घरधनीलाई मेरो कुरा कसरी सुनाऊँ?
१ फिलिप्पी शहरमा “बैजनी लुगा बेच्ने लिडिया नाउँकी एउटी ईश्वर-भक्त स्त्रीले . . . वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसित सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।” (प्रे. १६:१४) यो घटनाले हामीलाई के सिकाउँछ? घरधनीले सुनेको खण्डमा तिनले सच्चाइ सिक्ने मौका पाउँछन्। परमेश्वरको राज्यको समाचार बाँड्ने काममा पाउने सफलता मुख्यतः घरधनीले हाम्रो कुरा सुन्न देखाएको इच्छुकतामा निर्भर हुन्छ। सुन्ने व्यक्ति भेट्टाएपछि आफ्नो समाचार सजिलै प्रस्तुत गर्नसक्छौं। तर कसैलाई कुरा सुन्न लगाउनु नै चुनौती हुनसक्छ। त्यसो भए हामी के गर्नसक्छौं?
२ सेवकाईमा भाग लिनअघि हामीले आफ्नो रंगरूप र प्रयोग गर्ने साधनहरूमा ध्यान दिनुपर्छ। किन? किनभने मानिसहरू आदरयोग्य देखिने व्यक्तिको कुरा सुन्न प्रायः चाँडै इच्छुक हुन्छन्। के हाम्रो पहिरन आकर्षक तर भद्र छ? संसारमा ढंग नपुऱ्याई लुगा लगाउने चलन लोकप्रिय छ। तर हामी त्यसरी लापरवाही हुन चाहँदैनौं। किनकि हामी परमेश्वरको राज्य प्रतिनिधित्व गर्ने सेवकहरू हौं। सफा-सुग्घर छौं भने, हामीले प्रचार गर्ने समाचारप्रति त्यसले अनुकूल साक्षी दिन्छ।
३ मित्रैलो र आदरपूर्ण हुनुहोस्: आजको बदलिंदो मनोवृत्तिको बावजूद अधिकांश मानिसहरूले बाइबलप्रति चासो देखाएका छन्। अतः बाइबलमा भएका कुराहरूबारे आदरपूर्ण र मित्रैलो वार्तालाप गर्दा तिनीहरूले अनुकूल प्रतिक्रिया जनाउनेछन्। न्यानो तथा स्वाभाविक तवरले मुसुक्क हाँस्दा घरधनीले सजिलो महसुस गर्नसक्छ र यसले गर्दा रमाइलो छलफल गर्ने मौका पाइन्छ। बोलीबचन र आचरणबाट पनि हाम्रो इमान तथा असल शिष्टता झल्कनुपर्छ। यसमा घरधनीले गरेका टिप्पणीहरू आदरपूर्वक सुन्नु पनि समावेश छ।
४ हाम्रो उद्देश्य बाइबलको आशा अरूसित बाँड्नु हो। अतः हामीले कुरा गर्दा विरोध गर्ने वा चुनौती दिने ढंगमा होइन तर कुशलतापूर्वक मनमोहक तरिकामा बोल्नुपर्छ। विरोधै गर्न खोजेको हो भन्ने देखेपछि हामीले त्यस व्यक्तिसित बहस गरेर समय खेर फाल्नु आवश्यक छैन। हाम्रो काम मन नपराउने व्यक्तिहरूसित बहस गरेर जित्नु वा तिनीहरूमा हाम्रो विश्वास लाद्नु हाम्रो लक्ष्य होइन। (२ तिमो. २:२३-२५) हाम्रो राज्य सेवकाई तथा रिजनिङ (तर्क) पुस्तकबाट हामी विभिन्न प्रकारका प्रोत्साहनदायी र सामयिक प्रस्तुतिहरू छान्नसक्छौं। तर हामीले ती प्रस्तुतिहरूको राम्रो अभ्यास गर्नुपर्छ। यसो गऱ्यौं भने, हामीले न्यानो र अरूले विश्वास गर्नसक्ने ढंगमा कुरा गर्नसक्नेछौं।—१ पत्रु. ३:१५.
५ प्रारम्भिक भेटमा हामीले भनेका सबै कुराहरू सम्झने घरधनीहरू कमै हुन्छन्। तथापि, अधिकांश घरधनीहरूले हामीले कुरा गरेको तरिका सम्झेलान्। भलाइ र दयाको शक्तिलाई हामीले कहिल्यै पनि कम महत्त्वको सम्झनु हुँदैन। प्रथम शताब्दीका लिडियाजस्तै हाम्रो क्षेत्रमा सच्चाइ सुन्ने भेडाखाले मानिसहरू पक्कै पनि धेरै छन्। हाम्रो रंगरूप र बोल्ने तरिकालाई नियालेर ध्यान दिने गऱ्यौं भने, त्यसले निष्कपट मानिसहरूलाई परमेश्वरको वचन सुन्न र त्यसलाई सहजै स्वीकार्न प्रोत्साहन दिनसक्छ।—मर्कू. ४:२०.