प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ७/१५ पृ. १२-१३
  • ‘वृद्धावस्थामा’ पनि यहोवाको सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘वृद्धावस्थामा’ पनि यहोवाको सेवा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बलियो विश्‍वास देखाइरहनुहोस्‌
  • परमेश्‍वरको सेवामा सक्रिय भई लागिरहनुहोस्‌
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मसीही परिवारले वृद्धहरूको मदत गर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ७/१५ पृ. १२-१३

‘वृद्धावस्थामा’ पनि यहोवाको सेवा गर्नुहोस्‌

सत्तरी वर्ष नाघेका बलबहादुरa यस्तो बिलौना गर्छन्‌, “मेरो स्वास्थ्य झन्‌झनै बिग्रँदै छ।” यस्तो कुरा सुन्‍नु सामान्य भइसकेको छैन र? यदि तपाईं वृद्धावस्थातिर लम्कँदै हुनुहुन्छ र स्वास्थ्य बिग्रँदै गएको अनि बल घट्‌दै गएको महसुस गर्नुहुन्छ भने तपाईं उपदेशक अध्याय १२ मा व्याख्या गरिएको भावना राम्ररी बुझ्न सक्नुहुन्छ। पद १ मा वृद्धावस्थालाई “दुःखको समय” पनि भनिएको छ। तैपनि तपाईंले दुःखै दुःखको जीवन बिताउनु पर्दैन। वृद्धावस्थामा पनि आनन्दित भई यहोवाको सेवा गरेर तपाईं सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ।

बलियो विश्‍वास देखाइरहनुहोस्‌

वृद्धावस्थामा पुग्नुभएका प्यारा दाजुभाइ दिदीबहिनीहरू हो, वृद्धावस्थाको समस्याहरू भोग्ने तपाईं मात्र हुनुहुन्‍न। बाइबल लेखिएको समयतिरका यहोवाका वृद्ध सेवकहरूले पनि यस्तै किसिमका समस्याहरू भोगे। उदाहरणको लागि, इसहाक, याकूब र अहियाहको आँखा धमिला भइसकेका थिए। (उत्प. २७:१; ४८:१०; १ राजा १४:४) राजा दाऊदको शरीर ‘तातिंदैनथ्यो।’ (१ राजा १:१) धनाढ्य बर्जिल्लेले खानेकुराको स्वाद पाउन छोडिसकेका थिए र गीत पनि राम्ररी सुन्‍न सक्दैनथे। (२ शमू. १९:३२-३५) अब्राहाम र नाओमीले आफ्नो जीवनसाथीको मृत्युको पीडा भोग्नुपरेको थियो।—उत्प. २३:१, २; रूथ १:३, १२.

तिनीहरूलाई यहोवाप्रति वफादार भइरहन र आफ्नो आनन्द नगुमाउन केले मदत गऱ्‍यो? वृद्धावस्थामा परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गर्दै अब्राहाम ‘आफ्नो विश्‍वासद्वारा अझ दह्रो भए।’ (रोमी ४:१९, २०) हामीलाई पनि बलियो विश्‍वास चाहिन्छ। यस्तो विश्‍वास हाम्रो उमेर, क्षमता वा परिस्थितिमा निर्भर हुँदैन। जस्तै: आफू कमजोर भइसकेको भए पनि अनि राम्ररी देख्न नसक्ने र ओछ्यान परिसकेको भए पनि याकूबले परमेश्‍वरका प्रतिज्ञाहरूमा बलियो विश्‍वास देखाए। (उत्प. ४८:१-४, १०; हिब्रू ११:२१) अहिले ९३ वर्ष पुगेकी नानीमायालाई मांसपेशी कमजोर हुँदै जाने रोग लागेको छ। तैपनि तिनी यसो भन्छिन्‌: “म हरेक दिन यहोवाबाट इनाम पाएको महसुस गर्छु। म हरेक दिन नयाँ संसारबारे सोच्ने गर्छु। यसबाट मैले आशा पाउन सकेकी छु।” यो साँच्चै असल र सकारात्मक सोचाइ हो नि, होइन र?

हामी पनि प्रार्थना गरेर, परमेश्‍वरको वचन दिनहुँ अध्ययन गरेर र ख्रीष्टियन सभाहरूमा उपस्थित भएर आफ्नो विश्‍वास बलियो बनाउन सक्छौं। वृद्ध दानियल नियमित रूपमा दिनको तीन पटक प्रार्थना गर्थे र सधैं धर्मशास्त्र अध्ययन गर्थे। (दानि. ६:१०; ९:२) वृद्धा विधवा हन्‍ना “कहिल्यै मन्दिर छोड्‌दैनथिन्‌।” (लूका २:३६, ३७) तपाईं पनि सम्भव भएसम्म सभाहरू जानुभयो र सकेजति भाग लिनुभयो भने तपाईंले मात्र होइन, उपस्थित सबै जनाले स्फूर्ति पाउनेछन्‌। अनि तपाईंले चाहेजति यहोवाको सेवा गर्न नसके पनि यहोवा तपाईंको प्रार्थना सुनेर प्रसन्‍न हुनुहुन्छ।—हितो. १५:८.

एक जना वृद्ध भाइ टेलिफोनमार्फत बाइबलबाट कुरा गर्दै

एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌

तपाईंहरूमध्ये धेरै जनामा आँखा देख्न सके पढ्‌न पाइन्थ्यो, बलियो भए सभा जान पाइन्थ्यो भन्‍ने इच्छा होला। तर यसो गर्नु तपाईंको लागि झन्‌झनै गाह्रो हुँदै गइरहेको होला वा असम्भवै होला। त्यसोभए के गर्न सकिन्छ? तपाईंसित जे छ, त्यसको सदुपयोग गर्नुहोस्‌। सभा जान नसक्ने धेरै जना टेलिफोनद्वारा सभाका कार्यक्रमहरू सुन्छन्‌। आँखा राम्रोसँग देख्न नसक्ने ७९ वर्षीया इन्दिरालाई मण्डलीको एक जना भाइले ठूलो अक्षरमा छापिएका लेखहरू ल्याइदिन्छन्‌ र त्यसको मदतले तिनी सभाको तयारी गर्छिन्‌।

अरूसित नभएको एउटा कुरा भने तपाईंसित हुन सक्छ। त्यो हो, समय। त्यसोभए त्यो समयलाई बाइबल र बाइबलआधारित प्रकाशन, भाषण र श्रव्य नाटकहरूको रेकर्डिङ सुन्‍न प्रयोग गरे कसो होला? साथै तपाईं आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई फोन गरेर आफूसित भएको आध्यात्मिक वरदान बाँड्‌न सक्नुहुन्छ र ‘एकअर्कासित प्रोत्साहन’ आदानप्रदान गर्न सक्नुहुन्छ।—रोमी १:११, १२.

परमेश्‍वरको सेवामा सक्रिय भई लागिरहनुहोस्‌

पार्कको बेन्चमा बसेर वृद्ध भाइ एक व्यक्‍तिसित बाइबलको कुरा छलफल गर्दै

वचन प्रचार गर्नुहोस्‌

लगभग ८५ वर्ष पुगेकी तारादेवी यसरी बिलौना गर्छिन्‌, “पहिलाजत्तिको सक्रिय हुन नसक्दा असह्‍य हुन्छ।” त्यसोभए आफ्नो आनन्द नगुमाउन वृद्धहरूले के गर्न सक्छन्‌? दलबहादुर नाम गरेका ७५ वर्षीय वृद्ध यसो भन्छन्‌, “आफूले गर्न नसक्ने कुराहरूमा ध्यान दिइरहनुको सट्टा आफूले गर्न सक्ने कुरामा ध्यान दिएर सकारात्मक सोचाइ राख्नुहोस्‌।”

के तपाईं आफूले साक्षी दिन सक्ने कुनै तरिकाबारे सोच्न सक्नुहुन्छ? पुष्पा पहिलेजस्तो घरघरको प्रचारमा जान सक्दिनन्‌। लगभग ८५ वर्षको उमेरमा तिनले चिठीहरू लेख्न कम्प्युटर चलाउन सिकिन्‌। केही वृद्ध प्रकाशकहरूचाहिं पार्कको बेन्चमा वा बस बिसौनीमा बस्दा बाइबलबारे छलफल सुरु गर्छन्‌। अथवा तपाईं वृद्धहरूको हेरचाह गर्ने ठाउँमा बस्नुहुन्छ भने डाक्टर अथवा नर्सलाई र त्यहाँ बस्ने अन्य मानिसहरूलाई साक्षी दिएर तपाईं त्यस ठाउँलाई आफ्नो “इलाका” बनाउन सक्नुहुन्छ कि?

वृद्धा बहिनी जवानहरूलाई चिया-नास्ता खुवाउँदै

अतिथि सत्कार गर्नुहोस्‌

आफ्नो वृद्धावस्थामा दाऊदले साँचो उपासनालाई जोसिलो भई समर्थन गरे। तिनले मन्दिर निर्माणको लागि अनुदान दिए र निर्माणकार्यमा टेवा पुऱ्‍याउन विभिन्‍न प्रबन्ध मिलाए। (१ इति. २८:११–२९:५) विश्‍वव्यापी रूपमा भइरहेको राज्य गतिविधिलाई तपाईंले पनि त्यसरी नै मदत गर्न सक्नुहुन्छ। तपाईंको मण्डलीमा भएका अग्रगामी वा अन्य जोसिला प्रकाशकहरूसित प्रोत्साहनदायी कुराकानी गरेर, उनीहरूलाई सानोतिनो उपहार दिएर वा चिया-नास्ताको लागि बोलाएर उनीहरूलाई समर्थन गर्न सक्नुहुन्छ कि? तपाईंले युवा तथा उनीहरूको परिवार, पूर्ण-समय सेवक, बिरामी र ठूलठूला जिम्मेवारी वहन गरिरहेकाहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ।

तपाईं र तपाईंले गर्ने सेवाको कामको अत्यन्तै कदर गरिन्छ। स्वर्गमा बस्नुहुने हाम्रो बुबाले तपाईं प्यारा वृद्ध-वृद्धालाई कहिल्यै त्याग्नुहुन्‍न। (भज. ७१:९) यहोवा तपाईंलाई माया गर्नुहुन्छ र तपाईंको कदर गर्नुहुन्छ। चाँडै यस्तो समय आउनेछ, जुन बेला हाम्रो उमेर बढ्‌दै गए पनि दुःख र पीडा भने हुनेछैन। हामी पूरा बल र स्वस्थ शरीरले मायालु परमेश्‍वर यहोवाको सदासर्वदा सेवा गर्नेछौं।

a केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने