प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 नोभेम्बर p. ३
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • बेथेल भनेको के हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 नोभेम्बर p. ३

बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक

१ यहोवाले यी आखिरी दिनमा गरिरहनुभएका कामहरू देखेर हामी रोमाञ्चित छौं। यो समयमा परमेश्‍वरका जनहरूले देखाउने उल्लेखनीय गुन, राज्य सेवामा सक्रिय भाग लिने स्वेच्छा हुनेछ भनेर भजन ११०:३ ले संकेत गर्छ। सारा संसारभरि यहोवाका जनहरूले राज्यको सुसमाचार प्रचार गर्न आफ्नो समय र शक्‍ति खर्च गरिरहेका छन्‌। प्रोक्लेमर्स्‌ (उद्‌घोषकहरू) पुस्तकको पृष्ठ २९५ मा यस्तो लेखिएको छ: “केही व्यक्‍तिहरू विश्‍वव्यापी बेथेल परिवारको सदस्यको हैसियतमा सेवा गर्छन्‌। यो परिवार पूर्ण-समय सेवकहरूको परिवार हो र बाइबल साहित्य तयार पार्ने, छाप्ने, आवश्‍यक कार्यालय सञ्चालन गर्ने र यी सबै कामहरू सुचाररूपले सञ्चालन गर्न खाना पकाउने, सर-सफाई गर्ने, लुगा धुने आदि जस्ता कामहरू तिनीहरू स्वेच्छापूर्वक गर्छन्‌। व्यक्‍तिगत प्रतिष्ठा वा भौतिक सर-सम्पत्ति प्राप्त गर्न तिनीहरूले यी कामहरू गर्दैनन्‌। बरु तिनीहरू यहोवाको आदर गर्न चाहन्छन्‌ र व्यक्‍तिगत खर्चका लागि दिइने साधारण भत्तालगायत भोजन तथा बासका लागि जे-जस्ता प्रबन्ध गरिएका छन्‌, त्यसमा सन्तुष्ट छन्‌।” तपाईं बेथेलमा घुम्न गइसक्नुभएको छ भने केही हदसम्म त्यहाँ हुने कामसित परिचित भइसक्नुभयो होला। तथापि, सेवा गर्ने यो अद्वितीय अवसरप्रति तपाईंको मूल्यांकन बढाउन र सोसाइटीको आवश्‍यकता महसुस गराउन हामी थप जानकारी दिन चाहन्छौं।

२ बेथेल सेवा र त्यसको मूल्यवान्‌ सम्पदाको महत्त्व बुझाउनअघि आउनुहोस्‌ यहोवाको संगठनका केही पुराना तथा ताजा अनुस्मरणहरू केलाऔं। झन्डै १९ वर्षसम्म वाच टावर सोसाइटीको मुख्यालय ५०-६० आर्क स्ट्रिट, आलेगेनी, पेन्सिलभानियास्थित चार तल्ले भवनमा थियो। त्यतिबेला यसलाई बाइबल हाउस भनिन्थ्यो। तथापि, सन्‌ १९०८ सम्ममा बाइबल हाउसका परिवार वा सोसाइटीको मुख्यालयका कामदारहरू ३० जना पुगिसकेको थियो। विस्तार गर्नुपर्ने समय थियो। अतः ईश्‍वरीय निर्देशन खोजिसकेपछि भाइहरूले ब्रूकलिनलाई नै योग्य ठाउँ चुने र ब्रूकलिन १३-१७ हिक्स स्ट्रिटमा भवन किनेर त्यसलाई सोसाइटीको कार्यालय र सभा भवनमा परिवर्तन गरे। यी कार्यालयहरू जनवरी ३१, १९०९ देखि सञ्चालन हुन थाले। तर त्यतिञ्जेलसम्म हिक्स स्ट्रिटको यो भवनमा कुनै बासको सुविधा थिएन। किनभने सुरु-सुरुमा बासका लागि अरू नै घर भाडामा लिने विचार गरिएको थियो। तथापि, ब्रूकलिन हाइट्‌समा कुनै पनि घर भाडामा भेटिएन। तर चाँडै नै १२४ कोलम्बिया हाइट्‌सस्थित हेनरी वार्ड बिचर भन्‍नेको चार तल्ले घर “सुपथ मूल्यमा” किन्‍न पाउँदा भाइहरू आनन्दित मात्र होइन, छक्कै परे। साथै नजीकैको १२६ कोलम्बिया हाइट्‌स घर पनि किनियो। त्यसपछि, मार्च १, १९०९ का दिन वाच टावर-ले हर्षपूर्वक यो घोषणा गऱ्‍यो: “यो नयाँ घरलाई अब हामी बेथेल भन्‍नेछौं।” यसरी पिट्‌सबर्गको “बाइबल हाउस” को ठाउँ नयाँ नाउँले लियो। अप्रिल १९०९ मा बेथेलमा काम सुरु भयो र बेथेल परिवार आफ्नो नयाँ घरमा सरे। बितेको ८६ वर्षदेखि ब्रूकलिन बेथेल यही ठाउँमा छ।

३ के सोसाइटीको मुख्यालयका लागि बेथेल नाउँ सुहाउँदो छ? त्यसोभए यो नाउँको सुरुआत र सम्बन्धबारे बाइबलले के भन्छ, ध्यान दिनुहोस्‌। उत्पत्ति अध्याय २८ ले ७७ वर्षीय अविवाहित याकूबबारे झन्डै ३,७०० वर्षअघिको घटना बताउँछ। याकूब पवित्र कुराहरूको आदर गर्थे। तर तिनको जम्ल्याह दाइ एसावले तिनलाई घृणा गर्थे। अतः आफ्नो पिता इसहाकको आज्ञाअनुसार याकूब बेर्शेबाबाट उत्तरतर्फ, अब्राहामका नातेदारहरूको देशतर्फ लागे र तिनले त्यहीं विवाह गर्ने विचार पनि गरेका थिए। लगभग १०० किलोमिटर यात्रा गरेपछि याकूब यहूदियाको पहाडमा लूज भन्‍ने ठाउँमा राती बास बसे। त्यसपछि, उत्पत्ति २८:१०-१९ पढ्यौं भने कसरी यहोवाले याकूबलाई ईश्‍वरीय अनुमोदनको पूर्ण आश्‍वासन दिनुभयो भन्‍ने विषयमा रोमाञ्चकारी विवरण हामी पाउँछौं। सपनामा याकूबले स्वर्गसम्मै पुग्ने भऱ्‍याङ देखे। त्यो भऱ्‍याङको टुप्पोमा यहोवा हुनुहुन्थ्यो र स्वर्गदूतहरू त्यही भऱ्‍याङ चढेर तलमाथि ओहोरदोहोर गरिरहेका थिए। त्यसपछि यहोवाले बोल्नुभयो र वंशबारे अब्राहामसित गरिएको प्रतिज्ञा याकूबलाई हस्तान्तरण गरिएको कुरा पुष्टि गर्नुका साथै तिनलाई कहिल्यै नत्याग्ने वचन दिनुभयो। आध्यात्मिक कुरा मन पराउने याकूब यस्तो सपना देख्दा कति भयभीत भए होलान्‌! अतः त्यो ठाउँ तिनको लागि विशेष स्थान हुनु कुनै अनौठो कुरा होइन। तिनको लागि त्यो ठाउँ “परमेश्‍वरको घर” अर्थात्‌ हिब्रू भाषामा बेतेल थियो। हिब्रू भाषामा बेत को अर्थ “घर” र तेल को अर्थ “परमेश्‍वर” हुन्छ।—उत्प. २८:१९, पादटिप्पणी।

४ यसप्रकार, बेथेलको गहिरो ऐतिहासिक पृष्ठभूमि भएकोले त्यो नाउँ यहोवाका जनहरूको विश्‍व मुख्यालयलाई उपयुक्‍त छ। आज परमेश्‍वरका सेवकहरूले ईश्‍वर प्रेरित सपनाहरू देख्दैनन्‌। स्वर्गदूतहरू बेथेलबाट स्वर्गसम्म तलमाथि गरिरहेको पनि देखिंदैन। हाम्रा भाइहरूले न दर्शन देख्छन्‌ न ता परमेश्‍वरले प्रत्यक्ष बोल्नुभएकै सुन्छन्‌। तैपनि बितेका ८६ वर्षभित्र, भाइ रसलको समयदेखि अहिलेसम्म बेथेलमा भएका घटनाहरूलाई विचार गर्ने हो भने यहोवाले बेथेलमा आफ्नो अभिषिक्‍त सेवक अर्थात्‌ अब्राहामका अभिषिक्‍त वंशको सदस्यहरूलाई समर्थन गरिरहनुभएको छ भन्‍ने कुरामा कुनै शंका हुनेछैन। आधुनिक साक्षीहरूको अधिकांश उल्लेखनीय ऐतिहासिक घटनाहरू ब्रूकलिन बेथेलसँग सम्बन्धित छन्‌! तीमध्ये केही यसप्रकार छन्‌:

▪ अक्टोबर २, १९१४ का दिन बेथेल डाइनिंग हलभित्र प्रवेश गर्ने बित्तिकै भाइ रसलले यसो भन्दै एकदम सही घोषणा गरे: “अन्यजातिको समय सकियो; तिनीहरूका राजाहरूको दिन अब सकियो।”

▪ सन्‌ १९२० को प्रारम्भतिर सोसाइटीको सम्पादकीय दलका सदस्यले प्रभातकालीन उपासनामा “परमेश्‍वरको संगठन” भन्‍ने अभिव्यक्‍ति चलाए। यो अभिव्यक्‍तिले भाइहरूको सोचाइलाई निकै उत्तेजित गरायो। फलतः सन्‌ १९२५ सम्ममा तिनीहरूले यहोवा र शैतानको दुइ भिन्‍न प्रतिद्वन्दी संगठनहरू छन्‌ भनी बुझिसकेका थिए।—w85 3/15 पृ. १०.

▪ सन्‌ १९३१, कोलम्बस, ओहायोमा आयोजित अधिवेशनको केही समयपश्‍चात्‌को कुरा हो। एक दिन बिहान सबेरै सोसाइटीका अध्यक्ष भाइ रदरफोर्डले यहोवाका साक्षीहरू भन्‍ने नाउँले परमेश्‍वरका सेवकहरू र तिनीहरूले गरिरहेको कामको सही परिचय दिन्छ र तिनीहरू उहाँका साक्षीहरू भनी चिनिनुपर्छ भनेर बताए।—yb75 पृ. १५१.

▪ सन्‌ १९३५ को प्रारम्भतिर “ठूलो भीड़” को हो भन्‍ने प्रश्‍न गरिएको थियो। (प्रका. ७:९) र त्यतिबेला यो भीडमध्येका कसै-कसैले दिएको जवाफले तिनीहरू पार्थिव वर्गका रहेछन्‌ भन्‍ने संकेत गऱ्‍यो। त्यसपछि सन्‌ १९३५, मे ३१ तारिख वाशिङटन डि. सि. अधिवेशनको दौडान उक्‍त प्रश्‍नको चित्तबुझ्दो जवाफ दिइयो।—jv पृ. १६६.

५ यहोवाले कसरी आफ्नो पवित्र आत्माद्वारा बेथेलमा आफ्ना विश्‍वासी अभिषिक्‍त सेवकहरूलाई निर्देशन दिनुका साथै समर्थन जनाउनुहुन्छ भनेर यी केही उदाहरणहरूले देखाउँछ। स्वर्गदूतहरूले नि? हाम्रा शत्रुहरूले गरेको सम्पूर्ण कटु विरोध र कच्चा पदार्थहरूको हाहाकार हुँदा वर्षौंसम्म भोग्नुपरेका कठिनाइहरूलाई विचार गर्ने हो भने त्यस्तो बेला स्वर्गदूतीय सुरक्षा र सहयोगबिना बेथेल सञ्चालन हुनसक्ने थिएन भनेर निसंकोच भन्‍नसक्छौं।

६ संयुक्‍त राज्यस्थित मुख्यालयलगायत संसारभरि लोनाभलाजस्ता १०० वटा शाखाहरूमा अरू बेथेल परिवारहरू छन्‌। बेथेलबारे अर्गनाइज्ड टु अकम्प्लिस आवर मिनिस्ट्री, (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पृष्ठ ११६ मा यसो भन्छ: “बेथेल नाउँ . . . यी ईश्‍वरतान्त्रिक गतिविधिहरू हुने केन्द्रहरूलाई सुहाउँछ।” त्यसोभए, बेथेल स्वयंसेवकहरूलाई कस्ता कामहरू गर्न खटाइन्छन्‌ त?

७ थरिथरिका कामहरू: बेथेल परिवारका सदस्यहरूलाई विभिन्‍न कामहरूमा खटाइएका हुन्छन्‌। ब्रूकलिन र भारतलगायत अन्य शाखाहरूमा केही भाइहरू विश्‍वव्यापी वितरणका लागि किताप, (र कुनै कुनै शाखाहरूमा बाइबल पनि), पत्रिका, पुस्तिका तथा पर्चाहरू छाप्ने काम गर्छन्‌। अरू चाहिं त्यही बाइबल, कितापहरू सिलाउने गर्छन्‌। अरू भाइहरूले संसारभरिका मण्डलीहरूलाई ती पुस्तक, पत्रिकाहरू ढुवानी गर्ने काम गर्छन्‌। र बाँकी अरू थुप्रैलाई भवन तथा सर-सामान सँभार गर्न खटाइएको हुन्छ। यद्यपि, बेथेल घरमा गरिने धेरैजसो कामहरू परिवारको रेखदेखसित सम्बन्धित हुन्छन्‌। उदाहरणका लागि, ब्रूकलिन बेथेलमा बिहान २० मिनेट भित्र सालाखाला ३,७०० जना मानिसहरूलाई १२ वटा डाइनिंग हलमा चमेना टक्राइन्छ। लुगा धुन खटाइएका भाइबहिनीहरूले हरेक हप्ता १३,००० कमिजलगायत १६,००० किलो लुगा धुन्छन्‌। यसबाहेक बेथेल घरको सरसफाइ गर्न खटाइएका भाइबहिनीहरूले ब्रूकलिनस्थित २१ वटा निवासस्थानहरूमा उच्चस्तरीय सफाइका साथै अन्य थुप्रै अत्यावश्‍यक कामहरू गर्छन्‌। भारतको बेथेल परिवारका २३० सदस्यहरूले पनि त्यस्तै सुविधा पाउँछन्‌।

८ योग्यता तथा आवश्‍यकता: यी सबै काम गर्न शारीरिक बल चाहिने हुँदा, हाल स्वस्थ जवान अविवाहित पुरुषहरू आवश्‍यक छन्‌। बेथेल सेवाका लागि निवेदन दिने जवान पुरुष समर्पित र बप्तिस्मा लिएको कम्तीमा एक वर्ष भइसकेको हुनुपर्छ। तिनी सेवानिष्ठ आध्यात्मिक व्यक्‍ति हुनुपर्छ। साथै कडा मेहनत गर्न इच्छुक हुनुपर्छ। आज संसारमा अधिकांश मानिसहरू कडा मेहनत गर्नदेखि उम्कन खोज्छन्‌। अतः बेथेल सेवाका लागि निवेदन दिने जवान पुरुषले नयाँ व्यक्‍तित्व धारण गरेर कडा मेहनत र आफ्नै हातले असल काम गर्न इच्छुक हुनुपर्छ। (एफिसी ४:२८ तुलना गर्नुहोस्‌।) त्यसको अर्थ व्यक्‍तिगत आनन्द, मनोरञ्जनतर्फ उसको झुकाव हुनु हुँदैन। बेथेल सेवा गर्ने निर्णय गर्नुअगावै उसले आफ्नो जवानीका लालसाहरूलाई पन्छाइसकेको हुनुपर्छ। यस सम्बन्धमा पावलले १ कोरिन्थी १३:११ मा सुहाउँदा शब्दहरू लेखे: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें, तर अब म जवान भएको छु, र केटा-केटीको कुरो छोड़िदिएको छु।”

९ के तपाईं १९ देखि ३५ वर्षबीचको हुनुहुन्छ? के तपाईं शारीरिक तथा भावनात्मक दुवै तरिकामा स्वस्थ हुनुहुन्छ? के तपाईं अलिकता भए पनि अंग्रेजी बोल्न सक्नुहुन्छ? के तपाईं यहोवा तथा उहाँको संगठनप्रति गहिरो प्रेम राख्ने आध्यात्मिक व्यक्‍ति हुनुहुन्छ? बेथेल बोलाइएमा के तपाईं एक वर्ष मात्र भए पनि बेथेलमै बसेर आफूलाई दिइएको जस्तोसुकै काम विश्‍वासीपूर्वक गर्नुहुनेछ? यदि तपाईं यी सबै प्रश्‍नहरूको सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने बेथेल सेवा गर्ने अद्वितीय अवसर स्वीकार्नेतर्फ विचार गर्न सक्नुहुन्छ। आशिष्‌हरू प्रशस्त छन्‌।

१० बेथेल सेवाका आशिष्‌हरू: जून १५, १९९४ को द वाचटावर-मा “‘परमेश्‍वरको भवनलाई’ मूल्यांकनको दृष्टिले हेर्ने” शीर्षक भएको लेखमा यस्तो लेखिएको थियो: “कुनै सम्मेलनमा उपस्थित हुनुहुँदा के तपाईं आफ्नो वरपर यहोवाका आनन्दित उपासकहरू देख्न पाउँदा गहिरो सन्तुष्टि अनुभव गर्नुहुन्छ? अब कल्पना गर्नुहोस्‌, बेथेलमा काम गर्ने मानिसहरूले त हरेक दिन आफ्ना भाइहरूको समूहबीच यहोवाको सेवा गर्ने सुअवसर पाएका हुन्छन्‌! (भजन २६:१२) आध्यात्मिक उन्‍नति गर्ने कति राम्रो अवसर! एक जना भाइअनुसार बेथेलबाहिर तीन वर्षभित्र सिकेको कुराले भन्दा बेथेलमा एक वर्षभित्र सिकेका कुराले तिनको व्यक्‍तित्व विकास गर्न धेरै मदत पुऱ्‍यायो। किन? किनभने तिनले बेथेलमा थुप्रै परिपक्व मसीही व्यक्‍तित्वहरूको विश्‍वास देख्न र अनुकरण गर्न पाए।” (हितो. १३:२०) निस्सन्देह, यो बेथेल सेवाको अद्वितीय आशिष्‌हरूमध्ये एक हो।

११ बेथेल स्वयंसेवकहरूले शाखा समितिका सदस्यहरूका साथै पुराना विश्‍वासी भाइहरूसित घनिष्ठ संगत गर्न पाएका हुन्छन्‌। आफूलाई जुनसुकै काम गर्न खटाइएको होस्‌ त्यस्ता विश्‍वासी, वफादार संगीहरूसित मिलेर काम गर्न पाउनु आशिष्‌को कुरा हो। ब्रूकलिन बेथेल परिवारका सदस्यहरूले बेथेल सेवाबारे पोखेका केही विचार तल दिइएको छ। तिनीहरूको त्यस्तो विचारले बेथेल सेवाजस्तो अमूल्य सुअवसर पाउनेहरूको भावना प्रकट गर्छ:

▪ बेथेलमा विभिन्‍न जिम्मेवारीहरू सँभालेर ६२ वर्ष बिताइसकेका भाइले बेथेलको मनोभावनाबारे यस्तो टिप्पणी गरे: “हामी एउटा परिवार हौं; हामी सबै जना भाइहरू हौं। हामी सँगै काम गर्छौं। हामी सबैको आ-आफ्नै काम छ। भाइहरूले कडा परिश्रम गरेको देख्न पाउँदा रमाइलो लाग्छ। किनभने तिनीहरूले कति प्रयत्न गर्दैछ भनेर तपाईं देख्नसक्नुहुन्छ। हाम्रा भाइहरू सफाइ विभागमा काम गर्छन्‌। यो ठाउँ सफा राखे परिवार स्वस्थ हुन्छ र परिवार स्वस्थ भए, त्यो फलदायी हुन्छ। त्यसैकारण त्यो अत्यावश्‍यक छ। त्यस्तैगरि अफिसमा काम गर्ने मानिसहरू पनि हुनुपर्छ। हामी सबै मिल्छौं र मिलेर फल फलाउँछौं। त्यो हो, विश्‍वव्यापी राज्य साक्षी। बेथेल, यहोवाको सेवामै जीवन बिताउने सबैभन्दा उत्तम स्थान हो। यदि तपाईं पूर्ण-समय सेवा गर्न चाहनुहुन्छ भने तपाईंका लागि बेथेल सबैभन्दा उत्तम स्थान हो। बेथेलमा तपाईंले सबै कुरा पाउनुहुन्छ। अझ हामी थप कुराहरूको आनन्द उठाउँछौं। संसारको चारैकुनाबाट खबरहरू आउने हुँदा तपाईंले संगठन कसरी चल्दैछ भनेर देख्नुहुन्छ।”

▪ आजभन्दा ४८ वर्षअघि किताप सिलाउने काम गरेर बेथेल सेवा सुरु गर्ने ७५ वर्षीय अभिषिक्‍त भाइले यसो भने: “यहोवाका समर्पित र बप्तिस्माप्राप्त भाइहरूबीच बस्न पाउनु आनन्दको कुरा हो। बेथेलमा काम गर्न आउने जवान केटो देख्दा म प्रफुल्लित हुन्छु र यहोवालाई धन्यवाद दिन्छु। किनकि त्यो केटोले यहाँ बेथेलमा सुखी जीवन पाउनेछ भनेर मलाई थाह छ।” बेथेलमा प्रिय लाग्ने कुराहरूबारे तिनीले यसो भने: “मलाई बेथेलका मानिसहरू मन पर्छ। मलाई तिनीहरू राम्रो लाग्छ। बेथेलमा धेरै वर्ष बिताउने भाइहरूमा भिन्दै कुरा हुन्छ, जुन कुरा तपाईंले अरू कतै पाउनु हुन्‍न। तिनीहरूमा न्यानोपन, समझदारी र बुझ्न नसकिने एकता हुन्छ।”

▪ बेथेल सेवामा ६२ वर्षभन्दा बढी समय बिताउने अर्को भाइले चाहिं आफूले पाएका थप लाभहरूबारे यसो भने: “बेथेलमा आउनुभयो भने तपाईंले प्रकाशनको क्षेत्रमा विशेष शिक्षा हासिल गर्नसक्नुहुन्छ। . . . र सबैभन्दा मुख्य कुरा, तपाईंले यहाँ प्राप्त गर्ने बाइबलीय शिक्षाले गर्दा तपाईं संसारको जुनसुकै भागमा पनि यहोवा परमेश्‍वरको उपयुक्‍त प्रतिनिधि हुनसक्नुहुन्छ।”

▪ परिचालक निकायका ९२ वर्षीय सदस्यले विगत ५८ वर्षदेखि बेथेल सेवा गर्दै आएको छ। बेथेल सेवाबारे तिनको के राय छ त? तिनी भन्छन्‌, “यहाँ र विश्‍वको अन्य भागका बेथेल परिवार, समर्पित मानिसहरूको अद्‌भुत प्रबन्ध हो।”

▪ केही महिनाअघि परिचालक निकायका ९८  वर्षीय सदस्यको मृत्यु भएको थियो। मृत्युपर्यन्त आफ्नो जिम्मेवारी विश्‍वासीपूर्वक पूरा गर्ने यो भाइले यसो भने: “म बेथेलमा सेवा गर्न मन पराउँछु। यो पृथ्वीमै सबैभन्दा उत्तम ठाउँ हो।”

▪ बेथेल सेवाबारे युवकको धारणा के छ त? एक जना जवान भाइले यसरी लेखे: “येशूले ‘लिनुभन्दा दिनु असल हो’ भन्‍नुभएको हुँदा अरू कतैभन्दा मलाई बेथेलमै सबैभन्दा खुशी लाग्छ।” हो, तिनले बेथेलको मनोभाव बुझेका छन्‌ र त्यो हो, दिनु।

▪ पूर्ण-समय सेवकाईमा ५१ वर्ष बिताउने भाइले बेथेल सेवाको यो राम्रो सारांश दिए: “बेथेल सेवा अद्वितीय छ। यो यस पृथ्वीमा यहोवाको उद्देश्‍य पूरा गर्ने अत्यावश्‍यक भाग हो। अतः बेथेल सेवा गर्न पाउने व्यक्‍तिहरूले त्यसलाई ठूलो सुअवसर सम्झनुपर्छ। वास्तवमा भन्‍ने हो भने बेथेल सेवाले पूर्णतया ईश्‍वरीय भक्‍तिको जीवन बिताउन मदत गर्छ।”

१२ दिनचर्या: बेथेल परिवारको दिनचर्या राज्य क्रियाकलापहरूले पूर्ण हुन्छ। सोमबारदेखि शनिबारसम्म हरेक दिन बिहान ७ बजे हाम्रो डाइनिंग हलमा प्रभातकालीन उपासना सुरु हुन्छ। बेथेल परिवारका सदस्यहरूले दैनिक पदमाथि टिप्पणीहरू दिएपछि शाखा समितिका सदस्य वा पूर्ण-समय सेवामा धेरै वर्ष बिताइसकेका भाइले सारांश प्रस्तुत गर्छ र प्रार्थनाद्वारा समापन हुन्छ। दिनभरि विभिन्‍न कामहरू गर्दा यो कार्यक्रमले पूरै परिवारलाई आध्यात्मिक तवरमा बलियो राख्छ। बेथेल परिवारका सदस्यलाई सोध्नुहोस्‌ हरेक दिन मुख्य कुरा नै त्यही हो भनेर तपाईंलाई बताउनेछन्‌। प्रभातकालीन उपासनापश्‍चात्‌ भरपेट चियाचमेना गरेपछि बेथेल परिवारका सदस्यहरू उत्सुकतापूर्वक आ-आफ्ना कामतर्फ लाग्छन्‌। बेथेलमा सोमबारदेखि शुक्रबार, बिहान ८ बजे देखि साँझ ५:१० बजेसम्म काम हुन्छ र हरेक दिन दिउँसो भोजनका लागि एक घण्टा छुट्टी हुन्छ। शनिबारको दिनचाहिं बिहान ८ बजेदेखि ११:५५ सम्म काम हुन्छ। साँझपख, शनिबार दिउँसो र आइतबार बेथेल सदस्यहरू आ-आफ्नो मण्डलीका सभाहरूमा जान्छन्‌, घर-घरको प्रचार कार्य वा बाइबल अध्ययन वा व्यक्‍तिगत कामकुराहरूमा व्यस्त हुन्छन्‌। तिनीहरूले व्यक्‍तिगत अध्ययन र सभाहरूका लागि तयारी गर्न बेथेल पुस्तकालय प्रयोग गर्नसक्छन्‌। हो, आराम र मनोरञ्जनका लागि समय चाहिन्छ। (मर्कू. ६:३१, ३४) यो संक्षिप्त विवरणबाट स्पष्ट देखिन्छ, बेथेल सेवाले एक व्यक्‍तिलाई यो पुरानो रीतिरिवाजका अल्मल्याउने कुराहरूदेखि टाढा राखेर हरेक दिन आफ्नो अधिकांश समय पवित्र सेवामा बिताउने मौका प्रदान गर्दो रहेछ।

१३ मण्डलीका क्रियाकलापहरू: ब्रूकलिन बेथेल परिवारका सदस्यहरूलाई न्यु योर्क शहरका ३५० भन्दा धेरै मण्डलीहरूमा खटाइएजस्तै लोनाभला बेथेल परिवारका सदस्यहरूलाई तीनवटा मण्डलीहरूमा खटाइएका छन्‌। आफ्नो आध्यात्मिकतालाई बलियो राख्न स्थानीय मण्डलीले खेल्ने भूमिकालाई तिनीहरू मोल गर्छन्‌। त्यसैकारण, तिनीहरू आफ्ना मण्डलीमा सक्रिय छन्‌, पाँचवटा सभाहरू धाउँछन्‌ र आफ्ना भाइहरूसित नियमित तवरमा क्षेत्र सेवकाईमा भाग लिन्छन्‌। मण्डलीका क्रियाकलापहरूबाहेक हरेक सोमबार साँझ बेथेल परिवारको प्रहरीधरहरा अध्ययन हुन्छ र पूरै परिवारको लाभका लागि बेथेल कार्यकर्ताहरूलाई पालैसित टिप्पणी गर्न खटाइएको हुन्छ। बेथेलको तालिकाले आध्यात्मिक कुराहरूमा जोड दिने हुँदा यहोवाको सेवामा त्यहाँ बिताइने जीवन आनन्दित तथा सुखमय हुन्छ।—१ कोरि. १५:५८.

१४ बेथेल सेवाका लागि तयारी गर्ने: बेथेल सेवाकालागि तयारी गर्न के गर्नुपर्छ भनेर प्रायः युवकहरू सोध्ने गर्छन्‌। यस सम्बन्धमा कर्मचारी समितिमा सेवारत परिचालक निकायको सदस्यले यसो भने: “बेथेलमा सेवा पाउने होइन तर सेवा गर्ने मनोभावले आउनुपर्छ। तपाईंले सेवा गर्न सिक्दै जाँदा आनन्द पनि बढ्‌दै जान्छ। लिन होइन तर दिन सिक्नुहोस्‌। सुशिल र विनम्र हुनुहोस्‌। आत्माको फल खेती गर्नुहोस्‌। किनभने त्यही नै साँचो मसीही धर्मको आड हो।” हो, आध्यात्मिकतामा प्रगति गर्नु अनि यहोवासित घनिष्ठ सम्बन्ध राख्नु बेथेलमा सफलता पाउने कुञ्जीहरू हुन्‌। बेथेल सेवाका लागि नयाँ स्वंयसेवकहरू छान्दा प्रायः अग्रगामीहरूलाई नै छान्‍नुको एउटा कारण यो पनि हो। किनभने अरूलाई प्रचार गरेर, सिकाएर अरूको भलाइ गर्न मासिक ९० घण्टा बिताउने र आफ्नो जीवन धान्‍न आवश्‍यक कामहरू गर्ने व्यक्‍तिले बेथेल सेवा र त्यसको व्यवस्थित जीवनका लागि राम्रो आध्यात्मिक आधार बसालिसकेको हुन्छ। तथापि, यो स्मरण रहोस्‌, बेथेल सेवा अग्रगामी गर्ने व्यक्‍तिहरूका लागि मात्र होइन। बेथेल सेवाका लागि चाहिने आधारभूत योग्यता पूरा गर्ने जो सुकैले निवेदन दिनसक्छ।

१५ उपरोक्‍त कुराहरूबाहेक युवकहरूले आफ्नै हातले काम गर्न सिक्नु असल कुरा हो। यो पुरानो रीतिरिवाजमा शारीरिक बल प्रयोग गर्नुपर्ने कामहरूलाई तुच्छ ठानिन्छ। आत्मप्रेमले गर्दा अधिकांश मानिसहरू कम प्रयत्न गर्नुपर्ने वा बाहिरी प्रतिष्ठा झल्कने कामहरू गर्न रुचाउँछन्‌। यद्यपि, विभिन्‍न औजार तथा यन्त्रहरू चलाउनसिक्नु व्यवहारिक र लाभदायी कुरा हो। (हितो. २२:२९) प्रायजसो युवकहरूले आफ्ना आमाबाबुबाट वा राज्य भवनमा गरिने विभिन्‍न कामहरूमा अनुभवी पाको व्यक्‍तिहरूलाई मदत गरेर वा वृद्ध व्यक्‍तिहरूलाई तिनीहरूको घर भित्र बाहिर आवश्‍यक मर्मत गर्न सघाएर सीपहरू सिक्नसक्छन्‌।

१६ कहिलेकाहीं जवानहरू यस्तो प्रश्‍न गर्छन्‌: “बेथेल सेवाका लागि योग्य हुन के मैले थप प्रशिक्षणहरू लिनुपर्छ कि?” सांसारिक प्रशिक्षण लिंदैमा कुनै व्यक्‍ति बेथेल सेवाका लागि योग्य हुन्छ नै भन्‍न मिल्दैन। सबैभन्दा महत्त्वपूर्ण र आवश्‍यक कुरा आध्यात्मिक गुनहरू हुन्‌। स्कूलमा जाने केटाकेटीहरू र तिनीहरूका आमाबाबुहरूलाई हामी फेब्रुअरी १, १९९३ अंकको प्रहरीधरहरा-मा पृष्ठ ८ देखि १३ मा दिइएको लेख राम्ररी पढेर सांसारिक शिक्षाप्रति सन्तुलित दृष्टिकोण राख्न प्रोत्साहित गर्छौं। सांसारिक शिक्षा लिने नलिने व्यक्‍तिगत कुरा हो। अतः व्यक्‍तिविशेषको जेसुकै निर्णय होस्‌ तर यहोवाका जनहरूको मुख्य काम अर्थात्‌ सत्यको साक्षी दिने काममा ध्यान केन्द्रित गर्दै आध्यात्मिक प्रगति गर्नसक्छ भनेर ऊ पक्का हुनुपर्छ।

१७ कुनै पनि व्यक्‍तिले जस्तोसुकै सांसारिक प्रशिक्षण लिएको होस्‌, सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिं सोच्न सिक्नु हो। बाइबलले सोच्ने क्षमता र व्यवहारिक बुद्धिको सराहना गर्छ। (हितो. १:४; ३:२१) सोच्न र जानकारीहरू स्मरणमा राख्न सक्नुभयो भने तपाईंले आफू र यहोवाको विश्‍वव्यापी संगठनलाई लाभदायी हुने ज्ञान र सीपहरू हासिल गर्न सक्नुहुनेछ। अन्तमा अझ एउटा कुरा, कुनै व्यक्‍ति जतिसुकै सिपालु भए तपानि अरूसँग मिलेर बस्नसक्नु चाहिं असाध्यै महत्त्वपूर्ण छ। बेथेल स्वंयसेवकहरूले आपसमा मिलेर काम गर्नैपर्छ। तसर्थ, स्वाधीन वा प्रतिस्पर्धात्मक मनोभावलाई हटाएर सहयोगी र मायालु मनोभाव र ईश्‍वरतान्त्रिक निर्देशनअनुसार चल्ने स्वेच्छा खेती गर्नैपर्छ।—एफिसी ४:१६ तुलना गर्नुहोस्‌।

१८ यहोवाको संगठनमा हुने जवान मानिसहरूसित अहिले माथि उल्लिखित योग्यताहरू विकास गर्ने अद्‌भुत मौकाहरू छन्‌। ती मौकाहरूबाट लाभ उठाएमा, पछि बेथेल सेवा गर्न आमन्त्रित गरिएमा तिनीहरू अरू जिम्मेवारीहरू सँभाल्न यहोवाको संगठनले दिने प्रशिक्षणका लागि योग्य हुन्छन्‌। मसीही आमाबाबु तथा प्राचीनहरूलाई यो कुरा जवानहरूलाई बताइरहन हामी आग्रह गर्छौं। थुप्रै आमाबाबुहरूले आफ्ना छोराछोरीलाई नियमित तवरमा बेथेल घुमाउन लैजान्छन्‌ र त्यहाँ हुने कामहरूसित परिचित गराउँछन्‌। यसरी घुम्न आउने थुप्रै जवानहरूले आफ्नो पढाइ सकाएपछि बेथेलमा सेवा गर्न आएका छन्‌।

१९ अनुभवीहरू: बेथेललाई चाहिने प्रशिक्षण र योग्यता छ भने कहिलेकाहीं ३५ वर्षभन्दा बढी उमेरका भाइ वा बहिनीलाई पनि बेथेल सेवा गर्न आमन्त्रित गरिन्छ। हाल सोसाइटीले गर्ने अधिकांश कामहरूको प्रकृतिले गर्दा “निपुण र सिकारूहरूलाई सँगसँगै” काम गराउनुपर्ने भएको छ। अतः हामीलाई प्रशिक्षण योग्य, बलियो, दक्ष जवानसँगै काम गर्ने अनुभवी मानिसहरू चाहिएको छ।—१ इति. २५:८.

२० अहिले सोसाइटीले गर्ने कामहरूमध्ये इलेक्ट्रोनिक्स वा कम्प्युटर प्रोगामिंग सम्बन्धित अनुभवी मानिसहरू चाहिने कामहरू बढ्‌दो छ। सोसाइटीसित अनगिन्ती फोटोकपी मेशिन, लेजर प्रिन्टर, पर्सनल कम्प्युटरहरू भएकोले तिनीहरूको मरम्मतसम्भार गर्ने मान्छे चाहिएको छ। इन्जिनियरिंग, विद्युत, एयर कंडिसन र धारा जडानजस्ता निर्माण पेशाहरूमा दक्ष व्यक्‍तिहरूलाई बेथेलमा काममा लगाउन सकिन्छ। लेखासम्बन्धी राम्रो ज्ञान हुने परिपक्व भाइहरू र अझ विशेषगरि प्रमाणपत्र प्राप्त लेखापालहरू पनि बेथेल कार्यका लागि लाभदायी हुनसक्छ। खर्च कम गर्न सोसाइटीले ढुवानी तथा यात्रा गर्न आफ्नै गाडीहरू राखेको छ। तसर्थ, मोटर चालकहरू र मेकानिक्सहरू पनि चाहिएको छ।

२१ हामीलाई अविवाहित समर्पित भाइहरू तथा विवाहित भए तापनि विशेष योग्यताहरू हुने भाइहरूको टड्‌कारो आवश्‍यक परेको छ। बेथेल सेवा गर्न इच्छुक व्यक्‍तिहरूका लागि जिल्ला अधिवेशनमा सञ्चालन गरिने विशेष सभाबाट तपाईंले बेथेल निवेदन फाराम लिन सक्नुहुन्छ। अन्यथा निम्न ठेगानामा पत्र लेख्न सक्नुहुन्छ: Watch Tower Society, Post Bag 10, Lonavla, MAH 410 401. यदि तपाईं विवाहित हुनुहुन्छ भने स्मरण रहोस्‌, तपाईंकी पत्नी बेथेल सेवाका लागि आध्यात्मिक, भावनात्मक र शारीरिक तवरमा योग्य हुनैपर्छ। माथि उल्लिखित क्षेत्रहरूमध्ये कुनै एकमा तपाईंले प्रशिक्षण र अनुभव हासिल गर्नुभएको छ भने, कृपया बेथेल निवेदनसँगै सविवरण खुलाएर लेख्नुहोस्‌।

२२ के तपाईं यो टड्‌कारो आवश्‍यकता पूरा गर्न सक्नुहुन्छ: बेथेल स्वंयसेवकहरूको टड्‌कारो आवश्‍यक छ। यदि तपाईं बेथेल सेवाका लागि योग्य हुनुहुन्छ भने हामी तपाईंलाई बेथेल निवेदन दिएर यो टड्‌कारो आवश्‍यकता पूरा गर्न जोडदार आग्रह गर्छौं। यद्यपि, तुरुन्तै आमन्त्रित नहुँदा निरुत्साहित नहुनुहोस्‌। तपाईंले अर्को वर्ष फेरि निवेदन दिन सक्नुहुन्छ। त्यसो गर्नुभयो भने तपाईं बेथेल सेवाको लागि उपलब्ध हुनुहुन्छ वा हुनुहुन्‍न भन्‍ने जानकारी हामीसित हुनेछ।

२३ अगमवक्‍ता यशैयाको कुरा सुनेपछि यहोवाले यो प्रश्‍न गर्नुभयो: “म कसलाई पठाऊँ औ हाम्रो निम्ति को जाने?” यशैयाले निसंकोच जवाफ दिए: “म हाजिर छु। मलाई पठाउनुहोस्‌।” यसप्रकार यशैयाले परमेश्‍वरको अगमवक्‍ताको हैसियतमा उल्लेखनीय पेशा सुरु गरे। के तपाईं पनि “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भन्‍न सक्नुहुन्छ? “परमेश्‍वरको घर” बेथेलमा सेवा गर्न आमन्त्रित गरिएमा तपाईंले प्रशस्त आशिष्‌हरू पाउनुहुनेछ।—यशै. ६:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने