आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्
१, २. प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूले कसरी मानिसको जीवनलाई असर गरेको छ?
१ “रोचक, सामयिक अनि उत्थानदायी।” “मैले यो जत्तिको प्रोत्साहनदायी पत्रिका अरू पढेकै छैन।” प्रहरीधरहरा र ब्यूँझनुहोस्!-बारे संसारभरिका पाठकहरू कस्तो महसुस गर्छन् भनेर उक्त टिप्पणीहरूले स्पष्टसित देखाउँछ। निस्सन्देह, “सबै मानिसहरू[लाई]” सुसमाचार सुनाउन हाम्रा पत्रिकाहरू एकदमै मूल्यवान् साबित भएका छन्।—१ तिमो. २:४.
२ एक जना व्यापारीले तिनलाई चासो लागेको विषयमा एउटा ब्यूँझनुहोस्! पत्रिका पाए। पछि तिनले यसको सहपत्रिका प्रहरीधरहरा पढे र त्यसको एउटा लेखले तिनलाई आफूले जिन्दगीभर राख्दै आएको त्रिएकसम्बन्धी विश्वास केलाउन उत्प्रेरित गऱ्यो। यसले तिनको चासो जगायो। छ महिनापछि तिनले बप्तिस्मा लिए। अर्को एक जना मानिसले भने नियमित तवरमा पत्रिका पाउँथे तर कहिल्यै पढ्दैनथे। तिनकी पत्नी भने साक्षीहरूलाई भेट्न मान्दैन थिइन् तर तिनको श्रीमान्लाई छोडेका सबै पत्रिकाहरू पढ्थिन्। धर्मी मानिसहरूले भरिने पार्थिव प्रमोदवनबारे बाइबलको प्रतिज्ञाले ती पत्नीको हृदय छोयो। समयको अन्तरालमा उनी, उनको छोरा र उनकी बहिनी यहोवाका सेवकहरू बने।
३. पत्रिकाहरू जोडी मिलाएर दिनुको फाइदा के हो?
३ जोडी मिलाएर दिनुहोस्: माथिका उदाहरणहरूले देखाएझैं हाम्रा पत्रिकाहरू कसले पढ्नेछन् वा कुन कुराले तिनीहरूको चासो जगाउन सक्छ भनेर हामीलाई थाह छैन। (उप. ११:६) त्यसकारण हामीले साधारणतया आफ्नो प्रस्तुतिमा एउटा पत्रिकालाई मात्र जोड दिने भए तापनि प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवैको जोडी मिलाएर दिनु लाभकारी हुन्छ। कुनै-कुनै अवस्थामा भने विभिन्न अंकहरू एकै चोटि प्रस्तुत गर्नु उचित हुन सक्छ।
४. पत्रिका वितरण कार्यको लागि हामी कसरी तालिका मिलाउन सक्छौं?
४ हरेक हप्ताको एक दिन पत्रिका वितरणको लागि छुट्याउनु बेस हो। सन् २००५ क्यालेन्डर अफ जेहोभाज् विट्नेसेज्-मा हरेक शनिबार “पत्रिका दिन” भनेर छुट्याइएको छ। हुन त, स्थानीय वा व्यक्तिगत परिस्थिति फरक-फरक हुने हुँदा कसै-कसैले यी पत्रिकाहरू वितरणको लागि अर्कै दिन छुट्याउन सक्छन्। के पत्रिका वितरण कार्यमा भाग लिनु तपाईंको साप्ताहिक तालिकाको भाग भएको छ?
५. पत्रिकाहरू वितरण गर्ने कस्ता मौकाप्रति हामी सजग हुनुपर्छ र यसो गर्न हामी कसरी मदत पाउन सक्छौं?
५ व्यक्तिगत लक्ष्य निर्धारण गर्नुहोस्: महिनामा कतिवटा पत्रिका वितरण गर्ने भनेर व्यक्तिगत लक्ष्य राख्दा पत्रिकाहरू सदुपयोग गर्न हामी सजग हुन सक्छौं। के तपाईंको आफ्नो पत्रिका रूट छ? सेवकाईमा भेट्ने व्यक्तिहरूलाई के तपाईं पत्रिका दिनुहुन्छ? सडक साक्षी दिंदा, व्यापारिक इलाकामा र सार्वजनिक इलाकामा पत्रिका दिन सक्नुहुन्छ कि? यात्रा गर्दा, किनमेल गर्न जाँदा र कसैलाई भेट्न जाँदा के तपाईं आफूसित पत्रिकाहरू लैजानुहुन्छ? प्रहरीधरहरा र ब्यूँझनुहोस्!-बाट लाभ उठाउन अरूलाई मदत दिनको लागि हरेक उचित मौकाको सदुपयोग गर्नुहोस्।
६. पत्रिकाका पुराना अंकहरूको हामी कसरी सदुपयोग गर्न सक्छौं?
६ आफूसित भएका पुराना अंकहरू वितरण गर्ने पनि हाम्रो लक्ष्य बनाउन सक्छौं। पत्रिकाहरूको अंक मितिको एक दुई महिनाभित्रै वितरण गर्न सकिएन भने तापनि त्यसमा भएको जानकारीको महत्त्व घट्दैन। जिज्ञासु व्यक्तिहरूलाई ती पत्रिकाहरू दिनुहोस्। लाखौं मानिसहरूका लागि प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू “ठीक बेलामा भनेको ठीक कुरा” साबित भएका छन्। (हितो. २५:११) अरू लाखौंलाई यहोवालाई चिन्न र उहाँको सेवा गर्ने मदत दिनका लागि यी पत्रिकाहरू चलाऔं।