व्यक्तिगत अध्ययन गरेमा आध्यात्मिक प्रगति हुन्छ
१ यहोवा प्रगतिशील परमेश्वर हुनुहुन्छ। पृथ्वीको सृष्टिद्वारा यो कुरा स्पष्ट भएको छ। अनन्तसम्म मानिसजाति रहनसक्ने एउटा सुन्दर ग्रह बनाउन सृष्टिका प्रत्येक समयावधिमा प्रगति हुँदै गएको थियो। अनाज्ञाकारी भएर मानिसले शुद्ध उपासनालाई लत्याउँदासमेत प्रगतिशील व्यवस्थाको प्रबन्ध गरेर पृथ्वीमा प्रमोदवन पुनर्स्थापित गर्न प्रेमले यहोवालाई प्रेरित गऱ्यो।—उत्प. ३:१५.
२ परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हुनाले मानिससित पनि प्रगतिशील स्वभाव छ। तर अचेल धेरैले भौतिक सम्पत्तिको वृद्धिलाई मात्र प्रगति भन्ठान्छन्। के यहोवाले आफ्ना सेवकहरूबाट चाहनुभएको प्रगति यही हो त? अरूले तपाईंमा कस्तो किसिमको प्रगति प्रस्टै देखिरहेका छन्?
३ परमेश्वर र छिमेकीप्रतिको प्रेमले आध्यात्मिक प्रगति गर्न उत्प्रेरित गर्छ: आफ्नो परिवारको ठीकसँग पालनपोषण गर्नुपर्ने आवश्यकतालाई मसीहीहरूले मूल्यांकन गर्नुपर्छ। तर तिनीहरूले परिवारलाई मात्र एकोहोरो ध्यान दिने होइन भन्ने कुरालाई पनि बुझ्नुपर्छ। जवान छँदा येशूले आध्यात्मिक प्रगतिलाई नै जीवनको महत्त्वपूर्ण उद्देश्य ठान्नुभयो। (लूका २:५२) पछि समयको दौडानमा मर्कूस १२:२९-३१ का शब्दहरू भन्नुहुँदा उहाँले आध्यात्मिक प्रगति गर्न पाएको उत्प्रेरणाको स्रोतबारे बताउनुभयो।
४ हामीले के कस्ता आध्यात्मिक प्रगति गरिरहेका छौं, एकछिन विचार गर्नुहोस्। यहोवा र उहाँका व्यक्तित्वबारे प्रथम पल्ट सिक्दा उहाँप्रतिको मूल्यांकन र प्रेमले हाम्रो सोचाइ र जीवनशैलीमा काँटछाँट गर्न प्रेरित गऱ्यो। यही प्रेमले हाम्रो जीवन परमेश्वरलाई समर्पण गर्ने र समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिने हदसम्म डोऱ्यायो। अनि त्यस बप्तिस्माले परमेश्वरको सेवामा उन्नति गर्ने अनि सहमानवहरूलाई प्रेमपूर्ण व्यवहार गर्ने हाम्रो दृढ संकल्पलाई प्रमाणित गऱ्यो। अहिले यी सब कुराहरू हामीले गरिसकेको हुँदा फिलिप्पी ३:१६ को प्रेरित वचनलाई ध्यान दिनु आवश्यक छ।
५ हामीले गरेका निर्णयहरूमध्ये परमेश्वरलाई जीवन समर्पण गर्नु सबैभन्दा महत्त्वपूर्ण निर्णय हो। त्यसैले यो निर्णय गरेपछि आफ्नो जीवनशैलीमा आमूल परिवर्तन गर्नुपर्ने थियो। हामीले खुशीसाथ यस्तो परिवर्तन गर्न कदम चाल्यौं र परमेश्वरको इच्छाअनुरूप जीवन ढाल्यौं। किनकि परमेश्वरले हामीप्रति गर्नुभएको प्रेमका थुप्रै अभिव्यक्तिहरूले हामी प्रेरित भयौं। फलस्वरूप उहाँप्रति हाम्रो प्रेम झन् झन् बढ्दै गयो। के परमेश्वरप्रतिको प्रेममा अहिले पनि उत्तरोत्तर वृद्धि भइरहेको छ त? के यो हाम्रो जीवनमा सर्वमहत्त्वपूर्ण कुरा भएको छ? कि हामी एफिसस मण्डलीका मसीहीहरूजस्ता भएका छौं जसले ‘पहिलो प्रेम छोडिदिएका थिए’?—प्रका. २:४, ५.
६ परमेश्वरप्रतिको प्रेम अचल वा निष्क्रिय हुँदैन। यो प्रगतिशील हुन्छ। परमेश्वरलाई जत्ति प्रेम गर्नुपर्थ्यो त्यत्ति गरिसक्यौं, अब अझै प्रेम गर्ने कुनै ठाउँ नै छैन भन्ने निष्कर्षमा हामी कहिल्यै पुग्न सक्दैनौं। परमेश्वरको ज्ञानमा जत्ति गहिरिंदै जान्छौं उत्ति नै उहाँप्रतिको प्रेम पनि बढ्दै जान्छ। अनि यो अनन्तसम्म बढिरहन्छ। यो कुरालाई पावलले रोमी ११:३३-३६ मा एकदमै राम्रोसँग व्यक्त गरेका छन्। हामी पनि विनम्रतासाथ यो प्रश्नको सच्चाइलाई स्वीकार्छौं, “प्रभुको मनलाई कसले जानेको छ?”
७ आफ्नो व्यक्तिगत जीवनबारे र यहोवाप्रतिको हाम्रो प्रेमको गहिराइबारे विचार गर्न यी शब्दहरूले हामीलाई घचघच्याउनु पर्ने हो। के हामीले प्रगति गरिरहेका छौं या जीवनका दबाबहरूले गर्दा आध्यात्मिक क्रियाकलापको निम्ति समय नै पाइरहेका छैनौं? मसीही मण्डलीबाहिरका छिमेकी वा नजीकको छिमेकी मतलब हाम्रा भाइबहिनीहरूलाई प्रेम गर्ने समय निकाल्न एकदमै गाह्रो भइरहेको छ कि? यदि परिस्थिति यस्तै छ भने, माथि उल्लिखित शास्त्रपद फिलिप्पी ३:१६ ले हाम्रो निम्ति विशेष अर्थ राख्छ।
८ आध्यात्मिक प्रगति गर्नलाई परमेश्वर र छिमेकीप्रतिको हाम्रो प्रेम यथेष्ट छ कि छैन भनेर कसरी थाह पाउनसक्छौं? के हामी निर्णय गर्दा परमेश्वर र मानिसप्रतिको प्रेमलाई ध्यानमा राख्छौं? दोस्रो कोरिन्थी १३:५ अनुसार यस प्रकारको निर्णयलाई कसरी विश्लेषण गर्छौं? मण्डलीका अरू भाइबहिनीहरू जे निर्णय गर्छन् हामीले पनि त्यसै गर्न त मिल्दैन। परमेश्वर र छिमेकीप्रतिको प्रेम व्यक्तिगत विषय हो। हाम्रो आफ्नै हृदयबाट प्रकट भएको प्रेम नै महत्त्वपूर्ण कुरा हो। पावलले गलाती ६:४ मा उचित मनोवृत्ति व्यक्त गरे। यही कुरा तिनले रोमी १४:१२ मा जोड दिए।
९ के परमेश्वरप्रतिको हाम्रो प्रेम सेलाएर गइरहेको अनुभव गरिरहेका छौं, जसले हामीलाई निष्क्रिय पनि बनाइरहेको छ? के आध्यात्मिक क्रियाकलापमा संलग्न हुने हाम्रो इच्छा घट्दै गइरहेछ? प्रारम्भिक मसीहीहरूले यस्तै अनुभव गरिरहेका थिए। शायद त्यसैले २ थिस्सलोनिकी ३:१३ को प्रोत्साहनजनक शब्दहरू लेख्न पावल उत्प्रेरित भए। संसारिक दबाबहरूको प्रभावको बावजूद मसीहीहरूले आध्यात्मिक प्रगति गरिरहनु पर्छ भनेर पावललाई थाह थियो। तिनले भनेका वचनहरू लागू गऱ्यौं भने निश्चय नै हाम्रो आध्यात्मिक प्रगति हुनेछ। फिलिप्पी ४:१३ मा तिनी हामीलाई अझ प्रोत्साहन दिन्छन्।
१० बाइबल पढाइ र व्यक्तिगत अध्ययनद्वारा आध्यात्मिक शक्ति: यहोवाले आफ्नो लिखित वचनद्वारा आध्यात्मिक शक्ति र बल दिनुहुन्छ। (हिब्रू ४:१२) सांसारिक दबाबहरूको कारणबाट निष्क्रिय नहुन बाइबललाई कसरी प्रयोगमा ल्याउनसक्छौं? दशकौं र त्योभन्दा बढी समयसम्म पनि सहेर विश्वासपूर्वक यहोवाको सेवामा लाग्ने थुप्रै व्यक्तिहरू हाल रोग र वृद्धावस्थासँग संघर्ष गरिरहेका हुनसक्छन्। हामी पनि सोही अवस्थामा छौं भने हिब्रू ६:१० का शब्दहरूद्वारा प्रोत्साहन पाउनसक्छौं। तर उमेर वा रोगले गर्दा आध्यात्मिक क्रियाकलापमा निष्क्रिय भएको होइन भने नि? त्यस अवस्थामा परमेश्वरको वचनबाट कसरी आध्यात्मिक शक्ति पाउन सकिन्छ?
११ परमेश्वरको वचन पढ्दा र अध्ययन गर्दा मदत पाइने दुइ तरिका संक्षेपमा छलफल गर्नेछौं। प्रथमतः, दिनहुँ बाइबल पढ्नाले र पढेको कुरालाई मनन गर्नाले यहोवाको व्यक्तित्वबारे गहिरो अन्तरदृष्टि प्राप्त गर्छौं। उहाँका व्यवहार र सिद्धान्तहरूद्वारा प्रकट भएका बुद्धि र प्रेमको मूल्यांकन गर्न सिक्छौं। भजन ११९:९७ लेख्ने भजनरचयिताले जस्तै हामीले पनि अनुभव गर्नेछौं। परमेश्वरको वचनप्रति जसै प्रेम बढ्छ, वचनको रचनाकारप्रति पनि प्रेम मौलाउँदै जान्छ। परमेश्वरप्रतिको प्रेम हाम्रो जीवनमा प्रबल शक्ति बन्छ। (श्रेष्ठ. ८:६, ७) यसले गर्दा उहाँको सेवामा ‘प्रयत्न गरिरहन’ आध्यात्मिक रुचि र शक्ति पाउँछौं।—लूका १३:२४.
१२ दोस्रो, बाइबल पवित्र आत्माको मदतद्वारा लेखिएको हो। दिनहुँ परमेश्वरको वचन पढ्नाले पवित्र आत्माको अद्भुत स्रोत मिल्नसक्छ। पवित्र आत्माले गर्दा नै विश्वासी सेवकहरू असल काममा लागिरहन सके। अहिले पनि सबैको निम्ति त्यही पवित्र आत्मा उपलब्ध छ। तर त्यो प्राप्त गर्न प्रयत्न चाहिं गर्नुपर्छ र त्यसद्वारा हाम्रो जीवन प्रभावित हुन दिनुपर्छ।
१३ के हाम्रा भावनाहरू पनि निम्न अभिव्यक्तिहरू जस्तै छन्? “मलाई पढ्नै मन लाग्दैन।” “मलाई पढ्न एकदमै गाह्रो लाग्छ।” “म कुनै असल विद्यार्थी होइन त्यसैले पढ्न र अध्ययन गर्न त्यत्ति रमाइलो लाग्दैन।” “व्यस्त भएकोले पढ्ने र अध्ययन गर्ने समय मिलाउन गाह्रो छ।” “अध्ययन गर्न खोजेकै हो तर बीचैमा अरू कुरा आउँछ र त्यसले पढ्ने र अध्ययन गर्ने मेरो तालिका नै भताभुंग बनाइदिन्छ।” के हामी पनि यीमध्ये कुनै एक वा बढी अनुभव गरिरहेका छौं? छौं भने के गर्ने? त्यसोभए पहिला, परमेश्वरप्रतिको हाम्रो सोचाइमा ध्यान दिनुहोस्। मायालु घनिष्ठ मित्र वा नातेदारबाट पत्र पायौं भने के हामी पढ्ने समय नै कहाँ छ भन्ने विचार गर्छौं र? वा पढ्न मन पर्दैन भनेर त्यसलाई खोल्दा पनि नखोल्ने गर्छौं र? अहँ। त्यसलाई हतारहतार खोलेर पढ्न उत्सुक हुन्छौं। त्यसोभए स्वर्गमा हुनुहुने पिताले दिनुभएको बाइबलको रूपमा भएको सन्देशलाई पनि हामीले सोही दृष्टिकोणले हेर्नु पर्दैन र?
१४ प्रत्येक व्यक्तिविशेषका बेग्लाबेग्लै परिस्थिति हुने हुनाले हाम्रोनिम्ति सोसाइटी वा प्राचीनहरूले बाइबल पढ्ने अरठ्ठो तालिका बनाउन मिल्दैन। परमेश्वरप्रतिको प्रेम र त्यो प्रेम गहिरो बनाउने अभिलाषाले बाइबल पढाइ र व्यक्तिगत अध्ययनलाई दैनिक कार्यको नियमित भाग बनाउन हामीलाई उत्प्रेरित गर्छ। परिवारको आध्यात्मिक आवश्यकताहरू पूरा गर्न र बच्चाहरूलाई प्रशिक्षण दिन नभई नहुने कुरामध्ये यो पनि हो भनेर प्रत्येक परिवारको शिरले बुझ्नुपर्छ। आफ्ना छोराछोरीको हृदयमा परमेश्वरप्रतिको प्रेम बढाउने काम गर्न आमाबाबुलाई अह्राइएको छ। (व्यव. ६:४-९) परमेश्वरको यो माग पूरा गर्ने उत्तम तरिका बाइबल पढाइ हो। असल काम गर्न कहिल्यै नछोडौं! परमेश्वर र ख्रीष्टको प्रेमले हामीलाई दिनहुँ बाइबल पढ्न करमा पारोस्। (२ कोरि. ५:१४) त्यसो गऱ्यौं भने, अरूले हाम्रो आध्यात्मिक प्रगतिलाई परमेश्वरप्रतिको प्रेमको रूपमा देख्नेछन्।—१ तिमो. ४:१५.
१५ दिनहुँ बाइबल पढ्ने विषयमा ज्ञान पुस्तकले पृष्ठ १५८ मा यसो भन्छ: “जसरी हाम्रो शरीरलाई फायदा गर्ने स्वस्थकर भोजनका लागि हामीले रुचि बढाउनुपर्छ, त्यसरी नै ‘नयाँ जन्मेका बालकहरू जस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर’ भनी हामीलाई आग्रह गरिएको छ। बाइबलमा तपाईं जे पढ्नुहुन्छ, त्यसबारे मनन गर्नुहोस्। . . . त्यसमाथि गौर गर्नुहोस्। . . . यसो गर्नु, खाना पचाउनुजस्तै हो। . . . आध्यात्मिक भोजन पचाउनका लागि तपाईंले पढी रहनुभएका कुराहरूलाई जानी सक्नुभएका कुराहरूसित जोड्नुपर्छ। सो जानकारीले तपाईंको जीवनमाथि के असर पार्छ, त्यसले यहोवाका गुणहरू तथा कार्यहरूबारे के प्रकट गर्छ, सो विचार गर्नुहोस्। यसरी, यहोवाबाट उपलब्ध आध्यात्मिक भोजन तपाईंले व्यक्तिगत अध्ययनद्वारा लिन सक्नुहुन्छ। यसले तपाईंलाई परमेश्वरको अझ नजीक लैजान्छ र दैनिक जीवनमा उठ्ने समस्याहरूसित मुकाबला गर्ने बल पनि दिन्छ।”
१६ त्यसकारण, व्यक्तिगत अध्ययनलाई कहिल्यै हेलचेक्य्राइँ नगर्नुहोस्। आध्यात्मिक प्रगति गर्न व्यक्तिगत अध्ययन नितान्त आवश्यक छ र परमेश्वरले ल्याउनुहुने अद्भुत नयाँ संसारमा प्रवेश गर्न आध्यात्मिक प्रगति गरेको हुनैपर्छ। आध्यात्मिक प्रगति गर्न हामी सबैले परमेश्वर र छिमेकीहरूलाई अटुट प्रेम गरिरहौं र अथक परिश्रमकासाथ व्यक्तिगत अध्ययन गरेर यस्तो आध्यात्मिक प्रगतिको चुचुरो चढ्नसकौं।—हितो. २:१-९.