहरू थिए। पछि हाम्रो छोरा ग्यारीले मायालु आध्यात्मिक बहिनी कारेनसित विवाह गऱ्‍यो। उनीहरूले हामी दुईलाई पनि उनीहरूसँगै बस्न आग्रह गरे। त्यसैले केही महिनाभित्रै हामी सबै जना अर्को घरमा बसाइँ सऱ्‍यौं। त्यो घर आर्न र म बसिरहेको ठाउँबाट नजिकै थियो।

आफ्नो जीवनको अन्तिम १८ महिना आर्न थला पर्नुभयो र उहाँलाई एकछिन पनि छोड्‌न नमिल्ने भयो। त्यसबेला धेरैजसो समय घरमै बित्ने भएकोले म दिनको दुई घण्टा बाइबल र बाइबलआधारित प्रकाशनहरू पढ्‌ने गर्थें। यस्तो अध्ययनको दौडान मैले आफूले भोगिरहेको अवस्थाको कसरी सामना गर्ने भन्‍ने विषयमा बुद्धिमानी सल्लाह पाउन सकें। मण्डलीका पाका भाइबहिनीहरू पनि हामीलाई भेट्‌न आउनुहुन्थ्यो। उहाँहरूमध्ये कतिले यस्तै परीक्षा सहनुभएको थियो। उहाँहरूको भेटघाटबाट मैले साँच्चै आफ्नो मनोबल बढाउन सकें! पुनर्जीवनको पक्का आशासहित सन्‌ २००३, अप्रिलमा आर्नको मृत्यु भयो।

सबैभन्दा ठूलो मदत

जवान छँदा म अव्यावहारिक थिएँ। तर हामीले आशा गरेको जस्तो जीवनमा कहिल्यै हुँदैन भनेर मैले सिकें। मैले अनगिन्ती आशिष्‌को आनन्द उठाउनुका साथै दुईवटा ठूलठूला दुःख पनि सहेकी छु: विश्‍वासघातले गर्दा आफ्नो जीवनसाथी गुमाउनुको दुःख र बिमारीले गर्दा जीवनसाथी गुमाउनुको दुःख। यी सब परीक्षाको दौडान मैले विभिन्‍न माध्यमबाट डोऱ्‍याइ र सान्त्वना पाएकी छु। अहिले पनि मेरो सबैभन्दा ठूलो मदत “अति वृद्ध व्यक्‍ति” यहोवा परमेश्‍वर हुनुहुन्छ। (दानि. ७:९) उहाँको सल्लाहले मेरो व्यक्‍तित्व परिवर्तन गरेको छ र पहिला मिसनरी सेवा गर्दा थुप्रै इनामदायी अनुभव बटुल्न मदत गरेको छ। समस्याहरू आउँदा यहोवाको ‘कृपाले मलाई थाम्यो र उहाँका सान्त्वनाहरूले मलाई आनन्दित तुल्यायो।’ (भज. ९४:१८, १९) मैले आफ्नो परिवारबाट र साँचो मित्रहरूबाट पनि माया र सहयोग पाएँ। उनीहरूले दुःखको समयमा मलाई ठूलो मदत गरे। (हितो. १७:१७) मलाई यसरी मदत गर्नेमध्ये धेरैजसो पाका व्यक्‍तिहरू थिए।

“उमेर ढल्केकोसँग बुद्धि हुन्छ, र दीर्घजीविमा समझ हुन्छ” भनी कुलपिता अय्यूबले भने। (अय्यू. १२:१२) यो कुरा सोह्रैआना सही हो भनेर म आफैले अनुभव गरेकी छु। पाका व्यक्‍तिहरूले दिएको सल्लाहले मलाई मदत गरेको छ, उहाँहरूले दिएको सान्त्वनाले मलाई थामेको छ अनि उहाँहरूसितको मित्रताले मेरो जीवनलाई सुन्दर बनाएको छ। उहाँहरूसित नजिक भएकोमा म कृतज्ञ छु।

अहिले म आफै पनि पाको भइसकें। मेरो उमेर ८० वर्ष पुगिसक्यो। मेरो अनुभवले मलाई अन्य पाका व्यक्‍तिहरूको आवश्‍यकताप्रति संवेदनशील बनाएको छ। मलाई अझै पनि उहाँहरूसित भेटघाट गर्न र उहाँहरूलाई मदत गर्न मनपर्छ। तर मलाई जवान व्यक्‍तिहरूसित समय बिताउँदा पनि आनन्द लाग्छ। उनीहरूको जोस मलाई मनपर्छ र उनीहरूको उत्साहबाट म प्रोत्साहन पाउँछु। जवान व्यक्‍तिहरू मकहाँ आएर सल्लाह र मदत माग्छन्‌। उनीहरूलाई सहयोग गर्न पाउँदा मलाई आनन्द लाग्छ।

[फुटनोट]

a एल्भाको दाइ फ्रान्क लाम्बर्टले पछि अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा जोसिलो अग्रगामीको रूपमा सेवा गर्नुभयो।

[पृष्ठ १४-मा भएको चित्र]

जोइ लिनोक्ससित नरान्ड्रामा अग्रगामी सेवा गर्दै

[पृष्ठ १५-मा भएको चित्र]

सन्‌ १९६० मा स्वीजरल्याण्ड बेथेल परिवारका सदस्यहरूसित

[पृष्ठ १६-मा भएको चित्र]

आर्न बिरामी हुँदा हेरविचार गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने