प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१५ पृ. ७-११
  • युगयुगका महाराजा यहोवाको उपासना गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युगयुगका महाराजा यहोवाको उपासना गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युगयुगका महाराजा विशाल परिवार सुरु गर्नुहुन्छ
  • विद्रोही छोराहरू परमेश्‍वरको शासन इन्कार गर्छन्‌
  • जलप्रलयपछि यहोवाको शासन
  • यहोवा इस्राएलका राजा हुनुहुन्छ
  • यहोवा नयाँ राजा नियुक्‍त गर्नुहुन्छ
  • युगयुगका महाराजाको उपासना गर्नुहोस्‌
  • त्यो राज्य जसले प्रमोदवन ल्याउने छ
    त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ
  • यहोवाको सार्वभौमिकता र परमेश्‍वरको राज्य
    सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • सारा सृष्टिले सामना गर्नु पर्ने प्रश्‍न
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१५ पृ. ७-११
यहोवा स्वर्गको सिंहासनबाट शासन गर्दै

युगयुगका महाराजा यहोवाको उपासना गर्नुहोस्‌

‘युगयुगका महाराजाले सदासर्वदा आदर र महिमा पाइरहून्‌।’—१ तिमो. १:१७.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • यहोवाको शासन गर्ने तरिकाले गर्दा हामी उहाँतर्फ आकर्षित हुन्छौं, किन?

  • यहोवाले मानव परिवारप्रति कसरी चासो देखाउनुभएको छ?

  • युगयुगका महाराजाको उपासना गर्न तपाईं किन उत्प्रेरित हुनुभयो?

१, २. (क) “युगयुगका महाराजा” को हुनुहुन्छ र उहाँलाई यो पदवी किन सुहाउँछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) यहोवाको शासनको समयावधिले नभई कुन कुराले हामीलाई उहाँतर्फ आकर्षित गर्छ?

स्वाजिल्याण्डका राजा शोबुजा द्वितीयले लगभग ६१ वर्षसम्म शासन गरे। एउटै मानिसले यति लामो समयसम्म शासन गर्नु अचम्मलाग्दो भए तापनि एक जना यस्तो राजा हुनुहुन्छ जसको शासन मानिसको जस्तो छोटो छैन। बाइबलले उहाँलाई “युगयुगका महाराजा” भन्छ। (१ तिमो. १:१७) प्रेषित यूहन्‍नाले उहाँलाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा, . . . युगयुगका महाराजा” भनेर नामैले चिनाएका छन्‌।—प्रका. १५:३.

२ यहोवा परमेश्‍वरले युगौंयुगदेखि शासन गर्नुभएकोले उहाँको शासन मानव शासनभन्दा फरक छ। तर उहाँको शासनको समयावधिले नभई शासन गर्ने तरिकाले हामीलाई उहाँतर्फ आकर्षित गर्छ। इस्राएलमा ४० वर्ष शासन गरेका एक जना राजाले यसरी यहोवाको प्रशंसा गरे: “परमप्रभु दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनुहुन्छ। परमप्रभुले ता आफ्नो सिंहासन स्वर्गमा स्थापित गराउनुभएको छ। र उहाँको राज्य सबैमाथि छ।” (भज. १०३:८, १९) यहोवा हाम्रो राजा मात्र होइन, हाम्रो मायालु बुबा पनि हुनुहुन्छ। तर कसरी? अदनको बगैंचामा विद्रोह भए यता यहोवाले आफू अझै पनि राजा भएको र सबै कुरा आफ्नो अधीनमा भएको कसरी देखाउनुभएको छ? यी प्रश्‍नहरूको जवाफले हामीलाई यहोवासित घनिष्ठ हुन अनि उहाँमाथिको भरोसा बलियो बनाउन मदत गर्नेछ।

युगयुगका महाराजा विशाल परिवार सुरु गर्नुहुन्छ

३. यहोवाको विशाल परिवारको पहिलो सदस्य को हुनुहुन्छ? उहाँले कसलाई पनि छोराको दर्जा दिनुभएको छ?

३ आफ्नो जेठो छोराको सृष्टि गर्दा यहोवा पक्कै पनि धेरै खुसी हुनुभयो। परमेश्‍वरले उहाँलाई सामान्य नागरिकको रूपमा हेर्नुभएन। बरु उहाँलाई छोरासरह माया गर्नुभयो र लाखौं त्रुटिरहित स्वर्गदूतको सृष्टिमा भाग लिन दिएर आनन्दित हुने मौका दिनुभयो। (कल. १:१५-१७) बाइबलले बताएअनुसार ती स्वर्गदूतहरू खुसीसाथ ‘यहोवाको इच्छाबमोजिम गर्ने सेवक’ हुन्‌। यहोवाले ती स्वर्गदूतहरूलाई पनि छोराको दर्जा दिएर सम्मान गर्नुभएको छ। तिनीहरू यहोवाको विशाल परिवारका सदस्य हुन्‌।—भज. १०३:२०-२२; अय्यू. ३८:७.

४. मानिसहरू कसरी यहोवाको विशाल परिवारको सदस्य भए?

४ स्वर्ग र पृथ्वी सृष्टि गरेपछि यहोवाले आफ्नो परिवार बढाउँदै लैजानुभयो। कसरी? पृथ्वीलाई सुन्दर घरको रूप दिएपछि उहाँले पहिलो मानव आदमलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। (उत्प. १:२६-२८) यहोवा सृष्टिकर्ता भएकोले आदम उहाँप्रति आज्ञाकारी भएको चाहनुहुन्थ्यो। बुबाको रूपमा उहाँले आदमलाई मायालु र दयालु हुँदै निर्देशन दिनुभयो; तिनको स्वतन्त्रता नै हनन हुने नाना-किसिमका नियम दिनुभएन।—उत्पत्ति २:१५-१७ पढ्‌नुहोस्‌।

५. पृथ्वी मानिसले भर्न यहोवाले कस्तो प्रबन्ध मिलाउनुभयो?

५ मानव राजाहरूको ठीक विपरीत यहोवा आफ्ना सेवकहरूलाई परिवारकै रूपमा व्यवहार गर्नुहुन्छ। तिनीहरूलाई भरोसा गरेकोले जिम्मेवारी सुम्पनुहुन्छ र त्यो जिम्मेवारी पूरा गर्न आवश्‍यक अधिकार पनि दिनुहुन्छ। जस्तै, उहाँले आदमलाई जनावरहरूको नाम राख्ने रमाइलो अनि चुनौतीपूर्ण काम दिनुभयो। (उत्प. १:२६; २:१९, २०) पृथ्वी भर्न उहाँले नै एक-एक मानिस बनाउनुभएन। बरु त्रुटिरहित स्त्री हव्वा सृष्टि गर्नुभयो र आदमलाई दिनुभयो। (उत्प. २:२१, २२) त्यसपछि छोराछोरी जन्माएर पृथ्वी भर्ने जिम्मेवारी उनीहरूलाई दिनुभयो। समयमा उनीहरूले पूरै पृथ्वीलाई प्रमोदवन बनाउनेथिए। मानिस तथा स्वर्गदूतले एकै परिवारको रूपमा सदासर्वदा यहोवाको उपासना गर्नेथिए। आदम र हव्वालाई भविष्यको यस्तो सुन्दर आशा दिएर यहोवाले उनीहरूलाई बुबाले जस्तै प्रेम गर्नुभयो।

विद्रोही छोराहरू परमेश्‍वरको शासन इन्कार गर्छन्‌

६. (क) परमेश्‍वरको परिवारमा कसरी विद्रोह सुरु भयो? (ख) यहोवाले अझै पनि आफ्नो अधिकार गुमाउनुभएको छैन भनेर किन भन्‍न सक्छौं?

६ दुःखको कुरा, आदम र हव्वाले यहोवालाई आफ्नो शासकको रूपमा इन्कार गरे। उनीहरूले विद्रोही स्वर्गदूत सैतानको कुरा सुन्‍ने छनौट गरे। (उत्प. ३:१-६) परिणामस्वरूप, समस्या र दुःखकष्ट सुरु भयो। आदम र हव्वालगायत उनीहरूका सन्तान मर्नेभए। (उत्प. ३:१६-१९; रोमी ५:१२) पृथ्वीमा यहोवाप्रति आज्ञाकारी मानिस कोही पनि रहेन। तर के यसको अर्थ यहोवाले पृथ्वीमा शासन गर्ने आफ्नो अधिकार गुमाउनुभयो भन्‍ने हो? पटक्कै होइन। यहोवाले आफ्नो अधिकार प्रयोग गर्दै आदम र हव्वालाई अदनको बगैंचाबाट निकालिदिनुभयो र उनीहरू प्रमोदवनमा छिर्न नपाऊन्‌ भनेर पहरा दिन करूबहरू खटाउनुभयो। (उत्प. ३:२३, २४) त्यतिखेरै उहाँले आफू मायालु बुबा भएको प्रमाण पनि दिनुभयो। स्वर्गदूत तथा मानिसहरूको विशाल परिवार बनाउने उहाँको उद्देश्‍य पूरा गर्न आदमकै “सन्तान”-मध्ये एक जनाले सैतानलाई नाश गर्नेछ र आदमको पापले गर्दा भएको असर नामेट पार्नेछ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो।—उत्पत्ति ३:१५ पढ्‌नुहोस्‌।

७, ८. (क) नूहको समयसम्ममा संसार कति खराब भइसकेको थियो? (ख) पृथ्वीको उपद्रव हटाउन र मानव परिवारलाई जोगाउन यहोवाले के गर्नुभयो?

७ सयौं वर्षपछि हाबिल र हनोकजस्ता केही मानिसले यहोवाप्रति वफादार हुने छनौट गरे। तर थुप्रैले भने यहोवालाई आफ्नो बुबा र राजाको रूपमा इन्कार गरे। नूहको समयसम्ममा त पृथ्वी “उपद्रवले भरिएको थियो।” (उत्प. ६:११) के यसको अर्थ पृथ्वीमाथि यहोवाको अधिकार नै थिएन भन्‍ने हो? बाइबल के भन्छ?

८ यहोवाले नूहलाई विशाल जहाज बनाउने सन्दर्भमा विस्तृत निर्देशन दिनुभयो। त्यस जहाजले गर्दा नूह र तिनको परिवार जोगिनेथिए। नूहलाई “न्यायोचित स्तरबारे प्रचार गर्ने” जिम्मा दिएर यहोवाले बाँकी मानिसलाई पनि माया गरेको देखाउनुभयो। (२ पत्रु. २:५) नूहले मानिसहरूलाई पश्‍चात्ताप गर्न सल्लाह दिए र आउँदै गरेको विनाशबारे चेतावनी दिए। तर कसैले पनि सुनेनन्‌। वर्षौंसम्म नूह र तिनको परिवार हिंस्रक अनि अनैतिक मानिसहरूबीच बसे। मायालु बुबाको रूपमा यहोवाले ती आठ वफादार मानिसलाई जोगाउनुभयो र डोऱ्‍याउनुभयो। जलप्रलय ल्याएर यहोवाले विद्रोही मानिसहरू र दुष्ट स्वर्गदूतहरूमाथि आफ्नो अधिकार भएको प्रमाण दिनुभयो।—उत्प. ७:१७-२४.

यहोवाले सुरुदेखि नै शासन गर्ने अधिकार कसरी प्रयोग गर्नुभएको छ, यस चित्रबाट स्पष्ट हुन्छ

यहोवाले सधैं आफ्नो राज्याधिकार प्रयोग गर्नुभएको छ (अनुच्छेद ६, ८, १०, १२, १७ हेर्नुहोस्‌)

जलप्रलयपछि यहोवाको शासन

९. जलप्रलयपछि यहोवाले मानवजातिलाई कस्तो मौका दिनुभयो?

९ यहोवाले ख्याल गर्नुभएकोमा र सुरक्षा दिनुभएकोमा जहाजबाट निस्केपछि नूह र तिनको परिवार पक्कै कृतज्ञ भए। यहोवा परमेश्‍वरको उपासना गर्न तिनले तुरुन्तै वेदी बनाए र बलि चढाए। परमेश्‍वरले नूहको परिवारलाई आशिष्‌ दिनुभयो र “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिंदै” जान निर्देशन दिनुभयो। (उत्प. ८:२०–९:१) मानवजातिले एक भएर यहोवाको उपासना गर्ने र पृथ्वी भर्ने मौका फेरि पाए।

१०. (क) जलप्रलयपछि मानिसहरूले कहाँ र कसरी यहोवाको विद्रोह गर्न थाले? (ख) आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले के गर्नुभयो?

१० जलप्रलयपछि पनि मानिसहरू त्रुटिपूर्ण नै थिए। तिनीहरू अझै पनि सैतान र दुष्ट स्वर्गदूतहरूको प्रभावसित डट्‌नुपर्थ्यो। केही समय नबित्दै मानिसहरूले फेरि यहोवाको मायालु शासनको विरोध गर्न थाले। तीमध्ये एक जना नूहका पनाति निम्रोद थिए। तिनी यहोवाको विरुद्धमा “शक्‍तिशाली शिकारी” थिए। तिनले बाबेलजस्ता ठूलठूला सहर निर्माण गरे र आफैलाई “शिनार देश”-को राजा तुल्याए। (उत्प. १०:८-१२) यी विद्रोही राजालाई यहोवाले के गर्नुहुनेथियो? उहाँको इच्छाविपरीत गर्ने तिनको प्रयासलाई विफल तुल्याउन यहोवाले कस्तो कदम चाल्नुहुनेथियो? यहोवाले भाषा खलबलाइदिनुभएकोले निम्रोदलाई साथ दिने मानिसहरू यत्रतत्र छरिए। ती मानिसहरू जहाँ-जहाँ गए, झूटो धर्म र मानव राजा बनाउने चलन आफूसितै लगे।—उत्प. ११:१-९.

११. आफ्नो मित्र अब्राहामप्रति वफादार भएको यहोवाले कसरी देखाउनुभयो?

११ जलप्रलयपछि थुप्रैले झूटा देवताहरूलाई पुजे। तर यहोवाको उपासना गर्ने वफादार मानिसहरू अझै पनि थिए। तीमध्ये एक जना अब्राहाम थिए। ऊर सहरमा तिनको सुविधासम्पन्‍न घर थियो। तर यहोवाको आज्ञा मान्दै तिनले आफ्नो सहर छोडे र वर्षौंसम्म पालमा जीवन बिताए। (उत्प. ११:३१; हिब्रू ११:८, ९) पर्खाल लगाइएको सहर वा मानव राजाले दिन सक्ने सुरक्षामा तिनी भर परेनन्‌। यहोवाले नै अब्राहाम र तिनको परिवारलाई सुरक्षा दिनुभयो। बुबाको रूपमा यहोवाले दिने सुरक्षाबारे भजनरचयिताले यस्तो लेखे: ‘यहोवाले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन, तिनीहरूको खातिर उहाँले राजाहरूलाई हप्काउनुभयो।’ (भज. १०५:१३, १४) यहोवा आफ्ना मित्रहरूप्रति वफादार हुनुहुन्छ। त्यसैले आफ्नो मित्र अब्राहामसित उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “तँबाट राजाहरू उत्पन्‍न हुनेछन्‌।”—उत्प. १७:६; याकू. २:२३.

१२. मिश्रमाथि आफ्नो अधिकार भएको कुरा यहोवाले कसरी देखाउनुभयो? यसले यहोवाका मानिसहरूलाई कस्तो प्रभाव पाऱ्‍यो?

१२ यहोवाले अब्राहामका छोरा इसहाक र नाति याकूबलाई पनि आशिष्‌ दिने र तिनीहरूबाट राजाहरू उत्पन्‍न गर्ने प्रतिज्ञा गर्नुभयो। (उत्प. २६:३-५; ३५:११) तर राजा हुनुअघि नै याकूबका सन्तान अर्थात्‌ इस्राएलीहरू मिश्रको दासत्वमा परे। यसको अर्थ यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएन अथवा पृथ्वीमा शासन गर्ने आफ्नो अधिकार गुमाउनुभयो भन्‍ने हो? पटक्कै होइन। ठीक समयमा यहोवाले आफ्नो शक्‍ति प्रकट गर्नुभयो र हठी फिरऊनभन्दा आफूसित धेरै अधिकार भएको देखाउनुभयो। इस्राएलीहरूले यहोवामा भरोसा गरे र उहाँले तिनीहरूलाई लाल समुद्रबाट चमत्कारपूर्ण तरिकामा जोगाउनुभयो। स्पष्ट छ, यहोवा अझै पनि ब्रह्‍माण्डका शासक हुनुहुन्थ्यो र छोराछोरीको हेरविचार गर्ने बुबाले जस्तै आफ्ना मानिसहरूलाई जोगाउन उहाँले शक्‍ति प्रयोग गर्नुभयो।—प्रस्थान १४:१३, १४ पढ्‌नुहोस्‌।

यहोवा इस्राएलका राजा हुनुहुन्छ

१३, १४. (क) यहोवाको शासन गर्ने अधिकारबारे इस्राएलीहरूले गीतमा के भने? (ख) यहोवाले दाऊदसित कस्तो प्रतिज्ञा गर्नुभयो?

१३ मिश्रको दासत्वबाट छुटेपछि इस्राएलीहरूले प्रशंसाको गीत गाए। त्यो गीत प्रस्थान अध्याय १५ मा उल्लेख गरिएको छ। पद १८ मा यस्तो लेखिएको छ: “परमप्रभुले सदासर्वदै राज्य गर्नुहुनेछ।” हो, यहोवा नयाँ राष्ट्र इस्राएलको राजा हुनुभयो। (व्यव. ३३:५) तर तिनीहरूले यहोवासित दृश्‍य शासक पनि मागे। मिश्रबाट छुटेको लगभग ४०० वर्षपछि तिनीहरूले वरपरका मूर्तिपूजक राष्ट्रहरूमा जस्तै इस्राएलमा पनि मानव राजा चाहियो भने। (१ शमू. ८:५) तर यहोवा अझै पनि तिनीहरूको राजा हुनुहुन्थ्यो। कसरी? यो तथ्य इस्राएलका दोस्रो राजा दाऊदको शासनकालमा स्पष्ट भयो।

१४ दाऊदले यरूशलेममा करारको सन्दुक ल्याए। त्यो दिन लेवीहरूले यहोवाको प्रशंसा गर्दै गीत गाए र यस्तो महत्त्वपूर्ण घोषणा गरे: ‘जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्‌, “यहोवा नै महाराजा हुनुहुन्छ।”’ (१ इति. १६:३१) त्यतिखेर दाऊद इस्राएलका राजा थिए। यहोवाले आफ्नो अधिकार प्रयोग गरेर आफ्नो प्रतिनिधिको रूपमा दाऊदलाई इस्राएलको सिंहासनमा बसाल्नुभएकोले यहोवालाई नै इस्राएलीहरूको वास्तविक महाराजा भन्‍न सकिन्थ्यो। तर यहोवाको शासन सदासर्वदाको हो भनेर बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। दाऊदको मृत्यु हुनुअघि नै यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरै छोराहरूमध्येको एक जना, तेरो उत्तराधिकारी हुनलाई बसाल्नेछु, र त्यसको राज्य स्थिर गराउनेछु।” (२ शमू. ७:१२, १३) लगभग हजार वर्षपछि दाऊदका “छोरा” देखा पर्दा यो प्रतिज्ञा पूरा भयो। उहाँ को हुनुहुन्थ्यो र कहिले राजा हुनुभयो?

यहोवा नयाँ राजा नियुक्‍त गर्नुहुन्छ

१५, १६. येशू परमेश्‍वरको राज्यको भावी राजाको रूपमा कहिले नियुक्‍त हुनुभयो? पृथ्वीमा छँदा उहाँले आफ्नो राज्यको निम्ति के-कस्ता प्रबन्ध मिलाउनुभयो?

१५ इस्वी संवत्‌ २९ मा बप्तिस्मा गराउने यूहन्‍नाले “स्वर्गको राज्य नजिकै आएको छ” भन्दै प्रचार गर्न थाले। (मत्ती ३:२) पछि तिनले येशूलाई बप्तिस्मा गराउँदा यहोवाले येशूलाई प्रतिज्ञा गरिएको मसीह र आफ्नो राज्यको भावी राजाको रूपमा अभिषेक गर्नुभयो। आफ्नो छोरा येशूलाई माया गरेको प्रमाण यहोवाले यी शब्दहरूद्वारा व्यक्‍त गर्नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।”—मत्ती ३:१७.

१६ पृथ्वीमा सेवाको काम गर्दा येशूले बुबाको महिमा गर्नुभयो। (यूह. १७:४) परमेश्‍वरको राज्यबारे प्रचार गरेर उहाँले त्यसो गर्नुभयो। (लूका ४:४३) चेलाहरूलाई परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नसमेत सिकाउनुभयो। (मत्ती ६:१०) नियुक्‍त राजा भएकोले येशूले विरोधीहरूसामु यस्तो घोषणा गर्न सक्नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।” (लूका १७:२१) आफ्नो मृत्युको अघिल्लो साँझ येशूले चेलाहरूलाई “राज्य दिने करार” गर्नुभयो। यसको अर्थ उहाँका केही वफादार चेलाले उहाँसितै परमेश्‍वरको राज्यमा शासन गर्नेथिए।—लूका २२:२८-३० पढ्‌नुहोस्‌।

१७. येशूले इस्वी संवत्‌ ३३ मा कसरी शासन थाल्नुभयो तर उहाँले के गर्न भने पर्खनै पर्थ्यो?

१७ परमेश्‍वरको राज्यको राजाको रूपमा येशूले कहिले शासन सुरु गर्नुहुनेथियो? तुरुन्तै त होइन। भोलिपल्ट दिउँसो उहाँ मारिनुभयो र उहाँका चेलाहरू तितरबितर भए। (यूह. १६:३२) तर विगतमा जस्तै यस पटक पनि यहोवाले आफ्नो अधिकार प्रयोग गर्नुभयो। तेस्रो दिन उहाँले आफ्नो छोरालाई पुनर्जीवित गर्नुभयो। अनि इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि येशूले आफ्ना अभिषिक्‍त भाइहरूको मण्डलीमाथि शासन गर्न थाल्नुभयो। (कल. १:१३) तर प्रतिज्ञा गरिएको “सन्तान”-को रूपमा पृथ्वीभरि शासन गर्न येशूले केही समय पर्खनै पर्थ्यो। यहोवाले आफ्नो छोरालाई यसो भन्‍नुभयो: “तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्‍नँ।”—भज. ११०:१.

युगयुगका महाराजाको उपासना गर्नुहोस्‌

१८, १९. हामी के गर्न उत्प्रेरित भएका छौं? अर्को लेखमा हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौं?

१८ स्वर्गदूत र मानवजातिले यहोवाको शासन गर्ने अधिकारमाथि हाँक दिएको हजारौं वर्ष भइसक्यो। तर यहोवाले आफ्नो अधिकारलाई कहिल्यै लत्याउनुभएको छैन; बरु सधैं आफ्नो अधिकार प्रयोग गर्नुभएको छ। मायालु बुबा भएकोले आफ्ना वफादार जनहरू जस्तै: नूह, अब्राहाम, दाऊदलाई सुरक्षा दिनुभयो; तिनीहरूको हेरचाह गर्नुभयो। यस कुरालाई सम्झँदा यहोवा हाम्रा राजाको अधीनमा रहन र उहाँसित घनिष्ठ हुन उत्प्रेरित हुँदैनौं र?

१९ तर हाम्रो मनमा यस्ता प्रश्‍न पनि होलान्‌: अहिले हाम्रो समयमा पनि यहोवा कसरी राजा हुनुहुन्छ? हामी कसरी यहोवाको वफादार जन हुन सक्छौं? उहाँको विशाल परिवारका त्रुटिरहित छोराहरू कसरी हुन सक्छौं? परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नुको अर्थ के हो? अर्को लेखमा यी प्रश्‍नहरूको जवाफ दिइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने