प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जनवरी pp. १२-१६
  • स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ उत्सवको लागि तयारी गर्ने अनि त्यसबाट लाभ उठाउने
  • स्मरणार्थ उत्सवले हाम्रो एकता बलियो बनाउँछ
  • एकता बलियो बनाउन व्यक्‍तिगत रूपमा के गर्न सक्छौं?
  • अन्तिम स्मरणार्थ उत्सव—कहिले?
  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • “यो गर्नेगर”—अप्रिल ५ मा येशूको मृत्युको स्मरणार्थ
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जनवरी pp. १२-१६
विभिन्‍न देशका मानिसहरू स्मरणार्थ उत्सवमा उपस्थित हुँदै

स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ

“समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!”—भज. १३३:१.

गीत: १८, १४

स्मरणार्थ उत्सवले कसरी . . .

  • हामीलाई व्यक्‍तिगत रूपमा फाइदा पुऱ्‍याउँछ?

  • परमेश्‍वरका जनहरूलाई एकतामा बाँध्छ?

  • हाम्रो एकता बलियो बनाउन मदत गर्छ?

१, २. सन्‌ २०१८ मा कुन उत्सवले हामीलाई विशेष तरिकामा एकतामा बाँध्नेछ? किन? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

मार्च ३१, २०१८ को दिन, जसै सूर्य अस्ताउन थाल्छ, यहोवाका साक्षीहरू अनि चासो देखाउने थुप्रै व्यक्‍ति प्रभुको साँझको भोज मनाउन भेला हुनेछन्‌। पृथ्वी जसै घुम्दै जान्छ अनि सूर्य अस्ताउँदै जान्छ, संसारभर लाखौं मानिस ख्रीष्टको मृत्युको सम्झना गर्न भेला हुनेछन्‌। हरेक वर्ष यस अवसरमा हामी यस्तो एकता देख्न पाउँछौं, जुन संसारको अरू कुनै पनि जमघटमा देख्न पाउँदैनौं।

२ त्यस दिन सूर्य अस्ताउँदै जाँदा एकपछि अर्को ठाउँमा यो विशेष उत्सव मनाउन लाखौं मानिस भेला भएको देख्दा यहोवा र येशूलाई कत्ति खुसी लाग्छ होला, कल्पना गर्नुहोस्‌ त! बाइबलमा भविष्यवाणी गरिएअनुसार ‘हरेक राष्ट्र, कुल, जाति अनि भाषाका कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडले’ चर्को स्वरमा यसो भन्दै कराउने थिए: “सिंहासनमा बस्नुहुने हाम्रो परमेश्‍वरबाट अनि थुमाबाट हामीले उद्धार पाउँछौं।” (प्रका. ७:९, १०) वार्षिक रूपमा मनाइने स्मरणार्थ उत्सवले यसरी यहोवा र येशूको महिमा गर्नु साँच्चै विशेष कुरा हो!

३. हामी यस लेखमा कुन-कुन प्रश्‍नको जवाफ पाउनेछौं?

३ हामी यस लेखमा यी चार वटा प्रश्‍नको जवाफ पाउनेछौं: (१) स्मरणार्थ उत्सवको लागि हामी व्यक्‍तिगत रूपमा कसरी तयारी गर्न अनि त्यसबाट पुरापुर फाइदा उठाउन सक्छौं? (२) स्मरणार्थ उत्सवले कसरी परमेश्‍वरका जनहरूमाझको एकता बलियो बनाउँछ? (३) त्यस एकतालाई अझ बलियो बनाउन हामी व्यक्‍तिगत रूपमा के गर्न सक्छौं? (४) के कुनै वर्ष स्मरणार्थ उत्सव अन्तिम पटकको लागि मनाइनेछ? त्यसो हो भने कहिले?

स्मरणार्थ उत्सवको लागि तयारी गर्ने अनि त्यसबाट लाभ उठाउने

४. स्मरणार्थ उत्सवमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ?

४ स्मरणार्थ उत्सवमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ? याद गर्नुहोस्‌, मण्डलीका सभाहरूमा उपस्थित हुनु हाम्रो उपासनाको अभिन्‍न भाग हो। वर्षको सबैभन्दा महत्त्वपूर्ण सभा अर्थात्‌ स्मरणार्थ उत्सवमा उपस्थित हुन प्रयास गर्ने हरेकलाई यहोवा र येशूले पक्कै याद गर्नुहुन्छ। शारीरिक समस्याले गर्दा वा कुनै खास परिस्थितिले गर्दा उपस्थित हुन असम्भव अवस्थामा बाहेक अरू कारणले हामी स्मरणार्थ उत्सव छुटाउँदैनौं भनेर यहोवा र येशूले याद गर्नुभएको हामी चाहन्छौं। सभाहरू हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छन्‌ भनेर आफ्नो व्यवहारबाट देखाउँदा यहोवाले हाम्रो नाम “सम्झनाको पुस्तक” अर्थात्‌ “जीवनको पुस्तक”-मा लेख्न थप कारण पाउनुहुनेछ। त्यस पुस्तकमा अनन्त जीवन पाउन योग्य व्यक्‍तिहरूको नाम लेखिएको छ।—मला. ३:१६; प्रका. २०:१५.

५. ‘आफू विश्‍वासमा छु कि छैनँ भनी जाँच्न’ स्मरणार्थ उत्सव आउनुभन्दा अघिका दिनहरूमा हामी के गर्न सक्छौं?

५ यहोवासितको आफ्नो सम्बन्ध कस्तो छ भनेर हामी स्मरणार्थ उत्सव आउनुभन्दा अघिका दिनहरूमा केलाउन सक्छौं। त्यसको लागि प्रार्थना गर्न र राम्ररी विचार गर्न केही समय छुट्ट्याउन सक्छौं। (२ कोरिन्थी १३:५ पढ्‌नुहोस्‌) हामी कसरी आफूलाई केलाउन सक्छौं? ‘आफू विश्‍वासमा छु कि छैनँ भनी जाँचेर।’ आफैलाई यस्ता प्रश्‍न सोध्नु बेस हो: ‘म जुन सङ्‌गठनमा छु, त्यो नै यहोवाले आफ्नो इच्छा पूरा गर्न रोज्नुभएको एक मात्र सङ्‌गठन हो भनेर के मलाई पक्का विश्‍वास छ? के म राज्य सन्देश प्रचार गर्न अनि मानिसहरूलाई सिकाउन सकेजति गर्दै छु? हामी अहिले अन्तको दिनमा बाँचिरहेका छौं र सैतानको शासन छिट्टै अन्त हुनेछ भनेर मैले साँच्चै विश्‍वास गरेको कुरा के मेरो काममा झल्किन्छ? यहोवा परमेश्‍वरमा आफ्नो जीवन समर्पण गर्दा यहोवा र येशूमाथिको मेरो भरोसा जति बलियो थियो, के अहिले पनि त्यति नै बलियो छ?’ (मत्ती २४:१४; २ तिमो. ३:१; हिब्रू ३:१४) यी प्रश्‍नको जवाफबारे सोच्दा हामी ‘आफू कस्ता मानिसहरू हौं भनेर साबित गरिरहन’ मदत पाउनेछौं।

६. (क) अनन्त जीवन पाउने एक मात्र तरिका के हो? (ख) एक जना एल्डर हरेक वर्ष स्मरणार्थको लागि कसरी तयारी गर्छन्‌? तपाईं पनि कसरी त्यस्तै केही गर्न सक्नुहुन्छ?

६ स्मरणार्थ उत्सव कत्ति महत्त्वपूर्ण छ भनेर बताइएका विभिन्‍न लेखहरू पढ्‌नुहोस्‌ अनि त्यसमा मनन गर्नुहोस्‌। (यूहन्‍ना ३:१६; १७:३ पढ्‌नुहोस्‌) अनन्त जीवन पाउने एक मात्र तरिका भनेको यहोवाको ‘ज्ञान लिनु’ र उहाँको एक मात्र छोरा येशू ख्रीष्टमा ‘विश्‍वास गर्नु’ हो। स्मरणार्थ उत्सवको लागि तयारी गर्न यहोवा र येशूसित नजिक हुन मदत गर्ने केही खास विषय छानेर अध्ययन गरे कसो होला? लामो समयदेखि एल्डरको रूपमा सेवा गरिरहेका एक भाइ के गर्छन्‌, विचार गर्नुहोस्‌। तिनले खासगरि स्मरणार्थ उत्सवबारे अनि यहोवा र येशूले हामीलाई देखाउनुभएको प्रेमबारे व्याख्या गरिएका प्रहरीधरहरा-का लेखहरू जम्मा गर्न थालेको वर्षौं भइसक्यो। स्मरणार्थ उत्सव आउनुभन्दा केही हप्ताअघि तिनी ती लेखहरू फेरि पढ्‌छन्‌ अनि यस उत्सवको महत्त्वबारे मनन गर्छन्‌। बेला-बेलामा तिनी नयाँ लेखहरू पनि थप्ने गर्छन्‌। ती लेखहरू फेरि पढ्‌दा अनि स्मरणार्थ बाइबल पढाइका अंशहरू पढेर त्यसमा मनन गर्दा आफूले हरेक वर्ष नयाँ-नयाँ कुरा सिकिरहेको ती एल्डर बताउँछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी यहोवा अनि येशूप्रतिको आफ्नो प्रेम प्रत्येक वर्ष अझ प्रगाढ हुँदै गएको महसुस गर्छन्‌। यसरी खास विषय छानेर अध्ययन गर्दा यहोवा र येशूप्रतिको तपाईंको प्रेम पनि बढ्‌नेछ अनि उहाँहरूप्रति अझ कृतज्ञ हुनुहुनेछ। यसरी स्मरणार्थ उत्सवबाट पुरापुर फाइदा उठाउन सक्नुहुनेछ।

स्मरणार्थ उत्सवले हाम्रो एकता बलियो बनाउँछ

७. (क) प्रभुको साँझको भोज स्थापना गर्नुभएको रातमा येशूले केको लागि प्रार्थना गर्नुभयो? (ख) यहोवाले येशूको प्रार्थनाको जवाफ दिनुभएको छ भनेर केले देखाउँछ?

७ आफू र आफ्नो बुबा यहोवाबीच जुन एकता छ, त्यस्तै एकता आफ्ना चेलाहरूमा पनि हुन सकोस्‌ भनेर येशूले प्रभुको साझँको भोज स्थापना गर्नुभएको रातमा प्रार्थना गर्नुभएको थियो। (यूहन्‍ना १७:२०, २१ पढ्‌नुहोस्‌) आफ्नो प्यारो छोराले गरेको त्यस प्रार्थनाको जवाफ यहोवाले साँच्चै दिनुभएको छ र आज संसारका लाखौं मानिस यहोवाले येशूलाई पठाउनुभएको हो भन्‍ने कुरामा विश्‍वास गर्छन्‌। संसारभरिका यहोवाका साक्षीहरू एकतामा छन्‌ भन्‍ने कुरा स्मरणार्थ उत्सवको बेलामा जति अरू कुनै सभामा देखिंदैन। यो उत्सव मनाउन विभिन्‍न देश, जाति र वर्णका मानिसहरू संसारका विभिन्‍न ठाउँमा भेला हुन्छन्‌। कुनै-कुनै ठाउँमा यसरी विभिन्‍न जातिका मानिसहरू एकसाथ धार्मिक सभाको लागि भेला भएको सुन्दा मानिसहरू अनौठो मान्छन्‌। अरू कतिपयले भने यसरी भेला हुनुलाई नराम्रो पनि ठान्छन्‌। तर यस्तो एकता यहोवा र येशूलाई निकै मन पर्छ।

८. यहोवाले इजकिएललाई कस्तो सन्देश सुनाउनुभयो?

८ हामीमाझ छाएको एकता देखेर हामी यहोवाका जनहरू अचम्म मान्दैनौं। यस्तो एकता छाउनेछ भनेर यहोवाले नै भविष्यवाणी गर्नुभएको थियो। यहोवाले इजकिएललाई दुइटा लाठो जोडिनेबारे कस्तो सन्देश दिनुभएको थियो, विचार गर्नुहोस्‌। उहाँले ‘यहूदाको लाठो’ र ‘यूसुफको लाठो’ जोडिनेबारे बताउनुभएको थियो। (इजकिएल ३७:१५-१७ पढ्‌नुहोस्‌) जुलाई २०१६ को प्रहरीधरहरा-मा छापिएको “पाठकहरूको प्रश्‍न”-मा यस्तो लेखिएको थियो: “प्रतिज्ञा गरिएको देशमा पुनर्स्थापित भएपछि इस्राएल राष्ट्र एकीकरण हुनेछ भन्‍ने आशाको सन्देश यहोवाले इजकिएललाई दिनुभयो। साथै त्यो सन्देश अन्तको दिनमा परमेश्‍वरका सेवकहरू एकताबद्ध हुनेछन्‌ भन्‍ने कुराको भविष्यवाणी पनि थियो।”

९. हरेक वर्ष स्मरणार्थ उत्सव मनाउँदा हामी इजकिएलको भविष्यवाणी पूरा भएको कसरी देख्छौं?

९ सन्‌ १९१९ देखि यहोवाले अभिषिक्‍त जनहरूलाई फेरि व्यवस्थित गर्न अनि एकत्रित गर्न थाल्नुभयो। तिनीहरूले ‘यहूदाको’ लाठोलाई सङ्‌केत गर्थे। अनि पृथ्वीमै जीवन बिताउने आशा राखेका थुप्रै मानिसले पनि अभिषिक्‍त जनहरूसित मिलेर सेवा गर्न थाले। उनीहरूले ‘यूसुफको’ लाठोलाई सङ्‌केत गर्थे। यसरी यी दुई समूह “एउटै बगाल” भएका छन्‌। (यूह. १०:१६; जक. ८:२३) ती दुई लाठोलाई जोड्‌नेछु र ती आफ्नो हातमा एउटै हुनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। (इज. ३७:१९) अहिले ती दुवै समूह एकसाथ मिलेर महिमित राजा येशू ख्रीष्टको सेवा गर्दै छन्‌। उहाँलाई इजकिएलको भविष्यवाणीमा परमेश्‍वरका “दास दाऊद”-को रूपमा चित्रण गरिएको छ। (इज. ३७:२४, २५) हरेक वर्ष “अरू भेडा”-का सदस्यहरू पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूसित मिलेर येशूको मृत्युको सम्झना गर्न भेला हुन्छन्‌। त्यतिबेला हामी इजकिएलको किताबमा बताइएको एकता आफ्नै आँखाले देख्न पाउँछौं। तर त्यो एकता कायम राख्न अनि त्यसलाई अझ बलियो बनाउन हामी व्यक्‍तिगत रूपमा के गर्न सक्छौं?

एकता बलियो बनाउन व्यक्‍तिगत रूपमा के गर्न सक्छौं?

१०. हाम्रो एकता बलियो बनाउन के गर्न सक्छौं?

१० परमेश्‍वरका जनहरूमाझ छाएको एकता बलियो बनाउन हामीले गर्न सक्ने एउटा कुरा भनेको नम्रता विकास गर्नु हो। येशूले पृथ्वीमा छँदा आफ्ना चेलाहरूलाई नम्र हुन सल्लाह दिनुभएको थियो। (मत्ती २३:१२) संसारका मानिसहरू आफूलाई अरूभन्दा ठूलो ठान्छन्‌। तर यदि हामी नम्र छौं भने मण्डलीमा नेतृत्व लिइरहेकाहरूको अधीनमा बस्नेछौं। तिनीहरूप्रति आज्ञाकारी हुनु मण्डलीको एकताको लागि निकै महत्त्वपूर्ण छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी नम्र हुँदा यहोवा खुसी हुनुहुन्छ किनभने उहाँ “अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”—१ पत्रु. ५:५.

११. स्मरणार्थ उत्सवमा प्रयोग गरिने प्रतीकहरूको अर्थबारे मनन गर्दा कसरी हाम्रो एकता बलियो हुन्छ?

११ एकता बलियो बनाउन हामीले गर्न सक्ने दोस्रो कुरा भनेको स्मरणार्थमा प्रयोग गरिने प्रतीकहरूको अर्थबारे मनन गर्नु हो। स्मरणार्थ उत्सव आउनुभन्दा अघिका दिनहरूमा अनि अझ विशेषगरि त्यस उत्सवको बेलामा अखमिरे रोटी अनि रातो दाखमद्यको अर्थबारे गहिरिएर मनन गर्नुहोस्‌। (१ कोरि. ११:२३-२५) रोटीले येशूले चढाउनुभएको पापरहित शरीरलाई अनि दाखमद्यले उहाँले बगाउनुभएको रगतलाई चित्रण गर्छ। तर हामीले ती प्रतीकहरूको अर्थ के हो भनेर थाह पाएर मात्र पुग्दैन। येशूले चढाउनुभएको फिरौतीको बलिदानमा यहोवा र येशूको महान्‌ प्रेम समावेश छ भन्‍ने कुरा नबिर्सनुहोस्‌—यहोवाले हाम्रो लागि आफ्नो छोरा दिनुभएर देखाउनुभएको प्रेम अनि येशूले राजीखुसीले हाम्रो लागि आफ्नो जीवन अर्पण गरेर देखाउनुभएको प्रेम। उहाँहरूले देखाउनुभएको प्रेमबारे मनन गर्दा हामी पनि उहाँहरूलाई प्रेम गर्न उत्प्रेरित हुनेछौं। अनि यहोवाप्रतिको प्रेम भनेको हामी र हाम्रा सङ्‌गी उपासकहरूलाई एकआपसमा बाँध्ने अनि हाम्रो एकता अझ बलियो बनाउने बन्धनजस्तै हो।

एक जना भाइ स्मरणार्थ उत्सवमा उपस्थित हुनुअघि आफ्नो भाइलाई क्षमा दिनुपर्ने कुरा महसुस गर्छन्‌

एक-अर्कालाई क्षमा दिंदा हाम्रो एकता खलबलिन पाउँदैन (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

१२. हामीले एक-अर्कालाई क्षमा दिएको यहोवा चाहनुहुन्छ भन्‍ने कुरा येशूले बताउनुभएको राजाको दृष्टान्तबाट कसरी प्रस्ट हुन्छ?

१२ एकता बलियो बनाउन हामीले गर्न सक्ने तेस्रो कुरा भनेको एक-अर्कालाई खुला मनले क्षमा दिनु हो। हाम्रो चित्त दुखाउनेहरूलाई खुला मनले क्षमा दिंदा के देखाइरहेका हुन्छौं? ख्रीष्टले चढाउनुभएको फिरौतीको बलिदानको आधारमा यहोवाले हाम्रा पाप पनि क्षमा गर्नुहुन्छ भन्‍ने कुराप्रति कृतज्ञ भएको देखाइरहेका हुन्छौं। येशूले मत्ती १८:२३-३४ मा बताउनुभएको दृष्टान्त विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘के म येशूले सिकाउनुभएको कुरा लागू गर्न तयार छु? के म सङ्‌गी उपासकहरूप्रति धीरजी छु अनि उनीहरूको कुरा बुझ्छु? कसैले मेरो विरुद्धमा पाप गर्दा के म तिनलाई क्षमा दिन तयार हुन्छु?’ हुन त हो, सबै पाप एकैनासका हुँदैनन्‌। कुनै पाप एकदम गम्भीर प्रकारका हुन्छन्‌। त्यसैले कुनै-कुनै पाप क्षमा दिन त्रुटिपूर्ण मानिसहरूलाई निकै गाह्रो हुन सक्छ। तर हामीले क्षमा दिएको यहोवा चाहनुहुन्छ भन्‍ने कुरा येशूको दृष्टान्तबाट बुझ्न सक्छौं। (मत्ती १८:३५ पढ्‌नुहोस्‌) क्षमा दिने आधार हुँदाहुँदै पनि हामीले आफ्ना भाइबहिनीलाई क्षमा दिएनौं भने यहोवाले पनि हामीलाई क्षमा दिनुहुनेछैन भनेर येशूले प्रस्ट पार्नुभयो। यो हामीले सोच्नै पर्ने कुरा हो। येशूले सिकाउनुभएझैं हामीले अरूलाई खुला मनले क्षमा दिंदा हाम्रो एकता खलबलिन पाउँदैन।

१३. आफू शान्ति कायम गर्ने मानिस हुँ भनेर देखाउँदा हामीले कसरी एकता बलियो बनाइरहेका हुन्छौं?

१३ एक-अर्कालाई क्षमा दिंदा हामीले आफू शान्ति कायम गर्ने मानिस हुँ भनेर देखाइरहेका हुन्छौं। पावलले दिएको यो सल्लाह विचार गर्नुहोस्‌, “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो।” (एफि. ४:३) अरूसित कस्तो व्यवहार गर्ने गर्छु भनेर यस वर्षको स्मरणार्थ उत्सवको अघि-पछिका दिनहरूमा अनि अझ विशेषगरि त्यस साँझमा गहिरिएर मनन गर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍न सोध्नुहोस्‌: ‘म मनमा इबी राख्दिनँ भनेर के मेरो व्यवहारबाट प्रस्टै देखिन्छ? के म शान्ति र एकता कायम गर्न प्रयत्न गर्ने मान्छे भनेर चिनिन्छु?’ हामीले यी प्रश्‍नबारे अहिले स्मरणार्थको समयमा गहिरिएर सोच्नै पर्छ।

१४. हामीले ‘प्रेम देखाउँदै एक-अर्कालाई सहिरहेका’ छौं भनेर कसरी देखाउन सक्छौं?

१४ एकता बलियो बनाउन हामीले गर्न सक्ने चौथो कुरा भनेको प्रेमका परमेश्‍वर यहोवाको अनुकरण गर्दै अरूलाई प्रेम गर्नु हो। (१ यूह. ४:८) हामी कहिल्यै यसो भन्दैनौं, “मैले उसलाई प्रेम गर्नुपर्ने भएकोले प्रेम गर्छु। तर वास्तवमा म उसलाई मन पराउँदिनँ।” त्यसरी सोच्नु भनेको पावलले ‘प्रेम देखाउँदै एक-अर्कालाई सहिरहो’ भनेर दिएको सल्लाहविपरीत चल्नु हो। (एफि. ४:२) याद गर्नुहोस्‌, तिनले ‘एक-अर्कालाई सह’ मात्र भनेनन्‌, बरु ‘प्रेम देखाउँदै सह’ भने। सहनु र ‘प्रेम देखाउँदै सहनुबीच’ भिन्‍नता छ। हाम्रा मण्डलीहरूमा यहोवाले आफूतिर खिच्नुभएका विभिन्‍न किसिमका व्यक्‍तिहरू छन्‌। (यूह. ६:४४) यहोवाले तिनीहरूलाई आफूतिर खिच्नुको मतलब तिनीहरूमा पक्कै केही राम्रा कुरा छन्‌ र उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ। यहोवाले प्रेम गर्नुहुने व्यक्‍ति के हाम्रो प्रेम पाउन चाहिं योग्य छैन होला र? यहोवाले आज्ञा गर्नुभएजस्तै आफ्ना भाइबहिनीलाई प्रेम गर्न हामी कन्जुस्याइँ नगरौं!—१ यूह. ४:२०, २१.

अन्तिम स्मरणार्थ उत्सव—कहिले?

१५. कुनै वर्ष स्मरणार्थ उत्सव अन्तिम पटकको लागि मनाइनेछ भनेर किन भन्‍न सक्छौं?

१५ हामीले अन्तिम पटक स्मरणार्थ उत्सव मनाउने वर्ष पनि आउनेछ। हामी किन त्यसो भन्‍न सक्छौं? हरेक वर्ष येशूको मृत्युको सम्झना गर्दा अभिषिक्‍त ख्रीष्टियनहरूले ‘प्रभु नआउन्जेल उहाँको मृत्युको घोषणा गरिरहेका हुन्छन्‌’ भनेर पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई लेखेको पहिलो पत्रमा बताए। (१ कोरि. ११:२६) येशूले यस युगको आखिरी समयबारे भविष्यवाणी गर्नुहुँदा आफू ‘आउने’ कुरा बताउनुभएको थियो। पावलले बताएको ‘प्रभु आउने’ र येशूले बताउनुभएको ‘आउने’ कुराले एउटै घटनालाई बुझाउँछ। अब छिट्टै सुरु हुन लागेको महासङ्‌कष्टबारे येशूले यसो भन्‍नुभयो: “मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌ अनि तिनीहरूले मानिसको छोरालाई शक्‍ति र ठूलो गौरवसहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्‌। अनि उसले आफ्ना स्वर्गदूतहरूलाई बिगुलको ठूलो आवाजसहित पठाउनेछ र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई तिनीहरूले आकाशको एउटा कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट जम्मा गर्नेछन्‌।” (मत्ती २४:२९-३१) ‘परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई जम्मा गर्नुको’ अर्थ पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिनु हो। यो महासङ्‌कष्ट सुरु भइसकेपछि तर आरमागेडोनको युद्धअघि हुनेछ। तब १,४४,००० अभिषिक्‍त जन सबैले येशूसित मिलेर पृथ्वीका राजाहरूलाई परास्त गर्नेछन्‌। (प्रका. १७:१२-१४) यसरी बाँकी अभिषिक्‍त जनहरूलाई स्वर्गमा जम्मा गरिनुभन्दा अघि मनाइने स्मरणार्थ उत्सव नै अन्तिम हुनेछ किनभने येशू ‘आइसक्नुभएको’ हुनेछ।

१६. यस वर्षको स्मरणार्थ उत्सवमा उपस्थित हुन तपाईं किन कटिबद्ध हुनुहुन्छ?

१६ सन्‌ २०१८ मार्च ३१ मा हुने स्मरणार्थ उत्सवमा उपस्थित हुन हामी कटिबद्ध होऔं। अनि परमेश्‍वरका जनमाझ छाएको एकतालाई अझ बलियो बनाउन सकौं भनेर उहाँसित मदत मागिरहौं। (भजन १३३:१ पढ्‌नुहोस्‌) कुनै वर्ष स्मरणार्थ उत्सव अन्तिम पटकको लागि मनाइनेछ भनेर नबिर्सनुहोस्‌। त्यतिन्जेल, स्मरणार्थ उत्सवमा उपस्थित हुन सक्दो गरिरहौं अनि त्यस्तो अवसरमा हामीले अनुभव गर्ने विशेष एकताको कदर गरिरहौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने