प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१५ पृ. २२-२६
  • दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वृद्धावस्थामा पाइने विशेष मौका
  • अरूलाई मदत गर्न तपाईं के गर्न सक्नुहुन्छ?
  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नुहोस्‌
  • अर्को भाषा बोलिने इलाकामा आवश्‍यकता
  • जति गर्न सक्नुहुन्छ, त्यसैमा खुसी हुनुहोस्‌
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मसीही परिवारले वृद्धहरूको मदत गर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • वृद्धहरूको आदर गरौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१५ पृ. २२-२६
यहोवाको सेवा गर्न अरूलाई प्रोत्साहन दिइरहेका वृद्ध ख्रीष्टियनहरू

दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌

“आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌।”—उप. १२:१.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • ढल्कँदो उमेरका ख्रीष्टियनहरूले आफूले सिकेका कुरा आफूभन्दा सानालाई कसरी सिकाउन सक्छन्‌?

  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नेबारे बाइबलमा पाइने कस्ता उदाहरणबाट ढल्कँदो उमेरका ख्रीष्टियनहरूले प्रोत्साहन पाउन सक्छन्‌?

  • केही ढल्कँदो उमेरका भाइबहिनीले पहिला कहिल्यै नसोचेको कस्तो तरिकामा यहोवाको सेवा गर्न थालेका छन्‌?

१, २. (क) सुलेमानले युवायुवतीलाई कस्तो सल्लाह दिने प्रेरणा पाए? (ख) अहिले ५० नाघिसकेका ख्रीष्टियनहरूले पनि सुलेमानले दिएको सल्लाहबारे किन विचार गर्नुपर्छ?

युवायुवतीलाई यसो भन्‍न यहोवाले राजा सुलेमानलाई प्रेरणा दिनुभयो: ‘दुःखको समय आउनुअघि नै युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर।’ “दुःखको समय”-ले केलाई सङ्‌केत गर्छ? वृद्धावस्थालाई। वृद्धावस्थामा हातगोडा थरथर काँप्ने, दाँत झर्ने, आँखा नदेख्ने, कान नसुन्‍ने, कपाल फुल्ने, ढाड कुप्रिने आदि समस्या देखा पर्छन्‌। यस्तो दुःखदायी अवस्थालाई सुलेमानले कवितात्मक शैलीमा व्याख्या गरे। वृद्धावस्थामा यस्तो अवस्था भोग्नुपर्ने भएकोले नै सुलेमानले हामीलाई युवावस्थामै सृष्टिकर्ताको सम्झना गर्न भनेका रहेछन्‌!—उपदेशक १२:१-५ पढ्‌नुहोस्‌।

२ अहिले ५० नाघिसकेका थुप्रै ख्रीष्टियन अझै पनि जोसिला र बलिया छन्‌। कपाल अलि-अलि फुलेको भए पनि तिनीहरूमा सुलेमानले बताएको स्वास्थ्य समस्या नहुन सक्छ। “आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌” भनेर सुलेमानले युवायुवतीलाई दिएको सल्लाह ढल्कँदो उमेरका ख्रीष्टियनहरूले पनि पालन गर्न सक्छन्‌ कि? अनि यस सल्लाहको अर्थ के हो?

३. महान्‌ सृष्टिकर्तालाई सम्झनुको अर्थ के हो?

३ तपाईंले यहोवाको उपासना गर्न थालेको वर्षौं भइसक्यो होला। तैपनि बेलाबेलामा एकैछिन समय निकालेर हाम्रो सृष्टिकर्ता कत्ति महान्‌ हुनुहुन्छ भनेर सम्झनु बेस हुन्छ। सृष्टि एकदमै अद्‌भुत र अचम्मलाग्दो छ। हामी सृष्टिका सबै कुरा राम्ररी बुझ्न सक्दैनौं। सृष्टिको विविधताले गर्दा नै हाम्रो जीवन निकै रमाइलो भएको छ। यहोवाले सृष्टि गर्नुभएका कुराहरूलाई नियाल्दा उहाँको प्रेम, बुद्धि र शक्‍तिबारे सम्झिरहेका हुन्छौं। (भज. १४३:५) महान्‌ सृष्टिकर्तालाई सम्झनुमा उहाँप्रतिको हाम्रो दायित्व सम्झनु पनि समावेश छ। यी कुराहरूमा मनन गर्दा बाँचुन्जेल उहाँको सेवामा सक्दो गर्न उत्प्रेरित हुन्छौं।—उप. १२:१३.

वृद्धावस्थामा पाइने विशेष मौका

४. वर्षौं अनुभव सँगालिसकेका ख्रीष्टियनहरूले आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छन्‌ र किन?

४ वर्षौंको अनुभव सँगालिसक्नुभएको छ भने पनि आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘जोस र जाँगर बाँकी नै भएकोले अझै केही गर्न सक्छु कि?’ अनुभवी ख्रीष्टियन भएकोले अरूसित नभएको मौका तपाईंसित छ। जस्तै, यहोवाबाट सिकेका कुराहरू आफूभन्दा सानालाई सिकाउन सक्नुहुन्छ। यहोवाको सेवामा बटुलेका अनुभव पनि सुनाउन सक्नुहुन्छ। राजा दाऊदले पनि यस्तै गर्न सकूँ भनेर प्रार्थना गरे। तिनले लेखे: “हे परमेश्‍वर, बाल्यकालदेखि नै तपाईंले मलाई शिक्षा दिनुभएको छ, . . . हे परमेश्‍वर, म बूढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्‍तिको घोषणा गरिसक्‍तिनँ।”—भज. ७१:१७, १८.

५. ढल्कँदो उमेरका ख्रीष्टियनहरूले आफूले सिकेका कुरा अरूलाई कसरी सिकाउन सक्छन्‌?

५ वर्षौंको अनुभवबाट बटुलेको ज्ञान अरूसित कसरी बाँड्‌न सक्नुहुन्छ? आफूभन्दा सानालाई घरैमा बोलाएर प्रोत्साहनदायी कुराकानी गर्न सक्नुहुन्छ कि? यहोवाको सेवा गर्दा तपाईंले पाएको आनन्द उनीहरूले पनि देखून्‌ भनेर सँगै प्रचारमा लैजान सक्नुहुन्छ कि? एलीहूले यसो भने: “बूढाहरू बोलून्‌, र उमेर ढल्केकाहरूले आफ्ना ज्ञान प्रकट गरून्‌।” (अय्यू. ३२:७) प्रेषित पावलले पनि अनुभवी ख्रीष्टियन स्त्रीहरूलाई आफ्नो बोलीवचन र उदाहरणबाट अरूलाई प्रोत्साहन दिन आग्रह गरे। तिनले लेखे: “वृद्ध स्त्रीहरू . . . असल कुराका शिक्षकहरू होऊन्‌।”—ती. २:३.

अरूलाई मदत गर्न तपाईं के गर्न सक्नुहुन्छ?

६. हामीलाई पाको तथा अनुभवी ख्रीष्टियनहरू किन चाहिन्छ?

६ पाको अनि अनुभवी ख्रीष्टियन हुनुहुन्छ भने तपाईं अरूलाई थुप्रै तरिकाले मदत गर्न सक्नुहुन्छ। आजभन्दा ३०-४० वर्षअघि नबुझेको तर अहिले राम्ररी बुझेको कुरा के-के छन्‌, विचार गर्नुहोस्‌। जीवनमा आइपर्ने विभिन्‍न परिस्थितिमा बाइबल सिद्धान्तहरू कसरी लागू गर्न सकिन्छ, त्यो तपाईंलाई थाह छ। बाइबलमा पाइने सत्य अरूको मनसम्मै पुग्नेगरि सिकाउन सक्नुहुन्छ। एल्डर हुनुहुन्छ भने गलत कदम चालेका भाइबहिनीलाई मदत गर्ने तरिका तपाईंलाई थाह छ। (गला. ६:१) तपाईंले मण्डलीका सम्पूर्ण कामकुराको, सम्मेलनका विभिन्‍न विभागको अथवा राज्यभवन निर्माणसम्बन्धी कामको निरीक्षण गर्न सिक्नुभएको हुन सक्छ। रगत प्रयोग नगरी शल्यक्रिया गर्न सकिने तरिकाहरूबारे चिकित्सकहरूलाई बताउन सक्नुहुन्छ होला। तर तपाईंले भर्खरै मात्र बप्तिस्मा गर्नुभएको हो भने पनि जीवनमा थुप्रै अनुभव बटुल्नुभएको छ। जस्तै, छोराछोरी हुर्काउनुभएको छ भने व्यावहारिक हुन पनि सिक्नुभएको छ। भाइबहिनीलाई सिकाएर, डोऱ्‍याएर अनि बल दिएर ढल्कँदो उमेरका ख्रीष्टियनहरू यहोवाका सेवकहरूमाझ प्रोत्साहनको स्रोत हुन सक्छन्‌।—अय्यूब १२:१२ पढ्‌नुहोस्‌।

७. ढल्कँदो उमेरका भाइबहिनीले आफूभन्दा सानालाई के-कस्ता कुरा सिकाउन सक्छन्‌?

७ अरूलाई मदत गर्न तपाईं आफ्नो क्षमता कसरी प्रयोग गर्न सक्नुहुन्छ? सायद बाइबल अध्ययन सुरु गर्ने र सञ्चालन गर्ने तरिका आफूभन्दा सानालाई सिकाउन सक्नुहुन्छ। तपाईं ढल्कँदो उमेरकी बहिनी हुनुहुन्छ भने तरुणी आमाहरूलाई छोराछोरीको हेरचाह गर्दै यहोवाको सेवामा कसरी सन्तुलित हुन सकिन्छ, सिकाउन सक्नुहुन्छ। ढल्कँदो उमेरका भाइ हुनुहुन्छ भने युवकहरूलाई जोसिलो भई भाषण दिन र अझ प्रभावकारी प्रचारक हुन सिकाउन सक्नुहुन्छ। वृद्ध भाइबहिनीलाई प्रोत्साहन दिन जाँदा यी युवकहरूलाई पनि सँगै लगेर सिकाउन सक्नुहुन्छ कि? पहिले-पहिलेको जस्तो बल छैन भने पनि आफूभन्दा सानालाई सिकाउने थुप्रै मौका तपाईंसित छ। बाइबल यसो भन्छ: “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो, वृद्ध मानिसहरूको शोभा उनीहरूका फुलेको कपाल हो।”—हितो. २०:२९.

आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नुहोस्‌

८. उमेर ढल्कँदै गए पनि प्रेषित पावलले के गरे?

८ उमेर ढल्कँदै गए पनि प्रेषित पावल यहोवाको सेवामा व्यस्त भए। इस्वी संवत्‌ ६१ तिर रोमको कैदबाट छुट्‌नुअघि तिनले मिसनरी सेवामा कडा मेहनत गरेका थिए र थुप्रै परीक्षा भोगिसकेका थिए। त्यसैकारण कैदबाट छुटेपछि रोममै प्रचार गर्दै आरामदायी जीवन बिताउन सक्थे। (२ कोरि. ११:२३-२७) रोममै बसेर त्यहाँका भाइबहिनीलाई मदत गरेका भए उनीहरू पनि एकदमै खुसी हुनेथिए। तर अरू देशमा आवश्‍यकता अझ धेरै भएको पावलले देखे। त्यसैकारण तिनले फेरि मिसनरी यात्रामा जाने निर्णय गरे। तिमोथी र तीतससँगै तिनी एफिससमा, त्यसपछि क्रेटमा अनि सायद म्यासिडोनियामा गए। (१ तिमो. १:३; ती. १:५) तिनले स्पेन जाने योजना पनि बनाएका थिए, तर गए कि गएनन्‌, त्योचाहिं हामीलाई थाह छैन।—रोमी १५:२४, २८.

९. कति वर्षको छँदा पत्रुस आवश्‍यकता धेरै भएको ठाउँमा सरेका हुन सक्छन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

९ आवश्‍यकता धेरै भएको ठाउँमा सर्दा प्रेषित पत्रुस ५० वर्ष पुगिसकेका हुन सक्छन्‌। हामी किन यसो भन्‍न सक्छौं? पत्रुस र येशूको उमेर बराबर थियो अथवा तिनी येशूभन्दा अलि जेठा थिए भने इस्वी संवत्‌ ४९ मा यरूशलेममा अरू प्रेषितलाई भेट्‌दा तिनी लगभग ५० वर्षका हुनुपर्छ। (प्रेषि. १५:७) यरूशलेममा भेला भएको केही समयपछि पत्रुस बेबिलोनमा बसाइँ सरे। किन? त्यहाँका यहूदीहरूलाई प्रचार गर्न। (गला. २:९) इस्वी संवत्‌ ६२ तिर पहिलो पत्र लेख्दा तिनी बेबिलोनमै थिए। (१ पत्रु. ५:१३) आवश्‍यकता धेरै भएको ठाउँमा सर्नु सजिलो त पक्कै हुँदैन तैपनि पत्रुसलाई उमेरले छेकेन। तनमनले यहोवाको सेवा गर्दा पाइने आनन्द अनुभव गर्न तिनी बसाइँ सरे।

१०, ११. ढल्कँदो उमेरको बाबजुद रोबर्ट र तिनकी श्रीमतीले के गरे?

१० अहिले पनि कुरा उस्तै छ। पचास नाघिसकेका थुप्रै ख्रीष्टियनले आफ्नो परिस्थिति परिवर्तन भएको याद गरेका छन्‌। साथै पहिला कहिल्यै नसोचेको तरिकामा यहोवाको सेवा गर्न सकिंदो रहेछ भनेर पनि बुझेका छन्‌। कतिपय त आवश्‍यकता धेरै भएको ठाउँमा सरेका छन्‌। उत्तर अमेरिकाका रोबर्ट र तिनकी श्रीमतीले त्यसै गरे। पहिले कहिल्यै नसोचेको तरिकामा यहोवाको सेवा गर्न सकिने रहेछ भनेर याद गर्दा तिनीहरू लगभग ५५ वर्ष पुगिसकेका थिए। तिनीहरूको हुर्किसकेको एक्लो छोराको बन्दोबस्त मिलिसकेको थियो भने आमाबुबा बितिसकेका थिए। तिनीहरूले अलिकता पुर्ख्यौली सम्पत्ति पनि पाएका थिए। घर बेचेको खण्डमा बाँकी ऋण चुक्‍ता गर्न सकिंदो रहेछ र रोबर्टको पेन्सन आउने बेलासम्म खर्च धान्‍न सकिंदो रहेछ भनेर तिनीहरूले याद गरे। बोलिभियामा बाइबल अध्ययन गर्न चाहनेहरू थुप्रै छन्‌ र सस्तोमा गुजारा चलाउन सकिन्छ भन्‍ने सुनेकोले तिनीहरू त्यहाँ बसाइँ सरे। रोबर्ट भन्छन्‌: “नयाँ ठाउँमा बानी पर्न अलि गाह्रो भयो। यहाँको जीवन हाम्रो घरतिरको भन्दा निकै फरक थियो। तर हाम्रो प्रयास त्यसै खेर गएन।”

११ रोबर्ट अझै यसो भन्छन्‌: “अहिले हामी मण्डलीकै गतिविधिमा व्यस्त छौं। हामीले बाइबल अध्ययन गराएका कसै-कसैले बप्तिस्मा गरिसके। हामीसित अध्ययन गर्ने एउटा परिवार अलि टाढाको गाउँमा बस्छ र जसोतसो जीविका चलाइरहेको छ। तर हरेक हप्ता सभामा उपस्थित हुन कठिन यात्रा गर्दै तिनीहरू सहर आइपुग्छन्‌। यो परिवारले प्रगति गरेको र तिनीहरूको जेठो छोराले अग्रगामी सेवासमेत गरेकोले हामी असाध्यै खुसी छौं।”

अर्को भाषा बोलिने इलाकामा आवश्‍यकता

१२, १३. अवकाश पाइसकेपछि ब्रायन र तिनकी श्रीमतीले के गरे?

१२ अर्को भाषा बोलिने मण्डली र समूहले ढल्कँदो उमेरका भाइबहिनीको उदाहरणबाट प्रशस्तै लाभ उठाउन सक्छ। यस्तो इलाकामा प्रचार गर्नु रमाइलो पनि हुन्छ। जस्तै, बेलायतका ब्रायनले ६५ वर्षमा अवकाश पाएछन्‌। त्यसपछि तिनी र तिनकी श्रीमतीलाई जीवन खल्लो लाग्न थालेछ। तिनी भन्छन्‌: “छोराछोरी हुर्किसकेका थिए। चासो देखाउने र बाइबल अध्ययन गर्न चाहने मानिसहरू पनि पाउँदैनथ्यौं। एकदिन चिनियाँ युवकलाई भेटें। उनी नजिकैको विश्‍वविद्यालयमा अनुसन्धान गरिरहेका थिए। सभामा बोलाउँदा उनी आए र मसित बाइबल अध्ययन गर्न थाले। केही हप्तापछि उनले सँगै काम गर्ने अर्का चिनियाँ साथीलाई पनि ल्याए। दुई हप्तापछि तेस्रोलाई त्यसपछि चौथोलाई पनि ल्याए।”

१३ तिनी अझै भन्छन्‌: “पाँचौं साथीले पनि बाइबल अध्ययन गर्ने चासो देखाउँदा मलाई ‘६५ वर्ष पुग्दैमा यहोवाको सेवाबाट अवकाश लिनुपर्छ भन्‍ने त होइन नि’ जस्तो लाग्यो। त्यसैकारण मैले श्रीमतीलाई चिनियाँ भाषा सिक्न चाहन्छिन्‌ कि भनेर सोधें। उनी मभन्दा दुई वर्षले कान्छी छिन्‌। त्यसपछि भाषा सिक्न क्यासेट सुन्‍न थाल्यौं। यो कुरा १० वर्षअघिको हो। अर्को भाषा बोलिने इलाकामा प्रचार गर्दा जवान महसुस गर्न थाल्यौं। अहिलेसम्ममा हामीले ११२ जना चिनियाँहरूलाई बाइबल अध्ययन गराइसकेका छौं। यिनीहरूमध्ये प्रायजसो हाम्रा सभाहरू पनि आएका छन्‌। अनि एक जनाले त हामीसँगै अग्रगामी सेवा गरिरहेकी छिन्‌।”

नयाँ भाषा सिकेर सेवा विस्तार गर्ने वृद्ध दम्पती

तपाईं सेवा विस्तार गर्नै नसक्नेगरि वृद्ध भइसक्नुभएको छैन होला (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

जति गर्न सक्नुहुन्छ, त्यसैमा खुसी हुनुहोस्‌

१४. ढल्कँदो उमेरका ख्रीष्टियनहरूले के बिर्सनुहुँदैन? पावलको उदाहरण तिनीहरूको लागि कसरी प्रोत्साहनदायी हुन सक्छ?

१४ पचास नाघेका ख्रीष्टियनहरूसामु पहिला कहिल्यै नसोचेको तरिकामा यहोवाको सेवा गर्ने थुप्रै मौका भए तापनि सबैले त्यसो गर्न सक्छन्‌ भन्‍ने छैन। कतिपयको स्वास्थ्य कमजोर छ भने कतिपयले छोराछोरी वा वृद्ध आमाबुबाको हेरविचार गर्नुपर्छ। तर नबिर्सनुहोस्‌, यहोवाको सेवामा तपाईं जे-जति गर्नुहुन्छ, त्यसको उहाँ कदर गर्नुहुन्छ। त्यसैले गर्न नसकेको कुरा सम्झेर दिक्क मान्‍नु वा चिढिनुको साटो जति गर्न सक्नुहुन्छ, त्यसैमा खुसी हुनुहोस्‌। प्रेषित पावललाई सम्झनुहोस्‌। वर्षौं कैदमा परेकोले तिनले मिसनरी सेवा गरिरहन सकेनन्‌। तर तिनी भेट्‌न आएकाहरूलाई नै बाइबलको कुरा सुनाउँथे र उनीहरूको विश्‍वास दह्रो बनाउन मदत गर्थे।—प्रेषि. २८:१६, ३०, ३१.

१५. ढल्कँदो उमेरका भाइबहिनी अत्यन्तै अनमोल छन्‌, किन?

१५ यहोवा तपाईं वृद्ध ख्रीष्टियनहरूको पनि कदर गर्नुहुन्छ। यहोवाको सेवामा तपाईंहरू जे-जति गर्न सक्नुहुन्छ, उहाँ त्यसको अत्यन्तै मोल गर्नुहुन्छ। वृद्धावस्थामा स्वास्थ्य कमजोर हुने भएकोले सजिलो हुँदैन भनेर सुलेमानले स्वीकारे। तैपनि यहोवाको प्रशंसा गर्न तपाईंहरू जति गर्नुहुन्छ, त्यसको उहाँ कदर गर्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (लूका २१:२-४) तपाईंहरूले देखाउनुभएको बलियो विश्‍वास र धैर्यको मण्डलीले निकै मोल गर्छ।

१६. सायद हन्‍नाले कस्ता मौका पाइनन्‌? तर तिनले कसरी यहोवाको उपासना गरिन्‌?

१६ वृद्धावस्थामा पनि वफादार भई यहोवाको प्रशंसा गरेकी हन्‍नाबारे बाइबलमा बताइएको छ। येशूको जन्म हुँदा तिनी ८४ वर्ष पुगिसकेकी थिइन्‌। त्यसकारण सायद तिनले येशूको चेला हुने, पवित्र शक्‍तिले अभिषेक हुने वा सुसमाचार प्रचार गर्ने मौका पाइनन्‌। तर जे-जति गर्न सकिन्‌, त्यसैमा हन्‍ना खुसी थिइन्‌। “तिनी कहिल्यै मन्दिर छोड्‌दैनथिन्‌ अनि उपवास बसेर र उत्कट बिन्ती चढाएर रात-दिन पवित्र सेवा गर्थिन्‌।” (लूका २:३६, ३७) पुजारीले हरेक दिन बिहान-बेलुकी मन्दिरमा धूप चढाउँदा हन्‍ना पनि मन्दिरको चोकमा आधा घण्टाजति मनमनै प्रार्थना गर्थिन्‌। मन्दिरमा आइरहने भएकोले तिनले बालक येशूलाई देखिन्‌ र “यरूशलेमको छुटकाराको बाटो हेरिरहेका सबैलाई ती बालकको विषयमा बताउन थालिन्‌।”—लूका २:३८.

१७. ढल्कँदो उमेरका वा अशक्‍त भाइबहिनीले पनि साँचो उपासनामा भाग लिन सकून्‌ भनेर मण्डलीले कसरी मदत गर्न सक्छ?

१७ ढल्कँदो उमेरका वा अशक्‍त भाइबहिनीलाई मदत गर्न हामी तयार हुनुपर्छ। ढल्कँदो उमेरका भाइबहिनी इच्छा भए पनि सभा तथा सम्मेलन आउन सक्दैनन्‌ होला। मण्डलीले उनीहरूलाई कसरी मदत गर्न सक्छ? कुनै-कुनै ठाउँमा मण्डलीले टेलिफोनमार्फत सभाको कार्यक्रम सुन्‍न सकिने प्रबन्ध मिलाएको हुन सक्छ तर कतिपय ठाउँमा भने त्यसो गर्न सकिंदैन। सभामा आउन नसके तापनि ढल्कँदो उमेरका भाइबहिनीले साँचो उपासनालाई समर्थन गर्न सक्छन्‌। जस्तै, मण्डलीको हितको लागि उनीहरूले यहोवालाई प्रार्थना चढा उन सक्छन्‌।—भजन ९२:१३, १४ पढ्‌नुहोस्‌।

१८, १९. (क) आफूले गर्दा अरूले कति प्रोत्साहन पाइरहेका छन्‌, वृद्ध भाइबहिनीलाई किन यादै नहुन सक्छ? (ख) “सृष्टिकर्ताको सम्झना गर्‌” भन्‍ने सल्लाह कसले पनि पालन गर्न सक्छन्‌?

१८ आफूले गर्दा अरूले कति प्रोत्साहन पाइरहेका छन्‌, ढल्कँदो उमेरका भाइबहिनीलाई यादै नहुन सक्छ। हन्‍नाले पनि आफ्नो उदाहरणबाट अरूले प्रोत्साहन पाउनेछन्‌ र यहोवाप्रतिको आफ्नो प्रेमबारे बाइबलमा लेखिनेछ भनेर कहिल्यै सोचेकी थिइनन्‌। त्यसैगरि तपाईंलाई याद नभए पनि भाइबहिनीले यहोवाप्रतिको तपाईंको प्रेम कहिल्यै बिर्सनेछैनन्‌। त्यसैले पो बाइबलमा यस्तो लेखिएको रहेछ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।”—हितो. १६:३१.

१९ हामी सबै सीमित छौं, त्यसैले यहोवाको सेवामा चाहे जति गर्न सक्दैनौं। तर तपाईंसित बाँकी रहेको जोस-जाँगर ‘दुःखको समय आउनुअघि नै सृष्टिकर्ताको सम्झना गर्न’ लगाउनुहोस्‌।—उप. १२:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने