प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १/१५ pp. १८-२२
  • वैवाहिक सम्बन्ध बलियो र आनन्दित बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वैवाहिक सम्बन्ध बलियो र आनन्दित बनाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वैवाहिक जीवनमा यहोवाको भूमिका स्वीकार्नुहोस्‌
  • श्रीमान्‌हरू हो, शिरको भूमिका राम्ररी पूरा गर्नुहोस्‌
  • श्रीमतीहरू हो, श्रीमान्‌को अधीनमा बस्नुहोस्‌
  • एकअर्कालाई क्षमा दिइरहनुहोस्‌
  • सुनौलो नियम पालन गर्नुहोस्‌
  • “प्रेम धारण गर”
  • सफल वैवाहिक जीवनको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको विवाहलाई स्थायी बन्धन बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • तपाईंको वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” रहिरहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १/१५ pp. १८-२२
१. आनन्दित दम्पती आपसमा कुराकानी गर्दै; २. त्यही दम्पती जागिर, बच्चाको स्याहारसुसार, आर्थिक कठिनाइ र परिवारको स्वास्थ्य समस्याजस्ता कुराहरूसित जुझ्दै

वैवाहिक सम्बन्ध बलियो र आनन्दित बनाउनुहोस्‌

“परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌।”—भज. १२७:१क.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • केही दम्पतीले के-कस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ?

  • वैवाहिक जीवनमा यहोवाको भूमिका स्वीकारेको कसरी देखाउन सकिन्छ?

  • श्रीमान्‌-श्रीमतीले कसरी सुनौलो नियम लागू गर्न सक्छन्‌?

१-३. केही दम्पतीले के-कस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

अठतीस वर्षअघि विवाह गरेका एक भाइ यसो भन्छन्‌, “वैवाहिक जीवन सफल बनाउन हर प्रयास गर्नुभयो भने यहोवाले तपाईंलाई आशिष्‌ दिनुहुन्छ।” हो, वैवाहिक जीवनबाट श्रीमान्‌-श्रीमतीले आनन्द उठाउन सक्छन्‌ अनि उनीहरूले साह्रोगाह्रो अवस्थामा एकअर्कालाई साथ दिन सक्छन्‌।—हितो. १८:२२.

२ दम्पतीहरूले “शारीरिक दुःखकष्ट” पनि झेल्नुपर्ने हुन्छ। (१ कोरि. ७:२८) किन? किनकि दिनहुँ सामना गर्नुपर्ने समस्याहरूले गर्दा वैवाहिक जीवनमा तनाव आउन सक्छ। श्रीमान्‌ र श्रीमती दुवै जना त्रुटिपूर्ण भएकाले कहिलेकाहीं एकअर्काको चित्त दुख्ने व्यवहार गर्न पुग्छन्‌ अनि खुलस्त कुराकानी गर्न गाह्रो हुन सक्छ। (याकू. ३:२, ५, ८) थुप्रै दम्पतीले जागिरमा धेरै समय बिताउनुपर्ने हुन्छ अनि बच्चाहरूको हेरचाह पनि गर्नुपर्ने हुन्छ। तनाव र थकानको बेला जीवनसाथीलाई समय दिन गाह्रो हुन सक्छ अनि वैवाहिक सम्बन्ध बिस्तारै कमजोर हुँदै जान्छ। आर्थिक समस्या, स्वास्थ्य समस्या अनि अरू कठिनाइहरूको कारण थुप्रै दम्पतीले एकअर्कासित रूखो व्यवहार गर्न पुग्छन्‌। अवैध यौनसम्बन्ध, छाडा आचरण, दुस्मनी, कलह, डाह, रिस र झगडाजस्ता “शरीरका कामहरू”-ले गर्दा पनि थुप्रैको वैवाहिक सम्बन्ध धरापमा परेको छ।—गला. ५:१९-२१.

३ यस “अन्तको दिन”-का मानिसहरू आफैलाई मात्र प्रेम गर्छन्‌ र परमेश्‍वरलाई आदर गर्दैनन्‌। यस्तो मनोवृत्तिले वैवाहिक सम्बन्धलाई तहसनहस पार्न सक्छ। (२ तिमो. ३:१-४) साथै, वैवाहिक सम्बन्धलाई बिगार्न चाहने क्रूर शत्रु पनि छ। त्यो शत्रुबारे प्रेषित पत्रुसले यस्तो चेतावनी दिए, “तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।”—१ पत्रु. ५:८; प्रका. १२:१२.

४. वैवाहिक सम्बन्ध कसरी आनन्दित र बलियो हुन सक्छ?

४ जापानका एक भाइ यसो भन्छन्‌, “आर्थिक समस्याले गर्दा म तनावमा थिएँ। म श्रीमतीसित खुलस्त कुराकानी गर्दिनथें। त्यसैले तिनलाई पनि धेरै गाह्रो भइरहेको थियो। तिनलाई गम्भीर स्वास्थ्य समस्या पनि आइपऱ्‍यो। तनावले गर्दा कहिलेकाहीं हामीबीच चर्काचर्की पर्थ्यो।” वैवाहिक जीवनमा समस्याहरू त आइपर्छन्‌ तर ती समस्याहरूसित हामी जुझ्न सक्छौं। यहोवाको मदत पाएर दम्पतीहरूले आफ्नो सम्बन्ध आनन्दित र बलियो बनाउन सक्छन्‌। (भजन १२७:१ पढ्‌नुहोस्‌) यस लेखमा वैवाहिक सम्बन्ध दिगो र बलियो बनाउन मदत गर्ने पाँचवटा कुराबारे छलफल गर्नेछौं। यी पाँचवटा कुरालाई इँटासित र श्रीमान्‌-श्रीमतीबीच हुनुपर्ने प्रेमलाई सिमेन्टसित तुलना गर्न सकिन्छ। प्रेमलगायत यी पाँचवटा कुराले वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउँछ, त्यसबारे पनि यस लेखमा छलफल गर्नेछौं।

वैवाहिक जीवनमा यहोवाको भूमिका स्वीकार्नुहोस्‌

५, ६. वैवाहिक जीवनमा यहोवाको भूमिका स्वीकारेको कसरी देखाउन सकिन्छ?

५ यहोवाले परिवारको सुरुवात गर्नुभयो। त्यसैले उहाँप्रति वफादार हुँदा र उहाँको अधीनमा बस्दा वैवाहिक सम्बन्धको जग बलियो हुन्छ। (उपदेशक ४:१२ पढ्‌नुहोस्‌) यहोवाको डोऱ्‍याइअनुसार चल्दा दम्पतीहरूले वैवाहिक जीवनमा यहोवाको भूमिका स्वीकारिरहेका हुन्छन्‌। बाइबल भन्छ, “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड।’” (यशै. ३०:२०, २१) सँगै बाइबल पढेर दम्पतीहरूले यहोवाको शब्द ‘सुन्‍न’ सक्छन्‌। (भज. १:१-३) साथै पारिवारिक उपासना रमाइलो र स्फूर्तिदायी छ भने वैवाहिक सम्बन्ध बलियो हुन्छ। हरेक दिन सँगै प्रार्थना गर्दा पनि सैतानको संसारबाट आउने दबाबहरूको सामना गर्न सकिन्छ।

पारिवारिक उपासनाअघि प्रार्थना गर्दै एक दम्पती

सँगै मिलेर यहोवाको सेवा गर्दा दम्पतीहरू उहाँको नजिक हुन सक्छन्‌ अनि तिनीहरूको सम्बन्ध पनि बलियो हुन्छ (अनुच्छेद ५, ६ हेर्नुहोस्‌)

६ जर्मनीका गेहार्ड यसो भन्छन्‌, “कहिलेकाहीं हामी दुईबीच समस्या अनि मतभिन्‍नता हुन्छ। त्यसले हाम्रो आनन्द खोस्न खोज्छ। तर परमेश्‍वरको वचनमा दिइएका सल्लाहले हामीलाई धैर्य गर्न र क्षमा दिन मदत गरेको छ। वैवाहिक जीवन सफल बनाउन यस्ता गुणहरू नभई हुँदैन।” सँगै मिलेर यहोवाको सेवा गर्दा दम्पतीहरू उहाँको नजिक हुन सक्छन्‌ अनि तिनीहरूको सम्बन्ध पनि बलियो हुन्छ।

श्रीमान्‌हरू हो, शिरको भूमिका राम्ररी पूरा गर्नुहोस्‌

७. श्रीमान्‌ले शिरको भूमिका कसरी पूरा गर्नुपर्छ?

७ श्रीमान्‌ले शिरको भूमिका राम्ररी पूरा गर्दा वैवाहिक सम्बन्ध बलियो र आनन्दित हुन्छ। बाइबल यसो भन्छ, ‘हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष हो।’ (१ कोरि. ११:३) यस पदको प्रसङ्‌ग विचार गर्दा श्रीमान्‌ले शिरको भूमिका कसरी पूरा गर्नुपर्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। येशूले पुरूषहरूमाथि अख्तियार चलाउँदा कठोर र रुखो व्यवहार गर्नुभएन, बरु उहाँ मायालु, दयालु, व्यावहारिक, कोमल स्वभाव भएको र नम्र मनको हुनुहुन्थ्यो। (मत्ती ११:२८-३०) श्रीमान्‌ले पनि शिरको भूमिका त्यसरी नै पूरा गर्नुपर्छ।

८. श्रीमान्‌ले कसरी श्रीमतीबाट माया र आदर पाउन सक्छन्‌?

८ ख्रीष्टियन श्रीमान्‌ले श्रीमतीबाट आदरको माग गर्दैनन्‌। बरु उनको ‘मनको कुरा राम्ररी बुझेर उनीसित जीवन बिताउँछन्‌।’ अनि आफ्नी श्रीमतीलाई “आफूभन्दा कोमल पात्र सम्झेर आदर” गर्छन्‌। (१ पत्रु. ३:७) दुई जना मात्र हुँदा होस्‌ वा अरूसामु, तिनले श्रीमतीसित आदरसाथ कुरा गर्छन्‌ अनि उनलाई कोमल व्यवहार गर्छन्‌। यसरी तिनले आफ्नी श्रीमती आफ्नो लागि अनमोल छिन्‌ भनेर देखाउँछन्‌। (हितो. ३१:२८) श्रीमान्‌ले श्रीमतीसित मायालु व्यवहार गर्दा श्रीमतीले पनि तिनलाई माया र आदर गर्नेछिन्‌ अनि यहोवाले उनीहरूलाई आशिष्‌ दिनुहुनेछ।

श्रीमतीहरू हो, श्रीमान्‌को अधीनमा बस्नुहोस्‌

९. श्रीमती कसरी श्रीमान्‌को अधीनमा बस्न सक्छिन्‌?

९ यहोवालाई निःस्वार्थ र साँचो प्रेम गर्छौं भने नम्र भएर उहाँको बलवान्‌ बाहुलीमुनि बस्न हामीलाई सजिलो लाग्नेछ। (१ पत्रु. ५:६) श्रीमान्‌को असल सहयोगी भएर श्रीमतीले यहोवाको अख्तियारको आदर गर्न सक्छिन्‌। बाइबल यसो भन्छ, “हे पत्नीहरू हो, आ-आफ्नो पतिको अधीनमा बस, किनकि ख्रीष्टका चेलाहरूले यसै गर्नु उचित हो।” (कल. ३:१८) श्रीमतीलाई श्रीमान्‌ले गरेको कुनै-कुनै निर्णय मन नपर्न पनि सक्छ। तर श्रीमान्‌ले गरेको निर्णय यहोवाको नियमसित बाझिंदैन भने असल श्रीमतीले त्यसलाई स्वीकार्छिन्‌।—१ पत्रु. ३:१.

१०. श्रीमती आफ्नो श्रीमान्‌को अधीनमा बस्नु किन आवश्‍यक छ?

१० श्रीमतीले परिवारमा सम्मानजनक स्थान पाएकी छिन्‌; उनी आफ्नो श्रीमान्‌को “जीवनसाथी” र सहयोगी हुन्‌। (मला. २:१४) परिवारमा कुनै निर्णय गर्नुपर्दा श्रीमतीले पनि आफ्नो विचार बताउन सक्छिन्‌। तर उनले श्रीमान्‌को अधीनमा बस्दै आदरपूर्वक आफ्नो विचार बताउनुपर्छ। बुद्धिमान्‌ श्रीमान्‌ले आफ्नी श्रीमतीको विचार ध्यान दिएर सुन्छन्‌। (हितो. ३१:१०-३१) श्रीमती अधीनमा बस्दा परिवारमा आनन्द र शान्ति छाउँछ। यहोवालाई खुसी बनाएको छु भनेर सोच्दा दुवैले गहिरो सन्तुष्टि पाउँछन्‌।—एफि. ५:२२.

एकअर्कालाई क्षमा दिइरहनुहोस्‌

११. एकअर्कालाई क्षमा दिनु किन आवश्‍यक छ?

११ वैवाहिक सम्बन्ध बलियो बनाउन मदत गर्ने अर्को महत्त्वपूर्ण इँटा क्षमा हो। श्रीमान्‌-श्रीमतीले ‘एक-अर्कालाई सहिरहँदा अनि खुला मनले क्षमा गरिरहँदा’ सम्बन्ध बलियो हुन्छ। (कल. ३:१३) श्रीमान्‌-श्रीमतीले एकअर्काको गल्ती सम्झिरहनु र घरी-घरी त्यही गल्ती कोट्याउनु राम्रो होइन। भित्ता चर्कंदा घर कमजोर भएजस्तै गुनासो गर्दा र मनमा रिस पालिराख्दा क्षमा दिन झन्‌झनै गाह्रो हुन्छ अनि वैवाहिक सम्बन्ध कमजोर हुन्छ। तर यसको विपरीत श्रीमान्‌-श्रीमतीले यहोवाले जस्तै क्षमा दिंदा वैवाहिक सम्बन्ध बलियो हुन्छ।—मीका ७:१८, १९.

१२. प्रेमले कसरी “असङ्‌ख्य पापहरू ढाक्छ”?

१२ साँचो प्रेमले “खराबीको हिसाब राख्दैन।” बरु “प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।” (१ कोरि. १३:४, ५; १ पत्रुस ४:८ पढ्‌नुहोस्‌) अर्को शब्दमा भन्‍नुपर्दा, हामीमा प्रेम छ भने कतिवटा गल्तीको क्षमा दिने भनेर सीमा तोक्नेछैनौं। कति पटकसम्म क्षमा दिनुपर्छ भनी पत्रुसले सोध्दा येशूले “सतहत्तर पटकसम्म” क्षमा दिनुपर्छ भन्‍नुभयो। (मत्ती १८:२१, २२) ख्रीष्टियनहरूले अरूलाई कति पटकसम्म क्षमा दिनुपर्छ, त्यसको कुनै सीमा छैन भनेर येशूले सिकाउँदै हुनुहुन्थ्यो।—हितो. १०:१२.a

१३. क्षमा नदिने झुकावविरुद्ध कसरी लड्‌न सक्छौं?

१३ एन्‍नेट भन्छिन्‌, “श्रीमान्‌-श्रीमतीले एकअर्कालाई क्षमा नदिंदा मनमा रिस रहिरहन्छ अनि एकअर्काप्रतिको भरोसा कमजोर हुन्छ। यो वैवाहिक जीवनको लागि घातक हुन्छ। क्षमा दिंदा श्रीमान्‌-श्रीमतीको सम्बन्ध बलियो हुन्छ।” जीवनसाथीलाई धन्यवाद दिने र प्रशंसा गर्ने बानी बसाल्नुहोस्‌। तिनले गरेको असल कामको कदर गर्नुहोस्‌। यसो गर्नुभयो भने क्षमा नदिने झुकावविरुद्ध लड्‌न सक्नुहुन्छ। (कल. ३:१५) तपाईंको मनमा शान्ति छाउनेछ, एकअर्कासित घनिष्ठ हुनुहुनेछ अनि यहोवाको आशिष्‌ पाउनुहुनेछ।—रोमी १४:१९.

सुनौलो नियम पालन गर्नुहोस्‌

१४, १५. सुनौलो नियम के हो र यो नियम पालन गर्दा वैवाहिक सम्बन्ध कसरी बलियो हुन्छ?

१४ अरूले तपाईंको आदर गरेको र तपाईंको मर्यादाको ख्याल राखेको तपाईं चाहनुहुन्छ। अरूले तपाईंको विचार बुझिदिंदा अनि तपाईंको भावनाको कदर गर्दा तपाईंलाई खुसी लाग्छ। थुप्रै मानिसले ‘जस्तालाई त्यस्तै’ गर्नुपर्छ भनेको तपाईंले सुन्‍नुभएको होला। हुन त कहिलेकाहीं मानिसहरूले त्यस्तो प्रतिक्रिया देखाउनु ठिकै देखिएला। तर बाइबल यसो भन्छ, “यसो नभन्‌, ‘त्यसले मलाई गरेझैं म पनि गर्नेछु, त्यसले मलाई गरेको साटो लिनेछु।’” (हितो. २४:२९) येशूले समस्या सुल्झाउने सबैभन्दा राम्रो तरिका सिकाउनुभएको थियो र त्यो तरिकालाई अहिले सुनौलो नियम भनेर चिनिन्छ। उहाँले यसो भन्‍नुभएको थियो, “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (लूका ६:३१) येशूले यो कुरा सिकाउन खोज्दै हुनुहुन्थ्यो: अरूले हामीलाई जस्तो व्यवहार गरेको चाहन्छौं, हामीले पनि उनीहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ; अरूले हामीलाई कठोर व्यवहार गऱ्‍यो भन्दैमा हामीले पनि उनीहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ भन्‍ने छैन। यसको मतलब तपाईं आफ्नो श्रीमान्‌ वा श्रीमतीबाट जस्तो आस गर्नुहुन्छ, तपाईंले पनि त्यसै गर्नुपर्छ।

१५ जीवनसाथीको भावना बुझ्दा वैवाहिक सम्बन्ध बलियो हुन्छ। दक्षिण अफ्रिकाका एक श्रीमान्‌ यसो भन्छन्‌, “कहिलेकाहीं हामीबीच खटपट हुन्छ तर त्यतिबेला हामी सुनौलो नियम लागू गर्ने प्रयास गर्छौं। श्रीमतीले मलाई जस्तो व्यवहार गरोस्‌ भन्‍ने चाहन्छु, म पनि उनलाई त्यस्तै व्यवहार गर्छु र उनी पनि त्यसै गर्छिन्‌। हामी एकअर्काको मान र इज्जत गर्छौं।”

१६. दम्पतीले एकअर्कासित कस्तो व्यवहार गर्नु हुँदैन?

१६ श्रीमान्‌ वा श्रीमतीले एकअर्काको कमजोरी सजिलै देख्न सक्छन्‌। जीवनसाथीको कुनै आनीबानीले गर्दा दिक्क पनि लाग्न सक्छ। तर त्यस्ता कुराहरू अरूलाई बखान गर्दै हिंड्‌नु राम्रो होइन, चाहे त्यो ठट्टा गर्दा नै किन नहोस्‌। वैवाहिक सम्बन्ध भनेको दुई जनामध्ये को बलियो, को बढी चिच्याउन सक्ने वा कसले बढी घोच्ने बोली बोल्न सक्ने भनेर प्रमाणित गर्ने प्रतियोगिता होइन। हामी सबै त्रुटिपूर्ण छौं। त्यसैले एकअर्कालाई चोट पुऱ्‍याउन सक्छौं। तर श्रीमान्‌ वा श्रीमतीलाई खसालेर बोल्नु वा एकअर्काको चित्त दुखाउनु राम्रो होइन।—हितोपदेश १७:२७; ३१:२६ पढ्‌नुहोस्‌।

१७. श्रीमान्‌ले कसरी सुनौलो नियम लागू गर्न सक्छन्‌?

१७ कुनै-कुनै संस्कृतिमा श्रीमतीलाई दबाएर राख्नु र दुर्व्यवहार गर्नु पुरुषार्थ हो भनिन्छ। तर बाइबल यसो भन्छ, “झगडालु हुनुभन्दा रीसमा धीमा हुनु असल हो, शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।” (हितो. १६:३२) येशूको देखासिकी गर्दै रिसलाई नियन्त्रणमा राख्न कडा प्रयास गर्नै पर्छ। आफ्नी श्रीमतीसित कठोर बोली बोल्नु वा उनलाई कुटपिट गर्नु वास्तवमा पुरुषार्थ होइन। श्रीमतीलाई त्यस्तो व्यवहार गर्ने व्यक्‍ति यहोवासित नजिक भइरहन सक्दैनन्‌। दाऊद बलियो र साहसी थिए। तैपनि तिनले यसो भने, “रीस ता गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।”—भज. ४:४.

“प्रेम धारण गर”

१८. वैवाहिक जीवनमा प्रेम नभई हुँदैन, किन?

१८ पहिलो कोरिन्थी १३:४-७ पढ्‌नुहोस्‌। वैवाहिक जीवनमा प्रेम नभई हुँदैन। बाइबल भन्छ, “कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर। तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर, किनकि यो मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन हो।” (कल. ३:१२, १४) येशूले देखाउनुभएको जस्तो निःस्वार्थ प्रेम वैवाहिक सम्बन्धलाई दिगो र बलियो बनाउन मदत गर्ने इँटाहरूलाई एकआपसमा जोड्‌ने सिमेन्टजस्तै हो। कहिलेकाहीं श्रीमान्‌-श्रीमतीबीच मतभिन्‍नता हुन सक्छ, स्वास्थ्य समस्या वा आर्थिक समस्या आइपर्न सक्छ अनि श्रीमान्‌ वा श्रीमतीको आफन्तहरूसित व्यवहार गर्दा केही चुनौती आइपर्न सक्छ। तर श्रीमान्‌-श्रीमतीबीच निःस्वार्थ प्रेम छ भने त्यस्ता चुनौती आइपरे पनि वैवाहिक सम्बन्ध टिकिरहन्छ।

१९, २०. (क) श्रीमान्‌-श्रीमतीले आफ्नो सम्बन्ध कसरी बलियो र आनन्दित बनाउन सक्छन्‌? (ख) अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१९ वैवाहिक जीवन सुखी बनाउन प्रयत्न गर्नुपर्छ। दम्पतीले आपसमा प्रेम गर्नुपर्छ र एकअर्काप्रति वफादार रहनुपर्छ। गाह्रोसाह्रो परिस्थिति आइपरे पनि वैवाहिक सम्बन्धलाई बलियो बनाउने प्रयास गरिरहनुपर्छ। एकअर्कासित अझ नजिक हुने कोसिस गर्नुपर्छ। यहोवा र एकअर्कामा समर्पित दम्पती आपसी समस्या सुल्झाउन उत्प्रेरित हुन्छन्‌ किनकि तिनीहरू यहोवा र एकअर्कालाई प्रेम गर्छन्‌ अनि यस्तो “प्रेम कहिल्यै अन्त हुँदैन।”—१ कोरि. १३:८; मत्ती १९:५, ६; हिब्रू १३:४.

२० अहिलेको “असाध्यै कठिन समय”-मा वैवाहिक सम्बन्धलाई बलियो र आनन्दित बनाइराख्न सजिलो त छैन। (२ तिमो. ३:१) तर यहोवाको मदतले यसो गर्न सकिन्छ। वैवाहिक सम्बन्ध जोगाउन श्रीमान्‌-श्रीमतीले संसारको नैतिक पतनविरुद्ध पनि लड्‌नुपर्ने हुन्छ। त्यसोभए तिनीहरूले कसरी यसो गर्न सक्छन्‌, अर्को लेखमा छलफल गर्नेछौं।

a बाइबलले दम्पतीहरूलाई क्षमा दिन र सँगै मिलेर समस्या सुल्झाउन आग्रह गरेको छ। तर श्रीमान्‌ वा श्रीमतीमध्ये एक जनाले अवैध यौनसम्बन्ध राखेको खण्डमा क्षमा दिने कि सम्बन्धविच्छेद गर्ने भनेर निर्दोष पक्षले निर्णय गर्न सक्छ। (मत्ती १९:९) पारिवारिक आनन्दको रहस्य किताबको पृष्ठ १५८, १५९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने