प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 मे पृ. २७-३१
  • युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “सत्यले आफ्नो कम्मर कसेर”
  • “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच लगाएर”
  • “शान्तिको सुसमाचारको जुत्ता लगाएर”
  • ‘विश्‍वासको ठूलो ढाल लिएर’
  • ‘मुक्‍तिको टोप लगाएर’
  • ‘पवित्र शक्‍तिको तरबार अर्थात्‌ परमेश्‍वरको वचन भिरेर’
  • यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “परमेश्‍वरको सारा हात-हतियार धारण गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ५. हामी कसरी संसारबाट अलग रहन सक्छौँ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 मे पृ. २७-३१
सम्पूर्ण हातहतियार भिरेको एक जना रोमी सिपाही

युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्‌

“परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर, ताकि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा हुन सकोस्‌।”—एफि. ६:११.

गीत: ७९, १४०

हामीले के सिक्यौँ?

  • आध्यात्मिक हातहतियारहरू के-के हुन्‌?

  • हामीले प्रत्येक हतियार धारण गर्नु किन महत्त्वपूर्ण छ?

  • जवान ख्रीष्टियनहरूले बसालेको उदाहरण तपाईँलाई कस्तो लाग्छ?

१, २. (क) जवान ख्रीष्टियनहरूले दुष्ट स्वर्गदूतहरूलाई जित्न सक्नुको कारण के हो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) हामी कुन कुरा विचार गर्नेछौँ?

प्रेषित पावलले ख्रीष्टियनहरूलाई सिपाहीहरूसित तुलना गरे। ख्रीष्टियनहरू शत्रुसित आमनेसामने लड्‌ने सिपाहीहरूजस्तै हुन्‌ भनेर तिनले बताए। हुनत हामीले लड्‌ने युद्ध रणभूमिमा लडिने युद्ध नभई आध्यात्मिक युद्ध हो। तर हाम्रा शत्रुहरू काल्पनिक होइनन्‌, वास्तविक हुन्‌। सैतान र त्यसका प्रेतहरू हजारौँ वर्षदेखि युद्ध लड्‌दै आएका खुँखार योद्धाहरू हुन्‌। झट्ट हेर्दा हामी यो लडाइँ जित्न सक्दैनौँ जस्तो लाग्न सक्छ। अनि जवान ख्रीष्टियनहरू झनै खतरामा छन्‌ जस्तो देखिन्छ। ती शक्‍तिशाली दुष्ट स्वर्गदूतहरूलाई के युवाहरूले जित्न सक्छन्‌? हो, सक्छन्‌। अनि जितिरहेका पनि छन्‌! कसरी? ‘प्रभुको चेलाको नाताले परमेश्‍वरबाट तागत हासिल गरेर।’ तर परमेश्‍वरबाट तागत हासिल गर्नुको अलावा तिनीहरू अर्को एउटा काम पनि गर्छन्‌। तालिमप्राप्त सिपाहीजस्तै तिनीहरू “परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण” गरेर युद्ध गर्न तयार रहन्छन्‌।—एफिसी ६:१०-१२ पढ्‌नुहोस्‌।

२ पावलले ख्रीष्टियनहरूलाई सिपाहीहरूसित तुलना गर्दा तिनले रोमी सिपाहीले धारण गर्ने विभिन्‍न हातहतियारबारे विचार गरेको हुनुपर्छ। (प्रेषि. २८:१६) यसरी तुलना गर्नु किन एकदमै सुहाउँदो छ, विचार गरौँ। साथै, यी विभिन्‍न आध्यात्मिक हातहतियार धारण गर्नु कत्तिको गाह्रो छ अनि त्यसो गर्दा कस्ता फाइदाहरू हुन्छन्‌, त्यसबारे युवाहरूको धारणा पनि बुझ्नेछौँ।

एउटी जवान ख्रीष्टियन बहिनीलाई प्रत्येक आध्यात्मिक हतियार चाहिन्छ

के तपाईँले सम्पूर्ण हातहतियार धारण गर्नुभएको छ?

“सत्यले आफ्नो कम्मर कसेर”

३, ४. बाइबलमा पाइने सत्य कुरा कुन अर्थमा रोमी सिपाहीको पेटीजस्तै छ?

३ एफिसी ६:१४ पढ्‌नुहोस्‌। रोमी सिपाहीको पेटीमा फलामको पाता जोडिएको हुन्थ्यो र त्यसले सिपाहीको कम्मरलाई जोगाउँथ्यो। साथै, त्यसले तिनको कम्मरभन्दा माथिको कवचको भार थाम्न पनि मदत गर्थ्यो। कुनै-कुनै पेटीमा तरबार र छुरा झुन्ड्याउन मिल्ने बलियो घर पनि हुन्थ्यो। कम्मरमा बलियोगरि पेटी कसेको सिपाही ढुक्क भएर युद्ध लडिरहन सक्थ्यो।

४ त्यसैगरि, परमेश्‍वरको वचनबाट सिकेको सत्य कुराले हामीलाई झूटा शिक्षाहरूले पुऱ्‍याउने आध्यात्मिक हानिबाट जोगाउँछ। (यूह. ८:३१, ३२; १ यूह. ४:१) अनि हामी परमेश्‍वरले सिकाउनुहुने सत्य कुरालाई जति धेरै प्रेम गर्छौँ, हामीलाई “कवच” लगाउन अर्थात्‌ परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्न त्यति नै सजिलो हुन्छ। (भज. १११:७, ८; १ यूह. ५:३) साथै, परमेश्‍वरको वचनमा पाइने सत्य स्पष्टसित बुझेका छौँ भने कसैले त्यसको विरोध गर्दा हामी ढुक्क भएर सत्यको पक्षमा खडा भइरहन सक्नेछौँ।—१ पत्रु. ३:१५.

५. हामीले किन सधैँ सत्य बोल्नुपर्छ?

५ पेटीले कम्मर कसेजस्तै बाइबलको सत्यले आफूलाई टमक्क कसेका छौँ भने हामी सत्यअनुसार चल्न र सधैँ सत्य बोल्न उत्प्रेरित हुनेछौँ। हामी किन झूट बोल्दैनौँ? किनकि झूटलाई सैतानले एउटा अत्यन्तै प्रभावकारी हतियारको रूपमा चलाउँदै आएको छ। झूटो कुरा बोल्ने र झूटो कुरा सुन्‍ने दुवैलाई हानि पुग्छ। (यूह. ८:४४) त्यसैले त्रुटिपूर्ण भए तापनि हामीले सधैँ सत्य बोल्न हर प्रयास गर्नुपर्छ। (एफि. ४:२५) तर त्यसो गर्न त्यति सजिलो छैन। अठार वर्षकी अबिगेल यसो भन्छिन्‌: “सत्य बोल्नु कहिलेकाहीँ फाइदाजनक नदेखिन सक्छ। झूट बोल्दा सजायबाट जोगिन सकिने अवस्था छ भने त सत्य बोल्न झनै गाह्रो हुन्छ।” तैपनि अबिगेल किन सधैँ सत्य बोल्ने प्रयत्न गर्छिन्‌? तिनी भन्छिन्‌: “सत्य बोल्दा यहोवासामु मेरो अन्तस्करण सफा रहन्छ। अनि मेरो आमाबुबा र मेरा साथीहरूले पनि मलाई अझ भरोसा गर्छन्‌।” तेइस वर्षकी भिक्टोरिया यसो भन्छिन्‌: “तपाईँले सत्य बोल्नुभयो र आफ्नो विश्‍वासको पक्षमा खडा हुनुभयो भने कहिलेकाहीँ अरूले हेप्न पनि सक्छन्‌। तर तपाईँले पाउने फाइदा कता हो कता ठूलो हुन्छ: तपाईँको आत्मविश्‍वास बढ्‌छ, यहोवासितको सम्बन्ध बलियो हुन्छ अनि तपाईँलाई माया गर्नेहरूबाट आदर पनि कमाउनुहुनेछ।” हो, हरसमय ‘सत्यले आफ्नो कम्मर कस्न’ तपाईँले गर्नुहुने प्रयास खेर जानेछैन।

एउटी जवान ख्रीष्टियन बहिनी शिक्षकलाई सृष्टिबारे आफ्नो विश्‍वास व्यक्‍त गर्छिन्‌

सत्यको पेटी (अनुच्छेद ३-५ हेर्नुहोस्‌)

“परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच लगाएर”

६, ७. परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई किन कवचसित तुलना गर्न सकिन्छ?

६ प्रथम शताब्दीमा रोमी सिपाहीले लगाउने एक किसिमको कवच फलामका पाताहरूलाई तेर्सोगरि जोडेर बनाइएको हुन्थ्यो। ती पाताहरूलाई सिपाहीको जीउअनुसार मिल्नेगरि बङ्‌ग्याइएको हुन्थ्यो अनि धातुको किला र खिप प्रयोग गरेर छालाको फित्ताले गाँसिएको हुन्थ्यो। जीउको माथिल्लो भागलाई फलामका अरू पाताहरूले ढाकेको हुन्थ्यो र त्यसलाई छालाले गाँसिएको हुन्थ्यो। यस्तो कवच लगाएको सिपाहीलाई यताउता चलहल गर्न त्यति सजिलो हुँदैनथ्यो। अनि पाताहरू बलियोगरि कसिएका छन्‌ कि छैनन्‌ भनेर घरीघरी हेरिरहनुपर्थ्यो। तर यो कवचले गर्दा सिपाहीको मुटु वा अरू संवेदनशील अङ्‌गहरूलाई धारिलो तरबार अनि तीखो बाणले छेड्‌न पाउँदैनथ्यो।

७ कस्तो उपयुक्‍त उदाहरण! किनकि यहोवाका धार्मिक स्तरहरूले पनि कवचले जस्तै हाम्रो लाक्षणिक हृदयलाई जोगाउँछ। (हितो. ४:२३) कुनै पनि सिपाहीले फलामको कवच फुकालेर कमसल धातुले बनेको अर्कै कवच लगाउँदैनथ्यो। त्यसैगरि हामी पनि सही र गलतसम्बन्धी यहोवाको स्तरलाई बिर्सिएर आफ्नो छुट्टै स्तर तोक्न चाहँदैनौँ। हामीले तोकेको स्तरले हामीलाई चाहिएको सुरक्षा कदापि दिन सक्दैन। (हितो. ३:५, ६) बरु यहोवाले हामीलाई दिनुभएको ‘फलामे पाताहरू’-ले हाम्रो हृदयलाई जोगाएको छ कि छैन भनेर हामी नियमित रूपमा जाँचिरहन्छौँ।

८. यहोवाको स्तर पालन गरिरहनु किन बुद्धिमानी हो?

८ यहोवाका धार्मिक स्तरहरू बोझिला छन्‌ वा त्यसले तपाईँको स्वतन्त्रता खोस्छ जस्तो तपाईँलाई कहिलेकाहीँ लाग्छ कि? एक्काइस वर्षका ड्यानियल भन्छन्‌: “बाइबलको स्तरअनुसार चलेकोले शिक्षकहरू र साथीहरूले मेरो खिल्ली उडाउँथे। केही समयसम्म त म डराएँ अनि निराश पनि भएँ।” तर अहिले तिनलाई कस्तो लाग्छ? “यहोवाको स्तरअनुसार जिउनु नै बुद्धिमानी हो भन्‍ने कुरा पछि मैले बुझेँ। मेरा केही ‘साथीहरू’ लागू पदार्थ सेवन गर्न थाले अनि कतिले चाहिँ पढाइ छोडे। त्यसपछि तिनीहरूको हालत देख्दा मलाई निकै दुःख लाग्यो। तर यहोवाले हामीलाई साँच्चै जोगाउनुहुन्छ भनेर मैले बुझेँ।” पन्ध्र वर्षकी म्याडिसन भन्छिन्‌: “साथीहरूले रमाइलो मानेको कुरालाई छोडेर यहोवाको स्तर पालन गरिरहनु मेरो लागि असाध्यै गाह्रो कुरा हो।” त्यसोभए तिनी के गर्छिन्‌? तिनी भन्छिन्‌: “मैले यहोवाको नाम वहन गरेकी छु अनि सैतानले प्रलोभनहरू ल्याएर मलाई आक्रमण गर्न खोजिरहेको छ भनेर म आफैलाई सम्झाउँछु। कुनै प्रलोभन सामना गर्न सफल हुँदा आफ्नो आत्मसम्मान बढेको महसुस गर्छु।”

एउटी जवान बहिनी साथीहरूले चुरोट तान्‍न दबाब दिंदा त्यसलाई इन्कार गर्छिन्‌

परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच (अनुच्छेद ६-८ हेर्नुहोस्‌)

“शान्तिको सुसमाचारको जुत्ता लगाएर”

९-११. (क) ख्रीष्टियनहरूले कस्तो लाक्षणिक जुत्ता लगाउँछन्‌? (ख) के गऱ्‍यौँ भने सुसमाचार प्रचार गर्न हामीलाई अझै सजिलो लाग्नेछ?

९ एफिसी ६:१५ पढ्‌नुहोस्‌। रोमी सिपाही जुत्ता नलगाई लडाइँमा जान सक्दैनथ्यो। रोमी सिपाहीको जुत्तामा छालाको तीन तह हुन्थ्यो। यसरी बनाइएको जुत्ता एकदम बलियो हुन्थ्यो, जसले गर्दा सिपाहीको खुट्टा चिप्लिँदैनथ्यो। त्यो जुत्ता निकै सजिलो र टिकाउ हुन्थ्यो।

१० रोमी सिपाहीहरू जुत्ता लगाएर रणभूमिमा जान्थे तर ख्रीष्टियनहरूले लगाउने लाक्षणिक जुत्ताले तिनीहरूलाई शान्तिको सन्देश सुनाउन तयार पार्छ। (यशै. ५२:७; रोमी १०:१५) तर मौका पाउनेबित्तिकै कुराकानी थाल्न साहस चाहिन्छ। बीस वर्षका बो भन्छन्‌: “मलाई साथीहरूसित बाइबलको कुरा गर्न डर लाग्थ्यो। अनि लाज पनि लाग्थ्यो। अहिले सोच्दा किन त्यस्तो लाग्या होला जस्तो लाग्छ। अहिले त मलाई साथीहरूसित बाइबलको कुरा गर्न पाउँदा खुसी लाग्छ।”

११ राम्ररी तयारी गर्दा सुसमाचार प्रचार गर्न त्यति अप्ठ्यारो लाग्दैन भनेर थुप्रै युवाहरूले महसुस गरेका छन्‌। तपाईँ पनि कसरी तयार रहन सक्नुहुन्छ? सोह्र वर्षकी जुलिया भन्छिन्‌: “म स्कुलको झोलामा हाम्रा प्रकाशनहरू पनि बोक्ने गर्छु अनि मेरा साथीहरूको सोचाइ कस्तो छ, तिनीहरू के कुरामा विश्‍वास गर्छन्‌ भनेर सुन्‍ने गर्छु। त्यसपछि कुन प्रकाशन दिँदा राम्रो हुन्छ भनेर विचार गर्छु। तयारी गरेर जाँदा तिनीहरूलाई मदत पुग्ने खास विषयबारे कुरा गर्न मलाई सजिलो हुन्छ।” तेइस वर्षकी म्याकेन्जी भन्छिन्‌: “यदि साथीहरूप्रति दयालु भयौँ अनि ध्यान दिएर उनीहरूको कुरा सुन्यौँ भने उनीहरूले कस्तो समस्या भोगिरहेका छन्‌ भनेर बुझ्न सक्छौँ। युवाहरूको लागि प्रकाशित सबै सामग्री म नछुटाई पढ्‌ने गर्छु। त्यसो गर्दा बाइबल वा jw.org बाट साथीहरूलाई चाहिएकै विषय देखाउन मलाई सजिलो भएको छ।” यी अनुभवहरूले देखाएझैँ प्रचार गर्न तयार रहनु भनेको सुसमाचारको “जुत्ता” राम्ररी कस्नुजस्तै हो।

एउटी जवान बहिनी सहपाठीलाई पुनर्जीवनको आशाबारे बताउँछिन्‌

शान्तिको सुसमाचारको जुत्ता (अनुच्छेद ९-११ हेर्नुहोस्‌)

‘विश्‍वासको ठूलो ढाल लिएर’

१२, १३. सैतानले प्रहार गर्ने केही “अग्निबाणहरू” के हुन्‌?

१२ एफिसी ६:१६ पढ्‌नुहोस्‌। रोमी सिपाहीले बोक्ने “ठूलो ढाल” चारपाटे हुन्थ्यो र त्यसले सिपाहीको कुमदेखि घुँडासम्मको भागलाई ढाक्थ्यो। त्यसले सिपाहीलाई हतियारको प्रहारबाट जोगाउँथ्यो अनि बाणहरू बर्सिँदा त्यसलाई छेक्थ्यो।

१३ सैतानले तपाईँलाई प्रहार गर्ने “अग्निबाण” भनेको यहोवाबारे झूटा कुराहरू पनि हुन्‌। जस्तै, यहोवालाई तपाईँको कुनै चासो छैन वा तपाईँ उहाँको प्रेम पाउन लायक हुनुहुन्‍न भन्‍ने झूट। उन्‍नाइस वर्षकी इडालाई पनि अयोग्यताको भावनाले सताइरहन्छ। तिनी भन्छिन्‌: “मलाई थुप्रै चोटि यहोवा मेरो नजिक हुनुहुन्‍न अनि उहाँ मेरो साथी बन्‍न पनि चाहनुहुन्‍न जस्तो लागेको छ।” यस्तो आक्रमणको तिनी कसरी सामना गर्छिन्‌? तिनी भन्छिन्‌: “सभाहरूले मेरो विश्‍वासलाई निकै बलियो बनाउँछ। म पहिला-पहिला सभाहरूमा चुपचाप बस्थेँ अनि टिप्पणी पनि कहिल्यै दिन्‍नथेँ। मेरो टिप्पणी कसैले पनि सुन्‍न चाहँदैन जस्तो लाग्थ्यो। तर अहिले भने म सभाको तयारी गर्छु अनि दुई-तीन पटक टिप्पणी दिने कोसिस गर्छु। त्यसो गर्न गाह्रो त लाग्छ तर पछि भने निकै खुसी लाग्छ। भाइबहिनीहरूले पनि निकै प्रोत्साहन दिनुहुन्छ। सभाबाट फर्किँदा, यहोवा मलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा सधैँ ढुक्क हुन्छु।”

१४. इडाको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१४ इडाको अनुभवबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ: सिपाहीले बोक्ने ढाल निश्‍चित नाप र आकारको हुन्थ्यो तर हाम्रो विश्‍वासको ढाल भने बढ्‌न वा घट्‌न सक्छ। अनि त्यसलाई बढाउने कि घटाउने, त्यो हाम्रै छनौटको कुरा हो। (मत्ती १४:३१; २ थिस्स. १:३) हामीले आफ्नो विश्‍वासलाई बढाउँदै लैजानु अत्यन्तै महत्त्वपूर्ण छ!

एउटी जवान बहिनी मण्डलीको सभामा टिप्पणी दिन्छिन्‌

विश्‍वासको ठूलो ढाल (अनुच्छेद १२-१४ हेर्नुहोस्‌)

‘मुक्‍तिको टोप लगाएर’

१५, १६. आशालाई हामी किन टोपसित तुलना गर्न सक्छौँ?

१५ एफिसी ६:१७ पढ्‌नुहोस्‌। रोमी सिपाहीहरूले लगाउने टोपले टाउको, घाँटी र अनुहारमा आक्रमण गरिँदा त्यसलाई रोक्थ्यो। कुनै-कुनै टोपमा समाउने ह्‍यान्डल पनि बनाइएको हुन्थ्यो र सिपाहीले टोपलाई हातमा बोकेर हिँड्‌न सक्थ्यो।

१६ टोपले सिपाहीको टाउकोलाई जोगाएजस्तै “उद्धारको आशा”-ले हाम्रो दिमागलाई अर्थात्‌ सोच्ने क्षमतालाई जोगाउँछ। (१ थिस्स. ५:८; हितो. ३:२१) आशाले हामीलाई परमेश्‍वरका प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गर्न अनि समस्याहरूप्रति सही दृष्टिकोण राख्न मदत गर्छ। (भज. २७:१, १४; प्रेषि. २४:१५) तर टोपले जोगाइरहोस्‌ भन्‍ने चाहन्छौँ भने हामीले त्यसलाई आफ्नो टाउकोमा लगाइरहनुपर्छ, हातमा बोकेर हिँड्‌नु हुँदैन।

१७, १८. (क) सैतानले हामीलाई आफ्नो टोप फुकाल्न कसरी उक्साउँछ? (ख) सैतानको पासोमा नपरेको कुरा हामी कसरी देखाउन सक्छौँ?

१७ सैतानले हामीलाई आफ्नो टोप फुकाल्न कसरी उक्साउँछ? त्यसले येशूलाई के गरेको थियो, विचार गर्नुहोस्‌। येशूले पछि गएर मानवजातिमाथि शासन गर्ने आशा राख्नुभएको छ भनेर सैतानलाई पक्कै थाह थियो। तर यहोवाले तोक्नुभएको समय नआउन्जेल उहाँले पर्खनुपर्ने थियो। अनि त्यसअघि दुःख भोग्नुपर्ने र मर्नुपर्ने थियो। त्यसैले सैतानले येशूलाई आफ्नो आशा छिटै साकार पार्ने प्रलोभन देखायो। येशूले एक चोटि मात्रै ढोग्नुभयो भने पनि सबै थोक उहाँको हुनेछ भनेर सैतानले बतायो, त्यो पनि तुरुन्तै! (लूका ४:५-७) त्यसैगरि, यहोवाले हामीलाई पनि नयाँ संसारमा थुप्रै भौतिक कुराहरू दिनुहुनेछ भनेर सैतानलाई थाह छ। तर त्यसको लागि हामीले प्रतीक्षा गर्नुपर्ने हुन्छ अनि त्यतिन्जेल दुःख भोग्नुपर्ने पनि हुन सक्छ। त्यसैले अहिले नै सम्पन्‍न जीवन बिताउन सकिने मौकाहरू सैतानले हामीलाई देखाउँछ। हामीले सबैथोक अहिले नै पाउने प्रयास गर्दै भौतिक कुरालाई जीवनमा पहिलो स्थान दिएको सैतान चाहन्छ। अनि परमेश्‍वरको राज्यलाई चाहिँ दोस्रो स्थानमा राख्न लगाउँछ।—मत्ती ६:३१-३३.

१८ थुप्रै जवान ख्रीष्टियनहरूजस्तै २० वर्षकी कियाना पनि सैतानको यस्तो पासोबाट जोगिन सफल भएकी छिन्‌। तिनी भन्छिन्‌: “परमेश्‍वरको राज्यले मात्रै हाम्रा सबै समस्याहरूको समाधान गर्नेछ भनेर मलाई थाह छ।” यो बलियो आशाले अहिले तिनको सोचाइ र काममा कस्तो प्रभाव पारेको छ? तिनी भन्छिन्‌: “प्रमोदवनको आशाले गर्दा मैले सांसारिक लक्ष्यहरूको पछि नलाग्ने बल पाएकी छु। म संसारमा नाम-दाम कमाउन वा कुनै कम्पनीमा ठूलो ओहदामा पुग्न आफ्नो भएभरको सिप र क्षमता प्रयोग गर्दिनँ। बरु आफ्नो समय र शक्‍ति आध्यात्मिक लक्ष्यहरू हासिल गर्न प्रयोग गर्छु।”

एउटी जवान बहिनी परमेश्‍वरको राज्यबारे कल्पना गर्छिन्‌

मुक्‍तिको टोप (अनुच्छेद १५-१८ हेर्नुहोस्‌)

‘पवित्र शक्‍तिको तरबार अर्थात्‌ परमेश्‍वरको वचन भिरेर’

१९, २०. परमेश्‍वरको वचन प्रयोग गर्न हामी कसरी अझै सिपालु हुन सक्छौँ?

१९ पावलले एफिसीहरूलाई पत्र लेखेको समयतिर रोमी सिपाहीहरूले भिर्ने तरबार लगभग २० इन्च (५० सेन्टिमिटर) लामो हुन्थ्यो। त्यो तरबार शत्रुसित आमनेसामने लड्‌न बनाइएको हुन्थ्यो। रोमी सिपाहीहरू हतियार चलाउन सिपालु हुनुको एउटा कारण भनेको तिनीहरू दिनदिनै अभ्यास गर्थे।

२० पावलले परमेश्‍वरको वचनलाई यहोवाले हामीलाई दिनुभएको तरबारसित तुलना गरे। तर हामी यसलाई चलाउन सिपालु हुनु आवश्‍यक छ, चाहे आफ्नो विश्‍वासको पक्षमा बोल्दा होस्‌ वा आफ्नै सोचाइलाई छाँटकाँट गर्दा। (२ कोरि. १०:४, ५; २ तिमो. २:१५) परमेश्‍वरको वचन प्रयोग गर्न तपाईँ कसरी अझै सिपालु हुन सक्नुहुन्छ? एक्काइस वर्षका सेबास्टियन भन्छन्‌: “बाइबल पढ्‌दा म प्रत्येक अध्यायबाट एउटा पद लेखेर राख्ने गर्छु। म आफूलाई मन पर्ने पदहरू जम्मा गर्दै छु। त्यसो गर्दा यहोवाको सोचाइ बुझ्न अझ मदत पाएको महसुस गरेको छु।” अनुच्छेद ८ मा उल्लेख गरिएका ड्यानियल यसो भन्छन्‌: “बाइबल पढाइ गर्दा, प्रचारमा भेटेका मानिसहरूको लागि प्रभावकारी होला जस्तो देखिने पदहरू म जम्मा गर्छु। यदि हामी मनैदेखि उत्सुक भएर बाइबलको कुरा बताउँछौँ अनि मानिसहरूलाई सिकाउन सक्दो कोसिस गरिरहेका छौँ भने तिनीहरूले त्यो याद गर्दा रहेछन्‌ अनि हाम्रो कुरा सुन्‍ने सम्भावना पनि धेरै हुँदो रहेछ।”

एउटी जवान बहिनी प्रचारकार्यमा बाइबल चलाउँछिन्‌

पवित्र शक्‍तिको तरबार (अनुच्छेद १९-२० हेर्नुहोस्‌)

२१. हामी किन सैतान र त्यसका प्रेतहरूदेखि डराउनुपर्दैन?

२१ यस लेखमा उल्लेख गरिएका युवाहरूको भनाइले देखाएझैँ हामी सैतान र त्यसका प्रेतहरूदेखि डराउनुपर्ने कुनै कारण छैन। हुनत तिनीहरू शक्‍तिशाली छन्‌ तर हामीले जित्नै नसक्नेचाहिँ होइन। अनि तिनीहरू सधैँभरि रहिरहने छैनन्‌। चाँडै येशूको हजार वर्षीय शासन सुरु हुनेछ अनि तिनीहरूलाई पूर्णतया निष्क्रिय अवस्थामा राखिनेछ। त्यसपछि तिनीहरूलाई नाश गरिनेछ। (प्रका. २०:१-३, ७-१०) हाम्रो शत्रु को हो, त्यसका चालहरू के-के हुन्‌ अनि त्यसको नियत के हो, त्यो हामीलाई थाह छ। यहोवाको मदतले हामी त्यसविरुद्ध अवश्‍य खडा हुन सक्छौँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने