के तपाईंले धीरज धारण गरिरहनुभएको छ?
१ “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूह. ४) यूहन्ना आफ्ना आध्यात्मिक छोराछोरीहरूको धीरजले गर्दा आनन्दित भए। आफ्ना लाखौं सम्भाव्य “छोरा-छोरीहरू सत्यमा चलेका” देखेर हाम्रो स्वर्गमा हुनुहुने पितालाई कत्ति आनन्द लाग्दो हो!—हितो. २३:१५, १६; २७:११.
२ सामूहिक तवरमा यहोवाका सबै जनहरू मसीही क्रियाकलापहरूमा जोसिला तथा दृढ हुने प्रयत्न गरिरहेका भए तापनि कोही भने बिस्तारै सुस्ताएर गएका छन्। सुरुमा सच्चाइ सिक्दा जोसिला भए तापनि, समय बित्दै जाँदा तिनीहरू चेला बनाउने काममा अलि थोरै जोसिला वा अनियमित हुन थाल्छन्।
३ शारीरिक सीमितता र पाको उमेरका असरहरूले कोही बाध्य भएर सुस्त हुन्छन्। यद्यपि, तिनीहरूको धीरजको लागि भने प्रशंसा गर्नैपर्छ। तिनीहरूले यथासक्य गरिरहेका छन्। तर परमेश्वरलाई आफ्नो जीवन समर्पण गरिसकेका प्रत्येकले, आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ: ‘के म व्यक्तिगत कामकुराहरूमा धेरै केन्द्रित भएकोले राज्यसम्बन्धी गतिविधिलाई निकै सानो ठाउँ पो दिइरहेको छु कि? के म “मनतातो” भएको छु वा अझै “जोसिलो” हुने प्रयास गर्दैछु? (प्रका. ३:१५, १६; लूका १३:२४) यहोवाले हाम्रोलागि यस्तो प्रतिज्ञा गर्नुभएको छ, “असल काम गर्ने हरेकलाई, महिमा र इज्जत र शान्ति हुन्छ।” (रोमी २:१०) त्यसकारण, यो कुरालाई मनमा राख्दै प्रार्थनापूर्वक हामी के गरिरहेका छौं सो विचार गरौं र आवश्यकता अनुसार सुधार पनि गरौं।
४ कसरी धीरज धारण गर्ने: येशूलाई धीरज धारण गर्न केले मदत दियो? पावलले यसरी वर्णन गरे: “जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:१-३) येशूको सामने राखिदिएको आनन्द उहाँले भोग्नु परेको क्षणिक पीडाभन्दा धेरै मोलको थियो। हाम्रो सामने राखिदिएको आनन्दलाई विचार गऱ्यौं भने यसले हामीलाई पनि धीरज धारण गर्न मदत गर्नेछ। (प्रका. २१:४, ७; २२:१२) व्यक्तिगत अध्ययन गरेर, लगातार सभाहरू धाएर र खुरन्धार प्रार्थना गरेर यदि हामीले यहोवासँग बल माग्यौं भने हामी उहाँले अह्राउनु भएको काममा सधैं लागिरहन सक्नेछौं।
५ आफ्ना विश्वासी जनहरूले धीरज धारण गर्दा यहोवा खुसी हुनुहुन्छ। “सत्यको बाटोमा लगातार हिड्दै” उहाँलाई अझै खुसी बनाउँ।