प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 फेब्रुअरी pp. २३-२७
  • आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूलाई जाँच्ने
  • आध्यात्मिकता विकास गर्ने
  • दैनिक जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्ने
  • आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • साँचो आध्यात्मिकता कसरी प्राप्त गर्न सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आध्यात्मिकताको खोजीमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 फेब्रुअरी pp. २३-२७
एक जना मानिस बाइबल अध्ययन गर्छन्‌, प्रार्थना गर्छन्‌ अनि प्रचारकार्यमा भाग लिन्छन्‌

आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!

“पवित्र शक्‍तिको भरमा हिंडिरहो।”—गला. ५:१६.

गीत: २२, ७५

के तपाईँ बुझाउन सक्नुहुन्छ?

  • हामी आफ्नो आध्यात्मिक अवस्था कसरी जाँच्न सक्छौँ?

  • आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌न हामीले के गर्नुपर्छ?

  • ख्रीष्टको जस्तै सोचाइ राख्दा त्यसले हाम्रो दैनिक जीवनमा कस्तो असर गर्छ?

१, २. एक जना भाइले आफ्नो आध्यात्मिक अवस्थाबारे के थाह पाए अनि तिनले के गरे?

रोबर्टले किशोरावस्थामै बप्तिस्मा गरेका थिए। तर सत्य तिनको मनसम्म पुगेको भने थिएन। तिनी भन्छन्‌: “हुनत मैले कहिल्यै गलत कामहरू गरिनँ। तर तनमन लगाएर यहोवाको सेवा गरिरहेको पनि थिइनँ। म आध्यात्मिक रूपमा बलियै देखिन्थेँ। सभामा नियमित रूपमा उपस्थित हुन्थेँ अनि कुनै-कुनै महिना सहायक अग्रगामी सेवा पनि गर्थेँ। तर जीवनमा अझै केही कुराको कमी भइरहेको थियो।”

२ जीवनमा के कुराको कमी भइरहेको थियो भनेर रोबर्टले विवाह गरेपछि मात्र थाह पाए। कहिलेकाहीँ तिनी र तिनकी श्रीमती एकअर्कालाई बाइबलका प्रश्‍नहरू सोध्ने खेल खेल्थे। तिनकी श्रीमती आध्यात्मिक रूपमा बलियो थिइन्‌, त्यसैले प्रश्‍नहरूको जवाफ दिन उनलाई खासै गाह्रो भएन। तर रोबर्टचाहिँ धेरैजसो प्रश्‍नको जवाफ थाह नभएकोले गर्दा साह्रै लाजमा पर्थे। रोबर्ट भन्छन्‌: “मलाई त केही पनि थाह रहेनछ जस्तो लाग्न थाल्यो। मैले मनमनै सोचेँ, ‘आध्यात्मिक तवरमा पनि परिवारको शिर हुने हो भने मैले केही त गर्नै पर्छ।’” अनि रोबर्टले ठोस कदम चाले। तिनी भन्छन्‌: “मैले गहिरिएर बाइबल अध्ययन गर्न थालेँ। बाइबलका कुराहरू एकअर्कासित कसरी सम्बन्धित छन्‌ भनेर बिस्तारै बुझ्न थालेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवासितको मेरो सम्बन्ध झन्‌झन्‌ बलियो हुँदै गयो।”

३. (क) रोबर्टको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) हामी यस लेखमा के छलफल गर्नेछौँ?

३ रोबर्टको अनुभवबाट हामी महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। हामीसित बाइबलको केही ज्ञान होला अनि सभामा नियमित रूपमा उपस्थित पनि हुन्छौँ होला। तर त्यति गर्दैमा हामी आध्यात्मिक व्यक्‍ति हुन्छौँ भन्‍ने छैन। अथवा हामीले केही हदसम्म प्रगति गरेका छौँ होला, तर आफूलाई राम्ररी जाँच्दा आफ्नो आध्यात्मिकतालाई बलियो बनाउनुपर्ने केही कुरा भेट्टाउँछौँ होला। (फिलि. ३:१६) आध्यात्मिक रूपमा अघि बढिरहन हामीलाई मदत गर्ने यी तीन प्रश्‍नबारे हामी छलफल गर्नेछौँ: (१) आफ्नो आध्यात्मिक अवस्था कस्तो छ भनेर हामी कसरी जाँच्न सक्छौँ? (२) हामी कसरी आध्यात्मिकता विकास गर्न सक्छौँ र आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढिरहन सक्छौँ? (३) आध्यात्मिक रूपमा बलियो हुँदा हाम्रो दैनिक जीवनमा कस्ता फाइदाहरू हुन्छन्‌?

आफूलाई जाँच्ने

४. एफिसी ४:२३, २४ मा पाइने सल्लाह कसलाई लागू हुन्छ?

४ यहोवाको सेवा गर्न थालेपछि हामीले जीवनका हर क्षेत्रमा परिवर्तनहरू गऱ्‍यौँ। त्यस्तो परिवर्तन हामीले बप्तिस्मापछि पनि गरिरहनुपर्ने हुन्छ। हामीले आफ्नो “दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गर्नुपर्छ” भनेर बाइबल बताउँछ। यहाँ “गर्नुपर्छ” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “गरिरहनुपर्छ” भन्‍ने अर्थ दिन्छ। त्यसैले हामीले आफ्नो दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गरिरहनुपर्छ। (एफि. ४:२३, २४) हामी कोही पनि त्रुटिरहित छैनौँ। त्यसैले हामी सबैले परिवर्तन गरिरहनुपर्छ। लामो समयदेखि यहोवाको सेवा गरिरहेकाहरूले समेत आफ्नो आध्यात्मिकतालाई बलियो बनाइराख्नुपर्छ।—फिलि. ३:१२, १३.

५. आफ्नो आध्यात्मिक अवस्था जाँच्न हामी कस्ता प्रश्‍न सोध्न सक्छौँ?

५ आध्यात्मिकता विकास गर्न अनि त्यसलाई कायम राख्न हामीले इमानदार भई आफूलाई जाँच्नु आवश्‍यक छ। जवान होऔँ या वृद्ध, हामी सबैले आफूलाई यस्ता प्रश्‍न सोध्न सक्छौँ: ‘म आध्यात्मिक झुकाव राख्ने व्यक्‍ति बन्दै छु भनेर देखिने परिवर्तनहरू के मेरो जीवनमा भइरहेका छन्‌? के मेरो व्यक्‍तित्व ख्रीष्टको जस्तै हुँदै छ? के सभामा मैले भाइबहिनीसित गर्ने व्यवहार अनि मेरो मनोवृत्तिले म आध्यात्मिक व्यक्‍ति हुँ भनेर प्रकट गर्छ? मेरा चाहनाहरूबारे मेरो कुराकानीले के देखाउँछ? मेरो अध्ययन गर्ने बानीले, पहिरन र कोरीबाटीले अनि सल्लाह पाउँदा मैले देखाउने प्रतिक्रियाले के प्रकट गर्छ? गलत काम गर्ने प्रलोभन आइपर्दा म के गर्छु? के म परिपक्व ख्रीष्टियन बन्दै छु?’ (एफि. ४:१३) यी प्रश्‍नहरूको जवाफले हामीलाई आफ्नो आध्यात्मिक प्रगति जाँच्न मदत गर्नेछ।

६. आफ्नो आध्यात्मिक अवस्था जाँच्न अरू के गर्न सक्छौँ?

६ आफ्नो आध्यात्मिक अवस्था जाँच्न हामीलाई बेला-बेलामा अरूको मदत पनि आवश्‍यक पर्छ। सांसारिक झुकाव भएको मानिसले आफूले परमेश्‍वरको स्तरअनुरूप जीवन बिताइरहेको छैनँ भन्‍ने कुरा बुझेको हुँदैन भनेर प्रेषित पावलले बताए। अर्कोतर्फ, आध्यात्मिक व्यक्‍तिले यहोवाको दृष्टिकोण राम्ररी बुझेको हुन्छ अनि सांसारिक झुकाव राख्ने व्यक्‍तिको तौरतरिका गलत हो भनेर पनि बुझेको हुन्छ। (१ कोरि. २:१४-१६; ३:१-३) ख्रीष्टको जस्तै सोचाइ राख्ने एल्डरहरूले भाइबहिनीले सांसारिक झुकाव देखाउन थालेको चाँडै याद गर्छन्‌ र उनीहरूलाई मदत दिन खोज्छन्‌। एल्डरहरूले हामीलाई मदत गर्न खोज्दा के हामी तिनीहरूको सल्लाह स्विकार्छौँ अनि आवश्‍यक छाँटकाँट गर्छौँ? त्यसो गऱ्‍यौँ भने हामीले आफ्नो आध्यात्मिकता विकास गर्न चाहेको देखाइरहेका हुन्छौँ।—उप. ७:५, ९.

आध्यात्मिकता विकास गर्ने

७. आध्यात्मिक व्यक्‍ति बन्‍न बाइबलको ज्ञान हासिल गरेर मात्र पुग्दैन, किन?

७ आध्यात्मिक व्यक्‍ति बन्‍न बाइबलको ज्ञान हासिल गरेर मात्र पुग्दैन भन्‍ने कुरा मनमा राख्नुहोस्‌। पुरातन समयका राजा सुलेमानसित यहोवाका स्तरहरूबारे राम्रो ज्ञान थियो। तिनले भनेका कुराहरू बाइबलमा रेकर्ड गरिएका छन्‌। तर जीवनको अन्ततिर तिनी यहोवाप्रति वफादार रहनदेखि चुके; तिनी आध्यात्मिक रूपमा बलियो भइरहेनन्‌। (१ राजा ४:२९, ३०; ११:४-६) त्यसोभए बाइबलको ज्ञान हासिल गर्नुका साथै हामीले अरू के गर्नुपर्छ? हामी आध्यात्मिक रूपमा प्रगति गरिरहनुपर्छ। (कल. २:६, ७) हामी कसरी त्यसो गर्न सक्छौँ?

८, ९. (क) आध्यात्मिक रूपमा बलियो भइरहन हामीलाई केले मदत गर्छ? (ख) अध्ययन र मनन गर्नुको उद्देश्‍य के हुनुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

८ पावलले प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई ‘परिपक्वतातर्फ अघि बढ्‌न’ आग्रह गरे। (हिब्रू ६:१) आज हामी कसरी पावलको सल्लाह लागू गर्न सक्छौँ? हामीले गर्न सक्ने एउटा महत्त्वपूर्ण कुरा भनेको “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” भन्‍ने किताब अध्ययन गर्नु हो। यो किताब पूरै अध्ययन गरिसकेपछि तपाईँले बाइबलका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्न मदत पाउनुहुनेछ। तपाईँले यो किताब अध्ययन गरिसक्नुभएको छ भने आफ्नो विश्‍वासलाई अटल बनाउन मदत गर्ने अरू प्रकाशनहरू अध्ययन गर्न सक्नुहुन्छ कि? (कल. १:२३) आफूले सिकिरहेको कुरा जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर के तपाईँ प्रार्थनापूर्वक मनन गर्नुहुन्छ?

९ यो कुरा नबिर्सौँ, हामीले अध्ययन र मनन गर्नुको उद्देश्‍य यहोवालाई खुसी बनाउन र उहाँका आज्ञाहरू पालन गर्न गहिरो इच्छा जगाउने हुनुपर्छ। (भज. ४०:८; ११९:९७) साथै, हामीले आफ्नो आध्यात्मिक प्रगतिमा बाधा पुऱ्‍याउने कुराहरूलाई त्याग्ने प्रयास पनि गर्नुपर्छ।—ती. २:११, १२.

१०. आध्यात्मिकता विकास गर्न युवायुवतीले के गर्न सक्छन्‌?

१० युवायुवती हो, के तपाईँले आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ? बेथेलमा सेवा गर्ने एक भाइले सम्मेलनहरूमा जाँदा बप्तिस्मा गर्न लागेका व्यक्‍तिहरूसित कार्यक्रम सुरु हुनुअघि भेटेर कुराकानी गर्ने बानी बसालेका छन्‌। तिनीहरूमध्ये थुप्रै युवायुवती हुन्छन्‌। ती भाइ उनीहरूले कस्तो आध्यात्मिक लक्ष्य राखेका छन्‌ भनेर सोध्ने गर्छन्‌। धेरैले यहोवाको सेवा गर्न केही खास लक्ष्य राखेको कुरा बताउँछन्‌। जस्तै: पूर्ण समय सेवाको कुनै पक्षमा भाग लिने वा राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न जाने। तर कहिलेकाहीँ कोही-कोही युवायुवती भने अलमल्लमा पर्छन्‌। तिनीहरूले आध्यात्मिक लक्ष्य राख्नुपर्ने आवश्‍यकता महसुस नै नगरेकोले गर्दा त्यसो भएको हो कि? तपाईँ युवावस्थामा हुनुहुन्छ भने आफैलाई यस्ता प्रश्‍न सोध्न सक्नुहुन्छ: ‘के म आमाबुबालाई रिझाउन मात्र आध्यात्मिक गतिविधिमा भाग लिइरहेको छु? के म यहोवासित व्यक्‍तिगत सम्बन्ध विकास गरेर उहाँसित नजिक हुँदै छु?’ तर आध्यात्मिक लक्ष्य राख्न दिइएको सल्लाह युवायुवतीलाई मात्र लागू हुने होइन। आध्यात्मिक लक्ष्यहरू राख्दा यहोवाका सेवकहरू सबैले आफ्नो आध्यात्मिकतालाई बलियो बनाउन सक्नेछन्‌।—उप. १२:१, १३.

११. (क) आध्यात्मिक रूपमा प्रगति गर्न हामीले के गर्नुपर्छ? (ख) हामी कुन बाइबल पात्रको अनुकरण गर्न सक्छौँ?

११ आफूले कुन-कुन क्षेत्रमा प्रगति गर्नुपर्छ भनेर पत्ता लगाइसकेपछि हामीले ठोस कदम चालेर अघि बढ्‌नुपर्छ। आध्यात्मिक व्यक्‍ति बन्‍नु एकदम महत्त्वपूर्ण छ। यसमा हाम्रो जीवन र मरणको सवाल छ। (रोमी ८:६-८) तर आध्यात्मिक रूपमा परिपक्व व्यक्‍ति हुनु भनेको त्रुटिरहित व्यक्‍ति बन्‍नु चाहिँ होइन। यहोवाको पवित्र शक्‍तिले हामीलाई आवश्‍यक प्रगति गर्न मदत गर्नेछ। तर हामीले प्रयास भने गर्नै पर्छ। लूका १३:२४ मा टिप्पणी गर्दै परिचालक निकायमा सेवा गर्नुभएका भाइ जोन बारले एक पटक यसो भन्‍नुभएको थियो, ‘धेरै जना साँघुरो ढोकाबाट भित्र पस्न असफल हुन्छन्‌किनकि तिनीहरू बलिया हुन पर्याप्त परिश्रम गर्दैनन्‌।’ हामी याकूबजस्तै हुनुपर्छ, जसले आशिष्‌ नपाएसम्म स्वर्गदूतसित लडिरहे। (उत्प. ३२:२६-२८) हुनत बाइबल अध्ययन रमाइलो हुन सक्छ, तर रमाइलोको लागि मात्र उपन्यास पढेजस्तो गरी बाइबल पढ्‌नु हुँदैन। हामीले आफ्नो लागि उपयोगी हुने अनमोल सत्यहरू पत्ता लगाउन प्रयास गरिरहनुपर्छ।

आध्यात्मिकता विकास गर्न तपाईँले चाल्न सक्ने कदमहरू

  • लगनशील भई परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌ अनि पढेको कुरा मनन गर्नुहोस्‌

  • आफूले सिकेको कुरा लागू गरिहाल्नुहोस्‌

  • यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ स्विकार्नुहोस्‌

  • अरूको मदत स्विकार्नुहोस्‌ अनि त्यस्तो मदतको कदर गर्नुहोस्‌

१२, १३. (क) रोमी १५:५ लागू गर्न हामीलाई केले मदत गर्छ? (ख) प्रेषित पत्रुसको उदाहरण र तिनको सल्लाहले हामीलाई कसरी मदत गर्छ? (ग) आध्यात्मिकता विकास गर्न तपाईँ के गर्न सक्नुहुन्छ? (“आध्यात्मिकता विकास गर्न तपाईँले चाल्न सक्ने कदमहरू” भन्‍ने पेटी हेर्नुहोस्‌)

१२ हामीले आध्यात्मिकता विकास गर्न प्रयास गऱ्‍यौँ भने पवित्र शक्‍तिले बिस्तारै हाम्रो सोच्ने तरिका परिवर्तन गर्न मदत गर्नेछ। पवित्र शक्‍तिको मदत पाएर हामी बिस्तारै येशूले जस्तै सोच्न थाल्नेछौँ। (रोमी १५:५) साथै हामी आफूमा भएका शारीरिक कुइच्छाहरू हटाउन अनि परमेश्‍वरलाई मन पर्ने गुणहरू विकास गर्न पनि मदत पाउनेछौँ। (गला. ५:१६, २२, २३) हाम्रो दिमागले हामीलाई भौतिक कुराहरू वा शारीरिक कुइच्छाहरूबारे सोच्न लगाउँछ भने पनि हामीले हार मान्‍नु पर्दैन। यहोवासित पवित्र शक्‍ति मागिरहनुहोस्‌ अनि उहाँले तपाईँलाई आफ्नो सोचाइ परिवर्तन गर्न र सही कुरामा ध्यान केन्द्रित गर्न मदत दिनुहुनेछ। (लूका ११:१३) प्रेषित पत्रुसलाई सम्झनुहोस्‌। तिनी आध्यात्मिक व्यक्‍तिले जसरी व्यवहार गर्नदेखि थुप्रै पटक चुके। (मत्ती १६:२२, २३; लूका २२:३४, ५४-६२; गला. २:११-१४) तर तिनले हार मानेनन्‌। यहोवाको मदत पाएर तिनले बिस्तारै ख्रीष्टको जस्तै सोचाइ विकास गर्न सके। हामी पनि त्यसै गर्न सक्छौँ।

१३ पछि पत्रुसले हामीले विकास गर्न सक्ने खास गुणहरूबारे बताए। (२ पत्रुस १:५-८ पढ्‌नुहोस्‌) आत्मसंयम, सहनशीलता अनि भ्रातृस्नेहजस्ता गुणहरू विकास गर्न “भरमग्दुर प्रयत्न” गर्दा हामी आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌न मदत पाउनेछौँ। प्रत्येक दिन आफूलाई यो प्रश्‍न सोधे कसो होला, ‘आफ्नो आध्यात्मिकता बलियो बनाउन आज म कुन गुण विकास गर्न सक्छु?’

दैनिक जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्ने

१४. आध्यात्मिक व्यक्‍ति हुँदा त्यसले हाम्रो जीवनमा कस्तो असर गर्छ?

१४ ख्रीष्टको सोचाइ विकास गरेका छौँ भने त्यसले काम गर्ने ठाउँ वा स्कुलमा हाम्रो बोली, व्यवहार अनि हामीले हरेक दिन गर्ने निर्णयहरूमा असर गर्नेछ। त्यस्ता निर्णयहरूले हामी ख्रीष्टको अनुकरण गर्न प्रयास गर्दै छौँ भनेर प्रकट गर्नेछ। हामी आध्यात्मिक व्यक्‍ति भएकोले कुनै पनि कुराले गर्दा यहोवासितको आफ्नो सम्बन्धलाई बिगार्न चाहँदैनौँ। ख्रीष्टको जस्तै सोचाइ राखेका छौँ भने हामी गलत काम गर्ने प्रलोभनहरू आइपर्दा त्यस्ता कुराहरूदेखि अलग रहनेछौँ। कुनै निर्णय गर्नुअघि हामी एकछिन रोकिएर यस्ता प्रश्‍नहरू विचार गर्नेछौँ: ‘यसबारे निर्णय गर्न मलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ? मेरो ठाउँमा ख्रीष्ट हुनुभएको भए उहाँले के गर्नुहुने थियो? कस्ता निर्णयले यहोवालाई खुसी बनाउँछ?’ यसरी सोच्न हामीले आफूलाई तालिम दिनुपर्छ। त्यसैले आउनुहोस्‌, केही परिस्थिति विचार गरौँ। प्रत्येक परिस्थितिबारे छलफल गर्दा हामी सही निर्णय गर्न मदत दिने बाइबलका सिद्धान्तहरू पनि केलाउनेछौँ।

१५, १६. ख्रीष्टको जस्तै सोचाइ राख्दा त्यसले निम्न परिस्थितिमा हामीलाई कसरी मदत दिन्छ: (क) जीवनसाथी छान्दा? (ख) साथीसङ्‌गत छान्दा?

१५ जीवनसाथी छान्दा। यस सन्दर्भमा हामीले विचार गर्नुपर्ने बाइबल सिद्धान्त २ कोरिन्थी ६:१४, १५ मा पाउँछौँ। (पढ्‌नुहोस्‌) आध्यात्मिक झुकाव राख्ने व्यक्‍तिको दृष्टिकोण र सांसारिक झुकाव राख्ने व्यक्‍तिको दृष्टिकोण फरक हुन्छ भनेर पावलका शब्दहरूले स्पष्ट पार्छ। यो कुरा जीवनसाथी छान्‍ने सन्दर्भमा कसरी लागू गर्न सक्छौँ?

१६ साथीसङ्‌गत छान्दा। यस सन्दर्भमा हामीले विचार गर्नुपर्ने बाइबल सिद्धान्त १ कोरिन्थी १५:३३ मा पाउँछौँ। (पढ्‌नुहोस्‌) आध्यात्मिक झुकाव राख्ने व्यक्‍तिले आफ्नो विश्‍वास कमजोर बनाउन सक्नेहरूसित सङ्‌गत गर्नेछैनन्‌। यो सिद्धान्त कसरी लागू गर्न सकिन्छ भनेर सोच्न तपाईँ आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ? जस्तै: सामाजिक सञ्जाल प्रयोग गर्नेबारे निर्णय गर्नुपर्दा म यो सिद्धान्त कसरी लागू गर्न सक्छु? अपरिचित व्यक्‍तिले अनलाइन गेम खेल्न प्रस्ताव राख्दा मैले के गर्नुपर्छ?

एक भाइ आफ्नो इलेक्ट्रोनिक साधनमा अनुचित कार्यक्रम हेर्छन्‌; एक भाइ JW ब्रोडकास्टिङको कार्यक्रम हेर्छन्‌

के मेरा निर्णयहरूले मलाई आध्यात्मिक प्रगति गर्न मदत गर्छ?(अनुच्छेद १७ हेर्नुहोस्‌)

१७-१९. आध्यात्मिक झुकाव राख्दा त्यसले हामीलाई निम्न क्षेत्रहरूमा कसरी मदत गर्छ: (क) आध्यात्मिक प्रगतिमा बाधा पुऱ्‍याउने गतिविधि तिरस्कार गर्न? (ख) आध्यात्मिक लक्ष्य राख्न? (ग) मतभेद सुल्झाउन?

१७ हाम्रो आध्यात्मिक प्रगतिमा बाधा पुऱ्‍याउने गतिविधिहरू। यस सन्दर्भमा पावलले ख्रीष्टियनहरूलाई चेतावनी दिएका छन्‌। (हिब्रू ६:१ पढ्‌नुहोस्‌) हामी अलग रहनुपर्ने “व्यर्थ कामहरू” के-के हुन्‌? हामीलाई आध्यात्मिक रूपमा बलियो हुन मदत नदिने सबै कुरा “व्यर्थ कामहरू” हुन्‌। यो सिद्धान्त विचार गर्दै हामी जीवनमा आइपर्ने विभिन्‍न परिस्थितिमा सही निर्णय गर्न यस्ता प्रश्‍न सोध्न सक्छौँ: ‘के यो गतिविधिमा भाग लिँदा म शरीरका कामहरूमा लागिरहेको हुन्छु? धेरै पैसा आउने यो काममा हात हालूँ कि नहालूँ? समाज-सुधार अभियानहरूमा मैले किन भाग लिनु हुँदैन?’

एक भाइ आफ्नो करिअर बनाउनेबारे सोच्छन्‌; एक भाइ पूर्ण-समय प्रचार गर्नेबारे सोच्छन्‌

के मेरा निर्णयहरूले मलाई आध्यात्मिक लक्ष्यहरू राख्न मदत गर्छ?(अनुच्छेद १८ हेर्नुहोस्‌)

१८ आध्यात्मिक लक्ष्यहरू। येशूले डाँडाको उपदेशमा दिनुभएको सल्लाहले हामीलाई आध्यात्मिक लक्ष्य राख्न भरपर्दो डोऱ्‍याइ दिन्छ। (मत्ती ६:३३) आध्यात्मिक झुकाव भएको व्यक्‍तिले आध्यात्मिकता बलियो बनाउने लक्ष्यहरू राख्छ। येशूले दिनुभएको यो सिद्धान्त मनमा राख्दा हामीलाई यस्ता प्रश्‍नको जवाफ दिन सजिलो हुनेछ: ‘के म उच्च शिक्षा लिऊँ? के म यो जागिर स्विकारूँ?’

एक जना भाइ अर्को भाइसित भनाभन गर्छन्‌; एक जना भाइ अर्को भाइसित शान्ति कायम गर्छन्‌

के मेरा निर्णयहरूले मलाई “शान्ति कायम” गर्ने मानिस बन्‍न मदत गर्छ? (अनुच्छेद १९ हेर्नुहोस्‌)

१९ मतभेद हुँदा। पावलले रोमका ख्रीष्टियनहरूलाई दिएको सल्लाहले मतभेदहरू सुल्झाउन कसरी मदत गर्छ? (रोमी १२:१८) येशूको चेला भएकोले हामी “सबै मानिससित शान्तिसित बस्न” सक्दो कोसिस गर्छौँ। मतभेद हुँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ? के अरूको धारणा स्विकार्न हामीलाई गाह्रो लाग्छ? अथवा के हामी “शान्ति कायम” गर्ने मानिस भनेर चिनिन्छौँ?—याकू. ३:१८.

२०. तपाईँ किन आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌न चाहनुहुन्छ?

२० बाइबलका सिद्धान्तहरू लागू गर्दा कसरी आध्यात्मिक व्यक्‍तिले जस्तै सही निर्णय गर्न सक्छौँ भनेर देखाउने केही उदाहरण हामीले चर्चा गऱ्‍यौँ। आध्यात्मिक झुकाव राख्दा हाम्रो दैनिक जीवन अझ आनन्दमय अनि सन्तोषजनक हुनेछ। यस लेखको सुरुमा चर्चा गरिएका रोबर्ट यसो भन्छन्‌: “यहोवासित घनिष्ठ सम्बन्ध गाँसेपछि म अझ राम्रो पति अनि बुबा हुन सकेँ। म अझ आनन्दित अनि सन्तुष्ट भएँ।” आध्यात्मिक प्रगति गर्न सक्दो गऱ्‍यौँ भने हामीले पनि यस्तै आशिष्‌ पाउनेछौँ। आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌दा हामीले अहिले सन्तोषजनक जीवन बिताउन सक्नेछौँ र भविष्यमा “साँच्चैको जीवन” पाउनेछौँ।—१ तिमो. ६:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने