निडर तथा चनाखो भएर प्रचार गर्न
१ “सबै सहनशीलता र शिक्षासाथ” “वचन प्रचार गर, समय र बेसमयमा तयार रह” भनी पावलले तिमोथीलाई सल्लाह दिए। “किनकि यस्तो समय आउनेछ जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्” उनले भने। (२ तिमो. ४:२, ३) जति जति हामी अन्तिम दिनका कठिन समयहरूको माझमा पुग्छौं, उति उति नै बढ्दो सङ्खयामा मानिसहरू बाइबलका स्वस्थकर शिक्षाहरूलाई स्वीकार्न अनिच्छुक भइरहेछन्। हामीले बताउने सच्चाइको तिनीहरू बेवास्ता गर्छन्। तिनीहरूले “आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो” लगाएर “जे सुन्नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्छन्।” अरूबेला चाहिं तिनीहरू अहङ्कारी, असंयमी र कहिलेकाहीं कठोर समेत भएर भविष्यवाणी पूरा गर्छन्। यसले गर्दा हामीलाई आफ्नो जिम्मेवारी पूरा गर्न गाह्रो हुन जान्छ। तथापि “असमयमा” पनि हामीले जोडतोडका साथ यो काम जारी राख्नु परेको हुनाकारण हामी निडर तथा चनाखो भएर कसरी प्रचार गर्न सक्छौं?
२ यहोवाका सेवकहरूका लागि विरोध कुनै नयाँ कुरा होइन। आफ्नो ईश्वरीय भक्तिका निम्ति हाबिलको हत्या भएको समयदेखि यहोवाका साँचो उपासकहरूले शैतानको झुन्डको हातमा सतावट भोग्दै आएका छन्। र येशूका शिष्यहरू पनि सताइनेछन् भनेर शास्त्रमा थुप्रै भविष्यवाणीहरूले सङ्केत गर्छन्। (मत्ती २३:३४) विशेषगरी यस अन्तको बेलामा शैतान “आफ्लो अल्प समय थाह पाएर ठूलो क्रोधसँग” यस पार्थिव क्षेत्रमा “एउटा गर्जने सिंह झैं” यहोवाका सकेसम्म थुप्रै सेवकहरूलाई “निल्न हिंडिरहेको छ।” (१ पत्रु. ५:८; प्रका. १२:१२) तर हामीमाथि कठिन जाँचहरू आइपर्नेछ भन्दैमा हामी जानीजानी नचाहिदो सतावट वा सङ्कष्टमा पर्न चाँहदैनौं। यसैकारण त येशूले हामीलाई “सर्प झैं चनाखो” र विरोधगर्ने मानिसहरूदेखि “होसियार” हुन आग्रह गर्नु भयो। तर हामी यसो कसरी गर्न सक्छौं?—मत्ती १०:१६.
३ येशूको उदाहरण: विश्वमा सबैभन्दा प्रमुख सुसमाचारकको हैसियतमा येशूले निडर र चनाखो हुने विषयमा हाम्रा लागि के उदाहरण कायम गर्नु भयो? यहोवाको व्यवस्थाको दुरुपयोग गर्दै मुनाफा कमाउन खोज्ने व्यापारीहरूलाई मन्दिरबाट लघार्दा येशूले दुई पटक जोरदार कदम चाल्नु भएको के तपाईंलाई याद छ? (यूहन्ना २:१३-१७; मत्ती २१:१२, १३. सबैभन्दा महान पुरुष पुस्तकको अध्याय १६ र १०३ हेर्नुहोस्) यसबाहेक कैयौं पटक उहाँले शास्त्री र फरिसीहरूको कपटपूर्ण उपासनाको पनि निन्दा गर्नु भयो। यसो गर्दा उहाँले कहिले चाहिं उदाहरणहरू चलाउनु हुन्थ्यो र कहिले भने स्पष्ट तर कडा भाषा प्रयोग गर्नु हुन्थ्यो।—मत्ती १६:६, १२; अध्याय २३.
४ त्यस्तैगरी आज हामी पनि सेवकाईमा निडर हुनु पर्छ। तथापि झुट्टा उपासनासित सम्बन्धित वस्तुहरूलाई प्रत्यक्षतया नाश गर्ने अधिकार हामीसित छैन; नता यसप्रकारको उपासनामा भाग लिने व्यक्तिहरू-को हामी निन्दा नै गर्छौं। तापनि झूटलाई खण्डन गर्न र खतम पार्न हामी सधैं परमेश्वरको वचनलाई तरवार झैं चलाउन तयार रहन्छौं। (एफिसी ६:१७; हिब्रू ४:१२) मानिसहरूले अनन्त जीवन पाउने एक मात्र उपाय आत्मा र सत्यतामा यहोवाको उपासना गर्नु हो भनी हामी निडरता साथ घोषणा गर्छौं। हामी मानिसहरूलाई खुशी तुल्याउन कहिले पनि परमेश्वरको समाचारमा मिसावट गर्दैनौं नता विभिन्न धर्महरूसित मिल्नका लागि आफूले विश्वास गरेका कुराहरूसित सम्झौता नै गर्छौं वा झुट्टा उपासनालाई कुनै पनि रीतिले समर्थन गर्दैनौं। हाम्रो यसप्रकारको निडरताले गर्दा हामीसित सहमति नराख्ने मानिसहरूसित अक्सर हाम्रो मुठभेट हुन सक्छ। त्यसो हुँदा के गर्ने?
५ चनाखो हुने: फेरि एकपटक हामी येशूको उदाहरणलाई हेरौं। तपाईंलाई यादै होला, एकताका विश्रामको दिनमा येशूले हात सुकेको एक जना मान्छेलाई निको पार्नु हुन्छ कि हुँदैन भनेर शास्त्री र फरिसीहरूले उहाँसित निहुँ खोज्ने मौका खोजिरहेका थिए। तर त्यतिखेर त येशूले निडरतासाथ हात सुकेको मान्छेलाई सभाघरको “बीचमा” बोलाउनु भएर निको पार्नु भयो, होइन र? हो, पार्नु भयो। तर ती शास्त्री र फरिसीहरू “रिसले बौह्लाएर” उहाँलाई मार्ने षडयन्त्र गरेको थाह पाएपछि पनि के उहाँ सतावट भोग्न तयार हुनु पर्छ भन्दै त्यहीं नै अल्याङ्गटल्याङ्ग गरी रहनु भयो र? गर्नुभएन! “येशू त्यहाँबाट पन्सिनु भयो।”—मत्ती १२:१४-१७; लूका ६:६-११. सबैभन्दा महान पुरुष पुस्तक, अध्याय ३२ र ३३ पनि हेर्नुहोस्।
६ तपाईंलाई त्यस घटनाको पनि सम्झना होला जब येशूले मन्दिरमा कडाकडीसाथ फरिसीहरूको निन्दा गर्दै तिनीहरू आफ्ना पिता शैतानबाट हुन् भन्नु भएको थियो। यतिमै तिनीहरूले उहाँलाई हान्न ढुङ्गाहरू उठाएका थिए। तर येशू चाहिं ढुङ्गा थाप्न त्यहाँ ठीङ्ग उभिरहनु भएन। बरु उहाँ लुक्नु भयो र केही समयपछि मन्दिरबाट सुटुक्क जानुभयो। (यूहन्ना ८:३७-५९) तर फेरि अर्कोपटक उहाँले यहोवासितको आफ्नो सम्बन्ध खुलेआम बताउनु भएपछि यहूदीहरूले “उहाँलाई हान्न ढुङ्गा” उठाउँदा नि? उहाँले तिनीहरूसित तर्कानुसार कुरा गर्ने कोसिस गर्नुभयो। तर तिनीहरूले “फेरिपनि उहाँलाई पक्रन” खोज्दा उहाँ त्यहाँबाट भाग्न लाज मान्नु भएन। उहाँ भाग्नु भयो र “तिनीहरूको हातबाट निस्किजानुभयो।” भनौंभने, यस बखत उहाँले त्यस इलाकालाई नै छाड्न उचित ठान्नु भयो।—यूहन्ना १०:२४-४२; मत्ती १०:२३-सित तुलना गर्नुहोस्। साथै, सबैभन्दा महान पुरुष पुस्तकको अध्याय ६९ र ८१ हेर्नुहोस्।
७ हाम्रो प्रचार-क्षेत्रमा: येशूको उदाहरण अनुसरण गर्दै हामीले जति नै मिलनसारिता साथ परमेश्वरको राज्यको सुसमाचार प्रचार गरे तापनि हाम्रो कामको विरोध गर्ने घरधनीहरू हामीले भेट्ने नै छौं। हामीले आफ्नो अडान आदरपूर्वक बताउँदा पनि त्यस व्यक्तिको मनोवृत्तिमा परिवर्तन आउँदैन भने शिष्टतासाथ वार्तालाप टुङ्ग्याएर अर्को घरतिर लाग्नु नै अक्सर सबैभन्दा बेस हुन्छ।—मत्ती १०:१४.
८ तर कहिलेकाहीं त ढोकाबाटै कराउन थाल्ने मानिससित पनि हाम्रो भेट हुन्छ। यस्तो बेलामा चाहिं त्यस दिनका लागि त्यो इलाकालाई नै छाड्नु बुद्धिमानीको कुरा हुन सक्छ। त्यहाँ छेउछाउका घरहरूमा कुनै अर्को दिन आउन सकिन्छ। तथापि कुनै खास इलाकामा हामीले यस्तै अनुभवको सामना बारम्बार गर्नु पऱ्यो भने नि? सायद भीड जम्मा भएर हामीलाई हानि पुऱ्याउने धम्की देलान्। यस्तो भएमा, त्यो गोलमाल शान्त नहोउञ्जेल त्यहाँ केही हप्ता अथवा महिनासम्म नजानु नै उचित हुन्छ। केही समयपछि हामीले त्यहाँ फेरि होसियारीसाथ आफ्नो काम सुरु गर्न सक्छौं। त्यहाँका मानिसहरूको विचारमा केही परिवर्तन आयो कि अथवा हाम्रो समाचारप्रति तिनीहरूको अलिकता राम्रो प्रतिक्रिया भयो-भएन, सो थाह लाउन सकिन्छ।—मानिसहरूले हामीलाई तिनीहरूको घरमा जान निषेध गर्दा अथवा यस प्रकारको सूचना आ-आफ्नो ढोकामा टाँस्दा के गर्नु पर्ने हो, सो जानकारीका लागि यसै हाम्रो राज्य सेवकाई-को प्रश्न पेटीलाई हेर्नुहोस्।
९ तर हामी सुरुदेखि नै चनाखो हुँदा यसप्रकारको स्थिति अक्सर खडा हुँदैन। हामीलाई थाह छ कि आज धेरै जना मानिसहरूले आफ्नो धर्मप्रति एउटा कट्टरपन्थी दृष्टिकोण अपनाइरहेका छन्। यस्तो दृष्टिकोण राख्ने मानिसहरूको बाहुल्य कुनै एउटा क्षेत्रमा छ अथवा कुनै एउटा धर्मलाई विशेष महत्त्व दिने नारा वा स्टिकरहरू कुनै ढोकामा टासिएको छ भने, हामी आफूले प्रयोग गर्ने शब्दहरूबारे निकै नै होसियार हुनु पर्छ। ‘बाइबल’ अथवा कुनै ‘मसीही’ सङ्गठनबाट आएका हौं भनेर आफ्नो परिचय दिनुभन्दा बरु हामीले आफ्नो कामको शैक्षिक पक्षमाथि जोर दिन सक्छौं। मानिसहरूलाई परमेश्वरको वचन देखाउन र त्यसबाट पढेर सुनाउन हामी कहिले पनि बन्द गर्न चाँहदैनौं। तापनि, बाइबल प्रयोग गर्दा होसियार हुनु राम्रो हो। कुनै शास्त्रपद देखाउन चाहन्छौं भने पनि त्यसलाई पहिले विचार पुऱ्याएर रोज्नु बेस हुन सक्छ। साथै, मानिसहरूलाई अप्रसन्न तुल्याउने शब्दहरू अर्थात् ‘मिसनरी,’ ‘प्रचार’ र विशेषगरी ‘धर्म-परिवर्तन’ जस्ता अभिव्यक्तिहरूको अनावश्यक प्रयोग गर्नु भएन।
१० हामी होसियार हुनु पर्ने अझ एउटा अर्को क्षेत्र पनि छ। भविष्यवाणीमा भनेअनुसार आज सबै जातिहरू, भाषाहरू, राष्ट्रहरू र बेग्ला-बेग्लै धर्मका मानिसहरू पनि यहोवाको उच्च उपासना तर्फ ओइरी रहेछन्। (यशैया २:२, ३; प्रका. ७:९) यसलाई हामी यहोवाको आशिष मान्छौं र यसरी थोरै चाहिं हजार हुँदा हामी हर्षित हुन्छौं। (यशै० ६०:२२) तापनि साँचो उपासनाको पक्षमा अडान लिने कुनै व्यक्तिको धार्मिक पृष्ठभूमिको जताततै प्रचार गर्नु आवश्यक छैन।
११ घरघर जाँदा अथवा अन्य ठाउँमा पनि केही भाइहरूले नयाँ प्रकाशकहरूको परिचय दिंदा तिनीहरूको धार्मिक पृष्ठभूमि बताउने गरेका छन्। साथै यी प्रकाशकहरूले आफ्नो जीवनमा ल्याएका परिवर्तनहरू तर्फ पनि घरधनीको ध्यान आकर्षित गर्ने गर्छन्। तर यसप्रकारको कुराले घरधनीलाई अप्रसन्न पार्न सक्छ र हाम्रो उद्देश्य चाहिं कुनै खास धर्मका मानिसहरूलाई ‘मसीही’ बनाउने रहेछ भन्ने धारणा उनको मनमा पर्न सक्छ। परमेश्वर पक्षपात गर्नु हुन्न। उहाँले हर धर्मका सबै मानिसहरूलाई आशाको एउटा सन्देश दिनु हुँदैछ र विभिन्न पृष्ठभूमिका मानिसहरूले त्यसलाई स्वीकारी रहेका छन्। (प्रेरित १०:३४, ३५) कुनै व्यक्ति यहोवाको उपासक हुँदा हामी खुशी हुन्छौं र उनको धार्मिक पृष्ठभूमि जे भए तापनि हामी उनको स्वागत गर्छौं। तर उनको धार्मिक पृष्ठभूमि र उनले आफ्नो जीवनमा ल्याएको जति नै ठूलो परिवर्तनलाई पनि विशेष महत्त्व दिएर आमप्रचारको विषय बनाउने खाँचो चाहिं छैन।
१२ जति जति अन्त नजिक आउँछ उति उति हामीमाथि सतावट बढ्ने र मानिसहरूको बानी व्यवहार पनि बिग्रने हामी आशा गर्न सक्छौं। (२ तिमो ३:१२, १३) तर इतिहासभरि हाम्रा यतिका धेरै सङ्गी दासहरू विजयी भएको हुनाले हामी पनि यहोवाको आत्माको मदतद्वारा विजयी हुन सक्छौं भन्ने हाम्रो विश्वास बलियो हुन्छ। तर हालचाहिं हामी “परमेश्वरको मुक्ति दिने शक्ति सबै मानिसहरूलाई” निडर तथा चनाखो भएर प्रचार गरी नै रहनेछौं।—तितस २:११.