ढिलासुस्ती नगरी सुसमाचार घोषणा गर्ने
१ प्रारम्भिक मसीहीहरूले आफ्नो सेवकाईलाई असाध्यै गम्भीरतापूर्वक लिन्थे। लूका यसो भन्छन्: “दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।” (प्रे. ५:४२) कुनै कुरा वा सतावटले समेत तिनीहरूलाई रोक्न सकेन! (प्रे. ८:४) तिनीहरूले दिनदिनै सत्यबारे अरूलाई बताए।
२ हामी नि? आफैलाई सोध्नुहोस्: ‘के मैले समयको अबिलम्बलाई बुझेको छु? के मसित ढिलासुस्ती नगरी सुसमाचार घोषणा गरिरहने झुकाउ छ?’
३ ढिलासुस्ती नगरी प्रचार गरेका आधुनिक उदाहरणहरू: पोलियो रोगले पीडित एक बहिनी कृत्रिम श्वासप्रश्वास यन्त्रको भरमा बाँचेकी थिइन्। तिनी राज्यभवन जान वा सम्मेलनमा उपस्थित हुन असमर्थ थिइन्। तर तिनी सुसमाचार घोषणा गर्न ज्यादै तल्लीन थिइन्। सैंतीस वर्षसम्म ओछ्यानमा थला पर्दा तिनले १७ जना मानिसहरूलाई सत्य सिक्न मदत दिन सकिन्! तिनले त्यो कसरी गरिन्? घर-घरमा जान असमर्थ भए तापनि दिनदिनै तिनलाई भेट्न आउने सबैलाई अनौपचारिक साक्षी दिने मौका निकाल्थिन्।
४ बोस्नियाका हाम्रा भाइहरूले युद्ध तथा क्षति भोग्नु परेको छ। तैपनि, तिनीहरूले नियमित तवरमा अरूलाई प्रचार गरिरहेका छन्। सारायेभोमा प्रकाशकहरूले अरूलाई सुसमाचार सुनाएर हरेक महिना लगभग २० घण्टा बुझाइरहेका छन् र तिनीहरू प्रत्येकले सरदर दुइवटा बाइबल अध्ययनहरू सञ्चालन गर्छन्। कठिन परिस्थितिहरूका बावजूद तिनीहरू ढिलासुस्ती नगरी प्रचार गर्ने र सिकाउने गर्छन्।
५ बालकहरू पनि सेवकाईको निम्ति जोश देखाउँछन्। रूवाण्डामा साक्षीहरूको एक परिवारलाई मार्नको निम्ति सिपाहीहरूले एउटा कोठामा थुने। मारिनुभन्दा पहिले परिवारले प्रार्थना गर्ने अनुमति मागे। अनुमति दिइयो र सानी छोरी, डेबोराले ठूलो सोरमा यसरी प्रार्थना गरिन्: “यहोवा, यो हप्ता क्षेत्र सेवकाईमा मेरो बुबा र मैले पाँचवटा पत्रिका वितरण गऱ्यौं। ती मानिसहरूलाई सत्य सिकाउन र जीवन प्राप्त गर्न मदत दिन हामी तिनीहरूकहाँ कसरी जानसक्छौं?” तिनको बलियो विश्वास तथा सेवकाईप्रतिको प्रेमले गर्दा सम्पूर्ण परिवार जोगियो।
६ आज, अरूलाई साक्षी दिने अवसरहरूप्रति सजग हुनु र “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[को]” खोजी गर्नु आवश्यक छ। (प्रे. १३:४८) स्थानीय परिस्थितिहरूअनुसार मण्डलीका प्राचीनहरूले बिहान, दिउँसो वा साँझ जुनसुकै बेला होस्, सुविधाजनक समयमा सामूहिक साक्षीकार्यको निम्ति प्रबन्धहरू मिलाउँछन्। हाम्रो राज्य सेवकाई-का लेखहरू तथा सेवकाई सभाका भाषणहरू, क्षेत्रीय सम्मेलन र जिल्ला अधिवेशनहरूले परमेश्वरको राज्यबारे साक्षीकार्यका विभिन्न पक्षहरूमा भाग लिन सामयिक सुझाउ तथा प्रोत्साहनहरू दिन्छन्। यसबाहेक क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूले सडक साक्षीकार्यको लागि प्रकाशकहरूलाई प्रशिक्षण दिन्छन्, व्यापारिक इलाकामा प्रचार गर्ने तरिका देखाउँछन् र मानिसहरू भेट्ने जुनसुकै ठाउँमा साक्षी दिने अन्य तरिकाहरू बताउँछन्। यी सबै कुराले एउटै कुरामा जोड दिन्छ, ढिलासुस्ती नगरी सुसमाचार घोषणा गर्ने!
७ येशूका प्रेरितहरूले निर्भयतासाथ यसरी घोषणा गरे: “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्तैसक्तैनौं।” सबै अवरोधहरूका बावजूद तिनीहरू कसरी लागिरहे? तिनीहरूले यहोवासित मदत मागे र उहाँले मदत दिनुभयो अनि “तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्वरको वचन बोले।” (प्रे. ४:२०, २९, ३१) सेवकाईमा सबैका त्यत्तिकै उल्लेखनीय अनुभवहरू नहोलान् तर हामी साँच्चै ढिलासुस्ती नगरी सुसमाचार घोषणा गर्न चाहन्छौं र दिनदिनै त्यसो गर्ने हर प्रयास गऱ्यौं भने, यहोवाले हामीलाई मदत गर्नुहुनेछ।