अध्ययन लेख ३
तपाईँ कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्नुहुन्छ?
“अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख।”—हितो. ४:२३.
गीत ३६ हृदय सुरक्षित राखौँ!
परिचयa
१-३. (क) यहोवाले सुलेमानलाई किन माया गर्नुभयो? तिनले के-कस्ता आशिष् पाए? (ख) यस लेखमा हामी कुन-कुन प्रश्नको जवाफ पाउनेछौँ?
सुलेमान ठिटै छँदा इस्राएलको राजा भए। तिनको शासनकालको सुरुतिर यहोवा सपनामा तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो: “तिमी के चाहन्छौ, भन।” सुलेमानले भने: “म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव पनि छैन। . . . त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न . . . यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्।” (१ राजा ३:५-१०) तिनले नम्र हुँदै यहोवासित “आज्ञाकारी हृदय” मागे! त्यसैकारण यहोवाले सुलेमानलाई माया गर्नुभयो। (२ समु. १२:२४) यी जवान राजाको बिन्ती सुनेर परमेश्वर अत्यन्तै खुसी हुनुभयो र उहाँले तिनलाई “बुद्धि र समझले भरिएको हृदय” दिनुभयो।—१ राजा ३:१२.
२ यहोवाप्रति वफादार रहुन्जेल सुलेमानले थुप्रै आशिष् पाए। तिनले “इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति” मन्दिर बनाउने ठूलो सुअवसर पाए। (१ राजा ८:२०) परमेश्वरबाट बुद्धि पाएकोले तिनी बुद्धिमान् राजा भनेर प्रख्यात भए। अनि तिनले परमेश्वरको प्रेरणा पाएर भनेका कुराहरू बाइबलको तीनवटा किताबमा लेखिएका छन्। तीमध्ये एउटा किताब हितोपदेश हो।
३ हितोपदेशको किताबमा हृदय अर्थात् मन शब्द लगभग सय चोटि उल्लेख गरिएको छ। उदाहरणको लागि, हितोपदेश ४:२३ यसो भन्छ: “अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख।” यस पदमा “हृदय” शब्दले केलाई बुझाउँछ? यसको जवाफ हामी यस लेखमा पाउनेछौँ। अर्को दुई वटा प्रश्नको जवाफ पनि हामी पाउनेछौँ: सैतानले कसरी हाम्रो हृदयलाई भ्रष्ट पार्न खोज्छ? अनि हृदयलाई सुरक्षित राख्न हामीले के गर्नुपर्छ? परमेश्वरप्रति वफादार रहिरहने हो भने हामीले यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ थाह पाउनु अत्यावश्यक छ।
“हृदय” के हो?
४-५. (क) भजन ५१:६ ले हामीलाई “हृदय” शब्दको अर्थ बुझ्न कसरी मदत गर्छ? (ख) शारीरिक स्वास्थ्यको ख्याल राख्नु महत्त्वपूर्ण भएझैँ आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नु पनि किन महत्त्वपूर्ण छ?
४ हितोपदेश ४:२३ मा प्रयोग गरिएको “हृदय” शब्दले हाम्रो “मन” वा “हाम्रो भित्री रूप”-लाई बुझाउँछ। (भजन ५१:६ पढ्नुहोस्) अर्को शब्दमा भन्ने हो भने “हृदय” भनेको हाम्रो सोचाइ, भावना, मनसाय अनि चाहना हो, जुन बाहिरबाट देखिँदैन। हामी बाहिरबाट हेर्दा कस्तो छौँ भन्ने मात्र नभई हामी भित्र वास्तवमा कस्तो छौँ भनेर हाम्रो हृदयले देखाउँछ।
५ हामी भित्र वास्तवमा कस्तो छौँ भन्ने कुराको महत्त्व बुझ्न हाम्रो शारीरिक स्वास्थ्यबारे विचार गरौँ। पहिलो कुरा, शरीर स्वस्थ हुनको लागि हामीले स्वस्थकर खानेकुरा खानुपर्छ अनि नियमित व्यायाम गर्नुपर्छ। त्यसैगरि आध्यात्मिक रूपमा स्वस्थ हुनको लागि हामीले स्वस्थकर आध्यात्मिक खानेकुरा खानुपर्छ अनि यहोवामाथिको हाम्रो विश्वासको नियमित “व्यायाम” गर्नुपर्छ। विश्वासको “व्यायाम” गर्नु भनेको सिकेको कुरा व्यवहारमा लागू गर्नु अनि आफ्नो विश्वासबारे अरूलाई बताउनु हो। (रोमी १०:८-१०; याकु. २:२६) दोस्रो कुरा, बाहिरबाट हेर्दा आफू स्वस्थ छु जस्तो लाग्न सक्छ तर भित्र-भित्रै भने हामीलाई कुनै रोगले खाइरहेको हुन सक्छ। त्यसैगरि हाम्रो आध्यात्मिक तालिका हेर्दा हामीलाई आफ्नो विश्वास बलियो छ जस्तो लाग्न सक्छ तर हामीमा गलत इच्छाहरूले जरा गाडिरहेको हुन सक्छ। (१ कोरि. १०:१२; याकु. १:१४, १५) सैतान हामीलाई त्यसको सोचाइद्वारा भ्रष्ट पार्न चाहन्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन। हाम्रो सोचाइलाई भ्रष्ट पार्न त्यसले खासमा के गर्न खोज्छ? अनि हामी कसरी आफूलाई जोगाउन सक्छौँ?
सैतानले कसरी हाम्रो हृदयलाई भ्रष्ट पार्न खोज्छ?
६. सैतानको उद्देश्य के हो अनि त्यसले आफ्नो उदश्य कसरी पूरा गर्न खोज्छ?
६ सैतान यहोवाको स्तरको बेवास्ता गर्ने विद्रोही स्वर्गदूत हो, जो आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको छ। अनि त्यसले हामीलाई पनि आफूजस्तै बनाउन खोज्छ। सैतानले हामीलाई त्यसको जस्तो सोचाइ राख्न अनि त्यसको जस्तै काम गर्न जबरजस्ती गर्न सक्दैन। त्यसैले आफ्नो उद्देश्य पूरा गर्न त्यसले अरू नै उपाय लगाउँछ। उदाहरणको लागि, त्यसको अधीनमा परेको संसारका मानिसहरू त्योजस्तै भ्रष्ट भइसकेका छन्। (१ युह. ५:१९) हामीलाई थाह छ, नराम्रो सङ्गतले हाम्रो सोचाइ र कामलाई “बिगार्छ” वा “भ्रष्ट” पार्छ तैपनि हामीले त्यस्ता मानिसहरूसित समय बिताउने छनौट गरेको त्यो चाहन्छ। (१ कोरि. १५:३३; फुटनोट) सैतानले यही चाल चलेर राजा सुलेमानलाई फसायो। तिनले थुप्रै मूर्तिपूजक स्त्रीसित विवाह गरे। “तिनका पत्नीहरूले तिनलाई निकै प्रभाव पारे” अनि ‘बिस्तारै-बिस्तारै तिनको हृदयलाई बहकाएर’ यहोवाबाट टाढा बनाइदिए।—१ राजा ११:३; फुटनोट।
सैतानले आफ्नो सोचाइद्वारा हाम्रो हृदयलाई भ्रष्ट पार्न खोज्दा हामी कसरी त्यसलाई जोगाउन सक्छौँ? (अनुच्छेद ७ हेर्नुहोस्)c
७. आफ्नो सोचाइ फैलाउन सैतानले प्रयोग गर्ने अर्को तरिका के हो? हामी किन होसियार हुनुपर्छ?
७ सैतानले चलचित्र र टेलिभिजन कार्यक्रमहरूमार्फत आफ्नो सोचाइ चारैतिर फैलाउँछ। कथाहरू सुन्न हामीलाई रमाइलो लाग्छ भनेर त्यसलाई थाह छ। साथै हामी जे सुन्छौँ वा हेर्छौँ, त्यसैबाट हामीले सिकिरहेका हुन्छौँ अनि हाम्रो सोचाइ, भावना र काम पनि त्यसैअनुसारको हुन्छ भन्ने कुरा त्यसलाई थाह छ। येसुले कथाहरू सुनाएर मानिसहरूलाई प्रभावकारी तरिकामा सिकाउनुभयो। उदाहरणको लागि, उहाँले दयालु सामरियालीको अनि आफ्नो घर छोडेर जाने र आफ्नो सबै सम्पत्ति उडाउने छोराको कथा सुनाउनुभयो। (मत्ति १३:३४; लुका १०:२९-३७; १५:११-३२) तर सैतानको सोचाइबाट भ्रष्ट भएकाहरूले हामीलाई भ्रष्ट पार्न यही तरिका अपनाउन सक्छन्। यस सन्दर्भमा हामी व्यावहारिक हुनुपर्छ। हामी आफ्नो सोचाइलाई भ्रष्ट नपारीकनै चलचित्र र टिभी कार्यक्रमहरूबाट मनोरञ्जन गर्न र राम्रा कुराहरू सिक्न सक्छौँ। तर हामी होसियार हुनुपर्छ। मनोरञ्जन छान्ने सन्दर्भमा हामीले आफूलाई यो प्रश्न सोध्नु बेस हो, ‘के यो चलचित्र वा टिभी कार्यक्रमले मलाई शारीरिक इच्छाको वशमा पर्नु ठीकै हो भनेर सिकाइरहेको छ?’ (गला. ५:१९-२१; एफि. २:१-३) कुनै कार्यक्रमले सैतानी सोचाइलाई बढावा दिइरहेको छ भनेर चाल पाउनुभयो भने तपाईँ के गर्नुहुन्छ? सरुवा रोगदेखि टाढै बस्नुभएझैँ त्यस्ता कार्यक्रमहरूबाट टाढै बस्नुहोस्!
८. हृदय सुरक्षित राख्न आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्?
८ आमाबुबा हो, सैतानले तपाईँका छोराछोरीको हृदयलाई पनि भ्रष्ट पार्ने कोसिस गर्छ, त्यसैले तिनीहरूलाई जोगाउने मुख्य जिम्मेवारी तपाईँले पाउनुभएको छ। छोराछोरीलाई रोगबिमार लाग्नदेखि जोगाउन तपाईँ पक्कै सकेजति सबै गर्नुहुन्छ। तपाईँ घरलाई सफा-सुग्घर राख्नुहुन्छ अनि आफूलाई वा आफ्ना छोराछोरीलाई बिरामी बनाउन सक्ने कुरा घरबाट फ्याँक्नुहुन्छ। ठीक त्यसैगरि, छोराछोरीलाई सैतानको सोचाइबाट भ्रष्ट पार्न सक्ने चलचित्र, टिभी कार्यक्रम, भिडियो गेम अनि वेबसाइटबाट पनि तपाईँले तिनीहरूलाई जोगाउनु आवश्यक छ। आफ्ना छोराछोरीको आध्यात्मिक स्वास्थ्यको ख्याल राख्ने जिम्मेवारी र अख्तियार यहोवाले तपाईँलाई दिनुभएको छ। (हितो. १:८; एफि. ६:१, ४) त्यसैले आफ्नो परिवारको लागि बाइबलमा आधारित नियमहरू तोक्न नहिचकिचाउनुहोस्। आफ्ना साना छोराछोरीलाई कुन कुरा हेर्ने अनुमति छ अनि कुन कुरा हेर्ने अनुमति छैन भनेर बताउनुहोस् अनि त्यस्तो नियम तोक्नुको पछाडि कस्तो कारण छ भनेर पनि तिनीहरूलाई बुझाउनुहोस्। (मत्ति ५:३७) छोराछोरी हुर्कँदै जाँदा यहोवाको स्तरअनुसार कुन कुरा सही छ अनि कुन कुरा गलत छ भनेर आफै निर्णय गर्न तिनीहरूलाई तालिम दिनुहोस्। (हिब्रू ५:१४) अनि यो कुरा पनि नबिर्सनुहोस्, तपाईँ छोराछोरीलाई जे भन्नुहुन्छ, केवल त्यसबाट होइन बरु तपाईँ जे गर्नुहुन्छ, त्यसबाट तिनीहरूले अझ धेरै सिक्छन्।—व्यव. ६:६, ७; रोमी २:२१.
९. सैतानले फैलाउने एउटा सोचाइ के हो? यस्तो सोचाइ किन खतरनाक छ?
९ सैतानले हाम्रो हृदयलाई भ्रष्ट पार्न अपनाउने अर्को तरिका भनेको यहोवाको सोचाइमा नभई मानिसको बुद्धिमा भरोसा गर्न सिकाएर हो। (कल. २:८) सैतानले फैलाउने एउटा सोचाइ विचार गरौँ। त्यो हो, धनसम्पत्ति कमाउनुलाई जीवनको प्रमुख लक्ष्य बनाउनुपर्छ। यस्तो सोचाइको पछि लाग्नेहरू कोही-कोही धनी बन्छन् भने कोही बन्दैनन्। तर जेहोस्, यसले दुःखद परिणाम निम्त्याउँछ। किन? किनभने तिनीहरू धनसम्पत्ति कमाउन यत्ति तल्लीन हुन्छन् कि तिनीहरूले आफ्नो स्वास्थ्य, परिवारसितको सम्बन्ध र परमेश्वरसितको मित्रतालाई समेत बेवास्ता गर्छन्। (१ तिमो. ६:१०) स्वर्गमा हुनुहुने हाम्रो बुद्धिमान् बुबाले धनसम्पत्तिप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्नुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ।—उप. ७:१२; लुका १२:१५.
हामी कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्छौँ?
नकारात्मक प्रभाव पार्ने कुरा हृदयमा प्रवेश गर्न नपाओस् भनेर प्राचीन समयका पहरेदारहरू र ढोकेहरूजस्तै जागा रहनुहोस् र कदम चाल्नुहोस् (अनुच्छेद १०-११ हेर्नुहोस्)d
१०-११. (क) हामीले आफूलाई जोगाउन के गर्नुपर्छ? (ख) प्राचीन समयमा पहरेदारहरूले के गर्थे अनि हाम्रो अन्तस्करणले कसरी पहरेदारले जस्तै काम गर्न सक्छ?
१० आफ्नो हृदयलाई सुरक्षित राख्नको लागि हामीले हृदयलाई दूषित पार्न सक्ने खतराहरू चिन्नुपर्छ अनि आफूलाई जोगाउन तुरुन्तै कदम चाल्नुपर्छ। हितोपदेश ४:२३ मा “सुरक्षित” भनी अनुवाद गरिएको हिब्रू शब्द पहरेदारले गर्ने कामसित सम्बन्धित छ। राजा सुलेमानको समयमा पहरेदारहरू सहरको पर्खालमा उभिन्थे अनि कुनै खतरा आएको देख्नेबित्तिकै आवाज निकालेर चेतावनी दिन्थे। त्यो दृश्य कल्पना गर्दा हाम्रो सोचाइलाई भ्रष्ट बनाउनदेखि सैतानलाई रोक्न हामीले के गर्नुपर्छ भनेर बुझ्न सक्छौँ।
११ प्राचीन समयमा पहरेदारहरू र सहरका ढोकेहरू सँगै मिलेर काम गर्थे। (२ समु. १८:२४-२६) कुनै शत्रु नजिक आएको देख्नेबित्तिकै सहरको ढोका बन्द गरेर सहरलाई सुरक्षित राख्न तिनीहरू मिलेर काम गर्थे। (नहे. ७:१-३) बाइबल-प्रशिक्षित हाम्रो अन्तस्करणलेb पहरेदारले जस्तै काम गर्छ र सैतान हाम्रो हृदयमा प्रवेश गर्न खोज्दा हामीलाई चेतावनी दिन्छ। भन्नुको मतलब, सैतानले हाम्रो हृदयमा त्यसको जस्तै सोचाइ, भावना, मनसाय वा इच्छाहरू राखिदिन खोज्दा हाम्रो अन्तस्करणले चेतावनी दिन्छ। हाम्रो अन्तस्करणले चेतावनी दिँदा हामीले त्यो सुन्नुपर्छ र तुरुन्तै आफ्नो “हृदयको ढोका” बन्द गर्नुपर्छ।
१२-१३. हामीलाई कस्तो प्रलोभन आउन सक्छ? तर त्यस्तो बेला हामीले के गर्नुपर्छ?
१२ सैतानको सोचाइबाट प्रभावित हुनदेखि हामी आफूलाई कसरी जोगाउन सक्छौँ भन्ने कुराको एउटा उदाहरण विचार गरौँ। हामीले ‘अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपनको नामसमेत लिनु हुँदैन’ भनेर यहोवाले सिकाउनुभएको छ। (एफि. ५:३) तर काम गर्ने ठाउँ वा स्कुलका साथीहरूले अश्लील कुराकानी गर्न थाले भने हामी के गर्छौँ? हामीले “भक्तिहीनता र सांसारिक इच्छाहरू” तिरस्कार गर्नुपर्छ भनेर हामीलाई थाह छ। (ति. २:१२) पहरेदारले जस्तै काम गर्ने हाम्रो अन्तस्करणले त्यस्तो बेला हामीलाई चेतावनी दिन सक्छ। (रोमी २:१५) तर के हामी त्यो चेतावनी सुन्छौँ? चेतावनी सुन्नुको सट्टा हामीलाई साथीहरूको कुराकानी सुनूँजस्तो वा तिनीहरूले देखाइरहेका तस्बिरहरू हेरूँजस्तो लाग्न सक्छ। तर यतिबेला हामीले सहरको ढोका बन्द गर्नुपर्छ, मतलब हामीले कुराकानीलाई अन्तै मोड्नुपर्छ वा त्यो ठाउँ छोडेर जानुपर्छ।
१३ साथीहरूले गलत कुरा सोच्ने वा गलत काम गर्ने दबाब दिँदा त्यसलाई इन्कार गर्न साहस चाहिन्छ। यस्तो अवस्थामा हामीले गर्ने कोसिस यहोवाले याद गर्नुहुन्छ अनि सैतानको सोचाइको प्रतिरोध गर्न चाहिने बल र बुद्धि दिनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। (२ इति. १६:९; यसै. ४०:२९; याकु. १:५) तर आफ्नो हृदयलाई सुरक्षित राखिराख्ने हो भने हामीले अरू के गर्नुपर्छ?
जागा रहनुहोस्
१४-१५. (क) हामीले कुन कुराको लागि आफ्नो हृदयको ढोका खोल्नुपर्छ अनि हामी कसरी त्यसो गर्न सक्छौँ? (ख) हितोपदेश ४:२०-२२ ले हामीलाई बाइबल पढाइबाट पूरापूर लाभ उठाउन कसरी मदत गर्छ? (“कसरी मनन गर्ने?” भन्ने पेटी हेर्नुहोस्)
१४ हृदयलाई सुरक्षित राख्न हामीले नकारात्मक प्रभाव पार्ने कुराहरूलाई तिरस्कार गर्ने मात्र होइन, सकारात्मक प्रभाव पार्ने कुराहरूलाई स्वीकार पनि गर्नुपर्छ। पर्खालले घेरिएको सहरको उदाहरण फेरि विचार गर्नुहोस्। शत्रुले आक्रमण गर्न आउँदा ढोकेले ढोका बन्द गर्थ्यो तर अरू बेला भने सहरभित्र खानेकुरा अनि अरू मालसामान ल्याउन उसले ढोका खोल्थ्यो। सहरको ढोका कहिल्यै नखोल्ने हो भने सहरमा भोकमरी पर्ने थियो। त्यसैगरि परमेश्वरको जस्तो सोचाइ राख्न मदत गर्ने कुराहरूको लागि हामीले आफ्नो हृदयको ढोका नियमित रूपमा खोल्नुपर्छ।
१५ बाइबलमा हामी यहोवाको सोचाइ लेखिएको पाउँछौँ। त्यसैले प्रत्येक पटक बाइबल पढ्दा हामीले यहोवाको सोचाइलाई आफ्नो सोचाइ, भावना अनि काममा प्रभाव पार्न दिइरहेका हुन्छौँ। हामी बाइबल पढाइबाट कसरी पूरापूर लाभ उठाउन सक्छौँ? यसको लागि प्रार्थना गर्नु अत्यावश्यक छ। एउटी ख्रिष्टियन बहिनी यसो भन्छिन्: “बाइबल पढ्नुअघि म यहोवालाई प्रार्थना गर्छु अनि उहाँको वचनमा भएका ‘उत्तम कुराहरू छर्लङ्गै देख्न सकूँ’ भनेर बिन्ती गर्छु।” (भज. ११९:१८) हामीले पढेको कुरामा मनन पनि गर्नुपर्छ। प्रार्थना गरेर पढ्यौँ अनि मनन गऱ्यौँ भने हामीले परमेश्वरको वचन आफ्नो “हृदयमा सङ्गालेर” राख्न सक्नेछौँ अनि यहोवाको सोचाइलाई प्रेम गर्न सिक्नेछौँ।—हितोपदेश ४:२०-२२ पढ्नुहोस्; भज. ११९:९७.
१६. JW ब्रोडकास्टिङ हेरेर थुप्रैले कस्तो लाभ उठाएका छन्?
१६ परमेश्वरको सोचाइले आफूमा प्रभाव पार्न दिने अर्को तरिका JW ब्रोडकास्टिङमा उपलब्ध सामग्रीहरू हेरेर हो। एक दम्पती यसो भन्छन्: “यो मासिक कार्यक्रम साँच्चै हाम्रो प्रार्थनाको जवाफ साबित भएको छ! निराश हुँदा वा एक्लो महसुस गर्दा ती कार्यक्रमहरूले हामीलाई बल अनि प्रोत्साहन दिन्छ। अनि त्यसमा आउने मौलिक गीतहरू हामी घरमा बजाइरहन्छौँ। हामी ती गीतहरू खाना पकाउँदा, सरसफाइ गर्दा वा चिया खान बस्दा मात्र पनि सुन्छौँ।” यी कार्यक्रमहरूले हामीलाई आफ्नो हृदय सुरक्षित राख्न मदत गर्छ। त्यसले हामीलाई यहोवाको जस्तै सोचाइ राख्न अनि सैतानको सोचाइअनुसार चल्ने दबाबको प्रतिरोध गर्न मदत गर्छ।
१७-१८. (क) पहिलो राजा ८:६१ मा बताइएअनुसार यहोवाले सिकाउनुभएको कुरा लागू गऱ्यौँ भने नतिजा कस्तो हुन्छ? (ख) राजा हिजकियाहको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (ग) दाउदले भजन १३९:२३, २४ मा प्रार्थना गरेजस्तै हामी केको लागि प्रार्थना गर्न सक्छौँ?
१७ सही कुरा गर्दा हुने फाइदा जति-जति अनुभव गर्दै जान्छौँ, हाम्रो विश्वास पनि त्यति नै बलियो हुँदै जान्छ। (याकु. १:२, ३) जब हामी सही काम गर्छौँ, तब हामीलाई आफ्नो छोराछोरी भन्न पाएकोमा यहोवा गर्व गर्नुहुन्छ। अनि त्यो थाह पाउँदा हामी आनन्दित हुन्छौँ अनि यहोवालाई खुसी पार्ने हाम्रो इच्छा झनै बलियो हुन्छ। (हितो. २७:११) प्रत्येक चोटि कुनै परीक्षा आइपर्दा हामी आधा मनले आफ्नो मायालु बुबाको सेवा गरिरहेका छैनौँ भनेर देखाउने मौका पाउँछौँ। (भज. ११९:११३) बरु पूर्ण हृदयले उहाँलाई प्रेम गर्छौँ अनि उहाँको आज्ञा पालन गर्ने र उहाँको इच्छाअनुसार गर्ने दृढ सङ्कल्प गरेका छौँ भनेर देखाउँछौँ।—१ राजा ८:६१ पढ्नुहोस्।
१८ हामीबाट कुनै गल्ती नै हुँदैन भन्ने होइन। हामी त्रुटिपूर्ण छौँ। यदि हामीले ठेस खायौँ भने राजा हिजकियाहको उदाहरण सम्झनुपर्छ। तिनले पनि गल्तीहरू गरे। तर तिनले पश्चात्ताप गरे अनि “पूर्ण हृदयले” यहोवाको सेवा गरिरहे। (यसै. ३८:३-६; २ इति. २९:१, २; ३२:२५, २६) सैतानले त्यसको सोचाइद्वारा हामीलाई भ्रष्ट पार्ने कोसिस गर्दा हामी पनि त्यसको प्रतिरोध गरौँ। “आज्ञाकारी हृदय” विकास गर्न सकौँ भनेर प्रार्थना गरौँ। (१ राजा ३:९; भजन १३९:२३, २४ पढ्नुहोस्) अरू कुनै पनि कुरालाई भन्दा आफ्नो हृदयलाई सुरक्षित राख्यौँ भने हामी यहोवाप्रति वफादार भइरहन सक्नेछौँ।
गीत ५४ ‘यही हो बाटो’
a हामी यहोवाप्रति वफादार रहिरहनेछौँ कि आफूलाई सैतानको पासोमा पर्न दिएर यहोवादेखि टाढा हुनेछौँ? यसको जवाफ हामीले कत्तिको कठिन परीक्षा भोगिरहेका छौँ, त्यसमा होइन बरु हामीले आफ्नो हृदयलाई कत्तिको सुरक्षित राखेका छौँ, त्यसमा भर पर्छ। “हृदय” भनेको के हो? सैतानले हाम्रो हृदयलाई कसरी भ्रष्ट पार्न खोज्छ? अनि हामी आफ्नो हृदयलाई कसरी सुरक्षित राख्न सक्छौँ? यस लेखले यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिनेछ।
b थप व्याख्या: आफ्नो सोचाइ, भावना अनि कामलाई जाँचेर आफूलाई दोषी वा निर्दोष ठहराउने क्षमता यहोवाले हामीलाई दिनुभएको छ। त्यो क्षमतालाई बाइबलमा अन्तस्करण भनिएको छ। (रोमी २:१५; ९:१) बाइबल-प्रशिक्षित अन्तस्करणले बाइबलमा उल्लेख गरिएका यहोवाका स्तरहरूअनुसार हामीलाई आफ्नो सोचाइ, काम वा बोली जाँच्न मदत गर्छ र ती असल छन् कि खराब भनेर बताउँछ।
c चित्रको व्याख्या: बप्तिस्मा गरेका एक जना भाइ टिभी हेरिरहेका छन् अनि टिभीमा अश्लील दृश्य देखा पर्छ। अब के गर्ने भनेर तिनले निर्णय गर्नुपर्छ।
d चित्रको व्याख्या: प्राचीन समयका एक पहरेदारले सहरबाहिर खतराको सङ्केत देख्छन्। तिनले तल उभिरहेका ढोकेहरूलाई त्यसबारे चेतावनी दिन्छन् र ढोकेहरूले तुरुन्तै सहरको ढोका बन्द गरेर भित्रबाट गजबार लगाउँछन्।