प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 मे पृ. २-७
  • ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “ख्रिष्टको व्यवस्था” के हो?
  • प्रेममा आधारित व्यवस्था
  • न्यायी हुन सिकाउने व्यवस्था
  • अख्तियार पाएकाहरूले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ?
  • प्राचीन इस्राएलमा प्रेम र न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • वर्तमान समयमा यहोवा हामीबाट के चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येसु “पृथ्वीमा न्याय कायम” गर्नुहुन्छ
    यहोवासित नजिक हुनुहोस्‌
  • ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 मे पृ. २-७

अध्ययन लेख १८

ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय (४ भागको शृङ्‌खलाको भाग २)

“एकअर्काको बोझ बोक्ने गर, यसरी तिमीहरूले ख्रिष्टको व्यवस्था पूरा गरिरहेका हुनेछौ।”—गला. ६:२.

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

परिचयa

१. हामी कुन दुइटा कुरामा विश्‍वस्त हुन सक्छौँ?

यहोवा परमेश्‍वर आफ्ना उपासकहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सधैँ प्रेम गर्दै आउनुभएको छ र सधैँभरि प्रेम गरिरहनुहुनेछ। उहाँ न्यायलाई पनि प्रेम गर्नुहुन्छ। (भज. ३३:५) त्यसैले हामी यी दुइटा कुरामा विश्‍वस्त हुन सक्छौँ: (१) आफ्ना सेवकहरूले अन्याय भोग्नुपर्दा यहोवालाई दुःख लाग्छ। (२) उहाँले आफ्ना सेवकहरूलाई सधैँभरि अन्याय भोग्न दिनुहुनेछैन। हामीले यस शृङ्‌खलाको पहिलो लेखमाb परमेश्‍वरले इस्राएलीहरूलाई मोसामार्फत दिनुभएको व्यवस्था प्रेममा आधारित थियो भनेर बुझेका थियौँ। त्यस व्यवस्थाले इस्राएलीहरूलाई सबै मानिसप्रति—निस्सहायहरूप्रति समेत न्यायी हुन सिकायो। (व्यव. १०:१८) त्यस व्यवस्थाले यहोवा आफ्ना सेवकहरूको कत्ति धेरै ख्याल राख्नुहुन्छ भनेर प्रकट गर्छ।

२. हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

२ इस्वी संवत्‌ ३३ मा ख्रिष्टियन मण्डलीको स्थापना भएपछि मोसाको व्यवस्था खारेज भयो। त्यसोभए के ख्रिष्टियनहरू प्रेममा आधारित र न्यायी हुन सिकाउने व्यवस्थाबाट वञ्चित हुने थिए त? पक्कै हुने थिएनन्‌। ख्रिष्टियनहरू एउटा नयाँ व्यवस्थाको अधीनमा हुने थिए। यस लेखमा, पहिला हामी त्यो व्यवस्था कुन हो भनेर बुझ्नेछौँ। त्यसपछि यी प्रश्‍नहरूको जवाफ छलफल गर्नेछौँ: यो व्यवस्था प्रेममा आधारित छ भनेर हामी किन भन्‍न सक्छौँ? यसले न्यायी हुन सिकाउँछ भनेर किन भन्‍न सक्छौँ? अनि यस व्यवस्थाअन्तर्गत, अख्तियार पाएकाहरूले अरूप्रति कस्तो व्यवहार गर्नुपर्छ?

“ख्रिष्टको व्यवस्था” के हो?

३. गलाती ६:२ मा उल्लेख गरिएको “ख्रिष्टको व्यवस्था”-ले केलाई समेट्‌छ?

३ गलाती ६:२ पढ्‌नुहोस्‌। ख्रिष्टियनहरू “ख्रिष्टको व्यवस्था”-को अधीनमा छन्‌। येसुले आफ्ना अनुयायीहरूलाई नियमहरूको सूची दिनुभएन बरु उहाँले तिनीहरूलाई निर्देशनहरू, आज्ञाहरू र तिनीहरूको जीवनलाई डोऱ्‍याउने सिद्धान्तहरू दिनुभयो। “ख्रिष्टको व्यवस्था”-ले येसुले सिकाउनुभएका सबै कुरालाई समेट्‌छ। यस व्यवस्थाबारे अझ राम्ररी बुझ्न निम्न कुराहरू छलफल गरौँ।

४-५. येसुले कुन-कुन तरिकामा सिकाउनुभयो? उहाँले कहिले सिकाउनुभयो?

४ येसुले मानिसहरूलाई कुन-कुन तरिकामा सिकाउनुभयो? पहिलो, आफ्नो बोलीद्वारा। उहाँले बताउनुभएका कुराहरू सशक्‍त थिए किनकि उहाँले परमेश्‍वरबारे सत्य कुरा सिकाउनुभयो, जीवनको साँचो उद्देश्‍य के हो भनी बुझाउनुभयो अनि मानिसजातिले भोगिरहेका सबै दुःखकष्ट परमेश्‍वरको राज्यले मात्र हटाउन सक्छ भनेर बताउनुभयो। (लुका २४:१९) येसुले आफ्नो उदाहरणद्वारा पनि सिकाउनुभयो। उहाँले जीवन बिताउने तरिका के हो भनेर चेलाहरूलाई आफ्नो जीवनशैलीद्वारा सिकाउनुभयो।—युह. १३:१५.

५ येसुले कहिले सिकाउनुभयो? उहाँले पृथ्वीमा आफ्नो सेवाको कामको दौडान सिकाउनुभयो। (मत्ति ४:२३) साथै उहाँले मृत्युबाट जीवित भएको केही समयपछि चेलाहरूलाई सिकाउनुभयो। एकचोटि उहाँ लगभग ५०० जना चेलाहरूसामु प्रकट हुनुभयो र “चेला बनाओ” भनी तिनीहरूलाई आज्ञा दिनुभयो। (मत्ति २८:१९, २०; १ कोरि. १५:६) उहाँ स्वर्ग फर्कनुभएपछि पनि मण्डलीको शिरको हैसियतमा चेलाहरूलाई निर्देशन दिइरहनुभयो। जस्तै: इस्वी संवत्‌ ९६ तिर उहाँले प्रेषित युहन्‍नालाई अभिषिक्‍त ख्रिष्टियनहरूलाई प्रोत्साहन र सल्लाह दिन निर्देशन दिनुभयो।—कल. १:१८; प्रका. १:१.

६-७. (क) येसुका शिक्षाहरू कहाँ रेकर्ड गरिएका छन्‌? (ख) हामी ख्रिष्टको व्यवस्था पालन गरेको कुरा कसरी देखाउँछौँ?

६ येसुका शिक्षाहरू कहाँ रेकर्ड गरिएका छन्‌? सुसमाचारका चार वटा किताबमा येसुले भन्‍नुभएका र गर्नुभएका थुप्रै कुरा रेकर्ड गरिएका छन्‌। ख्रिष्टियन ग्रीक धर्मशास्त्रका बाँकी किताबहरूले पनि हामीलाई विभिन्‍न मामिलामा येसुको सोचाइ बुझ्न अझ मदत गर्छ किनकि ती किताबहरूका लेखकहरूले पवित्र शक्‍तिद्वारा प्रेरणा पाएका थिए र तिनीहरूसित “ख्रिष्टको सोचाइ” थियो।—१ कोरि. २:१६.

७ पाठहरू: येसुका शिक्षाहरूले हाम्रो जीवनको सम्पूर्ण पक्षलाई ढाक्छ। त्यसैले ख्रिष्टको व्यवस्थाले हामीले घरमा, काममा, स्कुलमा वा मण्डलीमा गर्ने सम्पूर्ण गतिविधिलाई असर गर्छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्र पढेर र त्यसमा मनन गरेर हामी यो व्यवस्थाबारे सिक्छौँ। हामी यो प्रेरित धर्मशास्त्रमा पाइने निर्देशनहरू, आज्ञाहरू र सिद्धान्तहरूअनुसार जीवन बिताएर ख्रिष्टको व्यवस्था पालन गरेको कुरा देखाउँछौँ। यो व्यवस्था पालन गर्दा हामी वास्तवमा हाम्रा मायालु परमेश्‍वर यहोवाप्रति आज्ञाकारी भइरहेका हुन्छौँ किनकि येसुले सिकाउनुभएका सम्पूर्ण कुराको स्रोत उहाँ नै हुनुहुन्छ।—युह. ८:२८.

प्रेममा आधारित व्यवस्था

८. ख्रिष्टको व्यवस्थाको जग के हो?

८ कुनै घरको जग बलियो छ भने त्यस घरमा बस्नेहरूले सुरक्षित महसुस गर्छन्‌। त्यसैगरि बलियो जगमा बसालिएको उत्तम व्यवस्था पालन गर्नेहरूले सुरक्षित महसुस गर्छन्‌। ख्रिष्टको व्यवस्था सबैभन्दा उत्कृष्ट जगमा बसालिएको छ र त्यो जग हो, प्रेम। हामी किन त्यसो भन्‍न सक्छौँ?

येसु र उहाँका प्रेषितहरूले एक जना विधवाको छोराको लास लगिँदै गरेको देख्नुहुन्छ

अरूलाई मायालु व्यवहार गऱ्‍यौँ भने हामीले “ख्रिष्टको व्यवस्था” पालन गरिरहेका हुन्छौँ (अनुच्छेद ९-१४ हेर्नुहोस्‌)d

९-१०. येसुले हरेक काम प्रेमले उत्प्रेरित भएर गर्नुभयो भनेर कस्ता उदाहरणहरूले देखाउँछ र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ?

९ पहिलो, येसुले हरेक काम प्रेमले उत्प्रेरित भएर गर्नुभयो। कसैप्रति टिठाउँदा वा कोमल करुणा देखाउँदा हामीले तिनीप्रतिको प्रेम झल्काइरहेका हुन्छौँ। येसु पनि मानिसहरूप्रति टिठाउनुभयो। त्यसैले उहाँले भीडलाई सिकाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो, भोकाहरूलाई खुवाउनुभयो अनि मरेकाहरूलाई जीवित पार्नुभयो। (मत्ति १४:१४; १५:३२-३८; मर्कु. ६:३४; लुका ७:११-१५) हुनत यी सबै काम गर्न धेरै समय र शक्‍ति खर्च गर्नुपर्थ्यो। तैपनि उहाँले आफ्नो होइन, राजीखुसीले अरूको आवश्‍यकतालाई पहिलो स्थानमा राख्नुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले अरूको खातिर आफ्नो जीवनै अर्पण गरेर अपार प्रेम देखाउनुभयो।—युह. १५:१३.

१० पाठहरू: हामी पनि आफ्नो होइन, अरूको आवश्‍यकतालाई पहिलो स्थानमा राखेर येसुको अनुकरण गर्न सक्छौँ। इलाकामा भेटिने मानिसहरूप्रति कोमल करुणा देखाउन अझ धेरै प्रयास गरेर पनि हामी उहाँको अनुकरण गर्न सक्छौँ। त्यस्तो करुणाले हामीलाई सुसमाचार प्रचार गर्न र सिकाउन उत्प्रेरित गर्छ अनि यसो गर्दा हामीले ख्रिष्टको व्यवस्था पालन गरिरहेका हुन्छौँ।

११-१२. (क) यहोवा हाम्रो धेरै ख्याल राख्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ? (ख) हामी कसरी यहोवाको प्रेम अनुकरण गर्न सक्छौँ?

११ दोस्रो, येसुले बुबाको प्रेम प्रकट गर्नुभयो। यहोवा आफ्ना उपासकहरूको धेरै ख्याल राख्नुहुन्छ भनेर येसुले आफ्नो सेवाको कामको दौडान देखाउनुभयो। उहाँले मानिसहरूलाई यस्ता कुराहरू सिकाउनुभयो: स्वर्गमा बस्नुहुने बुबाको नजरमा हामी प्रत्येक अनमोल छौँ। (मत्ति १०:३१) पश्‍चात्ताप गरेर मण्डलीमा फर्कन चाहने हराएको भेडालाई स्वागत गर्न यहोवा असाध्यै इच्छुक हुनुहुन्छ। (लुका १५:७, १०) हाम्रो खातिर आफ्नो छोरा नै फिरौतीस्वरूप दिनुभएर पनि यहोवाले हामीलाई असाध्यै प्रेम गरेको देखाउनुभयो।—युह. ३:१६.

१२ पाठहरू: हामी कसरी यहोवाको प्रेम अनुकरण गर्न सक्छौँ? (एफि. ५:१, २) हामी मण्डलीका प्रत्येक दाजुभाइ दिदीबहिनीलाई अनमोल ठान्छौँ अनि यहोवाकहाँ फर्कन चाहने “हराएको भेडा”-लाई मनैदेखि स्वागत गर्छौँ। (भज. ११९:१७६) हाम्रा दाजुभाइ दिदीबहिनीलाई कुनै मदत चाहिएको बेला उनीहरूको खातिर आफ्नो समय र शक्‍ति खर्च गरेर हामी उनीहरूलाई साँच्चै प्रेम गर्छौँ भनेर देखाउन सक्छौँ। (१ युह. ३:१७) यसरी अरूलाई प्रेमपूर्वक व्यवहार गर्दा हामीले ख्रिष्टको व्यवस्था पालन गरिरहेका हुन्छौँ।

१३-१४. (क) युहन्‍ना १३:३४, ३५ मा येसुले आफ्ना अनुयायीहरूलाई कस्तो आज्ञा दिनुभयो र यसलाई किन नयाँ आज्ञा भन्‍न सकिन्छ? (ख) हामी नयाँ आज्ञा कसरी पालन गर्छौँ?

१३ तेस्रो, येसुले आफ्ना अनुयायीहरूलाई आत्मत्यागी प्रेम देखाउन आज्ञा दिनुभयो। (युहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌) येसुको यो आज्ञा नयाँ हो किनकि यो आज्ञा पालन गर्नको लागि व्यवस्थाले माग गरेको भन्दा फरक किसिमको प्रेम देखाउनु आवश्‍यक छ। अर्थात्‌, येसुले हामीलाई जस्तो प्रेम देखाउनुभयो, हामीले पनि सङ्‌गी विश्‍वासीहरूलाई त्यस्तै किसिमको प्रेम देखाउनुपर्छ। यो आत्मत्यागी प्रेमc हो। हामीले आफ्ना दाजुभाइ दिदीबहिनीलाई आफूलाई भन्दा धेरै प्रेम गर्नुपर्छ। येसुजस्तै हामी उनीहरूको लागि आफ्नो ज्यानै दिन इच्छुक हुनुपर्छ।

१४ पाठहरू: हामी यो नयाँ आज्ञा कसरी पालन गर्छौँ? सरल शब्दमा भन्‍नुपर्दा, हाम्रा दाजुभाइ दिदीबहिनीको खातिर त्यागहरू गरेर। हामी उनीहरूलाई यत्ति धेरै प्रेम गर्छौँ कि उनीहरूको खातिर आफ्नो ज्यानै दिनसमेत तयार हुन्छौँ। तर हामी उनीहरूको खातिर सानातिना त्यागहरू गर्न पनि तयार हुन्छौँ। उदाहरणको लागि, आफूलाई असुविधा हुने भए तापनि कुनै वृद्ध भाइ वा बहिनीलाई सभामा उपस्थित हुन मदत गर्दा, आफूले माया गर्ने व्यक्‍तिको खुसीको लागि आफ्नो रुचि त्याग्न तयार हुँदा अथवा जागिरबाट छुट्टी लिएर राहतकार्यमा भाग लिँदा हामीले ख्रिष्टको व्यवस्था पालन गरिरहेका हुन्छौँ। साथै हामीले आफ्नो मण्डलीलाई सबैले सुरक्षित महसुस गर्ने ठाउँ बनाउन मदत गरिरहेका हुन्छौँ।

न्यायी हुन सिकाउने व्यवस्था

१५-१७. (क) येसुको व्यवहारमा न्यायप्रति उहाँको दृष्टिकोण कसरी झल्कियो? (ख) हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

१५ सामान्यतया, बाइबलमा प्रयोग गरिएको “न्याय” शब्दले परमेश्‍वरको नजरमा जे सही छ, त्यही गर्नु र कुनै पक्षपात नगरी त्यसो गर्नु भन्‍ने अर्थ दिन्छ। ख्रिष्टको व्यवस्थाले न्यायी हुन सिकाउँछ भनेर हामी किन भन्‍न सक्छौँ?

पापीनी भनेर चिनिएकी एक स्त्रीले येसुको खुट्टामा सुगन्धित तेल घस्न लागेकी छिन्‌

अरूले तुच्छ ठान्‍ने स्त्रीहरूसित समेत येसुले आदरपूर्वक र दयालु व्यवहार गर्नुभयो (अनुच्छेद १६ हेर्नुहोस्‌)e

१६ पहिलो, येसुको व्यवहारमा न्यायप्रति उहाँको दृष्टिकोण कसरी झल्कियो, त्यो विचार गरौँ। उहाँको समयका यहुदी धर्मगुरुहरूले गैर-यहुदीहरूलाई घृणा गर्थे, आम यहुदीहरूलाई हेय दृष्टिले हेर्थे र स्त्रीहरूलाई पटक्कै आदर गर्दैनथे। तर येसुले भने सबैसित निष्पक्ष व्यवहार गर्नुभयो। उहाँलाई विश्‍वास गर्ने गैर-यहुदीहरूलाई उहाँले स्विकार्नुभयो। (मत्ति ८:५-१०, १३) उहाँले धनी, गरिब केही नभनी सबैलाई प्रचार गर्नुभयो। (मत्ति ११:५; लुका १९:२, ९) उहाँले स्त्रीहरूसित कहिल्यै पनि कठोर व्यवहार गर्नुभएन वा तिनीहरूलाई दुर्व्यवहार गर्नुभएन। बरु अरूले तुच्छ ठान्‍ने स्त्रीहरूसित समेत उहाँले आदरपूर्वक र दयालु व्यवहार गर्नुभयो।—लुका ७:३७-३९, ४४-५०.

१७ पाठहरू: मानिसहरूको सामाजिक ओहदा वा धार्मिक पृष्ठभूमि जस्तोसुकै भए पनि सबैसित निष्पक्ष व्यवहार गरेर अनि सुन्‍न चाहनेहरूजति सबैलाई प्रचार गरेर हामी येसुको अनुकरण गर्न सक्छौँ। ख्रिष्टियन पुरुषहरूले स्त्रीहरूसित आदरपूर्वक व्यवहार गरेर उहाँको अनुकरण गर्न सक्छन्‌। यसरी हामीले ख्रिष्टको व्यवस्था पालन गरिरहेका हुन्छौँ।

१८-१९. येसुले न्यायबारे के सिकाउनुभयो? हामी उहाँले सिकाउनुभएका कुराहरूबाट कस्ता पाठहरू सिक्न सक्छौँ?

१८ दोस्रो, येसुले न्यायबारे के सिकाउनुभयो, त्यो विचार गरौँ। उहाँले आफ्ना अनुयायीहरूलाई अरूसित निष्पक्ष व्यवहार गर्न मदत गर्ने सिद्धान्तहरू सिकाउनुभयो। जस्तै: सुनौलो नियमबारे विचार गरौँ। (मत्ति ७:१२) अरूले हामीलाई निष्पक्ष व्यवहार गरेको चाहन्छौँ। त्यसैले हामीले अरूलाई निष्पक्ष व्यवहार गर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने अरू पनि हामीलाई निष्पक्ष व्यवहार गर्न उत्प्रेरित हुनेछन्‌। तर कसैले हामीसित अन्यायी व्यवहार गरेको छ भने नि? ‘परमेश्‍वरले उहाँलाई दिनरात पुकार्नेहरूको न्याय गरिदिनुहुन्छ’ भन्‍ने कुरामा भरोसा राख्न पनि येसुले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो। (लुका १८:६, ७) एक अर्थमा यो भनाइ एउटा प्रतिज्ञा पनि हो: हाम्रा न्यायी परमेश्‍वरलाई यस अन्तको दिनमा हामीले भोगिरहेका परीक्षाहरू राम्ररी थाह छ र तोकिएको समयमा उहाँले हाम्रो न्याय गरिदिनुहुनेछ।—२ थिस्स. १:६.

१९ पाठहरू: हामी येसुले सिकाउनुभएका सिद्धान्तहरूअनुसार चल्यौँ भने अरूलाई निष्पक्ष व्यवहार गर्न सक्नेछौँ। अनि सैतानको यस संसारमा हामी आफै पनि अन्यायको सिकार भएका छौँ भने यहोवाले हाम्रो न्याय गरिदिनुहुनेछ भन्‍ने कुरा थाह पाउँदा ठूलो सान्त्वना पाउन सक्छौँ।

अख्तियार पाएकाहरूले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ?

२०-२१. (क) अख्तियार पाएकाहरूले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ? (ख) पतिले कसरी आत्मत्यागी प्रेम देखाउन सक्छन्‌? अनि बुबाले आफ्ना छोराछोरीलाई कस्तो व्यवहार गर्नुपर्छ?

२० ख्रिष्टको व्यवस्थाअन्तर्गत, अख्तियार पाएकाहरूले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यो व्यवस्था प्रेममा आधारित भएकोले अख्तियार पाएकाहरूले आफ्नो निगरानीमा भएकाहरूलाई मर्यादित र मायालु व्यवहार गर्नुपर्छ। ख्रिष्टले सिकाउनुभएको मार्ग प्रेमको मार्ग हो भन्‍ने कुरा तिनीहरूले सधैँ सम्झनुपर्छ।

२१ परिवारमा। ‘ख्रिष्टले मण्डलीलाई प्रेम गर्नुभएझैँ’ पतिले पनि आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ। (एफि. ५:२५, २८, २९) आफ्नो भन्दा आफ्नी पत्नीको आवश्‍यकता र रुचिलाई पहिलो स्थानमा राखेर पतिले ख्रिष्टको जस्तै आत्मत्यागी प्रेम देखाउनुपर्छ। केही पुरुषहरूलाई त्यस्तो प्रेम देखाउन गाह्रो लाग्न सक्छ किनकि तिनीहरू आफै पनि एकअर्कालाई निष्पक्ष र मायालु व्यवहार नगरिने वातावरणमा हुर्केका हुन सक्छन्‌। तिनीहरूलाई आफ्नो खराब बानी त्याग्न गाह्रो हुन सक्छ तर ख्रिष्टको व्यवस्था पालन गर्ने हो भने तिनीहरूले त्यसो गर्नै पर्छ। आफ्नी पत्नीलाई आत्मत्यागी प्रेम देखाउने पतिले उनीबाट आदर कमाउनेछन्‌। आफ्ना छोराछोरीलाई माया गर्ने बुबाले उनीहरूलाई कहिल्यै पनि आफ्नो बोली वा व्यवहारद्वारा दुर्व्यवहार गर्नेछैनन्‌। (एफि. ४:३१) बरु उनीहरूलाई माया गरेको र उनीहरूदेखि खुसी भएको कुरा व्यक्‍त गर्नेछन्‌, जसले गर्दा छोराछोरीले सुरक्षित महसुस गर्नेछन्‌। त्यस्तो बुबाले छोराछोरीको माया र भरोसा जित्नेछन्‌।

२२. पहिलो पत्रुस ५:१-३ अनुसार एल्डरहरूको जिम्मामा भएका “भेडा”-हरू कसका हुन्‌? अनि तिनीहरूसित कस्तो व्यवहार गरिनुपर्छ?

२२ मण्डलीमा। एल्डरहरूले आफ्नो जिम्मामा भएका “भेडा”-हरू आफ्नो होइनन्‌ भन्‍ने कुरा बिर्सनु हुँदैन। (युह. १०:१६; १ पत्रुस ५:१-३ पढ्‌नुहोस्‌) “परमेश्‍वरको बगाल,” “परमेश्‍वरसामु” र “परमेश्‍वरको सम्पत्ति”-जस्ता अभिव्यक्‍तिले एल्डरहरूलाई आफ्नो जिम्मामा भएका भेडाहरू यहोवाका हुन्‌ भन्‍ने कुरा सम्झाउँछ। यहोवा आफ्ना भेडाहरूलाई मायालु र कोमल व्यवहार गरिएको चाहनुहुन्छ। (१ थिस्स. २:७, ८) गोठालोको रूपमा आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्ने एल्डरहरूले यहोवाको अनुमोदन पाउँछन्‌। त्यस्ता एल्डरहरूले मण्डलीका दाजुभाइ दिदीबहिनीको माया र आदर पनि कमाउँछन्‌।

२३-२४. (क) कसैले गम्भीर गलत काम गर्दा एल्डरहरूले पूरा गर्नुपर्ने भूमिका के हो? (ख) त्यस्ता मामिलाहरू सम्हाल्दा एल्डरहरूले कस्ता कुराहरू विचार गर्नुपर्छ?

२३ कसैले गम्भीर गलत काम गर्दा एल्डरहरूले पूरा गर्नुपर्ने भूमिका के हो? तिनीहरूको भूमिका यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाको अधीनमा भएका न्यायकर्ताहरू र एल्डरहरूको भन्दा फरक छ। त्यस व्यवस्थाअन्तर्गत ती नियुक्‍त पुरुषहरूले यहोवाको उपासनासित सम्बन्धित मामिलाहरू मात्र नभई झैझगडा र आपराधिक घटनाहरूसित सम्बन्धित मामिलाहरू पनि सम्हाल्थे। तर ख्रिष्टको व्यवस्थाअन्तर्गत भने कसैले गम्भीर गलत काम गर्दा एल्डरहरूको भूमिका त्यस मामिलाको आध्यात्मिक पक्षहरू मात्र सम्हाल्नु हो। झैझगडा र आपराधिक घटनाहरूसित सम्बन्धित मामिलाहरू सम्हाल्ने अधिकार परमेश्‍वरले सरकारी अख्तियारवालाहरूलाई दिनुभएको छ भन्‍ने कुरा तिनीहरू मानिलिन्छन्‌। ती अख्तियारवालाहरूसित जरिबाना तिराउने वा झ्यालखानामा हाल्ने अख्तियार पनि छ।—रोमी १३:१-४.

२४ कसैले गम्भीर गलत काम गर्दा एल्डरहरूले त्यस मामिलाको आध्यात्मिक पक्षहरू कसरी सम्हाल्छन्‌? तिनीहरू धर्मशास्त्रको आधारमा मामिलालाई राम्ररी लेखाजोखा गरेर निर्णय गर्छन्‌। ख्रिष्टको व्यवस्था प्रेममा आधारित छ भन्‍ने कुरा तिनीहरू सधैँ मनमा राख्छन्‌। प्रेमले एल्डरहरूलाई यस्ता कुराहरू विचार गर्न उत्प्रेरित गर्छ: गम्भीर गलत कामको सिकार भएको मण्डलीका सदस्यलाई मदत गर्न के गर्न सकिन्छ? गम्भीर गलत काम गर्ने व्यक्‍तिको सन्दर्भमा भन्‍नुपर्दा, प्रेमले एल्डरहरूलाई यी कुराहरू विचार गर्न उत्प्रेरित गर्छ: के तिनले आफ्नो गल्तीको पश्‍चात्ताप गरेका छन्‌? तिनलाई आध्यात्मिक रूपमा फेरि बलियो हुन कसरी मदत दिन सकिन्छ?

२५. यसपछिको लेखमा हामी कुन प्रश्‍नबारे छलफल गर्नेछौँ?

२५ ख्रिष्टको व्यवस्थाको अधीनमा रहन पाएकोमा हामी धेरै कृतज्ञ छौँ। हामी सबैले यो व्यवस्था पालन गर्न कडा प्रयत्न गऱ्‍यौँ भने मण्डलीलाई यस्तो ठाउँ बनाउन मदत गरिरहेका हुन्छौँ, जहाँ प्रत्येक सदस्यले माया पाएको, बहुमूल्य ठानिएको र सुरक्षित महसुस गर्नेछन्‌। तर हामी यस्तो संसारमा बाँचिरहेका छौँ, जहाँ ‘दुष्ट मानिसहरू झन्‌झन्‌ खराब हुँदै’ गइरहेका छन्‌। (२ तिमो. ३:१३) त्यसैले हामी सधैँ सजग हुनुपर्छ। बाल यौन दुर्व्यवहारसम्बन्धी मामिला खडा हुँदा ख्रिष्टियन मण्डलीले कसरी यहोवाको न्याय झल्काउन सक्छ? यसपछिको लेखले यस प्रश्‍नको जवाफ दिनेछ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • ख्रिष्टको व्यवस्थाको जग के हो?

  • ख्रिष्टको व्यवस्थाले न्यायी हुन सिकाउँछ भनेर किन भन्‍न सक्छौँ?

  • अख्तियार पाएकाहरूले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ?

गीत १५ यहोवाको पुत्रको जय होस्‌!

a यो र यसपछिका दुइटा अध्ययन लेख यहोवा प्रेम र न्यायका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा हामी किन विश्‍वस्त हुन सक्छौँ भनेर छलफल गरिएका शृङ्‌खलाबद्ध लेखहरूको भाग हुन्‌। यहोवा आफ्ना मानिसहरूले न्याय पाएको चाहनुहुन्छ र यस दुष्ट संसारमा अन्याय भोगिरहेकाहरूलाई सान्त्वना दिनुहुन्छ।

b फेब्रुअरी २०१९ अङ्‌कको प्रहरीधरहरा-मा भएको “प्राचीन इस्राएलमा प्रेम र न्याय” भन्‍ने लेख हेर्नुहोस्‌।

c थप व्याख्या: आत्मत्यागी प्रेमले हामीलाई आफ्नो भन्दा अरूको आवश्‍यकता र हितलाई पहिलो स्थानमा राख्न उत्प्रेरित गर्छ। साथै अरूलाई मदत गर्न वा अरूको फाइदाको लागि कुनै कुरा त्याग्न वा आफूलाई कुनै कुराबाट वञ्चित गर्नसमेत हामी इच्छुक हुन्छौँ।

d चित्रको व्याख्या: आफ्नो एउटै मात्र छोरो गुमाएकी विधवालाई देखेर येसु टिठाउनुहुन्छ र त्यस केटोलाई फेरि जीवित पार्नुहुन्छ।

e चित्रको व्याख्या: सिमोन नाम गरेका फरिसीको घरमा येसु खाना खान बस्नुभएको छ। एउटी स्त्री, जो सम्भवतः वेश्‍या थिई, उसले आफ्नो आँसुले येसुको खुट्टा भिजाएर आफ्नो कपालले पुछ्‌छे अनि उहाँको खुट्टामा सुगन्धित तेल घस्छे। सिमोनलाई त्यस स्त्रीले गरेको काम मन गर्दैन तर येसु उसको पक्षमा बोल्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने